पृथ्वी राजमार्ग १५ दिनसम्म दैनिक चार घण्टा बन्द हुने
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ । यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ०४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो । अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधानमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । जिल्ला सुरक्षा समितिको शुक्रबार बैठकले निर्णय गरेको हुँदा सम्बन्धित सबै सरोकारवालाको लागि सूचनामार्फत जानकारी गराइएको उनले बताए । उक्त समय अवधिमा अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान पूर्णरुपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्नेगरी राजमार्ग बन्दको व्यवस्था मिलाइएको उनले बताए ।
१० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा छौं : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल अहिले करिब १० अर्ब भन्दा बढी डलरको सञ्चितिमा रहेको बताए । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । ‘अर्थतन्त्रका वाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएको छ, नेपाल अहिले करिब १० अर्ब भन्दा बढी डलरको सञ्चितिमा रहेको छ, यसले करिब १० महिनाको आयातलाई धान्नसक्रछ,’ उनले भने । गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताए । उनले नेपाल समान देशको तुलनमा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गरे । उनले पुस मसान्तको डेटा अनुसार नै झन्डै एक खर्बको शोधनान्तर बचत रहेको भन्दै गत सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको जानकारी दिए । यस्रतै, गभर्नर अधिकारीले वि।सं। २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको बताउँदै आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाई गरिरहेको बताए । ‘अहिले लङ टर्म इन्भेष्टमेण्टका बारेमा सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्नसक्छ, आवाजबिहीनहरुको र साना लगानीकर्ताहरुको लागि २ करोडभन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशत भन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको छ,’ उनले भने ।
प्रमुख निर्वाचन आयुक्तको भनाइ संविधान अनुकुल छैन : उपसभापति खड्का
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइप्रति असन्तोष व्यक्त गरेका छन् । शुक्रबार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरित अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको हो । उनले नेपालको संविधानले फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेरमात्रै संविधानले व्यवस्था गरेको बताए । ‘संविधानको व्यवस्थाविपरित आयोगले निर्णय गरेको छ, प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्था अनुकुल छैन, आयोगले निकालेको विज्ञप्ती र प्रमुख आयुक्तले बोल्नुभएको कुरा मिलेको छैन,’ उनले भने । उनले प्रमुख आयुक्तसँग छलफल गरेर आयोगको सोचाइका बारेमा बुझेर मात्रै आफूहरु अघि बढ्ने बताएका छन् । चैत्र ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आयोगले शनिवार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । यसअघि बिहीवार भएको राष्ट्रपति निर्वाचनमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसक्नुभएको छ ।
सबैको लघुवित्तको १८ प्रतिशत लाभांश पारित
काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाकाे लाभांश पारित भएकाे छ । लघुवित्तकाे छैठौं वार्षिक साधारण सभा संचालक समितिद्वारा प्रस्तावित १८ प्रतिशत लाभांश र ०.९५ प्रतिशत लाभांश पारित भएकाे हाे । सभाले आ.व. २०७८/७९ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ । यसैगरी सभाले लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम श्रेष्ठ एण्ड न्यौपाने एशोसियट चार्टर्ड एकाउण्टेण्टसलाई लेखापरीक्षक नियुक्त गरेको छ । वार्षिक साधारण सभामा पेश भएका सम्पूर्ण प्रस्तावहरु उपस्थित सेयरधनीहरुले सर्वसम्मतिबाट पारित भएकाे लघुवित्तले जानकारी दिएकाे छ ।
क्यानले श्री एयरलाइन्सलाई दियो पुन: उडान अनुमति
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सलाई पुनस्उडान अनुमति दिएको छ । फागुन २५ गते उडान नं एसएच८२१ भएको प्राविधिक कारणका छानबिनको लागि क्यानले श्री एयलाइन्सको उडान रोकेको थियो । प्राधिकरणका विज्ञहरुको टोलीले एयरलाइन्सको सम्पूर्ण जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ्ग, अपरेशन, सुरक्षा तथा कम्पनीको वित्तिय स्थिति तथा प्रशासनिक क्षमताको विस्तृत अध्ययन गर्दा पूर्ण सुरक्षित भएको पाएपछि पुनः सेवा संचालन गर्न अनुमति दिएको हो ।
सात महिनामा १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात
काठमाडाैं । चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १६ करोड ७० लाख ३३ हजार बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो । सात महिनामा दश करोड ६३ लाख ७७ हजार बराबरको क्लिङ्कर र छ करोड छ लाख ५६ हजार बराबरको सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार सो अवधिमा एक लाख ५१ हजार एक सय ५८ टन क्लिङ्कर र एक लाख ५३ हजार चार सय ९३ टन सिमेन्ट निर्यात भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै नेपाली दुई सिमेन्ट उद्योगले नेपाली ब्राण्डका सिमेन्ट भारतमा गर्दै आएका छन् । गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ देखि अर्घाखाँची ब्राण्डको सिमेन्ट भारत निर्यात सुरु भएको हो । दुई सिमेन्ट तथा एक स्टिल निर्यात गरेका व्यवसायी भारतीय बजारमा नेपाली उत्पादनले बजार पाएको बताउँछन् । नियमित निर्यात पाल्पा र अर्घाखाँची सिमेन्टले भारतका विभिन्न सहरमा नेपाली सिमेन्ट निर्यात भइरहेको बताएका छन् । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले ठूला चाडपर्वमा निर्यात केही सुस्त भए पनि हाल नियमितरुपमा निर्यात भइरहेको जानकारी दिए । ‘ठूला चाडपर्वका कारण केही सुस्तता भयो, नयाँ सामग्री, नयाँ ब्राण्ड, नयाँ बजार भएपछि हामीसँगै ग्राहकले बुझ्नसमेत केही समय लाग्छ, नयाँ स्थानमा पिकअप लिन केही समय लाग्यो’, उनले भने, ‘हामीले निरन्तररुपमा नेपाली सिमेन्ट र रड निर्यात गरेका छौँ, विस्तारै बजार पाउँछ”, अर्घाखाँची ब्राण्डको सिमेन्ट हाल भारतको उत्तर प्रदेशमा निर्यात भइरहेको छ ।’ पाल्पा सिमेन्टले गत असार २४ गते श्री स्टिलले गत साउन ४ गते तथा अर्घाखाँची सिमन्टले गत असोज ३१ गतेदेखि नेपाली उत्पादन भारत निर्यातको सुरु गरेका हुन् । सरकारले सिमेन्ट, स्टिललगायत सामान निर्यातमा आठ प्रतिशत अनुदान र वार्षिक दश करोड बढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत सो व्यवस्था गरेको थियो । त्यसका लागि कार्यविधि पनि बनिसकेको छ । सिमेन्ट उत्पादक सङ्घले सरकारले सिमेन्ट निर्यातमा छुटको घोषणा गरेपछि भारतको विभिन्न सहरमा निर्यात सुरु भएको जनाएको छ । भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै सिमेन्ट उद्योग रहेको सङ्घले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणित प्रमाणपत्र लिनुपर्नेछ । सिमेन्ट उत्पादक सङ्घको तथ्याङ्कअनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै दुई करोड २० लाख टन छ । निर्यात र विद्युत्् महसुलमा छुट पाउने भएपछि उद्योगी उत्साहित भएका छन् । सरकारको उक्त छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्यलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् । ‘सिजन’मै छैन माग मङ्सिर महिनादेखि नेपालमा विकास निर्माणको समय सुरु भए तापनि सिमेन्ट खपत नभएको व्यवसायीले बताएका छन् । सिमेन्ट उत्पादन सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेलले विकास निर्माणको सुरु भए तापनि सिमेन्टको मागमा वृद्धि नभएको बताए । उनका अनुसार बजारमा माग नहुँदा अधिकांश सिमेन्ट उद्योगले क्षमताको आधाभन्दा पनि कम उत्पादन गर्दै आएका छन् । हाल ३० प्रतिशतमात्र सिमेन्ट खपत भएको उनको भनाइ छ । रासस
निर्माण सिजनमै बन्दैनन् घर, कति पर्छ सिमेन्ट र डण्डीको मूल्य ?
काठमाडौं । यो निर्माणको सिजन हो । मंसिर लागेसँगै निर्माणको सिजन सुरु हुन्छ । निर्माण व्यवसायीले मंसिरदेखि असारसम्मको समयलाई नेपालमा निर्माणको सिजन भन्ने गर्छन् । तर, यही सिजनमै निर्माण क्षेत्र सुस्त हुँदा व्यवसायीहरु समस्यामा परेका छन् । विगतका वर्षहरुमा यो सिजनमा निर्माण सामग्रीको माग बढ्ने गर्थ्यो । तर, यो वर्ष निजी आवास/भवन तथा अन्य निर्माणजन्य उद्योगहरु नचल्दा निर्माण सामग्रीको माग पनि न्यून देखिएको व्यवसायीहरु बताउँछन् । पछिल्लो समय निर्माणका काम न्यून मात्रामा हुँदा निर्माण सामग्रीको माग ३० प्रतिशत पनि नभएको व्यवयायीहरु बताउँछन् । बैंक तथा वित्तीय क्षेत्रमा तरलताको समस्या तथा बैंकमा लगानीयोग्य पुँजीको अभाव हुँदा पनि त्यसको मार निर्माण क्षेत्रमा परेको उनीहरु बताउँछन् । निर्माण सामग्री व्यवसायी संघका उपाध्यक्ष दीपक श्रेष्ठ तरलताको समस्याको कारण निर्माण क्षेत्रले गति लिन नसकेको बताउँछन् । ‘विगतमा दशैं तिहार सकिएसँगै निर्माण सामग्रीको माग उच्च हुने गरेको थियो, तर अहिले फागुन सकिन लाग्दासमेत मागमा बृद्धि हुन सकेको छैन’, उनले भने, ‘निर्माणको अफ सिजन तथा तरलताको समस्याका कारण अहिले निर्माण क्षेत्रमा मन्दी छ, अहिले हार्डवयरको बजार ७० प्रतिशत डाउन छ, खपत कम भएपछि मूल्य घट्यो ।’ अफ सिजन र सिजनमा निर्माण सामग्रीको मूल्यमा खासै फरक नभएतापनि हाल तरलता अभावका कारण व्यापार नोक्सानीमा गएको उनको भनाइ छ । उनले पछिल्लो समय खपतमा कमी आउँदा निर्माण सामग्रीको बजार सुस्ताएको बताए । व्यापार नभए पनि व्यवसायीहरुले नोक्सानीमै रहेर कर्मचारीको व्यवस्थापन गर्ने काम गरिएको उनको भनाइ छ । तरलता अभावकै कारण घर बनाउनेहरु घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य घटेको व्यवसायीको भनाई छ । बजारमा माग नहुँदा सिमेन्टको बजार खस्किएको उनले बताए । अहिले बजारमा प्रतिबोरा सिमेन्टको मूल्य ६ सय रुपैयाँदेखि ७ सय रुपैयाँसम्म रहेको उनको भनाइ छ । निर्माण सामग्री व्यापार संघका महासचिव टंक नेपाल पछिल्लो समय ५० प्रतिशतभन्दा कम व्यापार भएको बताउँछन् । बैंक तथा वित्तीय संस्थाले ऋण नदिँदा निजी आवास निर्माणको काम ठप्प छ, केही मात्रामा सरकारी निर्माणको काम भएपनि निजी क्षेत्रको काम ठप्प हुँदा व्यवसाय जोगाउनै मुस्किल छ,’ उनले भने । व्यापार नहुँदा निर्माण सामग्रीको मूल्य स्थीर नै रहेको उनले बताए । ‘कहिले माग उच्च हुँदा पनि मूल्य बढेको हुँदैन, कहिले माग न्यून हुँदा समेत मूल्य बढ्ने गरेको छ, भारतीय बजारमा निर्भर हुँदा मूल्य अस्थीर भएको छ,’ उनी भन्छन्, ‘तरलता अभावकै कारण घर बनाउनेहरु घट्न थालेपछि फलामजन्य सामग्रीको मूल्य पनि घटेको हो ।’ यस्तै, ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवाल माग नहुँदा बजार मूल्य स्थीर नै भएको बताउँछन् । विगतका वर्षहरुमा धमाधक निर्माणका कामहरु सुरु हुन्थे, डिमान्डसँगै मूल्य पनि उच्च हुन्थ्यो, तर अहिले अवस्था फरक हुँदा मूल्यसँगै माग पनि स्थीर छ,’ उनले भने । एक महिनादेखि निर्माणजन्य सामग्रीहरुको मूल्य नबढेको उनले बताए । अहिले बजारमा पैसा छैन, पैसा नै नभएपछि अहिले कामहरु रोकिएको छ । निजी कामहरु ठप्प छन् । सरकारी कामहरु पनि न्यून मात्रामा छ । उत्पादन कम हुँदा केही समय अघि वस्तुको मूल्य बढेको उनले बताए । उनले बजारमा डिमाण्ड नहुँदा अधिकांश ग्रिल उद्योगहरु हाल बन्दको अवस्थामा रहेको बताए । ‘कर्मचारी पाल्न सक्ने अवस्था छैन्, त्यही माथि फलामजन्य सामग्रीको मूल्य बीचमा बढ्यो, ग्राहकहरु समेत पर्ख र हेरको अवस्थामा हुँदा व्यवसाय बन्द गरेर बस्न थालेका छन्,’ उनले गुनासो गरे । हाल प्रतिकिलो ग्रिलको मूल्य ११५ रुपैयाँ रहेको उनले बताए । एक महिना अघि डण्डीको मूल्य प्रतिकेजी १२० रुपैयाँ थियो । हाल ११५ रुपैयाँमा झरेको छ । निर्माणको सिजनमा १४० रुपैयाँसम्म पुग्ने गरेको छ । छैन बजार अनुगमन अहिले खासै बजार अनुगमन छैन । त्यही मौका छोपेर व्यवसायीहरुले आफूखुशी मूल्य बढाउने गरेका छन् । व्यक्ति र पसल अनुसार मूल्य फरक पर्छ । पैसा तिरे अनुसारको वस्तुको गुणस्तर समेत नभएको अध्यक्ष कटुवाल स्वंयम बताउँछन् । अहिलेकोे अवस्था ग्रिल व्यवसाय मात्र नभएर यही व्यवसायसँग जोडिएका अधिकांश व्यवसाय धरासायी अवस्थामा रहेको उनकोे भनाइ छ । बिहीबारसम्मको तथ्यांक अनुसार ८१ अर्ब ५५ करोड ८० लाख रुपैयाँ खर्च भएको हो । सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि विकास खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो । लक्ष्यको तुलनामा ८ महिनामा विकास खर्च न्यून रहेको छ ।
पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्याइने
जाजरकोट । बारेकोट गाउँपालिकाले पाँच वर्षभित्र प्रत्येक घरमा खानेपानीको धारा पुर्याउने उद्देश्यका साथ कामको सुरु गरेको छ । सबैलाई सफा खानेपानी पिउने उपलब्ध गराउने उद्देश्यसहित कामको थालनी भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । अध्यक्ष गिरीका अनुसार अहिले पालिकाको वडा नम्बर १, २ र ३ मा खानेपानीको धारा पुर्याउने कामको सुरुआत भइरहेको छ । सो वडामा हेल्पिटास नेपाल, गाउँपालिका र पहाडी क्षेत्र विकास अभियानको सामाजिक परिचालनमा चार सय ३१ घरधुुरीमा चालु आर्थिक वर्ष २०७९/८० भित्रै खानेपानीको धारा जडान गर्ने लक्ष्य लिइएको छ । यो कार्यक्रम खारी, बयाल, बूढागाउँ, सिल्पाचौर, तलिआग्र, लिम्सामा लक्षित छ । लगभग दुई करोड २९ लाख ५९ हजार दुई सय ७८ रुपैयाँको लागतमा योजना सञ्चालन गरिएको हो । त्यस्तै बारेकोट–२ का ध्यारगाउँ, गैरागाउँ, कुनाउटा, रोकायगाउँका एक सय २८ घरधुरीमा धारा जडानका लागि ८० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । वर्षौंदेखि खानेपानीको अभावमा समस्य भोग्दै आएका यहाँका सर्वसाधारण घरमै खानेपानीको धारा जडान हुन थालेपछि खुसी भएको बारेकोट-२ का स्थानीय पदम रोकायले बताए । गाउँपालिकाको सहकार्यमा सबै वडामा खानेपानी पुर्याउनका लागि आफूहरु लागिपरेको परिचालनको क्षेत्रमा काम गरिरहेको पहाडी क्षेत्र विकास अभियानका प्रदीपजङ्ग शाहको भनाइ छ । हाल गाउँपालिकाले जलउपयोग योजना निर्माण गरिरहेको छ । जनसंख्या वृद्धि, पानीको बहुउपयोग, स्रोतको अभाव, जलवायु परिवर्तनलगायत कारणले सीमित पानीको स्रोतले मानिसको आवश्यकता परिपूर्ति गर्नुपर्ने अवस्था रहेकाले गुरुयोजना निर्माण गर्न लागिएको पनि गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिए । पानीलाई आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी पानीलाई कसरी उपयोग गर्ने भन्ने विषयमा बृहत् योजना बनाएर कार्यान्वयन गर्दै लैजाने गिरीको भनाइ छ । जलउपयोग गुरुयोजना जलस्रोतको एकीकृत विकासका लागि स्थानीय समुदायले सहभागितामूलक र समावेशी पद्धति अपनाएर जलस्रोतको योजना तर्जुमा र व्यवस्थापन गर्ने प्रक्रिया हो । यो प्रक्रियाले गाउँपालिकाभित्र भएका प्रयोग हुनसक्ने सम्भावित पानीका स्रोतको लेखाजोखा गर्नेछ । ‘स्थानीयस्तरमा जलस्रोतको प्रभावकारी तथा न्यायोचित ढङ्गले पानीको उपयोग गर्न एकीकृत योजनाको विकास गर्नु नै यसको उद्देश्य हो, पानीको सही उपयोग र न्यायोचित बाँडफाँट र दिगो प्रयोगको सुनिश्चित हुनेछ, उनले भने । जलउपयोग गुरुयोजना तयार भएपछि गाउँपालिकाको नेतृत्व लिएर सरकारी तथा गैरसरकारी निकायको समन्वयमा पानीसम्बन्धी विभिन्न आयोजनाको कार्यान्वयन गर्न थप सहज हुने विश्वास लिइएको छ । रासस