विकासन्युज

पर्यटकका रोजाइमा कास्कीको खुमै डाँडा

कास्की । खुमैडाँडा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको सङ्ख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट दुई घण्टा हिँडेर कोर्चां पुगिन्छ । कोर्चाङ तीन हजार छ सय ८२ मिटरको उचाइमा छ । स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको सरीपाखा–खुमैडाँडा–कोर्चां पदयात्रा पोखराबाट दुई दिनमै सकिन्छ । पोखराको हेम्जादेखि सरिपाखासम्म १३ दशमलव तीन किलोमिटर मोटर यात्रामा पुगिन्छ । यसपछि पाँचदेखि सात घण्टाको हिँडाइपछि खुमै पुग्न सकिने माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए । खुमैभन्दा माथि बासको व्यवस्था नभएकाले पहिलो दिनको रात त्यही कटाएर भोलिपल्ट बिहान दुई घण्टाको हिँडाइपछि कोर्चां डाँडासम्म पुगेर पोखरा फर्कन सकिने उनले बताए । यसैबीच कास्कीको माछापुच्छ्रे गाउँपालिकाको १६ औँ कार्यपालिका बैठक हालै खुमैडाँडामा सम्पन्न भएको छ । पर्यटन प्रवर्धनका लागि पर्यटकीय डाँडा खुमैमा बैठक राखिएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । पछिल्लो समय खुमै जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका कारण त्यस क्षेत्रको पूर्वाधार विकासका निर्माणमा बैठक केन्द्रित भएको उनले बताए । ‘केही महिनायता हाम्रो पालिकामा पर्ने खुमैडाँडामा पर्यटकको आगमन धेरै भएको छ’, उनले भने, ‘पाहुना त आउनुभएको छ । तर, उहाँहरुका लागि के आवश्यक छ भनेर बुझ्नका लागि अवलोकनसहित पालिकाको बैठक नै यहाँ राखिएको हो ।’ बैठकले सरीपाखा–खुमै–कोर्चांसम्मको रुटलाई पर्यटकीय पदमार्ग घोषणा व्यवस्थापनको काम अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । योसँगै हिमाली क्षेत्रको जलवायु परिवर्तनको असर न्यूनीकरण, सरसफाइ, कार्बन व्यापारको बजेटमा गाउँपालिकाको अधिकारका लागि पहल गर्ने लगायत निर्णय गरिएको उनले बताए । ‘खुमैडाँडामा बसेको कार्यपालिका बैठकले जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सरसफाइमा ध्यान दिने अनि कार्बन व्यापारको बजेटमा गाउँपालिकालाई अधिकारी हुनुपर्‍यो भन्ने निर्णय भएको छ’, उनले भने । रासस

मन्त्री र उम्मेदवार टुंगो लगाउन कांग्रेसले बोलायो बैठक

फाइल फाेटाे काठमाडौं । नेपाली कांग्रेसले मन्त्री र उम्मेदवार र छनोट गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका केन्द्रीय समिति सदस्यलाई बोलाउन सम्भव नभएपछि कार्यसम्पादन समितिकोे बैठक बोलाईएको हो । भोलि बिहान बस्ने सो बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन् । सरकारमा सहभागी हुने निर्णय गरिसकेको कांग्रेसले क–कसलाई मन्त्री बनाउने टुंगो गरिसकेको छैन । यसअघि बसेको कार्यसम्पादन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तलाई ध्यान दिँदै मन्त्री छान्ने मापदण्ड बनाएको थियो । यसअघि शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास (धुम्बाराही) मा बसेको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने सैद्धान्तिक सहमति भएको छ । कांग्रेसले सत्ता गठबन्धनका बैठकमा ८ मन्त्रालय दाबी गरेको छ । कांग्रेसले अर्थ, गृह, परराष्ट्र, रक्षालगायत मन्त्रालय आफूहरूले पाउनुपर्ने बताइरहेको छ भने नेकपा माओवादीले गृह आफैँसँग राख्न चाहेको छ । साथै भोलि बस्ने कार्यसम्पादन समिति बैठकमा तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल हुने जनाईएको छ ।

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा केही महत्वपूर्ण विधेयक तत्काल अगाडि बढाउने विषयमा उहाँहरुबीच छलफल भएको हो । प्रधानमन्त्रीका सचिवालयका अनुसार सदनका काम कारबाहीलाई थप प्रभावकारी र जनमुखी बनाउने विषयमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल भएको हो । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक अगाडि बढाउने तथा सङ्घीयता कार्यान्वयनसँग बाँकी रहेका अन्य विधेयक, ऐन कानुनको संशोधनलगायतका विषयमा पनि त्यस अवसरमा छलफल भएको बताइएको छ ।

कालिका मन्दिर परिसरमा आजदेखि चैतेदसैँ मेला

बागलुङ । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा आजदेखि १७ गतेसम्म कालिका मन्दिर परिसरमा ऐतिहासिक चैत्राष्टमी मेला सुरु हुँदैछ । समितिका अध्यक्ष कुमार खड्काले परम्परागत रुपमा चल्दै आएको मेलालाई व्यवस्थित बनाउन मेला आयोजना गरिएको बताए । मेलाका लागि खेल तथा सांस्कृतिक कार्यक्रम जोडिएको उनले जानकारी दिए । मेलाको सबै तयारी पूरा भएको छ । मेलालाई व्यवस्थित बनाउन खड्काको संयोजकत्वमा मूल समिति गठन भएको छ भने अन्य उपसमिति पनि गठन गरिएको छ । रामबहादुर खड्काको संयोजकत्वमा आर्थिक संयोजन समिति, अर्जुन खड्काको संयोजकत्वमा कालीका कप खुला पुरुष भबिलल प्रतियोगिता, भरत खड्काको संयोजकत्वमा लोक तथा दोहोरी गीत प्रतियोगिता सञ्चालन हुनेछ । त्यस्तै, पारस खड्काको संयोजकत्वमा छेलो प्रतियोगिता, धु्रव खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, विद्या खड्काको संयोजकत्वमा अथिति सत्कार, राजेशचन्द्र राजभण्डारीको संयोजकत्वमा प्रचारप्रसार, राम शर्माको संयोजकत्वमा अनुगमन र तारा शर्माको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । कालीका कप पुरुष भलिबल खेलमा प्रथम हुने टिमलाई तीन लाख रुपैयाँ, दोस्रो हुनेलाई एक लाख ५० हजाररुपैयाँ, तेस्रो हुनेलाई ७० हजार रुपैयाँ र सान्त्वना २० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ । राष्ट्रिय लोकभजन प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख, दोस्रो हुनेलाई एक लाख र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिनेछ । यस्तै, छेलोतर्फ प्रथम हुनेलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई सात हजार पाँच सय रुपैयाँ नगद पुरस्कार दिइने बताइएको छ । मेलाको लागि गत सातादेखिनै रमाइलो मेला र स्टलमा व्यवसाय सञ्चालन भइरहेको छ । चैतेदसैँमा बागलुङको गाउँगाउँमा बनाइएका घरेलु उद्यमका सामग्री पनि बिक्रीका लागि ल्याइन्छ । बाँस र निगालोबाट बनेका डोका, डाला, नाङ्ला, मान्द्रोलगायतका सामग्री ल्याइन्छन् । त्यस्तै दारको ठेका, फलामबाट बनेका विभिन्न घरेलु हतियारसमेत बिक्री गर्न ल्याउने गरिन्छ । रासस

लक्ष्मी बैंकले ५ जिल्लाका २२ वटा घरजग्गा बेच्दै

काठमाडौं । लक्ष्मी बैंकले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । संस्थाले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो । बैंकको नाममा मालपोत कार्यालय दमक झापा, ईलाम, धरान सुनसरी, ललितपुर र नेपालगञ्ज बाँकेमा दर्ता कायम रहेका २२ वटा कित्ता नम्बरमा रहेका जग्गा बिक्री गर्ने भएको हो । बैंकले झापाको साविक शिवगञ्ज ७ स्थित कित्ता नम्बर १७७७९ को क्षेत्रफल ०-१५-१७.१.४ जग्गा, ईलाम नगरपालिका ३ स्थित कित्ता नम्बर २०२४ र २१२४ को क्षेत्रफल क्रमशः ०-८-३-२ र ०-७-०-२ को जग्गा, साविक धरान नगरपालिका १ स्थित कित्ता नम्बर २२४ को क्षेत्रफल ०–०–१२ को घरजग्गा बिक्रीमा राखेको हो । यस्तै, साविक ललितपुर नगरपालिका ३ स्थित कित्ता नम्बर २१११, २१२२, २१२१, २१२८, २१२४, २११३, २१२३, २१२५, २११४, २१२७, २११२, २१२६, २१३० र २१२९ को क्षेत्रफल क्रमशः ०-३-१-०, ०-१-०-२, ०-२-०-२, ०-०-१-२, ०-३-०-०, ०-३-२-०, ०-१-०-१, ०-०-१-२, ०-३-०-०, ०-१-३-३, ०-३-३-०, ०-१-३-३, ०-३-२-३ र ०-३-१-२ जग्गा बिक्री गर्ने भएको हो । यस्तै, साविक सितापुर गाविस ३ स्थित कित्ता नम्बर ५९०, ५७४, ५२३ र ५२५ को क्षेत्रफल क्रमशः ६७७.२६, ६७७.२६, ४७० र १६०० वर्ग मिटर जग्गा र सो जग्गामा बनेका घरहरु बिक्री गर्ने भएको हो । उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्म/कम्पनी तथा संघ संस्थाहरुले चैत २० गतेसम्म सम्बन्धित शाखामा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ ।

चैते दसैँमा सार्वजनिक बिदा

काठमाडौं । गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को वि.सं. २०७८ चैत १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए । हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

ग्लोबल आइएमईले जम्मा गर्यो सेयरधनीको खातामा लाभांश

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । लघुवित्तले सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा लाभांश जम्मा गरेको जनाएको छ । लघुवित्तको फागुन २४ गते सम्पन्न १०औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश फागुन २८ गतेदेखि आईपीएस मार्फत सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई तत्काल गर्न लघुवित्तले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । नगद लाभांश बैंक खातामा नगएका सेयरधनीहरुको विवरण सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलको वेभसाइटमा हेर्न सकिनेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।

सिटि होटलले चैत २१ गते र बैशाख २५ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । सिटि होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारण लगानीकर्ता लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई चैत २१ गतेदेखि र सर्वसाधारणलाई २०८० वैशाख २५ गते आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख ७४ हजार कित्ता सेयर गर्ने भएको हो । जसमध्ये १ लाख ६७ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई, ८३ हजार ७ सय कित्तासामूहिक लगानी कोषलाई, ६६ हजार ९६० कित्ता कर्मचारीलाई र बाँकी १३ लाख ५५ हजार ९४० कित्ता सर्वसाधारण लगानीकर्तालाई छुट्याएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले २०८० बैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताले भने २०८० बैशाख २८ गतेसम्म आवेदन दिन पाउनेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा २०८० जेठ ८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयरबाट कम्पनीको सेयर खरिद गर्न सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।