विकासन्युज

वाणिज्य बैंकहरूको नाफा ११ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्ष चैतसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको नाफा १० दशमलव ९२ प्रतिशत बराबरले बढेको छ । गत वर्षको तुलनामा १४ वटा वाणिज्य बैंकको नाफा बढेको छ भने सातवटाको घटेको छ । गत वर्ष तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूले ४३ अर्ब ४१ करोड बराबर नाफा कमाएका थिए । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा गरेको कुल नाफाको तुलनामा यस वर्षको सोही अवधिमा सबैभन्दा धेरै नाफा गर्नेमा एभरेष्ट बैंक देखिएको छ । एभरेष्ट बैंकले गत वर्षको तुलनामा ६२ दशमलव ६२ प्रतिशतले नाफा बढाएर चैत मसान्तसम्ममा दुई अर्ब ४६ करोड बराबर पु¥याएको छ । त्यस्तै स्टाण्डर्ड चार्टर्ड बैंकले गत वर्षको तुलनामा ६० दशमलव २५ प्रतिशतले नाफा बढाएर दुई अर्ब ६१ करोड बराबर पुर्याएको छ । रकमका आधारमा नविल बैंकको नाफा बढी छ । यस बैंकको नाफा गत वर्षको तुलनामा यस वर्ष ५२ दशमलव ६३ प्रतिशतले बढेर पाँच अर्ब ११ करोड पुगेको छ । रकमका आधारमा बढी नाफा कमाउने बैंकमा ग्लोबल आइएमई बैंक दोस्रो र एनआइसी एसिया बैंक तेस्रो स्थानमा छन् । ग्लोबल आइएमई बैंकले गत वर्षको तुलनामा आफ्नो नाफा १६ दशमलव ९६ प्रतिशतले बढाएर चार अर्ब ३५ करोड पुर्याएको छ भने एनआइसीले ११ दशमलव ३८ प्रतिशतले बढाएर चार अर्ब एक करोड पुर्याएको छ । धेरै नाफा कमाउने बैंकहरूको सूचीमा राष्ट्रिय वाणिज्य बैंक चौथो स्थानमा छ । वाणिज्य बैंकले गत वर्षको तेस्रो त्रैमासको तुलनामा यो वर्ष ३६ दशमलव ६९ प्रतिशतले नाफा बढाएर तीन अर्ब ५७ करोड पुर्याएको हो । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो अवधिमा तीन अर्ब चार करोड बराबर नाफा कमाएको छ । यो गत वर्षको तेस्रो त्रैमासको तुलनामा २२ दशमलव ९६ प्रतिशतले बढी हो । लक्ष्मी बैंकले गत वर्षको तुलनामा आफ्नो नाफा ४७ दशमलव ३१ प्रतिशतले बढाएर एक अर्ब १६ करोड पुर्याएको छ भने नेपाल एसबीआई बैंकले ३८ दशमलव ७१ प्रतिशतले नाफा बढाएर चैतसम्म रु एक अर्ब ८० करोड पु¥याएको छ । त्यस्तै प्रभु बैंकले आफ्नो नाफा ११ दशमलव ५१ प्रतिशतले बढाएको छ । चैत मसान्तसम्ममा प्रभुले एक अर्ब ९५ करोड बराबर नाफा कमाएको हो । सानिमा बैंकको नाफा सात दशमलव ४७ प्रतिशतले बढेको छ । यो अवधिमा सानिमाको नाफा एक अर्ब ७१ करोड बराबर छ । हिमालयन बैंकको नाफा वृद्धिदर एक दशमलव ४४ प्रतिशतमा खुम्चिएको छ । हिमालयले चैत मसान्तसम्ममा एक अर्ब ४१ करोड नाफा कमाएको हो । कुमारी बैंकको नाफा वृद्धिदर शून्य दशमलव ९७ र एनएमबी बैंकको वृद्धिदर शून्य दशमलव ६४ प्रतिशत बराबर छ । कुमारी बैंकले एक अर्ब ८२ करोड बराबर नाफा कमाउँदा एनएमबीले दुई अर्ब ६८ करोड नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा घट्नेमा कृषि विकास बैंक अग्रस्थानमा देखिएको छ । कृषि विकास बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ४५ दशमलव ३६ प्रतिशतले नाफा घटेको छ । गत वर्ष चैतसम्ममा एक अर्ब ९० अर्ब नाफा कमाएको बैंकको यस वर्षको नाफा भने एक अर्ब चार करोडमा खुम्चिएको छ । सिद्धार्थ बैंक लिमिटेडको पनि गत वर्षको तुलनामा नाफा घटेको छ । अघिल्लो चैत मसान्तसम्ममा दुई अर्ब आठ करोड बराबर नाफा कमाएको बैंकले यस वर्ष भने नाफा २८ दशमलव ६५ प्रतिशतले घटेर एक अर्ब ४९ करोडमा कायम भएको छ । सिटिजन्स बैंकको नाफा गत वर्षको तुलनामा २२ दशमलव २४ प्रतिशतले घटेर एक अर्ब २३ करोड बराबर छ । त्यस्तै नेपाल बैंक लिमिटेडको नाफा १८ दशमलव ७२ प्रतिशतले घटेर एक अर्ब ७८ करोड बराबर छ । माछापुछ्रे बैंकको नाफा अघिल्लो वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब ५५ करोड बराबर रहेकामा १२ दशमलव ८८ प्रतिशतले घटेर एक अर्ब ३५ करोड बराबर छ । प्राइम कमर्सियल बैंक र सनराइज बैंकको नाफा गत वर्षको तुलनामा यस वर्ष क्रमशः नौ दशमलव ३५ र आठ दशमलव ३३ प्रतिशतले घटेको छ । चैत मसान्तसम्ममा प्राइमले दुई अर्ब ४६ करोड र सनराइजले एक अर्ब १७ करोड बराबर नाफा कमाएको छ । बढ्यो निष्क्रिय कर्जा वाणिज्य बैंकहरूको चालु आवको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण हेर्दा गत वर्षको तुलनामा निष्क्रिय कर्जा बढेको छ । साँवा–ब्याज उठ्न समस्या भएपछि बैंकहरूको निष्क्रिय कर्जा बढेको छ भने निष्क्रिय कर्जा बढ्दा बैंकको वित्तीय विवरणमा पनि त्यसको असर देखिएको छ । गत आवको चैत मसान्तसम्ममा एक दशमलव २१ प्रतिशत बराबर रहेको बैंकहरूको निश्क्रिय कर्जा चालु आवको सोही अवधिमा तीन दशमलव ४८ प्रतिशत बराबर पुगेको छ । सबैभन्दा धेरै निष्क्रिय कर्जा भएका बैंकहरूमा हिमालयन बैंकको चार दशमलव ५६, कृषि विकास बैंकको चार दशमलव ३५ र नेपाल बैंक लिमिटेडको चार दशमलव १६ रहेको छ । सिटिजन्स बैंकको तीन दशमलव ९८, कुमारी बैंकको तीन दशमलव ९७, सिद्धार्थ बैंकको तीन दशमलव ९५, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको तीन दशमलव ९४, नबिल बैंकको तीन दशमलव ८७, प्रभु बैंकको तीन दशमलव ४८, राष्ट्रिय वाणिज्य बैंकको तीन दशमलव ८८, ग्लोबल आइएमई तीन दशमलव ९६, सनराइज बैंक तीन दशमलव ६२ र प्राइम कमर्सियल बैंकको तीन दशमलव ०६ प्रतिशत बराबर रहेको छ । एनएमबी बैंकको निष्क्रिय कर्जा दुई दशमलव ९६, सानिमा बैंकको दुई दशमलव २७, माछापुछ्रेको दुई दशमलव ३७ र लक्ष्मी बैंकको एक दशमलव ८२ रहेको छ । नेपाल एसबीआई बैंकले शून्य दशमलव ९७, एनआइसी एसिया बैंकले शून्य दशमलव ८५, स्टान्डर्ड चार्टर्ड बैंकले शून्य दशमलव नौ र एभरेष्ट बैंकले शून्य दशमलव सात प्रतिशतमा निष्क्रिय कर्जा कायम राखेका छन् । रासस ।

नेपालेडाँडा परिवारद्वारा भित्तेपात्रो सार्वजनिक

काठमाडौं । नेपालेडाँडा परिवार, काठमाडौंले नयाँवर्ष २०८० सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । काठमाडौं, थानकोटमा शनिवार एक कार्यक्रमको आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पात्रो सार्वजनिक गरेका थिए । नेपालेडाँडा परिवारले प्रकाशित भित्तेपात्रो षडानन्द नगरपालिका वडा नम्बर १ लगायत विभिन्न स्थानमा निःशुल्क वितरण गर्ने जनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि किराँतीले पर्यटन तथा संस्कृतिको क्षेत्रमा नीति तथा केही कार्यक्रम सुधार गर्नुपर्ने र भोजपुरको पर्यटकीय क्षेत्रमा विकास गर्न भूमिका निर्वाह गर्ने बताएका थिए । कार्यक्रममा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई, षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास र नेपालेडाँडा परिवारका अध्यक्ष एटम बिद्रोही लगायतले आफ्नो भनाइ राखेका थिए ।

रविप्रति बाबुरामको कटाक्ष : सिद्धान्त बिनाको चटकेले केही गर्न सक्दैन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर ढंगले प्रतिगमनतिर गइरहेको बताउनुभएको छ । शनिवार नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको उल्लेख गर्दै दक्षिणतिर गम्भीर तरिकाले प्रतिगमनरुपी हावा बगिरहेको बताए । उनले वैचारिक ढंगले अग्रगामी सोचका बिरुद्धमा प्रतिगमनकारी हावा बगिरहेको भन्दै पछिल्लो अवस्थामा डरलाग्दो बनेर देखिएको बताए । पूर्वप्रधानमन्त्री भट्टराईले देश भित्र पनि विभिन्न ढंगले चर्चाका आधारमा मात्रै नयाँ शक्तिहरुको उदय हुनु भनेको राम्रो संकेत नरहेको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी र रास्वपा सभापति लामिछानेप्रति इंगित गर्दै विचारधारा र सिद्धान्त नभएका मान्छेहरु राजनीतिमा आइरहेको बताए । उहाँले सभापति लामिछानेले रातारात जादु गर्छु जस्तो गरी अभिव्यक्ति दिइरहेको भन्दै चटके मानिसहरुको बारेमा समाजे बेलैमा बुझ्न जरुरी रहेको बताए । उनले नयाँ पार्टीहरुले ठूलो प्रतिक्रान्तिको आधार तयार पारिरहेको उल्लेख गरे । उनले भने, ‘यो संविधान र हाम्रो लोकतन्त्र आधा गिलास भरिएको आधा गिलास खाली हो । अब हामीले गर्ने के हो भने यो आधा गिलासलाई जोगाउने हो । अब आधा गिलास पनि रिस उठेर घोप्ट्याउँछु भन्न थाल्नुभयो भने हेर्नुहोला के भइरहेको छ अहिले । पुराना शक्तिले त गरि खाँदै खाँदैनन् । हाम्रै पनि एउटा ठूलो क्रान्तिकारी पंक्ति सत्तामा गइसकेपछि भ्रष्टीकरण भइसकेको छ । हामी केही मान्छे बल्लतल्ल बच्ने कोशिस गरिरहेका छौँ । देश गम्भीर ढंगले प्रतिगमनतिर जाँदैछ । दक्षिणतिर हेर्नुहोस् जुन हावा बगिरहेको छ ।, बडो डरलाग्दो प्रतिगामी हावा बगिरहेको छ । झट्ट हेर्दा त नदेखिन सक्छ । तर वैचारिक ढंगले अग्रगामी सोचका बिरुद्धमा हावा बगिरहेको छ, बिस्तारै यहाँ पनि छिर्दैछ । त्यो बहुत डरलाग्दो छ । यो देश भित्र पनि विभिन्न ढंगले शक्तिहरुको जुन उदय भइरहेको छ, त्यो एउटा पपुलिजमको रुपमा कुनै विचारधारा छैन, सिद्धान्त छैन, यत्रा गम्भीर समस्याहरु छन् । त्यसको कुनै विश्लेषण छैन । तर त्यत्तिकै म आएपछि चकाचक गरिदिन्छु, भनेर मान्छे आएर उफ्रिन्छ, गरिव जनता विदेशतिर पलायन भएका जनता त्यसलाई नै ताली पिट्छन् ? के त्यो जादुगर हो ? यस्ता चटके, जसको सिद्धान्त कुनै छैन, तर जनतामा असन्तुष्टि देखाउन नेतालाई गाली गर्ने, सबैलाई गाली गर्ने, प्रतिशोध राख्न खोज्ने र म आएपछि ठिक गर्दिन्छु भन्नेछन् । यसले ठूलो प्रतिक्रान्तिको आधार तयार गर्दैछ । त्यसैले बेलैमा सबै आरोप प्रत्यारोपमा भन्दा छलफल गरौँ ।’ पूर्वप्रधानमन्त्री भट्टराईले माक्सले बनाएका विचारहरुको धारमा टेकेर नयाँ समाजवादी धार सिर्जना गर्न जरुरी रहेको बताए ।

दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकालीमा बेपत्ता

दार्चुला । दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी आज दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरेनसिंह बुढाथोकीले जानकारी दिए । दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना भएको वडाध्यक्ष बुढाथोकीले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले तुइनबाट खसेर भण्डारी बेपत्ता भएको खबर प्राप्त भएको बताए। ‘दुम्लिङबाट प्रहरी टोली घट्नास्थलमा गएको छ, खोजी कार्य जारी छ’, उनले भने ।

बैंकको ब्याजदर उच्च भएको कारण कर्जा प्रवाह हुन सकेन : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ प्रणालीमा २ खर्ब तरलता भएपनि बैंकको ब्याजदर उच्च भएको कारण कर्जा प्रवाह हुन नसकेको बताएका छन् । शनिवार काठमाडौंमा भएको आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकले नीतिगत निर्णय गरी बैंकको ब्याजदर घटाएर कर्जा प्रवाहको वातावरण बनाउन आवश्यक रहेको बताए । उनले स्थानीय तहमा गएको रकम ऋणपत्रलाई सिडि रेसियोमा गनणना गर्न पाउने समय अवधि अप नभए बैंकमा रहेको २ खर्बको तरलता ५० अर्बमा झर्नसक्ने दाबी गरे । उनले स्थानीय तहको ऋणपत्र बैंकको सिडि रेसियोमा गनणना गर्न असार मसान्तबाट गर्न नपाउने भन्ने डरले बैकहरुले कर्जा प्रवाह गर्न नसकेको बताए । उनले बैंकहरुले कर्जा प्रवाह गर्नको लागि राष्ट्र बैंकको सिडि रेसियो कायम गर्ने समय थप गर्ने सुनिश्चिता गर्नुपर्ने बताए । उनले बैंकको खराब कर्जाको अनुपात ३ देखि ४ प्रतिशत पुगेको बताए । अध्यक्ष ढकालले सरकारले बजारमा तरलता सहज बनाउनको लागि तत्काल पुँजीगत खर्च बढाउन सरकारसँग माग गरे । त्यस्तै,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी नीतिगत व्यवस्था गर्नुपर्ने बताए । उनले सरकारले मुलुकभित्र भएको प्राकृतिक स्रोत र साधनलाई सदुपयोग र निर्यात प्रवद्र्धन गर्ने गरी राष्ट्रिय नीतिको व्यवस्था गर्न आवश्यक रहेको बताए । उनले बैंकहरुले एक सय जना व्यक्तिहरुमा मात्रै ऋण प्रवाह गर्न जोखिम रहेको भन्दै सरकारले ऋण प्रवाहको विषयमा सोच्नुपर्ने बताए । उनले मुलुकमा भएका ९० प्रतिशत उद्योग साना तथा मझौला उद्यमी रहेको भन्दै साना तथा मझौला उद्योगलाई सरकारले प्रवद्र्धन गर्नसके मुलुक आत्मनिर्भर बन्नसक्ने बताए । त्यस्तै, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले निजी क्षेत्रले भोगेको समस्याको कारण सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको बताए । उनले निस्कृय कर्जामा उच्च वृद्धि, उच्च ब्याजदर, नयाँ लगानीको योजना स्थागित, घरजग्गा र शेयर बजारको कारोबार ठप्प, राजस्व संकलनमा कमी,साना र मझौला उद्योगमा समस्याको कारण बजार मागमा संकुचन ल्याएको बताए । उनले बजारको मागमा आएको गिरावटले उद्योगी व्यवसायीहरुको मनोबल गिरावट आएको बताए । उनले बैंकमा बढ्दै गएको खराब कर्जाको अवस्था बढ्दै जाने हो भने मुलुकको अर्थतन्त्रमा अर्को ठूलो समस्या आउनसक्ने बताए । अग्रवालले निजी क्षेत्रले दिएका सुझावलाई सरकारले पालना गरे अर्थतन्त्र सुधार हुने बताए । उनले सरकारको नीति निजी क्षेत्रलाई हस्तक्षेप नभई प्रोत्साहन दिने खालको हुनुपर्ने बताए ।

४ प्रतिशतको आर्थिक वृद्धिले समृद्ध मुलुक बनाउने लक्ष्य पूरा हुँदैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको ४ प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध मुलुक बनाउने लक्ष्य पूरा नहुने बताएका छन् । शनिवार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले सरकारको आर्थिक नीति र मौद्रिक नीतिको प्रमुख लक्ष्य आर्थिक वृद्धि गर्ने भएको बताए । उनले मुलुकको आर्थिक वृद्धिदर बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । उनले पछिल्लो समय सरकारले सबै आयोजना बनाउने भनेर स्रोत सुनिश्चिता बिना आयोजना घोषणा गर्ने गरेको बताए । उनले ५० करोड आवश्यक पर्ने आयोजनामा ५ लाख रुपैयाँ राखेर स्रोतको सुनिश्चितता भयो भनरे ठेक्का लगाएको आवस्था रहेको भन्दै अब सरकारले आगामी बजेटमा स्रोत सुनिश्चितता नभएका आयोजना नसमेट्ने बताए । अर्थमन्त्री महतले करिव ४ खर्ब रुपैयाँ बराबरका स्रोत सुनिश्चिता नभएका आयोजनाहरु ठेक्का लागे पनि आयोजना बनाउने अहिलेसम्म स्रोत नभएको बताए । उनले साना आयोजनामा समेत केन्द्र सरकारले हात हालेको भन्दै अब साना आयोजनाको काम स्थानीय सरकारलाई दिने बताए । उनले आगामी बजेटमा स्रोत सुनिश्चिता भएका आयोजनाहरुलाई पहिलो प्राथमिकता हुने बताए । उनले भने, ‘मुलुकको ४ प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध मुलुक बनाउने लक्ष्य पूरा हुँदैन । सरकारको आर्थिक मौद्रिक नीतिको लक्ष्य समान रुपमा आर्थिक वृद्धि बढाउने हो । हामीले माग आएजति योजना राख्ने, क्षमता नहेरी प्रतिवद्धता जनाउने र योजना अलपत्र पार्ने अवस्था अन्त्य गर्नु अनिवार्य भएको छ । यहाँ पनि दिन्छु, त्यहाँ पनि दिन्छु भनेर ५० करोडको आयोजनामा पाँच लाख राखेर स्रोतको सुनिश्चितता भयो भन्दिने कुराले हामी फसेका रहेछौँ । साना भन्दा साना आयोजनामा केन्द्रले हात हाल्ने कुरा गलत अभ्यास भयो । आयोजना राख्ने र काम गर्न नसक्ने कुराले हामीलाई थप अलोकप्रिय बनाउँछ । त्यसैले स्रोतले भ्याउने सुनिश्चितता गर्ने पद्धति बसाल्ने प्रयासमा छु । आगामी आर्थिक वर्षदेखि त्यो अभ्यास हुनेछ ।’ अर्थमन्त्री महतले बैंकको ब्याजदर कम भएको अवस्थामा ऋण लिएका ऋणीहरुले बैंकको उच्च ब्याजदर भएको बेला कर्जाको किस्ता तिर्न नसक्दा अर्थतन्त्र चलायमान बनाउन समस्या फैदा भएको बताए । उनले बैंकको उच्च ब्याजदर कम गर्ने विषयमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच निरन्तर छलफल भइरहेको बताए । उनले बैंकको ब्याजदर कम गर्ने विषयमा सरकार राष्ट्र बैंक सकारात्मक रहेको बताए । उनले मौद्रिक नीति र नितिगत कार्यक्रममार्फत अर्थतन्त्रलाई चलायमान बनाउने बताए । उनले निजी क्षेत्रको आत्मविश्वास फर्काउन पनि आफूले काम गर्ने बताए । अर्थमन्त्री महतले आर्थिक प्रभावकारिता बढाउन सरकारको विकास खर्च गर्नसक्ने क्षमता बढाउने काम गर्ने पनि बताए । उनले सरकारले प्रभावकारिता मूल्यांकन गरेर खर्च गर्नुको विकल्प नभएको बताए । उनले अर्थतन्त्र चालयमान बनाउनको लागि नीतिगत हस्तक्षेपको योजना बनाएको बताए ।

राजनीतिमा विकृतिको भारी छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको दाबी गरे । उनले कम्युनिष्ट आन्दोलनमा र राजनीतिमा व्यक्तिवादको रोग हाबी भएको बताए । उनले सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त रहेको पनि बताए । उनले अरुलाई मान, सम्मान, मर्यादा गर्ने नभइ सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको दाबी गरे । उनले कसरी असल संस्कार भएका कम्युनिष्ट बन्ने भन्नेबारेमा वृहत छलफल र वहस गर्न जरुरी रहेको बताए । उनले भने, ‘अहिले नेपालको राजनीतिमा वा कम्युनिष्ट आन्दोलनमा भन्ने हो भने एकभारी विकृतिहरु विद्यमान छन् । व्यक्तिवादको रोग लागेको छ । भ्रष्टीकरणको प्रवृत्ति व्याप्त रहेको छ । सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त छ । अरुलाई मान, सम्मान, मर्यादा गर्ने होइन, अरु सबैलाई बडो अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त छ । यी सबै कुराको सन्दर्भमा हामी कसरी असल संस्कार भएका कम्युनिष्ट हुनसक्छौँ, असल भावना भएका कम्युनिष्ट हुनसक्छौँ ? कस्तो किसिमको आदर्शलाई हामी अंगकिार गर्न चाहन्छौँ, यी सबैमा खुला वहस गर्न आवश्यक छ ।’ अध्यक्ष नेपालले सच्चा क्मयुनिष्टहरु एक ठाउँमा मिल्नुको विकल्प नरहेको जिकिर गरे ।

एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’, २० करोड बढीको व्यापार

काठमाडौं । गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौँ उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ । यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि दर्शकले माया दिएका छन् । अभिनेता, निर्माता तथा लेखक दीपकराज गिरीले दर्शकको मायाले दायित्व थपिएको बताए। ‘हामीले चलचित्र निर्माण गरेदेखि नै एकाउन्न दिनको यात्रा तय गरिरहेका छौँ, यसले दायित्व थपेको छ, हामीले अझैँ मेहनती भएर दर्शक मन जित्नुपर्ने हुन्छ’, गिरीले भने। दर्शकले सामाजिक सञ्जालसँगै विविध माध्यममार्फत ‘छक्का पञ्जा ५’ ल्याउनुपर्ने माग राखिरहेका छन् । ‘छक्का पञ्जा’ को पाँचौँ शृङ्खला घोषणा हुने सम्भावना रहेता पनि आधिकारिक निर्णय नभएको अर्का निर्माता तथा कलाकार निर्मल शर्माले बताए । ‘हामी समूहमा छलफल गरेर निर्माण लिनेछौँ, हाम्रो एकाउन्न दिनको यात्रामा २० करोड बढीको कूल व्यापार भएको छ, दर्शकले दिनुभएको मायाले हामीलाई अगाडि बढ्न हौसला मिलेको छ’, कलाकार शर्माले भने । चलचित्रमा दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् । ‘छक्का पञ्जा’ को तेस्रो शृङ्खलासम्म अभिनेत्री निरौलाले नै निर्देशन गर्नुभए पनि चौथो शृङ्खलालाई हेमराज बिसीले निर्देशन गरेका छन् ।