श्रीलङ्काको मुद्रास्फीति ५० प्रतिशतभन्दा तल झरेको दावी
कोलम्बो । श्रीलङ्काको हेडलाइन मुद्रास्फीति यस वर्षको फेब्रुअरीमा ५३.६ प्रतिशत रहेकोमा मार्चमा घटेर ४९.२ प्रतिशतमा झरेको यहाँको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ । विभागले राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्दै खाद्य मुद्रास्फीति ४९ प्रतिशतबाट ४२.३ प्रतिशत र गैरखाद्य मुद्रास्फीति ५७.४ प्रतिशतबाट ५४.९ प्रतिशतमा झरेको जनाएको छ । विभागका अनुसार चामल, तरकारी, ताजा माछा, आलु, ढल, सुख्खा माछा, कुखुरा, मसलाजस्ता खाद्यवस्तुको मूल्य फागुनको तुलनामा चैतमा घटेको छ । नरिवल, नरिवलको तेल, अण्डा, हरियो चना, चामलको पिठो, चियाजस्ता वस्तुको मूल्य भने बढेको छ । विभागका अनुसार गैरखाद्य वर्गमा कपडा, जुत्ता चप्पल र हाउजिङको मूल्य बढेको छ भने पानी र बिजुलीजस्ता सार्वजनिक सेवाको मूल्य पनि बढेको छ । रासस/सिन्ह्वा
बेनी अस्पतालमा विशेषज्ञ सेवा विस्तार
म्याग्दी । दुर्गम हिमाली जिल्ला म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले विशेषज्ञ सेवा विस्तार गरेको छ । प्रदेश लोकसेवा आयोगबाट पदस्थापन भएका, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका र आन्तरिक स्रोतबाट भर्ना गरिएका १० विशेषज्ञ र आठ जना मेडिकल अधिकृतले सेवा दिएका छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले चिकित्सकहरू थपिएसँगै विभिन्न विशेषज्ञ सेवाहरू विस्तार गरिएको जानकारी दिए । ‘सर्वसाधारणलाई निजी क्लिनिक र जिल्लाबाहिर जानुपर्ने समस्या हटाउन जनशक्ति र उपकरण व्यवस्थापनसँगै पूर्वाधार निर्माणमा जोड दिएका छौँ,’ उनले भने, ‘दुई वर्षपछि अस्पतालको सुविधासम्पन्न ५० शय्या क्षमताको भवन निर्माण पनि सुचारु भएको छ ।’ पछिल्लो समय फिजिसियन विशेषज्ञ, ज्येष्ठ नागरिक उपचार कक्ष, अत्याधुनिक एक्स–रे, सामाजिक सुरक्षा एकाइको सेवा थप गरेको अस्पतालले छिट्टै मानसिक रोग र फिजियोथेरापी सेवा सुरु गर्न लागेको जनाएको छ । यसअघि आठजना मेडिकल अधिकृत र चिकित्सक कार्यरत अस्पतालमा यसै हप्ता लोकसेवा आयोग र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप छ विशेषज्ञसहित नौजना चिकित्सक आएका अस्पतालका प्रमुख चिकित्सक डा शङ्करराज लामिछानेले बताए । ‘जनशक्ति थपिएसँगै कार्यरत चिकित्सकलाई कार्यबोझ घट्ने, बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने समस्या हट्ने र उपचार सेवा सहज भएको छ’, उनले भने, ‘स्त्रीरोग, हाडजोर्नी, फिजिसियन, जनरल सर्जन, दन्त, अर्थोपेडिक, आँखा उपचारसम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरेका छाैं ।’ गण्डकी प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका जनरल सर्जन डा परिवर्तन बराल र स्त्रीरोग विशेषज्ञ डा अञ्जु थापाको बेनी अस्पतालमा पदस्थापन भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अर्थोपेडिक्स डा सुमन सुवेदी, इन्टरनल मेडिसिन डा अमित प्रजापति, जनरल सर्जरी डा कल्पना आचार्य र छात्रवृत्ति करारका डा प्रशान्त गुरागाईं पनि बेनी अस्पतालमा आएको छ । एकजना मानसिक रोग विशेषज्ञ सरुवा भएर बेनी अस्पतालमा आउन लाग्नुभएको र उपकरण खरिद, जडान र सबै व्यवस्थापकीय काम सकिएकाले केही दिनमै फिजियोथेरापी सेवा सुरु गर्न लागिएको चिकित्सक लामिछानेले बताए । अस्पतालले अन्तरङ्ग र बहिरङ्ग विभागकासाथै शल्यक्रियामार्फत प्रसूति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलाइसिस सेवा सञ्चालन गर्दै आएको छ । मिर्गाैला रोगसम्बन्धी समस्या भएका १९ जनाले डायलासिस सेवा लिएका छन् । सामाजिक सेवा एकाइमार्फत लक्षित समुदायलाई सहुलियत र निःशुल्क उपचार सेवा दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको रु एक करोड ५० लाख मूल्य बराबरको डिजिटल एक्स–रे मेसिन प्रयोगमा ल्याइएको अस्पताल परिसरमा अक्सिजन प्लान्ट सञ्चालनमा छ । म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिका, मुस्ताङ र बागलुङका सर्वसाधारण गरी मासिक चार हजारजनाको हाराहारीमा बेनी अस्पतालबाट सेवा लिने गरेका छन् । पचास शय्या क्षमताको अस्पतालले १५ शय्याकै संरचना र पूर्वाधारबाट ७६ शय्याको सेवा दिएको छ । पचास शय्या क्षमताको भवन निर्माणमा भएको ढिलाइका कारण अस्थायी पूर्वाधारबाट सेवा सञ्चालन गरिएको छ । रासस
विद्यालयले सबै पेशालाई सम्मान गर्न सिकाउनुपर्छ : पठाओ
काठमाडौं । विद्यालयले सबै पेशालाई सम्मान गर्न सिकाउनु पर्ने राइड सेयरिङ कम्पनी पठाओले बताएका छ । शुक्रबार पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्नेतले एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । उनले ललितपुरका एक विद्यालयका भाइस प्रिन्सिपलसहित अन्य दुई जना शिक्षकले यो बच्चाले पढेर केही गरि खान सक्दैन, बरु एउटा स्कुटी किन्दिनु, पठाओ चलाएर खान्छ भनेर दिएको अभिव्यक्ति प्रति ध्यानाकर्षण भएको बताए । सबै पेशालाई सम्मान गर्न सिकाउनुपर्ने शिक्षकहरूबाटै यस्तो किसिमको अभिव्यक्ति आउनु अत्यन्तै दुःखद् हो, केही गर्न नसकेपछि पठाओ चलाउनेभन्दा पनि विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरूले आफ्नो अनुकूलको समयमा पठाओलाई अतिरिक्त आम्दानीको माध्यम बनाइरहनु भएको छ,’ विज्ञप्तीमा भनिएको छ । उपत्यका भित्र तथा उपत्यका बाहिरसमेत जनजीविकालाई सहज बनाउँदै आवात जावातमा समेत सहजता प्रदान गर्न आफ्ना क्याप्टेन, राइडर र फुडम्यान साथीहरूको संलग्नताप्रति गर्व गर्ने बताएका छन् । यस्तै, उनले विद्यालय स्तरमा नै सबै किसिमका पेशा र व्यवसायप्रति विद्यार्थीलाई जानकारी दिने र स-सम्मान काम गर्न अभिप्रेरित गरिनुपर्नेमा, शिक्षक वर्गले दिएको गलत अभिव्यक्तिको भोलिका दिनमा दोहोरिने छैन भन्ने विश्वास गरेको बताएका छन् ।
हावाहुरीले प्रभावित उडान पुनः सञ्चालनमा
काठमाडौं । हुरीका कारण प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान पुनःसञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हुरीले प्रभावित बनेको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान खुलेको हो । अपराह्नदेखि सुरु भएको हुरीले उडान प्रभावित भएको थियो । हुरीका कारण आन्तरिकतर्फ उडान ‘डिले’ हुनुका साथै अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका थिए । भारतको नयाँदिल्लीबाट आएको भिस्तारा एयर र कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज होल्डमा परेका थिए । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशका पहाडी भेगका कतिपय स्थानमा हल्कादेखि क्षणिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा अपराह्नपछि हल्कादेखि क्षणिक वर्षा भएको छ ।
ठूला उद्योगी व्यवसायी मिलेर हिमालयन स्टक एक्सचेञ्ज खोल्दै, दिपक भट्टको पनि १५ प्रतिशत सेयर
काठमाडौं । हिमालयन स्टक एक्सचेञ्जमा देशका ठूला उद्योगी व्यवसायीहरु आवद्ध भएका छन् । हिमालयन स्टक एक्सचेन्ज नेपाल धितोपत्र बोर्डमा दर्ता भएसँगै त्यसमा देशका ठूला उद्योगी व्यवसायीहरुको सेयर देखिएको हो । हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगड लगायतको लगानी छ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा देखिएका छन् । उनको १५ प्रतिशत सेयर रहेको बुझिएको छ । यो स्टक एक्सचेञ्जमा दीपक भट्ट पनि जोडिएका छन् । यसमा भट्टको पनि १५ प्रतिशत लगानी छ । उनी इन्फिनिटी होल्डिङसमा आवद्ध छन् । विशेष गरेर उनी ठेक्कापट्टा मिलाउनमा सक्रिय रहेको बताइन्छ । गैरकानुनी रुपमा स्टकको लाइसेन्स बाँड्न लागिएको भन्दै पाँच महिना अगाडि मुद्दा परेको थियो । तर, अहिले यो प्रक्रिया अगाडि बढेको हो । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले बाटो खोलिदिएपछि रोकिएको प्रक्रिया अगाडि बढेको हो । नयाँ स्टकका लागि तीन अर्ब रुपैयाँ चुक्ता पुँजी चाहिन्छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली गत भदाैमै सार्वजनिक गरेकाे थियाे । यसअघि स्टक एक्सचेञ्जको पूँजी ५ करोड रुपैयाँ मात्रै थियो । नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा आएको २ वर्ष भित्र ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने व्यवस्था छ । अब हिमालयन स्टक एक्सचेञ्जको सेयर सर्वसाधारणले पनि पाउने भएका हुन् । नेपालबाहेक अन्य मुलुकमा धितोपत्र बजार सञ्चालन गरेका कम्पनीले पनि स्टक एक्सचेन्जमा लगानी गर्ने व्यवस्था गरिएको छ । यस्तै, पछिल्लो १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गर्दै आएका तथा नेपालमा लगानी गर्न स्वीकृति पाएका कम्पनीले नेपाली स्टक एक्सचेन्जमा लगानी गर्न पाउने व्यवस्था पनि नियमावलीमा गरेको छ ।
उपनिर्वाचन : पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने, स्थानीय सडक पूर्ण बन्द
दमौली । वैशाख १० गते तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनका लागि उक्त दिन पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चलाइने भएको छ । मुख्य राजमार्गको रुपमा रहेको उक्त खण्डअन्तर्गत मुग्लिनदेखि चापाघाटसम्म प्रहरी स्कर्टिङमा सवारी साधन सञ्चालनको व्यवस्था मिलाउन लागिएको हो । सो दिन उपनिर्वाचन हुने क्षेत्रअन्तर्गतका ठाउँमा भने यात्रु झर्न वा चढ्न नपाउने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । मुग्लिनबाट पोखरातर्फ जान आउने सवारीसाधन वा चापाघाटतर्फ मुग्लिनतर्फ जाने सवारी साधनलाई डेढ/डेड घण्टाको फरकमा स्कर्टिङ गरिने उनले बताए । उपनिर्वाचनका दिन आइतबार तनहुँ क्षेत्र नं १ अन्तर्गतका पाँच स्थानीय तहका भित्री सडक भने पूर्णरुपमा बन्द हुनेछ । ‘अत्यावश्यक काम नपरी उक्त दिन यात्रा नगर्न सबैलाई आग्रह गर्दछु, काम परे वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ,’ उनले भने, ‘मुख्य राजमार्गमा प्रहरी स्कर्टिङ हुने भएकाले बीचमा चढ्ने वा झर्न पाइँदैन ।’ निर्वाचनको संवेदनशीलतामा ध्यानमा राखेर यात्रा गर्ने यात्रुहरु तनहुँ क्षेत्र नं १ अन्तर्गतका व्यास, आँबुखैरेनी, भानु, बन्दीपुर र देवघाट क्षेत्रमा झर्न पाउँदैनन् । उपनिर्वाचनका दिन अत्यावश्यक सेवाअन्तर्गतका एम्बुलेन्स, दूध बोक्ने ट्याङ्कर, फोहर बोक्ने सवारी साधन, स्वास्थ्य संस्थाका सवारी साधनलाई भने निर्वाधरुपमा सञ्चालन गर्न दिइनेछ । निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन सुरक्षा प्रबन्ध मजबुद बनाइएको प्रजिअ रिजालले जानकारी दिए । मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य रुपमा वर्गीकरण गरी सुरक्षा प्रबन्ध मिलाइएको छ । निर्वाचनका दिन पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाको सुरक्षा रहनेछ । उपनिर्वाचनका दिन हावाहुरी र पानी परेको खण्डमा मतपत्र र मतपेटिका सुरक्षाका लागि आवश्यक सबै व्यवस्थापन मिलाइएको उनले बताए ।
सरकार र राष्ट्र बैंक निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधान नेपाल सरकार तथा निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । नुवाकोट उद्योग वाणिज्य संघको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् । उनले सरकार र राष्ट्र बैंकसँग मिलेर छिट्टै आर्थिक समस्या समाधानको उपाय निस्कने बताए । ‘हामीले नेपाल सरकार र नेपाल राष्ट्र बैंक वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएका छौं, अर्थमन्त्रीज्यू र गभर्नरज्यूले यसको समाधान गर्ने आश्वासन पनि दिनुभएको छ,’ उनले भने । ढकालले नुवाकोट जिल्ला संघीय राजधानीदेखि नजिक रहेको बताउँदै यहाँ कृषि, पर्यटन र जलस्रोतलगायत धेरै क्षेत्रकोे सम्भावना रहेको बताए । उनले यहाँका सम्भावित क्षेत्रमा आयोजनाहरु पहिचान गर्न सके त्यसमा पुँजी र प्रविधिको अभाव नहुने पनि बताए । ‘तपाईहरुले यहाँका सम्भावित परियोजनाहरु छनौट गर्नुहोस्, यहाँका पर्यटन, कृषि र जलविद्युत कुन कुन क्षेत्रमा लगानीको सम्भावना छ, म व्यक्तिगत रुपमा वा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा यहाँहरुसँग सहकार्य गर्न तयार छु,’ उनले भने ।
हावाहुरीले हवाई उडान प्रभावित, कतार एयरवेजको जहाज एक घण्टा बढी होल्डमा
फाइल फाेटाे काठमाडौं । हुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ । अपराह्नदेखि सुरु भएको हुरीले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार एक घण्टादेखि निरन्तर चलिरहेको हावाहुरीले आन्तरिकतर्फ उडान ‘डिले’ भएका छन् भने अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका छन् । भारतको नयाँदिल्लीबाट आएको भिस्तारा एयर र कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज एक घण्टा बढी होल्डमा परेको हो । ‘वेगले चलेको हुरीले विमानस्थलबाट हुने सम्पूर्ण उडान प्रभावित भएको छ, बीचमा हुरी कम भएकाले आन्तरिक उडानका जहाज अवतरण गरिए पनि पुनः हुरी चलिरहेकाले आन्तरिक उडान स्थगित गरिएको छ, अन्तर्राष्ट्रियका दुई जहाज होल्डमा छन्,’ महाप्रबन्धक तिवारीले भने । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशका पहाडी भेगका कतिपय स्थानमा हल्कादेखि क्षणिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा अपराह्नपछि हल्कादेखि क्षणिक वर्षा भएको छ ।