गाउँपालिकाका तत्कालीन अध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । सिरहा लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । पुल/कल्भर्ट निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृतसहित २३ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता भएको हाे । लक्ष्मीपुर-४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कल्भर्ट निर्माण समयमै सम्पन्न नगरेको, भएका काम पनि कम गुणस्तरका देखिएको र भुक्तानी नै गर्न नमिल्ने ३१ लाख ७४ हजार ४६७ रुपैयाँ मिलेमतोमा उपभोक्ता समितिलाई भुक्तानी दिने/लिने गरेको पुष्टि गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । धन्छुवारको नयाँ नदीमा पुल/कलभर्ट निर्माण कार्य बीचमै अलपत्र पारेको, भए/गरेको कार्यसमेत न्यून गुणस्तरको सामग्री प्रयोग गरिएको, सोही पुल/कल्भर्ट अर्को उपभोक्ता समितिबाट निर्माण गराउँदा पनि उक्त भौतिक संरचना बेकम्मा भई संरचना पूर्ण गर्न नसकिने अवस्थामा भुक्तानी दिएकोलगायत विषय अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
टेलिकमले विद्युत प्राधिकरणलाई स्मार्ट मिटरमा प्रयोग गर्न डेढ लाख सिम दिने
काठमाडौं । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि १ लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा दुई संस्थाबीच आज (२०८० बैशाख ७ गते) एक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र नेपाल विद्युत प्राधिकरणको तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक अच्युत बाबु घिमिरेले हस्ताक्षर गरे । सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल विद्युत प्राधिकरणसँगको व्यावसायिक सहकार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे । नेपाल विद्युत प्राधिकरणका निर्देशक अच्युत बाबु घिमिरेले पहिलेदेखि नै स्मार्ट मिटरमा नेपाल टेलिकमको सिम प्रयोग भइरहेकोमा आगामी दिनमा नयाँ प्रविधियुक्त ई–सिममार्फत सेवा उपलब्ध हुने भएकोमा खुशी व्यक्त गरे । नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल सम्बन्धी जानकारीका लागि स्मार्ट मिटरको प्रयोग गरिरहेको छ । यसको सहयोगले कार्यालयबाटै विद्युत खपत बारेमा जानकारी लिन सकिनुका साथै लाइन काट्न र विद्युत चुहावट नियन्त्रण लगायतका कार्य गर्न सहयोग पुग्दछ । ई–सिमले प्राधिकरणको सिस्टम र स्मार्ट मिटरको बीचमा सञ्चार सुविधा उपलब्ध गराउन सहयोग गर्छ । १०० एम्पियरसम्म क्षमता भएका थ्री फेज ग्राहकहरुका लागि ई–सिम प्रयोग गरिने छ । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई यस अघि पनि स्मार्ट मिटर प्रयोजनका लागि ५३ हजार थान सिम उपलब्ध गराइसकेको छ ।
नेप्सेमा एशियन लाइफको ८.५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मुल्य समायोजन भएको छ । नेप्सेले एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर मुल्य समायोजन गरेको हो । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ । कम्पनीको ८.५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ५६९.५९ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बिहीबार इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ६१८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक
काठमाडौं । सरकारले नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको चौथो बैठक आयोजना गर्ने निर्णय गरेको छ । यही वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते काठमाडौंमा दुई देशका सहसचिवस्तरीय बैठक आयोजना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । बैठकले भूउपयोग पहिलो संशोधन नियमावली, २०७९ स्वीकृति, राष्ट्रिय सतर्कता केन्द्र सञ्चालनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति, दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीन जना नायब महान्यायाधिवक्तालाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले अजरबैजानको बाकुमा आयोजना हुने एसडिजिएसको संयुक्त कार्यसमूहको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उपमहालेखापरीक्षक राममाया कुँवरलाई स्वीकृति प्रदान गरेको छ । बैठकले लेखापरीक्षणमान बोर्डको सदस्यमा चार्टर्ड एकाउन्टेन्ट भोजराज पाण्डेलाई मनोनय गर्ने, सार्वजनिक संस्थान सुझाव समिति अवधारणापत्र, २०८० स्वीकृत गरी शङ्करप्रसाद अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सार्वजनिक संस्थान सुझाव समिति गठन गरेको छ । सरकारले जिल्ला समन्वय समिति प्यूठानका नाममा दर्ता रहेको साविक विजयनगर गाविस वडा नं २ स्थित दुई आना दुई पैसा र पाँच रोपनी छ आना तीन पैसा एक दाम जग्गा स्वास्थ्य कार्यालय प्यूठानको प्रशासनिक भवन निर्माणार्थ उपयोग गर्न स्वीकृति दिएको छ । यस्तै बैठकले स्याङ्जाको साविक पुतलीबजार गाविस वडा नं ९ स्थित चार रोपनी एक आना एक पैसा तीन दाम र ११ रोपनी एक आना दुई पैसा दुई दाम सार्वजनिक जग्गा ३० वर्षका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको भवन निर्माणार्थ प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिए । बैठकले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति तथा सो आयोजनाको निर्माण अवधि २०८३ चैत मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । नेपाली सेनाका एक महासेनानीलाई सहायकरथीमा, एक प्रमुख सेनानीलाई महासेनानीमा, एक सेनानीलाई प्रमुख सेनानीमा मानार्थ बढुवा र दुई महासेनानीको सरुवा गरेको छ । सरकारले सुनिगाड जलविद्युत् आयोजनाका लागि बझाङको जयपृथ्वी नगरपालिका–११, सुर्मा गाउँपालिका–१ र तेलकोट गाउँपालिका–१ र २ मा रहेको राष्ट्रिय वन क्षेत्रको चार दशमलव ८४ हेक्टर जग्गा २५ वर्ष तथा माथिल्लो रिचेत खोला जलविद्युत् आयोजनाका लागि गोरखाको आरुघाट गाउँपालिका–१ र धार्चे गाउँपालिका–६ मा रहेको राष्ट्रिय वनभित्रको दुई दशमलव ७५ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न स्वीकृति दिएको छ । रासस
कुमारी बैंकले सुजुकी ब्राण्डको गाडी किन्न सजिलै कर्जा दिने
काठमाडौं । कुमारी बैंक र सीजी मोटर कोर्पका बीच सम्झौता भएको छ । बैंक र कोर्पबीच ग्राहकहरुलाई सुजुकी ब्रान्डका सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको हो । सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न बैंकले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारी साधनहरु खरिदका लागि कर्जा उपलब्ध गराउने छ । यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालको कुनै पनि सुजुकीका डिलरहरुबाट सवारी साधन खरिद गर्दा कुमारी बैंकबाट सजिलै बिजक मूल्यको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । सो कर्जा ८ वर्ष अवधीसम्मका लागि लिन मिल्ने प्रावधान गरिएको छ । कुमारी बैंकले ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।
उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानी स्वचालित गर्दै
काठमाडौं । उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ । विभागले बिहीबार विभागमा पत्रकार सम्मेलन गर्दै नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन लागेको बताए । उनले अब प्रचलित कानून बमोजिम कम्पनी दर्ता,उद्योग दर्ता,विदेशी लगानी स्वीकृतका सेवाहरु स्वाचालित बनाउने व्यवस्था गरेको बताए । उनले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था भए बमोजिम अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न शुरु गरिएको बताए । उनले वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्न शुरु गरेसँगै उद्योग विभागको सम्पूर्ण सेवा स्वाचालित बनाउने विभागको तयारी रहेको बताए । उनले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ संशोधानको तयारीमा रहेको भन्दै उक्त नियमावली कार्यान्वयनको लागि विभागले वेबमा आधारित स्वचालित प्रणाली निर्माण गरेमा जोड दिए । उनले विदेशी लगानीकर्ताले शतप्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत लगानी गर्नसक्ने,लगानी स्वीकृतको जानकारी लगानीकर्ता,नेपाल राष्ट्र बैंक,कम्पनी रजिष्ट्रारको कार्यालयमा स्वचालित प्रणालीमार्फत नै हुने बताए । महानिर्देशक तिवारीले लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृति लिइरहनु नपर्ने भएको बताए । उनले उक्त प्रणाली लागू भएसँगै नेपालमा लगानीको लागि प्रशासनिक सुधारको चरणमा रहेको भन्ने सन्देश जाने विभागले विश्वास लिएको बताए । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी २ करोडदेखि १० करोडसम्मको विदेशी लगानी अटोमेटिक रुटबाट गर्न लागेको हो । विभागले नेपाल सरकारले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गरेसँगै कार्यान्वयन गर्ने बताएको छ । उक्त प्रणाली अन्तर्राष्ट्रिय अभ्यासमा आफैँमा लगानीमैत्री वातावरणको एक महत्वपूर्ण सूचक रहेको भारत,बंगलादेश लगायतका मुलुकहरुमा भएको अभ्यासले देखाएको छ ।
नेपाल लाइफको बीमा शुल्क इसेवाबाट तिर्दा ५ प्रतिशत क्यासब्याक
काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत बैशाख महिनाभरि बीमा शुल्कको नविकरण ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५ प्रतिशत वा २३० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई-सेवा, खल्ती, फोन-पे, कनेक्ट आइ.पी.एस, आई एम ई-पे र प्रभु-पेसँग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्दछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले घरबाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षित समेत हुने बताए । ‘आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहकहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित छ,’ उनले भने । २०५८ साल बैशाख २१ गते स्थापित यस कम्पनीले २२ वर्षमा दरमियानमा विभिन्न आरोह अवरोह पार गर्दै कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
नेप्सेमा एनआईसी एशिया र कुमारी बैंकको सर्वाधिक कारोबार, प्रतिकित्ता ११० रुपैयाँ
काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से सूचक १५.७३ अंकले घट्दा ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ३२ लाख ९ हजार २१४ कित्ता २३ हजार २६५ पटक किनबेच भएका छन् । बिहीबार एनआईसी एशिया बैंक र कुमारी बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । एनआईसी एशिया बैंकको कूल ७८ लाख ३६९ कित्ता सेयर ५४२ पटक खरिद बिक्री भएको छ भने ५ करोड ७५ लाख ४३ हजार रुपैयाँ कारोबार भएको छ । बैंकको अघिल्लो दिनको तुलनामा ०.९० प्रतिशत अर्थात् ६.७० रुपैयाँ सेयर मूल्य घटेको छ । नेप्सेमा बिहीबार बैंकको सेयर प्रतिकित्ता ७३४ रुपैयाँमा खरिद बिक्री भएको हो । यस्तै, बिहीबार सबैभन्दा धेरै कारोबार हुनेमा कुमारी बैंकको संस्थापक सेयर दोस्रोमा छ । बैंकको साढे ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार २ लाख ९७ हजार २०८ कित्ता सेयर २ पटक खरिद बिक्री हुँदा ३ करोड ५३ लाख ८६ हजार ४८० रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको संस्थापक सेयर प्रतिकित्ता ११० रुपैयाँमा कारोबार भएको हो । पछिल्लो समय बैंकबाट संस्थापक सेयरधनीहरु आफ्नो नाममा भएको सेयर बिक्री गरेर बाहिरन थालेका छन् । जसकारण नेप्सेमा बैंकको सेयर कारोबरा धेरै भएको एक लगानीकर्ताले बताए ।