बन्दीपुर केबलकार २५ वैशाखदेखि सञ्चालन, २५ लाख ८० हजार कित्ता आईपीओ बिक्री गर्ने
काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन केबलकारका ‘डिब्बा’ जडानको तयारी थालिएको छ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको हो । कम्पनीकाका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा जडानका लागि सम्पूर्ण टावर तयार भइसकेको र अब डिब्बा जडानको कामलाई अगाडि बढाउन लागिएको जानकारी दिए । उनका अनुसार केबलकारका २१ डिब्बा आइपुगेको छ । केबलकारको परीक्षण आगामी वैशाख २५ गतेदेखि सुरु गर्ने तयारी रहेको उनले बताए । ‘अब डबल सिफ्टमा कामलाई तीव्रता दिन्छौँ, दुईवटा सामान बोक्ने र ६ वटा रेष्ट्रो क्याविन आउन बाँकी छ, केबलकारका टावर, तार सबै जोडिसकिएको छ, डिब्बा जडानको काम अब दु्रतगतिमा अगाडि बढ्छ,’ उनले भने । केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारीसमेत गरिएको छ । साँझ ५ बजेपछि केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालन हुनेछ । ‘केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ देखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौँ,’ अध्यक्ष शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिन सक्नेछ । वि.सं. २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । वि.सं. २०८० मङ्सिरभित्र पाँचतारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । जेठभित्र भ्यूजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ । बन्दीपुर गाउँपालिका-४ बरालथोकमा पाँचतारे होटलको निर्माण पनि तीव्रगतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर २ अर्ब ६० करोड पुगेको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघन्टा ३ सय रहेकामा त्यसलाई बढाएर ५ सय पुर्याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्याइएको छ । १० तल्लाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ । होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी रहेको छ । यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी, बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेशनको पाँच तलामाथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभ्याउने विश्वास गरिएको शर्माले बताए । यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ । बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले १ किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ । केबलकारको साधारण सेयरको सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्न सम्झौता भइसकेको छ । कम्पनीको प्रतिसेयर अङ्कित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता साधारण सेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्काशन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ । ३ अर्ब ४९ करोड रुपैयाँ कुल परियोजना लागत रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको अध्यक्ष शर्माले जानकारी दिए । त्यसमध्ये चुक्ता पुँजीको २ प्रतिशत अर्थात् ४ करोड ३० लाख रुपैयाँ परियोजना प्रभावित स्थानीयवासीलाई छुट्याइनेछ । चुक्ता पुँजीको १० प्रतिशत २१ करोड ५० लाख रुपैयाँ सर्वसाधारणलाई छुट्याइने शर्माले बताउनुभयो । आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको काम भइरहेको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो, जहाँ १ हजार १ सयभन्दा बढी लगानीकर्ता छन् । रासस
धादिङमा उद्यान निर्माणका नाममा सामुदायिक वन अतिक्रमण
मलेखु । धादिङको नीलकण्ठ नगरपालिकाले उद्यान पार्क निर्माणको बहानामा वन क्षेत्र अतिक्रमण गरेको छ । नीलकण्ठ नगरपालिका–८ को कमेरे सामुदायिक वन क्षेत्रमा पार्क निर्माणका लागि भन्दै अन्धाधुन्ध वन क्षेत्रको दोहन गरेको हो । जिल्ला सदरमुकाम धादिङबेँसीबाट करिब एक किलोमिटर पर तीनतले भिरको नामले चिनिने स्थानमा केही दिनदेखि डोजर चलिरहेको छ । त्यहाँका रुख, बिरुवा त मासिएकै छ, त्यहाँबाट रातारात ढुङ्गा तस्करी भएको स्थानीयले बताएका छन् । वन क्षेत्रमा पार्क निर्माण गर्ने विषयमा वन उपभोक्ता समिति र उपभोक्ता पनि अनभिज्ञ छन् । एक्कासी डोजर चल्न थालेपछि मात्रै पार्क निर्माणको लागि काम थालेको खबर पाएको कमेरे सामुदायिक उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बानियाँले बताए । ‘वन क्षेत्रमा पार्क बनाउने, मन्दिर निर्माण गर्ने भन्ने योजना नगरपालिकाले बनाएको रे तर हामीसँग कुनै पनि कुरामा समन्वय भएको छैन’, वन समितिका सचिव होमनाथ कोइराला भन्छन्, ‘यो बजेट कहाँबाट आयो, कति रुपैयाँको बजेट हो, कसले आएर काम गरिरहेको छ हामीलाई कसैले केही जानकारी दिएको छैन ।’ डोजरले खोतल्न थालेपछि मात्रै के गरेछ भनेर हेर्न र सोधीखोजी गर्दै जाँदा पार्क बनाउन लागेको कुरा थाहा हुन आएको उनको भनाइ छ । ढुङ्गा उत्खनन गरी अन्यत्र लगेको देखेपछि रोक्न जाँदा उल्टै धम्की दिने गरेको पनि उनको भनाइ छ । कमेरे सामुदायिक वनभित्र पर्ने तीनतले भिरको मुनि अर्थात् कमेरेडाँडामाथि बागमती प्रदेश सरकारको पर्यटन विकास आयोजनाको ८० लाख रुपैयाँ बजेटमा उपभोक्ता समितिमार्फत तीनतले पार्क निर्माण गर्ने जग्गा सम्याउने काम गरिरहेको छ । नीलकण्ठ नगरपालिकाले पनि यो वर्ष नै त्यही ठाउँमा नीलकण्ठेस्वर मन्दिर निर्माण र सिँढी निर्माणका लागि भन्दै ९० लाख रुपैयाँको बोलपत्रमार्फत काम सुरु गरेको छ । तर प्रारम्भिक वातावरणीय परीक्षण आइइइ समेत नगरी काम भइरहेकोबारे सरोकारवाला कसैलाई पनि थाहा दिइएको छैन । धमाधम डोजर लगाएर ढुङ्गा उत्खनन र संरचना निर्माणको काम कसले र कति बजेटले भइरहेको छ स्थानीय उपभोक्तालाई थाहा हुने कुरै भएन । चासो राख्नेहरूले त पत्तो पाएका छैनन् सामान्य उपभोक्ताले त्यसबारे जानकारी लिनै सकेका छैनन् । पार्क बनाउन भन्दै धमाधम डोजर लगाएर ढुङ्गा उत्खनन र निकासी भइरहेको देखेर विरोधमा उत्रिएका स्थानीयले पार्कको नाममा अवैध काम भएको आरोप लगाएका छन् । उपभोक्ता समितिले गर्ने काम र ठेक्कामार्फत हुने दुवै कामका बारेमा आफूहरू अनभिज्ञ रहेको स्थानीयसमेत रहेका नेकपा एमाले धादिङका नेता भरत ढुङ्गानाले बताए । उत्खनन भइरहेको नजिकैका उपभोक्तासमेत रहेका अनिल कोइराला भन्छन्, ‘यहाँ कस्तो संरचना बन्ने हो, कति बजेटको हो, उपभोक्ता समिति कहिले, कसरी बन्यो, को कहाँका व्यक्तिहरू छन् आधिकारिकरूपमा कुनै जानकारी छैन ।’ सामान्यतया सामुदायिक वनभित्र स्थायी संरचना निर्माण गर्न पाइँदैन । बनाउन परे डिभिजन वन कार्यालयसँग समन्वय गरी कार्ययोजना स्वीकृत गराएर अस्थायी प्रकृतिका संरचना निर्माण गर्न सकिने छ । तर त्यस्ता काम गर्दा ठूला मेसिनको प्रयोग गर्न पाइँदैन । वन ऐनअनुसार वन क्षेत्रबाट चट्टान, ढुङ्गा, कोइलाखानी, माटो, बालुवा आदि निकाल्न वा ओसारपसार गर्न पाइँदैन । विसं २०७२ को वातावरण दिवसका अवसरमा तत्कालीन जिल्ला वन कार्यालय धादिङ नै वृक्षरोपण गरेको स्थानमा पार्क र मन्दिर निर्माणका नाममा भइरहेको दोहन र अतिक्रमणबारे डिभिजन वन कार्यालयसमेत जानकार छैन । सामुदायिक वनमा मनाही गरिएका काम गरेको पाइएमा वन ऐन, २०७६ को दफा ४९ हेरी दफा ५० अनुसार सजाय तोकिएको भए पनि यसको नियमन गर्नुपर्ने डिभिजन वन कार्यालय यो विषयमा बेखबरजस्तै छ । डिभिजनल वन कार्यालय धादिङका प्रमुख अजयविक्रम मानन्धर भन्छन्, ‘औपचारिकरूपमा कसैले जानकारी गराएको छैन । हामीलाई वन अतिक्रमण भएको र त्यहाँबाट दोहन गरी ढुङ्गा निकासी भएकोबारे जानकारी छैन । यदि त्यसरी काम भएको छ भने बुझेर रोक्छौँ ।’ उपभोक्ता समितिका पदाधिकारीले भने सबै प्रक्रिया पूरा गरेरै काम थालेका बताइरहेका छन् । वडा नं ८ कार्यालयले उपभोक्ता समितिका अध्यक्ष केशवराज थपलियाको नाममा रकम सम्झौता गरिदिन पर्यटन विकास आयोजनाको कार्यालय हेटौँडालाई सिफारिस पनि पठाएको पाइएको छ । पार्क निर्माणस्थल सार्वजनिक जग्गामा पर्ने र सो स्थानमा पार्क निर्माणका लागि उपलब्ध गराउन सकिने व्यहोरा खुलाइएको सिफारिससमेत वडा कार्यालयले पर्यटन विकास आयोजनालाई दिएको छ । नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले भने, ‘योजना हाल्ने कुरामा नगरपालिकासँग कुनै समन्वय भएको छैन । योजना बनाउने कुरामा हामीलाई थाहा नै छैन । सिँढी नगरपालिकाले बनाएको हो । त्यो वन क्षेत्रमा पर्दैन । ढुङ्गा उत्खनन भइरहेको खबर पाएपछि नगर प्रहरीले त्यो काम रोकिसकेको छ ।’ स्थानीय तहले सार्वजनिक क्षेत्र भनी योजना माग गरेपछि रकम विनियोजन गरेको पर्यटन विकास आयोजनाले बताइरहँदा नगरपालीकाकाले दिएको प्रतिक्रियाले राज्यका निकायका बीचमा समन्वयको अभाव मात्र देखाउँदैन, आयोजानाको कानुनी प्रक्रियामा समेत प्रश्नचिह्न खडा गरेको छ । कमेरे सामुदायिक वन ४२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । करिब दुई सय घरधुरीले यो वनको संरक्षण गर्दै आएको छ । तर वन संरक्षणमा लागेका उपभोक्तालाई नै थाहा नदिई नियम र कानुन हातमा लिएर प्राकृतिक स्रोत र सम्पदाको अनधिकृत प्रयोग रोक्न स्थानीय उपभोक्ताले सम्बन्धित निकायलाई अनुरोध गरिरहेका छन् । रासस
पर्यटकीय क्षेत्र ‘कौडे लेक’मा पुग्न पदमार्ग
ढोरपाटन । सिग्दी गाउँको शिरमा छ कौडे लेक । प्राकृतिक सुन्दरताले भरिपूर्ण सो लेक ओझेलमा थियो । बरेङ बजारबाट पदमार्ग हुँदै पुग्न सकिने यस लेक दुई हजार छ सय मिटरको उचाइमा छ । बागलुङको बरेङ गाउँपालिका–२ मा पर्ने कौडे लेक बरेङ बजारबाट सिग्दी गाउँ हुँदै वनजङ्गल र भिरपहरा छिचोल्दै यहाँ पुग्न सकिन्छ । यस लेकमा दैनिकजसो सिग्दी गाउँका स्थानीय घाँस–दाउरा गर्न पुग्ने गर्छन् । पछिल्लो समय पदमार्ग निर्माण भएपछि आन्तरिक पर्यटकसमेत सो लेकमा पुग्न थालेका छन् । गाउँपालिकाले सिग्दी गाउँबाट करिब तीन किलोमिटर पदमार्ग निर्माण गरेको छ । पदमार्गले पर्यटक आकर्षित गर्नुका साथै स्थानीयलाई समेत सहज बनाइदिएको छ । सूर्योदय र अनेकौँ दृश्यावलोक गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् । बागलुङ र गुल्मी जिल्लाको सङ्गमस्थलसमेत रहेको कौडेलाई प्रवद्र्धनका लागि बरेङ गाउँपालिकाले प्राथमिकता दिएको छ । गाउँपालिकाले पदमार्गको छेउछाउमा पर्यटक विश्रामका लागि चौपारीसमेत निर्माण गरेको छ भने वन्यजन्तुलाई खानेपानीका लागि पोखरीसमेत बनाइदिएको छ । बाइसे–चौबिसे राज्यका बेला यहाँ भुरेटाकुरे राजाले राज गरेको इतिहास छ । अहिले पनि यहाँ दरबारका भग्नावशेष भेटिने गरेको स्थानीयको भनाइ छ । जिल्लाकै अग्लो पहाडमध्येमा पर्ने कौडे लेकलाई पर्यटकीय गन्तव्य बनाउनका लागि सुरुका वर्षदेखि बजेट विनियोजन गरेर पूर्वाधार निर्माण गरिरहेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । उनले अघिल्लो कार्यकालदेखि सुरु गरेको पदमार्ग निर्माणका काम सकिएको र यसको प्रचार–प्रसारलाई जोड दिने जानकारी दिए । बरेङ बजारबाट साढे दुई घन्टाको पैदलयात्रामा यहाँ पुग्न सकिन्छ । अध्यक्ष शर्मा भन्छन्, ‘कौडे लेक ऐतिहासिक ठाउँ हो, यो क्षेत्रकै सबैभन्दा अग्लो पहाड भएको र पर्यटकीय हिसाबले निकै उत्कृष्ट भएको हुँदा गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर यसको विकासमा लागिरहेका छौँ, अहिलेसम्म पदमार्ग, पाखरी, बगैँचा र चौपारीलगायतका संरचना बनाएका छौँ, अझै पूर्वाधार बनाउनुपर्ने छ, रहेक वर्ष बजेट विनियोजन गरेर काम भएको छ, यस वर्ष पनि केही काम भएका छन् भने पदमार्गले गर्दा केही पर्यटक पनि आउने गरेको पाइएको छ ।’ उनले अहिलेसम्म पदमार्गलगायतका संरचना निर्माण गर्दा ८० लाख रुपैयाँभन्दा बढी खर्च भएको जनाउँदै थप संरचना क्रमागतरूपमा बन्ने बताए । पर्यटक भित्र्याउन प्रचार–प्रसारसँगै सिग्दीमा पुनः घरबास होमस्टे सञ्चालनका लागि स्थानीयसँग सहकार्य गर्ने अध्यक्ष शर्माको भनाइ छ । सिग्दीबाट करिब तीन किलोमिटरको दूरीमा सो लेक रहेको छ । बरेङ गाउँपालिका–२ का स्थानीय हीरा पुनमगरले पदमार्गले पर्यटकलाई आकर्षण गरेको बताइन् । पहिले कौडे लेक स्थानीयको घाँस–दाउरा गर्ने थलो भए पनि अहिले पर्यटक घुम्न आउने गरेको उनको भनाइ छ । पदमार्ग नहुँदा यस लेकमा बाहिरी मान्छे नपुग्ने गरेको भन्दै अहिले आन्तरिक पर्यटकको आगमन हुन थालेको उनी बताउँछिन् । ‘पदमार्गले कौडे लेकको प्रवद्र्धन हुँदै गएको छ, पहिले स्थानीयलाई मात्रै थाहा थियो कौडे लेकको विशेषता, अहिले घुम्न आउने सबैले थाहा पाउन थाले, अग्लो पहाड यति धेरै सुन्दरताले भरिएको छ, यसले गर्दा यहाँ एकपटक घुम्न आएकाहरू पुनः अर्कोपटक आउने गरेका छन्’, उनले भने, ‘सिग्दी गाउँ हुँदै कौडे पुग्ने हुँदा यहाँको आयआर्जनमा पनि केही परिवर्तन आउँछ कि भन्ने अपेक्षा गरेका छौँ, अहिले बिदाको समयमा पर्यटक बढी आउने गरेका छन्, सम्बन्धित निकायले पर्यटक बढाउने खालका कार्यक्रम ल्यायो भने दैनिक यहाँ आउने बढ्नेछन् ।’ कौडे लेकबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत पूर्वदेखि पश्चिमसम्मका अनगिन्ती हिमशृङ्खलासँगै बागलुङको अधिकांश भू–भाग तथा गुल्मी, पर्वत, पाल्पालगायतका ठाउँ र भञ्ज्याङ सहजरूपमा अवलोकन गर्न सकिन्छन् । सूर्योदय र सूर्यास्तसमेत यहाँबाट देख्न सकिन्छ । रासस
नेप्सेमा ९ लघुवित्तको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ९ लघुवित्त वित्तीय संस्थाहरुको बोनस सेयर सूचीकृत भएको छ । लघुवित्त संस्थाहरुले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् । हालसम्म महिला लघुवित्त, आरएसडिसी लघुवित्त, साधना लघुवित्त, गुराँस लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, सिवाईसी नेपाल लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त र साविक आँधिखोला लघुवित्तको बोनस नेप्सेमा सूचीकृत भएको हो । यस्तै, विन नेपाल लघुवित्तको अघिल्लो आर्थिक वर्षमा वितरण गरिएको बोनस नेप्सेमा सूचीकृत भएको हो । महिला लघुवित्तको ४७.५० प्रतिशत बोनस वापतको ७ लाख ६२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४७.५० प्रतिशत बोनस सेयर र २.५ प्रतिशत नगद गरी कूल ५० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आरएसडिसी लघुवित्तको ८ प्रतिशत बोनस वापतको ६ लाख ४४ हजार १२४.५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साधना लघुवित्तको १९ प्रतिशत बोनस वापतको ६ लाख १० हजार ३२८.४५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, गुराँस लघुवित्तको ४ प्रतिशत बोनस वापतको ३९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१०५ प्रतिशत नगद गरी कूल ४.२१०५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १९ प्रतिशत बोनस वापतको १८ लाख ३२ हजार ५३५.५६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, साविक आँधिखोला लघुवित्तको ३० प्रतिशत बोनस वापतको ३ लाख ५७ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, सिवाईसी नेपाल लघुवित्तको ३० प्रतिशत बोनस वापतको ३ लाख ६४ हजार ९२५.५१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तको १० प्रतिशत बोनस वापतको १२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, विन नेपाल लघुवित्तको ९.३३ प्रतिशत बोनस वापतको ६७ लाख ६५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ९.३३ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरी कूल ९.८३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
चितवन २ : रवि र रामप्रसादले भोट हाल्न नपाउने, जितनारायणले गरे मतदान
काठमाडौं । चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । क्षेत्रका सबै मतदानस्थलमा पूर्वतयारी भएकाले मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यका अनुसार अहिले बिहान ७ वजेबाट मतदान सुरु भएको छ । प्रक्रियाको क्रममा कतिपयमा दुई–चार मिनेट ढिला भए पनि निर्धारित समयमा मतदानका लागि कहीँकतै समस्या नभएको उनले बताए । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान हुँदै छ । यहाँ १ लाख २४ हजार ६९५ जना मतदता रहेका छन् । ती मध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र १ जना तेस्रो लिङ्गी रहेका छन् । मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका थिए । गर्मीका कारण बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन् । यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । मुख्य प्रत्यासी तीनमध्ये कांग्रेसका श्रेष्ठले शक्तिखोरको चर्तुमुखी माध्यामिक विद्यालयबाट मतदान गर्दै छन् भने भने एमालेका न्यौपाने र रास्वपाका लामिछानेको सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ । गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी रोकिएका छन् ।
तनहुँ–१ उपनिर्वाचन : मतदान सुरु
काठमाडौं । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ । सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार मतदान गर्न मतदाता सबेरैदेखि लामबद्ध छन् । शान्तिपूर्णरूपमा मतदान सुरु भएको उहाँले जानकारी दिनुभयो । मतदान साँझ ५ बजेसम्म रहनेछ । निर्वाचनका लागि सुरक्षा प्रबन्ध सदृढ बनाइएकाले ढुक्कसँग मतदानमा सहभागी हुन प्रमुख ढकालले आग्रह गरे । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार गोविन्द भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम रहेको छ । नेकपा (एमाले)का तर्फबाट उम्मेदवार सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार डा.स्वर्णिम वाग्लेको जिल्लामा मतदाता नामावलीमा नाम नरहेको जनाइएको छ । मतदान सकिएपछि राजनीतिक दलका प्रतिनिधिको रोहवरमा मुचुल्का गरेर मतपेटिका दमौली ल्याइनेछ । देवघाट गाउँपालिकाको कोटा, बैदीलगायतका केही विकट ठाउँबाट मतपेटिका दमौली आइपुग्न केही बढी समय लाग्छ । मतपेटिका सङ्कलनपश्चात् सर्वदलीय बैठक आयोजना गरेर मतगणनाबारे निर्णय लिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गरिएको हो । उपनिर्वाचनका लागि कांग्रेसबाट भट्टराई, एमालेबाट खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार चुनावी मैदानमा छन् । उपनिर्वाचनका लागि १ लाख २३ हजार ३०५ मतदाता छन् । उपनिर्वाचनको संवेदनशीलतालाई ध्यानमा राखेर पृथ्वी राजमार्गको तनहुँ–१ खण्ड तथा स्थानीय राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ५ देखि साँझ ६ बजेसम्म सबै सडकमा यातायात सञ्चालनमा रोक लगाएको हो । मुग्लिन पुलबाट व्यास नगरपालिकाको चापाघाटसम्म, डुम्रे–बेँसीसहर सडकखण्ड, आँबुखैरेनी–गोरखा सडकखण्ड, दमौली–दुईपिप्ले सडकखण्डलगायत सम्पूर्ण स्थानीय सडकमा यातायात बन्द रहने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । दमकल, एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएका पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालन हुनेछ ।
पैसाको जोहो गर्नुहोला ! थ्रीस्टार हाइड्रोले सोमबारदेखि आईपीओ बिक्री गर्दै
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपारले वैशाख ११ गते सोमबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीय वासिन्दालाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर बिक्री गर्ने भइको हो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन् । यस्तै, कम्पनीले सर्वसाधारणलाई छुट्याइएको १५ प्रतिशत अर्थात् ७ करोड ३८ लाख ७५ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ७३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको ७३ हजार ८७५ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा स्थानीय वास्निदा र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । अधिकतममा स्थानीयले ४ लाख ९२ हजार ५ सय कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ७३ हजार ८७५ कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा वैशाख २५ गतेसम्म आवेदन दिन सकिनेछ । यदि स्थानीय वासिन्दालाई छुट्याइएको सेयरमा पूर्ण आवेदन नपरेमा जेठ ९ गतेसम्म आवेदन दिने समय लम्निेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीया लगानीकर्ताले सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र थ्रीस्टार हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
मोदी ईनर्जीले बैशाख १९ गतेदेखि आईपीओ बिक्री गर्ने, १ लाख कित्ता खरिद गर्न पाइने
काठमाडौं । मोदी ईनर्जीले बैशाख १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको सेयरमध्ये ४ लाख ३५ हजार कित्ता सेयर बैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ भने २ लाख १७ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ८७ हजार कित्ता कर्मचारीलाई छुट्याएको छ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुबाट आवेदन नपरेको २० लाख ९५ हजार ६१० कित्ता सेयर थप गरी कूल ५९ लाख ९५ हजार ४२० कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बैशाख २४ गतेसम्म आईपीओ खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।