विकासन्युज

दुई करोड प्रकरण : अर्को अडिओ टेप पनि सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठकाे अर्काे अडियो पनि सार्वजनिक भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडियो पनि सार्वजनिक भएको हाे । आइतबार उनकाे प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएकाे थियाे । दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो। दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाका कुमारले भेट्न चाहेको भन्दै प्रसाईंसँग समय मागेका छन् । यस्तै, अर्को एक क्लिपमा दुर्गा प्रसाईंका सहयोगी यदु गौतमसँगको फोन सम्वाद पनि छ । गौतमलाई फोन गर्ने व्यक्तिले दुर्गा प्रसाईंले अडियो प्रकरणबारे सकारात्मक कुरा बोलिदिन र मध्यस्थताको काम गरिदिन आग्रह पनि गरेका छन् । गौतमलाई फोन गर्ने व्यक्ति ढाका कुमार श्रेष्ठ भएको दाबी कपुरबोटले गरेको छ ।

सिटिजन्स बैंकको धारापानी शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखाले नवलपुरमा रहेको मनकामना आधारभुत विद्यालयका सीमान्तकृत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको उक्त शाखाले आउँदै गरेको १६ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत  सहयोग गरेको हो । यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नको लागि एउटा कदम भएको बैंकले जनाएको छ। निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता शैक्षिक प्रदेशका अन्य शाखाहरु मार्फत पनि संचालन गर्ने योजना रहेको जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले धारापानी शाखा सहित देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए।टि।एम। ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजारभन्दा बढि ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

११ वर्षको प्रयासपछि बन्ने भयो तालचोक–बेगनास सडक

लेखनाथ । पोखरा–२७ स्थित तालचोकमा तालचोक–बेगनास सडक स्तरोन्नतिको शिलान्यास हुँँदै गर्दा छेउछाउबाट स्थानीयवासीको आवाज आइरहन्थ्यो, सडक निर्माणमा अनियमता हैन, छिटो र गुणस्तरीय बनाऊ, वर्षौंदेखि खानुपरेको सडकको धुलो र हिलोबाट छुटकारा देऊ । स्थानीयवासी एलके शर्मा भन्दै थिए दिनहुँ सयौँ स्वदेशी तथा विदेशी पर्यटक वेगनास ताल जाने सडक वर्षौँदेखि स्तरोन्नति नहुँदा पर्यटकले कति दुःख भोग्नुप¥यो होला । ‘सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायमा वर्षाैं पुग्यौँ, तर सडक स्तरोन्नतिका कुनै काम अगाडि बढेनन्’, शर्माले भने, ‘११ वर्षको प्रयासपछि सडक स्तरोन्नतिको काम सुरु हुँदा खुसी भएका छौँ, स्तरोन्नतिको हरेक काममा सहयोग र सडकको गुणस्तररमा कमी हुन नदिन ठेकेदार कम्पनीलाई खवरदारी गरिरहन्छौँ ।’ पोखरा–२७ तालचोकदेखि पोखरा–३१ बेगनास तालसम्मको तीन दशमलव आठ किलोमिटरको सडक स्तरोन्नति गर्न विश्व बैंकले एक अर्ब ४९ करोड १५ लाख सहयोग गर्नेछ । उक्त सडक स्तरोन्नति कार्यको शिलान्यास आज बिहान पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका छन् । विदेशी सहयोग लिएरै सडक स्तरोन्नतिको काम थाल्ने आश्वासन पनि स्थानीयवासीको कानमा पटकपटक नपरेको हैन, तर यो वा त्यो बहानामा सडक स्तरोन्नति हुन सकेन भन्ने खबर पनि स्थानीयवासीले पाइरहन्थे । केही महिनाअघि ठेक्का सम्झौता भएको उक्त सडकको निर्माण कार्य रोकिएका खबर पनि स्थानीयवासीले पाएका थिए । कहिले स्थानीय उपभोक्ताबाट नै अख्तियारमा उजुरी त कहिले पोखराका कार्यकारी अधिकृत वीरेन्द्रदेव भारती विवादमा नपर्न ठेक्का सम्झौतामा हस्ताक्षर गर्न नमान्ने खबर उनीहरूले सुन्नुपरेको थियो । पछिल्लो समय विश्व बैंक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरपालिका बीचको सम्झौतापछि सडक स्तरोन्नतिको कार्य अगाडि बढेको छ । ‘विश्व बैंकको सहयोग नै रोकिने अवस्था भएपछि जसरी भए पनि सडक स्तरोन्नति गर्न पर्छ भनेर हर प्रयास गरेँ’, महानगर प्रमुख आचार्यले भने, ‘जे होस् विश्व बैंकको सहयोगले पोखराको तालचोकदेखि बेगनाससम्म एसियाकै नमूना सडक बन्ने भयो ।’ शिलान्यास कार्यक्रममा उनले निर्धारित समयमै सडक निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । ‘तोकिएको समयभित्र निर्माण सम्पन्न गर्नुभयो भने, कन्ट्र्याक्टर र कन्सल्टेन्ट दुवैलाई सार्वजनिक अभिनन्दन गर्नेछौँ’, प्रमुख आचार्यले भने, ‘कन्ट्र्याक्टर र कन्सल्टेन्टले दुई वर्षभित्र सडक सम्पन्न गर्नैपर्छ ।’ पैसाका कारण काम रोकिन नदिने पनि प्रमुख आाचार्यले आश्वास दिए । तालचोक–बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडरसहित चार लेनको हुनेछ । यस खण्डमा पाँच वटा पुल निर्माण गरिनेछन् । सडकको बीचमा एक दशमलव पाँच मिटर चौडाइको डिभाइडर, दुवै छेउमा दुई दशमलव पाँच मिटर चौडाइको पार्किङ, दुवै छेउमा एक मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नालीमाथि दुई मिटर चौडाइ फुटपाथ र सडकमा चार सेमी मोटाइको अस्फाल्ट पिच गरिने बताइएको छ । सडक निर्माणको ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी, काठमाडौंले पाएको छ । उक्त कम्पनीले अनुमानित रकमभन्दा ३८ दशमलव ६४ प्रतिशत कम ७५ करोड ४८ लाख ६७ हजारमा ठेक्का पारेको हो । निर्माण कम्पनीसँग सम्झौता भएको मितिले सात सय ३० दिनमा सम्पन्न गर्ने गरी ४ जुलाई २०२२ मा सम्झौता भइसकेको छ । उक्त कम्पनीका सञ्चालक एवं निर्माण व्यवसायी नारायण भुसालले तोकिएकै समयमा आफूले पाएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘तोकिएकै समयमा काम सम्पन्न गर्न हामी तत्पर छौँ’, उनले भने । स्थानीयवासीको सहयोगले मात्र सडक निर्माण कार्य सफल हुने उनको भनाइ थियो । परियोजनाका परामर्शदाता लक्ष्मण आचार्यले वैशाखको पहिलो सातादेखि सडक स्तरोन्नतिको काम थालिने बताउँदै निर्माणका क्रममा कुनै समस्या आए साझारूपमा समाधान गरिनुपर्नेमा जोड दिनुभयो । पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले सडकको स्तरोन्नतिसँगै व्यवस्थित बसपार्क निर्माणमा जोड दिए । सडक स्तरोन्नति शिलान्याससँगै सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन महानगर प्रमुख आचार्यले आजैदेखि निर्देशन दिएका छन् । महानगरको वडा नं २७, ३० र ३१ मा पर्ने सडकखण्डका सडकको केन्द्रबाट दायाँ–बायाँ ५०/५० फिटभित्र पर्ने घर, टहरा, अस्थायी संरचना हटाउन निर्देशन गरिएको छ । सडक स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र नेपाल सहरी सुशासन र पूर्वाधार परियोजना २०२१ मार्च ५ मा सम्झौता भएको थियो । स्थानीयवासी रामबाबु भण्डारीले सडक निर्माण कार्यमा गुणस्तर कम हुन नदिन स्थानीय उपभोक्ताले दैनिक खबरदारी गर्नुपर्ने र अनुगमन गर्ने इञ्जिनियरलाई गुणस्तरमा ध्यान दिन जोड दिन आवश्यक रहेको बताउनुभयो । अर्का स्थानीयवासी सन्दीप पौडेलले सडक निर्माणसँगै अब बेगनास ताल तथा आसपासका क्षेत्रमा आउने पर्यटकले सडकको सुविधाका साथै पर्यटक बढ्नेमा विश्वास व्यक्त गरे । रासस

प्रभु बैंकका ४ जना सेयरधनी २५ लाख कित्ता सेयर बेचेर बाहिरीदैँ

काठमाडौं । प्रभु बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको सेयर बिक्री गर्ने भएको छ । बैंकले ४ जना संस्थापक सेयरधनीको नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकका संस्थापक सेयरधनी तारा प्रसाद भट्टराईको नाममा रहेको ५ लाख ७० हजार १८३ कित्ता, इसान भट्टराईको २ लाख २८ हजार ३ कित्ता, रञ्जना उदासको ५० हजार कित्ता र गणपति वनस्पति प्रालीको १६ लाख ५९ हजार २४३ कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकको सेयर खरिद गर्न पहिलो चरणमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिएको छ । सो सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । यदि सो समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गरिने बैंकले बताएको छ ।

एफएनसीसीआईको एशोसिएट सदस्यमा उद्योगी अग्रवालको उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोसिएट तर्फको कार्यकारिणी सदस्यमा अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले उम्मेदवारी दिएका छन् । चैत २८ र २९ गते हुने ५७ औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा एसोसिएट कार्यकारिणी सदस्यमा अग्रवालले उम्मेदवारी दिएका हुन् । अहिले बजारमा देखिएका व्यवसायिक तथा उद्योगका समस्या समाधानका लागि पहल कदमी चाल्न उम्मेदवारी दिएको अग्रवालले बताए । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका अतुलनिय रहेको बताउँदै समस्याग्रस्त अर्थतन्त्रलाई समाधानउन्मुखतिर लैजाने उनको भनाइ छ । पछिल्लो समय बैंकको उच्च ब्याजदरका कारण उद्योगधन्दा नै बन्द गर्नुपर्ने स्थिती आएको उनले बताए । आर्थिक विकासलाई बढवा दिने, उद्योग व्यवसायलाई प्रोत्साहित गर्ने नीति निर्माणमा सरकारले सकारात्मक भूमिका खेल्नु पने र व्यावसायिक वातावरण बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । भैरहवा– बुटवल क्षेत्रबाट उदाएका राष्ट्रियस्तरको उद्योगी अग्रवालको कर्मथलो भैरहवा बुटवल क्षेत्र नै हो । अर्घाखाँची सिमेन्ट, श्री स्टील, एशियन कंक्रिटो, मिलानो जुत्ता चप्पल लगायतका उद्योग सञ्चालन गरेका उनले तेज ब्राण्डको तोरीको तेल, नमस्ते ब्राण्डको भटमासको तेल, सनफ्लावर तेल, पाम आयल उत्पादन समेत गर्दै आएका छन् । मिनरल वाटर बोतल लगायत औद्योगिक प्याकेजिङ सामाग्रीको उद्योग पनि उनले चलाइरहेका छन् । मोफसलबाट उठेर राष्ट्रिय उद्योगपति

२ नाबालिका हत्यामा संलग्न २ नाबालिका पक्राउ

काठमाडौं । रुकुम(पूर्व)को पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा मृत भेटिएका दुई नाबालिकाको हत्यामा संलग्न दुई जना नाबालिका पक्राउ परेका छन् । तारामान बुढाका नाबालिका छोरी ११ वर्षकी रिना बुढामगर र ९ वर्षकी कालिमाया बुढामगरको हत्यामा संलग्न सोही ठाउँका २ नाबालिका पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) की प्रहरी नायब उपरीक्षक (डिएसपी) अञ्जना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार रिना र कालिमाया चैत्रको २२ गते सिस्नो टिप्न भनी सोही ठाउँको सेराबाङ भन्ने ठाउँमा गएका थिए । राति अबेरसम्म घर नफर्किएपछि परिवार र आफन्तले खोज तलास गर्दा पनि उनीहरु भेटिएका थिएनन् । २३ गते बिहानै खोज तलास गर्दा उनीहरुको ध्याङरजुङ भीरमा शव फेला परेको थियो । शव फेला परेपछि तालिम प्राप्त कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको बयानको आधारमा ५ जनालाई छोडिएको छ भने हत्यामा संलग्न २ नाबालिकालाई पक्राउ गरी अनुसन्धान जारी राखिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताइन् । ती २ नाबालिकालाई २६ गते रुकुमकोट जिल्ला अदालतमा पेश गरेको र ५ दिनको म्याद थप भई अनुसन्धान कार्य जारी राखिएको छ । रिना र कालिमायालाई उनीहरुले लगाएको गहनाको कारण हत्या गरेको बयान पक्राउ परेका नाबालिकाले दिएका छन् । उनीहरुले लगाएको गहना लुटेर जङ्गलमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । रिना र कालिमाया २ दिदीबहिनीको शवलाई रुकुमकोट ल्याएर शनिबार शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइ सकिएको छ ।

वैशाख १ गतेदेखि गुट्खा, खैनी र चुरोट निषेध

काठमाडौं । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ । केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो । विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको प्रमुख कोइरालाले बारम्बार दोहोर्याउँदै आएका छन् । उनले महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर सङ्कलनलगायतका अभियान सञ्चालन गरिरहेको सुनाए । पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रमुख कोइरालाको भनाइ छ । उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह पनि गरेका छन् । ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरवासीबाट थुप्रै सुझाव आएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिए । ‘विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रुपमा स्थापित गर्नुपर्छ, सहरको सुन्दरता र सभ्यतासित ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ, महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु,’ प्रमुख कोइरालाले भने ।

३ लघुवित्तको वार्षिक साधारण सभा आज बस्ने, २१ प्रतिशतसम्म लाभांश पारित हुँदै

काठमाडौं । विभिन्न ३ लघुवित्त वित्तीय संस्थाको आज चैत्र २८ गते वार्षिक साधारणसभा बस्दैछ । नयाँ सारथी लघुवित्त, किसान लघुवित्त र विजय लघुवित्तको वार्षिक साधारणसभा आज बस्दैछ । किसान लघुवित्तको चौँथो वार्षिक साधारण सभा र्याकेट इभेण्ट्स, सुन्दरबस्ती, बुढानिलकण्ठ ८, काठमाडौंमा विहान ११ बजे बस्नेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद गरी कूल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, नयाँ सारथी लघुवित्तको १४ औँ वार्षिक साधारणसभा होटल जुगल मिरावलचोक धुलिखेल, काभ्रेपलान्चोकमा दिउँसो १ बजे बस्नेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले विजय लघुवित्तँग १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ । यस्तै, विजय लघुवित्तको १० औँ वार्षिक साधारणसभा विजय स्रोत केन्द्र गैँडाकोट नवलपरासीमा बिहान ११ः३० बजे बस्नेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । तीनै लघुवित्तको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।