विकासन्युज

४ कम्पनीको साधारणसभा आज हुँदै, लाभांश र मर्जर मुख्य एजेण्डा

काठमाडौं । तीन लघुवित्तसहित ४ वटा संस्थाको बार्षिक साधारणसभा शुक्रबार हुने भएको छ । छिमेक लघुवित्त, साना किसान लघुवित्त, आरएमडिसी लघुवित्त र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको वार्षिक साधारणसभा आज चैत्र १० गते बस्ने भएको हो । छिमेक लघुवित्तको २१ औं वार्षिक साधारणसभा हेटौंडा–४ मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद गरी कूल २५.२६ प्रतिशत लाभांश पारित गर्नेछ । लघुवित्तको सभाले अधिकृत पुँजी २ अर्ब ५० करोडबाट वृद्धि गरी ३ अर्ब ७५ करोड रुपैयाँ पुर्याउनेछ । साथै, बोनस सेयर वितरणपश्चात् चुक्ता पूँजी २ अर्ब ८३ करोड ५४ लाख २ हजार रुपैयाँ पुर्याउने प्रस्तावसमेत पारित गर्नेछ । यस्तै, साना किसान लघुवित्तको २४ औँ वार्षिक साधारणसभा कृषि विकास बैंक केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र १.३६ प्रतिशत नगद गरी कूल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, आरएमडिसी लघुवित्तको २४ औँ बार्षिक साधारणसभा अमृत भोग कालिकास्थान, काठमांडौमा बिहान ११ बजेदेखि सुरु हुनेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र १.६ प्रतिशत नगद गरी कूल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साना किसाना लघुवित्त र आरएमडिसी लघुवित्तको सभाले एकआपसमा मर्ज हुने सम्बन्धी प्रस्तावहरु प्नि पारित गर्नेछन् । आरएमडिसी लघुवित्तको १ कित्ता सेयर बराबर साना किसान लघुवित्तको ०.८७ कित्ता (१ः०.८७)को स्वाप रेसियोमा मर्ज हुनेछन् । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनको साधारण सभा त्रिभुवन आर्मी अफिर्स क्लब भद्रकाली काठमाडौंमा दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस डिम्याट खातामा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । बैंकको गत पुस २५ गते सम्पन्न १४ औां वार्षिक साधारण सभाले पारित गरेको १३.३० प्रतिशत बोनस लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो । बैंकले बुक क्लोज गरेको अघिल्लो दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, बैंकले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

सडकमा फोहर फाल्ले २ जनालाई १२ हजार जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फालेको भन्दै २ जनालाई कारबाहीस्वरुप १२ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । कामपाले कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र कामपाको ९ नं वडाका सानोकान्छा भारतीलाई सार्वजनिकस्थलमा फोहर फालेको भन्दै जरिवाना तिराएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार जरिवानास्वरुप कामपाले मण्डललाई २ हजार र भारतीलाई १० हजार रुपैयाँ जरिवाना तिराएको हो । कामपाले भारतीलाई घर निर्माण गर्दा उत्पादित फोहरमैला सडकमा फालेको भन्दै जरिवाना गरेको हो । त्यस्तै मण्डलले सार्वजनिक स्थानमा फोहर फालेका कारण उनलाई जरिवाना गराइएको हो । कामपाले पछिल्लो समय सडकपेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम नियमित गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै कामपाले पछिल्लो समय यस्ता सामग्री सम्बन्धित व्यक्तिलाई हटाउन आग्रह पनि गरिरहेको छ । कामपाको आग्रह अटेरी गरे अनुगमन गरी जरिवाना गर्ने गरेको छ । फोहरलाई तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्नका लागि कामपाले हरेक दिन बिहान माइकिङ गर्ने गरेको छ । नागरिकले सडकमा यत्रतत्र फोहर फाल्न थालेपछि कामपाले नफाल्नका लागि आग्रह गरी अटेर गर्नेलाई ५ सयदेखि ५ हजारसम्म जरिवानासमेत तिराउने गरेको छ । वातावरण विभागका अनुसार हरेक दिन बिहान फोहरको व्यवस्थापन गर्नका लागि कामपाको फोहर सङ्कलन गर्ने गाडी आउने गर्दछ । उक्त गाडीमा नै फोहर राख्नका लागि आग्रह गर्दै आएको छ । महानगरको आग्रहलाई नागरिकले बेवास्ता गरेको भन्दै पछिल्लो समय कामपाले नियमितरूपमा अनुगमन गरी जरिवाना तिराउन थालेको छ । उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि हरेक दिन २ सय गाडी फोहर बोकर बञ्चरेडाँडामा जाने गर्दछन् । वर्षाको समय सुरु नभएकाले अहिले फोहरको अन्तिम व्यवस्थापन गर्नका लागि कुनै अवरोध नभएको बताइएको छ । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलवासीले भने यसअघिको सम्झौता पालना नभए पुनः फोहर व्यवस्थापनमा अवरोध गर्ने चेतावनी दिएका छन् ।

इन्साइडर ट्रेडिङको आरोपमा न्यौपानेविरुद्ध मुद्दा दायर, ३.२३ करोड बिगो माग

काठमाडौं । जिल्ला अदालत काठमाडौँमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध ३ करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ । धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ)को अभियोगमा न्यौपानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उक्त मुद्दा दायर गरेको हो । नेपाल धितोपत्र बोर्डको जाहेरीपछि प्रहरीले अनुसन्धान गरेको थियो । रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा न्यौपानेले सोही कम्पनीको सेयर कारोबार गरेको र त्यसबाट ३ करोड २३ लाख अनधिकृत लाभ लिएको देखिएको अभियोगपत्रमा छ । न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैधरूपमा सेयर कारोबार गरेको ठहर गर्दै नेपाल धितोपत्र बोर्डले २०७९ मङ्सिर २४ गते कारबाही गर्ने निर्णय गरेको थियो । सोहीअनुसार अनुसन्धानपछि न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको हो ।

एटीसीसँग अश्लिल शब्द बोल्ने ३ जना पाइलट निलम्वित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग अश्लिल शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौँ–लुक्ला उडानका क्रममा टावरसँग अश्लिल शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलटलाई ग्राउन्डेड गरिएको हो । ‘यही २१, मार्च २०२३ मा काठमाडौँबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले मिस कम्युनिकेशन गरेको हुनाले निजलाई ग्राउण्डेड गरिएकोछ,’ प्रवक्ता निरौलाले भने । त्यसैगरी उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने थप दुई हेलिकप्टर कम्पनीका पाइलटलाई ग्राउण्डेड गरिएको छ । एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकप्टर उडाएका थिए । यी तीनै जना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकप्टर उडाउन पाउने छैनन् ।

विलासी जीवन र फजुल खर्चका लागि कर्जा लिनुहुँदैन : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विलासी जीवनमा खर्च गर्नका लागि कर्जा लिन नहुने बताएको छ । ग्लोबल मोनी विक २०२३ सम्बन्धी सचेतना दिँदै राष्ट्र बैंकले विलासी जीवन तथा अनवाश्यक खर्च गर्नका लागि कर्जा लिन नहुने बताएको हो । साथै राष्ट्र बैंकले कर्जाको प्रयोगबाट आम्दानी सिर्जना गर्नुपर्ने बताएको छ । ‘विलासी जीवन तथा फजुल खर्चका लागि कर्जा लिनुहुँदैन, कर्जाको प्रयोगले आम्दानी सिर्जना गर्नुपर्दछ,’ राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकका अनुसार कर्जाको प्रयोग कसरी गर्ने र कर्जा कसरी तिर्ने भन्ने स्पष्ट योजना बनाएर मात्र कर्जा लिनुपर्दछ । राष्ट्र बैंकले गत सोमबारदेखि ग्लोबल मोनी विक २०२३ साताव्यापी रुपमा मनाइरहेको छ । हरेक वर्ष मार्च महिनामा साताव्यापी रुपमा मनाइने ग्लोबल मनी विकको यो ११ औं संस्करण हो । राष्ट्र बैंकले यसपटक ‘प्लान योर मनी, प्लान्ट योर फ्यूचर’ भन्ने मूल नाराका साथ यसपटक ग्लोबल मनी विक मनाइरहेको छ ।

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने क्रममा सिङ्गो खोला नै फर्काएर पानी प्रयोग गरिएको पाइएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावरले जलविद्युत् आयोजनाका लागि राजापानीकै बसुवास्थित साप्सुखोलामा बाँध बनाएर खोलामा पानी नै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन् । कम्तीमा १० प्रतिशत पानी खोलामा छाड्नुपर्ने प्रावधान भए पनि सबै पानी ड्यामतर्फ लगेको पाइएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँले बताए । ‘आयोजनाको कामको अनुमति लिने बेला खोलामा जति पानी छोड्नुपर्छ भनेर निर्देशन दिइएको थियो वा सहमति भएको थियो, त्यसअनुसार पानी छाड्नुपर्छ, खोलामा जति पानी छोड्ने सम्झौता थियो, त्यही बराबरको पानी छाड्नुपर्छ । साप्सुखोलामा त्यस्तो देखिन । यसले पर्यावरणमा असर पुगेको छ,’ उनले भने । वि.सं. २०७८ मङ्सिर १४ गतेदेखि परीक्षण उत्पादन सुरू गरिएको ६.६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् वि.सं. २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । हिउँद याममा खोलामा पानीको बहाव घटेका कारण आयोजनाको प्रवद्र्धक कम्पनीले खोलै फर्काएको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए । राजापानीको बेलडाँडास्थित विद्युत् गृहबाट उत्पादित विद्युत् २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सब–स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । १० स्थानीय तह रहेको जिल्लाबाट यो (साप्सुखोला जलविद्युत् आयोजना) सँगै तीन जलविद्युत् आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजनाको डिसेन्डर, नहर र जलाशय वरपर तारबार लगाइएको छैन । जसले गर्दा मान्छे तथा जनावर सहजै जान सक्ने र जलाशयमा डुब्ने खतरा भएकाले धराप थापे जस्तो बनेको स्थानीय बासिन्दा बताएका छन् । स्थानीय बासिन्दाको गुनासो आएपछि आयोजनास्थलको अनुगमनमा पुगेका प्रजिअ सेढाईले प्रवद्र्धक कम्पनीका आयोजना प्रमुख प्रदीप दाहाललाई फोन गरेर तत्काल सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरी घेराबार लगाउन निर्देशन दिएको जानकारी दिए । ‘ड्यामभन्दा मुनी खोलामा कमिला वारपार गर्ने अवस्था देखिएको छ, आयोजनास्थलबाटै फोन गरेर सम्झौताअनुसार पानी छाड्न र १५ दिनभित्र ड्याम वरिपरी घेराबार लगाउन आयोजना प्रमुखलाई निर्देशन दिएको छु, प्रवद्र्धक कम्पनीको ठूलो लापरबाही देखिएकाले प्रशासनको तर्फबाट औपचारिक रुपमा पत्रसमेत लेख्ने तयारी गरिएको छ,’ उनले भने । कम्पनीका आयोजना प्रमुख दाहालले कमजोरी स्वीकार्दै अधुरो कामलाई चाँडै पूर्णता दिने प्रतिबद्धता जनाए । ‘ड्याम वरिपरी घेराबार लगाउने काम कम्पनीले अनिवार्य गर्नैपर्छ । विविध कारण ढिलो भएको छ, सिडियो साबसँग पनि कुरा भएको छ, अबको १५ दिनभित्र घेराबार लगाउने काम सम्पन्न गर्छौँ,’ उनले भने । करिब १ अर्ब ५० करोड रुपैयाँ लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा खोलाबाट ल्याइएको पानीलाई बेलडाँडाबाट ११० मिटर पेनस्टकमार्फत प्रतिसेकेन्ड ७ हजार लिटर पानी खसाएर विद्युत् उत्पादन गरिएको हो ।

सानिमा रिलायन्सको एकीकृत कारोबार सुरु, सिनर्जी ल्याएर प्रतिफल बढाउने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एकीकृत कारोबार सुुरु भएको छ । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । दुई कम्पनीबीच एकीकृत कारोबारसँगै अब थप सिनर्जी उत्पन्न गरेर प्रतिफल बढाउने कम्पनीको दाबी छ । यी दुई कम्पनीबीच गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । त्यसको ८ महिनापछि एकीकृत कारोबार गर्न सफल भएका हुन् । प्राधिकरणले गत फागुन १८ गते दुई कम्पनीलाई स्वीकृति दिएको थियो । दुई कम्पनी बराबर हैसियत अर्थात् सेयर अनुपात १ः१ स्वाप रेसियोमा एकीकृत कारोबार गरेका हुन् । मर्जरपश्चात् बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । साथै, अब कम्पनीको जीवन बीमा कोष ८ अर्ब ३४ करोड रुपैयाँ, जगेडा कोष ७७ करोड ५९ लाख रुपैयाँ र सेयरधनी कोष ४ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ । साथै, मर्जर पश्चात् कम्पनीको खुद नाफा २८ करोड ३० लाख रुपैयाँ र लगानी १३ अर्ब ५० करोड रुपैयाँ पुगेको जनाएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे बनेका छन् भने कम्पनीको सञ्चालक समिति अध्यक्षमा तारा चन्द केडिया नियुक्त भएका छन् ।