बैंकको ब्याज तिर्न बैंककै सेयर बेच्दै
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत फागुन २४ गते साविकको मेगा बैंकका विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४६ हजार ४३ कित्तासहित २ लाख ७७६ कित्ता सेयर बिक्रीमा राख्यो । यस्तै, गत चैत २ गते प्रभु बैंकले पनि विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ७ हजार ९३७ कित्ता सेयर बिक्रीमा राख्यो । बैंकले ३५ दिने सूचना जारी गर्दै संस्थापक सेयर बिक्रीमा राखेको थियो । यस्तै, नबिल बैंकले पनि गत फागुन १० गते विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । बैंकले फागुन १० गतेदेखि फागुन २५ गतेसम्म विद्यमान संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्री गर्ने जनाएको थियो । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । सो बैंकको सेयर खरिद गर्न चाहनेले न्यूनतम १ हजारदेखि आवेदन दिन सक्ने उल्लेख थियो । बैंकले यसअघि पनि विभिन्न समयमा संस्थापक सेयर बिक्रीमा राखेको थियो । यस्तै, कुमारी बैंकले चैत २ र ५ गते गरी विभिन्न समयमा लाखौं कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले गत चैत २ गते ८६ हजार ३३३ कित्ता बिक्रीमा राखेको छ भने चैत ७ ते ६ हजार ३२४ कित्ता सेयर बिक्रीमा राखेको हो । यी केही प्रतिनिधि बैंक मात्रै हुन् । पछिल्लो समय विभिन्न बैंक तथा वित्तीय संस्थाले संस्थापक सेयरधनीहरुको सेयर बिक्रीमा राखिरहेका छन् । बैंकले सेयर बिक्री गरेर संस्थापक सेयरधनीहरु धमाधम बैंकबाट बाहिरिन खोजेको देखिन्छ । सेयर बिक्रीमा आउने तथ्यांक हेर्ने हो भने बैंकका साना संस्थापक सेयरधनीहरु बाहिरिन खोजेको देखिन्छ । लगानीकर्ता छोटेलाल रौनियार बजार घटिरहेको समयमा लगानीकर्ताहरु डराएर संस्थापक सेयर बिक्री गरिरहेको हुन सक्ने बताउँछन् । संकटको बेलामा संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्नु राम्रो संकेत नभएको उनको बुझाइ छ । दोस्रो बजारमा संस्थापक सेयरको मूल्य नै १ सय रुपैयाँमा बिक्री भइरहेका बेलामा पनि दैनिक बिक्रीका सूचना आउनु राम्रो संकेत नभएको उनको भनाइ छ । ‘मान्छेहरु आत्तिएका छन्, डराइरहेका छन्, सेयरको मूल्य घटेर सर्वसाधारणले बेचिरहेका छन्, संस्थापकले पनि सेयर बिक्री गरिरहेका छन्, जति मूल्य घट्यो त्यति धेरै डराएर बेचिरहेका छन्,’ उनले भने । कसैको कर्जा, ब्याज तिर्नुपर्ने, घरायसी समस्या भएकाले सेयर बिक्री गर्ने गरेको उनले बताए । घरजग्गा कारोबार बन्द भएकाले पनि सेयर बेचेर आफ्नो समस्या समाधान गर्न खोजिरहेको हुन सक्ने उनी बताउँछन् । ‘तरल सम्पत्ति सेयर पनि हो, घरजग्गा बेच्नुभन्दा सेयर बेच्न सजिलो हुन्छ, प्रमोटर सेयर बिक्री गरेर आफ्नो समस्या टारेका हुन्, बजार घटिरहेको बेलामा लगानीकर्ता डराए,’ उनले भने । पछिल्लो समय कर्जा नतिर्नेहरु बढ्दा बैंकको खराब कर्जा पनि बढेको हुँदा बैंकबाट पाइने प्रतिफलमा ह्रास आउने संकेत देखिएपछि धेरैले सेयर बिक्री गर्न खोजेको रौनियार बताउँछन् । ‘बैंकहरु डुब्दैनन् किनभने बैंकको पुँजी र जगेडा कोषमा अर्बाै रुपैयाँ छ, राष्ट्र बैंकले नियमन गरिरहेका संस्था भएकाले बैंकहरुमा धेरै ठूलो समस्या आएको छैन, बैंकहरुले पनि डुब्ने गरी लगानी गरेका छैनन्,’ उनले भने, ‘बैंकहरुले माघसम्म ४१ अर्ब रुपैयाँ नाफा कमाएका छन्,यो नाफा कमाएको हिसाबमा बैंकहरु समस्यामा छैनन्, उद्योगी व्यवसायीहरु घाटामा जान सक्छन् तर बैंकहरु घाटामा जान सक्दैनन् ।’ लगानीकर्ता लबराज जोशी संस्थापकहरुको व्यवसाय राम्रो नभएकाले बिक्री गर्न लागेको बताउँछन् । उनीहरुले गरेको व्यवसायमा कर्जाको ब्याज तिर्नुपर्ने भएकाले सेयर बेचेर तिर्न खोजिरहेको हुन सक्ने उनको बुझाइ छ । ‘आफ्नो ऋण चुक्ता गर्न सेयर बेचेका हुन सक्छन्, व्यवसायलाई डुब्न नदिन सेयर बेचेर तिरिरहेका छन्, अहिले व्यापार व्यवसायी र उद्योग राम्रोसँग सञ्चालन भएको छैन, बैंकले पनि ब्याज मिनाह गर्दैन, एक/दुई किस्ता नतिर्ने बित्तिकै ताकेता गर्छन्, उनीहरुले सहज वातावरणबाट आफ्नो समस्या समाधान गर्न खोजेका छन्,’ उनले भने । उनका अनुसार बैंक तथा वित्तीय संस्थाको प्रतिफल घटेको हुँदा संस्थापकहरुले सेयर बेच्न लागेका हुन् । कुनैपनि बैंकहरुले विगतका वर्ष जस्तै उत्साह रुपमा लाभांश दिन नसक्ने आँकलन गरेकाले पनि सेयर बेचेर बाहिरिन खोजेको उनको भनाइ छ । ‘मर्जरका कारण बैंकको पुँजी बढ्दै गयो, पुँजी वृद्धि अनुसार नाफा कमाउन सकेनन्, गत वर्ष राम्रो रिकभरी भइरहेको थियो, यस पटक रिकभरी पनि घटेको छ, रिकभरी भएन भने नाफा घट्छ,’ उनले भने, ‘५ प्रतिशतसम्म खराब कर्जा पुग्ने सम्भावना छ, खराब कर्जा बढ्यो भने बैंकहरुले ठूलो रकम प्रोभिजन राख्नुपर्ने हुन्छ, प्रोभिजन राख्नु पर्दा बैंकको नाफा हुँदैन, अहिले प्रमोटरलाई पनि समस्या परेको छ ।’ अर्थतन्त्र संकटमा परेको बेला यसरी सेयर बिक्री गर्नु राम्रो संकेत नभएको उनको बुझाइ छ । तर, नेपालमा भयावह स्थिती नरहेको उनको भनाइ छ । बैंकर बिएन घर्ती संस्थापक सेयर बिक्री गर्नु सामान्य प्रक्रिया भएको बताउँछन् । ठूलो संख्यामा प्रमोटर सेयर बिक्री भएमा मात्रै संकट परेको भन्न सकिने उनले बताए । सानो संस्थापक सेयरधीहरुले सेयर बिक्री गरेर खासै समस्या नहुने उनको भनाइ छ । उनका अनुसार यदि विज्ञ ब्यक्तिलाई सञ्चालक बनाउनु पर्याे भने स-सानो सेयर बिक्री हुन्छ । ‘जस्तो कुनै बैंकमा कसैलाई सञ्चालक बनाउनुपर्याे तर, ऊसँग बैंकको सेयर हुँदैन, अर्काे ब्यक्तिसँग धेरै सेयर हुन्छ, त्यसपछि धेरै सेयर भएको ब्यक्तिले अर्काेलाई सेयर ट्रान्सफर गरेर बोर्डमा ल्याउन खोजेको हुन सक्छ,’ उनले भने । कुनै ब्यक्तिले उपहार स्वरुप सेयर दिन खोज्दा पनि प्रमोटर सेयर बिक्री हुने गरेकाे उनको भनाइ छ । साथै पछिल्लो समय तरलताको समस्या कायम रहेकाले घरखर्च चलाउन गाह्रो भएकाले सेयर बिक्री गरेर समाधान गर्न खाेजेकाे उनको भनाइ छ । ‘खल्तिमा एक/दुई लाख पनि भएन भने उसले आफूसँग भएको सेयर बिक्री गरेर घर खर्च जुटाउन सक्छ, सेयरमा लगानी गर्दा बर्बाद भयो र प्यानिक भएको बेलामा सबैले बेच्न चाहन्छन्, यो अहिले हुन सक्दैन,’ उनले भने, ‘कुनै उद्योगी व्यवसायीको ब्याज तिर्न पर्नेछ भने सेयर बेचेर ब्याज तिरेका हुन्छन्, ब्याजको किस्ता तिर्न नसक्ने अवस्था आयो भने सेयर बेच्न सक्छन् ।’ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकाल पछिल्लो समय बैंकहरु मर्जरमा गएका कारण पनि सेयर बिक्री गर्न थालेको बताउँछन् । ‘धेरै बैंकहरु मर्ज भए, मर्जर भएपछि जुन बैंकमा आफ्नो प्रमोटर सेयर छ, त्यो बैंकबाट कर्जा लिन पाउँदैन, कुनै ब्यक्तिको बैंकमा प्रमोटर सेयर छ भने त्यो बैंकबाट कर्जा लिन पाउँदैन, कर्जा लिइरहेको बैंक प्रमोटर सेयर भएको बैंकसँग मर्ज भयो,’ उनले भने, ‘आफु प्रमोटर भएको बैंकसँग मर्ज भयो भने कर्जा लिन नपाउने भएकाले सेयर बेचेका हुन्, उनीहरुले कर्जा सेटल गरे ।’ साथै, कर्जा सेटल गर्न, ब्याज तिर्न वा रकम भुक्तानीका लागि सेयर बिक्री गरेको हुन सक्ने उनको भनाइ छ । उनका अनुसार आर्थिक स्थिती कमजोर भएकाले सेयर बेचेर आफ्नो व्यवस्थापन गरिरहेका छन् । बैंकको सेयर बेचेर पनि अन्य बैंकको ब्याज वा कर्जा चुक्ता गरेको हुन सक्ने उनले बताए । ‘बैंकको रिटर्न पनि कम हुँदै गएको छ किनभने चुनौति धेरै छन्, राष्ट्र बैंकले स्प्रेड दर घटाउन लगाएको छ, अन्य आम्दानीमा पनि सीमा तोकेको छ, कर्जाको शुल्कमा पनि तोकिएभन्दा बढी शुल्क लिन पाउँदैन,’ उनले भने, ‘राष्ट्र बैंकले कडाइ गर्दै आएको छ, पहिला आम्दानी धेरै हुन्थ्यो, अहिले घटेको छ, अर्निङपर सेयर, रिटर्न अफ इक्विटी घटिरहेको छ, त्यसैले पहिलाको जस्तो नाफा कमाउने अवस्था अहिले छैन ।’ डीसीईओ ढकालका अनुसार बैंकको सेयर बिक्री गरेर अन्य व्यवसायमा लाग्ने स्थिती छैन । बैंकको भन्दा बढी नाफा आउने ठाउँ भएपनि लगानी गर्ने वातावरण नबनेको उनले बताए । ‘बैंकभन्दा आकर्षक रिटर्न दिने संस्थाहरु छन्, सुरक्षित रुपमा दीर्घकालसम्म लगानी गर्न मिल्ने संस्था बैंक हुन्, लगानी गरेर दीर्घकालमा ठूलो फाइदा लिनेले बेचेका छैनन्,’ उनले भने । एनआइसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेन्द्र रायमाझी पहिला जस्तो सेयर बिक्रीको चाम नरहेको बताउँछन् । सबैभन्दा बढी प्रमोटर सेयर बिक्रीको काम एनआईसी एशिया क्यापिटलले गर्ने गरेको भएपनि पछिल्लो समय खासै नआएको उनले बताए । ‘पहिला र अहिलेको तुलना गर्दा खासै वृद्धि भएको छैन, अहिले ठूला प्रमोटरहरु होल्ड गरेर बसेका छन् भने साना प्रमोटरहरु बिक्री गर्न थालेका छन्,’ उनले भने । संकटको बेलामा सबैभन्दा पहिला बजारमा हिट गर्ने गरेको उनको भनाइ छ । प्रमोटर सेयरधनीहरुले बोनस सेयरको अपेक्षा गरेका हुन्छन् । तर, बैंकको बोनस दर पनि घट्दै गएका कारण बेच्न थालेको उनले बताए । ‘संकटको बेला सबैभन्दा पहिला बिक्री हुने सेयर हो, तरलता पुर्ति गर्नका लागि पनि सेयर बेच्छन्, स-सानो २/३ हजार कित्ता सेयर पनि बिक्री भइरहेका छन्, यो सामान्य प्रक्रियाको विजनेश हो,’ उनले भने । उनका अनुसार केही लगानीकर्ता सेयर संख्या बढाउन नचाहेर पनि बेच्छन् । ठूलो संख्यामा सेयर बिक्री भएपछि चिन्ता लिनुपर्ने स्थिती आउने भएपनि साना साना सेयर बिक्रीमा आउँदा खासै फरक नपर्ने उनले बताए ।
‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज
सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले ‘कोल्ड स्टोर’ निर्माण सुरु गरिएको छ । वडा नं २ बैरियामा निर्माण गरिएको सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोर शिलन्यासमा नगरप्रमुख आतेशकुमार सिंहले यसले किसानलाई आलु, प्याज तथा अन्य तरकारी भण्डारणमा सहयोग पुग्ने बताए। नगरप्रमुख सिंहले लामो समयसम्म उत्पादन गरिएका तरकारी तथा फलफूल भण्डार गरेर राख्न सकिने भएकाले किसान खेतीतर्फ आकर्षित भई उत्पादनमा वृद्धि हुने तथा बजारीकरणको सम्भावना पनि बढ्ने दाबी गरे । केन्द्र सरकारको सम्पुरकोषको अनुदानमा नौ कठ्ठा जग्गामा निर्माण हुन लागेको हो । जसमा अत्याधुनिक प्रविधि मल्टिप्रपोज कोल्डस्टोरको प्रथम चरणमा प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, पार्किङ निर्माण गरिने नगरपालिकाका इञ्जिनियर दिनेश ठाकुरले जानकारी दिए । विश्व वैभव कन्सटेन्सी कन्स्ट्रक्सन एन्ड सप्लायर्स भक्तपुरले एक करोड २५ लाखमा निर्माण ठेक्का पाएको कोल्ड स्टोर आगामी असारसम्म पूरा हुनेछ । रासस
एकपटक पुग्नैपर्ने पाथीभरा धाम
ताप्लेजुङ । देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ । अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । धार्मिक एवं ऐतिहासिकरुपमा महत्वपूर्ण पाथीभराको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएकाले पाथीभरामा आउने तिर्थयात्रीको सङ्ख्या बर्सेनि बढ्दो रहेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । यहाँ हिन्दू, बौद्ध र किराँत धर्म मान्ने धार्मिक हिसाबले पुग्ने गरेका छन् । वर्षभर नै तीर्थयात्रीको घुइँचो लाग्ने मन्दिरमा कुनै पनि जातजाति, धर्म र सम्प्रदायका मानिसलाई रोकावट छैन । भारतका विभिन्न क्षेत्रबाट उल्लेख्यरुपमा तीर्थयात्री आउने मन्दिरमा अन्य मुलुकका समेत पर्यटकहरु फाट्टफुट्ट पुग्ने गरेको पाथीभरा क्षेत्रमा होटल व्यवसाय गरिरहेएका इन्द्रनारायण भट्टराईले बताए । भारतका सिक्किम, दार्जलिङ, पश्चिम बङ्गाल, विहार, आसाम साथै भुटानबाट आउने तीर्थयात्रीको सङ्ख्या पनि बर्सेनि बढ्दो क्रममा छ । प्रचारप्रसारसँगै यातायातलगायतका पूर्वाधारको विकास हुँदै गएकाले पनि तीर्थयात्रीको सङ्ख्या बढेको हो । पछिल्लो समय पाथीभरा आउन जानका लागि यातायात सहज बन्दै गएको छ । सडक र हवाई दुवै सेवामार्फत ताप्लेजुङ ओहोरदोहोर गर्न सकिन्छ । तीर्थयात्रीको सहजताका लागि समयसमयमा यातायात व्यवसायी, होटल व्यवसायीलगायतका सरोकारवाला सङ्घसंस्थासँग छलफल हुने गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए। प्राकृतिकरुपमा नै प्रकट भई प्राकृतिक छटाले भरिपूर्ण साक्षात् देवीको महिमा र गरिमा झन्झन बढ्दै गएको छ । देवी अवस्थित सो ठाउँ पाथी भर्दा चुलिए झैँ देखिने भएकाले पाथीभरा भनिएको स्थानीय समाजसेवी रणबहादुर कार्कीले बताए । पाथीभरा फुङ्लिङ नगरपालिका, सिरिजङ्घा र फक्ताङलुङ गाउँपालिकाको सङ्गम स्थलमा रहेको छ । जताबाट हेरे पनि पाथी भरिएर चुलिए झैँ चुलिएको देखिने भएकाले यहाँको नाम पाथीभरा रहन गएको स्थानीयवासीको तर्क छ । पाथीभरामा अवस्थित देवीको नाम ‘पञ्चकन्या कालीका’ हो । भोग बलि दिइने भएकाले रक्तकाली पनि भन्ने गरिन्छ । देवीको उत्पत्तिबारे विभिन्न किंवदन्ती सुन्न पाइन्छ । परापूर्वकालमा एउटा भेडी गोठ थियो । भेडाको सङ्ख्या हजारौँ भएकाले गोठाला पनि थुप्रै थिए । भेडीगोठलाई विभिन्न खर्क (चरन क्षेत्र) मा सार्दै लैजाने क्रममा गोठालाले मन्दिर रहेको क्षेत्रमा पु¥याए । त्यतिबेला त्यहाँ देवी रहेको गोठालाहरुलाई थाहा थिएन । पाथीभराको शिरमा भेडी गोठ लिएर पुगेका गोठाला गोठ बनाएर बास बसे । भोलिपल्ट बिहान उठेर हेर्दा गोठालाले एउटा पनि भेडा देखेनन् । साँझ जम्मा भएका भेडा एकाएक हराएपछि गोठाला अचम्ममा परे । उनीहरुले दिनभर भेडा खोजी गरे तर कुनै अत्तोपत्तो पाएनन् । दिनभर जङ्गल घुमेर खोजी गर्दा नभेटेपछि साँझ निरास हुँदै बासस्थानतर्फ फर्किएर सुते । राति सपनामा सबै गोठालामध्येका एकले साक्षात् कालीको रुप देखेछन् । सपनामै देवीले तिमीहरु नआत्तिनु, मलाई भेडाको बलि दिनु, हराएका तिम्रा भेडा पाउनेछौँ र तिम्रो मनोकामना पनि पूरा हुनेछ भनिन् । ती गोठाला निन्द्राबाट ब्युझिएर हेर्दा आफ्ना हराएका सबै भेडा देखे । त्यसपछि गोठालाले भेडाको बलि दिएर त्यहाँ पूजाआजा गरी अन्यत्रै गोठ सारे । यो घटनाका बारेमा जताजतै हल्ला फैलिएपछि त्यहाँ मानिसले पूजाआजा गर्न थाले । महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली गरी पाँच वटा रुप भएकी देवी भएकाले पञ्चकन्या भगवती देवीको रुपमा मान्ने गरिएको छ । पाथीभराको प्रसङ्ग किराँत समुदायको धर्म ग्रन्थ (मुन्धुम) मा समेत जोडिएको छ । किराँत समुदायले पाथीभरालाई मुकुम्लुङ भन्ने गर्छन् । लिम्बू भाषामा मुकुम् भनेको शक्ति र लुङ भनेको पत्थर अर्थात् ढुङ्गा हो । मुकुम्लुङलाई युमा माङका रुपमा पुज्छन् । किराँत समुदायले यूमा माङलाई प्रमुख इष्टदेवको रुपमा लिने गर्दछन् । किरात धर्मअनुसार यूमा माङ किराँत धर्म मान्ने वा उक्त धर्म गुरुमा बेलाबेलामा प्रकट हुने हुन्छ । यूमा माङको एक अवतारका रुपमा महागुरु फाल्गुनन्दलाई समेत मान्ने गरिएको छ । पाथीभरामा फाल्गुनन्दको पूर्णकदको सात फिट अग्लो ढुङ्गाको शालिकसमेत राखिएको छ । बौद्धमार्गीले पनि पाथीभरा देवीप्रति आस्था र विश्वास राख्ने गरेका छन् । पाथीभरामा बडादसैँ तथा नवरात्रको समयमा विशेष पूजाआजासहित बलि चढाउने गरिएको छ । पाथीभरा देवीले भक्तजनले चढाएको बलि स्नेहपूर्वक लिने जनविश्वास रहिआएको छ । दर्शनार्थीले बलि नै चढाउनुपर्छ भन्ने अनिवार्य छैन । परेवा उडाएर, फूल, अक्षता चढाई धूप बालेर पनि पूजा गर्ने गरिएको छ । पछिल्लो समयमा पूजाआजाका लागि फूल अक्षता लिएर जानेक्रम बढेको पाइन्छ पाथीभरामा भगवतीको पूजा गरेर चण्डीपाठ गर्ने, हवन गर्ने शास्त्रीय पद्धति र बलि दिएर पूजा गर्ने पद्धति चलिआएको पाइन्छ । कुनै समय गाउँमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी नहुँदाको अवस्थामा विरामी पर्दा पाथीभरा पुग्ने भाकल गरे पनि निको भइन्छ भन्ने विश्वास, मान्यता राखेर देवीको पूजाआजा र दर्शन गर्ने मानिस सहजै स्वास्थ्य उपचारको पहुँचमा पुग्दाको वर्तमान अवस्थामा पनि उतिकै पाथीभराप्रति विश्वास र आस्था राख्छन् । पाथीभरा दर्शनका लागि देशका राष्ट्रप्रमुख, सरकार प्रमुखदेखि सरकारका उच्चपदस्थ व्यक्तित्व बेलाबेलामा पाथीभराको दर्शनका लागि जाने गर्दछन् । सडक यातायात नहुँदा मानिस हिँडेरै पुग्दथे । सदरमुकाम फुङ्लिङबाट हिँडेर पुग्नै एक दिन लाग्थ्यो पाथीभराको यात्रामा निस्किएपछि हरेक खोलानाला तर्नुअघि खोलाको पूजा गर्दै जाने गरिन्थ्यो । तीर्थयात्रीले आफ्ना लागि खानेकुरा, भाँडाकुँडा र ओछ्याउने लत्ताकपडा आफैँ बोकेर जान्थे भने गोठ ओढारमा बस्ने गर्थे । बाक्लो बस्ती नभएकाले र देउरालीदेखि मन्दिरसम्म घना जङ्गल भएकाले समूहमा जाने गरिन्थ्यो । अहिले पाथीभरा क्षेत्रको तल्लो फेदीसम्म सवारीसाधन पुग्छन् । पाथीभरा क्षेत्रमा नै तीर्थयात्रीको सेवाका लागि प्रशस्त होटल पसल खोलिएका छन् । बाटो सहज भएकाले देउराली, सुकेटार, फुङ्लिङमै पनि फर्किएर बस्न सकिन्छ । पाथीभराको लोकप्रियता, यसको महिमा र गरिमा चुलिँदै गएकाले पूर्वका विभिन्न ठाउँमा पाथीभराका शाखा मन्दिर स्थापित छन् । तेह्रथुमको हरिसे, बसन्तपुर, टुटे देउराली, सङ्खुवासभाको चौकी बजार, झापाको चारआली, इलामको कुटिडाँडा र ताप्लेजुङकै विभिन्न गाउँमा समेत मन्दिर निर्माण गरी पूजाआजा गर्ने गरिएको छ । ठूलो पाथीभरा पुग्न नसके तिनै मन्दिरबाट समेत भाकल बुझाउने गरिन्छ । धार्मिकरुपले मात्रै नभई पाथीभरा प्राकृतिक विविधताको क्षेत्र भएकाले यस क्षेत्रको महत्व झन् बढ्दै गएको छ । विभिन्न प्रजातिका बोटविरुवा, जडीबुटी र दुर्लभ वन्यजन्तु रेड पाण्डासमेत पाथीभरा क्षेत्रमा पाइन्छ । फुङ्लिङ बजार, सुकेटार देउराली हुँदै तल्लो फेदीसम्म सवारीसाधनमा गई सकेपछि माथि मन्दिरसम्म नै पैदल हिँड्नु पर्छ । फटाफट हिँड्न सक्ने तीन घन्टाको अवधिमा मन्दिर पुग्छन् । पैदलमार्गको स्तरोन्नति गरिएकाले र डाँडैडाँडा रमित हेर्दै पाथीभराको उकालो चढ्नुको मज्जा छुट्टै छ । पाथीभरा मन्दिरमा जान आउनका लागि काठमाडौँबाट सिधै सुकेटार विमानस्थलसम्म हवाई सेवा लिन सकिन्छ । पाथीभरा मन्दिर तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने भएकाले कसैकसैलाई लेक लाग्ने समस्या हुनेगर्छ । प्राकृतिक सुन्दरतासँग रमाउँदै पाथीभरा मन्दिर रहेको डाँडामा पुग्दा कञ्चनजङ्घा हिमशङ्खलाले स्वागत गर्न आइपुग्छ । पाथीभराबाट कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु लगाएका हिमाल आँखै अघि छर्लङ्ग देखिन्छन् । एकातिर पाथीभरा दवीको दर्शन पनि हुने र अर्कातिर प्राकृतिक सौन्दर्यतासँग साक्षात्कार गर्न समेत पाइने भएकाले पर्यटन प्रवद्र्धनमा पाथीभराको महत्व अझ बढिरहेको पर्यटन व्यवसायी हर्क गुरुङले बताए । कतिपय तीर्थयात्री ताप्लेजुङको तोङ्वा र सुकुटीको स्वाद लिँदै यहाँ उत्पादित चौँरी, गाईको छुर्पि, विभिन्न जडीबुटी, अलैँचीलगाएतका बस्तु चिनोको रुपमा लिएर घर फर्किन्छन् । सुकेटार र फुङलिङ बजारका होटलहरुमा तोङ्वा सुकुटीको स्वाद चाख्न पाइन्छ । ‘सदरमुकामै रहेका कोशेली घरहरुमा छुर्पी, जडीबुटी, अलैँचीलगायतका सामग्री पाइन्छन् । मन्दिरको दर्शन गरेर फर्किनेहरुले ताप्लेजुङको चिनोका रुपमा लैजाने गर्छन’, पाथीभरा कोशेली घर सञ्चालक विष्णु श्रेष्ठले बताए । यहाँका कोशेलीघर, होटल तथा पसलमा स्थानीय उत्पादनहरु प्रशस्त राखिएको हुन्छ । पाथीभराले जिल्लाको धार्मिक पर्यटनको प्रवद्र्धन हुनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा पनि सहयोग पुगेको उनको भनाइ छ । रासस
घट्यो १७९ कम्पनीको सेयर मूल्य
काठमाडौं । बिहीबार सेयर बजार १८.१५ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार घटेर १९१५.१४ विन्दुमा पुगेको छ । यसरी बजार घट्दा १७९ कम्पनीको सेयर मूल्य घटेको छ भने २८ कम्पनीको सेयर मूल्य बढेको छ । र ६ कम्पनीको सेयर मूल्यमा भने कुनै पनि परिवर्त भएको छैन । यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका सेयरधनी रहेका छन् । यस संस्थाका सेयरधनीले प्रति सेयर १४५ रुपैयाँ गुमाएका छन् । यसरी कम्पनीको अन्तिम सेयर मूल्य १८ सय रुपैयाँ कायम भएको छ । धेरै सेयर मूल्य गुमाउने टप ३ कम्पनीहरु सबै लघुवित्त रहेका छन् । यस्तै, आज सबैभन्दा बढी कमाउनेमा माया खोला हाइड्रोपावर कम्पनीका सेयरधनीहरु रहेका छन् । सेयर बजारमा आज ४३ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ ।
धनकुटामा पर्यटक भित्र्याउन पदमार्ग
धनकुटा । धनकुटा नगरपालिकाले आफ्नो बजार क्षेत्रमा पर्यटक भित्र्याउन पुरानो पुस्ताको समयमा धरानबाट धनकुटासम्म नुन बोक्न प्रयोग गरिएको बाटोलाई पदमार्गका रुपमा विकास गर्ने भएको छ । स्थानिय आठपहरिया जातीको ऐतिहासिक महत्वसमेत बेकेको अक्कर भिर क्षेत्रमा रहेको यो क्षेत्रमा सडक निर्माण गर्न नसकिने भएकाले ती जातीले वार्षिकरुपमा तीर्थ जानका लागि बाहेक यो बाटो प्रयोगमा छैन । कोशी राजमार्गको साँगुरीगढी गाउँपालिका र उक्त नगरपालिकाको सिमानामा रहेको मूलघाट सडक खण्डबाट करिब नौ किलोमिटरको दूरीमा धनकुटा बजार रहे पनि भौगोलिक कठिनाइले हाल १७ किलोमिटर पार गरेर बजार पुग्नुपर्ने हुन्छ । यही भौगोलक कठिनाइका कारण पूर्वकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा रहेको साँगुरीगढी गाउँपालिकाको भेडेटार, नमस्ते झरना हुँदै मूलघाटसम्म दैनिक आउने सयौँ पर्यटक धनकुटासम्म पुग्न सकेका छैनन् । यही भौगोलिक कठिनाइलाई पदमार्गका माध्यमबाट पर्यटक भित्र्याउन नगरले मूलघाटको तमोर नदी किनारबाट अक्करको भिर वडा नं ८ को टेकुनाला गाउँ हुँदै बजारसम्म जाने पदमार्ग निर्माण सुरु गरिएको हो । यो पदमार्ग नगरमा मात्र प्रमुख थातथलो भएका अल्पसङ्ख्यक सिमान्तकृत आठपहरिया जातिको आदिमकालदेखि हिँडेर सुनसरीको कोका खोला र बराहक्षेत्र तीर्थ जाने बाटो हो । यी जातिको समुदायमा वर्षभरि मृत्यु भएकाहरुका आफन्त यसै स्थानको चिरबिरे चौतारामा भेला भएर कार्तिके पूर्णिमाको तिथिमा चार दिनका लागि बराह क्षेत्रमा दुःख प्रकट गर्न जाने गर्दछन् । आठपहरिया जातिको संस्कृतिसमेतलाई प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउन जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाको सहकार्यमा टेकुनाला गाउँको पुछार चिरबिरे चौतारासम्मको पदमार्ग निर्माणको काम सकिएको छ । क्रमागत योजनाअन्तर्गत मङ्सिरमा काम सुरु गरी फागुन मसान्तमा पहिलो चरणको चार सय मिटर पदमार्ग निर्माणको काम सकिएको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर राईले जानकारी दिए । नगरपालिकाको २० लाख रुपैयाँ, पर्यटन परियोजनाको १० लाख रुपैयाँँ र उपभोक्ता समितिको चार लाख ५५ हजार रुपैयाँ गरी कूल ३८ लाख ५५ हजार रुपैयाँको लागतमा पदमार्गको काम सम्पन्न भएको नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख विकास अधिकारीले जानकारी दिए । वडा नं ९ स्थित मूलघाट र धनकुटे खोला दोभानबाट दक्षिण र उत्तरतर्फ निर्माणाधीन उक्त पदमार्ग पूरा गर्न करिब दुई करोड रुपैयाँको बजेट आवश्यक रहेको अधिकारीले जानकारी दिए । पाँच वर्षमा पूरा गर्ने लक्ष्य राखिएको उक्त पदमार्गसँगै आठपहरिया जातिको घरबास होमस्टे सञ्चालन गरिने नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘तमोर नदी र मूलघाटसम्म आउने पर्यटकलाई आठपहरियाहरुको संस्कृति देखाउँदै नगरमा पर्यटक भित्र्याउने पदमार्गको लक्ष्य हो’, तामाङले भने, ‘यो चार किलोमिटरको पदमार्ग पुरा भएपछि टेकुनाला गाउँबाट कच्ची सडक हुँदै सबै खालका साना सवारी साधनबाट करिब तीन किमिको दूरीमा रहेको धनकुटा बजार जान सक्नेछन् ।’ पदमार्ग भएर आउने पर्यटकले तमोर नदी क्षेत्रको मनोरम दृष्य, भौगोलिक विकटताको दृष्यावलोकन र सघन बसोबास क्षेत्र रहेको आठपहरिया जातीको रहनसहन तथा संस्कृतिको अध्ययन गर्न पाउनेछन् । रासस
एक वर्षमा बैंकर्सलाई डेढ महिना विदा, दशैं तिहारमा दुई साता घर बस्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका कर्मचारीहरुले आउँदो वर्ष ४५ दिन बिदा पाउने जनाएको छ । बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले आगामी वर्ष २०८० मा बैंक तथा वित्तीय संस्थाहरु ४५ दिन बन्द हुने जनाएको हो । बैंक तथा वित्तीय संस्थाहरु बन्द हुँदा बैंकका कर्मचारीले पनि बिदा पाउनेछन् । केन्द्रीय बैंकका अनुसार वर्षको पहिलो दिन अर्थात नयाँ वर्षको दिन बैंक बिदा हुनेछन् । बैशाख १८ गते विश्व मजदुर दिवस हुनेछ । यस्तै, जेठ २२ गते बुद्ध जयन्तीको दिन पनि बिदा दिइएको छ । बैंकका कर्मचारीहरुले दशैं तिहारमा मात्रै करिब दुई साता अर्थात् १२ दिन घर बस्न पाउने भएका छन् । दशैंमा ६ दिन र तिहारमा ५ दिन बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् । बिचमा एकदिन शनिबार परेको छ । बैंकका कर्मचारीले दशैं तिहारमा कुल १२ दिन घर बस्न पाउने छन् । २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्ण रुपमा प्रभावित हुने राष्ट्र बैंकले जनाएको छ । जसमध्ये २० दिन भने बैंकहरुले नगद भुक्तानी ईसीसी, सार्वजनिक ऋण व्यवस्थापन लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्नेछन् । राष्ट्र बैंकका अनुसार ४१ दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बनद हुन्द हुने भएपनि अन्य पाँच दिन भने नेपाल सरकारले निर्णय गरे अनुसार हुनेछ । विदाको निर्णय भएपनि सीमित बैंकिङ कारोबार भने खुल्ने जनाइएको छ । १ वैशाखदेखि १५ कात्तिकसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यलय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ समय हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै १६ माघदेखि चैत मसान्तसम्म पनि कार्यायल सयम १० बजेदेखि ५ बजेसम्म र बैंकिङ समय १० बजेदेखि ४ बजेसम्म हुनेछ । १६ कात्तिकदेखि १५ माघसमम भने कार्यलय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसमम र बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । शुक्रबार भने कार्यलय समय १ः३० सम्म र बैंकिङ समय १२ः३० सम्म हुनेछ । [pdf id=396879]
१ अर्ब लगानीमा लाँकुरी भञ्ज्याङमा टेरेस रिसोर्ट एण्ड स्पा सञ्चालन
काठमाडौं । विलासी पर्यटकको लागि भक्तपुरको लाँकुरी भञ्ज्याङमा टेरेस रिसोर्ट एण्ड स्पा सञ्चालनमा आएको छ । भक्तपुर र ललितपुरको संगम काठमाडौं उपत्यकाको रमणीय स्थल लाँकुरी भञ्ज्याङमा आन्तरिक तथा वाह्य पर्यटकको लागि पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नि समूहले दि टेरेस नामक रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याएका हुन् । रिसोर्ट सञ्चालनमा आएसँगै पर्यटकीय तथा रमणीय स्थल लाँकुरी भञ्ज्याङ आन्तरिक तथा वाह्य पर्यटकको लागि सहज बन्नेछ । नेपाल आउने विलासी पर्यटकहरुलाई राजधानीको निकट तथा शान्त वातावरणमा हिमालयको दृश्यावलोकन रिसोर्टको शयन कक्षबाटै देख्न सकिन्छ । रिसोर्टबाट पूर्वमा सगरमाथादेखि पश्चिममा धवलागिरिसम्मका हिमश्रृंखलाका मनमोहक दृश्य देख्न सकिन्छ । जसमा लाङटाङ हिमाल, जुगल,गौरीशंकर हिमाल समेतको दृश्यावलोकन गर्न सकिनेछ । होटलका सञ्चालक पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले ३८ वर्षअघि नेपाल आउने विलासी पर्यटकहरुलाई राजधानीको निकट तथा शान्त वातावरणमा रिसोर्ट बनाउने सोचसहित जग्गा खरिद गरेको र सोही अनुसार आज आएर सोचलाई वास्तविकतामा परिणत गरेको बताए । उनले ३८ वर्षअघि सामान्य खेतीपाती गर्ने जग्गा किनेर पर्यटकीय स्थल बनाउने सोच अहिले आएर पूरा भएको बताए । त्यस्तै, रिसोर्टका प्रवन्ध निर्देशक तेन्जिङ डेभिड शेर्पाले रिसोर्टमा अहिलेसम्म करिव १ अर्ब रुपैयाँ लागत लागेको बताए । ुबुबाले ३८ वर्षअघि गरेको लगानी जोड्दा त्यसको मूल्य धेरै हुन्छ,ुउनले भने । उनले रिसोर्ट निर्माण कार्य सन् २०१४ मा शुरुवात गरेपनि भूकम्प, नाकाबन्दी, कोरोना महामारीको कारण ७ वर्ष निर्माण कार्यमा लागेको जानकारी दिए । ुहोटल संघ नेपालसँग रिसोर्टलाई लक्जरी स्तरको मान्यतामा राख्नका लागि लभिङ गरिरहेका छौं, रिसोर्टमा ट्राभल कम्पनीहरुले व्यवस्था गरेमा हेलिकोप्टरमार्फत रिसोर्ट ल्याउन र लैजान सकिने गरी हेलिप्याडको निर्माण गरिएको छ,ु उनले भने । रिसोर्टबाट काठमाडौं उपत्यका र हिमाली क्षेत्रको दृश्य अझ लोभलाग्दो देखिन्छ । रिसोर्टको मुख्य प्रवेशल्वारबाट प्रवेश गर्ने बित्तिकै देखिने दृश्य साँच्चिकै मनमोहक छ । रिसोर्ट र हिमालयको बीचको दूरी कुनै समुन्द्र जस्तो देखिन्छ । रिसोर्टबाट रात्रिको समयको काठमाडौं उपत्यकाको दृश्य अझ मनमोहक देखिन्छ । ४० रोपनी जमिनमा फैलिएको यो रिसोर्टमा दुई सुईट रुम छन् । लिभिङ रुम, बेडरुम, बाल्कोनी, ज्याकुजीसहितको यी कोठाहरु विलासी पर्यटक लक्षित छन् । सम्पन्न पर्यटकहरुलाई नै लक्षित गरेर १६ वटा डिलक्स रुमको व्यवस्था छ । त्यस्तै गरी मध्यमवर्गीय पर्यटकलाई लक्षित गरी स्टाण्डर्ड रुमको व्यवस्था छ । यस्ता रुम २८ वटा छन् । रिसोर्ट वरिपरिको वन जंगल मासिन नपाओस भनेर ८०० रोपनी जंगल लिजमा समेत दिएको छ । तारबार गरी संरक्षण समेत गरिएको यो जंगल प्रकृतिप्रेमी पर्यटकका लागि वरदान हुने रिसोर्टले बताएको छ । रिसोर्टमा स्वस्थ र स्वच्छ हावाको प्रत्याभुतिको माध्यम पनि जंगल बन्ने देखिन्छ । जंगलमा रुख बिरुवालाई असर नपर्ने गरी तरकारी र जडिबुटी खेती गर्ने योजना रहेको रिसोर्टले बताएको छ । रिसोर्टमा खुला स्वीमिड। पुल र ज्याकुजी पनि छ । पाहुनाहरुको मनोरञ्जनको लागि २ वटा विलियर्ड रुम छन् । योगा,स्पा र जिमका अलग अलग कक्षहरु छन् । यहाँ नेपाली,भारतीय,कन्टिनेन्टल र भूमध्यसागरीय क्षेत्रका परिकारहरु पाइन्छ । सभा,सम्मेलन र सेमिनारसहित विभिन्न पार्टी गर्ने सुविधाका लागि २ सय जना सहभागी बन्नसक्ने सुविधा सम्पन्न कन्फरेन्स हलको निर्माण समेत गरिएको छ ।
परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन
काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन भएका छन् । नेपाल उद्योग परिसंघको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो । आगामी वार्षिक साधारण सभापछि अग्रवाल स्वतः परिसंघको अध्यक्ष बन्नेछन् । परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ । डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजश्व समिति सभापति एवं विभिन्न समितिमा रहेर काम गरिसक्नुभएका अग्रवाल रोजगारदाता परिषद् संयोजक भई २०७४ बाट परिसंघको उपाध्यक्ष रहेका छन् । काठमाडौंमा जन्मिएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा छन् । आरएमसी गु्रपका कार्यकारी निर्देशक समेत रहेका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आवद्ध छन् ।