पर्यटन उद्यमी अभिषेक विक्रम शाह सम्मानित
काठमाडौं । पर्यटन उद्यमी अभिषेक विक्रम शाहलाई ‘नेपाल सम्मान २०७९’ बाट सम्मानित गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमी शाहलाई नेपाल सम्मान २०७९ प्रदान गरेका हुन् । सगरमाथा प्रतिष्ठान नेपालद्वारा आयोजित ‘नेपाल सम्मान २०७९ एवं अन्तर्राष्ट्रिय नारी सम्मान २०७९’ समारोहमा नेपालमा पर्यटन व्यवसायको प्रवद्र्धनमा विशेष योगदान गरेका शाहलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो । उनी दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटी क्षेत्रमा आबद्ध रही काम गर्दै आएका छन् । हाल बेष्ट रिसोर्ट नेपालका निर्देशक शाह यसअघि चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक थिए । नेपालको होटल तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत शाहले यस क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।
ग्लोबल आइएमई बैंकले विभिन्न कम्पनीका आधा दर्जन गाडी बेच्दै, छानीछानी किन्न पाइने
काठमाडौं । ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले बैकिङ्ग सम्पत्तिका रुपमा रहेका विभिन्न मोडलका ७ वटा सवारी साधन लिलाम बिक्री गर्ने भएको हो । बैंकको मुख्य कार्यालयमा रहेका सवारी साधन जे जस्तो अवस्थामा छन् सोहि अवस्थामा बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । उक्त सवारी साधन खरिद गर्न ईच्छुक व्यक्ति र फर्म÷कम्पनी तथा संघ संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको हो । बैंकको उत्तरढोका शाखाको पार्किङ्गमा रहेको बा १२ च ९२१० नम्बरको टाटा सुमो, ब ७ च ७३६८ नम्बरको हुण्डाई स्यान्ट्रो र बा ९ च ९१०७ नम्बरको टाटा पिकअप बिक्री गर्ने भएको हो । यस्तै, बैंकको कमलादी शाखामा राखिएको बा ८ च ६७५७ नम्बरको सन्नि निशान र बा ८ च १५४७ नम्बरको टोयोटा क्याम्रे कार पनि बिक्री गर्ने भएको हो । यस्तै, बैंकको बागलुङ शाखाको पार्किङमा रहेको बा १० च ८४३२ नम्बरको महिन्द्रा बोलेरो र जनकपुरमा रहेको बा ९ च ४३७० नम्बरको मारुती सुजुकी वागोनर सवारी बिक्री गर्ने भएको हो ।
राष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज करिब चार घन्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मतदानमा सहभागी नभई तटस्थ बस्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भोलि हुने राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘भोलि हुने राष्ट्रपतिको निर्वाचनको सन्दर्भलाई लिएर केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा झन्डै चार घन्टा छलफल भयो । बैठकले निर्वाचनमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय गरेको छ । पार्टी कार्यकर्ता, सुभेच्छुक एवं जनताको भावनाबमोजिम पार्टीले निर्णय लिएको हो ।’ प्रवक्ता श्रेष्ठले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको भोट निर्णायक पनि नभएकाले तटस्थ बस्ने निर्णय लिएको उल्लेख गरे । भोलि हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् । राष्ट्रपति निर्वाचनको मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने तय गरिएको छ ।
डेढ महिनामै मन्त्रीको घरमा दुई पटक चोरी
अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटास्थित उनको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ । के–कति चोरी भयो भन्नेबारे मन्त्री आएपछि यकिन हुने भन्दै उहाँले आफूहरूले यसमा गम्भीर अनुसन्धान गरिरहेको बताए । ‘के–कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ’, प्रनाउ रिजालले भने, ‘हामीले अनुसन्धान थालेका छौँ ।’ छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो । त्यसबेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामान लगेको उनीहरूको भनाइ छ । ‘डेढ महिनाअघि पनि मन्त्रीज्यूको घरमा चोरी भएको थियो’, छिमेकी शोभाखर पन्थीले भने, ‘यसले वरिपरिका बासिन्दाले असुरक्षित महसुस गरिरहेका छन् ।’ रासस
आईएमई अटोमोटिभले १५ महिलालाई ब्याक हो लोडर चलाउने नि:शुल्क तालिम दिने
काठमाडाैं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एस्कर्ट्स नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभले महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । यस अभियानको एक भागको रूपमा कम्पनीले १५ जना महिलालाई गाडी चलाउन नि:शुल्क तालिम दिने जनाएकाे छ । उक्त तालिमले महिलालाई ब्याक हो लोडर चलाउने सीप हासिल गर्न, सवारी साधनको इजाजतपत्र प्राप्त गर्न सहयोग गर्न र सम्बन्धित क्षेत्रमा रोजगारी सुरक्षित गर्न सहयोग गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले बताएकाे छ । मुख्य लक्ष्य भनेको महिलाहरूलाई बाधाहरू तोड्न र परम्परागत रूपमा पुरुष प्रधान क्षेत्रमा उनीहरूको पूर्ण क्षमता हासिल गर्न मद्दत गर्नु हो। आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले र्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न बताए । ‘निर्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने हाम्रो विश्वास छ, यो नि:शुल्क तालिम प्रदान गरेर हामी महिलाहरूलाई सशक्तिकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा गर्छौं,’ उनले भने । कम्पनीकाे अनुसार प्रशिक्षण कार्यक्रम सबै उमेर र पृष्ठभूमिका महिलाहरूको लागि खुला हुनेछ ।
आय विवरण दाखिला गर्ने करदाता घटे, कारण खोज्दै राजस्व विभाग
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजस्व विभागले खोजबिन सुरु गरेको छ । प्रत्येक आर्थिक वर्षको आय विवरण असोज मसान्तसम्म कर कार्यालयमा दाखिला गरिसक्नुपर्छ । यस्तो विवरण बुझाइसक्न पुस मसान्तसम्मको म्याद थपिएकोमा सो अवधिसम्म पनि केही करदाताले विवरण नबुझाएपछि विभागले छानबिन थालेको हो । कतिपय करदाताले आफ्नो कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) को विवरण दाखिला गरेको, भन्सार तथ्याङ्क हेर्दा आयात–निर्यात गरेको पाइएको र त्यस्ता करदाताको नाममा अग्रीम कर कट्टीसमेत भएको देखिए पनि आयकरको विवरण भने नबुझाएको विभागले जनाएको छ । यसरी गत आर्थिक वर्ष २०७८/७९ मा कर लाग्ने कारोबार गरेको देखिए पनि हालसम्म आय विवरण र कर दाखिला नभएपछि त्यस्ता करदाताको विवरण सङ्कलनको काम भइरहेको विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले जानकारी दिए । ‘भ्याट, आशिकुडालगायतका तथ्याङ्क हेर्दा केही करदाताले आफ्नो कारोबारअनुसार आय विवरण र कर दाखिला गरेको देखिएन । गत वर्षको यही अवधिसम्मको तुलनामा यसवर्ष आय विवरण बुझाउने करदाताको सङ्ख्या निकै कम देखिएको छ । त्यस्ता करदाताबारे खोजबिन गर्न विभागले कर कार्यालयहरुलाई भनिसकेको छ’, प्याकुरेलले भने । कुन कर कार्यालयमा कति करदाताले यस्तो विवरण बुझाउन बाँकी छ भन्ने तथ्याङ्क संकलन भइरकेको पनि उनले जानकारी दिए । आयकर विवरण र कर दाखिला नगर्ने करदाताको वास्तविक संख्या भने अझै आइनसकेको विभागले जनाएको छ । त्यस्तै, आय विवरण र कर दायित्व फरकफारक नगर्ने करदाताको छानबिन तथा अनुसन्धान गरी प्रचलित कानून बमोजिम कारबाही गर्ने पनि विभागले जनाएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिसम्ममा आयकर असुली निकै न्यून देखिएको छ । सरकारले पुस मसान्तसम्ममा एक खर्ब ५७ अर्ब २२ लाख १८ हजार बराबर आयकर उठाउने लक्ष्य राखेकोमा एक खर्ब १६ अर्ब ७९ करोड बराबर मात्रै असुली गरेको हो । जुन रकम यो अवधिका लागि राखिएको लक्ष्यको ७४ दशमलव तीन प्रतिशत बराबर हो । अहिले आयकर मात्र नभई समग्र आन्तरिक राजस्व नै प्रभावित भएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा अवधिसम्ममा समग्र सरकारी राजस्व संकलन लक्ष्यभन्दा निकै कम छ । विभागका अनुसार पुस मसान्तसम्म ६ खर्ब ५१ अर्ब ६१ करोड ८७ लाख आन्तरिक राजस्व उठाउने लक्ष्य रहेकोमा चार खर्ब ९० अर्ब चार करोड ३८ लाख बराबर मात्रै असुली भएको छ । जुन अर्धवार्षिक लक्ष्यको ७५ दशमलव २० प्रतिशत बराबर हो । अर्थात चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको राजस्व संकलन लक्ष्यभन्दा २४ दशमलव ८० प्रतिशत बिन्दुले न्यून देखिएको छ । रासस
एनआईसी एशिया बैंकको २ घण्टा सेवा अवरुद्ध हुने
काठमाडौं । एनआईसी एशिया बैंकको २ घण्टा सेवा अवरुद्ध हुने भएको छ । बैंकको फागुन २५ गते बिहीबार बिहान २ घण्टा सेवा अवरुद्ध हुने भएको हो । बैंकको कार्ड कारोबारको स्विचिङ्ग सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टममा कार्ड नेटवर्क म्याण्डेट इनस्टलेसन कार्य गर्ने भएकाले बिहीबार बिहान २ बजेदेखि ४ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको छ । बैंकको डेबिट, क्रेडिट र डलर कार्डहरुबाट हुने कारोबारहरुका साथै एटिएम र पीओएस सेवा अवरुद्ध हुने बैंकले बताएको छ । उक्त समयमा आवश्यक कारोबारको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न बैंकले आग्रह गरेको छ । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति बैंकले क्षमा मागेको छ ।
‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ को उपाधी जेभियर इन्टरनेशनल कलेजलाई
काठमाडौं । द ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ को उपाधि जेभियर इन्टरनेशनल कलेजले जितेको छ । २६ फ्रेबअरीबाट सुरु भएको उक्त प्रतिस्पर्धामा विभिन्न २० कलेजले सहभागिता जनाएका थिए । प्रतियाेगिताका विजेता जेभियर इन्टरनेशनल कलेजले नगद ५० हजार जितेको छ । त्यस्तै, उपविजेता हेराल्ड कलेजले नगद २५ हजार जितेको छ । प्रतियाेगितामा सर्वाधिक स्कोररको अवार्ड हेराल्ड काठमाडौं कलेजका तेन्जिन शेर्पाले जितेका छन् भने उत्कृष्ट प्रशिक्षकको अवार्ड जेभियर इन्टरनेशनल कलेजका निर्पेश श्रेष्ठले पाएका छन् । यस्तै, उत्कृष्ट खेलाडीको अवार्ड जेभियर इन्टरनेशनल कलेजका खेलाडी तेन्जिन भुटियाले जितेका छन् । प्रतियाेगिताको प्रायोजक होण्डा, हाइ कल्चर्ड, नेको इन्सुरेन्स लिमिटेड, ललितपुर हाइ, बयोधा हस्पिटल प्रा लि, द ग्रेट माया, लिजास क्याफे, हुप्स एण्ड मुभ्स र टाइटल प्रायोजक ग्लोबल रिच कन्स्लटेन्सी रहेको थियो ।