सिन्धु विकास बैंकले गर्यो २०८० सालको भित्ते र टेवल पात्रोको विमोचन
काठमाडौं । सिन्धु विकासले २०८० सालको लागी भित्ते तथा टेवल पात्रोहरुको विमोचन गरेको छ । उक्त विमोचन कार्यक्रममा बैंकका उच्च व्यवस्थापनको समेत उपस्थिती रहेको थियो । सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ ईकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण व्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकहरुको सुविधाको लागी सम्पूर्ण शाखा कार्यालयहरु मार्फत मोवाईल बैकिङ, एससिटि डेबिट कार्ड, यसएमएस बैकि, क्युआर कोड, सि एसबिए लगायत सम्पुर्ण बैंकिङ सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।
युनाइटेड मोदी हाइड्रोपावरको लाभांश पारित, संचालकमा पाण्डे नियुक्त
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावको लाभांश पारित भएकाे छ । कम्पनीकाे ९औं वार्षिक साधारणसभाले संचालक समितिद्वारा प्रस्तावित ७.०३६८ प्रतिशत लाभांश पारित गरेकाे हाे । सभाले आर्थिक वर्ष २०७८/०७९ को संचित मुनाफाबाट ७ प्रतिशत बोनस सेयर (कर बाहेक) तथा ०.३६८ प्रतिशत कर पयोजनका लागि नगद लाभांश प्रस्ताव पारित गरेकाे हाे । त्यसैगरी, सभाले अमित पाण्डेलाई चार वर्ष कार्यकालका लागि कम्पनीको स्वतन्त्र संचालकमा नियुक्त गर्नुको साथै २०७९/०८० को लेखापरीक्षण कार्यको लागि नेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गरेको छ । सभाले अन्य लगानी योग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिएको छ भने कम्पनीको पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।
कञ्चनपुरका सामुदायिक विद्यालयले पनि अङ्गे्रजी माध्यममा पठनपाठन गर्ने
दोधारा चाँदनी । विद्यालय भर्ना अभियान तीव्र भएका बेला कञ्चनपुरका सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने योजना ल्याएर विद्यार्थी आकर्षित गर्न थालेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयले अहिले विद्यार्थी भर्नाका लागि घरदैलो अभियान नै सञ्चालन गरेका छन् । अभिभावक तथा विद्यार्थीमा निजी विद्यालयमा आकर्षण रहेका बेला सामुदायिक विद्यालयले पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने भएका हुन् । कञ्चनपुरको पुरानो सामुदायिक विद्यालय वैजनाथ माध्यमिक विद्यालयले पनि यसै शैक्षिक सत्रदेखि कक्षा ९ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युत कलौनीले जानकारी दिए । ‘हामीले नर्सरीदेखि कक्षा ९ सम्म नै अङ्ग्रेजी माध्यमबाट समेत पठनपाठन गर्ने तयारी गरेका छौँ’, उनले भने, ‘विद्यालयको गुणस्तर वृद्धि गर्दै विद्यार्थीलाई आकर्षित गर्ने योजना बनाएका हौँ ।’ उनले यसवर्ष विद्यार्थीको सङ्ख्या थप्ने लक्ष्यसहित विद्यार्थी भर्ना अभियान सञ्चालन गरिएको बताए । हाल यो विद्यालयमा एक हजार विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालयमा पनि निजी विद्यालयले जस्तै गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन सुरु गरेको भृकुटी माध्यमिक विद्यालयका शिक्षिका विमला भट्टको भनाइ छ । ‘सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोशाक र झोलासमेत उपलब्ध गराउँदैछौँ’, भट्टले भने, ‘विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरी तल्लो कक्षामा समेत अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालन गर्ने गरेका छौँ ।’ उनले अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या बढ्न थालेको बताए । महेन्द्रनगर माध्यमिक विद्यालयले पनि नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालयका शिक्षक नवराज जोशीले पाँच सय विद्यार्थी थप्ने लक्ष्यसहित यसै शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सुरु गरिने बताए । ‘आगामी शैक्षिक सत्रदेखि नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट समेत निःशुल्क पढाई गर्ने भएका छौँ’, जोशीले भने, ‘अहिले यसबारे जानकारी दिन विद्यालयको टोली अभिभावको घरदैलोमा पुग्ने गरेका छौँ ।’ उनले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकशिक्षिका विद्यार्थी भर्ना अभियानमा जुटेको बताए । कक्षा ८ सम्म सरकारले विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको पनि उनले जानकारी दिए । सामुदायिक विद्यालयमा छात्रवृत्तिलगायतका थुुप्रै सुविधा रहेका र गुणस्तर सुधारका विभिन्न योजना बनाइएको उनको भनाइ छ । कञ्चनपुरमा दुई सय ५९ वटा सामुदायिक विद्यालयमा ८० हजार एक सय १५ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका सूचना अधिकारी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । रासस
दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक आठ दशमलव २८ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ७९ अङ्कमा कायम भएको हो । यसरी बजार घट्दा २८ लाख ७० हजार कित्ता सेयर ९२ करोड रुपैयाँमा कारोबार भएको छ । जसमा सबैभन्दा बढी सेयर कारोबार गर्नेमा शिवम् सिमेन्ट रेहेको छ । कम्पनीको आज ४ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज बैंकिङ, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । नेप्सेका अनुसार बैंकिङ समूह शून्य दशमलव ५४, निर्जीवन बीमा समूह एक दशमलव ६९ र व्यापार समूह चार दशमलव ०४ अङ्कले बढेको छ । आज सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक ४२ दशमलव १२ र जलविद्युत् समूहको उपसूचक २८ दशमलव ५८ अङ्कले घटेको छ । वित्त समूह २२ दशमलव ६०, होटल तथा पर्यटन समूह नौ दशमलव ४१, लगानी समूह शून्य दशमलव ६३, र जीवन बीमा समूह १८ दशमलव ६२ अङ्कले घटेको नेप्सेले जनाएको छ । उत्पादन तथा प्रशोधन समूह १९ दशमलव ३७, लघुवित्त समूह १३ दशमलव १४, म्युचुअल फन्ड समूह शून्य दशमलव ११ र अन्य समूह १० दशमलव ९७ अङ्कले घटेको छ । यस्तै, आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा कालिन्चोक दर्शन र सिटिजन्स म्युचअल फण्ड-२ रहेको छ । आज कालिन्चोक दर्शनको सेयर मूद्य २८.३० रुपैयाँ र सिटिजन्स म्युचल फण्ड-२ को सेयर मूल्य ०.७० रुपैयाँले बढेको छ ।
आगामी बजेट अर्थतन्त्र सदृढ बनाउन केन्द्रित हुनेछ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई सुदृढ बनाउन आफूले पहिलो प्राथमिकता दिने जानकारी दिएका छन् । उनले भने, ‘नयाँ बजेटको तयारीमा सरकार जुटेको छ, बजेटको मुख्य ध्येय नै अर्थतन्त्रलाई बलियो बनाउने नै हुनेछ ।’ सम्पादक समाजका पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री डा महतले सत्तागठबन्धन दलबीचको सहमतिमा सरकारको न्यूनतम साझा कार्यक्रमका आउने जानकारी दिए । समाजका पदाधिकारीले अर्थमन्त्री डा महतलाई भेट गरी बधाई एवं सफल कार्यकालको शुभकामना दिएका थिए । सो अवसरमा समाजका संरक्षक किरण वैद्य, अध्यक्ष पुरु रिसाल, वरिष्ठ उपाध्यक्ष पुष्पराज प्रधान, महासचिव श्यामकाजी डोटेल, सचिव नारायण उपाध्याय, सदस्यद्वय विष्णुप्रसाद नेपाल र माधव दुलाल सहभागिता थियो ।
युनाइटेड इन्स्योरेन्सको ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौं । युनाइटेड इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको ५ प्रतिशत वापतको ५ लाख १४ हजार ८० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
मलेसियाबाट फर्किएका धनबहादुर धानुकले पिउने पानी उद्योग सञ्चालन गर्दै
दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीका धनबहादुर धानुकले विदेशबाट फर्केपछि आफ्नै घरमा उद्योग सञ्चालन गरेका छन् । करिब एकदशक समय मलेसियामा सुरक्षागार्डको काम गरेर नेपाल फर्किएका उनले ‘बेदकोट बेसलरी’ नामक पिउने पानी उद्योग सञ्चालन गरेका हुन् । पानी उद्योगसँगै उनले सिरक डसना उद्योगसमेत सञ्चालन गरेका छन् । ‘नौ वर्ष मलेसियामा सुरक्षागार्डका रुपमा काम गरे ।’ उनले भने, ‘अर्काको देशमा १२/१२ घण्टा काम गर्नुभन्दा आफ्नै देशमा १२ घण्टा काम गरे सफल भइन्छ भन्ने सोच आयो अनि घरमै उद्योग सञ्चालन गरेको हुँ ।’ डेढ दशकअघि रोजगारी खोज्दै खाडी मुलुक पुगेका उनले अहिले उद्योगमा पाँच जनालाई रोजगारी दिएका छन् । उनले तीन वर्षअघि ३८ लाख रुपैयाँमा उद्योग स्थापना गरेर काम सुरु गरेको बताए । ‘अहिले पाँच जनाबाहेक मलाई बुवा र श्रीमतीले पनि सहयोग गर्नुभएको छ’, उनले भने । ‘विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाउँछु भनेर लागेको छु ।’ उनले फुर्सदका समय निकालेर कृषि कार्यमा समेत लागेको बताए । ‘फुर्सद भएका बेला आफ्नै खेतमा काम गर्छु ।’ उनले भने, ‘सिजनका बेला गन्नाको जुस पनि बिक्री गर्ने गरेको छु ।’ उनले पुराना सिरक डसनाबाट नयाँ सिरक डसना बनाउने गरेको बताए । ‘अहिले बेदकोट नगरपालिकामा मात्रै बिक्रीवितरण गर्ने गरेको छु’, उनले भने, ‘बाहिर बजारमा अवस्थ्य प्रतिस्पर्धा छ स्थानीय बजारमै सन्तुष्ट छु ।’ स्वदेशमा उद्यम गर्नका लागि थुप्रै समस्या भए पनि अर्काको देशमा मेहनत गर्नुभन्दा आफ्नै देशमा मेहनत गर्न लागेको उनले बताए । ‘यहाँ केही गर्न चाहनेलाई राज्यबाट सहयोग भएको देखिएन’, उनले गुनासो गर्दै भने, ‘कृषिमा पनि गर्नेले कहिले सहुलियत अनुदान पाउँदैन नगर्नेले अनुदान पाएको हुन्छ ।’ उनले यहाँ बजारको मुख्य समस्या रहेको बताए । विदेशबाट फर्केर स्वदेशमा उद्यम गर्नेलाई स्थानीय सरकारले सहयोग गर्ने भने पनि अहिलेसम्म कुनै निकायबाट सहयोग नभएको उनको भनाई छ । यहाँ कृषि गर्न चाहनेका लागि पनि सरकारले वातावरण बनाउन नसकेको उनको दुखेसो छ । ‘आफ्नै खेतबारीमा केही उत्पादन गरौँ भने पनि त्यस्तो वातावरण छैन’, उनले भने, ‘समयमा मलखाद र बीउबिजन पाउन मुस्किल पर्छ ।’ उनले सरकारले समयमै मलखाद र बीउबिजन उपलब्ध गराए विदेशिने युवा रोकिने बताए । ‘अहिले पनि दैनिक सयौँ युवा विदेश गइरहेका छन् यहाँ रोजगारी नपाएर नै हुन’, उनले भने, ‘सरकारले आफ्नो भूमिमा उत्पादन गर्ने उद्यमीका लागि विशेष सुविधा दिनुपर्छ ।’ उनले आफ्नो उद्योगबाट पर्याप्त आम्दानी नभए पनि परिवारको जोहो भइरहेको बताए । रासस
सरकारको न्यूनतम साझा कार्यक्रममा गठबन्धनमा सहमति, साँझ ५ बजे सार्वजनिक हुने
काठमाडौं । सत्तागठबन्धन दलबीच सरकारको न्यूनतम् साझा कार्यक्रमका बारेमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको साझा नीति कार्यक्रमका बारेमा दलका बीचमा अभिमुखीकरण भएको नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । ‘लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएका विषय तथा सुशासनका सम्बन्धमा सहमति भएको छ’, बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘आज ५ बजे सार्वजनिक गर्ने तय भएको छ ।’ उनले गठबन्धनमा आबद्ध दलहरुका बीचमा सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा सैद्धान्तिक छलफल भएको समेत बताए । ‘दलहरुबीच नीति कार्यक्रम कस्तो बनाउने भन्ने विषयमा मूलभूतरुपमा सहमति भएको छ, कतिपय सानातिना सुझाव भए आज साँझसम्म समेटिने र ५ बजे सार्वजनिक हुन्छ’, उनले भने । राष्ट्रपतिको निर्वाचनपछि सत्तागठबन्धनमा फेरबदल आएसँगै गठबन्धन आबद्ध दलहरु न्यूनतम साझा कार्यक्रम बनाउन जुटेका हुन् । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीलगायत सहभागीता रहेको थियो ।