विकासन्युज

इदुलफित्र हर्षोल्लासका साथ मनाइयो

मोरङ । इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र आज यहाँ हर्षोल्लासका साथ मनाइएको छ । विराटनगर महानगरपालिका–१३ स्थित इदगाहमा गएर इस्लाम धर्मावलम्बीले आज बिहान सामूहिक नमाज (प्रार्थना) गर्नाका साथै एकापसमा अँगालो मारेर इदमुबारक (बधाई तथा शुभकामना) साटासाट गरिएको छ । एक महिनासम्म चलेको रमजान पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । दान दिनु गरिब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन । यस पर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल र मिठाई साथीभाइ, इस्टमित्रलाई खुवाउने प्रचलन रहिआएको छ ।

निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोँचबाट राज्य पनि मुक्त हुन जरुरी छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोँचबाट राज्य पनि मुक्त हुन जरुरी रहेको बताएका छन् । शनिवार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकार पनि निजी क्षेत्रलाई पाएसम्म दबाउनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुन नसकेको बताए । उनले निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोँचबाट राज्य मुक्त हुनुपर्ने बताए । उनले दुवैतर्फबाट यस्ता अनुचित सोँच नत्यागेसम्म अर्थतन्त्रले गति लिन नसक्ने बताए । उनले भने, ‘निजी क्षेत्रले नाफा मात्रै खोजेको छ भन्ने सोँचबाट राज्य पनि मुक्त हुन जरुरी छ । निजी क्षेत्रले पनि राज्यलाई यो हामीलाई मात्रै दबाउने वा अठ्याउने वा निचोर्ने संस्था हो भन्ने सोचबाट मुक्त हुन जरुरी छ । राज्य पनि निजी क्षेत्रलाई दबाउने भन्ने मानसिकतामा हुन्छ भने निजी क्षेत्र पनि मौका पाएसम्म राज्यलाई करमा हुन्छ की अन्य के मा हुन्छ छल्ने र अघि जाने भनेको जस्तो मानसिकता अझै बदलिएको छैन । यो सोचमा बदलाव नआइकन हुँदैन ।’ प्रधानमन्त्री दाहालले अहिले विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा बिस्तार हराउँदै उपभोक्तावादतिर समाज गइरहेको बताए । उनले राजनीति र समाज नै राष्ट्र, समाज र आम जनताको दीर्घकालीन हीततिर भन्दा तत्काल नाफा नोक्सानतिर केन्द्रित हुने गरेको आरोप लगाए । उनले राजनीतिमा पनि राजनीतिक एजेण्डातिर भन्दा आवेगतिर जाने खतरा पैदा भइरहेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले भने, ‘आजभोलि त विचार, सिद्धान्त, राजनीति, मूल्य, मान्यताको कुरा बिस्तारै बिस्तारै हराउँदै उपभोक्तावादतिर तत्काल नाफा नोक्शातिर, राष्ट्र, समाज र आम जनताको दीर्घकालीन हीततिर भन्दा तत्कालीन विषयतिर जान थालेको छ । राजनीतिमा पनि राजनीतिक एजेण्डातिर भन्दा आवेगतिर सेन्टीमेण्टतिर जाने हो की भन्ने खतरा देखापरेको छ । त्यसैले पहिला त हामीले हाम्रो नेपाली सोँच भनेको के हो ? हामीले पुँजीवादले विकास गरेका नवउदारवाद सम्मका कुरादेखि लिएर बजारमुखी अर्थतन्त्रका कुरादेखि लिएर समाजवादले विकसित गरेका सामाजिक न्यायसँग सम्बन्धित कयौँ कुरालाई पनि आत्मसाथ गरेर हामीले संविधानमा व्यवस्था गरेका छौँ । एकातिर राजनीतिक प्रतिष्पर्धा (बहुदलीय प्रतिष्पर्धा) को राजनीतिक प्रणाली भनेका छौँ भने अर्कोतिर हामी समाजवादउन्मुख राज्यको परिकल्पना पनि संविधानमा नै गरेका छौँ ।’ प्रधानमन्त्री दाहालले आर्थिक विकासको रणनीतिबारे राजनीतिक दलहरुले साझा धारण बनाउन नसक्दा देशको विकासमा ढिलो भइरहेको बताए । उनले विदेशीले विकसित गरेका विचार, दर्शन, सिद्धान्त, मान्यताको अन्ध अनुकरण गन प्रवृत्ति हाबी हुँदै गएको बताए । उनले नेपालको इतिहास, संस्कृति, भुगोल, आर्थिक जीवनले विस्तृत गरेका मान्यताहरु परिभाषित गर्ने दिशातिर सरकारले ध्यान दिन नसकेको बताए । प्रधानमन्त्री दाहालले अहिले पनि अधिकांशमा केन्द्रिकृत मानसिकता नै हाबी हुने गरेको बताए । उनले भने, ‘हामीले राज्य प्रणालीमा संघीय, प्रदेश र स्थानीय तीन तहको संरचना बनाउने प्रयास ग¥यौं । यो तीन तहको सरकार बनाउनुको पछाडि र निजी, सार्वजनिक र सहकारीको समन्वयमा देशको अर्थतन्त्र विकसित गर्ने भनेको के हो ? यसको अन्तरसम्बन्ध के हो ? यसमा विद्यमान अन्तरबिरोध के हो ? भनेर हामीले नेपाली मौलिकतामा हाम्रो संविधानले निर्दिष्ट गरेको राजनीतिक प्रणालीको तात्पर्य हो । आर्थिक विकासको रणनीतिबारे भनेको कुरा यो हो भन्नेमा हामीले साझा धारणा बनाउन सकेका छैनौँ । त्यसकारण हामी विदेशीले विकसित गरेका विचार, दर्शन, सिद्धान्त, मान्यताको अन्ध अनुकरण गर्ने, जे ल्याएको छ, विदेशी सबै राम्रो हो, नेपाली नराम्रो हो भन्ने मान्यताबाट मुक्त हुनुपर्छ । हाम्रो नेपालको इतिहास, संस्कृति, भुगोल, आर्थिक जीवनले विस्तृत गरेका मान्यताहरु यी हुन् भनेर परिभाषित गर्नेतिर जत्ति हाम्रो ध्यान जानुपर्ने हो त्यो गएको छैन । हाम्रो मानसिकता अहिले पनि तीन तहको सरकारको छैन । एकै तहको सरकारको छ । त्यो सिंहदरबारको सरकारकै मानसिकताबाट सोचबाट हामी मुक्त हुन सकेका छैनौँ । हामी सबै चिज केन्द्रिकृत नै गर्ने चाहना राख्छौँ । हाम्रो राजनीतिक नेतृत्वमा पनि त्यो चिज प्रवल छ । संविधानमा जे कुरा लेखिएको भएपनि संविधानअनुसारको ऐन, कानून बनाएर दृढतापूर्वक अघि जाने र आम जनतालाई आर्थिक क्रियाकलापमा र राजनीतिक क्रियाकलापमा सक्रिय पार्ने जुन स्तरको तत्परता र रुची हुनुपर्ने हो त्यो स्तरको हाम्रो राजनीतिक नेतृत्वमा पनि छैन । हाम्रो संरचना पनि कर्मचारी तन्त्र होस् वा सुरक्षातन्त्र केन्द्रिकृत मानसिकताबाट टाढा हुन सकेका छैनौँ ।’ प्रधानमन्त्री दाहालले सबैको सामुहिक प्रयासबाट नै अर्थतन्त्र लयमा आउन थालेको बताए । उनले सामाजिक सेवामा देखापरेका झन्झटहरुमा पनि समाधानको प्रयास गरिरहेको बताए । उनले निजी क्षेत्रलाई अफ्ठ्यारो पार्ने काम गर्न नदिने प्रतिवद्धता पनि जनाए ।

मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत लिँदैछन् । आज अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ । साठी सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री अधिकारीले संवैधानिक व्यवस्थाको पूर्ण पालना गर्दै आफूले २९औँ दिनमा विश्वासको मतको सामना गर्न लागेको बताए । प्रदेशसभाको अङ्कगणित हेर्दा उनले विश्वासको मत पाउने सम्भावना भने कम देखिन्छ । सरकार गठनका लागि निर्णायक माओवादी केन्द्रले समर्थन फिर्ता लिएर नेपाली कांग्रेससँगको गठबन्धनमा पुगेको छ । प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ (सभामुखसहित), राप्रपाका दुई र एक स्वतन्त्र सदस्य हुनुहुन्छ । मुख्यमन्त्री अधिकारी विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुनुहुनेछ । वर्तमान सरकार ढलेपछि संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।

टोखामा आगलागीबाट एक करोडको क्षति

सांकेतिक तस्बिर काठमाडौं । काठमाडौंको टोखामा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ । टोखा नगरपालिका–८ मिलनटोलस्थित मिलन बजारमा गए राति धर्मराज डङ्गोलको मासु पसलमा ग्यास लिक भई आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आगलागीबाट पाँच पसलमा रहेका सामान नष्ट भएका छन् । तीन खाली सटरसमेत जलेर नष्ट भएका छन् । आगालागीबाट कमला तामाङले सञ्चालन गरेको जुत्ता पसल जल्दा १६ लाख, मुना थापाले सञ्चालन गरेको फेन्सी पसल जल्दा ३५ लाख, प्रदीप लम्सालले सञ्चालन गरेको डेरी जल्दा रु दुई लाख, विकास श्रेष्ठले सञ्चालन गरेको सिलाइ कपडा पसल जल्दा दुई लाख, मधु न्यौपानेले सञ्चालन गरेको मोबाइल पसल जल्दा २० लाख र धर्मराज डङ्गोलले सञ्चालन गरेको मासु पसल जल्दा २५ लाखको क्षति भएको रिजालले जानकारी दिए। यस्तै श्याम श्रेष्ठ, टेकराज पोखरेल र धनबहादुर बस्नेतको पसलको सटरसमेत जलेर नष्ट भएको छ । नेपाल प्रहरी, स्थानीयबासी र दमकलको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।

इस्लाम धर्मावलम्वीले आज रमजान मनाउँदै

काठमाडौं । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ देशभर मनाइँदैछ । इदुलफित्र मुस्लिम समुदायका धर्मालम्वीहरु एक महिना रोजा (व्रत) बसेर मनाउने गर्दछन् । रमजानको अवसरमा आज काठमाडौंको घण्टाघर नजिकै रहेको कास्मिरी मस्जिदमा नमाज पढ्न मानिसहरू भेला भएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । साथै रमजान महिनालाई मुस्लिम समुदायले दान गर्ने महिनाको रुपमा समेत लिने गर्दछन् । चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिएपछि सोही शुक्रवारबाट व्रत बस्न शुरु भएको थियो । रमदान अर्थात रमजान महिना सकिएको खुशीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउन लागेका छन् । हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

काठमाडौं उपत्यकामा रहेका मानिसको घरको कथा (फोटो फिचर)

लेलेमा परम्परागत गुठी घर । काठमाडौं । मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर । जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरु कहाँ बस्थे होलान् ? बस्ने ठाउँ कस्ता हुन्थे होलान् ? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान् ? गुफा नभएको ठाउँमा कता बस्थे होलान् ? यी सबै कुराको बारेमा समाजशास्त्रीहरुको फरक–फरक मत छ । तर, पनि मानिस कहिलेदेखि समाजमा बस्न थाल्यो अझै पनि खोजको बिषय बनेको छ । घाम, पानी, हावा–हुरी जंगली जनावर शत्रुबाट बच्न वा अन्य जे कारणले भएपनि मानिसले घर बनाउन थालेको धेरै भयो । काठमाडौंको सुन्ताथानमा रैथाने घर । नेपालमा वाह्य पर्यटक प्राकृतिक सम्पदा विभिन्न जातिहरुको संस्कृति र मौलिक घर एवं बस्तीहरु हेर्न आउँछन् । मौलिक घर नेपाली समाजको सभ्यताको पहिचान मानिन्छ । विविध जाति, धर्म तथा भौगोलिक बनावट भएको मौलिकताले पर्यटकहरुलाई आकर्षण गराएको छ । पर्यटकहरुलाई आधुनिक भन्दा स्थानीय ढुंगामाटो तथा काठ प्रयोग गरी बनाइएको पुराना शैलीको मौलिक घर भएका गाउँमा अवलोकन गर्न रुचाउँछन् । काठमाडौंको पेप्सीकोलामा पृथ्वीको नक्सा अंकित घर । शहरदेखि गाउँसम्म पछिल्लो समय काठका छाना, खरका छाना, ढुंगाका छाना, टिनका छाना हुँदै अहिले आएर सिमेन्ट कंक्रिट ढलानका छाना भएका घरहरु प्रशस्त छन् । साथै आफ्नो रुची, हैसियत अनुसार उपत्यकामै पनि घरहरुका अकार, रङ, शैली फरक फरक छन् । तर पनि घर सबैलाई आफ्नो आश्रयका लागि चाहिन्छ नै । नेपालमा भित्रिने वाह्य पर्यटकहरु मौलिक संस्कृति, भेषभूषा रहन सहन र भाषा समेत अध्ययन गर्न रुचाउँछन् । ललितपुरको धोविघाटमा बनाइएको अत्याधुनिक घर । मौलिकता र सुन्दरताका हिसावले काठमाडौं, भक्तपुर र ललितपुरका पुराना घरहरु ५० वर्ष पहिलासम्म विश्वका उत्कृष्ट पचास शहरमध्ये १० औं नम्बरमा थियो । तर, अहिले आधुनिक कंक्रिटको घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ । जसकारण सबैले मौलिक घरलाई छोड्दै त्रंmकिटको घर बनाउन थालेका छन् भने काठमाडौं उपत्यका कंक्रिटको शहरको रुपमा परिचित छ । ललितपुरको बडिखेलमा शिशाको प्रयोगबाट बनाइएको घर । उपत्यकाका केही भित्रि बस्ती बाहेकका क्षेत्रमा मौलिक पहिचान झल्किने घर भेट्न मुस्किलप्रायः छ । मौलिक पुराना घर जोगाएर पर्यटनको विकास गर्न राजनीतिक नेतृत्व नै अन्योलमा छन् । पर्यटनको विकासको लागि मौलिक घर निर्माण र पुरानो सीपको प्रयोग गरेर नेपालको सौन्दर्यलाई पुनःउजागर गर्न सबै एक हुन जरुरी छ । अहिले विभिन्न शैलीका मौलिक एवं परम्परागत घरहरु लोप हुने अवस्थामा पुगेका छन् । पुराना मौलिक घर भत्काएर नयाँ आधुनिक किसिमका कंक्रिटका घरहरु शहर बजारदेखि गाउँसम्म बन्न थालेका छन् । अर्कोतर्फ ढुङ्गा, टायल, खरले छाएका नेपाली परम्परागत र मौलिक घर भत्काएर आधुनिक कंक्रिट पिल्लरको घर बन्न थालेका छन् । यद्यपी काँठ क्षेत्रमा भने अझैपनि पुराना कलात्मक शैलीको प्रयोग गरी बनाइएका घरहरु भने कतै भेटिने गर्छन् । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल ।

धुलिखेल–खावा सडक निर्माण कम्पनीविरुद्ध जाहेरी, ठेक्का रद्दको सिफारिस

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दर्ता गरिएको छ । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले ठेकेदारको लापर्बाहीले सडक यात्रुको स्वास्थ्यमा खेलवाड भएको तथा यात्राका क्रममा दुर्घटना भई कयौँको अङ्गभङ्ग भएको जनाउँदै ठेकेदारविरुद्ध क्षतिपूर्ति मागसहित शुक्रबार कार्यालयमा उजुरी दिनुभएको हो । उजुरीमा निर्माण सेवा तथा त्यसका सञ्चालक रामकुमार थापाले निर्माणमा ढिलाइ गरेको लापर्बाहीकै कारण धुलिखेल–खावा सडक खण्डमा यात्रु जोखिम मोलेर हिड्न बाध्य भएको, सडकमा उडेको धुँवाले यात्रु बिमारी परेको तथा खाल्डाखुल्डीका कारण सवारीसाधन दुर्घटनामा परेपछि उजुरी दर्ता गरिएको नगर प्रमुख खरेलले बताए। सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । चार किलोमिटर सडकखण्ड विस्तार एवं निर्माण सुरु भएको दश महिना बितिसक्दा दश प्रतिशत मात्रै काम गरी रोकेपछि सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित जनप्रतिनिधिले कामलाई निरन्तरता दिन गत चैत २९ गतेदेखि सात दिनको म्याद दिइएका थिए । निर्माण अलपत्र अवस्थामा रोक्दा उक्त सडकखण्डमा यात्रुले निकै सास्ती खेप्दै आएका हुन् । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासिनीले सडक निर्माण सुरु भएको करिब ५० प्रतिशत समय बितिसक्दा दश प्रतिशत मात्रै काम भएको बताए । निर्माण व्यवसायीले सन्तोषजनक काम नगरेपछि शुक्रबार जिल्लामा बसेको सरोकारवालाको भेलाले ठेक्का रद्द गर्ने मागसहित सिफारिस गरेको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको अध्यक्षतामा बसेको बैठकले धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द गर्न माग गरेको हो । ठेकेदारले सन्तोषजनक काम नगरेपछि सम्बन्धित सरोकारवाला निकाय सडक डिभिजन कार्यालय भक्तपुरलाई उक्त सडक खण्डको ठेक्का रद्द गर्न माग गर्दै आवश्यक विषयमा सहयोग गर्ने र रद्दका लागि सिफारिससमेत गरेको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ठेकेदारलाई एक हप्ताको अल्टिमेटम दिँदासमेत बेवास्ता गरेकाले कानुनबमोजिम कारबाहीको प्रक्रियासहित ठेक्का रद्दको माग गरिएको बताए। मरासिनीका अनुसार सात दिनभित्र चित्तबुझ्दो गरी तीव्रगतिमा कामलाई निरन्तरता नदिएका कारण कानुनबमोजिम ठेक्का सम्झौता रद्द गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही गरिने छ । डिभिजन कार्यालयले छ महिनाको अवधिमा निर्माण व्यवसायीलाई नौ पटक पत्राचार गरेकोमा निर्माण ढिलाइका विषयमा कुनै जानकारी नदिएपछि विभाग ठेक्का रद्द गर्ने प्रक्रिमासमेत पुगेको बताइएको छ । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ । उक्त सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रु २० करोड १९ लाखमा सम्झौता गरिएको थियो । सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने कार्यालयले जनायो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको थियो । निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै निर्माणको काम दुई महिनादेखि रोकेका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो । उक्त सडक हुँदै उत्तरी नाका तातोपानी पुग्ने गरिन्छ । यही सडक काभ्रेपलाञ्चोकबाट सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि प्रयोग हुन्छ ।

काठमाडौंका निजी विद्यालयले विद्यार्थीलाई दिएको छात्रवृत्तिको जानकारी वेबसाइटमा राख्नुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका निजी विद्यालयहरुले विद्यार्थीहरुलाई दिएको छात्रवृत्तिको विवरण विद्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले विद्यालयहरुले नियमअनुसार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र सो जानकारी विद्यालयको वेबसाइटमा प्रकाशन गर्नुपर्ने बताएका छन् । साथै उनले नियम कार्यान्वयन नगर्ने विद्यालयहरुलाई आवश्यक कानुनी कारबाही गर्ने समेत बताएका छन् । बालेनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ नियम ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विध्यालयहरुले उपलब्ध गराउने छात्रवृत्ति अन्तर्गत प्रत्येक कक्षामा प्रथम र द्वित्तीय हुने विद्यार्थीहरूलाई क्रमशः शतप्रतिशत र पचास प्रतिशत शुल्क मिनाहा गर्ने तथा विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा दश प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिव, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने नियम रहेको स्मरण गराउदै नयाँ शैक्षिकसत्र सुरु हुँदै गरेको परिपेक्षमा काठमाण्डौ महानगरपालिकाभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरुले उपलब्ध गराउनु पर्ने छात्रवृति नियमसंगतरुपमा उपलब्ध गराउन हुन ध्यानाकर्षण गराउँदछौँ । साथै छात्रवृत्ति सम्बन्धित सम्पुर्ण जानकारी विद्यालयको वेबसाईट तथा सुचनापाटिमा टाँस गरि अभिभावक र बिर्ध्यार्थी हरुलाई सुचित गराउन अनुरोध गरिन्छ । अतः नियमको पालना गर्न, गराउन पहल गर्न सम्बन्धित विद्यालय,अभिभावक तथा सम्पूर्ण सरोकारवालालाई अनुरोध गरिन्छ । अन्यथा कानुन बमोजिम कारवाही अगाडि बढाउन महानगर बाध्य हुनेछ । यो सम्बन्धी कुनै समस्या देख्नु भएमा काठमाडौ महानगर कलसेन्टर ११८० मा कल गरेर गुनासो गर्न सक्नु हुनेछ ।’