विकासन्युज

अब पेट्रोलको पैसा डिजिटल रुपमा भुक्तानी गर्न सकिने

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रम सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको तर्फबाट अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानज्यू तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग आवद्ध पेट्रोल पम्पहरुले पिओएस, क्युआर, लगायत अन्य डिजिटल भुक्तानी उपकरणको प्रयोग गरी ग्राहकलाई बिक्री गरेको तेल खरिदको भुक्तानी डिजिटल प्लेटफर्म मार्फत सरल र विश्वासिलो तरिकाले लिने सुविधा प्रदान गर्नेछन् । एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले देशको वार्षिक झण्डै २ खर्बको तेल खरिद बिक्री कारोबारलाई डिजिटल कारोबारमा आवद्ध गराउन माछापुच्छ्रे बैंकको पहलले समग्र अर्थतन्त्रको डिजिटल कारोबारमा सहयोग पुग्ने बताए । यसका साथै बैंकले विभिन्न चरणमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन सँग सम्बद्ध व्यक्ति तथा पेट्रोल पम्पहरुमा डिजिटल सचेतना कार्यक्रमहरु समेत सञ्चालन गर्नेछ । बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १४ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

महिला नेतृत्व शिखर सम्मेलन : महिलाद्धारा उत्पादित वस्तुको प्रदर्शनी गरिने, अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागीता

काठमाडौं । नेपाल उद्योग परिसंघले दुई दिने ‘महिला नेतृत्व शिखर सम्मेलन २०२३’ गर्ने भएको छ । परिसंघले महिला नेतृत्व मञ्चको संयोजनमा आगामी चैत ११ र १२ गते काठमाडौंको सोल्टी होटलमा उक्त सम्मेलन गर्न लागेको हो । सोमबार पत्रकार सम्मलेन गर्दै परिसंघले महिलाहरुलाई नेतृत्व तहमा पुर्याउने उद्देश्यले उक्त दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी गराएको हो । सम्मेलनमा लैंगिक समानता विषयसहित महिला नेतृत्वहरुबीच विचार आदान प्रदान गर्ने, रणनीति बनाउने, महिलाहरुको सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एक अर्काबाट सिक्ने अवसर प्राप्त हुने महिला नेतृत्व मञ्चकी सभापति छाया शर्माले बताइन् । उनका अनुसार महिला नेतृत्व शिखर सम्मेलनले विशेष तीन वटा विषयवस्तुमा बहस, छलफल, विचार विमर्श गर्ने छ । जसमा महिला र राजनीति, महिला र अर्थतन्त्र, परिवर्तनका सम्भाव महिलाको सेरोफेरोमा प्यानल डिस्कसनहरु हुने उनले बताइन् । ‘सम्मेलनमा महिला नेतृत्वको विकास कसरी गर्ने, नेतृत्व तहमा पुग्नलाई के कस्ता चुनौतिहरु सामना गर्नुपर्छ, कस्ता कस्ता रणनीतिहरु अपनाउनु पर्छ र अबका दिनमा महिलालाई नेतृत्वमा पुर्याउन के कस्ता कामहरु सरकारले गर्नुपर्ने छ भन्ने विषयहरुलाई विभिन्न प्यानलहरुमा छलफल हुने छ,’ सभापति शमाले बताइन् । परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले सम्मेलनमा कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने सम्मेलनको उद्देश्य रहेको बताए । ‘सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने हुने छ,’ परिसंघका उपाध्यक्ष चौधरीले बताए । सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्याएका दुई जना महिलालाई सम्मान गरिनेछ । साथै, उद्यमशीलता प्रबद्र्धनका लागि ३० जना महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिनेछ । त्यस्तै, सम्मेलनमा बिजनेस, राजनीतिक, जलवायु परिवर्तन, डिजिटल, मिडिया र इन्टरटेनमेन्ट, साउथ एशियन रिजनल प्यानल र विभिन्न प्रदेशहरुबाट महिला उद्यमीहरुको ९ वटा प्यानल रहने जानकारी गराईको छ । उद्योग वाणिज्य तथा महिला आपूर्ति मन्त्रालयसँगको समन्वयमा हुन गइरहेको दुई दिने महिला नेतृत्व शिखर सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिएको समेत बताइएको छ । उक्त सम्मेलनमा हुने विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरुको सहभागिता रहने छ । त्यस्तै, पहिलो पटक हुन लागेको यो अन्तर्राष्ट्रिय सम्मेलनको एम्बास्डरमा भारतीय अभिनेत्री सोनाक्षी सिन्हालाई नियुक्त गरिएको छ । महिला नेतृत्व मञ्च र यसको मूख्य उद्देश्य ? वोमेन लिडरशीप फोरम अर्थात महिला नेतृत्व मञ्च नेपाल उद्योग परिसंघको नयाँ इनिसिएटिभ हो । जुन सन् २०२१ मा स्थापना भएको हो । स्थापना भएको करिब तीन वर्षको दौरानमा यो मञ्चले महिलालाई नेतृत्वतहमा पुर्याउनको लागि विभिन्न कामहरु गर्दै आएको छ । यो मञ्जमा विभिन्न क्षेत्रको नेतृत्व तहमा रहेका महिलाहरु सदस्यको रुपमा आवद्ध छन् । यो फोरमको मान्यता नै बढीभन्दा बढी महिलालाई कर्पोरेट, अर्थतन्त्र लगायत राजनीति क्षेत्रभित्र समेटी उनीलाई नेतृत्व तहमा पुर्याउनुपर्छ भन्ने मुख्य उद्देश्य हो । साथै, यो फोरम अर्थात मञ्चले जुनसुकै क्षेत्रको नेतृत्व तहमा पुग्दा महिलाहरुले भोग्नु पर्ने चुनौतिहरुको पहिचान गरी समाधानका रणनीतिहरु पहिल्याई महिलाहरुलाई कसरी उच्च तहमा पुर्याउन सकिन्छ भन्ने ध्येयका साथ विभिन्न कार्यक्रम चलाउँदै आएको छ । कोभिड माहामारीपछि अधिकांश महिलाहरु बढी प्रभावित भएको फोरमले जनाएको छ । आइएलओले गरेको सर्वेक्षणअनुसार पनि १६ लाखदेखि २० लाखले रोजगारी गुमाएका छन् । सोही सर्वेक्षणले ३७ प्रतिशत व्यवसायले महिला कामदारहरुको तलब घटाएको र ५ प्रतिशत व्यवसायहरुले पुरै तलब कटौती गर्नुका साथै जागिरबाट महिलाहरुलाई हटाएको फोरमले जनाएको छ । सीबीएसको रिपोर्ट अनुसार २०१९ मा प्रकाशित गरेको राष्ट्रिय आर्थिक जनगणनाअनुसार देशका कूल ९ लाख २३ हजार तीनसय ५३ उद्यममध्ये २ लाख ४७ हजार ८८० अर्थात २९.८ प्रतिशत उद्यमहरु महिलाद्धारा सञ्चालित थिए । र, कोभिडपछि महिला उद्यमी महासंघले सर्वेक्षण गर्दा १५ प्रतिशत महिलाहरुले सञ्चालन गर्दै आएको व्यवसायहरु पूर्ण रुपमा बन्द भएको पाइएको जानकारी गराइएको छ ।

अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका छन् । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ २/४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग भोली (मंगलबार) बिहानबाटै छलफल सुरु गर्ने पनि बताए । उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अव आराम ढंगले सरकारले काम गर्ने दावी समेत गरे । ‘सायद यो महिनाको अन्त्य तिर वा अर्को महिनाको सुरुवातमा हुन सक्दछ, जति भयो त्यो चाँही पर्याप्त छ, अब आरामसँग सरकार चल्छ, अब विकास, निर्माणको कामले गति लिन्छ,’ उनले भने ।  

रमेश कर्पले अनाथालयमा मनायो तेस्रो संस्थापक दिवस

काठमाडाैं । रमेश कर्पोरेशनले आफ्नो तेस्रो संस्थापक दिवस अनाथालयमा मनाएको छ । कमेपनीले यस वर्ष काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरी मनाएकाे हाे । कम्पनीले रमेश कर्पोरेशनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरेकाे थियाे । रमेश कर्पोरेशनका सदस्यहरुले अनाथ आश्रममा भेला भई बालबालिकाहरु बीच चित्रकला प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु सञ्चालन गरेका थिए । सदस्यहरुले बालबालिकालाई एक महिनाको खाना र अन्य अत्यावश्यक खाद्यान्न पनि प्रदान गरेका थिए ।  

४ लाखमै पाइन्छ जेस्टिसको इभी स्कुटर, यस्ता छन् विशेषता

काठमाडौं । नेपाली बजारमा अहिले थुप्रै कम्पनीका दुई पाँग्रे विद्युतीय सवारी साधनहरू उपलब्ध छन् । त्यीमध्ये तपाईं कुन इभी किन्ने सोचमा हुनुहुन्छ ? सडकमा पनि दुई पाँग्रे विद्युतीय सवारी साधनको संख्यान बढ्दै गएको छ । ग्राहकको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै नेपाली सडकमा सुहाउँदो इभी स्कुटर सार्वजनिक भएको छ ‘जेस्टिस्’ । एमभी दुगड समूहले सो स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै इन्डोनेसियन ब्राण्ड जेस्टिस्को स्कुटर नेपालमा ल्याएको छ । सार्वजनिक भएको केही समयपछि नै उक्त स्कुटरको माग पनि उच्च रहेको कम्पनीका सेल्सम्यान रोहित दाहालले बताए । उनका अनुसार आकर्षक विशेषता र स्मार्ट लुक्स भएकाले पनि यो स्कुटर धेरैको रोजाइमा परेको छ । यो स्कुटरको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स, राम्रो पिकअप र पावर रहेको छ । जेस्टिस् स्कुटरको अधिकतम गति ७६ किलोमिटर प्रतिघण्टा रहको कम्पनीले बताएको छ । जेस्टिस् इभी स्कुटरमा डबल डिस्क ब्रेक, रियर मोनो शक, डिजिटल ड्यासबोर्ड, पञ्च फुट रेस्ट, आधुनिक ग्राफिक्स, स्टाइलिस हेडलाईट लगायतका विशेषताहरु छन् । जुन कारणले पनि नेपालमा उपलब्ध स्कुटरमध्ये सबैभन्दा राम्रो स्कुटर रहेको कम्पनीको दाबी छ । यो स्कुटरमा २००० वाट रेट भएको पावर आउटपुट र ५००० वाट पिक पावर, ३.७ हर्सपावर, अधिकतम् ३० एनएमको टर्क, ५ सेकेन्डमा एक्सेलेशन ०–५० किलोमिटर सम्म पुग्छ । अहिले जेस्टिस् इभी स्कुटर रातो, सेतो र कालो रङ्गमा उपलब्ध छ । दाहालका अनुसार अन्य स्कुटरमा नभएको मोनो शोकको विशेषता यो स्कुटरमा छ । जसले गर्दा ग्राभेल सडक तथा खाल्डा खुल्डी बाटोमा स्कुटर मज्जाले कुद्छ । साथै यो स्कुटरमा ठूलो टायर दिइएको छ र एलइडी टेल ल्याम्प प्रयोग गरिएको छ । जेस्टिस् इभी स्कुटरमा डबल र सिंगल ब्याट्री जडान गरिएको छ । सोही अनुसार मूल्य पनि निर्धारण गरिएको छ । कम्पनीका अनुसार डबल ब्याट्री जडान भएको यस स्कुटरको मूल्य ४ लाख १० हजार र सिंगल ब्याट्री जडान भएको स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । यो स्कुटरको ब्याट्री अलग गर्न मिल्ने भएकाले निकालेर सुरक्षित स्थानमा राख्न पनि सकिन्छ । ५ किलोवाटको विद्युतीय मोटर जडान भएको यस स्कुटरमा ७२ भोल्ट र २० एम्पियर आवर लिथियम आयन ब्याट्री छ । यो स्कुटरलाई एकपटक फूल चार्ज गरेपछि १०० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने कम्पनीले बताएको छ । दाहालका अनुसार ब्याट्री पूर्ण चार्ज हुन ९० मिनेट समय लाग्छ । कम्पनीले स्मार्ट एलईडी ब्याट्रीको ग्यारेन्टी ३ वर्षको दिएको छ । यसले पूर्ण रूपमा चार्ज गर्न १.३ युनिट विद्युत खपत गर्छ । ब्रेकिङ्ग गर्दा ब्याट्री स्वचालित रूपमा रि–चार्ज हुन्छ ।

प्रधानमन्त्री प्रचण्डले फेरि पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले पेस गरेकाे विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा एक सय ७२ मत खसेको हो । मतदानमा दुई सय ६२ सांसद उपस्थित भएका थिए । सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उक्त प्रस्तावको पक्षमा एक सय ७२ मत खसेको र सो मत प्रतिनिधिसभाको तत्काल कायम सम्पूर्ण सदस्यको बहुमत पुगेकाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त भएको घोषणा गरे । प्रस्तावको विपक्षमा ८९ मत खसेको छ । विश्वासको मत दिन्न भन्नेमा एक मत परेको छ । प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिए । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बसेको थियो । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहालले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई प्रतिनिधिसभाका दुई सय ७० सांसदमध्ये दुई सय ६८ सांसदले विश्वासको मत दिएका थिए । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेर एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था आएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १२ गते अपराह्न १ बजे बस्नेछ ।

राष्ट्रिय हितमा दायाँबायाँ हुन्न : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हित र प्रक्रियाअनुसार नै अगाडि बढेको र त्यसमा दायाँबायाँ नहुने बताएका छन् । संविधान र नियमानुसार नै सरकार अगाडि बढेको र आफू सोहीअनुसार नै क्रियाशील रहेको उनले स्पष्ट पारे । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले राखेकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफमा उनले राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्ने उल्लेख गरे । प्रधानमन्त्री दाहालले जटिल र अप्ठ्यारो परिस्थितिमा राज्यबाट उत्पीडित वर्ग, समुदाय र तप्कालाई अधिकार सम्पन्न बनाउन योगदान गरेका राजनीतिक दल र नयाँ राजनीतिक दलको योगदान र पुराना अनुभव तथा नयाँको काम गर्ने तरिकाबीच तालमेल गरेर जान जरुरी रहेको बताए । आफूहरु एउटा राजनीतिक प्रणालीबाट अर्को प्रणालीमा आएको, राजतन्त्रबाट गणतन्त्रमा, एकात्मकताबाट सङ्घीयतामा आएको तथ्य पेस गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक शान्ति सम्झौता, संविधान, गणतन्त्रका साथसाथै लोकतन्त्रमा नयाँ खालको अभ्यास गरिएको स्पष्ट पारे । राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर आफूहरु एक ठाउँमा उभिएको उल्लेख गर्दै उनले विचार मिल्ने दलहरुबीच मतैक्य गर्न सकिए विकास र निर्माणको अपेक्षा राखेका जनतालाई केही न केही राहत दिन सकिने लक्ष्यका साथ तत्कालीन नेकपा (एमाले)सँग सहकार्यको हात अगाडि बढाएको बताए । विकास र समृद्धिका लागि आफूले तत्कालीन एमालेसँग एकता तथा सहकार्यको प्रस्ताव राखेको भए पनि त्यसलाई जोगाउन नसकिएको र तीन वर्ष पनि टिकाउन नसकेको प्रधानमन्त्रीले स्मरण गरे । जनता र कार्यकर्ताले आफूहरुबीचको सहकार्य र एकतालाई अनुमोदन गरेको भए पनि हामी नेताहरुकै कारण जोगाउन नसकेको उनले बताए । ‘हामी नेताहरुले नै जनता र कार्यकर्ताको भावनालाई सम्मान गर्न सकेनौँ । झन्डै दुई तिहाइ बराबरको जनमत टिकाउन सकेनाैं । यसको समीक्षा कसरी र कसले गर्ने हो ?’, प्रधानमन्त्रीले भने, ‘एकले अर्कोलाई दोषारोपण गरेर, तर्क कुतर्क गरेर सुख पाइँदैन । केन्द्र र प्रदेश सरकार किन गयो ? यसको समीक्षा गर्नुपर्छ कि पर्दैन ?’ देशमा विकासको नयाँ ल्याउने उद्देश्यका साथ आफूहरु एक ठाउँमा उभिएको भए पनि आफ्नै पार्टी र सरकारले संविधानमाथि नै घात हुने गरी गतिविधि गरिएपछि विग्रह पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधान लोकतन्त्र, गणतन्त्र, सङ्घीयता र समावेशिता र समानुपातिक प्रणाली तथा शान्ति सम्झौताका लागि नेपाली कांग्रेससँग सहकार्य गरेको स्पष्ट पारे । आफू एमालेसँग खोज्दै प्रधानमन्त्री बन्न नगएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले केपी ओलीलाई दुई पटक प्रधानमन्त्री बनाएको थिएँ । तपाइँले मलाई एक पटक बनाए । मलाई प्रधानमन्त्रीभन्दा पनि लोकतन्त्र, संविधान र शान्ति प्रक्रिया महत्वपूर्ण लाग्छ ।’ प्रधानमन्त्रीले एमालेसँग एजेन्डा नै नमिलेका कारण गठबन्धन परिवर्तन गर्नुपरेको बताए । उनले भने, ‘नमिलेको एजेन्डा नै हो । नमिलेको विचार र राजनीतिक मुद्दा नै हो ।’ सदनमा बहुमत रहँदासम्म पटकपटक विश्वासको मत लिनु नपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारले पूर्णता पाउने बित्तिकै नयाँ गतिका साथ सरकार अगाडि बढ्ने बताए । रासस

तनहुँ र बारा मा वैशाख १० गते उपचुनाव गर्ने निर्णय

काठमाडाैं । निर्वाचन आयोगले बारा र तनहुँमा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।आयोगले चितवन २ सहित बारा २ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेकाे हाे । तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएका थिए । नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ ।