विकासन्युज

सिद्धार्थ प्रिमियरकाे सीईओमा क्षेत्री नियुक्त, सल्लाहकारमा केडिया र श्रेष्ठ

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्याकारी अधिकृत (सीइओ) मा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन् । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको  बैठकले क्षेत्रीलाई फागुन १७ गतेदेखि लागु हुने गरी आगामी ४ वर्षको लागि सीइओमा नियुक्त गरेको हो । क्षेत्री यसअघि साविक सिद्धार्थ इन्स्योरेन्सको सीइओको रुपमा कार्यरत थिए । पूर्वाञ्चल विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरी भारतीय बीमा संस्थानबाट ‘एफआइआइ’ उपाधी हासिल गरेका क्षेत्री अन्डरराइटिङ, जोखिम व्यवस्थापन, बजार व्यवस्थापन विषयमा विशेष दखल राख्ने व्यक्तिका रुपमा परिचित रहेका छन् । यस्तै, उक्त बैठकले सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई सल्लाहकारमा नियुक्त गरेको छ ।

मुटुरोगबाट बच्न ६/७ घण्टा सुत्ने, नुन कम खाने : डा अवनिभूषण उपाध्याय

नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञको रुपमा परिचित छन् डा अवनिभूषण उपाध्याय । व्यावसायिक जीवनका क्रममा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै सरकारी, गैरसरकारी र निजी तीनवटै क्षेत्रमा कुशलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरी सात दशकको उमेरमा पनि उनी उत्तिकै क्रियाशील छन् । उनले वीर अस्पतालका अतिरिक्त भक्तपुर, उदयपुर, मेडिकियर, गङ्गालाल, सार्क हार्ट फाउण्डेसनमा संलग्न भई मुटु रोग उपचारमा सेवा पु¥याँदै आएका छन् । तत्कालीन सोभियत सङ्घबाट चिकित्सा विज्ञानको मुटु रोग विधामा विशेषज्ञता हासिल गरेका उनले देशका कुनाकन्दारामा पुगेर मुटु रोग उपचार सेवा पु¥याउनुभएको छ । जीवन र सङ्घर्षलाई नङ र मासुजस्तै परिपूरक ठान्नु हुने उनी कामको अनुभव विश्वविद्यालयमा पढेर पाइने होइन, त्यसका लागि कार्य गर्नै पर्छ, ठक्कर खानैपर्छ भन्ने मान्यतामा विश्वास गर्छन् । व्यवहारबाट प्राप्त हुने अनुभव भनेको आगोको भुङ्गोमा पगालेर सुन्दर आकार दिइएको सुनजस्तै उनी पनि उच्च शैक्षिक डिग्रीसँगै अनुभवले खारिएका परिपक्व चिकित्सक हुन् । उनको हालै मुटुसँग सहयात्रा नामक आत्मवृतान्त पुस्तक समेत प्रकाशित भएको छ । पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायतका विषयको रोचक चित्र समेटिएको छ । पुस्तकमा रोचक सन्दर्भ, व्यावसायिक जीवन आरम्भ, सुधार गर्न सकिँदोरहेछ, वीरका चुनौतीपूर्ण ती दिन, फरक अवधारणाको अस्पताल, मुटु जोगाउने अभियान, गौरवपूर्ण गङ्गालाल हृदय केन्द्र, न्याम्सको चपेटामा वीर अस्पताल, भिआइपीको उपचार, स्वास्थ्य र राजनीति शीर्षकमा विषयगत महत्वपूर्ण घटनासम्बन्धी लेख समावेश गरिएका छन् । प्रस्तुत छ, नेपालमा मुटुरोगको अवस्था, रोगको उपचार, निदान र रोकथाममा गर्नुपर्ने पहल तथा आम नागरिकले स्वस्थ मुटुका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा गरेकाे कुराकानीको अंश : यहाँले करिब ४० वर्षदेखि मुटु रोगको उपचारमा क्रियाशील रहँदै आउनु भएको छ । सुरुमा कहाँबाट सेवा आरम्भ गर्नुभयो ? रसियाबाट मुटुमा पोष्ट ग्राजुएट गरेर फर्केपछि २०३५ सालमा वीर अस्पतालमा काम सुरु गरेँ । डा मृगेन्द्रराज पाण्डेले मुटुको छुट्टै युनिट सञ्चालन गर्न दिनुभयो । त्यतिबेला हामीले विदेशबाट केही उपकरणहरु ल्याएर वीर अस्पतालमा मुटुरोगको छुट्टै उपचार सेवा सुरु गरेका थियौँं । हाम्रो टिम राम्रो थियो । डा पाण्डे देशमा मुटुक रोगीको सङ्ख्या बढ्दै गएका कारण यसको उपचारसँगै रोकथाम कसरी गर्न सकिन्छ भन्ने कुरामा बढी नै चिन्तित हुनुहुन्थ्यो । त्यसैले उहाँकै सल्लाहमा उपचारसँगै जनचेतना अभिवृद्धि गराउने उद्देश्यले २०४५ सालमा नेपाल हार्ट फाउण्डेशन स्थापना गरियो । अहिले यसको देशभरि शाखा विस्तार भई जनचेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । यस फाण्डेशनको स्थापना गर्नुको अर्को उद्देश्य देशमा मुटुरोगको उपचार गर्ने अलग्गै अस्पताल स्थापना गर्नुपर्दछ भन्ने पनि रहेको थियो । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको स्थापना यसैको उद्देश्यअनुसार नै भएको हो त ? हो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी बिरामी भएपछि उहाँको उपचारमा वीर अस्पतालबाट म र त्रिवि शिक्षण अस्पतालबाट डा अरुण सायमी खटियौंँ । त्यतिबेलाका स्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरसँग पनि मुटुरोगको अलग्गै अस्पताल स्थापना गर्नु जरुरी भएको कुरा राख्यौँ । उहाँ हाम्रो कुरामा सहमत हुनुभयो । काठमाडौँको बाँसबारीस्थित त्यतिबेला बाँसबारी छालाजुत्ता कारखानाको जग्गामा सांसद निवास बनाउने योजना रहेछ, हाम्रो अस्पताल बनाउने प्रस्तावपछि मन्त्री तुलाधरले मुटुको अस्पताल बनाउन सहमत हुनुभयो । यसका लागि धेरै मेहनत गर्नुपर¥यो । हाल यो अस्पताल नेपालकै एक स्रोत साधनसम्पन्न, दक्ष जनशक्तियुक्त मुटुरोगको अस्पताल बन्न सकेको छ । गङ्गालालको स्थापनापछि नेपालले मुटुरोगको उपचारमा ठूलो फड्को मार्नसक्यो । त्यसपछि निजी अस्पताल पनि आए । अहिले मुटु रोगको उपचार र निदानका लागि नेपाल बाहिर जानुपर्दैन । मुटुरोगको निदान, उपचार, रोकथाम तथा अध्ययन अनुसन्धान सम्बन्धमा सरकारको केन्द्रीय अस्पतालको रुपमा विस्तार गर्नु आवश्यक छ । नेपालमा मुटुका रोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा तिनको उपचारका लागि चिकित्सकको सङ्ख्या र अस्पतालको अवस्था कस्तो छ ? पछिल्लो समय नेपालमा मुटु रोगीको सङ्ख्या निकै अस्वभाविक रुपमा बढ्दै गएको छ । पहिले दुई÷तीनजना बिरामी आउने गरेकामा अहिले ३०÷४० जना आउने गर्दछन् । त्यसअनुसार ती बिरामीको उपचारका लागि आवश्यक चिकित्सकको सङ्ख्या निकै कम छ भने आवश्यक अस्पतालको सङ्ख्या पनि छैन । केन्द्रमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र मात्रै छ भने अन्य सरकारी र निजी अस्पतालबाट सेवा दिन सकेका छौंँ । मुटुरोगको उपचारमा तुलनात्मक रुपले सस्तो र गुणस्तरीय सेवा प्रदान गरी देशकै एक भरोसायोग्य उपचार केन्द्रको रुपमा स्थापित गर्नेतर्फ सरकारको सहयोग जरुरत पर्दछ । काठमाडौँ बाहिरका मुख्य सहरहरुमा चिकित्सक भए पनि जिल्ला तहमा सेवा विस्तार गर्न सकेका छैनौंँ । गङ्गालाल अस्पताल स्थापना गर्दा पाँच वर्षमा सबै अञ्चल र अर्को पाँच वर्षमा सबै जिल्लामा मुटुरोगको उपचार गर्ने अलग्गै अस्पताल स्थापना गर्ने लक्ष्य राखेका थियौँ । यसमा प्रगति हुनसकेको छैन । अहिले जनकपुरमा भने अस्पतालको युनिट स्थापना भएको छ । मुटुरोगको उपचार सेवालाई देशभरि विस्तार गर्न के गर्नुपर्ला ? पहिलो कुरा स्वास्थ्य क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्दछ र त्यहीअनुसार बजेट योजना हुनु आवश्यक छ । गङ्गालाल अस्पताल पूर्वाधार, प्रविधि र जनशक्तिका हिसाबले राम्रो भएकाले तुरुन्तै यसलाई विश्वविद्यालयको रुपमा सञ्चालन गर्न सकिएमा त्यहाँबाट उत्पादित जनशक्तिलाई देशभर परिचालन गर्न सकिन्छ । पहिलो चरणमा कम्तीमा हरेक प्रदेशमा एउटा गङ्गालालजस्तै अस्पताल स्थापना गर्न जरुरी छ । त्यसपछि जिल्लास्तरमा मुटुरोगको अस्पताल विस्तार गर्दै लैजान सकिन्छ । साथै सरकारको एकल प्रयासले मात्रै मुटुको रोग नियन्त्रण गर्न सम्भव छैन । आज जनता र निजी क्षेत्रको पनि उत्तिकै हातेमालोको आवश्यक पर्दछ । नेपालमा मुटुका रोगीका बिरामीको सङ्ख्या तीव्ररुपमा बढ्दै जानुको मुख्य कारण के होला ? नेपालमा २०३५ सातसम्म पनि मुटु रोगको समस्या थिएन । नेपालीको जीवनशैली निकै राम्रो थियो । तर अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ । पश्चिमा देशहरुले खानपीन र जीवनशैलीमा ध्यान दिन थालेकाले ती देशमा अहिले मुटुको समस्या निकै कम भएको छ तर हाम्राजस्ता देशमा स्वास्थ्यप्रतिको सचेतना नहुँदा समस्या बढ्दै गएको छ । तयारी खाना, चिल्लो, माछामासु बढी खाने, सागसब्जी कम खाने, शारीरिक कसरत नगर्ने आदत बढ्दै गएको छ । सानो उमेरमै धुूमपान गर्ने, मध्यपान गर्ने क्रम बढ्न थालेको छ । यसले गर्दा १८/२० वर्षकै उमेरका युवामा उच्च रक्तचाप, मधुमेहको समस्या बढ्न थालेको छ । पछिल्लो समय धेरै मानिसमा तनावले पनि मुटुको समस्या बढेको पाइन्छ । त्यसैले उचित खानपान, कसरत र तनावमुक्त जीवनशैलीमा ध्यान नदिए ठूलै महामारी आउने निश्चित छ । मुटुको रोग लाग्नै नदिन के कुरामा ध्यान दिन आवश्यक हुन्छ ? उचित आहार, व्यायाम र योगसहितको जीवनशैली नै मुटुरोग मात्र नभइ कुनै पनि नसर्ने रोगबाट बच्ने उपाय हो । एउटा वयस्क व्यक्तिलाई स्वस्थ हुन सामान्यतयाः दिनमा छ/सात घण्टा सुत्नुपर्छ । दैनिक करिब एकघण्टा हिँडडुल वा अन्य व्यायाम गर्नुपर्छ । आधा घण्टा योग ध्यान गर्दा धेरै फाइदा हुन्छ । खानामा कार्वोहाइटेडयुक्त खानेकुरा कम र प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । बिहान सामान्य खानेकुरा खाने तर साँझमा ढिलोमा छ बजेभित्र हल्का पाँचनदार खानेकुरा खानु राम्रो हुन्छ । हरियो तरकारी, सागसब्जीलाई दुबै छाकमा खानुपर्छ । चिनी र चिल्लो पदार्थलाई बन्द गरेहुन्छ । नून पनि २.५ ग्रामभन्दा कम खाए पुग्छ । घिउ वा तेलमा तारेको खानेकुरा नखाने तर शुद्ध तोरीको तेलमा पकाएको खाँदा खासै बेफाइदा हुन्न । व्यक्तिको शारीरिक बनोटअनुसार यी कुरामा केही तलमाथि पनि हुनसक्छ । मध्यपानले कुनै फाइदा नगर्ने वैज्ञानिक तथ्यबाट पुष्टि भइसकेको छ । मासुमा माछा ठिकै हुन्छ, रातो मासु सकभर नखाने, खानै परे एकदम कम खानुपर्छ । धूमपानबाट टाढै रहन सक्यो भने उच्च रक्तचाप, मधुमेहको समस्या नियन्त्रण गर्न सजिलो हुनुका साथै अन्य रोग पनि लाग्ने जोखिम धेरै नै कम हुन्छ । मुटुका रोगीलाई उपचारसँगै पुनःस्थापनामा पनि ध्यान दिनुपर्ने होइन र ? विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो अध्ययनले इस्केमिक हार्ट डिजिजलाई विश्वकै सबैभन्दा ठूलो प्राणघातक रोगको रुपमा देखाएको छ । पछिल्ला दिनहरुमा नेपालमा समेत रोगका बिरामी तथा यसका कारण हुने मृत्यु बढिरहेको सन्दर्भमा उनीहरुको उपचारसँगै पुनःस्थापनामा पनि जोड दिनु आवश्यक छ । विकसित देशहरुमा उपचारसँगै पुनःस्थापनाका कार्यक्रममा जोड दिन थालिएको छ । बिरामीलाई अस्पतालबाट घर पठाउनुअघि केही समय पुनःस्थापना केन्द्रमा राखी सही ढङ्गबाट औषधि सेवन गराउने, खानपिनमा अभ्यस्त तुल्याउने तथा व्यायाम गराउनेजस्ता कुरा गराउन जरुरी हुन्छ । रासस

गभर्नरले सबै बैंकका सीईओलाई किन डाके ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई राष्ट्र बैंककोबैठकमा बोलाएका छन् । उनले सीईओहरुलाई पत्र पठाउँदै दिउसो तीन बजे बोलाएका हुन् । छलफलमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरहरुलगायतका उच्च अधिकारीहरु सहभागी हुने बुझिएको छ । छलफल काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ । एक वाणिज्य बैंकका सीईओका अनुसार पत्रमा समसामयिक विषयमा छलफल गर्ने उल्लेख छ । ती बैंकरका अनुसार बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको समस्या, ब्याजदर, बढ्दो खराब कर्जा र विदेशी अडिटरले केही बैंकहरुको वित्तीय विवरण अडिट गर्ने विषयमा छलफल हुने बुझिएको छ । यो सँगै पछिल्लो समय बैंकको ब्याजदरको विषयमा उद्योगी व्यवसायीहरुले गरिरहेको विरोधको विषयमा पनि छलफल हुने बताइएको छ । आजै नेपाल राष्ट्र बैंकसहित १९ देशका केन्द्रिय बैंकमा कार्यरत कर्मचारीहरुको तालिम काठमाडौंमा हुँदैछ । जसमा नेपाल राष्ट्र बैंकका १० जना कर्मचारीहरु सहभागी हुँदैछन् । दक्षिण पूर्व एशियाली केन्द्रीय बैंक अनुसन्धान र प्रशिक्षण केन्द्र (सिसन)मा सदस्य राष्ट्रका केन्द्रिय बैंकमा कार्यरत कर्मचारीहरु तालिमका लागि काठमाडौंमा आएका हुन् । सिसनको आयोजनामा केन्द्रिय बैंकका कर्मचारीलाई सोमबारदेखि एक हप्तासम्म तालिम दिइने बताइएको छ ।

बाँकेमा २२ जना मिटर ब्याजीविरुद्ध उजुरी

नेपालगञ्ज । बाँकेस्थित जिल्ला प्रशासन कार्यालयमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको उल्लेख गर्दै नियमित रुपमा कारबाही प्रक्रियालाई अघि बढाइएको बताए । ‘पूर्वतिर जस्तो समस्या देखिएको छैन’, उनले भने । प्रजिअ आर्चायले अदालतमा पुगेका मुद्दा अदालतबाट टुङ्गो लाग्ने जानकारी दिँदै केही मिलापत्र भएको र एउटा व्यक्ति सम्पर्कमा नआएकाले खोजी भइरहेको बताए । मिटरब्याजी पीडितलाई सरकारले उजूरी गर्न आग्रह गरेपछि यस विषयमा छानविन सुरु गरिएको हो । रासस

रिचार्ज कार्डको ‘एक्सपायरी डेट’ ४ वर्ष थप

काठमाडौं । नेपाल टेलिकमले ५ सय र १ हजार रुपैयाँ दरका रिचार्ज कार्डको समय अवधि थप (एक्सपायरी डेट) गरेको छ । टेलिकमले ५ सय र १ हजार दरका रिचार्ज कार्डको ४ वर्ष म्याद थप गरेको हो । टेलिकमका अनुसार ५ सय र १ हजार दरका रिचार्ज कार्डको अन्तिम मिति ३१ मार्च २०२३ सम्म रहेको छ । अब ५ सय र १ हजार दरका रिचार्ज कार्डको अवधि ४ वर्ष थप गरिएको हो । अब सो दरका रिचार्ज कार्डको म्याद थप भएर २१ मार्च २०२७ सम्म कायम रहने टेलिकमले जानकारी दिएको छ ।

अर्थमन्त्रालय नेतृत्वविहिन हुँदा बजेट लेखन प्रभावित, बन्न सकेन कार्यतालिका 

काठमाडौं । अघिल्ला वर्षहरुमा फागुन अन्तिम साता तथा चैत पहिलो सातादेखि अर्थ मन्त्रालयले बजेट लेखनको काम सुरु गरिसकेको हुन्थ्यो । आगामी वर्षको बजेटका लागि अर्थले बजेटका अर्धवार्षिक समीक्षा सकिएलगतै लेखनको तयारी थालिसकेको हुन्थ्यो । तर, आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट लेखनको तयारी धमाधम सुरु हुने समयमा अर्थमन्त्रालयमा कुनै रौनक देखिएको छैन । चालू आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउन अर्थ मन्त्रालयले २०७८ चैत १ गते समिति गठन गरिसकेको थियो । फागुन अन्तिम साता नै बजेट निर्माणको समिति गठन गरेको अर्थले चैत १ गते ५ सदस्यीय समिति नै बनाएर बजेट निर्माण सुरु भएको जनाएको थियो । गत वर्षकै जस्तो गरी आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट लेखनमा अर्थमन्त्रालय जुटिसकेको हुनुपर्ने हो । तर, चैत १२ गते बितिसक्दा समेत अर्थले बजेट लेखनको काम सुरु गर्न सकेको छैन । बजेट निर्माणको तयारीमा जुट्नुपर्ने अर्थमन्त्रालय मन्त्रीविहिन हुँदा बजेट लेखनको काम सुरु नै हुन नसकेको मन्त्रालयका अधिकारीहरु बताउँछन् । मन्त्री नहुँदा बजेट निर्माणको जिम्मा कसलाई दिने भन्ने विषयमा टुंगो लाग्न नसकेको हो । विष्णुप्रसाद पौडेलले अर्थमन्त्रीबाट फागुन १५ गते राजीनामा दिएपछि अर्थ मन्त्रालय राजनीतिक नेतृत्वविहीन बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को काँधमा हाल १६ वटा मन्त्रालय छन् । बजेट लेखनको मुख्य समय र सरकारी खाता नोक्सानीको समयमा देशको ढुकुटीको रुपमा रहेको अर्थमन्त्रालय नेतृत्वविहिन हुँदा समस्या थपिँदै गएकोे छ । बजेट निर्माणको तयारीको समयमा मन्त्री नहुँदा नीतिगत निर्णय तथा अन्तरमन्त्रालय समन्वयमा समस्या देखिएको अर्थ मन्त्रालय स्रोतले बतायो । खर्च व्यवस्थापनमा समस्या मन्त्रालय स्रोतका अनुसार अहिले मन्त्रालयमा मन्त्री नहुँदा खर्च व्यवस्थापनमा ठूलो समस्या देखिएको छ भने कर्मचारीलाई पनि तलब खुबाउन समस्या पर्ने अवस्था सिर्जना भइरहेको छ । ‘राजश्व संकलन कम हुँदा सरकारी कर्मचारीलाई समेत तलब खुवाउन नसक्ने अवस्था आइसक्यो, मन्त्री नहुँदा धेरै समस्या देखिन सुरु भैसकेको छ’, मन्त्रालय स्रोतले भन्यो, ‘अहिले संवेदनशिल अवस्थामा देश पुुगेको छ, राजश्व संकलन कम हुँदा सरकारको आम्दानीभन्दा खर्ब बढी भएको छ, त्यस्तो अवस्थामा सबै म्यानेज गर्ने नेतृत्व नै नभएपछि झन समस्या थपिएको छ ।’ स्रोतका अनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा न्यून राजश्व संकलन हुँदा सरकारी स्रोतमा चाप देखिएको छ । ‘आन्तरिक ऋणको ब्याजको खर्च समेत बढेको छ, सरकारी कोषमा चाप परेको छ, वैैदेशिक सहायता आएको छैन, आन्तरिक ऋण भुक्तानीमा समेत समस्या छ, यस्तो बेलामा सक्षम नेतृत्वको आवश्यक हो, तर चाहिने बेलामा नै खालि भयो,’ स्रोतले भन्यो । चालू आवको बजेट लेखनका लागि तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको अध्यक्षतामा बसेको बैठकले राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बरालको संयोजकत्वमा ५ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेको थियो । अर्थमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले भने मन्त्रालयले बजेट निर्माणको काम सुरु गरिसकेको बताए । ‘हामीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट लेखनको काम सुरु गरिसकेका छौँ, हाल ९ वटा उपसमितिले राजश्व नीतिमा छलफल गरिरहेको छ’, उनले भने । मन्त्रालयले गर्ने नियमित काममा कुनै समस्या नभएपनि ठूलो निर्णय लिन भने समस्या भएको उनको भनाइ छ । ‘अहिले हामी आगामी आर्थिक वर्षको २०८०र८१ को लागि बजेट निर्माणको तयारीमा छौँ, राजश्व परमर्श समिति गठन भैसकेको छ, बजेट निर्माणको आर्थिक विधेयक सम्बन्धी काम त्यहीबाट हुन्छ, मन्त्रालयहरुलाई राष्ट्रिय योजना आयोगले बजेटको सिलिङ तोकेको छ’ उनल भने, ‘त्यहीअनुसार मन्त्रालयले बजेटको सिलिङ बनाएर पेश गर्ने हो, सबै मन्त्रालयबाट रिफारिस आएपछि नेतृत्वको आवश्यक पर्छ, त्यतिबेलासम्म मन्त्रीज्यू आइसक्नुहोला, अहिले मन्त्री नहुँदा काम नै रोकियो भन्ने अवस्था आइसकेको छैन ।’ आगामी आर्थिक वर्ष १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट निर्माण गर्न राष्ट्रिय योजना आयोगले अर्थलाई सिलिङ पठाइसकेको छ । सरकारले चालू वर्ष १७ खर्ब बढीको बजेट ल्याएको थियो । तर, मध्यावधि समीक्षामार्फत् १५ खर्बमा झारिएको छ । ९ उपसमितिले गर्दैछ छलफल राजस्वसम्बन्धी महत्वपूर्ण राय तथा सुझावका लागि अहिले राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन भएको छ । यसअघि नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश २०७६ थियो । स्थायी संरचना बनाएर काम गर्दा प्रभावकारी हुने भन्दै बनाइएको गठनादेश गत असोजमै सरकारले खारेज गरिसकेको छ । यसअघि हरेक पटक बजेट निर्माणका बेला राजस्व सचिवको संयोजकत्वमा परामर्श समिति गठन भए जस्तै यो पटक पनि गठन भइसकेको छ । राजस्व सचिव रामप्रसाद घिमिरेको नेतृत्वमा बनेको समिति अन्तर्गत ९ वटा उपसमिति बनेका छन् । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीको संयोजकत्वमा आन्तरिक राजस्व उपसमिति बनेको छ । यस्तै, भन्सार विभागको महानिर्देशक चक्रबहादुर बुढाको संयोजकत्वमा भन्सार उपसमिति बनेको छ । उद्योग वाणिज्य तथा निर्यात प्रवद्र्धन उपसमिति उद्योग मन्त्रालयका सहसचिवको संयोजकमा बनेको छ । राजस्व अनुसन्धान विभागको महानिर्देशक नारायणप्रसाद सापकोटाको संयोजकत्वमा राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण उपसमिति, राष्ट्रिय योजना आयोगका सहसचिव राजेन्द्र पौडेलको संयोजकत्वमा कृषि ऊर्जा तथा पर्यटन उपसमिति, बैंक वित्तीय संस्था बीमा तथा पूँजी बजार उपसमिति अर्थका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख झक्क आचार्यको संयोजकत्वमा बनेको छ । अर्थकै योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख आनन्द काफ्लेको संयोजकत्वमा गैरकर उपसमिति, वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख ईश्वरी अर्यालको संयोजकत्वमा अन्तरसरकारी राजस्व व्यवस्थापन उपसमिति गठन भएको छ । कानून तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख अर्जुनकुमार खड्काको संयोजकत्वमा राजस्वसम्बन्धी ऐन–नियम तथा प्रशासन उपसमिति रहेको छ । करिब एक महिनाअघि गठन भएका यी उपसमितिले राजस्वसम्बन्धी सुझाव चैतभित्र पेश गर्नेछन् । कर तथा गैरकर प्रणाली कस्तो हुनुपर्ने, छुट तथा सहुलियत, करको दायरा विस्तार तथा करका दरको विषयमा अर्थलाई सिफारिस गर्नेछ । सोही आधारमा आगामी कर नीति तर्जुमा हुनेछ ।

नयाँ वर्षमा हुन्डाईको गाडी किन्दा साढे ८ लाखसम्मको छुट

काठमाडौं । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ल्याएको हो । यो योजना चैत १३ देखि सुरु भएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस ८० हजार रुपैयाँसम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउँनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुने कम्पनीले जनाएको छ । हुण्डाईले गएको महिना मात्रै भेन्यु र यनआइओयस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनै पनि ह्याटब्याक, कम्प्याक्ट, यसयुभि तथा इभि गाडी खरिद गरि फाइदा लिन सक्नेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १७ शोरुम तथा १९ सर्भिस सेन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

फाइनान्सको घामड हाकिम

उदेक लाग्दो जिन्दगी छ । जिन्दगी जिउनै गाह्रो छ । जागिर नखाई सुखै छैन । जागिरको लागि एउटा राम्रो नाम चलेको फाइनान्स कम्पनीबाट अफर आयो । राम्रै लाग्यो । हुन्छ भने । जागिर खान काठमाडौं छोडी पोखरा लागेँ । सुरु सुरुमा रमाइलै लागेको थियो । नयाँ परिवेश । नयाँ ठाउँ । नयाँ जोश । नयाँ जाँगर । नयाँ वातावरण । नयाँ साथी भाई । भनौं सबै नयाँ । काम राम्रै भइरहेको थियो । दिलो ज्यान दिएर काम गरिरहेको थिएँ । अफिसमा पुरानो हाकिमको कार्यकाल सकियो । नयाँ हाकिमको नियुक्ति भयो । नयाँ हाकिम आउनासाथ नयाँपन देखाउन थाल्यो । नयाँ नयाँ परिवर्तन ल्याउन थाल्यो । सोचेकोथिएँ । नयाँ योजना र रणनीतिको साथ नयाँ हाकिम आएको रहेछ । अब राम्रो हुने भयो । पछि आएर पो थाहा भयो त नयाँ जोगीले खरानी धेरै खसे झै गरेको रहेछ । नयाँ हाकिमको लगाव व्यापार व्यवसाय विस्तार एवं मुनाफा आर्जनमा छदै थिएन । कर्मचारीले के खायो, कोसँग बोल्यो, पोशाक लगायो लगाएन, कोट फुकालेर किन कुर्सी पछाडि राख्यो, आइडी कार्ड लगायो लगाएन, कार्यालय कति बेला आयो, को कस्को क्याविनमा गयो, दुई जना विभागीय प्रमुख भेट भयो भने मेरो कुरा त काटेन भनेर डरायो, अनि सिसिटिभि हेर्दै तुरुन्त कर्मचारीलाई आफ्नो क्याबि‍नमा बोलायो, मस्त दुई चार जनालाई अघि पछि राखेर बियर खायो अनि व्यापार व्यवसाय विस्तारको नाममा अफिसमा बिल इन्ट्री गरायो, अफिसको गाडी तेल उपभोग गरेर कहिले पुर्व कहिले पश्चिम गर्यो । त्यही नै हाकिमको दैनिक क्रियाकलाप थियो । कर्मचारीको वैज्ञानिक व्यवस्थापन भन्दा आफु निकटलाई वरिपरि राख्नमै बढी ध्यान थियो । सरुवा बढुवामा आफ्नै आशे-पाशेको बाहुल्यता हुन्थ्यो । मिटिङमा हाकिमको कुरामा असहमति जनाउँदै आफ्ना तर्क तथा विचार राख्यो भने तँ म भन्दा जान्ने हुने भन्दै आँखा तर्थ्याे र अर्काे पटक देखि मिटिङमै बोलाउँदैनथ्यो । त्यसैले बाध्य भएर हाकिमको कुरामा हो मा हो मिलाउन विवश थियौं म लगायतका साथीहरु । हाकिमले बोलेको कुरा शतप्रतिशत सत्य छ भन्दै सही थाप्नु हाम्रो दैनिक कर्तव्य थियो । नभए त उही हो फेरी विभागीय प्रमुखबाट हटाउने हो कि वा सरुवा गर्ला भन्ने डर । त्यसैले पनि आफ्नो मन मारी मारी हाकिमको जाति बन्नु बाध्यता थियो । आफुलाई चाप्लुसी गर्न नआउने, जे देख्यो तेही बोल्नु पर्ने । तर, पछि पो थाहा भयो त त्यसरी त जागिरमा टिक्न सकिदो रहेनछ । आफुमा चाप्लुसी नहुँदा धेरै गाह्रो । तै पनि जसो तसो तीन वर्ष सँगै काम गरियो । अब टिक्न सकिँदैन भन्ने लागेर छोडेर हिँडियो । सँगै लामो समय काम गरेका साथीभाईको याद एवं सम्झना जागिर छोड्दैमा नमेटिने रहेछ । यसो गएको बेला साथी भाईलाई बोलाएर भेट गर्याे हाकिमको कानमा भेट गरेको कुरा समेत पुगि हाल्दो रहेछ जासुस मार्फत् । भोलिपल्ट भेट गरेका साथी भाईलाई बोलाएर त्यसलाई किन भेटिस् भन्दै थर्काउने काम समेत गर्दाे रहेछ घामड हाकिमले । बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारीहरु एकदमै सही कुशल र व्यवसायिक हुन्छन् भन्ने सुनेको थिएँ । तर,  मैले सुनेको कुरा शतप्रतिशत सही हैन रहेछ । कोही कोही त बहुत घामड हुँदा रहेछन् मैले भोगे जस्तो । सही व्यवस्थापक हुँदा कार्यालयमा नि घर नै आभाष हुने गरी व्यवस्थापन गर्छन र कार्यालयमा बसी राखौ भन्ने माहोल बनाउँछन् जसले गर्दा संस्थाको उत्पादकत्व एवं मुनाफामा वृद्धि हुँदै जाने निश्चित हुन्छ । तर, जब संस्थामा घामड एवं सनकलाल हाकिम व्यवस्थापकको रुपमा रहन्छन्, कर्मचारीहरुले सधै विकल्प खोज्ने, संस्थाको प्रगति दैनिक रुपमा खस्कने एवं कर्मचारीमा नैराश्यता विकास हुने गर्दछ । यसर्थ, हाकिमहरुले हठीपन त्यागी संस्थाको सही र कुशल व्यवस्थापन गर्नु आजको आवश्यकता हो । कर्मचारीको वैज्ञानिक व्यवस्थापन गर्न सकेमा त्यसको अधिकतम फाइदा संस्थाले पाउने निश्चित छ । मेरा आसे-पासे एवं आउरे बाउरे भन्ने भ्रामक सोचाईबाट हाकिमहरु माथि उठ्न जरुरी भइसकेको छ । वास्तविक हाकिम त्यो हो जसले भएका स्रोत र साधनलाई अधिकतम उपभोग गरी उत्पादक्व र मुनाफा वृद्धि गर्छ, कर्मचारीको सही र वैज्ञानिक व्यवस्थापन गर्छ । यसर्थ सबै हाकिमलाई सही र कुशल व्यवस्थापन बन्न सुझाव, घामड हाकिम नबन्नु होस, यसले कसैको पनि हित गर्दैन । उही घामड हाकिमको भुतपूर्व कर्मचारी