
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक आएको बताएका छन् । अध्यक्ष गोल्यानले बैंकको कर्जा तिर्न नसकेर समस्यामा रहेको ५ करोडसम्म कर्जा लिएका साना उद्योगी व्यवसायीहरुले असारमसान्तसम्म कर्जा पुनःसंरचना र पुनतालिकिकरणको व्यवस्था सकारात्मक रहेको बताए ।
‘नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो समीक्षा अर्थतन्त्रको अवस्थालाई हेर्दा समग्रमा सकारात्मक छ, सिविफिनले माग गर्दै आएको ५ करोडसम्मका साना कर्जालाई पुनःसंरचना र पुनतालिकिकरणको सहुलियत दिन भनेका थियौं ,यसमा २ करोडबाट बढाएर ५ करोडसम्मको व्यवस्था गर्न राम्रो पक्ष हो, असारसम्म गरेको व्यवस्था गरेको छ, त्यसले पुग्छ पुग्दैन हेर्ने कुरा हो’, उनले भने ।
उनले शनिवार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाका विषयमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । उनले मौद्रिक नीतिले २ करोडबाट बढाएर ५ करोड कर्जा लिने साना व्यवसायीहरुको लागि सहुलियतको व्यवस्था गर्नु राम्रो भएको भन्दै साना व्यवसायीहरुलाई राहत पुग्ने बताए ।
उनले डिभेन्चरको गणना पुस मसान्तसम्म गर्न पाउने व्यवस्थाले सिडि रेसियोमा समस्या देखिने समस्या नहुने बताए । अध्यक्ष गोल्यानले समग्रमा राम्रो भएपनि उत्पादन क्षेत्र कृषि, ऊर्जा, पर्यटन ३० प्रतिशत भ्यालु एडिसन भएका निर्यातजन्य उद्योगहरु र निर्माण सम्बन्धमा बैंकको ब्याजदर कम गर्ने नीति अपुग भएको बताए ।
उनले भने , ‘डिभेन्चरको गणना पुस मसान्तसम्म गर्न पाउने व्यवस्थाले सिडि रेसियोमा समस्या पर्छ भन्ने डर थियो, त्यो समस्याबाट बच्ने भयो, त्यो राम्रो पक्ष भयो, समग्रमा राम्रो भएपनि एक दुईवटा कुराहरु अपुग रहेको छ, उत्पादन क्षेत्र कृषि, ऊर्जा,पर्यटन ३० प्रतिशत भ्यालु एडिसन भएका निर्यातन्य उद्योगहरु र निर्माण सम्बन्धमा बैंकको ब्याजदर कम गर्ने नीति आउँछ भन्ने आशा थियो ।’
उनले उत्पादन उद्योगमा जाने कर्जाको ब्याजदर घट्ने अपेक्षा भएपनि नभएको बताए । उत्पादन उद्योग र अन्य उद्योगको लागि फरक–फरक ब्याजदर कायम हुनुपर्ने उनको भनाइ छ । उनले उत्पादनमुलक उद्योगहरुमा बैंकको ब्याजदर एकल अंकमा हुनुपर्ने बताए ।
बैंकको ब्याजदर एकै पटकमा ७ प्रतिशतमा झर्ने र १४ प्रतिशतसम्म पुग्ने अवस्थाको अन्त्य नीतिगत रुपमा हुनुपर्ने भन्दै अध्यक्ष गोल्यानले राष्ट्र बैंकले उल्लेखित मागहरु मौद्रिक नीतिको समीक्षामा नगरेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा हुन आवश्यक रहेको बताएका छन् ।
उनले उत्पादन क्षेत्रको लागि बैंकको सिडि रेसियो खुकुलो बनाउने र उत्पादन उद्योगको लागत फण्ड कम गरेर फरक–फरक ब्याजदर र आधारदर बनाउने आवश्यक रहेको बताए ।
‘हामीले बारम्बार भन्दै आएका छौं, उत्पादन उद्योग र अन्य उद्योगको लागि फरक–फरक ब्याजदर हुनुपर्छ । उत्पादनमुलक उद्योगहरुमा बैंकको ब्याजदर एकल अंकमा हुनुपर्छ, बैंकको ब्याजदर एकै पटकमा ७ प्रतिशतमा झर्ने र १४ प्रतिशतसम्म पुग्दा दिगो हुन सक्दैन’, उनले भने, ‘त्यस्ता उद्योगले ब्याजदर तिर्न समस्या हुन्छ, राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा नगरेर आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा हुनुपर्छ, उत्पादन क्षेत्रको लागि बैंकको सिडि रेसियो खुकुलो बनाउने र उत्पादन उद्योगको लागत फण्ड कम गरेर फरक–फरक ब्याजदर र आधारदर बनाउने आवश्यकता छ, सस्तो ब्याजमा आएका पैसालाई पनि उत्पादन उद्योगमा लगाउन सकिन्छ ।’
उनले बैंकको ब्याजदर नघटेसम्म बैंकको खराब कर्जा अझै बढ्नसक्ने बताउँदै बैंकको खराब कर्जा कम हुनको लागि यो महिनामा बैंकको ब्याजदर घट्नुपर्ने भएपनि नघटेको बताए । बैंकर्स संघले बैंशाखमा ब्याजदर नघटाउने निर्णयले केही समयपछि स्पे्रडदरमा दबाब सिर्जना गर्नसक्ने उनको भनाइ छ ।
‘बैंकको ब्याजदर नघटेसम्म बैंकको खराब कर्जा अझै बढ्छ, त्यसलाई रोक्नको लागि यो महिनामा बैंकको ब्याजदर घट्नुपर्ने थियो, राष्ट्र बैंकले केही दिनअघि जारी गरेको बैंकहरुले प्रत्येक पहिनामा ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था राम्रो आएको छ, तर बैंकर्स संघले जेठमा ब्याजदर नघटाउने निर्णय गरेको छ, त्यसले केही समयपछि स्पे्रडदरमा दबाब सिर्जना गर्नसक्छ, खराब कर्जा नियन्त्रणमा राख्न र मुलुकको अर्थतन्त्र चलायमान बनाउन बैंकको ब्याजदर घट्न आवश्ययक छ’, उनले भने ।
उनले समग्रमा मौद्रिक नीतिको समिक्षा सकारात्मक आएपनि मुलुकको अर्थतन्त्रमा देखिएका समस्या चुनौतिलाई तत्काल समाधान गर्नसक्ने नदेखिएको बताए । उनले वित्तीय क्षेत्र र समग्र अर्थतन्त्रमा बढी नै ज्वरो आएको भन्दै ज्वरो निको बनाउने एटिभाइटिकको डोज कम भएको जस्तो लागेको बताए ।