बेलायतको संसदीय प्रतिनिधि मण्डलले गरे एनएमबि बैंकको भ्रमण
काठमाडौं । ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले एनएमबि बैंकको भ्रमण गरेका छन् । एनएमबि बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्य पश्चात भएको प्रगतिबारे अवलोकन गरी एनएमबि बैंकले कार्यान्वयन गर्दै आईरहेको दिगो बैंकिङ्ग अभ्यासको जानकारी उक्त टोलीले बैंकको भ्रमण गरेका हुन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणका प्रतिनिधिहरुलाई बैंकले दिगो बैंकिङ्ग अभ्यासको कार्यान्वयन पश्चात गरेको प्रगति विवरणको समिक्षा गर्दैे बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्त गर्न पुर्याएको योगदानको बारे समेत जानकारी दिएका थिए । प्रतिनिधि मण्डलसँग छलफलको क्रममा केसीले नेपालको दिगो तथा समावेशी आर्थिक विकास बीच रहेको स्रोत साधनको अन्तरपुर्ति गर्नको लागि ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्व तथा आवश्यकताको बारेमा बताएका थिए । सोक्रममा प्रतिनिधिहरुले बैंकले जलविद्युत परियोजना मार्फत समुदाय विकासमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
उद्यमी जन्माउनमा अब्बल डीएभी स्कूल, माइक्रोसफ्टदेखि नासासम्म पनि छन् विद्यार्थी
‘शङकरलाल केडिया उद्योगपति र सामाजिक व्यक्ति हुनुहुन्थ्यो, उहाँका तीन छोराहरुमध्ये कान्छो छोराको १७ वर्षको उमेरमा निधन भयो’, डीएभी स्कुलका उप–प्रधानाध्यापक रामचन्द्र खनालले स्कुल स्थापनाको विषय कोट्याउँदै भने, ‘छोरा गुमाइसकेपछि छोराको नामलाई कसरी अमर राख्न सकिन्छ भनेर उहाँले विद्यालय खोल्नुभएको हो ।’ उप–प्रधानाध्यापक खनालका अनुसार केडियाले एउटा अभियानको रुपमा देशभरि नै विद्यालय खोल्ने विचार बनाए । खासगरी नेपालको संस्कृति तथा पूर्वीय वैदिक दर्शनको संरक्षण गर्ने उद्देश्यले उनले स्कुलहरुको सुरुवात गरेका हुन् । भारतको डिएभी विद्यालय अभियानले सनातन धर्ममा भएका सकारात्मक पक्ष र पूर्वीय वैदिक दर्शनलाई संरक्षण गर्दै पुस्तान्तरण गर्ने काम गरेको र सोही अभियानसँग जोडिएर अगाडि बढ्नेगरि केडियाले पनि नेपालमा विद्यालय खोल्ने अभियानको सुरुवात गरेको उप–प्रधानाध्यापक खनालले बताए । सन् १९९३ मा काठमाडौंको कालिमाटीमा १२ जना विद्यार्थीलाई भर्ना गरेर डीएभी सुशील केडिया विश्व भारती स्कुलको सुरु भयो । त्यसको तीन वर्षपछि ललितपुरको झम्सीखेलमा आधुनिक भौतिक पूर्वाधार संरचनासहित डिएभी स्थानान्तरण भयो । उप-प्रधानाध्यापक रामचन्द्र खनाल स्कुलको नाम विभिन्न अर्थ दिने धेरै शब्दहरु जोडेर बनाइएको छ । यो विषयमा पनि धेरैले धेरै कोणबाट अर्थ लगाउने गरेको तर यसको पछाडि दार्शनिक तथा वैचारिक विषय रहेको खनाल बताउँछन् । ‘पूर्वको वैदिक ज्ञानले विश्वलाई जीवन दर्शन सम्बन्धी एउटा दृष्टिकोण दिएको छ, एङ्लो भनेपछि आजको दिनमा पाश्चात्य जगतले जुन उपलब्धि हासिल गरेको छ, त्यसलाई पनि हामीले सँगै लिएर जानुपर्छ’, खनालले भने, ‘त्यही दर्शनका आधारमा दयानन्द एङ्लो वैदिक रहन गएको हो ।’ स्कुल केडियाको स्वर्गीय छोराको स्मृतिमा खोलिएको हुनाले सुशील केडिया र विश्व भनेको संसार र भारती भनेको सरस्वतीको एउटा नाम रहेको उनले प्रस्ट पारे । केडियाले नेपालका डीएभी केडिया विश्व भारती सबैै जिल्लामा स्कुल खोल्ने अभियानको सुरुवात गर्ने तयारी गरे । त्यसको उनले एउटा छाता संस्था पनि निर्माण गरे । उनले नेपालका विभिन्न जिल्लामा डीएभीसँग जोडिएका विराटनगर, विरगञ्ज, हरिऔन, सर्लाही र काठमाडौंमा चारवटा विद्यालय खोले । तर, अभियानले पूर्ण साकार रुप लिन नपाउँदै उनको मृत्यु हुन पुग्यो । डिएभी अभियानसँग जोडेर छोराको स्मृतिमा केडियाले खोलेको स्कुल अहिले देशकै एउटा प्रतिष्ठित एवं आदर्श स्कुल बन्न सफल भएको छ । डीएभीमा अहिले किन्डर गार्डेन तहदेखि स्नातकोत्तरसम्मको पढाइ हुने गर्छ, जहाँ ७ हजार भन्दा धेरै विद्यार्थीहरुले पढ्छन् । जसमध्ये १० कक्षासम्म मात्रै ३ हजार विद्यार्थी छन् । सिबिएसई, राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ र १२, स्नातक र स्नातकोत्तर तहमा गरेर ७ हजार भन्दा धेरै विद्यार्थी भएको खनाल बताउँछन् । काठमाडौं उपत्यकाभित्र साना ठुला गरेर तीन हजार विद्यालयहरु छन् । उप–प्रधानाध्यापक खनालका अनुसार विशेष गरी विद्यालय तहमा डिएभीले यी सयौं विद्यालयहरुमध्ये प्रिथक र विशिष्ट पन बोकेको छ, त्यसैका कारण हजारौं विद्यार्थीहरुको आकर्षण डिएभिप्रति छ । डिएभी यस्तो स्कुल हो, जहाँ नेपाल सरकारको एसईई बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड र सिबिएसई बोर्डको शिक्षा विद्यार्थीले रोजेर पढ्न पाउँछन् । नेपाली पाठ्यक्रम र भारतीय पाठ्यक्रमका आ–आफ्नै विशेषता छन । संख्यात्मक रुपमा नेपाली पाठ्यक्रमको शैक्षिक कार्यक्रममा भन्दा भारतीय शैक्षिक कार्यक्रममा केही कम विद्यार्थीले पढ्ने गर्छन् । अध्ययन प्रव्रिmयामा भने सिबिएसई कार्यक्रममा विद्यार्थीहरुलाई सहज र विशिष्ट भएको खनालको भनाइ छ । ‘सिबिएसईको कार्यक्रममा विद्यार्थीको क्षमता अनुसारको सामग्री राखिएको छ, नेपाली पाठ्यक्रममा विषयवस्तु बढी छ, जस्तो सिबिएसईमा विद्यार्थीले ५ वटा विषय पढे पुग्छ भने नेपाली पाठ्यक्रममा ७ वटा विषय पढ्नुपर्छ’, उनले भने, ‘तर, नेपाली पाठ्यक्रम राम्रोसँग पढ्न सक्यो भने विद्यार्थीले भविष्यमा धेरै राम्रो गर्न सक्छन् ।’ अनिवार्य संस्कृत शिक्षा स्कुलले भाषा अध्ययनलाई विशेष जोड दिएको खनालको भनाइ छ । पछिल्लो समयमा अधिकांश सरकारी विद्यालयले हटाएको र निजी विद्यालयले मतलब नै नगर्ने संस्कृत भाषालाई डिएभी स्कुलले प्राथमिकताका साथ विद्यार्थीलाई पढाउने गरेको छ । कक्षा ५ देखि ८ सम्मको अध्ययनमा विद्यार्थीलाई संस्कृत भाषा पढाउने गरिएको छ । जसको लागि स्कुलले विशेष कक्षाको व्यवस्था गरेर सो भाषा सिक्ने व्यवस्था गरेको खनालको भनाइ छ । संस्कृत भाषालाई नेपाली र हिन्दी लगायत धेरै भाषाहरुको जननी भाषाको रुपमा मानिन्छ । संस्कृत भाषाको अध्ययन गर्दा विद्यार्थीको नेपाली तथा अंग्रेजी दुबै भाषा र अन्य विषयको अध्ययनमा समेत सघाउ पुर्याउने र विद्यार्थीको क्षमतामा वृद्धि हुने खनालले बताए । उनका अनुसार स्कुलले वैदिक परम्पराको संरक्षण गर्नको लागि पनि विद्यार्थीहरुमाझ विशेष अभ्यास गर्ने गरेको छ । जुन सामान्यतया अन्य स्कुलहरुले गर्दैनन् । स्कुलको शैक्षिक सत्रको सुरुवात, विशेष कार्यक्रमको सुरुवात र वा दैनिक शैक्षिक क्रियाकलापको शुरुवातमा वैदिक सांस्कृतिक परम्परालाई अवलम्बन गर्ने गर्छ । ‘हामीले हवन कार्यक्रम गरेर प्रत्येक शैक्षिक सत्रको सुरुवात गर्ने गर्छौं, त्यस्तै अन्य कुनैपनि मत्वपूर्ण कामको सुरुवात गर्नुपर्यो भने हामी हवन गर्छौं, कक्षाहरुको शुरुवात गर्दा वैदिक मन्त्रबाट सुरु गर्छौं’, उनले भने, ‘यसमा हामीले सबै विद्यार्थी र अभिभावकहरुलाई सहभागी गराउँछौं ।’ वैदिक ज्ञानलाई विद्यार्थीसम्म पुर्याउन साथै पुस्तान्तरण गर्नका लागि संस्कृत विषय पढाइएको उप–प्रधानाध्यापक खनालले बताए । साथै स्कुलले संस्कार सहितको शिक्षाको लागि जोड दिएको उनको भनाइ छ । ‘हामीले योगलाई पनि विषयको रुपमा राखेका छौं, सानो कक्षादेखि १२ कक्षासम्म नै हामीले योग शिक्षा दिने गरेका छौं’, उनले भने । स्कुलले दिनमा विद्यार्थीहरुलाई आठ प्रियड पढाउने गर्छ । जसमा नियमित कक्षाको अलावा, भाषा, योग, कला, खेलकुद, पुस्तकालय अध्ययन, गीतसङ्गीत, चित्रकला, लगायतका विषयहरुलाई विशेष ढंगले समेटिएको छ । स्कुलले बौद्ध महिला संघसँग समन्वय गरेर विद्यार्थीहरुलाई बौद्ध दर्शन र पालीको पनि ज्ञान दिने व्यवस्था मिलाएको छ । त्यसको लागि हप्तामा एक दिन सो भाषाको विषयमा विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको उप–प्रधानाध्यापक खनालले बताउँछन् । हप्ताको एक दिन विहानको प्रार्थना गर्दा विद्यार्थीलाई पालीमा प्रार्थना गर्न लगाउने व्यवस्था समेत मिलाइएको उनको भनाइ छ । बुद्ध दर्शन भनेको पनि पूर्वी दर्शनको विशेष आयाम भएकाले सो विषयलाई प्राथमिकता दिएको उनले बताए । स्कुलले कक्षा ६ देखि ९ सम्म विद्यार्थीलाई जर्मन, फ्रेन्च र चाइनिज भाषा अध्ययन गर्ने व्यवस्था मिलाएको छ । विद्यार्थीले यी तीन भाषामध्ये कुनै एक भाषा रोजेर पढ्नुपर्ने उप–प्रधानाध्यापक खनालले बताए । त्यसको लागि सोही भाषाका शिक्षकको व्यवस्था गरिएको उनी बताउँछन् । भाषाले नै मानिसलाई विचार दिने र धेरै विषयमा जानकारी दिने हुँदा स्कुलले भाषालाई विशेष जोड दिएको उनको तर्क छ । विद्यार्थीलाई अनुशासनमा राख्ने भन्ने विषय निकै महत्वको विषय भएको तर त्यसको लागि अनुशासनमा बस भनेर मात्रै अथवा दण्ड जरिवाना गरेर, विशेष अनुशासनका नियम बनाएर अनुशासनमा राख्न नसकिने खनालको भनाइ छ । त्यसको लागि विद्यार्थीहरुलाई विभिन्न मोटिभेसनल कार्यक्रमहरुमार्फत् अनुशासनको दायरामा ल्याउने अभ्यास स्कुलले गरेको उनले बताए । विद्यार्थीहरुलाई पारिवारिक तथा सामाजिक रुपमा अनुशासित बनाउन सो अनुसारको उत्प्रेरणामुखी कार्यक्रम गर्नेगर्छ । जसको लागि आमा, बुवा, विभिन्न क्षेत्रका परिचित व्यवसायी लगायतसँग विद्यार्थीहरुलाई साक्षात्कार गराउने गरिन्छ । अनुशासनमा बस्ने, नियमित विद्यालय आउने, आफ्नो काम समयमै गर्ने, जिम्मेवार, सहयोगी, विनयी, विद्यार्थीहरुलाई विभिन्न पुरस्कार र हौसला दिएर अनुशासित र मर्यादित बनाउने गरेको कुरा खनालले बताए । यसले कक्षामा एउटा विद्यार्थी मात्र होइन कक्षाको र समग्र विद्यालयकै अनुशासन अब्बल रहने गरेको खनालको अनुभव छ । विद्यार्थीहरुबीचमा अतिथिहरुले आफ्नो अनुभव बाँड्दा विद्यार्थीको ज्ञान बढ्ने उप–प्रधानाध्यापक खनालको भनाइ छ । ‘मि एन्ड माई प्यारेन्ट्स’, ‘मि एन्ड माई प्रोफेसन’, र ‘मेरो बुवा’ मेरी आमा विद्यार्थीलाई अनुभव बाँडनको लागि स्कुलका चर्चित कार्यक्रम हुन् । त्यस्तै स्कुलले वैदिक संस्कृतिको पक्षलाई संरक्षण गर्ने उद्देश्यले सनातनी चाडपर्वहरुलाई विशेष उत्सवका साथ मनाउने तालिका नै बनाएको छ । पठन संस्कृतिको लागि पनि स्कुलले विद्यार्थीहरुलाई विशेष कार्यक्रम बनाएर महिनाको एउटा स्कुलमा पढाइ हुने बाहेकका पुस्तक पढ्नैपर्ने नियम बनाएको छ । किताबहरु पढिसकेपछि सो विषयलाई सेयर, चर्चा परिचर्चा गर्ने र उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने व्यवस्था गरेको खनालले बताए । ‘अहिले धेरै अभिभावकहरुले मेरो छोराछोरीले मोबाइल हेयोर्, पढ्न मान्दैन भन्ने गुनासो गरेको सुनिन्छ, तर, हामीले एउटा किताब पढ्नैपर्ने बनाएको तालिकाले विद्यार्थीमा पठन संस्कृतिको विकास भएको छ’, उनले भने, ‘एक जना विद्यार्थीले वर्षमा २० वटा सम्म पुस्तक पढेको पाइएको छ ।’ यसले गर्दा सम्बन्धित भाषाको मात्र होइन समग्र विषयकै उपलब्धी राम्रो भएको खनालको दाबी छ । विद्यार्थीहरुमा कहिलेकाहीँ आउने समस्याको लागि स्कुलले काउन्सिल टिम बनाएको छ । यदि कुनै विद्यार्थीमा धेरै थोरै समस्या देखिएमा सो टिमले सम्बन्धित विद्यार्थी र अभिभावकलाई काउन्सिल गर्ने गरेको उनले बताए । भाषाहरुको साथै अतिरिक्त क्रियाकलाप संगित, खेलकुद, योगा, आइटी लगायतका क्रियाकलापहरुको लागि छुट्टै जनशक्तिको व्यवस्था गरेको छ । साथै क्रियाकलापको अनुसन्धान र कार्यान्वनको लागि पनि स्कुलले छुट्टै जनशक्तिको व्यवस्था गरेर अनुसन्धानका आधारमा वार्षिक रुपमा कार्यक्रम थपघट गर्दै लैजाने व्यवस्था गरेको खनालले बताए । साथै उनका अनुसार पछिल्लो समयमा विकास भएको सूचना तथा प्रविधिलाई पनि स्कुलले उत्तिकै प्राथमिकता दिएर पढाउने गरेको छ । अन्य स्कुलहरुमा जस्तै आइटी लाइब्रेरी र कम्प्युटर कक्षा डिएभीमा पनि छ । त्यसबाहेक डिएभीले कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई अनिवार्य पेनलेस विधिबाट पढाउने अभ्यास गरेको छ । जसको लागि सो स्कुलमा पढ्ने सबै विद्यार्थीले हप्ताको एकदिन अनिवार्य ल्यापटप लिएर आउनुपर्ने हुन्छ र सो दिन पूर्ण प्राविधिक माध्यमबाट पढाउने खनालले बताए । सिबिएसई कार्यक्रममा अब्बल नेपालमा १६ वटा स्कुलहरुले सिबिएसई कार्यक्रम सञ्चालन गर्ने गर्छन् । त्यसमध्ये कक्षा १० र १२ का सधैंका परीक्षामा डिएभी पहिलो हुने गरेको छ । खनालका अनुसार भारतकै सिबिएसई बोर्डमा पनि डिएभीको अवस्था उत्कृष्ट रहेको उनले बताए । चालु शैक्षिक सत्रबाट सिबिएसईमा ९९ प्रतिशत ल्याउने गरी स्कुलले नयाँ कार्ययोजना सहित अगाडि बढाएको उनको भनाइ छ । अहिले स्कुलको अध्यक्ष अनिल केडिया र प्रधानाध्यापक डा. भुवनेश्वरी राव रहेकी छन् । विद्यालयले एकसय ९० भन्दा बढी शिक्षक र कर्मचारी समेत गरेर २५० भन्दा धेरैलाई रोजगार समेत दिएको छ । स्कुल भने निजी ट्रस्टको विधिमा सञ्चालन भइरहेको छ । तल्लो तहको कक्षादेखि कक्षा १२ सम्मको मासिक ट्युशन शुल्क १० हजारको हाराहारीमा मात्रै रहेको छ । स्कुलको एकेडेमिक शुल्कबाट भएको आम्दानीलाई ट्रस्ट सञ्चालक पक्षले अन्यत्र लगानी नगरेर सोही स्कुलको स्तरोन्नतिका लागि खर्च गरेको खनालले बताए । अभिभावकसँग लिएको शुल्कको तुलनामा गुणस्तर बढी दिएको कारण स्कुलमा विद्यार्थीको आकर्षण बढी भएको उनले बताए । उनका अनुसार डिएभीबाट अध्ययन गरेका विद्यार्थीहरु अमेरिकाको नासा, माइक्रोसफ्टदेखि विभिन्न प्रतिष्ठित उद्यम क्षेत्रमा पुगेका छन् । त्यतिमात्र होइन प्रविधिक र व्यवसायिक क्षेत्रमा यहाँ बाट पढेर उत्तीर्ण गरेका विद्यार्थीले राम्रो गरेको कुरा खनालले उल्लेख गरे ।
कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै
कर्णाली । कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ । विसं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या १६ लाख लाख ९४ हजार आठ सय ८९ रहेको छ । सरकारी तथ्याङ्कअनुसार अधिकांश नागरिक शुद्ध खानेपानीको पहुँचबाहिर रहेका छन् । कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयअन्तर्गको जलस्रोत महाशाखाका सिनियर डिजिजनल इन्जिनियर गोपाल शर्माका अनुसार कर्णालीमा ८६ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा पुगेको बताए । प्रदेशमा अझै छ प्रतिशत जनसङ्ख्या आधारभूत खानेपानीको पहुँचमा छैन । शर्माले भने, ‘प्रदेशका धेरै नागरिक खुला पोखरी, खोला, खाल्सा र नदीको दूषित पानी पिउन बाध्य छन् । प्रदेशका ७९ वटै स्थानीय तहमा आधारभूतस्तरको खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएर काम भइरहेको छ ।’ शर्माका अनुसार कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० मा खानेपानी तथा सरसफाइमा रु एक अर्ब ४० करोड विनियोजन गरेको छ । कर्णालीका १० वटै जिल्लामा ल्याब स्थापना गरी पानी परीक्षणसमेत भइरहेको छ । अहिले प्रदेश सरकार तथा स्थानीय तहले खानेपानीका नयाँ आयोजना सञ्चालन गरिरहेको र खानेपानीको समस्या रहेको ठाउँमा आधारभूत सुविधा पुर्याउन काम अघि बढाइएको शर्माले बताए । रासस
चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन
काठमाडौं । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुन्, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन् । ‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा गम्भीर अन्यभन्दा फरक देखिन्छन् । ‘जात्रा’ शृङ्खलामार्फत अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव सहजै स्वीकारेका छन् । चरित्र निर्माण गरेका निर्देशक दीपेन्द्रकुमार खनालको आग्रहमा उनले त्यो भूमिका गरेनन् । ‘दर्शकले विश्वास गर्नुहुन्न की ? साजसज्जा गर्नेले राम्रो गर्न सक्नुभएन भने ? जस्ता प्रश्न उठेपछि मैले शङ्खेको भूमिका निर्वाह गरेको थिए,’ अभिनेता कार्कीले भने । यद्यपि निर्माण भएको उक्त चरित्रलाई ‘फूलबारी’ मा प्रस्तुत गरे । अवकाश प्राप्त गरेको शिक्षकको भूमिकासँगै उनले उमेरमा आफूभन्दा अग्रज कलाकार दयाहाङ राईको काकाको भूमिका निर्वाह गरे । चलचित्र बन्ने समयमा पात्रलाई निर्वाह गर्ने भूमिकाबारे विश्वास नभए पनि प्रदर्शनपश्चात् स्वाभाविक देखियो । ‘चरित्र बाँच्ने कोसिस गर्छु । त्यहाँ म पात्र हुँ । त्यसैले मैले सहजै भूमिका स्वीकार्ने गर्छु’, अभिनेता कार्कीले भने, ‘प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन सकेको छैन । दर्शक पनि विस्तारै कलाकारभन्दा पात्रसँग जोडिन थाल्नुभएको छ ।’ उनले प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रसाद २’ मा गाउँले बाबुरामको भूमिका निर्वाह गरेका छन् । ‘प्रसाद’ कै दोस्रो शृङ्खला भए पनि यसको कथावस्तु फरक रहेको कार्कीले जानकरी दिए । ‘नामको विश्वास धान्ने काम गरेका छौँ । पहिलो शृङ्खला मन पराउनु भएकोलाई निराश बनाउने छैनौँ’, उनले भने । जातीय विभेद र महिलामाथि हुने दुव्र्यवहारको घटनामा आधारित चलचित्रलाई सुशील पौडेलले लेखेका हुन् । सुदर्शन थापाले निर्देशन गरेका चलचित्रमा केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहेको छ । रासस
महानगरले १० वर्षको लागि भाडामा लियो काठमाडौं प्लाजा, सबै सेवा एकै ठाउँबाट
काठमाडौं । काठमाडौं महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौं प्लाजासँग सम्झौता गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । महानगरले नेपाल ट्रष्टसँग काठमाडौं प्लाजा १० वर्ष भाडामा लिन सम्झौता गरेको हो । महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल दश स्थानबाट सेवा प्रवाह गरिरहेका छन् । यसरी धेरै स्थानबाट सेवा दिनुपर्दा कामपालाई समस्या भएको र नागरिकले पनि सास्ती खेप्नुपरेको भन्दै काठमाडौं प्लाजासँग सम्झाैता गरेकाे बताए । विसं २०७२ को भूकम्प जानुअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धारामा छ भने वातावरण विभाग टेकुमा, राजस्व विभाग बबरमहल, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रियसभा गृहमा गरी विभिन्न दश स्थानबाट सेवा प्रवाह गरिरहेको छ ।
डोटीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
डोटी । जिल्ला अस्पताल डोटीले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको छ । अस्पतालमा सुत्केरी हुन नसकेर जिल्ला बाहिर लैजानस परेमा एम्बुलेन्स सेवा निःशुल्क गरेको जिल्ला अस्पतालका अध्यक्ष धनबहादुर नेपालीले बताए । ‘आयस्तर कम भएका, सुत्केरी हुन नसकेर उच्च जोखिममा भएकालाई राहतस्वरुप अस्पतालले एम्बुलेन्स सेवा निःशुल्क गरेको हो’, उनले भने । स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी ढङ्गले प्रवाह गर्न आवश्यक दोहोरो प्रेषण प्रणालीको कार्यान्वयन भइरहेको उनले बताए । जिल्लाका जुनसुकै ठाउँबाट भए पनि स्वास्थ्य संस्था, स्थानीय तह वा स्वयं व्यक्तिको आग्रहमा जिल्ला अस्पतालकै एम्बुलेन्सले लिएर आउने व्यवस्था गरिएको छ । अस्पतालमा सुत्केरी हुनेलाई यातायातस्वरुप रु दुई हजार दुई सय दिने व्यवस्था छ । एम्बुलेन्स सेवा निःशुल्क गरेपछि ग्रामीण भेगका गर्भवती तथा सुत्केरीलाई सहज भएको बडीकेदार गाउँपालिका–२ की राधा चन्दले बताए । आर्थिक अवस्था कमजोर भएका कतिपय सुत्केरीले बाटोमा तथा जोखिम मोलेर घरमै बच्चा जन्माउने गरेका थिए । यसलाई मध्यनजर गरेर जिल्ला अस्पतालले सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरेको हो । जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट निराजन श्रेष्ठले ग्रामीण भेगका स्वास्थ्य संस्थामा सुत्केरी हुन नसक्दा जिल्ला अस्पताल ल्याउनुपर्ने महिलालाई उक्त कार्यक्रमबाट राहत पुग्ने बताए । रासस
काभ्रेपलाञ्चोकमा नागरिकताभन्दा राहदानी बनाउने बढी
काभ्रेपलाञ्चोकमा । काभ्रेपलाञ्चोकमा नागरिकभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन महिनाको तथ्याङ्कअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको सङ्ख्या बढी देखिएको हो । दिनहुँ राहदानी बनाउने सेवाग्राहीको सङ्ख्या धेरै रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार गत फागुनमा सात सय २८ जनाले नागरिकता लिएका थिए भने दुई हजार दुई सय ८९ जनाले राहदानी लिएका थिए । यसैगरी राष्ट्रिय परिचयपत्रका लागि करिब दुई हजार चार सय जनाले फोटो खिचाएका छन् । यस्तै गत माघमा राहदानी लिनेको सङ्ख्या एक हजार चार सय ७९ जना रहेकामा नागरिकता बनाउने एक हजार ९० जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी प्रतिलिपि नागरिकता छ सय १३ जनाले र राष्ट्रिय परिचयपत्र दुई सय हजार ८१ जनाले लिएका छन् । गत पुसमा सात सय ६० जनाले नागरिकता बनाएकामा राहदानी लिने एक हजार तीन सय ७१ जना छन् । राष्ट्रिय परिचय पत्रका लागि दुई हजार १६ जनाले फोटो खिचाएका छन । जिल्ला प्रशासनले टाइम कार्ड र टोकनको सुरुआत गरेसँगै सेवा प्राप्तिमा सहज भएको सेवाग्राहीले बताएका छन् । बिदाका दिनसमेत कार्यालयभित्र अनलाइन फारम भरेर राहदानी वितरण गरिरहेको प्रजिअ पौडलले बताए । रासस
बिहीबार १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य एक दिने १२ सय रुपैयाँले बढेको छ । बुधबार तोलाको १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर तोलाको १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । तेजावी सुनको पनि मूल्य घटेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि तोलाको २५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य बढेर तोलाको १ हजार ३६० रुपैयाँ कायम भएको छ ।