विकासन्युज

स्वास्थ्य क्षेत्रको सहजताका लागि स्वयमसेविकालाई साइकल वितरण

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले स्वास्थ्य स्वयमसेविकालाई साइकल वितरण गरेको छ । सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिका–७ ले १३ वटा वडाका स्वास्थ्य स्वयमसेविका र दुईजना कार्यालय सहयोगीलाई साईकल वितरण गरेको वडाध्यक्ष थानेश्वरप्रसाद भट्टले बताए । ‘स्वयमसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस् भनेर साइकल वितरण गरेका हाँै’, अध्यक्ष भट्टले भने, ‘यसले स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज हुनेछ ।’ त्यसैगरी दुईजना कार्यालय सहयोगीलाई पनि कार्यालयको कामकाजमा सहयोग पुगोस् भनेर साइकल वितरण गरेको उनले बताए । स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उद्देश्यले साइकल वितरण गरेको बेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले बताए । ‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ’, उनले भने, ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।’ वडा कार्यालयको एक लाख ५० हजार रुपैयाँ बजेटमा साइकल वितरण गरिएको हो । रासस

जिम्मेवारी सुम्पिँदै अध्यक्ष गोल्छाले भने- महासंघमा कोरिएका अक्षरहरु मानसपटलमा आइरहन्छन्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघमा कोरिएका अक्षरहरु आफ्नो बुबाको स्मृतिस्वरुप मानसपटलमा आइरहने बताए । मंगलबार महासंघको ५७औं वार्षिक साधारणसभामा महासंघको जिम्मेवारी सुम्पिँदै उनले सो बताएका हुन् । ‘महासंघ मेरो मन्दिर हो र सधैं मन्दिरका रुपमा रहिरहने छ, यहाँ कोरिएका अक्षरहरु मेरो पूजनीय बुबाको स्मृति मानसपटलमा आइरहन्छन्,’ उनले भने । साथै, उनले आफ्नो कार्यकाल चुनौतिपूर्ण रहेको बताउँदै कोरोना महामारी लगायत रुस र यूक्रेनका कारण काम गर्ने वातावरणमा असहज परिस्थिति आएको बताए । राजनीतिक अस्थीरताका कारण आफ्नो कार्यकालमा ३ जना प्रधानमन्त्रीलाई स्वागत गर्नुपर्ने स्थिति आएको उनले स्मरण गरे । ‘हामीभन्दा कमजोर मुलुक आर्थिक रुपमा समुन्नत भैसके तर हामी पछि धकेलिनु परेको छ, उद्यम व्यवसाय चल्न सकेनन् भने बैंकहरु चल्न सक्दैनन् भनेर बैंकहरुले हेक्का राख्नु पर्छ, निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन लगायत पर्चा सबैले देखिने गरि संसद र संसद बाहिर राख्न आग्रह छ,’ उनले भने । त्यस्तै, जीडिपीमा ८१ प्रतिशत योगदान निजी क्षेत्रको रहेको छ । साना उद्यमीलाई बिना धितो कर्जा दिन व्यवस्था सरकारले गरेको छ । साना तथा मझौला सम्मेलन गरेर १० बुदे घोषणापत्र जारी गरेको छ । बैंकर्स संघसङ्ग छलफल गरेर धेरै ठाउँका विवाद समाधान गरिएको बताउँदै अध्यक्ष गोल्छाले व्यापार घाटा थेग्न नसक्ने अहिलेको अवस्थालाई तत्काल समाधान गनुपर्ने बताए । बिजुली किन सस्तो हुन सकेन ? व्याज किन धेरै उतारचढाव हुन्छ ? यो विषयमा सरकारले सोच्नु पर्ने भैसकेको समेत उनले बताए । विदेशी कम्पनी स्वदेश आएर सँचालन हुदा नाफा भएपनि बिदेशी लगानीका कम्पनी आउन नमानेको जानकारी गराउँदै यो विषयमा सरकार उदार भएर काम गर्नु पर्ने उनको भनाई छ ।

उत्पादनमा आधारित भएर अनुदान दिन सरकार तयार छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पादनमा आधारित भएर अनुदान दिन सरकार सकारात्मक रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । निजी क्षेत्रको समस्या समाधान गरेर मात्रै अर्थतन्त्रको समस्या समाधान हुने भन्दै उनले राष्ट्र बैंक, अर्थमन्त्री र प्रधानमन्त्री कार्यालयबीच समस्या समाधान गर्न पटक/पटक छलफल भएको बताए । ‘अर्थतन्त्र सुधार गर्न सम्पूर्ण तागत लगाइरहेको छ, जसले गर्दा अर्थतन्त्रमा सुधार भएको छ राजस्व डेढ अर्ब, रेमिटेन्स १ खर्ब संकलन भैरहेको छ’, उनले भने, ‘बैंकको ब्याजदर घटाउन सरकारले काम गरिरहेको छ, राज्य निजी क्षेत्रसङ्ग सहकार्य गर्न र संविधानमा उल्लेख भएका व्यवस्था कार्यान्वयन गर्न तल्लीन छ ।’ यस्तै, निजी क्षेत्रको प्रोटोकलको समस्या समाधान गर्न तयार रहेको भन्दै अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रमा प्रोटोकल कायम गर्ने बताए ।

मौद्रिक नीतिमार्फत ब्याजदर खुकुलो हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मौद्रिक नीति मार्फत बैंकको ब्याजदर खुकुलो बनाइने संकेत गरेका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मौद्रिक नीति मार्फत ब्याजदर घटाईने संकेत गरेका हुन् । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउँदै अर्थतन्त्रमा समस्या देखिएपनि चिन्तित हुनुपर्ने स्थिति भैनसकेको दाबी गरे । ‘राष्ट्र बैंकले श्रीलंकाको उदाहरण दिएर मौद्रिक नीति ल्याउँदा आयातमा कडाइ गरेपछि सुधार भयो, तर मौद्रिक नीतिमा कडाई गर्दा अहिले सटर बन्द भएका छन् , खुलेका पसल पनि घाटामा छन् , अब मौद्रिक नीतिमार्फत ब्याजदर खुकुलो बनाउनेतर्फ अग्रसर हुन्छौँ, उनले भने । यस्तै, उनले ब्याजदर उच्च भएका बेला लागत बढ्दा समस्या भएको भन्दै ब्याजदर घटेपछि समाधान हुने बताए । यसैगरी, उनले घरजग्गा, निर्माण क्षेत्रमा देखिएको मन्दीलाई अब खुकुलो बनाउने तयारी सरकारको भएको भन्दै कर्जा लिएपछि भुक्तानी गर्नुपर्ने बताए । ‘कर्जा लिएपछि तिर्दिन भन्न मिल्दैन,बरु ब्याज, सावा तिर्न समय थप गर्न सकिन्छ तरतिर्दिन भन्न मिल्दैन’, उनले भने- ‘सरकारले सधै ऋण लिएर काम गर्न सम्भव छैन, त्यसैले लगानी बढाएर राजस्व वृद्धि गर्नु पर्नेछ ।’ उनले सरकारले अनावश्यक खर्च हदैसम्म कटौती गरेर पुँजीगत खर्चलाई बढाउने भन्दै उनले अल्पकालीन समस्या समाधान गर्न सरकार केन्द्रीत भएको बताए ।

४ वर्षपछि खुल्यो बझाङमा बर्थिङ सेन्टरको ताला

बझाङ । खप्तडछान्ना गाउँपालिका – ६ बयानामा विवादका कारण चार वर्षदेखि बन्द भएको बयाना बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । तत्कालीन पाटादेवल गाविसबाट दुई लाख ३१ हजार रुपैयाँ र गाउँपालिकाको १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त सेन्टर उद्घाटन नहुँदै विवादका कारण बन्द भएको थियो । गाउँमा छलफल नै नगरेर जानकारी बिना नियम विपरीत बर्थिङ सेन्टर सञ्चालन गरेको र जग्गादातालाई कार्यालय सहयोगी राख्नुपर्ने माग राख्दै २०७६ कात्तिक महिनामासो सेन्टरमा तालाबन्दी गरिएको थियो । सञ्चालनको तयारीमा रहेको सेन्टरमा तालाबन्दी गरेपछि भौतिक तथा स्वास्थ्य सामग्री प्रयोगविहीन बन्नुका साथै सेन्टरको झ्याल ढोकासमेत तोडफोड भएका थिए । सेन्टर निर्माण भएपछि दुई दिन मात्रै सञ्चालनमा आयो । उद्घाटन र औषधि खरिद गरी सञ्चालनमा आएको सेन्टर तेस्रो दिनदेखि जग्गादाता झुरु थापाले ताला लगाएका थिए । निवर्तमान महिला सदस्य कृष्णादेवी थापाका अनुसार सेन्टर बन्द भएपछि गाउँका गर्भवती र सुत्केरी महिला मारमा परे । सेन्टर अलपत्र परेको र सुत्केरी महिलाको समस्या यथावत् रहेको गुनासो आएपछि गाउँपालिकाले सोमबार स्थानीयसँग समन्वय गरेर सञ्चालनमा ल्याउने निर्णय गरेको हो । सोमबार खप्तड छान्ना गाउँपालिका – ६ का वडाध्यक्ष तेजबहादुर खड्काको अध्यक्षतामा सेन्टर सञ्चालनको विषयमा छलफल गरिएको बताइएको छ । सेन्टर निर्माण गर्नुअघि जग्गादाताको घरबाट एक जनालाई कर्मचारी बनाउने सहमति भएकाले उक्त सहमति अनुसार नै जग्गादाता थापाको घरबाट एक जनालाई कर्मचारी बनाउने निर्णय गरिएपछि ताला खोलिएको गाउँपालिकाका उपाध्यक्ष विष्णु थापाले बताए । उपाध्यक्ष थापा, सम्पूर्ण वडाका वडाध्यक्ष र स्थानीयवासीको रहोवरमा सेन्टर सञ्चालन गर्ने सहमति भएको वडाध्यक्ष तेजबहादुर खड्काले जानकारी दिए । गाउँमा सुत्केरी व्यथा लागेका महिलालाई बोकेर टाढा रहेको स्वास्थ्य संस्थामा लानुपर्ने बाध्यता रहेकोमा अब यो समस्या हट्ने बताइएको छ । रासस

प्रधानमन्त्रीलाई उद्योगमन्त्रीको आग्रह- तत्काल ब्याजदर घटाऔं

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्र बिना सरकारले काम गर्न नसक्ने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘निजी क्षेत्रको सहयोग बिना सरकारले काम गर्न सक्दैन, निजी क्षेत्रका सबै समस्या समाधान गर्न सरकार तयार रहेको छ’, उनले भने- ‘देशलाई समृद्धिमा लैजान हातेमालो गर्न तयार छु ।’ यस्तै, उनले अहिले देश चुनौतीपूर्ण अवस्थामा पुगेको बताउँदै आयात निर्यातमा ठूलोा ग्याप रहेको बताए । उद्योगमन्त्री रिजालले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको ब्याजदरका कारण निजी क्षेत्रका उद्योगी व्यवसायीलाई समस्या थपिएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीलाई तत्काल ब्याजदर घटाउन आग्रह समेत गरे । यस्तै, उनले अहिलेको मन्दीलाईलाई सरकारले हेरेर मात्रै नबस्ने भन्दै काम गरेर देखाउने दाबी गरे ।

उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक

धनुषा । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारबापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक छन् । गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो । उपचार भएपछि उनलाई अस्पतालले गत फागुन २० गते घर फर्काउने निर्णय गरेको थियो । तर अस्पतालमा उपचारवापतको खर्च तिर्न नसक्दा मन्तोरिया घर जान सकेका छैनन् । उनी अस्पतामै तीन छोराछोरीसहित बन्धक छन् । उनले अस्पताललाई उपचारवापतको छ लाख ६९ हजार रुपैयाँ तिर्न बाँकी छ । सो रकम तिर्न नसक्दा मन्तोरिया अस्पतालबाट घर फर्कन नपाएका हुन् । उनीसँगै वृद्ध ससुरापनि अस्पतालमै रहेका छन् । ‘हमरा सभके खाइला नै पुगै है, अतेक रुपैयाँ तिरक घर केना जेबै, हमर बालबच्चाके केना पलेतै हौँ (हामीलाई खानै पुग्दैन । यति पैसा कहाँबाट तिरेर घर जानु, मेरो बालबच्चाको लालनपालन कसरी हुन्छ ?’, मन्तोरिया रायले रुँदै भने । कान्छो छोराको बालपोषण भत्ता लिन गत माघ १२ गते मन्तोरिया सबैला बजारको एक बैंकमा खाता खोल्न गएका थिए । बैंकमा खाता खोलेर पैदल फर्किरहेका बेला सत्तोखर गोविन्दपुर सडकखण्डमा बा६१प ६६३३ नंको मोटरसाइकलले उनलाई ठक्कर दियो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको ठक्करबाट सडकमा लडेकी मन्तोरियालाई मोटरसाइकलले ४०–५० मिटर परसम्म घिसारेको थियो । यसरी सडकमा घिसारिएपछि उनको शरिरको विभिन्न भागमा चोट लाग्यो । मोटरसाइकल धनुषाकै सहिदनगर नगरपालिका–१ बेमर्खी टोलका २५ वर्षीय दीपककुमार रायले चलाएका थिए । सोही ठाउँका ३५ वर्षीय गजेन्द्र यादव पछाडि सवार थिए । चालक राय तत्कालै समातिए । पछाडि बसेका यादव भने अहिलेसम्म फरार छन् । चालक रायको घरपरिवारको अवस्था दयनीय छ । उनी मन्तोरियालाई भेट्न अस्पतालसमेत आएनन् । दुर्घटनापश्चात मन्तोरियाका ससुरा रामप्रसादले प्रहरीमा मोटरसाइकलका चालक राय र पछाडि सवार यादवमाथि किटानी जाहेरी दर्ता गराएका थिए । अङ्गभङ्ग मुद्दामा चालक राय हाल जिल्ला अदालत धनुषाको आदेशमा सिन्धुली कारागारको थुनामा छन् । मन्तोरियाको परिवारले जसोतसो ऋण काढेर र समाजबाट चन्दा उठाएर पाएको झन्डै १० लाख रुपैयाँ अस्पताललाई तिरेको छ । तर बाँकी पैसो तिर्न उनीसित कुनै उपाय छैन । मन्तोरिया आफूलाई घर फर्किने वातावरण बनाइदिन हारगुहार गर्दै आएका छन् । सुरुमा दुर्घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको प्रादेशिक अस्पतालले यसरी नै गम्भीर प्रकृतिका बिरामी घाइतेलाई उपचार नगरी निजीमा सिफारिस गर्ने गरेका छन् । अहिले ३० वर्षीया मन्तोरियासँगै दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन् । मन्तोरियाको सम्पत्तिका नाममा केवल दुई धुर घडेरीमा छाप्रो छ । उनीसँगै आठ वर्षीया छोरी वर्षा, पाँच वर्षीय छोरा महेश्वर, तीन वर्षीय उमेश र ७१ वर्षीय ससुरा रामप्रसाद अस्पतालमामै बस्न बाध्य छन् । रामप्रसादले जसोतसो बुहारीको हेरचाह गर्नुभएको छ, तीन नाति–नातिना सम्हालेका छन् । मन्तोरियाका पति रामबहादुर राय वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन् । गत कात्तिकमा रामबहादुर कतार गएदेखि मन्तोरियाले घर सम्हाल्दै हुनुहुन्थ्यो तर, दुर्घटनामा परेदेखि सारा परिवार नै नराम्ररी बिथोलिएको छ । पति रामबहादुरको पनि कमाइ छैन । उनी गएको कम्पनी बन्द भएर घर फर्किने अवस्था आएको मन्तोरियाले सुनाए । अस्पतालका व्यवस्थापक सञ्जय मण्डलले मन्तोरिय अस्पताल भर्ना हुँदा बाँच्ने सम्भावना निकै कम भए पनि अस्पतालको समुचित रेखदेख र उपचारले उनलाई बचाएको बताए । मण्डलका अनुसार मन्तोरियाको पेटमा तीनवटा शल्यक्रिया भएको छ । केही भाग आन्द्रा काटेर हटाइएको छ । दुवै खुट्टाको घुँडादेखि पैतालाको बीचको भागको हाँड भाँच्चिएकाले शल्यक्रिया गरी दुवैमा स्टिल जडान गरिएको छ । दायाँ हात पनि भाँच्चिएको थियो । अस्पतालका व्यवस्थापक मण्डलले भने, ‘जुन अवस्थामा मन्तोरिया भर्ना हुनुभो । बाँच्ने अवस्था न्यून थियो । तर हामीले भरपुर प्रयास गरेर सबै शल्यक्रिया सफल पार्यौँ । दुई महिनापछि उहाँ अलिअलि हिँड्ने, बोल्ने अवस्थामा आउनुभएको छ’, ठक्कर दिने र घरपरिवारले उपचार खर्च तिर्न नसक्दा उनको उपचारमा अस्पताल नराम्ररी फसेको छ । मन्तोरिया देवीको विषयमा थाहा पाएर सबैला नगरपालिकाका प्रमुख कारीराम यादव सोमबार अस्पताल पुगेर अवस्था बुझेका छन् । उनले दुई दिनभित्र मन्तोरियालाई अस्पतालबाट मुक्त गराएर लग्ने आश्वासन दिएका छन् । नगरप्रमुख यादवले भने, ‘यस विषयमा सबैला कार्यपालिकाको बैठक राखेर छलफल गर्छौँ, उपचार खर्चबारे के गर्न सकिन्छ उचित निर्णय गर्छौँ । यो घटनालाई गम्भीरतापूर्वक लिएका छौँ ।’ त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो । टोलीले अस्पतालको अनुगमनसमेत गरेको छ । रासस

‘अब जहाँ फोहोर त्यहाँ साखः ग्रुपले उत्पादन गर्छ कम्पोस्ट मल’

काठमाडौं । नेपालका सबै राजनीतिक दलहरुको साझा मुद्धा छ, किसानलाई रासायनिक मल सहज रुपमा उपलब्ध गराउने । निर्वाचनको बेला सबै राजनीतिक दलहरुले चनुावी घोषणा पत्रमै किसानलाई सहज रुपमा रासायनिक मल उपलब्ध गराउने लेखेका छन् । तर, किसानहरुले अहिलेसम्म प्रयाप्त मात्रामा रासायनि मल पाएका छैनन् । अब राजनीतिक दलहरुले रासायनिक मलको एजेण्डा नबन्ने गरी साखः ग्रुपले स्वदेशमै मल उत्पादन सुरु गरेको छ । लामो समयदेखि स्टिल, हाउजिङ तथा पेन्टिङ व्यवसाय गर्दै आएको साख:; ग्रुपले फोहोरबाट मल उत्पादन उद्योग सुरु गरेको छ । साखः ग्रुपले रिकिसी कम्पोस्ट कम्पनीमार्फत् जापनीज प्रविधि प्रयोग गरेर स्वदेशमै मल उत्पादन गरी बिक्री वितरणको तयारी गरेको हो । विभिन्न स्थानिय तहसँग सहकार्य गरेर मल उत्पादनमा टेवा पुयाइरहेको साखः ग्रुपले सिन्धुलीको दूधौली नगरपालिकामा व्यवसायीक रुपमा मल उत्पादन गरिरहेको छ । साखः ग्रुपका अध्यक्ष तथा निर्देशक हुन् किरण प्रकाश साखः। ५ वर्षको अध्ययन अनुसन्धान पश्चात् स्वदेशमै फोहोरबाट मल उत्पादनमा लागेको साखः ग्रुपले विदेशबाट आयात गरिने मलको परनिर्भरतालाई अन्त्य गर्ने लक्ष्य राखेका छन् । स्वदेशमै मल उत्पादन हुन थालेपछि विदेशी मुद्राको सञ्चितीमा समेत ठूलो टेवा पुग्ने देखिन्छ । साखः ग्रुपले उत्पादन गरेको मल प्रयोग गर्दा माटोको उर्बरा शक्ति समेत प्रत्येक वर्ष बढ्दै जाने दाबी गरिएको छ । अर्गानिक भनिएको स्वदेशमै उत्पादित मलका विषयमा केन्द्रित भएर साखः ग्रुपका निर्देशक किरण प्रकाश साखःसँग विकासन्युजका लागि सीआर भण्डारी र राजिव न्यौपानेले गरेको कुराकानी गरेका छन् । रासायानिक मललाई राजनैतिक एजेण्डा बनाएका छन् । सरकारले अहिलेसम्म प्रयाप्त मात्रामा मल भित्र्याउन सकेको छैन । तर, साखः ग्रुपले उत्पादन गरी बिक्री वितरण सुरु गरेको छ । स्वदेशमै कम्पोस्ट मल उत्पादन गरी कृषकलाई वितरण गर्ने योजना कसरी बनाउनु भयो ? बजारमा मलको अभाव छ । भएको मल पनि कृषकले सहज रुपमा पाउन सक्दैनन् । रासायनिक मल देश र जनता दुवैका लागि ठिक छैन । रासायनिक मल हानिकारक पनि छ । साथै, रासायनिक मलमा ठूलो रकम बाहिरीने गरेको छ । सरकारले मल ल्याएपनि ६०/७० प्रतिशत अनुदानमा उपलब्ध गराउँछ । सरकारले एक रुपैयाँमा मल किन्दा २५ पैसामा किसानलाई वितरण गर्दै आएको छ । जसले गर्दा देशको अर्थतन्त्रको लागि रासायनिक मल प्रतिस्थापन गर्न जरुरी छ । रासायनिक मलको प्रयोग गर्दै जाने हो भने ६० वर्षपछि जमिनबाट उब्जनी नै हुँदैन । रासायनिक मलको प्रयोगले जमिनको उत्पादकत्व शक्तिमा प्रत्येक वर्ष ह्रास ल्याउँछ । जसले माटो बिग्रन्छ । रासायनिक मलको वैकल्पिक उपाय प्राङ्गारिक मल नै हो । हामीले अध्ययन गर्याैं, प्राकृतिक होस् जसले रासायनिक मलको पनि काम गरोस् । जापानिज विधि भित्र्याएर फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्न सुरु गर्याैं । अध्ययन, अभ्यास र कार्यान्वयनमा ल्याउन ५ वर्ष लाग्यो । सुरुमा भक्तपुर र ठिमी नगरपालिकासँग सहकार्य गरेर फोहोरबाट प्राङ्गारिक मल उत्पादन गर्यौं । त्यहाँ उत्पादन गरिएको मल प्रयोग गरेपछि कृषिजन्य वस्तुको उत्पादनमा समेत वृद्धि भयो । र, सबैको चासो बढ्यो । त्यसपछि साखः ग्रुपले व्यवसायीक उत्पादन गरेर बजारमा बिक्री वितरणका लागि खुला गरेको छ । हामीले उत्पादन गरेको मल कृषकले प्रयोग गर्दा कृषिजन्य वस्तुहरु पनि प्राकृतिक हुन्छन् । यो मलले जमिनको उत्पादकत्व वृद्धिदर बढाउनुका साथै उत्पादित वस्तुहरु पनि स्वास्थ्यकर छन् । भक्तपुर र ठिमी नगरपालिकाले अहिले पनि फोहोरको प्रयोग गरी मल बनाउने कामलाई निरन्तरता दिइरहेका छन् । रासायनिक मलको प्रयोग भएर उब्जनी भएका खाद्य वस्तुहरु स्वास्थ्यका लागि हानिकारक छन् । त्यसैको विकल्पमा हामीले कम्पोस्ट मल उत्पादनमा जोड दिएका हौं । हामीले उत्पादन गरेको मल स्वास्थ्य, प्राकृतिक र अर्थतन्त्रका लागि लाभदायी छ । तपाईंहरुले अहिले कुन-कुन ठाउँबाट कम्पोस्ट मलको उत्पादन गरिरहनु भएको छ ? अहिले विभिन्न स्थानीय तहसँग सहकार्य गरी अगाडी बढीरहेका छौं । अन्य पालिकासँग सहकार्य भइरहेको छ । ठिमी र भक्तपुर नगरपालिकाले मलको उत्पादन गरिरहेको छ । साखः ग्रुपले सिन्धुलीको दूधौली नगरपालिका ७ मा उद्योग स्थापना गरी मल उत्पादन गरिरहेको छ । सोही ठाउँबाट मल बनाउन आवश्यक कच्चा पदार्थ पनि उत्पादन गरिरहेका छौं । अन्य पालिकासँग सहकार्य गरेर फोहोरबाट मल उत्पानमा जोड दिँदैछौं । किनभने हामीले मात्रै उत्पादन गरेर मलको मागलाई धान्न सक्ने अवस्था छैन । कम्पोस्ट मल जुनसुकै ठाउँमा पनि उत्पादन गर्न सकिन्छ । त्यसैले निजी क्षेत्र र पालिका मिलेर फोहोरबाट मल उत्पादन गर्न सक्छन् । कुनै पालिकाले मल बनाउन चाहन्छ भने हामी सहकार्य गर्न तयार छौं । आवश्यक पर्ने जनशक्ति हामीले उपलब्ध गराउँछौं । मल उत्पादन गर्ने विधि पनि सिकाउन हामी तयार छौं । तपाईंले प्रयोग गरिरहनु भएको जापनिज प्रविधिले उत्पादनको गरेको मललाई जनताले कसरी विश्वास गर्ने ? यो विधि जापानमा प्रमाणित भइसकेको छ । जापानले फोहोरबाट मल उत्पादन गरेको धेरै समय भइसक्यो । प्रमाणित भएर नै हामीले नेपालमा भित्र्याएका हौं । सरकारको मलमा तोकेको मापदण्ड अनुसार नै हामीले मल उत्पादन गर्छौं । मल बनाउने प्रक्रिया कस्तो हुन्छ ? कति समय लाग्छ ? यो मलको सबल पक्ष भनेको देशको माटो सुहाउँदो छ । हामीले जापानी विधिबाट ‘तोकोजाइ’ बनाउँछौं । तोकोजाइलाई अन्य चिजमा मिसाएर कम्पोस्ट मल बनाइने हो । तोकोजाइ खरानीजस्तो धूलो हुन्छ । यसलाई सहज तरिकाले उत्पादन गर्न सकिन्छ । कम्पोस्ट मल उत्पादन गर्दा मेसिन (प्रविधि)को आवश्यकता पर्दैन । यसको लागि ठूला कोठा र जनशक्तिको आवश्यकता पर्छ । र, स्वदेशकै प्रविधि प्रयोग गरेर मल उत्पादन गर्न सकिन्छ । फोहोर, गोबर, सुली र माटोसँगको मिश्रण गर्नुपर्छ । मिश्रण गरेपछि कोठा-कोठामा राख्नुपर्छ । एक कोठाबाट १० टन मल उत्पादन गर्न सकिन्छ । यो मल उत्पादनका लागि आवश्यक प्रविधि भनेको कोठा हुन् । एक लट कम्पोस्ट मल तयार हुन एक डेढ महिना लाग्छ । यसलाई बेलाबेला चलाई राख्नु पर्छ । १२ टन कुहिने फोहोरबाट १० टन मल उत्पादन गर्न सकिन्छ । गाउँघरको कम्पोस्ट मल गन्हाउँछ । तर, यो विधि प्रयोग गरेर उत्पादित मल गन्हाउँदैन । यो गन्धरहित हुन्छ । रासायनिक मलमा धेरै केमिकलको प्रयोग गरिएको हुन्छ । तर, यो विधि प्रयोग गर्दा केमिकलको प्रयोग शुन्य हुन्छ । त्यसैले यो मल विशुद्ध अर्गानिक हुन्छ । तपाईले उत्पादन गरिरहेको मलको मूल्य कति तोकिएको छ ? किसानले कतिमा खरिद गर्न पाउनुहुन्छ ? हामीले उत्पादन गरेको मलको मूल्य थोरै छ । प्रतिकेजी ३५ रुपैयाँका दरमा बजारमा उपलब्ध हुन्छ । हामीले कृषि ज्ञान केन्द्रलाई ३५ रुपैयाँ केजीमा बिक्री गर्छाै । कृषि ज्ञान केन्द्रले अनुदानमा बिक्री गर्न पनि सक्छ । कृषि ज्ञान केन्द्रलाई मल खरिद गर्न करोडौं रकम बजेट छुट्याएको हुन्छ । ज्ञान केन्द्रले आफ्नो बजेट अनुसार अनुदान मार्फत कृषकलाई उपलब्ध गराउन सक्छ । ज्ञान केन्द्रले अनुदानमा बिक्री गर्याे भने प्रतिकेजी १५/२० रुपैयाँ पर्न सक्छ । उपत्यकामा हजारौं टन मल उत्पादन हुन्छ । काठमाडौको फोहोरबाट मल उत्पादन गर्ने केही योजना बनाउनु भएको छ ? उपत्यकाको कुहिने फोहोरलाई व्यवस्थापन गर्न हामी तयार छौं । काठमाडौं महानगरपालिका लगायत अन्य पालिकासँग पटक-पटक छलफल गरेका छौं । महानगरपालिकाले टेकुमा अहिले ‘ट्रायल’को रूपमा परीक्षण गरिरहेको छ । ट्रायल पुरा भइसकेपछि महागरले व्यवसायीक उत्पादन गर्ने तयारी गरेको छ । महानगरपालिकाले फोहोरबाट मल बनाउन प्रस्ताव गरेको थियो । अहिले हामी देशभरी नै फोहोरबाट मल उत्पादन गर्ने तरिका विस्तार गर्ने योजनामा छौं । काठमाडौंमा दैनिक सयौं टन फोहोर संकलन हुने भएकाले मलको उत्पादन पनि धेरै हुन्छ । सम्बन्धित पालिकाले आफै पहल गरेर उत्पादन गर्दा फाइदा हुन्छ । बरु मल उत्पादन गर्दा चाहिने आवश्यक संरचना र जनशक्ति हामी उपलब्ध गराउन तयार छौं । फोहोरलाई तीन किसिमले छुट्याइएको हुन्छ । रिसाइकल गर्ने, अर्को रिसाइकल गर्न नहुने र घरायसी फोहोर । काठमाडौंमा ५० प्रतिशत गल्ने फोहोर छ । बञ्चरे डाँडा र सिसडोलमा फोहोरको विषयमा चर्चामा आइरहन्छ । अब जापनिज प्रविधि प्रयोग गरेर मल उत्पादन भएपछि समस्या समाधान हुन्छ । अब जहाँ फोहोर त्यहाँ मल उत्पादन गर्न सकिन्छ । फोहोर नभएको ठाउँमा कसरी मल उत्पादन गर्न सकिन्छ ? प्रायः शहरी क्षेत्रमा कुहीने फोहोर बढी हुन्छ । तर, फोहोर नभएको ठाउँबाट पनि मल बनाउन सकिन्छ । गाउँघरतिर गोबर, सुली, रातोमाटो, भूस लगायत कच्चा पदार्थ उपलब्ध हुन्छ । ती सबैलाई मिश्रण गरेर पनि उत्पादन गर्न सकिन्छ । गाउँघरमा पाइने प्राङ्गारिक मलमा बिरुवालाई चाहिने ‘प्रोटिन’ कम हुन्छ । प्राय किसानले युरिया तथा डिएपी मल प्रयोग गरेका उदाहरण छन् । गाउँघरका उपलब्ध गोबर, सुली, रातो माटो, भूस मिश्रण गरी जापनिज विधिमा बनाएको ब्याक्टेरिया मिसाएपछि युरिया र डिएपी बराबरको प्रोटिन बिरुवाले पाउँछ । जसले बिरुवामा उत्पादन शक्ति बढ्नुका साथै जमिनको उत्पादकत्व बढ्दै जान्छ । ‘तोकोजाइ’ बनाउन एनबिएम (कार्बन, नाइट्रोजन, ब्याक्टेरिया र मिनरल) प्रविधि प्रयोग गरिन्छ । यो मलको प्रयोग गरेपछि सन्तुलित भोजन खान पाउँछौं । दूधौलीमा मल उद्योग सञ्चालनका लागि कति लागत लाग्यो ? अहिले त्यहाँबाट कति उत्पादन गरिरहनु भएको छ ? लागत धेरै छैन । किनभने मेसिन प्रयोग हुँदैन । बिजुली आवश्यक छैन । धेरै जनशक्ति अवश्यक पनि छैन । तर, जग्गा आवश्यक पर्छ । दूधौलीमा पहिलो चरणमा १० करोड रुपैयाँ लगानी गरेका छौं । यो लगानी बढ्दै जान्छ । किनभने माग बढ्यो भने उत्पादन पनि बढाउँदै जानु पर्नेछ । पहिलो चरणमा ५८ वटा कोठाबाट मलको उत्पादन भइरहेको छ । कोठामा ७०/८० डिग्री तापक्रम आवश्यक पर्छ । त्यो तापक्रमले ब्याक्टेरिया मर्छन् । साथै, मिश्रण गरिएको वस्तु गल्न मद्दत पुर्याउँछ । पहिलो चरणमा उत्पादन गरेको मल बजारमा आउँदैछ । सुरुमा ५ सय मेट्रिक टन मल बजारमा पठाउँछौं । उत्पादन गरेको मललाई ‘प्याकेजिङ्क’को काम भइरहेको छ । अहिले १५/२० केजीको एउटा बोरा बनाएका छौं । निकट भविष्यमा बोराको क्षमता बढाउने योजना छ । सरकारले मल आपूर्तिको जिम्मा दियो भने तपाईंको क्षमता छ ? जापनिज विधि प्रयोग गरेर देशभर उत्पादन गर्न सकिन्छ । सबै ठाउँमा फोहोर छ । हामी आफैं मात्रै मल उत्पादनको काम गर्दैनौं । सबै स्थानिय तहले आफै मल उत्पादन गर्नुपर्छ । त्यसपछि मात्रै नाफाको ग्यारेन्टी हुन्छ । पैसा लगाउनु होस् । काम गर्नु होस् । हामी प्रविधि र दक्ष जनशक्ति उपलब्ध गराउँछौं । हामी एक्लैले मात्रै मल उत्पादन गर्नुपर्छ भन्ने मनस्थितिमा छैनौं । सबैलाई अवसर दिनुपर्छ भन्ने मेरो मान्यता हो । सुरुवातमा पूर्ति गर्न नसकेपनि विस्तारै क्षमता बढाउँछौं । यो मल किन प्रयोग गर्ने ? हरेक वर्ष युरिया तथा रासायनिक मलको प्रयोग बढेको छ । रासायनिक मल प्रयोग गरेपछि मात्रै उत्पादन बढ्छ । जसले माटोको उत्पादन शक्ति घटाउँदै लैजान्छ । माटोको अम्लीय पन बढ्दै जान्छ । रासायनिक मलबाट उत्पादन तरकारी, फलफूल खाएपछि शरीरलाई अप्रत्यक्ष असर गरिरहेको हुन्छ । यो मलको प्रयोग गरेपछि उत्पादन भएका वस्तुहरु सन्तुलित हुन्छन् । सबै भोजन स्वस्थकर हुन्छन् । मल अभावका कारण ठूलो जमिन जग्गा बाँझो छ । अब मल अभावका कारण जमिन बाँझो राख्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । साथै, यो मल प्रयोग गरेपछि माटोलाई खुकुलो बनाउँछ । माटोको ढिस्का (डल्ला) बन्दैन । अर्बौं रुपैयाँ बाहिरिनबाट रोकिन्छ । स्वदेशमै मल उत्पादन गर्यौं र स्वदेशी मल प्रयोग बढायौं भने केही वर्षमै मलमा आत्मनिर्भर हुन्छौं ।