विकासन्युज

म्याग्दीमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण

म्याग्दी । म्याग्दीका सामुदायिक विद्यालयमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न सुरु गरेका हुन् । महासङ्घमा आबद्ध २८ व्यवसायीले सामूहिकरूपमा लगानी गरी पाठ्यपुस्तक खरिद गरेको र सामुदायिक विद्यालयलाई सहजरूपमा पाठ्यपुस्तक उपलब्ध गराउन बिक्री केन्द्र स्थापना एकद्धारमार्फत बिक्री वितरण गर्न थालिएको महासङ्घका जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिए । उनका अनुसार गत वर्ष पुस्तक बिक्री भएको तथ्याङ्कका आधारमा आगामी शैक्षिकसत्रका लागि म्याग्दीमा कक्षा १ देखि १० सम्मका लागि १४ हजार छ सय ७० विद्यार्थीलाई लक्षित गरेर पुस्तक ल्याइएको छ । जिल्लामा कक्षा ७ को सामाजिकबाहेक अन्य अधिकांश कक्षाका पूरा सेट पाठ्यपुस्तक बेनीमा ल्याइसकिएको छ । अपुग पाठ्यपुस्तकसमेत केही दिनमै बेनी आइपुग्ने महासङ्घले जनाएको छ । जिल्लामा नौ वर्षदेखि व्यवसायीले सामूहिकरूपमा बिक्री केन्द्र स्थापना गरेर सरकारी पाठ्यपुस्तक बिक्री गर्दै आएका छन् । सबै व्यवसायीको अपनत्वमा सामुदायिक विद्यालयलाई सहजरूपमा समयमै पुस्तक उपलब्ध गराउने उद्देश्यले बिक्री केन्द्र सञ्चालन गर्ने गरिएको महासङ्घका पूर्वअध्यक्ष रहनुभएका नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाराम गौतमले जानकारी दिए । उनले गण्डकी प्रदेशमा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर पुस्तक बिक्री गर्ने प्रबन्ध मिलाइएको बताए । यहाँका पुस्तक व्यवसायीले करिब एक करोड रुपैयाँ सेयर रकम सङ्कलन गरेर सामूहिकरूपमा पाठ्यपुस्तक खरिद गरेर बिक्री केन्द्र सञ्चालन गरेका हुन् । अहिलेसम्म जिल्लामा ८० प्रतिशत पाठ्यपुस्तक आइपुगेको र आगामी वैशाखभित्रमा सबै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता जनाएका छन् । स्थानीय तहको केन्द्रसम्मको ढुवानीसमेत आफैँ गर्ने र विद्यालयसँग आवश्यक समन्वय गरेर सहजरूपमा पुस्तक उपलब्ध गराउने व्यवसायीले बताएका छन् । जिल्लामा दुई सय ३३ सामुदायिक विद्यालय सञ्चालनमा छन् । रासस

तोलामा ५ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । आज  सुनको भाउ ५ सयले बढ्यो भने चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो । सोमबार तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्त, तेजावी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ह्याम्सका अध्यक्ष भण्डारीले दिए एफएनसीसीआईको एशोसिएट सदस्यमा उम्मेदवारी

काठमाडौं । ह्याम्स हस्पिटलका अध्यक्ष रामशरण भण्डारीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोसिएट तर्फको सदस्यमा उम्मेदवारी दिएका छन् । मेडिकल व्यवसायीका रुपमा चिनिएका भण्डारीले चैत २८ र २९ गते हुने ५७ औँ वार्षिक साधारण सभा तथा निर्वाचनमा एसोसिएट सदस्यमा उम्मेदवारी दिएका हुन् । अस्पतालको पूर्वाधार, गुणस्तर, सेवा र लगानीमा जोड दिनु पर्ने भण्डारीले बताउँदै आएका छन् । व्यावसायिक रूपमा सफल भण्डारीले सिन्धुपाल्चोकमा ५० शैय्याको अस्पताल सञ्चालन गरिसकेका छन् । यसअघि मेडिकल उपकरणको व्यवसाय गरेका उनले काठमाडौंको ह्याम्स अस्पताल खरिद गरेका हुन् । ह्याम्स हस्पिटललाई अन्तर्राष्ट्रिय स्तरको सेवा दिने अस्पताल बनाउने बताउँदै आएका उनी मेडिकल क्षेत्रका एजेण्डा बोकेर चुनावमा उत्रिएका छन् ।

विदेश पलायन हुन लागेका युवा बाँझो जमिनमा फलफूल खेती गरेर रमाउँदै

ढोरपाटन । युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन् । गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् । गाउँघरमा कुनै अवसर नदेखेर विदेश पलायन हुने तथा बजार झर्नेलाई गाउँमै रोक्न आवश्यक छ । बागलुङको तमानखोला गाउँपालिकाले भने यस वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई गाउँमै रोकी आयआर्जनसँग जोड्न फलफूल खेती गर्न थालेको छ । गाउँपालिकाले यस वर्षदेखि बाँझो तथा खाली जमिनमा फलफूल खेती गर्न सुरु गरेको हो । चालु आर्थिक वर्षमा वडा नं ४ मा एक हजार पाँच सय फलफूलका बिरुवा लगाइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । थोरै मेहनतबाट राम्रो उत्पादन दिने ओखर, स्याउ, उन्नत प्रजातिका आरु र किवीका बिरुवा लगाइएको उनको भनाइ छ । पालिकाले कृषकलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने गरी ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा उपलब्ध गराएको छ । खासगरी बसाइँसराइ रोक्न र गाउँमै रोजगार सिर्जना गर्नका लागि गाउँपालिकाले यो अभियान सुरु गरेको उनको भनाइ छ । अध्यक्ष बुढामगर भन्छन्, ‘यस वर्षदेखि बाँझो जमिनलाई उपयोग गर्ने गरी फलफूलका बिरुवा लगाइएको छ, वडा नं ४ बाट सुरु गरेका छौँ, अर्को वर्षदेखि पालिकाभरि नै लगाउने योजना छ, आफ्नो बारीमा लगाउने कृषकलाई ५० प्रतिशत अनुदानमा बिरुवा दिइएको छ, यसको प्रतिफल आउन केही वर्ष लाग्न सक्छ तर यसले स्थानीयको वातावरणलाई स्वच्छ राख्नसमेत मद्दत पुग्ने छ ।’ व्यवसाय दर्ता गरेर कृषि कर्म गरिरहेका ४० कृषकले फलफूलका बिरुवा व्यावसायिकरूपमा उत्पादन गर्ने गरी बारीमा लगाएको अध्यक्ष बुढामगरको भनाइ छ । कृषि प्राविधिकद्वारा माटो परीक्षण गरी बाँझो जमिनमा बिरुवा लगाइएको उनले बताए । हिउँदे र बर्खे गरी दुई याममा बिरुवा उपलब्ध गराउने गरी पालिकाले बजेट विनियोजन गरेको गाउँपालिकाका कृषि शाखा प्राविधिक सन्देश पराजुलीले बताए । पहिलो चरणमा हिउँदे सिजनमा लगाउने बिरुवा उपलब्ध गराइसकिएको भन्दै अब बर्खे सिजनमा लगाउने बिरुवा जेठ महिनामा उपलब्ध गराइने पराजुलीको भनाइ छ । ‘अमिलो र फलफूल उत्पादन हुनसक्ने वातावरण र हावापानी भएको सम्भावना देखेर हामीले यो प्रयास गरेका छौँ’, उनले भने, ‘यहाँका केही कृषकले दुई वर्ष पहिले लगाएको स्याउको बिरुवा हुर्किसकेको र अबको एक–दुई वर्षमा उत्पादन दिन सक्ने देखिएको छ, यसले गर्दा पनि यहाँको हावापानीमा फलफूल खेती राम्रो हुने सम्भावना धेरै छ ।’ रासस

दुई लाख ३ हजार ८७ कित्ता सेयर बेच्दै कुमारी बैंक

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले दुई लाख ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले गुल्मीको राजन प्रसाद अमात्यको २ लाख कित्ता सेयर र चितवनका टिकारामा सापकोटाको ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य विक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको काठमाडौंको टंगलामा रहेको प्रधान कार्यालयमा निवेदन दिन जानकारी दिएको छ । यस्तै, बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।

गभर्नर अधिकारीले डाके पत्रकार सम्मेलन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पत्रकार सम्मेलन डाकेका छन् । गभर्नर अधिकारीले मंगलबार साढे १ बजे पत्रकार सम्मेलन डाकेका हुन् । राष्ट्र बैंकले लिएको नीतिमाथि शंका र प्रश्न उठ्न थालेपछि गभर्नर अधिकारीले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका बारेमा जानकारी गराउन भनेर पत्रकारलाई डाेकेकाे बताइएकाे छ । गभर्नर अधिकारीमाथि अर्थतन्त्र बिगारेकाे आराेपहरु रहेकाे छ ।

राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको अध्यक्षमा भट्टराई

काठमाडौं । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान)को अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन् । एसोसिएनको प्रथम साधारणसभा तथा राष्ट्रिय महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सभाले एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउतलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्ष (पुरुष)मा  बालगोपाल श्रेष्ठ, उपाध्यक्ष (महिला)मा सरिता भण्डारी, उपाध्यक्ष (कोशी प्रदेश) मा डा.सञ्जीव कुमार यादव, उपाध्यक्ष (मधेस प्रदेश) मा सञ्जय कुमार प्रसाद, उपाध्यक्ष (बाग्मती प्रदेश) दिल बहादुर श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेश) मा डा.प्रफुल्ल चन्द्र यादव, उपाध्यक्ष (लुम्बिनी प्रदेश) मा सालिक राम भुसाल, उपाध्यक्ष (कर्णाली प्रदेश) मा  डा. शंकर प्रसाद रिजाल, उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश) मा लोकराज भट्ट चयन भएका छन् । त्यसैगरी महासचिवमा हृदय नारायण चौधरी, सचिव (पुरुष) मा नारायण खतिवडा, सचिव (महिला) जयन्ती सिवाकोटी, कोषाध्यक्षमा सपना खत्री र सह–कोषाध्यक्षमा राम बाबु यादव चयन भएका छन् । सभाले खुल्ला सदस्यहरूमा किरण न्यौपाने, डा. विवेक गुप्ता, डा. राम पुकार यादव, सदस्य (खस आर्य)मा गीता देवी दाहाल, सदस्य (मधेसी) मा ईन्द्रजीत कुमार यादव, सदस्य (महिला) मा आरती कुमारी चौधरी, सदस्य (दलित) मा धर्विन्द्र बहादुर सार्की, सदस्य (जनजाति) मा ओमराज लिम्बू रहेका छन् ।

उद्योगी व्यवसायी साथीहरु मेरो पक्षमा हुनुहुन्छ, पहिलो चरणमै नतिजा निकाल्छौं : उमेशलाल श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि यहि चैत २९ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनले महासंघको वरिष्ठ उपाध्यक्ष अर्थात अर्को कार्यकालका लागि स्वत: अध्यक्ष हुने व्यक्ति चयन गर्दैछ । उक्त निर्वाचनमा सफल व्यवसायिक व्यक्ति उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । अहिले देखिएका उद्यमी व्यवसायीका समस्या, समाधानको उपाय आसन्न निर्वाचनको विषयमा केन्द्रित रहेर सफल उद्यमी क्वेष्ट फर्मास्युटिकल्सका प्रबन्ध निर्देशक, महासंघको पूर्व उपाध्यक्ष एवं आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठसँग विकासन्युजले गरेको कुराकानी : नेपाल उद्याग वाणिज्य महासंघको निर्वाचन नजिक आईसकेको छ । चुनावी तयारी कस्तो छ ? चुनावको लागि आवश्यक सबै तयारी रणनीतिक रुपमा अघि बढेका छौं । अहिले पनि जिल्ला तथा नगर, वस्तुगत र एसोसिएट्सतर्फका साथीहरुलाई भेट्ने काम भैरहेको छ । मैले करिब १ वर्षयता प्रायः जसो जिल्ला भ्रमण गरेर व्यवसायीका समस्याहरुलाई नजिकसँग बुझेको छु भने सम्बन्धित जिल्ला अध्यक्षहरुसँग पनि कसरी समस्या समाधान गर्ने भन्ने विषयमा निरन्तर संवाद भैरहेको छ । चुनाव भनेको अंकगणितीय खेल हो । उक्त अंक गणितमा हाम्रो समूह चुनाव जित्नेगरी अघि बढेको छ । अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा पहिलो चरणमै चुनाव जित्नेछौं । महासंघमा तपाईंको उम्मेदवारी किन ? पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको साख गिर्दाे छ । तल्लो तहका उद्यमी व्यवसायी तथा व्यापारीको समस्या राम्रोसँग नसुनेको होकी भन्ने गुनासो धेरै आईरहेको छ । म पनि एक मझौला उद्यमी भएकाले नेतृत्वमा पुगेर साना तथा मझौला उद्यमीका हकहितमा काम गर्नुपर्छ भनेर वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु । अहिले महासंघको गिरेको साखलाई माथि उठाउँदै पहिलेको जस्तै उच्च सम्मान भएको संस्थाका रुपमा पुनः स्थापित गराउने दायित्व हामी माथि आएको छ । अहिले देश आर्थिक रुपमा संकटमा छ भने उद्यमी व्यवसायीहरु अझ बढी मारमा पर्नुभएको छ । यस्तो अवस्थामा उद्योगी व्यवसायीको समस्या समाधान गर्दै देशको अर्थतन्त्रलाई मजबुद बनाएर अघि बढाउन एक कुशल पाईलटको रुपमा महासंघलाई क्याप्टेनशीप दिन अघि बढेको छु । सबै जसो उद्योगी व्यवसायीले महासंघले व्यवसायीका एजेण्डा उठान गर्न सकेन । महासंघको साख गिर्यो भनिरहेका छन् । खासमा पछिल्लो समय महासंघको साख किन गिर्दैछ ? पद पाईसकेपछि पदमा पुग्नुभन्दा अघि उद्योगी व्यवसायीहरुबीच गरेका वाचाहरु बिर्सिए । अहिले महासंघमा भएकै त्यहिँ हो । विभिन्न एजेण्डा बोकेर चुनाव लडेका पदाधिकारीहरु पदमा त पुगे तर, अगाडी गरेका वाचाहरु बिर्सिदा महासंघमा यसको गम्भीर असर पर्याे । त्यति मात्रै भएन पदमा पुगेका पदाधिकारीहरुले आफ्नो फेवरमा मात्रै निर्णय गरे जसका कारण महासंघको साख पहिलेको तुलनामा केहि गिरेको जस्तो महशुस भएको छ । नेपालभर आफ्नो सञ्जाल भएको नेपाल सरकारपछिको सबैभन्दा ठूलो संस्था नै महासंघ हो । प्रतिष्ठित इतिहास र ७७ वटै जिल्लामा सञ्जाल पुगेको संस्था भएपनि नेतृत्वमा पुग्ने व्यक्तिहरु स्वार्थकेन्द्रित हुँदा व्यवसायीले जायज माख राख्दा पनि सरकारले सुनुवाई नगरेको अवस्था छ । रहरले नभई बाध्यताले केही समयअघि हामी सरकार र नेपाल राष्ट्र बैंकको गलत नीतिका विरुद्ध सडक आन्दोलनमा उत्रिएका थियौं । तत्कालका लागि व्यवसायीको आन्दोलन त रोकियो तर अहिलेसम्म मागहरु सम्बोधन भएका छैनन् । तसर्थ अबका दिनमा महासंघले व्यवसायीक हकहितमा कुनै जायज माग अघि सार्छ भने सरकारले तत्काल सम्बोधन गर्न सक्ने अवस्था बनाउनु पर्छ । चुनाव जित्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ? आधार के के हुन् ? मतभारको परिणाम हेर्दा मैले चुनाव जित्छु । हाम्रो सबैभन्दा बढी मतभार जिल्लामा छ । जिल्लामा असाध्यै राम्रो पकड रहेका हाम्रा जिल्ला नगरतर्फबाटका उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठले मलाई सहयोग गरेर आफु पुनः उपाध्यक्षमा उठ्नुभएको छ । यो मेरा लागि सबैभन्दा ठूलो सहयोग र समर्थन हो । अर्काे एसोसिएटतर्फ पनि व्यवसायीका समस्या बुझेका भरतराज आचार्य र वस्तुगततर्फ उद्यमी व्यवसायीका समस्या समाधानका लागि सधै अग्रपंतीमा खट्ने मिजासिलो स्वभावका व्यक्ति हेमराज ढकाल हुनुहुन्छ । अर्कोतर्फ वस्तुगत त मैरै आफ्नै क्षेत्र भैहाल्यो । यसरी जिल्ला नगर, वस्तुगत र एसोसिएट गरेर पहिलो चरणको चुनावमै ५० प्रतिशत मतभार मेरै पक्षमा आउने सम्भावना अत्याधिक छ । जितको आधार नै यहि हो । पछिल्लो डेढ वर्षको अवधिमा देशका सबैजसो जिल्लाहरुको भ्रमण गरे । उद्यमी व्यवसायी साथीहरुका समस्या र उक्त समस्या समाधान कसरी गर्ने भन्ने विषयमा राम्रोसँग अध्ययन पनि गरेको छु । हामी उद्योगी व्यवसायीको पीडा बोकेर समस्या समाधान गर्ने समूहको रुपमा आफुहरु अघि बढेका छौं । मेरो विगतमा गरेको काम नै मेरो योग्यता हो । म निडर छु र व्यवसायीका आवाज बोल्छु, पक्कै पनि यहाँहरुले अमुल्य मत दिएर मलाई विजयी गराउनु हुनेछ भन्ने आशा र विश्वास छ । अनि एसोसिएट्सतर्फका उपाध्यक्षका उम्मेदवार भरतराज आचार्यलाई अञ्जन श्रेष्ठ समूहले पनि आफ्नो भनेर दावी गरिरहेका छन् । खासमा आचार्य चाहिँ कसको उम्मेदवार हुन् ? यसमा मैले कुनै जवाफ तथा प्रतिक्रिया दिनुपर्छ जस्तो लाग्दैन । भरतजी सुरुदेखिनै मेरै समूहको उम्मेदवार हुनुहुन्थ्यो र अहिले पनि मेरै समूहमा हुनुहुन्छ । अर्को समूहले एसोसिएट्स उपाध्यक्ष पदमा उठ्ने उम्मेदवार पाउनु भएन अन्तिममा आएर मेरै उम्मेदवारलाई समर्थन गरेर सरेन्डर गर्नुभयो । आफुले उम्मेदवार नपाएर हाम्रो समूहलाई समर्थन गर्ने अनि मेरै हो भने प्रचारबाजी गर्न पाइन्छ र ? तसर्थ भरतजी सुरुदेखिनै मेरै समूहमा हुनुहुन्छ र अहिले पनि मेरो समूहको तर्फबाट एसोसिएट्स उपाध्यक्षका प्रत्याशी हुनुहुन्छ । महासंघको भावी अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि तपाईँको पक्षमा हुनुहुन्छ भन्ने हल्ला छ नि ? उहाँ मेरो पक्षमा हुनु भनेको मेरा लागि अत्यन्तै राम्रो पक्ष हो । म सुरुदेखि नै उहाँको नजिक नै छु । हामी सँगसँगै अघि बढेका छौं । उहाँका र मेरा धेरैजसो कुरा र काम गर्ने शैली पनि मिल्छन् । तपाईंले जुन प्रश्न गर्नुभयो त्यो नै मेरा लागि ठूलो शक्ति हो । उद्योगी व्यवसायी समस्यामा पर्दा पनि महासंघले सरकारसँग लविङ गरेर समस्या समाधान गर्न सकेन भन्ने धेरैको गुनासो र आक्रोश छ । यस्ता विषयमा महासंघ किन सशक्त रुपमा अघि बढन् सकेन ? यस्तो समस्या यसपटक अलि बढी जटिल बनेर देखियो । महासंघमा आवद्ध धेरैजसो साथीहरु बैंक ब्याजदर विरुद्ध सडकमा उत्रिईरहँदा महासंघ नेतृत्वले एकशब्द पनि उद्योगी व्यवसायीको पक्षमा बोलेन । उद्योगी व्यवसायीलाई सहयोगको सट्टा उक्त आन्दोलनमा महासंघको संलग्नता नै छैन भनिदियो । तर, निक्कै नै दबाव सिर्जना भएपछि अन्तिममा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर महासंघका पदाधिकारीहरुले फोटो भने खिचाउनुभयो । यो क्रम अर्थमन्त्री र राष्ट्र बैंकको गभर्नरसँग पनि जारी रह्यो । तर, सदस्यले आन्दोलनताका राखेका समस्याको समाधान भएन । महासंघले लविङ गनुपर्थ्यो लविङ गरिएन बरु फोटो मात्रै खिच्ने काम गरियो । यसले महासंघका सदस्यका समस्या सुनुवाई कसरी हुन्छन् ?  उद्योगी व्यवसायी साथीहरु बैंक विरुद्ध आन्दोलनमा उत्रिनु भयो । त्यसमा म पनि सहभागी भए । तर हाम्रो आन्दोलन बैंकप्रति नभई नेपाल राष्ट्र बैंक र सरकारले ल्याएको नीतिको विरुद्ध हुनुपर्छ । त्यसैले यस्ता आन्दोलनहरु सुरुमा बैंकविरोधिजस्ता देखिएपनि खासगरी विरोध राष्ट्र बैंक विरुद्ध थिए । व्यवसायीका समस्याको समाधानका लागि उद्योगी व्यवसायीले उठाएका जायज मागसँग महासंघले ऐक्यवद्धता जनाउन सक्नुपर्छ । तर, महासंघले हामीसँग आवद्ध रहेका सदस्यको हकमा काम गर्न सकेको छैन । यदि आफ्ना सदस्यका समस्या समाधान नगर्ने हो भने किन चाहियो महासंघ ? चुनाव जित्नुभयो भने के-के गर्नुहुन्छ ? हामीले उठान गर्ने भनेको व्यवसायिक हकहितका एजेण्डा नै हुन् । महासंघको नेतृत्वमा पुग्ने व्यक्तिले व्यक्तिगत स्वार्थ राख्नु हुँदैन । राजनीतिक नेता भएको भए फलाना ठाउँमा पुल बनाउँथे, बाटो बनाउँथेलगायतका एजेन्डा हुन्थे । हामीले क्षेत्रका समस्या सरकारमाझ राखेर स्पष्टसँग बुझाउने र समाधान गर्न दबाब दिने हो । हुन त नेपालका राजनीतिज्ञहरु र कर्मचारीतन्त्रले निजी क्षेत्रलाई नबुझेका होईनन्, तर बुझेर बुझ पचाएको जस्तो गरिएको छ । त्यो प्रवृत्तिलाई चिर्नु आवश्यक छ, यो नै मेरो मुख्य एजेन्डा हो । हाम्रा ऐन नियमहरु नै निजी क्षेत्र मैत्री छैनन् । त्यस्ता नीति नियम परिवर्तन गर्न सरकारसँग लविङ गर्नु जरुरी छ । महासंघमा चुनाव लड्दा प्यानल बनाएरै लड्नुपर्ने हो ? हुन त महासंघजस्तो संस्थामा चुनावै नभएको राम्रो । तर, हामी सबैको महत्वाकांक्षाका कारण चुनाव हुन्छ । जुन प्यानल बनाएरै हुन्छ । यो प्रक्रिया धेरै अघिदेखिको हो । करिब ५७ वर्षको इतिहासमा जम्मा ३ पटकमात्रै निर्विरोध निर्वाचित पदाधिकारी आएका छन् । त्यसपछि भने प्यानल बनाएरै चुनाव गरियो र त्यहि अनुसार नतिजा आयो । मैले पनि ५ ओटा चुनाव फेस गरिसकेको छु । केहिमा हारेँ भने केहिमा जिते । तर म चुनावदेखि भने डराउन्न । तर, प्यानल नै बनाएर चुनाव लड्दा सबैजना पदाधिकारीहरु आफ्नै प्यानलको नआएको खण्डमा केहि काम गर्न भने अप्ठ्यारो हुन्छ । उद्योगी व्यवसायी (मतदाता) ले तपाईँलाई नै भोट किन दिने ? मसँग ४५ वर्षको व्यवसायीक अनुभव छ । मैले एकदमै तल्लो तहबाट व्यवसायीक यात्रा सुरु गरेँ । जसका कारण मैले साना ठुला सबै प्रकारका उद्यमी व्यवसायीलाई एकै प्रकारले हेर्छु । अझ भनौ म एकदमै ईमान्दार मान्छे पनि हो । म कुर्सीको लागि नै जे पनि गर्ने र कुर्सी पाएपछि मतदातालाई बिर्सने भन्ने मानसिकताबाट बाहिर भएको मान्छे हुनाले अन्य भन्दा म योग्य उम्मेदवार हुँ । त्यसैले मलाई नै भोट दिएर व्यवसायीक हकहितको इतिहास रचौं भन्न चाहन्छु ।