
फाइल फाेटाे
काठमाडौं । नेपाली कांग्रेसले मन्त्री र उम्मेदवार र छनोट गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको हो ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका केन्द्रीय समिति सदस्यलाई बोलाउन सम्भव नभएपछि कार्यसम्पादन समितिकोे बैठक बोलाईएको हो ।
भोलि बिहान बस्ने सो बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन् ।
सरकारमा सहभागी हुने निर्णय गरिसकेको कांग्रेसले क–कसलाई मन्त्री बनाउने टुंगो गरिसकेको छैन । यसअघि बसेको कार्यसम्पादन समितिले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तलाई ध्यान दिँदै मन्त्री छान्ने मापदण्ड बनाएको थियो ।
यसअघि शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास (धुम्बाराही) मा बसेको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने सैद्धान्तिक सहमति भएको छ ।
कांग्रेसले सत्ता गठबन्धनका बैठकमा ८ मन्त्रालय दाबी गरेको छ । कांग्रेसले अर्थ, गृह, परराष्ट्र, रक्षालगायत मन्त्रालय आफूहरूले पाउनुपर्ने बताइरहेको छ भने नेकपा माओवादीले गृह आफैँसँग राख्न चाहेको छ ।
साथै भोलि बस्ने कार्यसम्पादन समिति बैठकमा तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल हुने जनाईएको छ ।