राष्ट्र उत्थान लघुवित्तको कामु कार्यकारी निर्देशकमा जया लोहनी
काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको कायम मुकायम (कामु) कार्यकारी निर्देशकमा जया लोहनी भएकी छिन् । कम्पनीको संचालक समितिको बैठकले लोहनीलाई मंगलबार कामु कार्यकारी निर्देशकमा गरेको हो । लोहनीसँग नेपाल ग्रामीण विकास संस्थामा काम गरेको दुई दशकभन्दा लामो अनुभव छ । यो संस्था राष्ट्र उत्थान लघुवित्तको मूल प्रवर्द्धक हो । उनी आशा लघुवित्त वित्तीय संस्थासँग गाभिए पश्चात बन्ने राष्ट्र आशा लघुवित्त वित्तीय संस्थाको कार्यकारी निर्देशक रहने छिन् ।
विकास बैंकहरुको नाफा एक वाणिज्य बैंक सरह पनि पुगेन, कुनको कति ?
काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा अधिकांश विकास बैंकहरुको नाफा घटेको छ । चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये ९ विकास बैंकको नाफा घटेको छ । समीक्षा अवधिमा विकास बैंकको १ अर्ब ३८ करोड अर्थात् २७.०९ प्रतिशत घटेर ३ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ मात्रै आर्जन गरेका छन् । गत वर्षको सोही अवधिमा विकास बैंकहरुको खुद नाफा ५ अर्ब १० करोड रुपैयाँ गरेका थिए । विकास बैंकले ९ महिनामा कमाएको कूल नाफा एक वाणिज्य बैंकको जति पनि होइन । हालसम्म १२ वटा विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये सिन्धु विकास बैंकले नोक्सानी ब्यहोर्नु परेको छ । गत वर्ष ४ करोड ३३ लाख रुपैयाँ नाफा गरेको बैंकले चालू आवको चैतमा १ करोड ४८ लाख ७५ हजार रुपैयाँ नोक्सानी ब्यहोर्नु परेको हो । यस्तै, ज्योति विकास बैंकको नाफा ६०.९० प्रतिशत घटेर २० करोड १६ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५१ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस्तै, महालक्ष्मी विकास बैंकको ४६.९४ प्रतिशत घटेर ३७ करोड ८९ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ३९.४१ प्रतिशत घटेर ३० करोड ५६ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ३८.५६ प्रतिशत घटेर २४ करोड ६१ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको २१ प्रतिशत घटेर ८० करोड ६२ लाख रुपैयाँ, गरिमा विकास बैंकको १६.९२ प्रतिशत घटेर ६५ करोड १८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ८.३१ प्रतिशत घटेर ४६ करोड ८१ लाख रुपैयाँ र मितेरी डेभलपमेन्ट बैंकको ७.५० प्रतिशत घटेर ९ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेका छन् । समीक्षा अवधिमा अधिकांश बैंकको नाफा घटेपनि ३ वटा विकास बैंकको नाफा भने बढेको छ । कर्पाेरेट डभलपमेन्ट बैंकको ७३.२९ प्रतिशत बढेर १ करोड ३० लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १४.३८ प्रतिशत बढेर ५५ करोड ४५ लाख रुपैयाँ र ग्रीन डेभलपमेन्ट बैंकको ८.५१ प्रतिशत बढेर १ करोड ३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
माग सम्बोधन नगरे काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्न नदिने चेतावनी
काठमाडौं । ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले काठमाडौंको फोहोर बञ्चरेडाँडा र सिसडोलमा फाल्न नदिने चेतावनी दिएका छन् । दुई पालिकाले ६ वटा माग राख्दै सो माग पुरा नभए फोहोरको ढुवानी बन्द गराईने चेतावनी दिइएको हो । बिहीबार ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै १५ दिन भित्र माग सम्बोधन नभए फोहोरको ढुवानी बन्द गरिदिने चेतावनी दिएका छन् । सो विषयमा दुई पालिकाका जनप्रतिनिधि संयुक्त रूपमा बैठक बस्दै सो निर्णय गरेका हुन् । पटक-पटक आश्वासन दिएता पनि त्यसको कार्यान्वयन नगरेकाले अल्टिमेटम दिएको बताइएको छ । यस्ता छन् दुई पालिकाका माग -गत वर्ष २०७९ जेठ २६ गते नेपाल सरकार, शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरू बिच २०७१ जेठ २६ गते महानगर र दुई पालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरू बिच भएको सम्झौताका अनुरूप बुदाँहरु कार्यान्वयन नभएका वुदाँहरुलाई तत्कालै कार्यान्वयनमा ल्याउन पर्ने । -फोहोर मैला व्यवस्थापनको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिबाट विज्ञ टोलि गठन गरी न्यून प्रभाव पर्ने गरी फोहोर मैला व्यवस्थापन गर्ने र वञ्चरेडाँडावाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने । -ककनी गाउँपालिका र धुनिवेशी नगरपालिकाका अति प्रभावित, प्रभावित र वेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी वञ्चरेडाँडावाट २ किलोमिटर जीपीयस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया तुरुन्त अगाडी वढाउनु पर्ने । -हालसम्म फोहोर मैला व्यवस्थापन गर्ने क्रममा सिसडोल र वञ्चरेडाँडामा के कस्ता प्रकृतिका इआइए गरियो, कति गरियो ? त्यसको कार्यान्वयनको अवस्था कस्तो छ र कुन–कुन निकायबाट सो कामको गरिएको हो, सोको जानकारी उपलब्ध गराउनु पर्ने । -ककनी र धुनिवेशीका वडाहरूमा वार्षिक १० करोड बराबरको, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्नको लागि नेपाल सरकार, काठमाण्डौ महानगरपालिका र सरोकारवाला निकायमा बजेट विनियोजन गर्नको लागि माग गर्नु पर्ने । -फोहोर मैला व्यवस्थापन गर्ने सन्दर्भमा स्थानीय अति प्रभावित प्रभावित र न्यून प्रभावितले आफ्ना मागहरू राख्ने क्रममा आन्दोलन गर्दा विभिन्न झुट्टा मुद्दा लगाई पक्राउ पुर्जी जारी गरिएको हुँदा स्थानीय माथि थप चोट पुगेको छ, जसले गर्दा तत्काल त्यस्ता प्रकृतिका मुद्दाहरू फिर्ता लिई निजहरूको मानव अधिकार संरक्षण गर्नु पर्ने।
लाभांश पारित गर्न कामना सेवाले बोलायो साधारण सभा
काठमाडौं । कामना सेवा विकास बैंकले १६ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सोमबार बसेको संचालक समिति बैठकले बैशाख ३१ गते साधारण सभा बोलाउने भएको हो । बैंकले साधारण सभामार्फत सेयरधनीलाई लाभांश पारित गर्नेछ । बैंकले गा वर्षको नाफाबाट सेयरधनीलाई ४.६४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस्तै, सभाले २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदनमार्फत छलफल गरी पारित गर्नेछ ।
निगमले माग्यो ऋणको ब्याज, हर्जाना र पेनल छुट
काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिद गर्दा लिएको ऋणको ब्याज, हर्जाना पेनल छुटका लागि लगानीकर्तासँग आग्रह गरेको छ । निगमले दुई थान न्यारोवडि र दुई थान वाईडबडी जहाज खरिद कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषबाट ऋण लिएको थियो । तोकिएको समयमा ऋणको साँवा तथा व्याज भुक्तानी नगरेको निगमले हर्जाना र पेनल छुटका लागि आग्रह गरिएको जनाएको छ । निगमले बिहीबार जारी गरेको विज्ञप्ती अनुसार निगम व्यवस्थापनले लगानीकर्ता कोषलाई व्याज, हर्जाना र पेनल छुटका लागि पत्राचार गरिएको जनाएको छ । निगमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाइएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ ।’ निगमले जहाज खरिद गर्दा लिएको ऋणको सावाँ र ब्याज भुक्तानी गरिएको जनाएको छ । कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषबाट दुई थान न्यारोवडि र दुई थान वाईडबडी जहाज खरिद गर्दा ऋण लिएको थियो । उक्त ऋणको साँवा र ब्याज वापत निगम व्यवस्थापकले चैत महिनामा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो । निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएसंगै ऋणको सावाँ र ब्याज भुक्तानी गरिएको निगमले जनाएको छ । यसअघि निगमले असारमा १ अर्ब ३५ करोड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१, पुस महिनामा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैत महिनामा उक्त रकम भुक्तानी गरेको छ । २०७९ को चैत महिनासम्म निगमले २ अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ रकम भुक्तानी गरिसकेको छ । सरकारको जमानीमा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट दुई न्यारो बडी र दुई वाइड बडी जहाज किन्दा लिएको ऋण ३७ अर्ब ५८ करोड रुपैयाँ थियो । तर पछिल्लो समय तोकिएको समयमा साँवा र ब्याज भुक्तानी नहुँदा उक्त ऋण ४० अर्बभन्दा बढी भैसकेको छ । दुई कोषले जहाज खरिद गर्दा ऋणको साँवा–ब्याजको किस्ता १५ वर्षसम्म तीन–तीन महिनामा बुझाउने सर्त तोकिएको थियो । निगमले दुई वाइड बडीको ८० करोड ४२ लाख र दुई न्यारो बडीको ३३ करोड नौ लाख रुपैयाँ गरी एक किस्तामा एक अर्ब १३ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ । तर पछिल्लो समय निगमले तोकिएभन्दा न्यून रकम भुक्तानी गर्दै आएको छ ।
कुमारी बैंकका ग्राहकले अनर ब्रान्डका मोबाईल किस्तामा किन्न सक्ने
काठमाडाैं । कुमारी बैंकका ग्राहकले अब अनर ब्राण्डका फाेनहरु किस्तामा खरिद गर्न सक्ने भएका छन् । बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले अब सेलट्रोन नेपालबाट अनर ब्रान्डका मोबाईल फोनहरू खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा सजिलै गर्नसक्ने भएका हुन् । ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस्ताे सहकार्य जनाएकाे छ । कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।
उपनिर्वाचन : आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि
काठमाडौं । यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो । उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाबमोजिम आज मिति २०८० वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाउनुभयो । निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको आयोले सम्बन्धित सबैमा स्मरण गराएको छ । साथै निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न÷नगराउन आयोगले आग्रह गरेको छ ।
भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा
काठमाडौं । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन् । कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधबार काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उक्त ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी परिसरमा बुझाइसकेको छ । उनीहरुको मिलेमतोमा २०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाका नागरिकलाई करोडौँ रकम ठगेका पाइएको प्रहरीले जनाएको छ । यसरी ठगीमा ८१ जना परेका छन् । अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ । पीडितहरुले फारम भर्न मात्रै १५ देखि २० लाख तिरेको तथ्य प्रहरीले फेला पारेको थियो । रासस