२ नाबालिका हत्यामा संलग्न २ नाबालिका पक्राउ
काठमाडौं । रुकुम(पूर्व)को पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा मृत भेटिएका दुई नाबालिकाको हत्यामा संलग्न दुई जना नाबालिका पक्राउ परेका छन् । तारामान बुढाका नाबालिका छोरी ११ वर्षकी रिना बुढामगर र ९ वर्षकी कालिमाया बुढामगरको हत्यामा संलग्न सोही ठाउँका २ नाबालिका पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) की प्रहरी नायब उपरीक्षक (डिएसपी) अञ्जना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार रिना र कालिमाया चैत्रको २२ गते सिस्नो टिप्न भनी सोही ठाउँको सेराबाङ भन्ने ठाउँमा गएका थिए । राति अबेरसम्म घर नफर्किएपछि परिवार र आफन्तले खोज तलास गर्दा पनि उनीहरु भेटिएका थिएनन् । २३ गते बिहानै खोज तलास गर्दा उनीहरुको ध्याङरजुङ भीरमा शव फेला परेको थियो । शव फेला परेपछि तालिम प्राप्त कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको बयानको आधारमा ५ जनालाई छोडिएको छ भने हत्यामा संलग्न २ नाबालिकालाई पक्राउ गरी अनुसन्धान जारी राखिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताइन् । ती २ नाबालिकालाई २६ गते रुकुमकोट जिल्ला अदालतमा पेश गरेको र ५ दिनको म्याद थप भई अनुसन्धान कार्य जारी राखिएको छ । रिना र कालिमायालाई उनीहरुले लगाएको गहनाको कारण हत्या गरेको बयान पक्राउ परेका नाबालिकाले दिएका छन् । उनीहरुले लगाएको गहना लुटेर जङ्गलमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । रिना र कालिमाया २ दिदीबहिनीको शवलाई रुकुमकोट ल्याएर शनिबार शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइ सकिएको छ ।
वैशाख १ गतेदेखि गुट्खा, खैनी र चुरोट निषेध
काठमाडौं । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको प्रेसर हर्न बजाउन निषेध गर्न लागिएको उनको भनाइ छ । केही हप्ताअघि महानगरले धार्मिक सङ्घसंस्था, साउन्ड सिस्टम प्रतिनिधिलगायतलाई बोलाएर ध्वनि प्रदूषण नियन्त्रण एवं धुमपान र गुट्खा, खैनी खाएर सहर फोहोर गर्ने गरेका विषयमा छलफल गरेको थियो । विराटनगर कोशी प्रदेशको राजधानीसँगै प्रदेशको एकमात्रै महानगरपालिका भएकाले यसलाई व्यवस्थित र सभ्य बनाउने दायित्व सबैको भएको प्रमुख कोइरालाले बारम्बार दोहोर्याउँदै आएका छन् । उनले महानगरले सरसफाइ, फुटपाथ नियन्त्रण, सडकलाई पार्किङ निषेध, कर सङ्कलनलगायतका अभियान सञ्चालन गरिरहेको सुनाए । पार्किङस्थललाई व्यवस्थित बनाउने कार्य भइरहेकाले केही दिनभित्रै विगतको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गरिने प्रमुख कोइरालाको भनाइ छ । उनले महानगर क्षेत्रभित्र प्रेसर हर्न नबजाइदिन सरोकारवालालाई आग्रह पनि गरेका छन् । ध्वनि प्रदूषण नियन्त्रणका लागि महानगरवासीबाट थुप्रै सुझाव आएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिए । ‘विराटनगर हामी सबैको हो, यसलाई हामी सबै मिलेर व्यवस्थित र सभ्य सहरका रुपमा स्थापित गर्नुपर्छ, सहरको सुन्दरता र सभ्यतासित ध्वनि प्रदूषण पनि जोडिएको हुन्छ, महानगरले अघि सारेको अभियानमा सबैको साथ रहने मैले विश्वास लिएको छु,’ प्रमुख कोइरालाले भने ।
३ लघुवित्तको वार्षिक साधारण सभा आज बस्ने, २१ प्रतिशतसम्म लाभांश पारित हुँदै
काठमाडौं । विभिन्न ३ लघुवित्त वित्तीय संस्थाको आज चैत्र २८ गते वार्षिक साधारणसभा बस्दैछ । नयाँ सारथी लघुवित्त, किसान लघुवित्त र विजय लघुवित्तको वार्षिक साधारणसभा आज बस्दैछ । किसान लघुवित्तको चौँथो वार्षिक साधारण सभा र्याकेट इभेण्ट्स, सुन्दरबस्ती, बुढानिलकण्ठ ८, काठमाडौंमा विहान ११ बजे बस्नेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद गरी कूल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, नयाँ सारथी लघुवित्तको १४ औँ वार्षिक साधारणसभा होटल जुगल मिरावलचोक धुलिखेल, काभ्रेपलान्चोकमा दिउँसो १ बजे बस्नेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले विजय लघुवित्तँग १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रस्ताव समेत पारित गर्नेछ । यस्तै, विजय लघुवित्तको १० औँ वार्षिक साधारणसभा विजय स्रोत केन्द्र गैँडाकोट नवलपरासीमा बिहान ११ः३० बजे बस्नेछ । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । तीनै लघुवित्तको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार ङादी ग्रुप पावर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको बोनस सेयर नेप्सृमा सूचीकृत भएको हो । ङादी ग्रुप पावरको ४.७५ प्रतिशत बोनस वापतको ८ लाख ३९ हजार ४८२.२२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनस वापतको २ लाख ३० हजार ८२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २.४० प्रतिशत बोनस सेयर र ५.२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
दोल्ती पावरको आईपीओ बिक्री खुला, कति कित्ता खरिद गर्ने ?
काठमाडौं । दोल्ती पावर कम्पनीले आज चैत २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ७२ हजार ९७२ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ७ हजार २९८ कित्ता वैदेशिक रोजगारीमा रहेको नेपाली र ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ । बाँकी १२ लाख ७१ हजार ८६१ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् कम्पीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयरमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
फोनपेको नयाँ वर्ष अभियान : क्युआर मार्फत भुक्तानी गर्दा स्कुटर र १ तोला सुन उपहार
काठमाडौं । फोनपेले नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा ‘फोनपे गर्ने हो १ क्युआरमा उपहार जित्ने हो १’ योजना ल्याएको छ । चैत २९ देखि वैशाख ५ गतेसम्म नेपाल अधिराज्यभर लागू गरिएको यस योजनामा व्यवसायी तथा ग्राहकहरू सहभागी भई १ तोला सुन र स्कुटर प्राप्त गर्न सक्ने फोनपेले जनाएको छ । योजना अवधिभित्र मोबाइल बैंकिङ एप वा वालेटबाट फोनपेको क्युआर प्रणाली प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले ‘लक्की ड्र’मार्फत इप्लुटो ब्रान्डको विद्युतीय स्कुटर जित्न सक्नेछन् भने भुक्तानी प्राप्त गर्ने व्यवसायीले ‘लक्की ड्र’मार्फत १ तोला सुन जित्न सक्नेछन् । फोनपेको नेपालमा डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने र प्रयोगकर्ताहरूलाई क्युआर भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्य अनुरूप योजना ल्याइएको फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले बताए । यसको लक्ष्य प्रयोगकर्ता र व्यवसायीहरूलाई समान रूपमा डिजिटल भुक्तानीको सजिलो, छिटो र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहित गर्ने भएको उनले बताए ।
युवाको उमेर १६ देखि ३५ वर्ष राख्ने कि !
काठमाडौं । नेपालमा युवाको उमेर घटाउने बारेमा छलफल भएको छ । अहिले युवाको उमेर १६ देखि ४० वर्ष मानिँदै आएकामा अब युवाको १६ देखि ३५ वर्ष कायम गर्नेमा छलफल भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार सरकारी र विभिन्न सरोकारावाला निकायबीच युवाको उमेर पाँच वर्ष घटाउने छलफल सुरु भएको हो । ‘सयुक्त राष्ट्र सङ्घ र विश्वमा भएको अभ्यासका आधारमा नेपालमा पनि युवाको उमेर कम गर्ने भन्ने बारेमा छलफल सुरु भएको छ’, उनले भने, ‘१६ देखि ३५ वर्षबीचको उमेरलाई युवा भन्ने विषयमा छलफल भएको हो । चाँडै निष्कर्षमा पुग्छौँ ।’ राष्ट्रिय युवा परिषद् ऐन २०७२ र राष्ट्रिय युवा नीति २०७२ ले युवाको उमेर १६ देखि ४० वर्षको उमेर समूहलाई परिभाषित गरेको छ । संयुक्त राष्ट्रसङ्घ र विश्व बैंकले युवाको उमेर १५ देखि २४ वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको छ । कार्यकारी उपाध्यक्ष बस्नेतले अधिकांश देशमा युवाको उमेर ३५ वर्षसम्म राखिएकाले नेपालमा पनि १६ देखि ३५ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषित गर्नुपर्ने सुझाव आएको बताए । विभिन्न देशमा युवाको परिभाषा पनि फरक फरक रहेको छ । भारतमा १६ देखि २९, चीनमा १८ देखि ३५, बङ्गलादेश र फिलिपिन्समा १५ देखि ३०, जर्मनीमा १४ देखि २६, दक्षिण अफ्रिकाले १५ देखि २९ वर्षका उमेर समूहलाई युवाका रुपमा परिभाषित गरेका छन् । नेपाल पनि सरकारका विभिन्न निकायमा युवा उमेर समूहबारे अझै एकरूपता कायम हुन सकिरहेको छैन । ‘युथ भिजन–२०२५’ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेर समूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ । युवाको जनसङ्ख्या बढ्यो नेपालमा युवाको जनसङ्ख्या बढेको छ । दश वर्षमा २ दशमलव २१ प्रतिशतले युवाको जनसङ्ख्या बढेको पाइएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत पुगेको छ । अर्थात् युवाको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार एक सय ७३ रहेको छ । यसभन्दा अघि २०६८ सालको जनगणनामा युवाको जनसङ्ख्या ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड ६ लाख ८९ हजार आठ सय ४२ रहेको थियो । रासस
अझै केही दिन कोरोना सङ्क्रमण बढ्छ, सतर्क रहौं : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण अझै केही दिन बढ्ने बताए । ‘अहिलेको अवस्था हेर्दा अझै केही दिन सङ्क्रमण बढ्ने छ, उनले भने, ‘त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर सङ्क्रमण बच्नुपर्दछ ।’ मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण केही दिन अझै बढ्ने भएकाले कोरोना भाइरस विरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण केही दिनयतादेखि उकालो लागेको छ । आज एकै दिन दुई हजार पाँच सय ६६ जनामा गरिएको परीक्षणमा एक सय २४ जना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै, आज २९ जना कोरोना सङ्क्रमणबाट उपचार गरी घर फर्किएका छन् । अहिलेसम्म सक्रिय सङ्क्रमित चार सय ४४ जनामा पुगेको छ । काठमाडौ् उपत्यकामा २१ जना आइसोलेसन र १० जना सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेका छन् । नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवी. १.१६ देखापरेका छ । शून्यमा झरेको सङ्क्रमण नेपाल भारत खुला सिमानाका कारणले सङ्क्रमितहरु नेपाल प्रवेश गर्नाले फैलिएको हो ।