हेटौँडामा छिट्टै विद्युतीय तार भूमिगत गरिने
बाग्मती । बाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको विद्युतीय तारलाई भूमिगत गर्ने निर्णय गरिएको छ । हेटौँडा उपमहानगरपालिकाको २०औं कार्यपालिका बैठकले यहाँको मुख्य बजार क्षेत्रका खम्बामा रहेका तारलाई भूमिगत गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै हेटौँडा नगर क्षेत्रबाट विस्तारै खम्बा र तार विस्थापित गरिने बताइएको छ । उपमहानगरपालिकाअनुसार वडा नं १, २, ४, ५ र १० का विभिन्न स्थानका खम्बामा रहेका तारलाई भूमिगत गरिने छ । तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणलाई कार्यपालिकाको बैठकले गरेको निर्णयसँगै सिफारिसपत्रसमेत पठाउने तयारी रहेको नगरप्रमुख मीनाकुमारी लामाले बताइन् । रासस
चिकित्सा शिक्षाको स्नातक तहमा २२ सय जनाले छात्रवृत्तिमा पढ्न पाउने
काठमाडौं । आगामी शैक्षिक शत्रबाट चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न संकायमा अध्ययन गर्ने २२२३ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् । चिकित्सा शिक्षा आयोगले अध्ययनको लागि छुट्याइएका कोटाहरुको बाँडफाँड गर्दै २२२३ जना विद्यार्थीले स्नातक तहमा छात्रवृत्तिमा अध्ययन गर्न पाउने जनाएको हो । आयोगले छात्रवृत्तिमा ५५ प्रतिशत खुला र ४५ प्रतिशत शमावेशीतर्फ कोटा छुट्याएको छ । शमावेशीतर्फ छुट्याएको कोटामध्ये महिलालाई २८, दलित महिलालाई ३, मुस्लिम महिलालाई २, दलितलाई ९, आदिवासी जनजातीलाई १५, खस आर्यलाई १७, मधेसीलाई ९, मधेसी दलितलाई ३, थारुलाई ४, मुस्लिमलाई २, पिछडिएको क्षेत्रलाई ४, अपांगता भएकालाई २ र शहीद परिवारलाई २ प्रतिशत कोटा छुट्याइएको छ । जसमध्ये एमबिबिएसतर्फ छात्रवृत्तिमा २३७ जनाले खुलाबाट र १९३ जनाले समावेशीमा कोटा पाएका छन् । त्यस्तै, बीडीएसको छात्रवृत्तिमा १०८ सिट छुट्याइएको छ। जसमा खुल्लामा ५० र समावेशीतर्फ ४९ सिट तोकिएको छ। बीएसी नर्सिङतर्फ खुल्लामा २४१ र समावेशीतर्फ १९८ गरी ४३९ जनाले छात्रवृत्तिमा अध्ययन गर्न पाउने भएका छन् । त्यस्तै, बिएसी एमआइटीमा २८, बि मिडवाइफ्री साइन्समा ८४, बि अप्टम ५२, बि फार्म एक सय ९०, बीएनएस ४९२, बिएसी एमएलटीमा १२१ र बिपिएचमा २१२ जनाले छात्रवृत्ति कोटामा अध्ययन गर्न पाउने भएका छन् । हेर्नुहोस कुन कलेजमा कुन शिर्षकका लागि कति कोटा छ ?
आयातित तरकारीको मूल्य बढ्यो
उदयपुर । हरियो तरकारी उत्पादनका उदयपुर लागि उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरु उत्पादन घटदा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेकोे छ । फागुनको पहिलो हप्तासम्म स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारीले जिल्लाभित्र धाने पनि मौसमी तरकारीको उत्पादन कम हुँदा रासायनिक पदार्थ प्रयोग गरिएको र आयातित महँगो तरकारी किनेर खान बाध्य भइएको उपभोक्ताहरु बताउँछन् । केही समयदेखि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा उत्पादन भएको मौसमी तरकारी सकिएकाले अहिले जिल्ला गाईघाटका उपभोक्ताले आयात गरिएका महँगा सब्जी किनेर खान बाध्य हुन परेको गाईघाट शान्तिनगर टोलका रमा भट्टराईको गुनासो छ । उनी भन्छिन्, ‘स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारी सकियो, सब्जी व्यापारीहरुले बाहिरबाट विभिन्न रासायनिक पदार्थ हालिएका सब्जीहरु खरिद गरेर ल्याउँछन्, त्यो पनि दोब्बर महँगो मूल्यमा किनेर खान बाध्य भएका छौँ ।’ भट्टराईका अनुसार फागुन दोस्रो हप्तासम्म स्थानीयस्तरमा उत्पादन गरिएका हरियो तरकारीहरु सस्तो मूल्यमा नै उपलब्ध हुने गरेको थियो तर अहिले दोब्बर महँगो मूल्य तिरेर खरिद गर्नुपरेको छ । दश दिनअघिसम्म प्रतिकिलो काउली ४० देखि ५० मा खरिद गरिन्थ्यो तर अहिले आयातित काउलीको मूल्य प्रतिकिलो एक सयदेखि एक सय २५ पुगेकोे गाईघाट सङ्गमटोल निवासी देवकी थापा बताउँछिन् । प्रतिकिलो मूला ५० देखि ६० रहेकामा एक हप्तापछि एक सय प्रतिकेजी पुगेको छ भने अन्य हरियो सब्जीको मूल्य पनि दोब्बरभन्दा बढीले वृद्धि हुनाका साथै बासी, सडेगलेको सब्जी पनि किन्नुपर्ने अवस्था आएको उपभोक्ताले गुनासो गर्न थालेका छन् । गाईघाटका एक सब्जी व्यापारी सुकदेव साह भन्छन्, ‘फागुनको पहिलो हप्तासम्म जिल्लाभित्र नै उत्पादन भएका ताजा सब्जीहरु खरिद गरेर सस्तो मूल्यमा बिक्री गरियो अब जिल्लाभित्र उत्पादन भएको तरकारीहरु सकियो, जिल्ला बाहिरबाट सब्जी खरिद गरेर ल्याउँदा बढी मूल्य तिनुपरेकाले बिक्री गर्दा बढी मूल्य लिन बाध्य भएका छौँ ।’ आफूहरुले सब्जी तरकारी खरिद गर्न जिल्लाबाहिर सुनसरी झुम्का, फारवेसगन्ज, भीमनगरसम्म पुगेर ल्याउन पर्दा र खरिद गरिएका स्थानहरुमा नै बासी सब्जीहरु पाइने गरेकाले ताजा सब्जी बिक्री गर्न नसकिएको सब्जी व्यापारीहरु बताउँछन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले हिउँदे तरकारी पाँच सय ६८ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ भने बर्खे तरकारी सात सय ४६ हेक्टर जमिनमा उत्पादन हुने गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका बेलका र कटारी नगरपालिकाका विभिन्न क्षेत्रमा तरकारी खेती हुँदै आएको र त्यहाँका क्षेत्रलाई हरियो तरकारी पकेट क्षेत्र घोषणा गरिए पनि अझै पनि यो जिल्ला तरकारीमा आत्मनिर्भर बन्न सकेको छैन । कृषि ज्ञान केन्द्रका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले यो जिल्ला अहिलेसम्म पनि मौसमी तरकारी खेतीमा आत्मनिर्भर बन्न नकेका कारण चैत, वैशाख र जेठ महिना बाहिरी तरकारीमा भर पर्नु परेको बताउँछन् । अहिले जिल्लाभित्र काउली, बन्दा, टमाटर गाजर, मूला तथा भिन्डी जिल्ला बाहिरबाट आयात हुने गरेको एक सब्जी व्यापारी राजेश चौधरीको भनाइ छ । रासस
नेप्सेमा प्रभु बैंकको १० करोड ७७ हजार कित्ता सूचीकृत, सेञ्चुरी बैंकको सूचीकरण खारेज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु बैंकको सेयर सूचीकृत भएको छ । साविकको सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरे पश्चात कामय सेयर नेप्सेमा प्रभु बैंकमा सूचीकृत भएको हो । साविकको सेञ्चुरी बैंकलाई प्रभु बैंकले १ः१ स्वाप रेसियो अनुपातमा प्राप्ति गरेपश्चात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली अनुसार दोस्रो बजारमा किनबेच गर्न मिल्ने गरी उक्त सेयर नेप्सेमा सूचीकृत भएको हो । अब नेप्सेमा प्रभु बैंकको कूल २३ करोड ५४ लाख २४ हजार ८९९ कित्ता सेयर पुगेको छ भने नेप्सले सेञ्चुरी बैंकको सूचीकरण खारेज भएको छ ।
च्याउखेतीबाट २३ जनालाई रोजगारी, वार्षिक १० करोडको कारोबार
सर्लाही । बागमती नगरपालिका-१० का स्थानीय ध्रुव चौलागाईंले च्याउखेती सुरु गरेको १० वर्ष भयो । विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताएका उनी तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौं ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित भएका हुन् । काठमाडौं उपत्यकामा च्याउ र गोलभेँडाको राम्रो मागदेखि पनि तत्कालीन समयमा एक लाख लगानीमा उनले ध्रुव कृषि फर्म प्रालि दर्ता गरी च्याउखेती सुरु गरेका हुन् । ‘जब मैले तराईका जिल्लाबाट ठूलो मात्रामा गोलभेँडा र च्याउ काठमाडौं लैजाँदै गरेको देखेँ तब यो सोच पलाएको थियो’, उनले भने, ‘त्यसपछि यो खेतीमा राम्रो सम्भावना छ देखेरै विदेशको जागिर छाडेर यसैमा सक्रिय भएको हुँ ।’ एक लाख लगानीमा एक सय ५० पोका च्याउबाट सुरु भएको व्यवसायमा हालसम्म ११ करोड भइसकेको छ भने १७ जनाले रोजगारी पनि पाएका छन् । उनले हाल अहिले एक बिघा जमिनमा ठूला आठ वटा अत्याधुनिक टनेलका बनाएका छन् । फर्ममा उत्पादित च्याउको थोक बिक्रीबाट वार्षिक १० करोडसम्म कारोबार गरेको उनको भनाइ छ । व्यवसायमा आमा, बुबा, श्रीमति र छोराको राम्रो साथ पाएका उनले कोरोना महामारीको समयमा विद्युत् सर्ट भएर फर्ममा आगलागी भइ क्षति हुँदा करिब नौ करोड ऋण लागेको बताए । कक्षा १२ सम्मको अध्ययन गरेका चौलागाईं बिहानदेखि रातिसम्म फर्ममा कर्माचारीसँगै खटिन्छन् । ‘च्याउबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पु¥याउनुपर्छ’, उनले भने, ‘फर्ममा कन्या र गोब्रे च्याउ उत्पादन भइरहेको छ ।’ हाल फर्ममा कन्या, गोब्रे, सिताके, ज्ञानडोर्न र पत्याको लगायतका च्याउका जातको बिउ उत्पादन गर्नुका साथै कम्पोष्ट बनाउने पनि काम भइरहेको जानकारी दिए । यहाँ उत्पादन हुने च्याउ स्थानीय बजारका साथै मकवानपुर, चितवन र काठमाडौंलगायतका बजारमा पुग्ने गरेको चौलागाईंको भनाइ छ । उनले च्याउ हाल प्रतिकिलो तीन सय ५० का दरले बिक्री गर्दै आएका छन् । २३ जनालाई जागिर चौलागाईंले प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सिटिइभिटी)बाट तालिम लिएका छन् । उनले तनहुँका दुई जना र बुटवलका पाँच जना गरी सात जनालाई आवासीय जागिर पनि दिएका छन् । फर्म हेरचाहदेखि च्याउका लागि कच्चापदार्थ तयार गर्ने, बिउ उत्पादन गर्ने लगायतका काम गर्नुपर्छ । यो बाहेक आवश्यकता अनुसार अन्य काम गर्न स्थानीय १० जनालाई पनि फार्ममा राखेका छन् । आफू, श्रीमती, छोरा र आमाबुबाका साथै १७ जना मजदुर गरी २३ जनाले निरन्तर फर्ममा काम गरिरहेका छन् । उनले आफू यतिबेला उत्पादन वृद्धि गर्दै बजारीकरण बढाउने प्रयासमा छन् । सुरुमा बागमती नगरपालिकाले १० लाख अनुदान दिएको र त्यसपछि कही कतैबाट आफूले सहयोग नपाएको चौलागाईंले सुनाए । रासस
जहाज बिक्री नभएपछि चिनियाँ कम्पनीलाई नै फिर्ता पठाइँदै
काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट ल्याएका जहाज फिर्ता पठाउने तयारी थालेको छ । वि.सं. २०६८ सालमा चीनबाट ल्याइएका ६ थान चिनियाँ जहाज बिक्री नभएपछि निगमले सम्बन्धित कम्पनी एभिक इन्टरनेशनललाई नै फिर्ता पठाउने तयारी थालेको हो । जहाजको आम्दानीभन्दा सञ्चालन खर्च बढी भएपछि निगम सञ्चालक समितिले २०७७ को साउन १५ गतेदखि चिनियाँ जहाज ग्राउण्डेड गरेको थियो । जहाज ग्राउण्डेड गरेपछि बिक्रीको तयारी थालेको थियो । अर्थ मन्त्रालयले निगमलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई उक्त जहाज भाडामा लगाउन नभए बिक्रीको प्रक्रिया थाल्न निर्देशन दिएको थियो । अर्थको निर्देशन अनुसार जहाज भाडामा लिन कुनै पनि कम्पनी नआएपछि निगमले सम्बन्धित कम्पनीलाई नै जहाज फिर्ता लिन पत्र पठाइसकेको छ । भाडामा नगएपछि अर्थ मन्त्रालयले नै गत डिसेम्बर १४ अर्थात मंसिर २८ गते निगमलाई पत्र पठाउँदै एभिक इन्टरनेशनललाई जहाज बिक्री गर्न पत्र पठाएको थियो । अर्थको सहमति अनुसार निगम सञ्चालकले जहाज लिनका लागि पत्र पठाइसकेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । ‘अर्थको स्वीकृति अनुसार निगम सञ्चालकले एभिक इन्टरनेशनललाई जहाज लिनका लागि पत्र पठाइसकेको छ, उताबाट अहिलेसम्म मन्त्रालयमा कुनै जानकारी आएको छैन’, मन्त्रालय स्रोतले भन्यो । ४० वर्षयता नेपाल वायुसेवा निगमले आन्तरिक सेवामा रहेका ट्वीनअटर डीएचसी ६ मोडलका जहाजहरुलाई विस्थापन गर्न भन्दै २०६८ सालमा चिनियाँ जहाज खरिद योजना अगाडि बढेको थियो । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री लोकेन्द्र विष्ट मगर र वर्षमान पुन अर्थमन्त्री रहेका बेला ६ थान चिनियाँ जहाज खरिद गरिएको थियो । पर्यटन मन्त्रालयले २०६८ कात्तिकमा निगमका नायव उप–महाप्रवन्धक गणेश ठाकुरको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको थियो । उक्त समितिमा निगमका वरिष्ठ क्याप्टेनद्वय विजय लामा र श्रवण रिजाल तथा तीनवटै मुख्य विभाग (इन्जिनियरिङ, कमर्शियल, अपरेशन) का वरिष्ठ अधिकारी सदस्य थिए । ऋण तिर्न बाँकी चीनको एक्जिम बैंकबाट तीन अर्ब ७२ करोड ऋण र दुई अर्ब ९४ करोड अनुदान गरी ६ अर्ब ६७ करोड रुपैयाँमा ६ थान चिनियाँ जहाज ल्याएको थियो । निगमले सरकारमार्फत चीनको एक्जिम बैंकलाई दुईवटा एमए–६० को एक अर्ब ६५ करोड आठ लाख ८३ हजार र चार वटा वाई–१२ को एक अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ ऋण तिर्नु बाँकी नै रहेको छ । ४ थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो भने २ वटा जहाज अनुदान स्वरुप नेपाललाई दिईएको थियो । एक महिनाभित्र जहाज बिक्री जहाज बिक्रीका लागि भ्यालुएसनको काम भैरहेको जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्का अर्थ मन्त्रालयको स्वीकृति अनुसार जहाज बिक्रीको तयारी भएको बताउँछिन् । ‘हामीले जहाज बिक्रीका लागि अहिले भ्यालुएसनको काम गरिरहेका छौँ, अमेरिकाको कम्पनीले भ्यालुएसनको जिम्मा पाएको छ, अबको एक महिनाभित्र जहाज बिक्रीको टुंगो लाग्छ,’ उनले भनिन् उनले जहाज बिक्रीको प्रक्रिया सुरु भएको भन्दै एभिक इन्टरनेशनललाई फिर्ता पठाउन नलागिएको दाबी गरिन् । निगमले चिनियाँ जहाज भाडामा दिन २ पटकसम्म टेन्डर गरेको थियो । निगमको ६ वटा चिनियाँ जहाजमध्ये एउटा २०७६ चैतमा नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएपछि उडान गर्न योग्य नभएको जहाज बाहेक ५ वटा जहाज भाडामा लगाउनका लागि २ पटकसम्म टेन्डर गरेको थियो । निगमले गरेको २ पटकसम्मको टेन्डरमा कसैले चासो नदेखाएपछि पुनः जहाज नै बिक्री गर्ने टेन्डर प्रक्रिया सुरु गरेको थियो । ६ वर्षमा आधा घट्यो खरिद मूल्य निगमको व्यवस्थापनले सम्पत्ति तथा दायित्व मूल्यांकन (डिडिए) गराउँदा निगमको सम्पत्तिअन्तर्गतको चिनियाँ जहाजको मूल्य ३ अर्ब ८१ करोड १० रुपैयाँ मात्रै मूल्यांकन गरिएको छ । चार्टर्ड एकाउन्टेन्ट फर्म एसएआर एसोसिएट्सले सम्पन्न गरेको निगमको डिडिए प्रतिवेदन अनुसार २०७६ असार मसान्तसम्म ६ थान चिनियाँ विमानको मूल्य मूल्यांकलन गरेको थियो । ६ अर्ब ६६ करोड रुपैयाँ मूल्यमा ल्याईएको उत्त जहाजको मूल्य पाँच वर्षमा नै दोब्बर घटेको हो । जहाज नउडाई ग्राउन्डेड गर्दै जाने हो भने अझै मूल्य घट्दै जानेछ । निगमले ५६ सिट क्षमताका २ थान एमए–६० र १९ सिट क्षमताका ४ थान वाई–१२ ई जहाज ल्याएको थियो । दुई अर्ब ९४ करोड अनुदान र तीन अर्ब ७२ करोड ऋणमा २०७१ सालदेखि २०७४ सालसम्म ६ वटा जहाज नेपाल ल्याईएको थियो । खरिद गरेर ल्याईएको तीन थान जहाज १.५ प्रतिशत ब्याजमा चीनकै एक्जिम बैंकबाट नेपाल सरकारले ऋण लिएको थियो । २०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ वटामध्ये एक थान वाई १२ ई र एक थान एमए–६० अनुदान र तीन थान वाई १२ ई र एक थान एमए–६० जहाज ऋणमा खरिद गरिएको थियो । अनुदान बाहेकका तीन दुई वाई १२ ई र एउटा एमए ६० विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको हो ।
पर्यटकीय गन्तव्य बन्दै गलकोटको ‘मूर्तिकला’
ढोरपाटन । तल गलकोटमाथि घुम्टे लेक । बीचमा छ टेउवा । तीन वर्ष अगाडिसम्म गुमनाम रहेको टेउवा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय यहाँ दैनिक पर्यटकको चहलपहल बढिरहेको छ । विसं २०७६ मा टेउवाको डाँडामा स्थापना गरिएका मूर्तिकलाले यस ठाउँको मुहार फेरिएको छ । एक हजार नौँ सय ८० मिटरको उचाइमा रहेको टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकारहरूले शिलामा कुँदेर बनाएका आकर्षकमूर्ति हेर्न दैनिक आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । गलकोट नगरपालिका–५ मा पर्ने टेउवा एतिहासिक गलकोट दरबारको शिरमा पर्छ । शान्त वातावरण, स्वच्छ हावापानी, यहाँ बनेको अनेक आकृतिका मूर्ति र यहाँबाट देखिने अनेकौँ दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ । प्रेमिल जोडीसँगै पारिवारिक घुमघामको उपयुक्त स्थानका रुपमा टेउवा बन्दै गएको छ । सहज यातायात र गलकोटदेखि नजिक हुँदा बागलुङ आउने पर्यटक यहाँ पुग्ने गरेका छन् । टेउवामा पुग्ने आगन्तुकलाई घुम्टे लेकले घुम्टो उघारेर स्वागत गरिरहेको छ । टेउवा पुग्ने पर्यटकले हटियार बजार, हरिचौरको गलकोट दरबार र नजिकै रहेको गाईघाट झरना ‘प्याकेज’ मै एकै पटक घुम्न सक्ने हुँदा आगन्तुको सङ्ख्या बढेको स्थानीयवासी बताउँछन् । विशेष गरी चाडपर्व र बिदाको दिन टेउवामा आउनेको भीड लाग्ने गलकोट कला प्रतिस्ठानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए । यहाँका स्थानीयवासीले पहिले यो ठाउँ यति धेरै चर्चित होला भन्ने नसोचेको भन्दै अहिले पर्यटकले भरिभराउ हुँदा दङ्ग हुने गरेको बताउँछन् । उनले भने, ‘अहिले टेउवालाई थप व्यवस्थित बनाउँन थालेका छौँ, मूर्ति बनाएका ठाउँमा ढलान गर्ने र बार लगाउने काम भइरहेको छ, यसको व्यवस्थापनपछि थप पर्यटक आउने अपेक्षा गरेका छौँ, यति छोटो समयमा यति धेरै मान्छे घुम्न आउलान् भन्ने थिएन, दिनप्रति दिन आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको छ, महिना झण्डै दुई हजार पर्यटक यहाँ आउने गरेका छन् ।’ टेउवामा विसं २०७६ फागुन ५ देखि २१ सम्म अन्तर्राष्ट्रियस्तरका मूर्तिकारको सम्मेलन गरी १० देशका १५ जना मूर्तिकारले १७ वटा मूर्ति तयार गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूर्तिकारले बनाएका ती मूर्ति खुल्ला सङ्ग्रहालयमा राखिएका छन् । मूर्तिकारले ढुङ्गामा जल, जङ्गल, जमिन, पहाड, लगायतका आकृति तयार गरेका छन् । यहाँ बनेका मूर्ति र यस ठाउँले तनावबाट मुक्त बनाउने बुटवलदेखि घुम्न आउनु भएका विशाल रणपालले बताए । ‘यो ठाउँ र यहाँ बनेका मूर्तिकला साँच्चिकै मनमोहक छन्, पहाडै पहाडले घेरिएको यो ठाउँ, न यहाँ प्रदूषण छ, त्यो बजारको कोलाहालबाट यहाँ आउँदा निकै खुसी लाग्यो, बजारबाट यहासम्म आउने बाटो राम्रो बनाउन सके अझै सजिलो हुने थियो, तर पनि पहाडी क्षेत्रमा यत्तिको व्यवस्थापन धेरै राम्रो हो, फेसबुक, टिकटकमा यहाँको फोटो र भिडियो देखेका थियौँ, त्यही भएर साथी मिलेर गाडी लिएरै घुम्न आएका हौँ ।’ मूर्तिकला जोड्ने पदमार्ग निर्माण पैदल यात्रामाफर्त पर्यटकलाई टेवामा पु¥याउनका लागि गलकोट नगरपालिकाले कौलेनी–टेउवा पदमार्ग निर्माण गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको तीन लाखबाट करिब दुई सयमिटर पदमार्ग निर्माण गरेको वडा नं ५ का अध्यक्ष पवन हमालले जानकारी दिए । टेउवामा पर्यटक आकर्षणका लागि यस वर्षदेखि पदमार्ग निर्माणको थालिनी गरेको उनको भनाइ छ । मूर्तिकला हेर्ने आगन्तुकको आगमनमा वृद्धि हुँदै गएपछि पर्यटन प्रवद्र्धनका लागि पदमार्ग अनिर्वाय रहेको उनले बताए । हटियाबाजरदेखि गाडीमा आएर हरिचौरदेखि पदमार्ग हुँदै टेउवा पुग्न सकिने गरी काम भएको अध्यक्ष हमालको भनाइ छ । हरिचौरदेखि टेउवा जोड्ने सडक पनि स्तरोन्नति भइरहेको उनले बताए ।नाली निर्माण, सडक चौँडा गर्ने काम भइरहेको उनको भनाइ छ । सडकलाई व्यवस्थित गरे बढीभन्दा बढी पर्यटक भित्र्याउन सकिने अपेक्षा लिएको उनले बताए । टेउवा प्रवेशद्वारका रुपमा रहेको हरिचौर बजारलाई थप व्यवस्थित गराउन थालेको हमाल बताउँछन् । प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखले बजार क्षेत्र ढलान गर्ने काम भएको उनको भनाइ छ । ‘यस वर्षदेखि हरिचौर बजारलाई थप व्यवस्थित गर्न थालेका छौँ, यो बजार टेउवा मात्रै नभएर गाईघाट झरनाको प्रवेशद्वार पनि हो, त्यसले गर्दा यहाँको सौन्दर्यकरण गर्ने, बजार क्षेत्रमा फूलहरु लगाउने र सरसफाइलाई जोड दिएका छौँ,’ अध्यक्ष हमालले भने, ‘पूर्वाधार निर्माणसँगै पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारलाई पनि ध्यान दिएका छौँ ।’ टेउवाबाट माछापच्छ्रे अन्नपूर्ण लगायतका दर्जनौँ हिमशृङ्ला नियाल्न सकिन्छ भने बागलुङ गुल्मीलगायतका ठाउँ पनि यहाँबाट देख्न सकिन्छ । जिल्ला सदरमुकाम बागलुङ बजारदेखि ४५ किलोमिटरमा गलकोट पुग्न सकिन्छ भने गलकोटदेखि हरिचौर हुँदै करिब एक घण्टाको यात्रामा टेउवा पुग्न सकिन्छ । खोलानाला, पाखा पखेरा र गाउँले जनजीवन नियाल्दै पैदल यात्राबाट झण्डै दुई घण्टामा यहाँ पुग्न सकिन्छ । रासस
कुमारी बैंकले ल्यायो पैसा डबल हुने मुद्दती खाता, बीमाको सुविधा पनि
काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितको थप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमा मार्फत जोखिम व्यवस्थापन हुनेछ । बैंकले कुमारी जीवन बीमा २ एक्स मुद्दती खाता प्लसमा ६ वर्ष ८ महिना ९ दिनमा मुद्दती रकम दुई गुणा हुने व्यवस्था गरेको जानकारी दिएकाे छ । सो योजना अन्तर्गत मुद्दती रकम बराबरको अवधिक जीवन बीमा सुविधा वापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्ने बताइएकाे छ । बैंककाे अनुसार यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्युनतम पचास हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । यस याेजनामा ग्राहकहरुले निक्षेप अवधिसम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोहि अवधिमा मुद्दती रकम दुई गुणा वृद्धि हुने बैंकले बताएकाे छ । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाईफ इन्सुरेन्स कम्पनी रहेको छ । कुमारी बैंकले देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।