विकासन्युज

जहाज चार्टर गरेर एकैपटक आए १८१ चिनियाँ पर्यटक, थप ७ सय आउँदै

काठमाडौं । जहाज नै चार्टर गरेर एकैपटक ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल आएका छन् । कोरोना महामारिपछि एकैपटक १८० जना चिनियाँ नागरिक नेपाल आएका हुन । बिहीबार बिहान हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर उक्त संख्यामा चिनियाँ नागरिक नेपाल आएका हुन । लामो समयपछि एकैपटक ठूलो संख्यामा आएका चिनियाँ नागरिकलाई संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती र नेपालका लागि चिनियाँ राजदूत छेन् सङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर स्वागत गरेका छन् । ‘नयाँ बर्षको आगमन संगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट भव्य स्वागत गरियो, महामहिम चेन सोङ र चिनियाँ जनवादी गणतन्त्र सरकारलाई धन्यवाद’, मन्त्री किरातीले सामाजिक सञ्जालमा भनेका छन्, ‘भोलि देखि नयाँ बर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदैछ, मलाई बिश्वास छ,यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्नेछ ।’ मन्त्रालयका अनुसार थप ७०० सय चिनियाँ नागरिक नेपाल आउने तयारीमा छन् । कोरोना महामारिपछि चिनियाँ सरकारले केही समय अघि मात्र आफ्ना नागरिकलाई देश बाहिर जाने अनुमति दिएको थियो । सरकारले अनुमति दिएसँगै एकैपटक ठूलो संख्यामा चिनियाँ नागरिक नेपाल आएका हुन् ।

महासंघ निर्वाचन : एसोशिएटतर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सकियो, ६१३ मत ल्याउँदै संघई अगाडी

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सकिएको छ । एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको सबै मत गणाम हुँदा रामचन्द्र संघई अगाडी देखिएका छन् । संघाईले कुल १ हजार ६०० मत गणना हुँदा ६१३ मत ल्याएका छन् । यस्तै, अन्जन श्रेष्ठले ५७३ र उमेश श्रेष्ठले ४२६ मत ल्याएका छ । संघई अन्जनभन्दा ४० मतले अगाडी रहेका छन् भने उमेशभन्दा १८७ मतले अगाडी छन् । एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षकाे  निर्वाचनमा १८ वटा मत बदर आएकाे छ ।

रास्वपाले श्रेष्ठको ठाउँमा कंशाकारलाई समानुपातिक सांसद बनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दबासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । अडियो प्रकरणमा सांसद श्रेष्ठ मुछिएपछि रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो । उनी एसिड आक्रमण पीडित समेत हुन्। श्रेष्ठको ठाउँमा रास्वपाले अब अर्को व्यक्तिलाई समानुपातिक सांसद बनाउन पाउने व्यवस्था छ ।  

प्रधानमन्त्रीसँग बार एसोसिएसनका पदाधिकारीहरूको छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरू उपस्थित थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे । छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

महासंघ निर्वाचन : मतपत्रमा विवाद हुँदा रोकियो गणना

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को मतगणना रोकिएको छ । मतपत्रमा विवाद हुँदा एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको मतगणना रोकिएको हो । एफएनसीसीआई नयाँ नेतृत्व चयनका लागि भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको थियो ।

कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड

काठमाडौं । कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड भएकाे छ । कुमारी क्यापिटलको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तरगत सञ्चालन हुने कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड भएको हाे । योजनाले प्रति इकाई १० रुपैयाँको दरले दश करोड इकाईको १५ प्रतिशत अर्थात एक करोड ५० लाख इकाई कोष प्रबद्र्धक कम्पनी कुमारी बैंकलाई सुरक्षित राख्छ । सार्वजनिक निष्काशन मार्फत ३५ करोड रकम बराबरको ३ करोड पचास लाख इकाइ चैत ९ देखि चैत २३ गते सम्म निष्काशन तथा विक्री खुल्ला गरिएकोमा १५ प्रतिशत विजपूँजी वापतको १,५०,००,००० इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई बाँडफाँड गरिएको जनाएको छ । बाँकी सर्वसाधारण तथा संघ–संस्थाहरुबाट प्राप्त आवेदकहरुलाई बाँडफाँड गर्न आज चैत २९ गते बुधबार विहान १०ः३० बजे कुमारी क्यापिटल, नागपोखरी १, नक्साल, काठमाण्डौमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसी जम्मा आवेदन दिने ३७,४३४ जना मध्ये रितपुर्वक आवेदन दिनुहुने ३७,४१२ जना आवेदकहरुलाई माग गरे बमोजिम इकाईहरु बाँडफाँड गरिएको छ । साथै, दोहोरो आवेदन दिने २२ जना आवेदकहरुको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

नयाँ वर्षमा क्लिफले नाइट बञ्जी गर्दै

काठमाडौं ।  साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८० को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । नयाँ वर्षको अवसरमा कम्पनीले विश्वकै दोस्रो हाइएस्ट नाइट बञ्जी आयोजना गर्ने घोषणा गरेको हो । साहसिक खेलकुदका पारखीहरूलाई नयाँ स्वाद दिनका लागि नाइट बञ्जी आयोजना गर्न लागिएको कम्पनीका सञ्चालक राजु कार्कीले जानकारी दिए । साथै कम्पनीले लाइभ म्युजिकसमेत प्रस्तुत गर्नेछ । नयाँ वर्षको अवसर पारेर समर्पण ब्याण्डको लाइभ म्युजिक प्रस्तुत गरिने कम्पनीका सञ्चालक कार्कीले जानकारी दिए । चैत्र ३० गते साँझ ६ बजे कार्यक्रम हुनेछ । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् । कुष्मामा गएर साहसिक खेलकुदमा मनोरञ्जन लिनका लागि टेलिफोनमार्फत बुकिङ गर्न सकिनेछ ।

महासंघ निर्वाचन : एक हजार मत गन्दा संघईको अग्रता कायमै

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना भइरहेको छ । सो क्रममा १ हजार मतगणना भइसक्दा पनि रामचन्द्र संघईको अग्रता कायम नै भइरहेको छ । एक हजार मतगणना हुँदा उनले ३९० मत ल्याएका छन् । यस्तै, अञ्जनकुमार श्रेष्ठले ३३२ र उमेशलाल श्रेष्ठले २५८ मत ल्याएका छन् । संघाईले अञ्जनलाई ६८ मत र उमेशलाई १३२ मतले पछि पारेका छन् । महासंघको नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ ।