विकासन्युज

पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचार निःशुल्क गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाहरुमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारलाई विशेष कार्यक्रमको रुपमा निःशुल्क सेवा बिस्तार गर्ने बताएका छन् । बुधबार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाललले महिलाहरुमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रुपमा निःशुल्क सेवा बिस्तार गरिने बताए । उनले पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिने बताए । उनले महिलाहरूमा देखिएको रक्तअल्पताको अन्त्य गर्न महिलालक्षित पोषण कार्यक्रम पनि सञ्चालन गरिने उल्लेख गरे । प्रधानमनत्री दाहालले सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना गरिने पनि बताए । त्यसैगरी प्रधानमन्त्री दाहालले विदेशमा समस्यामा परेका नेपाली श्रमिक महिलाहरूका बारेमा राज्यले विशेष संयन्त्र निर्माण गर्दै उनीहरूको समस्या समाधान गर्ने बताए । निजी क्षेत्रमा कार्यरत महिलाहरुलाई समेत अनिवार्यरुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने नीतिलाई कडाईका साथ लागु गरिने उनले स्पष्ट पारे । उनले भने, ‘सातवटै प्रदेशमा निसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना, महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निशुल्क सेवा बिस्तार गरिनेछ । साथै पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी बिस्तार गरिनेछ । त्यसैले यो विषय अन्ततः समृद्ध तथा आत्मनिर्भर नेपालको निर्माणसहित समाजवादोन्मुख राज्य स्थापनासँग अभिन्नरूपमा गाँसिएकोले संविधानले परिकल्पना गरेअनुरूप सामाजिक न्यायसहितको समृद्धिको दिशामा कटिवद्ध भएर लाग्ने संकल्प तपाई हामी सबैले लिनुपर्ने देखिन्छ ।’ प्रधानमन्त्री दाहालले सूचना, प्रविधिमा महिलाको सहभागिता र स्वामित्व अभिवृद्धि गर्न महिलाकेन्द्रित प्रविधि तथा उपयोगको नीतिको विकास र यसका लागि राज्यका तर्फबाट लगानीमा जोड दिइने बताए । त्यस्तै शिशु स्याहार केन्द्रहरूको स्थापना, महिनावारी स्वास्थ्यमा सुधार, स्थानीय न्यायिक समितिहरूलाई महिलामैत्री बनाउने पनि उनले बताए । उनले भने, ‘पछिल्लो समयमा सूचना तथा प्रविधिमा भएको विकासले समाजका सबै तह र तप्का प्रभावित बनेका छन् । महिला अधिकारको प्रत्याभुतिका लागि सूचना तथा प्रविधिमा महिलाको पहुँच र स्वामित्व अनिवार्य मुद्दा बनेको छ ।  शिशु स्याहार केन्द्रहरूको स्थापना, महिनावारी स्वास्थ्यमा सुधार, स्थानीय न्यायिक समितिहरूलाई महिलामैत्री बनाउने, महिला उद्यमशीलता प्रवद्र्धनमा देखिएका कानूनी तथा अन्य व्यवहारिक जटिलता अन्त्यका लागि महिला नवप्रवर्तन र स्वरोजगार संयन्त्र निर्माण, हिंसापीडित महिलाहरूलाई सुरक्षा, संरक्षण तथा रोजगारी स्थापना गर्ने गरी पुनस्र्थापना तथा रोजगार केन्द्र स्थापना गर्ने जस्ता कामहरू अघि बढाइनेछ ।’ प्रधानमन्त्री दाहालले महिला उद्यमशीलता प्रवद्र्धनमा देखिएका कानूनी र व्यवहारिक जटिलता अन्त्य गर्न महिला नवप्रवर्तन र स्वरोजगार संयन्त्र निर्माण गर्ने बताए । त्यस्तै हिंसापीडित महिलाहरूलाई सुरक्षा, संरक्षण तथा रोजगारी स्थापना गर्ने गरी पुनस्र्थापना तथा रोजगार केन्द्र स्थापना गर्ने लगायतका काम अगाडी बढाइने उनको भनाई छ ।

आईएसम्म अध्ययन गरेका राई दम्पती व्यावसायिक कृषिमा रमाउँदै

खोटाङ । लामो समयदेखि काठमाडौंको सिनामङ्गलमा ‘होटल कल्पवृक्ष’ सञ्चालन गरी राम्रो आम्दानी गरिरहेको खोटाङ दिक्तेलका सुमन राईको परिवारलाई विसं २०७२ को भूकम्प गाउँ फर्कने बाहना बन्यो । भूकम्पको धक्का व्यवसायमा पनि पर्यो । त्यसैकारण भूकम्पपछि गाउँ फर्किएका राई दम्पतीलाई फेरि काठमाडौं पस्ने रहर जागेन । ‘होटलबाट मासिक औसतमा लाख रुपैयाँ आम्दानी हुन्थ्यो’, राईले भने, ‘तर भूकम्पका कारण गाउँ फर्किएपछि फेरि काठमाडौं जान मन लागेन, बरु यतै केही गरौँ भन्ने सोच बन्यो ।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुइपाका सुमन र श्रीमति सविताको परिवारले काठमाडौंमा नौ वर्ष बिताएपछि यतिबेला भने गाउँमै व्यावसायिक कृषिमा रमाइरहेको छ । ‘काठमाडौं जानुको उद्देश्य छोराछोरीलाई सुविधा सम्पन्न विद्यालयमै पढाऔँ भन्ने पनि थियो, होटल पनि चलायौँ, तर भूकम्पले हामीलाई गाउँ फर्कन प्रेरित गर्यो’, सुमन राईले भने । हाल यो दम्पतीले बुइपास्थित छिप्तीमा ‘यलम्बर नमुना कृषि फार्म’ दर्ता गरी कागती खेतीका साथै पशुपालनमा रमाइरहेको छ । करिब २० लाख रुपैयाँ लगानीबाट सुरु भए पनि हाल फार्ममा करिब एक करोड रुपैयाँँ लगानी भइसकेको छ । कुल ७२ रोपनीमा कागती खेती सुरु गरेका राई दम्पतीले अहिले यसबाट आम्दानी लिन थालिसकेका छन् । छिप्तीमा रहेको खाली जमिनमा राई दम्पतीले उन्नत जातका एक हजार एक सय बोट कागतीका बिरुवा रोपेका छन् । यस वर्षदेखि थप २५ रोपनी क्षेत्रफलमा कागतीको नयाँ विरुवा रोप्ने समेत उनीहरुको तयारी छ । कागतीसँगै लिची र कफीको समेत व्यावसायिक खेती उनीहरुले सुुरु गरिसकेका छन् । तीन वर्षअघि २२ रोपनीमा क्षेत्रफलमा रोप्नुभएको लिचीले उत्पादन दिन सुरु गरिसकेको छ । राई दम्पतीले कागती खेतीमा कामदारका रुपमा गासबासको व्यवस्थासहित मासिक १५ हजार रुपैयाँ तलबमा एक दम्पती राखेका छन् । ‘निरन्तरको कामका लागि हामीसँगै एक जना दम्पती हुनुहुन्छ भने आवश्यक परेको खण्डमा थप कामदार पनि ल्याउछौँ’, सुमन राईले भने । राई दम्पतीले कागती प्रतिकेजी एक सय ५० देखि दुई सय रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । ‘कागतीले उत्पादन दिन थालेको पहिलो वर्ष एक हजार दुई सय केजी बिक्री गर्यौँ’, सुमनले भने, ‘यसवर्ष उत्पादन अझ राम्रो छ, तर कति फलेको छ भन्ने टिपिसकेपछि मात्र थाहा हुन्छ ।’ राई दम्पतीको कागती बगानमा यतिबेला केही बोटमा फूल फुलेका छन् भने केहीमा कागती टिप्न अझै बाँकी छ । दुईजना कर्मचारी फल टिप्न, गोडमेल गर्न र पानी तथा मल हाल्नमै व्यस्त छन् । दिक्तेल बहुमुखी क्याम्पसबाट आईएसम्म अध्ययन गरेका राई दम्पतीले उत्पादन गरेका कागती दिक्तेल बजार र काठमाडौंमा पुग्ने गरेको छ । राई दम्पतीले कागती खेती मात्रै होइन, व्यावसायिकरुपमा राँगा, सुङ्गुर र बाख्रासमेत पालेका छन् । ‘यस वर्ष चार हजार कफीका बिरुवा रोप्ने तयारी छ’, हिमाली कफी उत्पादक किसान समूहका अध्यक्षसमेत रहेका सुमनले भने, ‘छिप्तीका सबै घरमा कफी उत्पादन गर्ने उद्देश्यले यसवर्ष २५ हजारभन्दा बढी कफीको बिरुवासमेत उत्पादन गरिएको छ ।’ एकजनाले मात्र उत्पादन गरेर आम्दानी लिन सम्भव नभएकाले १५ घरधुरी आवद्ध भएको उनको भनाइ छ । ‘सबैले उत्पादन गरियो भने कम्तीमा एउटा सानो उद्योग सञ्चालन गर्न सकिन्छ’, उनले भने, ‘प्रशोधन नगरी बेच्दा बजार अभाव हुन्छ । थोरै उत्पदन बाहिर पुर्याउन सकिन्न । त्यसैले सबै घर मिलेर उत्पादन गर्ने उद्देश्यका साथ यसपटक निःशुल्क बिरुवा वितरण गर्ने तयारी गरेका छौँ ।’ एक छोरा र एक छोरीका बुबआमा सुमन र सविताले सन्तानलाई भने काठमाडौंमै राखेर अध्यापन गराइरहेका छन् । छोरी स्मारिक बीबीए अध्ययनरत छन् भने छोरा सुरनजङ राई पढाइ सकेर रोजगारीका लागि बाहिर जाने तयारीमा छन् । एक हजार एक सय ३७ घरधुरी रहेको बुइपाका स्थानीय लिची, कागती, चिया खेती तथा बङ्गुर, कुखुरा, बाख्रा एवम् भैँसीपालन व्यवसायमा आवद्ध छन् । कृषि उत्पादनलाई प्राथमिकतामा राखेर बुइपाका सबै सामुदायिक वनमा व्यवसायिकरुपमा कफी र एभोकाडो खेती गर्ने तयारी गरिएको वडा नं १४ का वडाध्यक्ष दिनेश राईले बताए । कृषिलाई पहिलो प्राथमिकता दिएको नगरपालिकाले व्यावसायिक कृषि पेसा अपनाउने किसानलाई अनुदान दिने व्यवस्था गरेको छ । कूल १५ वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पकेटक्षेत्र निर्धारण गरेर कृषिमा लगानी गर्ने नगरसभाबाटै नीति तथा कार्यक्रम पारित गरेको छ । रासस

पत्रकार हुँदै प्राधिकरणको प्रमुख बनेकी जानुकाको कथा

काठमाडौं । पहिला–पहिला गाउँ घरमा बुढापाकाले भन्ने गर्थे ‘छोरी बढे अरूलाई छोरा बढे आफूलाई’ । यो गलत मनसायका कारण छोरीलाई विभेद गरिन्थ्यो । र, छोरीको विवाह कम उमेरमा नै गर्ने प्रचलन बाक्लो थियो । अहिले यो प्रचलन हटिसकेको छ । छोराले मात्र होइन, छोरीले पनि समाजमा ठूलो योगदान गरिरहेका छन् त्यस्ता धेरै उदाहरणहरु छन् । सरकारी उच्च पदमा बसेर राम्रो काम गर्न सक्छ है भनेर देखाउन धेरै महिलाहरु सफल भएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल पनि एक अग्रणी र उच्च तहमा बसेर काम गरिरहेकी मध्येमा पर्छन् । उनले प्राधिकरणको जिम्मा सम्हालेको करिब २ वर्ष भयो । जानुकाको जन्म झापा जिल्लाको मेची नगरपालिका वडा नम्बर २ मा भएको हो । मध्यम परिवारमा जन्मिएकी जानुका घरकी कान्छो छोरी हुन् । उनले एसएलसी र १२ कक्षा सम्मको अध्ययन झापाबाट नै पुरा गरिन् । मानविकी संकाय पढेकी उनी एक सामान्य विद्यार्थी नै हुन् । घर परिवारले स्नातक तह पनि घर नजिकैको कलेजमा पढ्न सल्लाह नदिएका होइनन् । प्लस टु परीक्षा दिएकी छोरीको विवाह गरिदिने उनको आमाबुवाको योजना थियो । तर, जानुकालाई भने चाँडै विवाह गर्ने इच्छा थिएन । ‘मलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने मानसिकता सानैदेखि थियो, आमाबुवाको विवाहको प्रस्तावलाई अस्वीकार गर्दै काठमाडौं आएँ, पछि घरको मान्छेले पनि विवाहको लागि प्रेसर दिन पनि छोड्नु भयो,’ उनले आफ्नो विगत स्मरण गर्दै सुनाइन् । गाउँबाट काठमाडौं आउँदा जानुका १९ वर्षकी थिइन् । उनले त्रिचन्द्र क्याम्पसमा स्नातक तह अन्तर्गत समाजशास्त्र विषय लिएर पढ्न थालिन् । काठमाडौंमा कहिले आफन्त त कहिले साथीहरूसँग डेरा लिएर बस्थिन् उनी । ‘विद्यार्थी जीवनमा धेरै समस्या भोगियो, पैसा नभएर भोक भोकै बसेको कति दिनहरु अझैं पनि याद आउँछ,’ संघर्षका ती दिनहरु सम्झिँदै उनले भनिन् । त्रिचन्द्र क्याम्पसमा पढ्दै गर्दा जानुकालाई कलाकार सन्तोष पन्तको सिरियल ‘हिजो आजको कुरा’मा खेल्ने अवसर मिल्यो । उनले सो सिरियलमा छोरीको भूमिकामा ८ वटा भागसम्म खेलिन् । ‘घरबेटी दिदी त्यही सिरियलमा काम गर्नु हुन्थ्यो, मलाई पनि त्यहाँ एक दिन हेर्नको लागि लैजानु भयो, त्यहाँ आर्यन फेसको मान्छे चाहिएको रहेछ, कथाले मागे अनुसार मेरो फेसले मेल खायो, र मलाई कालाकार सन्तोष पन्तले सोध्नु भयो,‘ सिरियल खेल्छौ ? मैले इन्कार गरेँ, उनले त्यो सम्वाद स्मरण गर्दै भन्नि, ‘घरबेटी दिदीले आएको अवसर नगुमाउ, खेल भनेर प्रोत्साहन गरेपछि मैले हिजो आजको कुरा भन्ने सिरियलमा २ महिना जति काम गरेँ ।’ जानुकालाई सिरियलबाट दुई महिनापछि एक हजार रुपैयाँ प्राप्त भयो । सो रकमले एक महिनाको घर भाडा तिर्न पुगेको उनी बताउँछिन् । समय अनुकूल नयाँ काम गर्नु नै उनको उद्देश्य हो । हिजो आजको कुरालाई छाडेर पढाइसँगै गैर सरकारी संस्था (एनजीओ) मा काम गर्न थालिन् । द्वन्दकालीन अवस्थामा एनजीओमा काम गर्न धेरै जोखिम पनि मोलेको उनले सुनाइन् । जानुकालाई एनजीओमा काम गर्दा धेरै ठाउँमा घुम्ने तथा बुझ्ने अवसर मिल्यो । ती दिनका जानुकासँग तिता मिठा अनुभव आझैं ताजै छन् । ती सेरोफेरोमा रहेर उनले लेख पनि लेख्ने गर्थिन् । स्नातक पढ्दै गर्दा उनले विभिन्न कम्पनीहरुमा काम पनि गरिन् । वैवाहिक जीवनपछिको नयाँ मोड स्नातक तहसम्मको पढाइ पुरा गरेर जानुकाले स्नातकोत्तरको पढाइ सुरु गरिन् । स्नातक पास गरेपछि उनलाई विवाहको प्रस्ताव आयो । उनले गुल्मीका विनोद प्रसाईँसँग विवाह गरिन् । विवाहपछि उनले एनजीओको काममा बिराम लगाइन् । उनका श्रीमान सञ्चार माध्यमसँगै गीत संगित क्षेत्रमा पनि काम गर्थे । पछि श्रीमान र श्रीमति मिलेर आफ्नै मिडियो सञ्चालन गर्ने योजना बनाए । नवनारी नामक म्यागेजिन सञ्चालन गरेर उनले सञ्चार क्षेत्रमा प्रवेश गरिन् । अहिले पनि उक्त म्यागेजिन सञ्चालनमा छ । सो म्यागेजिनको सम्पादकको भूमिकामा उनले पनि काम गरिन् । उनले सो म्यागेजिनमा १३ वर्ष काम गरेको सुनाउँछिन् । उनका श्रीमान् प्रसाईँको मुन इञ्जिनियरिङ कन्सलटेन्सी छ । जानुकाले पनि नवनारीसँगै उक्त कन्सलटेन्सी पनि सम्हालिन् । अहिले जानुकाका एक छोरा एक छोरी छन् । छोरी कक्षा ८ मा पढ्छिन् भने छोरा नर्सरीमा पढ्छन् । धेरै महिलाहरू विवाह गरेपछि घरायसी काममा व्यस्त हुन्छन् । वैवाहिक जीवन पछाडि कामलाई छाडेर घरायसी काममा महिला व्यस्त भएका उदाहरण धेरै छन् । तर, जानुकालाई वैवाहिक जीवनले बाहिरको काम गर्न रोकेन । घर परिवारबाट उनलाई झन् प्रोत्साहन मिलिरह्यो । र जानुकालाई प्रोत्साहनले थप उत्साह थप्यो । उनले केही गीतहरु पनि लेख्छिन् । ‘कामले सफलता निर्धारण गर्छ’ तपाईं हामी सबैलाई सोधिने प्रश्न हो, भविष्यमा के बन्ने लक्ष्य छ ? धेरैको जबाफमा भन्छन्, ‘व्यापारी, पाइलट, इञ्जिनियर, शिक्षक, सरकारी । तर, जानुकाले भने भविश्यमा यो बन्ने भनेर कहिल्यै योजना बनाइनन् । ‘म लक्ष्य नबनाउने मान्छे, धेरै लक्ष्य बनायो भने निराशा (फ्रस्टेशन) भइन्छ, समय अनुसार आफै लक्ष्य सिर्जना हुँदै जान्छ, लक्ष्य बनाए अनुसार उपलब्धि हासिल गर्न सकिएन भने त्यो बेला समस्या हुन्छ, हिँड्दै जाँदा बाटो बन्दै जाने हो, म चाहिँ हिँड्दै जाँदा बाटो बनाउनेमा परेँ,’ उनले सुनाइन् । जानुकाले यहाँसम्म आइपुग्छु भनेर कहिल्यै सोचकी पनि थिइनन् । काम गर्दै जाँदा जताबाट अवसर आयो त्यतै मोडिइन् उनी । जानुका भन्छिन् ‘सफलता ज्ञान र कामले दिलाउँछ ।’ जानुकालाई पेशामा भने इन्जिनियर मन पर्ने । आफ्नै श्रीमानको कन्सलटेन्सी भएकोले पनि धेरै कुरा त्यहाँबाट सिकेको उनी बताउँछिन् । त्यसपछि बनिन् प्राधिकरणको प्रमुख उनी अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा कार्यरत छिन् । । तर, उनलाई प्राधिकरणको प्रमुखभन्दा अघि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्ष हुन मन थियो । उनले सो पदको लागि प्रतिस्पर्धा पनि गरिन् । नाम पनि एक नम्बरमा निकालिन् । एक नम्बरमा नाम निकाले पनि काम गर्न भने नपाएको गुनासो उनी गर्छिन् । त्यसको केही समयपछि नै काठमाडौं उपत्यका विकास प्राधिकरण विकास आयुक्तको लागि आवेदन खुल्यो । ‘श्रीमानको कन्सल्टेन्सीमा काम गरेको भएर पनि मलाई इञ्जिनियरिङ विषयमा धेरै ज्ञान भइसकेको थियो, प्राधिकरणमा काम गर्न सक्छु भन्ने विश्वास थियो, आवेदन दिएँ, नाम पनि निस्कियो,’ खुसी हुँदै उनले भनिन् । वि.सं. २०७७ वैशाखबाट प्राधिकरणको विकास आयुक्तको जिम्मेवारी सम्हालेकी उनी अहिलेसम्म सन्तोषजनक काम गरेको बताउँछिन् । ‘म यहाँ नियुक्त भएर आएपछि दुई वटा राम्रो काम गरेर देखाउन पाइयोस् भन्ने छ, नयाँ नगरलाई स्वीकृत गराइ एक लाख रोपनीमा मात्र भए पनि काम गर्न सकियोस् र प्लटिङलाई निरुत्साहित गर्नको लागि थुप्रै ल्यान्ड पुलिङ आयोजना सञ्चालन गर्न पाइयोस्, साना तिना काम भइरहेको छ,’ उनले भनिन् ।

कर्मचारीको व्यवस्थित सरुवा प्रणाली मेरै कार्यकालमा हुन्छ : मन्त्री मोदी

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामति कर्मचारीको व्यवस्थित सरुवा प्रणाली आफ्नै कार्यकालमा सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रालयमा आज सञ्चारकर्मीसँगको अन्तक्रियामा उनले कर्मचारीको सरुवाकै विषयमा धेरै ध्यान केन्द्रित गर्दा अरु काम प्राथमिकतामा पर्न नसकेकाले व्यवस्थित सरुवा प्रणाली स्थापित गर्ने गृहकार्य भइरहेको जानकारी दिए । विसं २०७५ माघदेखि संसद्मा विचाराधीन रहेको निजामति सेवा विधेयक छिट्टै पारित गर्ने गरी काम अघि बढाइएको उनको भनाइ छ । ‘विधेयकमा मन्त्रालयको दृष्टिकोण दिइसकेका छौँ, कर्मचारी प्रशासन अब तहगत प्रणालीमा चल्ने भएको छ, कर्मचारी ६० वर्षे उमेर हदसम्म सेवामा बहाल रहने भएका छन्’, उनले भने । उनले दुर्गम क्षेत्रमा काम गर्नेको कार्य सम्पादनसम्बन्धी छुट्टै व्यवस्था गरिने र आगामी पिँढीका लागि सुशासन कायम गराउन निजामती सेवा विधेयकमा राम्रा व्यवस्था गरिएको उनको भनाइ छ । देशभरका दुई सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकामा आफू मन्त्री नियुक्त भई आएपछि ९० जनालाई सरुवा गरी पठाएको जानकारी पनि कार्यक्रममा उनले गराए । निजामति अस्पतालमा सुधार गर्ने विषयलाई पनि आफूले प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री मोदीको भनाइ छ । मन्त्रालयले निजामति अस्पताललाई सातै प्रदेशमा विस्तार गर्ने, राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, राष्ट्रिय व्यक्तित्व, शिक्षक र सहिद एवं बेपत्ता परिवारका सदस्यलाई पनि निजामति अस्पतालमा छुटमा उपचार गर्ने व्यवस्थाका लागि गृहकार्य भइरहेको जानकारी उनले बताए । मन्त्रालयको पुनःसंरचना गरी कर्मचारी प्रशासनलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने योजनालाई पनि प्राथमिकतामा राखिएको कार्यक्रममा जानकारी गराइएको थियो । मन्त्रालयलाई चुस्त रुपमा अघि बढाउन सबैबाट सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता मन्त्री मोदीको थियो । रासस

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ लाख कित्ता सेयर बेच्दै, क-कसले किन्न पाउँछन् ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरु र तत्तकालिन मेगा बैंकका संस्थापक सेयरधनीहरुको नाममा रहेको गरी कूल २ लाख ७७६ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले विद्यमान संस्थापक सेयरधनी रत्न बहादुर थापाको नाममा रहेको २७ हजार ६८९ कित्ता, जगदिश लाल बैद्यको १३ हजार १९८ कित्ता र शान्ता कुमारी पोखरेलको १३ हजार ८४६ कित्ता गरी कूल ५४ हजार ७३३ कित्ता सेयर बिक्री गर्ने जनाएको छ । बैंकले रत्न बहादुर थापाको नाममा रहेको सेयर सिता थापाले खरिद गर्ने भएकी छिन् । यस्तै, जगदिश लाल बैद्यको नाममा रहेको सेयर निरज लाल बैद्य र सरोज बैद्यले समान ६ हजार ५९९ कित्ता सेयर खरिद गर्ने भएका हुन् । यस्तै, शान्ता कुमारी पोखरेलको नाममा रहेको सेयर जगदिशचन्द्र पोखरेलले खरिद गर्ने बैंकले जनाएको छ । यस्तै, तत्कालिन मेगा बैंकका संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ४६ हजार ४३ कित्ता सेयर पनि बिक्रीमा राखेको छ । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । यसअघि बैंकले संस्थापक सेयरधनीहरुलाई बिक्रीमा राखेको भएपनि आवेदन नपरेपछि सर्वसाधारण लगानीकर्ताले ७ दिन भित्र आवेदन दिनुपर्नेछ । संस्थापक सेयरधनी बुधराज भुजेलको नाममा रहेको १६ हजार ९३१ कित्ता, रोशन श्रेष्ठको १३ हजार ६३० कित्ता, हरिहर उप्रेतीको ५ हजार कित्ता, परशुराम रिजालको ३६ हजार ५० कित्ता, चिज कुमारी गुरूङ्गको २ हजार ५९७ कित्ता, हरि प्रसाद अर्यालको ४२ हजार २५० सय कित्ता र गणेश कार्कीको २९ हजार ५८५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

मेलम्चीको पानी वितरणका लागि विच्छाइएका पाइपबाट चुहावट

काठमाडौं । मेलम्ची खानेपानी वितरणका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप विच्छाएको थियो । नयाँ पाइपमा पनि अरु निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको निर्देशनालयको सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताए । उनका अनुसार ढल तथा सडक बनाउँदा, विद्युत् अण्डरग्राउण्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले पनि सडकमा धेरै ठाउँमा चुहावट पाइएको उनले बताए । ‘पुरानो पाइपमा त चुहावट हुने नै भयो नयाँ पाइपमा पनि चुहावटको समस्या भइरहेको छ’, उनले भने । निर्देशनालयले यसअघि विच्छाइएको पाइपको परीक्षण गरिरहेको छ । नयाँ पाइपमा परीक्षण गर्दा ठाउँठाउँमा चुहावट पाइएको र ती ठाउँमा मर्मत गरेर पुनःपरीक्षण गरिने उनको भनाइ छ । ‘अन्तिम परीक्षणमा पनि समस्या नभएको पाइए मात्रै नयाँ पाइपबाट पानी पठाउन सकिनेछ’, उनले भने । नयाँ पाइप परीक्षणको क्रममा हुँदा हाल काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पुरानो संरचनाबाट नै पानी वितरण गरिरहेको छ । उपत्यकामा झण्डै एक सय वर्ष पुरानो पाइप रहेकाले पनि पुराना पाइपमा बढी समस्या भइरहेको कार्यालयको भनाइ छ । पहिलो कम परिमाणमा पानी वितरण हुने गरेको तर मेलम्चीको पानी दैनिक १७ करोड लिटर आउँदा पाइपमा समस्या भएको हो । नयाँ पाइप परीक्षणका क्रममा भएकाले अहिले पुरानो पाइपबाटै पानी वितरण भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । खासगरी ललितपुरको लगनखेल र आसपासका क्षेत्र, काठमाडौँमा पुरानो बस्ती क्षेत्रमा चुहावटको समस्या बढी छ । सरकारले गत महिनाबाट उपत्यकामा मेलम्चीको खानेपानी पुनः वितरण सुरु गरेको थियो । मेलम्चीको पानीको वितरण दुई वर्ष पहिले नै सुरु भए पनि बाढीका कारण धेरै संरचनामा क्षति पुगेकाले बर्सेनि हिउँद महिनामा मात्रै पानी वितरण भइरहेको छ । रासस

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

काठमाडौं । देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ । कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ । बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरुले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए । उनले भने, ‘लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन् । आउँछन् र खुरुखुरु जान सक्छन् ।’ बिहानदेखि सेवा सुरु अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ । सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान छ बजेदेखि लाममा बस्ने गरेको उनले बताए । सेवाग्राहीलाई बुझाउन नसकिएको १० बजेसम्म दुई सय जना लाममा बस्ने उनले बताए । प्रमुख कपालीले भने, ‘ताला लगाए पनि बाहिरैबाट लाम हुने गरेको छ ।’ कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ । त्योबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए । उनले भने, ‘समस्या रहेकालाई टोकन विना ५० देखि एक सयसम्मलाई दिने गरिएको छ ।’ कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत रहेका छन् । विसं २०७२ को दरबन्दीअनुसार ३५ जना रहेकामा र करारबाट २२ जना कार्यरत रहेका छन् । कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै हुने गरेको उनले बताए । सेवाग्राहीको भीडभाड बिहानी समयमा बढी भए पनि दिउँसो कम रहेको छ । उनले भने, ‘३ बजेपछि कार्यालय नै सुनसान हुन्छ ।’ यातायात कार्यालय सधैँ नै सेवाग्राहीको भीडभाड बढी हुने कार्यालयका रुपमा रहेको छ । पहिले सङ्घीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारको अन्तर्गत गएको छ । कार्यालयहरुले केही वर्षदेखि टोकन प्रणाली सुरु गरे पनि सेवाग्राही घण्टौँ लाममा बस्नु परेको छ । रासस

महिलाले नै महिला नेतृत्वलाई स्वीकार्दैनन्, कसरी हटाउने विभेद ?

काठमाडौं । काठमाडौं डनबस्को कलेज र जेभियर एकेडेमी निजी क्षेत्रबाट सञ्चालित प्रतिष्ठित शैक्षिक संस्था मध्येमा पर्छन् । लामो समयदेखि यी दुई संस्थाको प्रिन्सिपल तथा डाइरेक्टरको रुपमा जिम्मेवारी सम्हाल्दै आएकी छन् रश्मी शर्मा मैनाली । रश्मी माइती तर्फका बुवा आमाको पुर्खौली थलो पर्वतको लिमिठाना हो । तर, उनी नजन्मदै उनका बुवाआमा काठमाडौ आइसकेका थिए । काठमाडौंमा नै जन्मेपनि उनले स्नातक तह सम्मको पढाई भने भारतको सिलाङबाट गरेकी हुन् । त्यसैले रश्मीलाई नेपालको ग्रामिण परिवेशको विषयमा भने धेरै थाहा छैन् । साथै शिक्षित परिवारमा जन्मिएर शिक्षित परिवारमा नै घरजम भएकाले उनलाई लैंगिक असमानताको विषयमा पनि पारिवारिक रुपमा पिडावोध हुनेगरी अनुभव गर्नुपरेन । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उनीसँग लैंगिकता प्रकट हुनेगरी ठोक्किन आएका केही अनुभवलाई उनले विकासन्युजमार्फत् बाँडेकी छन् । स्नातक तह उत्तिर्ण नगर्दै रश्मीको रश्मीको बिहे भयो । तर, पढ्नुपर्छ भन्ने मनोविज्ञान परिवारमा भएकाले विवाहपछि पनि उनको अध्ययनले निरन्तरता पायो । ‘बच्चा भैसकेको थियो तर, ससुराले पढ्नपर्छ भनेर मोटरसाइकलमा हालेर आँफैले कलेज लैजानुहुन्थ्यो, नत्र मैले पढ्दैनथेँ होला’, उनी विवाहपछिको आफ्नो पढाईको निरन्तरतालाई सम्झिन्छिन् । उनको विचारमा पछिल्लो समयमा शहरी क्षेत्रका स्कुल तथा कलेजमा गहिरो हिसाबले लैंगिक विभेद त्यती धेरै छैनन् । तर, सामाजिक तथा पारिवारिक मनोविज्ञानमा भने समस्या रहेको उनको भनाइ छ । ‘मलाई प्रकृतिले नै राम्रोसँग भूमिकाको निर्धारण गरिदिएको छ जस्तो लाग्छ, दिन/रात, जन्मनु/मर्नु’, उनी भन्छिन्, ‘विगतमा पारिवारिक परिवेशमा एकजनाले घरमा काम गर्ने अर्को बाहिर जाने प्रचलन थियो, जुन अहिलेको तुलनामा ठिक थियो जस्तो लाग्छ ।’ तर, पहिलेको समयमा महिला मात्रै घरमा बस्नुपर्ने र पुरुष बाहिर जाने प्रचलनलाई उनले नकरात्मक रुपमा टिप्पणी गर्छिन् । त्यसले समग्र महिला जगतलाई समाजमा पछाडि पारेको भन्दै उनले क्षमताको आधारमा कार्यविभाजन भएको भए लैंगिक खाडल नबढ्ने तर्क गर्छिन् । पछिल्लो समयमा परिवारहरुमा आमा र बाबु दुबै नहुने हुँदा बालबालिकाहरुमा डिप्रेसन, एन्जाइटी लगायतको समस्या आउने गरेको उनको भनाइ छ । परिवारमा यो स्तरको समस्या आउनुमा पुरुषको मात्रै नभएर समाजको समस्या रहेको उनी बताउँछिन् । स्कुल वा कलेजमा विद्यार्थीको रुपमा अध्ययन गर्दा उनको अनुभवमा छात्रा वा छात्रको रुपमा लैंगिक विभेद त्यति नदेखिएको उनको भनाइ छ । उनले आफूलाई एउटा प्रभावकारी शिक्षक भएको दाबी गर्दै कक्षाकोठामा हुने लैंगिक विभेद व्यक्तिमा निर्भर हुने धारणा राख्छिन् । ‘पढ्ने बेलामा कुनै विभेद देखिँदैन तर काम गर्ने बेलामा भने विभेद देखिन्छ’, उनी भन्छिन, ‘पुरुषहरुले महिला नेतृत्वलाई हेर्ने दृष्टिकोणमा चाहिँ अलिक फरक भएको देखिन्छ ।’ अहिलेको जिम्मेवारी शिक्षण पेशामा आवद्ध हुँदा विभागीय इन्चार्ज, एनजिओको प्रशिक्षक लगायत विभिन्न नेतृत्वदायी भूमिकामा रहेर उनले काम गर्दै आएकी हुन् । शिक्षित तथा समाजको नेतृत्वदायी क्षेत्रमा पनि लैंगिक विभेदहरु देखिने उनी बताउँछिन् । आफ्नै हैसियत सरहका पुरुषहरुले पनि काम गर्ने शिलशिलामा महिलाहरुलाई सक्षम नेतृत्वको रुपमा स्वीकार गर्न आनाकानी गर्ने गरेको उनको अनुभव छ । ‘कतिपय अवस्थामा पुरुषहरुले बडी ल्याङ्गवेजले पनि इग्नोर गरेजस्तो, नटेरे–नटेरेजस्तो गरेजस्तो लाग्छ’, उनले अनुभव सुनाइन्, ‘कतीपय अवस्थामा यस्तो देखिन्छ, बडी ल्याङ्ग्वेजले ओ तिमी पो ! वाउ यु ! सायद यो मलाई मात्रै होइन, सबैतिर हुन्छ होला ।’ यस्तो प्रकारको व्यवहार पुरुषबाट मात्रै नभएर महिलाबाट पनि आउने उनको अनुभव छ । महिलाहरुले समेत पुरुष नेतृत्वलाई जत्तिकै महिला नेतृत्वलाई सहज रुपमा नलिने गरेको उनी बताउँछिन् । पोखरामा पछिल्लो समय भएको यति एयर दुघर्टनाको विषयमा पनि लैंगिक विभेद झल्किने गरी टिप्पणी भएको रश्मीको बुझाइ छ । ‘यतिको जुन प्लेन दुघर्टना भयो नि, त्यसमा दिग्गज मान्छेले पनि महिलालाई चलाउन दिन हुँदैन भन्ने सुनेको छु, दुघर्टना यो पहिला भएको त होइन नी ?’, उनले भनिन् । त्यसैले मानिसहरुको दृष्टिकोणमा चाहिँ समस्या छ । रश्मीको हजुरबुवाले पुरोहितको रुपमा काम गर्ने गर्दथे, जसले गर्दा उनको परिवारमा परम्परागत संस्कृतिको राम्रो प्रभाव परेको उनी बताउँछिन् । ‘हाम्रो पारिवारिक पृष्ठभूमि एकदमै धार्मिक प्रकृतिको रहेको छ, मेरो घर परिवारमा के सिकाइन्थ्यो भन्दाखेरी सबैलाई आदर गर्नुपर्छ ।’ उनले सम्बन्धित पारिवारिक पृष्ठभूमिले पनि मानिसको प्रकृति निर्धारण गर्ने र त्यसले पनि विभेद निर्धारणमा भूमिका निर्वाह गर्ने उनले बताइन् । रश्मी नेपालमा इएमबिए र एमबिए कार्यक्रम सञ्चालन गर्ने कलेजको पहिलो महिला प्रमुख हुन् । सो पोजिसनमा उनी महिला भएर भन्दापनि क्षमताका आधारमा पुगेको बताउँदै तर, सञ्चार जगतले नै आफूलाई एउटा महिला नेतृत्वको हिसाबले मात्रै सम्बोधन गर्दा विभेदको महसुस हुने गरेको सुनाउँछिन् । ‘मलाई सञ्चारकर्मीहरुले केही कार्यक्रममा बोलाउँदा उहाँहरुले तपाईं एकजना मात्रै महिला हुनुहुन्छ भन्ने’, ‘यो त मेरो बायोलोजिकल जेन्डर हो नि त, तर यदी मैले शिक्षा क्षेत्रमा यो तहको भूमिका निर्वाह गर्न सक्दैनथे भने मलाई महिला भएकौ आधारमा त अवस्य पनि निमन्त्रणा हुँदैन नी’, उनले अनुभव सुनाइन् । ‘मलाई त मेरो क्षमताको आधारमा नै रेस्पोन्स गरिएको हो नी, जबकी लिंगका आधारमा होइन ।’ विभेदहरु छैनन् भन्दा भन्दै पनि समाजको धारणामा रुपान्तरण आइनसकेको उनको भनाइ छ । उनले कुनै समयमा एउटा संस्थामा फ्याकेल्टी नेतृत्वको रुपमा काम गर्दा आफ्नै सासुआमाको दुघर्टना भएर एक महिना जति अस्पतालमा राख्नुपर्ने अवस्था भएको र सो अवस्थामा विदा माग्दा विभेद भोग्नुपरेको उनले उदाहरण सुनाइन् । ‘मैले संस्था र व्यक्तिको नाम त नलिउँ, तर मैले बिदा माग्न भनेर प्रिन्सिपलको अफिसमा पुग्दा उहाँले ‘हैन महिलाहरुले कति बिदा लिन्छन्, सुत्केरी बिदा, को बिमारी भयो त्यो बिदा, तपाईंहरुले कतिवट बिदा लिनुहुन्छ’ भन्नुभयो ? आफूले बिदा लिनैपर्ने सुनाउँदा प्रिन्सिपलले मुख खुम्च्याएपछि राजीनामा पत्र लेखेर सम्म दिनुपरेको उनले सुनाइन् । समाजमा अदृश्य रुपमा महिलामाथिको दृष्टिकोण विशेष प्रकारको रहेको अनुभव उनको छ । ‘समाजमा महिलाले काम पनि गरोस, तर घरको काम पनि नबिगारोस भन्ने धारणा छ’, उनले भनिन्, ‘मेरो ससुरा बुवाले मलाई इङ्लिस् कम्युनिकेशन पढ भन्नुभयो, किन भन्नुभो भने पढाउँछ्यौ नि त घर पनि हेर्न पाउँछ्यौ भनेर’, उनले भनिन्, ‘मेरो सासुआमालाई पनि शिक्षण पेशामा नै किन राखियो भने घरपनि उहाँले चलाउन मिल्छ नि त भनेर ।’ परिवर्तित परिस्थितिमा मानिसहरुको भूमिका गतिशिल भइरहेको तर, महिलाहरुलाई घरबार हेर्नुपर्छ भनेर ब्याक गर्न खोज्ने धारणा अझै पनि नहटेकोमा उनको गुनासो छ । ‘घरबार हेर्नुपर्छ, तर महिलाले नै हेर्नुपर्छ भन्ने होइन नी’, उनी भन्छिन्, ‘घरबार हेर्न महिलालाई बाध्य पारिन्छ भने महिला सरहको पुरुषलाई किन बाध्य पारिँदैन ?’ दुईवटा कलेजको प्रमुख जिम्मेवारीमा रहेर अहिले उनलाई पनि आफ्नो पेशा भन्दा घर नै बढी महत्वपूर्ण लाग्ने बताउँछिन् । ‘म अहिले यो जिम्मेवारीमा छु, तर पनि मलाई घर नै बढी महत्ववपूर्ण छ, जति मलाई यो संस्थाले व्यक्तित्व र पहिचान दिएको छ, त्यहाँ पनि मेरो पहिचान छ ।’ बच्चाबच्ची बिमारी हुँदा आमाले मात्रै बिदा लिने र स्याहार सुसार गर्ने संस्कार रहेको उनले बताइन् । घर र बच्चाबच्ची हेर्दा पुरुष र महिलाको बराबरी भूमिका हुनुपर्ने उनको भनाइ छ । जे–जे भूमिकाले महिलालाई महिला बनाएको छ, त्यो भूमिका पुरुषलाई पनि दिँदा महिलालाई पनि समाजमा पुरुष सरह विकास गर्न सकिने उनी बताउँछिन् । ‘छोरीले एउटा सन्तानलाई संसारमा लिएर आउँछे, घरपरिवार बाँधेर राख्छे, कति राम्रो काम गरेकी छ’, उनी भन्छिन्, ‘छोरा मान्छेलाई पनि सहकार्यमा बाँध्न पर्यो ।’ सरकारी तथा निजी क्षेत्रका संस्थाहरुले पनि महिलाको वायोलोजिकल फरकपना मैत्री सहजिकरण गरिदिनुपर्ने उनको धारणा छ । आफ्नै माइती परिवार शिक्षित भएपनि परिवारमा महिला भनेको अलिकति निहुरिउनु पर्ने, अनुशासित हुनुपर्ने र पुरुष भनेको जे पनि गर्नसक्ने हुन्छ भन्ने धारणा भएको उनले सुनाइन् । ‘छोरीले पनि जे पनि गर्दा हुन्छ, तर यो पुरानो पिँढीमा त मैले परिवर्तनको अनुमान गर्न सक्दिन, नयाँ आउँने पिँढीलाई बाबुआमाले दुईतर्फी हिसाबले हुर्काउने हो भने परिवर्तन हुनसक्छ ।’ औसतमा सन्तानको रुपमा छोरा नै चाहिने भन्ने हराउँदै गएको, छोरीले वा छोराले आफ्नो साथी रोज्न सक्ने जस्ता धैरै परिवर्तन विकास हुँदै गएको पनि उनले अनुभव गरेको सुनाइन् । नेपालको शिक्षा विदेशीको नक्कल गरेर जोरजाम पारेर बनाइएको हुँदा नेपालको समाजमा अनुकुलन प्रयोग हुन नसकेको उनको भनाइ छ । शिक्षकहरुमा प्रभावकारी क्षमताको अभाव रहेको आफुले महसुस गरेको उनले बताइन्, जहाँ पाठ्यक्रमको डेलिभरी सिर्जनशील हिसाबले हुन नसकेको उनले बताइन् । जसले गर्दा पनि महिलाहरुलाई बुझ्ने विषयमा सरल हुन नसकेको र त्यसैका कारण महिलाहरु सिमान्तकृत हुने अवस्था सिर्जना भएको हो । साथै संस्कृतिमा रहेको सकारात्मक पक्षलाई व्यवहारिक रुपमा प्रयोग गर्ने विषयमा पनि महिला र पुरुषको समान सहकार्य हुन नसकेको उनको भनाइ छ । संस्कृतिमाथि भएको बुझाइलाई हटाउन शिक्षाले भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकेको उनले बताइन् । आरक्षणको नाममा क्षमता नभएका महिलालाई अगाडि ल्याउने नभएर क्षमता भएका महिलाहरुलाई प्रतिस्पर्धाका अवसर दिने विषयमा आफ्नो सहमति भएको उनले बताइन् । पछिल्लो समयमा विशेष गरी राजनीतिक क्षेत्रमा बोल्न लेख्न समेत क्षमता नभएका महिलाहरुलाई आरक्षणको नाममा भित्र्याइएको उनले बताइन् । ‘आफ्नो अधिकार बुझेर काम गर्न सक्नेलाई अवसर दिनुपर्छ, सिनमा मात्रै महिला देखिएर भएन्, महिलाको सहभागिताले पनि राष्ट्रको लागि योगदान दिनुपर्छ ।’