प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा इजरायलले दियो बधाई
काठमाडौं । इजरायलले नेपालमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ । नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले मंगलबार दिउँसो यहाँ ‘नयाँ पश्चिम एसियामा नव प्रभात’ विषयमा पत्रकार सम्मेलन गरेर नेपालसँगको द्विपक्षीय मैत्री र सहकार्य अझ सुदृढ बनाउने इजरायलको इच्छा व्यक्त गरे । साथै उनले सम्पन्न निर्वाचनलाई लोकतन्त्र सुदृढ पार्ने महत्वपूर्ण कदमका रूपमा वर्णन गरे । इजरायली राजदूतले इजरायल पश्चिम एसियामा शान्ति चाहने र सम्पूर्ण क्षेत्रको शान्ति र प्रगतिका लागि आफ्ना सबै छिमेकी देशसँग वार्ता गर्न तयार रहेको बताए । उनले आफ्नो देशलाई हिज्बोल्लाह र हमासजस्ता कट्टरपन्थी समूहहरूले बारम्बार आक्रमण गरेका तथा ती समूहलाई इरानले वित्तीय तथा अन्य सहयोग गरेको आरोप लगाए । इजरायलले ती अतिवादी समूहका कारण आफ्नो अस्तित्व सङ्कटका परेकाले आत्मरक्षाका निम्ति प्रतिकार गर्दै आएको स्पष्ट पार्दै उनले जारी हवाई हमलामा इजरायलले इरानी नागरिकलाई लक्षित गर्न नचाहेको बताए । उनले भने, 'संयुक्त राज्य अमेरिका र इजरायलद्वारा गरिएका हवाई आक्रमण इरानको आणविक खतरालाई निष्प्रभावी बनाउने उद्देश्य हो । यो पश्चिम एसिया मात्र नभई विश्वव्यापी सुरक्षासँग जोडिएको विषय हो ।'
६ टन मकैको बीउ बाँड्दै पोखरा महानगर, किसान उत्साहित
गण्डकी । पोखरा महानगरपालिकाले महानगरभित्रका किसानलाई ६ टन बढी मकैको बीउ अनुदानमा वितरण गरेको छ । महानगरभित्र मकैखेतीप्रति किसानलाई आकर्षित गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा मकैको बीउ वितरण गरिएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । उनका अनुसार किसानलाई ‘रामपुर कम्पोजिट’ जातको बीउ एक हजार १०० किलो, अरुण–२ जातको बीउ तीन हजार १०० किलो र मनकामना–३ जातको बीउ दुई हजार १० किलो वितरण गरिएको छ । प्रतिकिलो रु ११० पर्ने मकैको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । अनुदानमा बीउ वितरणका लागि महानगरपालिकाले सार्वजनिक सूचना जारी गरेकामा निवेदन दिएका ५०० भन्दा बढी किसानलाई बीउ उपलब्ध गराइएको उनले जानकारी दिए । महानगर क्षेत्रमा करिब छ हजार हेक्टरमा मकैखेती हुने गरेको उनले बताए ।
त्रासले बिक्रीतर्फ लागे लगानीकर्ता, २१ अर्ब ५० करोडको कारोबार
काठमाडौं । साेमबार ६ प्रतिशतले सकारात्मक सर्किट लागेर एक घण्टामै बन्द भएको सेयर बजार मंगलबार दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.११ प्रतिशत अर्थात् ३२.०८ अंक घटेर २ हजार ८४३.३५ अंकमा बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ प्रतिशत अर्थात् १६२.४३ अंकले बढेर २ हजार ८७५ अंकमा बन्द भएको थियो । दिनभर बजारमा उतारचढाव हुँदा साढे २१ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर २ लाख ५ हजार ६११ पटक खरिदबिक्री हुँदा २१ अर्ब ५० करोड २० लाख ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा पछिल्लो समय देखिएको उतारचढावलाई लिएर लगानीकर्ता देव गुरागाईंले केही लगानीकर्तामा डरका कारण बिक्री बढेको बताए । उनका अनुसार बजारमा डरको वातावरण देखिए पनि सोही अनुपातमा केही लगानीकर्ताले भने सक्रिय रूपमा सेयर खरिद गरेका छन् । आज सेयर बेच्ने लगानीकर्ताहरूले भविष्यमा पश्चाताप गर्नुपर्ने अवस्था आउन सक्ने उनको अनुमान छ । ‘केही लगानीकर्ता अन्तर्राष्ट्रिय प्रभाव पर्छ कि भन्ने डरले बिक्रीतर्फ लागेका छन् । तर खरिद गर्न बसेका लगानीकर्ताले भने आज राम्रो अवसर पाएर मस्त खरिद गरेका छन्,’ उनले भने । उनका अनुसार बजारमा आन्तरिक रूपमा ठूलो नकारात्मक प्रभाव भने परेको छैन । अहिले सरकार गठन प्रक्रिया समेत पूरा भइसकेको छैन र मतगणना पनि सम्पन्न भइसकेको अवस्था छैन । यस्ता परिस्थितिमा विभिन्न हल्लाका कारण लगानीकर्ताहरू डराएर बिक्री गर्न थालेको उनले उल्लेख गरे । ‘भारतमा ग्यास अभाव भएको, विश्वविद्यालयहरू बन्द भएको जस्ता हल्लाहरू फैलिँदा बजारमा मनोवैज्ञानिक दबाब सिर्जना भएको छ । तर यस्ता हल्लाले दीर्घकालीन रूपमा बजारलाई असर गर्दैनन्,’ उनले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा पनि सकारात्मक संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत युद्धविरामको सम्भावना रहेको अभिव्यक्ति दिनु भएको छ । अब बजारमा ठूलो नकारात्मक प्रभाव पर्ने आधार छैन ।’ नेप्सेका अनुसार दिनभर कारोबारमा आएका कम्पनीहरुमध्ये ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको सेयर मूल्य बढेको छ । तर, विभिन्न ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार मंगलबार बैंकिङ समूह १.२७ प्रतिशत, विकास बैंक समूह १.१६ प्रतिशत, फाइनान्स समूह २.०६ प्रतिशत, होटल तथा पर्यटन समूह १.८५ प्रतिशत, जलविद्युत समूह १.४५ प्रतिशत, लगानी समूह १.४८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १ं८२ प्रतिशत, लघुवित्त समूह ०.१७ प्रतिशत, अन्य समूह १.४० प्रतिशत र व्यापार समूह २.१२ प्रतिशत घटेको छ । तर, आज जीवन बीमा समूह ०.५१ प्रतिशत, निर्जीवन बीमा समूह ०.४७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.४७ प्रतिशत बढेको छ । मंगलबार रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य १० प्रतिशत र सालपा विकास बैंकको ९.९९ प्रतिशत बढेको छ । जबकि सोमबार अधिकांश सेयर मूल्य बढ्दा रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य घटेको थियो । नेप्सेका अनुसार ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब ९ करोड ७३ लाख ५५ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, आँख खोला जलविद्युत कम्पनीको ६९ करोड ६४ लाख ३८ हजार रुपैयाँ, अपि पावरको ६१ करोड ६८ लाख रुपैयाँ, रिडी पावरको ५९ करोड ८७ लाख रुपैयाँ र शिवम् सिमेन्टको ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रदीप ज्ञवालीको चुनावी खर्च २६ लाखभन्दा बढी
काठमाडौं । नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ र निर्वाचन आयोगको स्वीकृत आचारसंहिता अनुसार ज्ञवालीले यो विवरण जिल्ला निर्वाचन कार्यालय गुल्मीमार्फत आयोग, काठमाडौंमा पेश गरेका हुन् । पेश गरिएको विवरण अनुसार ज्ञवालीले कुल २६ लाख ७५ हजार ३३० रुपैयाँ चुनावमा खर्च गरेका छन् । विवरणमा सबैभन्दा ठूलो रकम खाना र आवासमा ८ लाख ५० हजार रुपैयाँ भएको देखाइएको छ । त्यसबाहेक अन्य प्रमुख खर्चमा सम्पर्क कार्यालय स्थापनामा र सन्चालनमा देखिन्छ । सम्पर्क कार्यालय स्थापनामा र सन्चालनमा ज्ञवालीले ५ लाख ८० हजार रुपैयाँ खर्च गरेको उनले सार्वजनिक गरेको खर्च विवरणमा देखिन्छ । स्टेशनरी तथा प्रचार सामग्री छपाइमा ज्ञवालीले ४ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । विज्ञापन तथा सञ्चारमा १ लाख ७५ हजार ३३० रुपैयाँ र यातायातमा यातायातमा १ लाख रुपैयाँ खर्च भएको देखिन्छ । ज्ञवालीले आफ्नो खर्च विवरण पारदर्शी र निर्वाचन आचारसंहिता अनुसार राखिएको बताएका छन् ।
अत्याधुनिक प्रविधिसहितको नयाँ संसद भवन : टेबलबाटै मतदान, डिजिटल संवाद
काठमाडौं । नयाँ संसद् भवनको काम अझै पनि पूर्ण रूपमा टुंगिन सकेको छैन । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा गत बिहीबार सम्पन्न मतदानको परिणाम सार्वजनिक भइसकेको छ तर सांसदहरू बस्ने मुख्य भवन अझै तयार भएको छैन । सहरी विकास मन्त्रालयले चैत पहिलो साताभित्र भवन हस्तान्तरण गर्ने लक्ष्य राखेको भए पनि प्राविधिक सामानहरू विदेशबाट आयात गर्नुपर्ने बाध्यताका कारण तोकिएको समयमा काम सम्पन्न हुन नसकेको परियोजनाले जनाएको छ । विशेष भवन निर्माण परियोजना इकाइका अनुसार हालसम्म यस परियोजनाको कुल ९४ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । परियोजना निर्देशक रोशन श्रेष्ठका अनुसार नयाँ सांसदहरूलाई शपथ खुवाउनका लागि मुख्य भवन निर्माण भइन्जेलका लागि साइडमा रहेको अर्को हल तयारी अवस्थामा राखिएको छ । सिंहदरबारभित्र निर्माण गरिरहेको नयाँ संसद भवन विगतको भन्दा नितान्त फरक र अत्याधुनिक प्रविधियुक्त बन्न लागेको श्रेष्ठले जानकारी दिए । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार यो भवनलाई अन्तर्राष्ट्रिय मापदण्डको ‘स्मार्ट’ संसद्का रूपमा विकास गरिँदैछ, जहाँ सांसदहरूले आफ्नो सिटमै बसेर डिजिटल प्रविधिको भरपुर उपयोग गर्न पाउनेछन्। नयाँ भवनको मुख्य विशेषता भनेको प्रत्येक सांसदको टेबलमा जडान गरिने अत्याधुनिक ‘डिजिटल डिभाइस’ हो । अब सांसदहरूले बोल्न वा मतदान गर्नका लागि विगतको जस्तो झन्झट बेहोर्नु पर्ने छैन । विभागका उपमहानिर्देशक रोशन श्रेष्ठका अनुसार सांसद बसेको टेबलमा एउटा डिभाइस राखिएको छ जसले कुन सांसद बोलिरहनुभएको छ भन्ने कुरा त्यही टेबलको स्क्रिनमा डिस्प्ले हुन्छ । त्यस्तै, भोटिङ गर्नु पर्यो भने पनि ‘हुन्छ’ वा ‘हुन्न’ भन्ने बटन थिचेर टेबलबाटै मत दिन सकिने व्यवस्था मिलाइएको छ । यो प्रविधिलाई नेपालको संसदीय इतिहासमै अहिलेसम्मकै आधुनिक मानिएको छ । यद्यपि निर्माण कार्यमा केही प्राविधिक चुनौतीहरूका कारण केही ढिलाइ भने भएको छ । अर्डर गरिएका सामग्रीहरू सोचेजस्तो गुणस्तरको नभएपछि कतिपय सामानहरू फिर्ता पठाउनुपरेको र पुनः मगाउँदा समय थपिएको विभागको दाबी छ । ‘सुरुमा एउटा सामान भनेर अर्डर गर्यौं, आइपुग्दा अर्कै गुणस्तरको आउने जस्ता समस्याले गर्दा तीन वर्षको समय अवधि गणना गर्दैमा सकियो,’ श्रेष्ठले निर्माण ढिलाइको कारण खुलाए ।
रास्वपा विपिन आचार्यले चुनावमा गरे १६ लाख २९ हजार खर्च
काठमाडौं । दाङको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित विपिनकुमार आचार्यले चुनावी खर्चको विवरण बुझाएका छन् । उनले मंगलबार निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च बुझाएका हुन् । उनी रास्वपाका सहमहामन्त्री समेत रहेका आचार्यले बुझाएको चुनावी खर्च विवरणमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च भएको उल्लेख छ । आचार्यले नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका पराजित गरेका थिए । उनले ४३ हजार ८२२ मत पाएका थिए भने पोखरेलले १५ हजार ५५८ मत पाएका थिए ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार
काठमाडौं । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् । सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार बनाउने हैसियतमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै १२५ सदस्य निर्वाचित भएका छन् । यसअघिको संसद्मा उक्त दलको २१ सदस्य रहेकामा तीमध्ये १२ जना दोहोरिएका छन् भने यसपटक निर्वाचितमध्ये ११३ जना नयाँ छन् । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नौ, नेपाली कम्युनिष्ट पार्टीले आठ, श्रम संस्कृति पार्टीले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक स्थानमा जित हासिल गरेको छ । एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अधिकांश नयाँ अनुहार जितेको रास्वापाबाट झापा निर्वाचन क्षेत्र नं १ बाट निशा डाँगी, क्षेत्र नं २ बाट इन्दिरा राना मगर, क्षेत्र नं ३ बाट प्रकाश पाठक, क्षेत्र नं ४ बाट शम्भुप्रसाद ढकाल र क्षेत्र नं ५ बाट बालेन्द्र शाह निर्वाचित भएका छन् । मोरङ क्षेत्र नं १ बाट यज्ञमणि न्यौपाने, क्षेत्र नं २ बाट कृष्णकुमार कार्की, क्षेत्र नं ३ बाट गणेश कार्की, क्षेत्र नं ४ बाट सन्तोष राजवंशी, क्षेत्र नं ५ बाट आशा झा र क्षेत्र नं ६ बाट रुबिना आचार्य निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । सुनसरी निर्वाचन क्षेत्र नं २ बाट लालविक्रम थापा, क्षेत्र नं ३ बाट अशोककुमार चौधरी, क्षेत्र नं ४ बाट दीपककुमार साह, ओखलढुङ्गा क्षेत्र नं १ विश्वराज पोखरेल, उदयपुर क्षेत्र नं १ बाट पारशमणि गेलाल र क्षेत्र नं २ बाट सूर्यबहादुर तामाङ निर्वाचित भएका छन् । सप्तरी क्षेत्र नं १ बाट पुष्पाकुमारी चौधरी, क्षेत्र नं २ बाट रामजी यादव, क्षेत्र नं ३ बाट अमरकान्त चौधरी र क्षेत्र नं ४ बाट सीताराम साह, सिराहा क्षेत्र नं १ बाट बब्लु गुप्ता, क्षेत्र नं २ बाट शिवशङ्कर यादव, क्षेत्र नं ३ बाट शम्भुकुमार यादव र क्षेत्र नं ४ बाट तपेश्वर यादव निर्वाचित भएका छन् । धनुषा क्षेत्र नं २ बाट रामविनोद यादव, क्षेत्र नं ३ बाट मनिष झा र क्षेत्र नं ४ बाट राजकिशोर महतो, महोत्तरी क्षेत्र नं १ बाट प्रमोदकुमार महतो, क्षेत्र नं २ बाट दीपकुमार साह, क्षेत्र नं ३ बाट उज्ज्वलकुमार झा र क्षेत्र नं ४ बाट गौरीकुमारी विजयी भएका छन् । सर्लाही क्षेत्र नं १ मा नितिमा भण्डारी (कार्की), क्षेत्र नं २ मा रविन महतो, क्षेत्र नं ३ मा नरेन्द्र साह कलवार र क्षेत्र नं ४ मा अमरेशकुमार सिंह, रौतहट क्षेत्र नं १ मा राजेशकुमार चौधरी, क्षेत्र नं ३ मा रवीन्द्र पटेल र क्षेत्र नं ४ मा गणेश पौडेल निर्वाचित भएका छन् । सोही पार्टीबाट बारा क्षेत्र नं १ बाट गणेश धिमाल, क्षेत्र नं २ बाट चन्दनकुमार सिंह, क्षेत्र नं ३ बाट अरबिन्द साह र क्षेत्र नं ४ बाट रहबर अन्सारी, पर्सा क्षेत्र नं १ बाट बुद्धिप्रसाद पन्त, क्षेत्र नं २ बाट सुशीलकुमार कानु, क्षेत्र नं ३ बाट रामाकान्तप्रसाद चौरसिया र क्षेत्र नं ४ बाट टेकबहादुर शाक्य निर्वाचित भएका छन् । दोलखा क्षेत्र नं १ बाट जगदीश खरेल, रामेछाप निर्वाचन क्षेत्र नं १ बाट कृष्णहरि बुढाथोकी, सिन्धुली क्षेत्र नं १ बाट धनेन्द्र कार्की र क्षेत्र नं २ बाट आशिष गजुरेल, धादिङ क्षेत्र नं १ बाट आशिका तामाङ र क्षेत्र नं २ बाट बोधनारायण श्रेष्ठ, नुवाकोट क्षेत्र नं १ बाट विक्रम तिमिल्सिना र क्षेत्र नं २ बाट अचुत्तम लामिछाने निर्वाचित भएका छन् । रास्वपाबाटै काठमाडौं क्षेत्र नं १ बाट रन्जु न्यौपाने, क्षेत्र नं २ बाट सुनिल केसी, क्षेत्र नं ३ बाट राजुनाथ पाण्डे, क्षेत्र नं ४ बाट पुकार बम, क्षेत्र नं ५ बाट सस्मित पोखरेल, क्षेत्र नं ६ बाट शिशिर खनाल, क्षेत्र नं ७ बाट गणेश पराजुली, क्षेत्र नं ८ बाट विराजभक्त श्रेष्ठ, क्षेत्र नं ९ बाट डोलप्रसाद अर्याल र क्षेत्र नं १० बाट प्रदीप विष्ट, भक्तपुर क्षेत्र नं १ बाट रुकेश रन्जित र क्षेत्र नं २ बाट राजीव खत्री, ललितपुर क्षेत्र नं १ बाट बुद्धरत्न महर्जन, क्षेत्र नं २ बाट जगदीश खरेल र क्षेत्र नं ३ बाट तोसिमा कार्की विजयी भएका छन् । काभ्रेपलाञ्चोक क्षेत्र नं १ बाट मधुकुमार चौलागाई र क्षेत्र नं २ बाट बदनकुमार भण्डारी, सिन्धुपाल्चोक क्षेत्र नं १ बाट भरतप्रसाद पराजुली, मकवानपुर क्षेत्र नं १ बाट प्रकाश गौतम र क्षेत्र नं २ बाट प्रशान्त उप्रेती, चितवन क्षेत्र नं १ बाट हरि ढकाल, क्षेत्र नं २ बाट रवि लामिछाने र क्षेत्र नं ३ बाट सोविता गौतम निर्वाचित भएका छन् । गोरखा क्षेत्र नं १ मा सुधन गुरुङ र क्षेत्र नं २ मा कविन्द्र बुर्लाकोटी, लमजुङ क्षेत्र नं १ मा धर्मराज केसी, कास्की क्षेत्र नं १ मा खडकराज पौडेल, क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल र क्षेत्र नं ३ मा बिना गुरुङ, तनहुँ क्षेत्र नं १ मा स्वर्णिम वाग्ले र क्षेत्र नं २ मा श्रीराम न्यौपाने निर्वाचित भएका छन् । सोही पार्टीबाट स्याङ्जा क्षेत्र नं १ मा धनन्जय रेग्मी, क्षेत्र नं २ मा झविलाल डुम्रे, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १ मा राजन गौतम, क्षेत्र नं २ मा मनिष खनाल, बागलुङ क्षेत्र नं १ मा सुशील खड्का र क्षेत्र नं २ मा सोम शर्मा तथा पर्वत क्षेत्र नं १ मा सागर भुसाल विजयी भएका छन् । गुल्मी क्षेत्र नं १ मा सागर ढकाल र क्षेत्र नं २ मा गोविन्द पन्थी, पाल्पा क्षेत्र नं २ मा माधवबहादुर थापा, अर्घाखाँची क्षेत्र नं १ मा हरिप्रसाद भुसाल, रुपन्देही क्षेत्र नं १ मा सुनिल लम्साल, क्षेत्र नं २ मा सुलभ खरेल, क्षेत्र नं ३ मा डा लेखजङ्ग थापा, क्षेत्र नं ४ मा कन्हैया बनिया र क्षेत्र नं ५ मा तौफिक अहमद खान निर्वाचित भएका छन् । कपिलवस्तु क्षेत्र नं १ मा मोहनलाल आचार्य र क्षेत्र नं २ मा विक्रम थापा, प्यूठान क्षेत्र नं १ मा सुशान्त वैदिक, दाङ क्षेत्र नं १ मा देवराज पाठक, क्षेत्र नं २ मा विपिनकुमार आचार्य र क्षेत्र नं ३ मा कमल सुवेदी, बाँके क्षेत्र नं १ मा कमल सुवेदी र क्षेत्र नं ३ मा खगेन्द्र सुनार र बर्दिया क्षेत्र नं १ मा ठाकुरसिंह थारू र क्षेत्र नं २ मा श्रीधर पोख्रेल, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ मा विक्रम खनाल र क्षेत्र नं २ मा नरेन्द्रकुमार गुप्ता निर्वाचित भएको आयोगले जनाएको छ । सुर्खेत निर्वाचन क्षेत्र नं २ मा रमेशकुमार सापकोटा, सुदूरपश्चिम प्रदेशको कैलाली क्षेत्र नं १ मा कोमल ज्ञवाली, क्षेत्र नं २ मा केपी खनाल, क्षेत्र नं ३ मा जगतप्रसाद जोशी, क्षेत्र नं ४ मा खेमराज कोइराला र क्षेत्र नं ५ मा आनन्दबहादुर चन्द, बैतडी क्षेत्र नं १ मा हरिमोहन भण्डारी, डडेल्धुरा क्षेत्र नं १ मा ताराप्रसाद जोशी, कञ्चनपुर क्षेत्र नं १ मा जनकसिंह धाँमी, क्षेत्र नं २ मा दीपकराज बोहरा र क्षेत्र नं ३ मा ज्ञानेन्द्रसिंह महता निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित १८ मध्ये चार जनाबाहेक सबै नयाँ अनुहार छन् । सो पार्टीबाट पाँचथर क्षेत्र नं १ मा नरेन्द्रकुमार केरुङ, इलाम क्षेत्र नं १ मा निश्कल राई, तेह्रथुम क्षेत्र नं १ मा सन्तोष सुब्बा, सोलुखुम्बु क्षेत्र नं १ मा प्रकाश सिंह कार्की, रौतहट क्षेत्र नं २ मा फिरदोश आलम, रसुवा क्षेत्र नं १ मा मोहन आचार्य, मनाङ क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ क्षेत्र नं १ मा योगेश गौचन थकाली निर्वाचित भएका छन् । यस्तै, पाल्पा क्षेत्र नं १ मा सन्दीप राना, कपिलवस्तु क्षेत्र नं ३ मा अभिषेकप्रताप शाह, मुगु क्षेत्र नं १ मा खड्ग शाही, हुम्ला क्षेत्र नं १ मा जयपति रोकाया, जाजरकोट क्षेत्र नं १ मा खडकबहादुर बुढा, दैलेख क्षेत्र नं १ मा बासना थापा, सुर्खेत क्षेत्र नं १ मा विष्णुबहादुर खड्का, बाजुरा क्षेत्र नं १ मा जनकराज गिरी, अछाम क्षेत्र नं १ मा भरतकुमार स्वार र डोटी क्षेत्र नं १ मा भरतबहादुर खड्का निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फबाट विजयी नौ मध्ये तीन जना नयाँ अनुहार छन् । सो पार्टीबाट निर्वाचित प्रत्यक्षतर्फको सांसद सदस्यमा ताप्लेजुङ क्षेत्र नं १ मा क्षितिज थेबे, इलाम क्षेत्र नं २ मा सुहाङ नेम्वाङ, सङ्खुवासभा क्षेत्र नं १ मा अर्जुनकुमार कार्की, धनकुटा क्षेत्र नं १ मा राजेन्द्रकुमार राई, बाँके क्षेत्र नं २ मा मोहम्मद इश्तियाक राई, दैलेख क्षेत्र नं २ मा लक्ष्मीप्रसाद पोखरेल, अछाम क्षेत्र नं २ मा यज्ञबहादुर बोगटी, बझाङ क्षेत्र नं १ मा ऐनबहादुर महर र दार्चुला क्षेत्र नं १ मा गणेशसिंह ठगुन्ना विजयी भएको आयोगले जनाएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित आठमध्ये तीन जना सङ्घीय संसद्मा नयाँ अनुहार रहेका छन् । सो पार्टीबाट धनुषा क्षेत्र नं १ मा मातृकाप्रसाद यादव, सिन्धुपाल्चोक क्षेत्र नं २ मा युवराज दुलाल, रुकुम (पूर्वीभाग) क्षेत्र नं १ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पा क्षेत्र नं १ बाट वर्षमान पुन, सल्यान क्षेत्र नं १ बाट रमेशकुमार मल्ल, डोल्पा क्षेत्र नं १ बाट धनबहादुर बुढा, कालिकोट क्षेत्र नं १ बाट महेन्द्रबहादुर शाही र रुकुम (पश्चिम भाग) क्षेत्र नं १ बाट गोपाल शर्मा विजयी भएका छन् । यस निर्वाचनदेखि उदाएको श्रम संस्कृति पार्टीबाट विजयी तीनै जना नयाँ अनुहार हुन् । सो पार्टीबाट भोजपुर क्षेत्र नं १ मा ध्रुवराज राई, सुनसरी क्षेत्र नं १ बाट हर्कराज राई र खोटाङ क्षेत्र नं १ बाट आरेन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्ला क्षेत्र नं १ मा ज्ञानबहादुर शाही पुरानै सांसद हुन् । म्याग्दी क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन नयाँ अनुहारका रुपमा विजयी भएका छन् । समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा यही फागुन २१ गते सम्पन्न निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । आज अपराह्न २ बजेसम्म एक करोड पाँच लाख मतगणना भइसकेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर केसीका अनुसार समानुपातिकतर्फको मतगणना आज साँझसम्म सकिने अनुमान गरिएको छ । जारी मतगणनाअनुसार हालसम्म छवटा राजनीतिक दलले कुल गणना मतको तीन प्रतिशत मत कटाएका छन् । समानुपातिकतर्फ ११० सिटका लागि ५७ राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए । रासस
यी हुन् निर्वाचनमा पराजित ७ पूर्वगृहमन्त्री
काठमाडौं । चैत्र २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ७ पूर्व गृहमन्त्रीहरू पराजित भएका छन् । विभिन्न सरकारमा सहभागी भएका पूर्वगृहमन्त्रीहरू पराजित भएसँगै यसपटकको संसदमा नदेखिने भएका हुन् । दुई पटक गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठ सर्लाही- ३ मा पराजित भए । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दिएका थिए । सर्लाही- ३ मा नरेन्द्र साहले ४६ हजार ८ सय ९० मत प्राप्त गर्दै विजयी भएका हुन् । श्रेष्ठले १३ हजार ३ सय ३८ मत प्राप्त गरे । श्रेष्ठ पहिलोपटक विसं २०६८ साउन ४ गतेबाट भदौ ३ गतेसम्म र दोस्रो पटक विसं २०७९ चैत १२ गतेदेखि विसं २०८० फागुन २१ गतेसम्म गृहमन्त्री भएका थिए । रुकुम-पश्चिमबाट पूर्वगृहमन्त्री जनार्दन शर्मा पनि पराजित भएका छन् । गतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार दिएका शर्मालाई नेकपाका उम्मेदवार गोपाल शर्माले हराएका हुन् । शर्माले १४ हजार ३ सय ४६ मत पाउँदा शर्माले २१ हजार ६ सय ९ मत पाएका थिए । शर्मा विसं २०७४ असार १२ गतेदेखि असोज ३१ गतेसम्म गृहमन्त्री भएका थिए । त्यस्तै, जाजरकोटबाट पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन् । उनलाई नेपाली कांग्रेसका खड्गबहादुर बुढाले हराएका हुन् । बुढाले २० हजार १४२ मत ल्याउँदा बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे । बस्नेत विसं २०७२ असोज १ गतेबाट विसं २०७३ साउन २० गतेसम्म गृहमन्त्री भएका थिए । सुनसरी- ३ बाट पूर्वगृहमन्त्री विजयकुमार गच्छदार पनि पराजित भए । उनी रास्वपाका अशोक चौधरीसँग पराजित भएका हुन् । चौधरीले ४७ हजार ४२१ मत प्राप्त गर्दा गच्छदारले २० हजार ५०१ मत पाए । गच्छदार विसं २०६८ भदौ १२ गतेदेखि विसं २०६९ फागुन ३० गतेसम्म गृहमन्त्री भएका थिए । कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधि पनि यसपटकको निर्वाचनमा पराजित बनेका छन् । उनी रास्वपाका मनिष झासँग पराजित भएका हुन् । झाले ४३ हजार ९८८ मत प्राप्त गर्दा निधिले १६ हजार ६५२ मत पाए । निधि विसं २०७३ साउन २० गतेदेखि विसं २०७४ जेठ २४ गतेसम्म गृहमन्त्री भएका थिए । त्यसैगरी, नेकपाका नेता भीमबहादुर रावल पराजित भएका छन् । उनी नेपाली कांग्रेसका भरतकुमार स्वारसँग पराजित भएका हुन् । रावलले रावल १० हजार २३३ मत ल्याउँदा स्वारले १० हजार ७५९ मत प्राप्त गरे । रावल विसं २०६६ असार ३ गतेदेखि २०६७ माघ २२ गतेसम्म गृहमन्त्री भएका थिए । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्रीसमेत भइसकेका छन् । ओली विसं २०५१ मङ्सिर १४ गतेदेखि विसं २०५२ असोज ५ गतेसम्म गृहमन्त्री भएका थिए । झापा ५ बाट उम्मेदवार बनेका ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित भएका हुन् । उनले १८ हजार ७३४ मत प्राप्त गर्दा शाहले ६८ हजार ३४८ मत प्राप्त गरे ।