विकासन्युज

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

तनहुँ। तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । बैरेनीमा आयोजनाअन्तर्गत प्रथम चरणको कार्यान्वयन सुरुआत गरिएको हो । नगर प्रमुख वैकुण्ठ न्यौपानेले भूमि पूजन गरी कार्यान्वयन चरणको प्रारम्भ गरेका हुन्। बैरेनी क्षेत्रको करिब एक हजार पाँच सय रोपनी क्षेत्रफललाई लक्षित गरी आयोजना अघि बढाइए पनि प्रथम चरणमा करिब दुई सय ६१ रोपनी क्षेत्रफलमा आयोजना कार्यान्वयन गरिनेछ । आयोजनाको मस्यौदा नेपाल सरकारबाट स्वीकृत गराई २०७८ फागुन २ गते राजपत्रमा प्रकाशित भइसकेको छ । व्यास नगरपालिका उपभोक्ताको लगानी र नगर विकास कोषको ऋण सहयोगमा आयोजना सम्पन्न गरिने नगर प्रमुख न्यौपानेले जानकारी र्दिए । आयोजनाले बैरेनीवासीको अवस्थामा परिवर्तन ल्याउने उनको भनाइ छ । ‘आयोजनाले बैरेनीवासीलाई समृद्ध बताउँछ, आर्थिकरुपमा सबल बनाउँछ’, न्यौपानेले भने । दमौली बजारमा बसोबासका लागि ठाउँ अभाव भन्दै नगर प्रमुख न्यौपानेले अबको गन्तव्य बैरेनी बन्ने बताए । ‘यसले व्यवस्थित सहरको रुप लिनेछ’, उनले भने, ‘सबै एकताबद्ध भएर सहकार्य र हातेमालो गरी आयोजना सफल बनाऔँ ।’ प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आयोजनाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास व्यक्तगरे । भूकम्प प्रविधि राष्ट्रिय समाजका अध्यक्ष डा. आमोदमणि दीक्षित र विज्ञ सूर्यभक्त सांघाक्षेले आयोजना बैरेनीवासीको हीतमा हुने बताए । आयोजनाअन्तर्गत प्रथम चरणमा दुई सय ६१ रोपनी क्षेत्रफल समेट्ने एकाइ प्रमुख वरिष्ठ इन्जिनियर रविन्द्र मूलले जानकारी दिए । प्रथम चरणमा दुई सय ५० उपभोक्ता लाभान्वित हुनेछन् । प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा रिटेनिङ वाल निर्माण गरिनेछ । उक्त कार्यका लागि रु ८५ लाख तथा दोस्रो चरणमा बाटो, ढल, कलभर्ट तथा अन्य संरचना निर्माणका लागि १२ करोड १५ लाख विनीयोजन गरिएको एकाइ प्रमुख मुलले जानकारी दिए। नगर विकास कोषसँग भएको सम्झौताबमोजिम कूल आयोजना खर्चको ७० प्रतिशत रकम नगर विकास कोषबाट ऋण प्रवाह हुने तथा बाँकी ३० प्रतिशत रकम व्यास नगरपालिले बेहोर्ने छ भने सो ऋण जग्गाधनीले पूर्वाधार निर्माणका लागि गरेको योगदानबाट छुट्याइएको ‘सेल्स प्लट’ बिक्री गरी चुक्ता गरिने बताइएको छ । रासस

पोखरा महानगरमा जिम्मेवारी बाँडफाँट

पोखरा। पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरिएको छ । लेखा समितिका कामलाई प्रभावकारी बनाउन समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको संयोजक झपट रानाभाटले जानकारी दिए। उनका अनुसार महानगरको बेरुजुको अभिलेख राख्ने र फछ्र्योटका लागि ताकेता गर्न पहल गर्ने एवं बेरुजु न्यूनीकरण गर्न लेखा समिति सदस्य बलराम पौडेलको संयोजकत्वमा विष्णुमणि बराल र रामजी पौडेल सदस्य रहेको समिति गठन गरिएको छ । लेखा अनुगमन, मितव्ययिता एवं पारर्दशिता वृद्धि गर्न आवश्यक पहल गर्न सदस्य बरालको संयोजकत्वमा पौडेल सदस्य रहेको समिति बनाइएको छ । राजस्व, सुशासन वृद्धि एवं सम्पत्तिको संरक्षणमा आवश्यक सहजीकरण गर्न रामजी पौडेलको संयोजकत्वमा विष्णुमणि बराल सदस्य रहेको समिति बनाइएको छ भने शिक्षा, सामाजिक, स्वास्थ्य, कृषि, पशु आर्थिक विकासतर्फको बजेट व्यवस्थापन, खर्च एवं लेखाको अनुगमन र सहजीकरण गर्न दुर्गादेवी थापा केसीको संयोजकत्वमा बलराम पौडेल सदस्य रहेको समिति बनाइएको छ । भौतिक पूर्वाधार, घर नक्सा, एवं मापदण्ड, पर्यटन र वातावरणतर्फको आवश्यक अध्ययन गर्न बलराम पौडेलको संयोजकत्वमा दुर्गादेवी थापा केसी सदस्य रहेको समिति गठन गरिएको छ । रासस

मुगु केन्द्रबिन्दु भएर भूकम्प

मुगु । मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ ।

बुटवलमा पुर्जाविहीन जग्गाको सर्भे

बुटवल । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो । बुटवल–११ सिर्जनानगरमा सर्भेको सुरुआत गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लालपुर्जा प्राप्तिका लागि उपमहानगरपालिकाले भूमि आयोगसँग निरन्तर सहकार्य गरिरहेकाले बाँकी रहेका ब्लक पनि नापजाँचको प्रक्रियामा जाने बताए । उनले अहिले वडा नं २, ११ र १२ का जग्गाको नापजाँचको प्रक्रिया सुरु भएको र छिट्टै नै लालपुर्जा प्राप्तिको प्रक्रियामा अगाडि बढाउने बताए । बुटवल–११ का अध्यक्ष रामचन्द्र खनालले आफ्नो वडामा अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्न नापीका लागि कन्ट्रोल प्वाइन्टको निर्धारणको काम सुरु भएको जानकारी दिए । वडा नं २ का करिब तीन सय घरधुरी, वडा नं ११ का चार सय घरघडेरी र वडा नं १२ का एक सय २० घरधुरीको नापजाँच अगाडि बढाइएको बुटवल उपमहानगरपालिकाका भूउपयोग तथा भूमि व्यवस्थापन शाखाका प्रमुख विजयदेव भुर्तेलले जानकारी दिए । उनले डीजीपीएस सर्भे सम्पन्न भएपछि नापजाँचको काम गर्ने र भूमि आयोगमा सिफारिस गरेर पठाएपछि लालपुर्जा प्राप्तिको प्रक्रिया अगाडि बढ्ने बताए । सर्भेमा बुटवल उपमहानगरपालिकाका पाँच सर्भेक्षक खटिएका छन् । छिट्टै नै सर्भे पूरा गरी नापजाँचको काम थाल्ने बुटवल उपमहानगरपालिकाका सर्भेक्षक त्रिदेव बुढाथोकीले जानकारी दिए । रासस

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको पार्टीका कार्यकारिणी समिति सदस्य केशव झालले जानकारी दिए। उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने, बारा क्षेत्र नं २ मा उम्मेदवारी दिने तथा दुई मन्त्रालयसहित सम्मानजनकरुपमा सरकारमा सहभागी हुने निर्णयसमेत गरीएको उनले बताए। उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरिसकेको छ ।

सुपारी र कुखुराको अवैध आयात रोक्न माग

काठमाडाैं । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् । जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले खुकुलो सीमाको फाइदा उठाउँदै भारतबाट अवैध ढङ्गले भित्रिरहेको कुखुरा, मासु र अण्डा नरोक्ने हो भने स्वदेशी पोल्ट्री व्यवसाय बन्द हुने र फार्म सञ्चालक ऋण तिर्न नसक्ने बताए । उनका अनुसार झापाको एक सय ४४ किलोमिटर सीमा क्षेत्रबाट दैनिक चार हजार किलोभन्दा बढी मासु, जिउँदो कुखुरा र अण्डा अवैधरुपमा भित्रिरहेको छ । यसबाट वार्षिक ५० करोडभन्दा बढी रकम अनाधिकृत ढङ्गले विदेश गइरहेको छ । ‘दुई खर्बभन्दा बढी लगानी र कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान दिइरहेको पोल्ट्री व्यवसायबाट लाखौँले रोजगारी पाइरहेका छन्’, निरौलाले भने, ‘आत्मनिर्भर एउटा मात्र कृषि उद्योगको रुपमा रहेको यसलाई जोगाउन अवैध आयात कडाइका साथ रोक्न राज्यले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।’ मुलुकमै सबैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्लाको पहिचान बनाएको झापामा तेस्रो मुलुकबाट आयातित सुपारीका कारण स्वदेशी सुपारीले बजार र उचित मूल्य पाउन नसकेको व्यवसायीको गुनासो छ । सुपारी कृषक नीलकण्ठ तिवारीले विदेशबाट डलरमा किनेर भारतमा तस्करी गर्ने उद्देश्यले सुपारीको आयात गर्न कार्य तत्काल रोक्न माग गरे । विदेशी सुपारीका व्यापारीले स्थानीय किसानले उत्पादन गरेको सुपारीले निर्यातको कोटा हडपेकोे आरोप लगाए । ‘किसानले बाहुनडाँगीमा फलाएको स्थानीय सुपारी काँकरभिट्टामा बेच्न ल्याउँदा प्रहरीले पक्रिएर दुःख दिने गरेको छ’, उनले स्थानीय सुपारीको व्यापारमा सरकार नरम हुनुपर्ने माग गर्दै भने, ‘स्वदेशकै उत्पादनले पुग्दो छ भने किन विदेशबाट सुपारी आयात गर्ने ?’ नेपालमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको र सिङ्गापुरलगायतका तेस्रो मुलुकबाट २५ हजार मेट्रिक टन सुपारी आयात हुने गरेको उनले बताए । तेस्रो मुलुकबाट डलर खर्चेर हुने गरेको आयातलाई उहाँले ‘सुन दिएर घुन ल्याउने गरेको’ टिप्पणी गरे । कोशी प्रदेशका प्रदेशसभा सदस्य गोपाल तामाङले सीमित व्यापारीको सुपारी र मासुको धन्धाले गर्दा हजारौँ किसानको स्वदेशी उत्पादन बर्बाद हुने अवस्था आउन नदिन राज्यले बेलैमा सोच्नुपर्ने धारणा व्यक्त गरे । मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगीरथ राईले केही धनधावालले भारतबाट मरेका कुखुरासमेत लुकीछिपी ल्याएर सीमावर्ती बजारमा बेच्ने गरेको उल्लेख गर्दै यसबाट वैधानिक र स्वच्छ व्यवसाय गर्ने बदनाम भइरहेको बताए । खुला सीमाका कारण सीमित सुरक्षाकर्मीले मात्र सीमामा हुने अवैध धन्धा निमिट्यान्न बनाउन सम्भव नहुने प्रहरी उपरीक्षक दुर्गा रेग्मीको भनाइ छ । सचेत नागरिक, व्यवसायी र जनप्रतिनिधिबाट रचनात्मक सहयोगको खाँचो रहेको उहाँ बताउनुहुन्छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कुखुराको मासु, अण्डा र जिउँदो कुखुरा भारतबाट आयात गर्न प्रतिबन्ध रहेकाले त्यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताए । रासस

एक लघुवित्तले जम्मा गर्यो बोनस सेयर डिम्याट खातामा

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत पुस ३० गते सम्पन्न सातौं वार्षिक साधारण सभाले पारित गरेको ४ प्रतिशत बोनस लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । लघुवित्तले बुक क्लोज गरेको दिन (पुस १९ गते)सम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको हो । साथै, लघुवित्तले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

राष्ट्र बैंकले दोस्रो पटक घटायो जीवन विकास लघुवित्तको लाभांश, अब कति पाउँछ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन पछि जीवन विकास लघुवित्तको लाभांश दोस्रो पटक घटाइएको छ । राष्ट्र बैंकको निर्देशन पछि लघुवित्तले १५ प्रतिशत मात्रै लाभांश वितरण गर्ने भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२८५ प्रतिशत बोनस सेयर र ०.७१४१ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि लघुवित्तले २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद गरी कूल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । राष्ट्र बैंकको निर्देशन पछि लघुवित्तले २६ प्रतिशत बोनस सेयर र ७.१५ प्रतिशत नगद गरी कूल ३३.१५ प्रतिशत लाभांश वितरण गरेको थियो । पुनः राष्ट्र बैंकको निर्देशन भन्दै १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न चैत्र ३० गते मोरङको कटहरी स्थित केन्द्रीय कार्यालयमा वार्षिक साधारणसभा बोलाएको छ । लाभांश तथा साधारणसभा प्रयोजनार्थ लघुवित्तले चैत १७ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले सभामा भाग लिई लाभांश प्राप्त गर्न सक्नेछन् ।