मोदी इनर्जिको आईपीओ बाँडफाँट सम्पन्न, कसले पाए ?
काठमाडाैं । मोदी इनर्जि लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले बैशाख १९ गतेदेखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५५ लाख ५९ हजार ४२० कित्ता सेयर निष्काशन गरेको थियो । कर्मचारीहरुका लागि छुट्याइएको सेयरमा बाँडफाँट नभएको ५२ हजार ८४० कित्ता सहित गरी कुल ५६ लाख १२ हजार २६० कित्ता सेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो । जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको छ । स्वीकृत आवेदनमध्ये ५ लाख ६१ हजार २२६ आवेदकलाई १० कित्ताका दरले कम्पनीको सेयर बाँडफाँट गरिएको छ ।
धनगढीमा विद्युतीय रिक्सा चलाएर स्वरोजगार बन्दै युवा
धनगढी । वैशाख महिनाको टन्टलापुर घाममा विद्युतीय रिक्सा अटोरिक्सा चालक शोभाकान्त उपाध्याय धनगढीको सडक छेउमा रिक्सा अड्याएर पैदल हिँडेका यात्रुको खोजी गरिरहेको भेटिए । अन्दाजी ६५ वर्षीय उपाध्यायले विगतमा छोराको विवाह गर्दा लागेको ऋण बुझाउन टन्टलापुर घाममा रिक्सा चलाएर कामाइ गर्नुपरेको दुखेसो सुनाए । ‘दुई छोरा भारतमा काम गर्छन्, एउटा छोरा यही गाडी चलाउँछ’, उनले भने, ‘छोराको विवाह गर्दा लागेको पाँच लाख रुपैयाँ ऋण तिर्नै धौधौ परेपछि रिक्सा चलाएर कमाइ गर्नुपरेको हो ।’ धनगढीमा छ धुर जग्गामा बनेको कर्कटपाताको छानो भएको घर छ । उनले १० वर्षदेखि अटो रिक्सा चलाउँदै आएका छन् । यसअघि स्थानीय एक निजी विद्यालयमा रिक्सा चालकका रुपमा काम गरेका उनले युवा अवस्थामा भारतमा मजदुरीको काम गरेका थिए । ‘अटो रिक्सा चलाउँदा सुरुका वर्षमा राम्रै कमाई हुन्थ्यो, हाल रिक्सा धेरै हुँदा यात्रु नपाएर कमाई घटेको छ’, उपाध्यायले थपे, ‘कमाई घटे पनि रिक्साले रोजगारी दिँदा सन्तुष्टि छ ।’ अर्का अटो रिक्सा चालक ६३ वर्षीय अरुण पुजाराले आफ्ना हातपाउ छउञ्जेल आफ्नै देशमा काम गरेर खाने बताए । ‘विदेशमा गएर तल्लोस्तरको काम गर्न तयार हुने तर आफ्नै देशमा काम गर्न लाज मान्ने र इज्जत जाने कुरा गर्नेको प्रगति हुन सक्दैन’, उनले भने, ‘आफ्ना हातगोडा चलेसम्म काम गरेर खाने हो ।’ एकदशक बढी समय भारतको देहरादुनमा मजदुरी गरेका पुजाराका पाँच छोरा सबैले स्वरोजगारी गर्छन् । आफ्नो कमाइप्रति सन्तुष्टि व्यक्त गर्दै उनले थपे, ‘आफू कुनै समयमा महिनामा एक लाख रुपैयाँसम्म कमाउँथे ।’ अहिले दिनमा पाँच सय रुपैयाँदेखि सात सयसम्म कमाइ हुने गरेको उनको भनाइ थियो । धनगढीमा पछिल्ला वर्षमा विद्युतीय रिक्साको व्यवसाय फस्टाएको छ । बजार क्षेत्रका यात्रुको आवागमनका लागि सजिलो साधनका रुपमा रहेको यो व्यवसायबाट धेरैले रोजगारी पाएका छन् । घरायसी काममा मात्रै सीमित रहेका रिक्सा चलाएर कमाइ भइरहेको रिक्सा चालक गौरी चौधरीले बताए । उनले भने, ‘घरमा कमाइ हुने अर्को बाटो छैन, रिक्सा चलाएर हुने कमाइले जासोतसो जीवन गुजारा भइरहेको छ ।’ यहाँले महिलाले पनि रिक्सा चलाएर जीविकोपार्जन गरिरहेका छन् भन्दै चौधरीले महिलाले रिक्सा चलाएको अनौँठो मान्ने सोच र प्रवृत्ति कतिपय ठाउँमा अझै देखिने भनाइ थियो । ‘यस्तो सोचलाई निरुत्साहित गर्दै धेरै महिला विद्युतीय रिक्सा चलाएर आयआर्जन गर्न थालेका छन्’, उनले भने । विद्युतीय रिक्सा चलाएर उनले दैनिक सात/आठ सय रुपैयाँसम्म कमाइ गरिरहेका छन् । पछिल्ला वर्षमा सहरी क्षेत्रमा भित्रिएका विद्युतीय रिक्सा बेरोजगार भएर बसेकाका लागि मुख्य रोजगारको माध्यम बन्न थालेको रिक्सा मजदुरले बताएका छन् । स्थानीय रिक्सा चालक भीमबहादुर चौधरीले भने, ‘रिक्सा चलाउने कामबाट भइरहेको आयआर्जनबाट घरधन्दा चलाउन सहज भएको छ ।’ विद्युतीय रिक्सा ‘रिचार्ज’ गरेर चलाउन मिल्छ । एक पटक ‘रिचार्ज’ गर्दा झण्डै एक सय किलोमिटरको दूरीसम्म चलाउन सकिन्छ । पेट्रोलियम पदार्थको खपत घटाउन विद्युतीय रिक्सा व्यवसायले धेरै योगदान दिएको छ । यस व्यवसायप्रति आकर्षण बढ्दै जाँदा बजार क्षेत्रमा रिक्साको सङ्ख्या पनि बढ्दै गएको छ । छोटो दूरीमा यात्रा गर्न सहज र सस्तो माध्यम बनेको स्थाीयको भनाइ थियो । विद्युत्बाट चार्ज गरेर चलाउन सकिने भएकाले पछिल्लो समय विद्युतीय रिक्सासँगै स्कुटर र विद्युतीय साइकलको प्रयोग पनि बढ्दै गएको छ । विद्युतीय रिक्सा व्यवसाय फस्टाउँदै गए पनि यसको दर्ता गरी रुट परमिट लिन र चालक अनुमतिपत्र पाउन सास्ती खेप्नु परेको रिक्सा मजदुरको गुनासो छ । यातायात व्यवस्था कार्यालयले यी रिक्सा दर्ता र चालक अनुमतिपत्र प्रदान गर्दछ । सुरुका वर्षमा धनगढी उपमहानगरपालिका कार्यालयमा दर्ता गर्नुपर्ने व्यवस्था थियो । धनगढीमा झण्डै तीन हजार विद्युतीय रिक्सा सञ्चालनमा छन् । विद्युतीय रिक्सा सञ्चालनसँगै दुई दशकअघिसम्म सञ्चालनमा रहेका परम्परागत तीनपाङ्ग्रे रिक्साको व्यवसाय पूर्णरुपमा विस्थापित भएको छ । रासस
विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारीमा सरकार
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप चार विद्युतीय शवदाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने निर्णय गरेको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिए । ‘कोषले कार्यविधि निर्माण गरेपछि कोष सञ्चालक परिषद्ले उक्त कार्यविधि पारित गर्ने छ । यसका लागि केही समय लाग्ने छ’, उनले भने । पशुपतिमा रहेका दुई वटा विद्युतीय शवदाह गृहमध्ये एउटाको यन्त्र बिग्रिएको छ । हाल एउटा शवदाह गृह मात्र सञ्चालनमा रहेको सदस्य सचिव थापाले बताए । सोही स्थानमा थप चार विद्युतीय शवदाह गृह निर्माण गरी घाटमा आउने सबै शवलाई निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने तयारी गरिएको कोषले जनाएको छ । पशुपति आर्यघाटमा शवको दाहसंस्कार गरेबापत् दाउराबाट जलाउने घाटमा १५ हजार र विद्युतीय शवदाह गृहमा चार हजार शुल्क तोकिएको छ । इच्छुक दाताका लागि स्वेच्छाले कोषको खातामा आर्थिक सहयोग गर्न चाहेमा विकल्प खुला राखिने कोषले जनाएको छ । थप विद्युतीय शवदाह गृह यन्त्र खरिदका लागि कोषले आफ्नै स्रोतबाट आठ करोड छुट्याएको छ । शवदाह गृह निर्माणपछि निःशुल्क सञ्चालनका लागि कोषले एक करोडको अक्षय कोष स्थापना गरेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । बैठकको अध्यक्षता संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँतीले गर्नुभएको थियो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री सुशीला सिर्पालीकोसमेत उपस्थिति थियो । रासस
१५६ प्रतिशतले बढ्यो क्यूआर कारोबार, डिजिटल भुक्तानीमा फड्को मार्दै
काठमाडौं । पछिल्लो समय अनलाइन प्रयोगकर्ताको संख्या बढ्दै गएपछि कारोबार पनि उच्च हुन थालेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ्गमा जोड दिएपछि कारोबार डिजिटलबाटै हुन थालेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको चैतसम्म कनेक्ट आइपीएस, मोबाइल बैंकिङ्ग, वालेट, इन्टरनेट बैंकिङ्ग लगायतको कारोबार बढेको छ । गत वर्षको तुलनामा डिजिटल कारोबार ह्वात्तै बढेको हो । राष्ट्र बैंकका अनुसार आरटीजीएस, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड लगायतका डिजिटल औजार प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । साथै, कारोबारको संख्या र कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार डिजिटिल भुक्तानीमा फड्को मारेको देखिन्छ । एक वर्षको अवधिमा कनेक्ट आईपीएसमार्फत् ४३ लाख ५७ हजार २४२ पटक ३ खर्ब ८० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा ३६ लाख ५ हजार ४३० पटक २ खर्ब २९ अर्ब रुपैयाँ बरको कारोबार भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशत बढी रकम कनेक्ट आईपीएस मार्फत कारोबार भएको देखिन्छ । यस्तै, वालेटमाफर्त हुने कारोबार पनि बढेको छ । चैतसम्म १ करोड ८६ लाख ६७ हजार पटक १९ अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १ करेड ४४ लाख ९४ हजार ८९३ पटक १५ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको तुलनामा ३९ प्रतिशतले वालेटको कारोबार बढेको हो । डिजिटल कारोबार बढ्दै गएपनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणालीमार्फत् हुने कारोबार रकम भने ४३.८८ प्रतिशत घटेको छ । चैत मसान्तसम्म ७१ हजार ७७० पटक २४ खर्ब ३७ अर्ब रुपैयाँको कारोबार भएको छ । गत वर्षको चैतमा ६५ हजार ३७६ पटक ४३ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकम घटेपनि संख्या भने ९.७८ प्रतिशत बढेको छ । मोबाइल बैंकिङ्ग मार्फत् हुने कारोबार पनि ह्वात्तै बढेको छ । चैत मसान्तसम्म ५६.३४ प्रतिशत बढेर २ करोड ५७ लाख ३५ हजार ७५ पटक कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १ करोड ६४ लाख ५९ हजार ९६३ पटक कारोबार भएको थियो । साथै कारोबार संख्या बढेसँगै रकम पनि बढेको छ । चैतमा कारोबार रकम ८० प्रतिशत बढेर २ खर्ब ७ अर्ब रुपैयाँ कारोबार भएको छ । गत वर्षको चैतसम्म १ खर्ब १५ अर्ब रुपैयाँ मोबाइल बैंकिङ्ग कारोबार भएको थियो । क्यूआरमा आधारित भुक्तानी १५६ प्रतिशत बढेर २२ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा ८ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । समीक्षा अवधिमा क्यूआरमा आधारित भुक्तानी संख्या १८१ प्रतिशत बढेर ७६ लाख ४४ हजार ७९१ पटक भएको छ ।
दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न
काठमाडौं । दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न भएको छ । नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप एनपी पगले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गरेको हो । वैशाख २६ गतेदेखि वैशाखा २९ गतेसम्म काभ्रेको धुलीखेलमा सम्पन्न भएको आयोजकले जनाएको छ । कन्फेरेन्स काठमाडौं विश्वविद्यालय सञ्चालन भएको थियो । सन् २०१८ को एसक्युएल कन्फेरेन्स सफल भएपछि संस्थाले दोस्रो कन्फेरेन्स आयोजना गरेको जानकारी दिएको छ । कन्फेरेन्समा पोस्टग्रे एसक्युएल यूजर ग्रुप कम्युनिटीका लोकप्रिय व्यक्ति र अरु स्थानीय वक्ताहरुसँग छलफल गरिएको थियो । चारदिनसम्म चलेको उक्त पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपालमा फरक फरक क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए । खासगरी औद्योगिक, सरकारी, एकेडेमिक आदि क्षेत्रका व्यक्तिहरु कार्यक्रममा सहभागी भएको आयोजकले जनाएको छ । कन्फेरेन्स भन्दा अघि पनि दुई दिनको प्रि कन्फेरेन्स ट्रेनिङ सेसन आयोजना गरिएको थियो । मे ९ र १० वैशाख २६ र २७ मा शिक्षा, उद्योग, सरकारी र गैरसरकारी क्षेत्रहरुबाट करिब ३५ जनाले प्रशिक्षण लिएका थिए । यस वर्ष रूस, अमेरिका, भारत र पाकिस्तानलगायत ८ देशका अन्तराष्ट्रिय वक्ताहरु उपस्थित भएका थिए । कार्यक्रममा वक्ताको रुपमा एगोर रोगोब, जसनप्रीत सिंह, क्रिस ट्राभर्स, उमेयर साहिद, कृष्ण लोदा रहेका थिए । त्यस्तै पभेल टोल्माचेभ, ओलेग बार्टुनभ, एलेक्जेन्डर बार्टुसेभ, रोहित मान अमात्य र सन्दिप बस्नेत समेत कार्यक्रममा वक्ताको रुपमा रहेका थिए । कन्फेरेन्सका संयोजक बालकृष्ण बलले भनेका छन्, ‘हामी अब नेपाली समुदायको लागि पोस्कट्रे एसक्यूएलमा काम गर्न सक्छौं।त्यतिमात्र होइन नियमित रुपमा नेपाली समाजको लागि सँगैसँगै हातेमालो गरेर अगाडी बढ्न सक्छौं।’ प्रमुख कन्फेरेन्स मे ११ र १२ वैशाख २८ र २९ मा आयोजना गरिएको थियो र यसमा अन्तर्राष्ट्रिय वक्ताको रूपमा पोस्टग्रे एसक्युएल कम्युनिटीका व्यक्तिहरूको उपस्थित रहेको थियो । कार्यक्रममा की नोट सेसन, प्यारेलल टक सेसन र वर्कशपहरु आयोजना गरिएका थिए । बालले यस कार्यक्रममा विविध क्षेत्रबाट सहभागिता हुने र यसले एक शक्तिशाली पोस्टग्रे एसक्युएल यूजर ग्रुप नेपाल बनाउन मद्दत गर्ने अपेक्षा गरेका छन् ।
निजी छोडेर सामुदायिक विद्यालयमा
गलकोट । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयमा यही शैक्षिकसत्रमा पर्वतको कुश्मा बजारको निजी विद्यालय छोडेर पाँच विद्यार्थी भर्ना भए । यसअघि कुश्माकै निजी विद्यालयमा अध्ययन गर्न छोडेर गणेश माध्यमिक विद्यालयमा आएर अध्ययन गर्ने विद्यार्थी तीन थिए । पछिल्लो समय गाउँका विद्यार्थीको आकर्षण सहरका निजी विद्यालयमा भए पनि यहाँ कुश्माबाट बागलुङको गणेश माध्यमिक विद्यालयमा आएर अध्ययन गर्ने सङ्ख्या आठ पुगेको छ । ‘गणेश माध्यमिक विद्यालयमा अहिले सात सय ६५ विद्यार्थी अध्ययनरत छन्, विद्यालयमा सुधार हुँदै गएपछि बलेवाका तीन निजी विद्यालय बन्द भएको इतिहास छ’, प्रधानाध्यापक एकनाथ रिजालले भने, ‘अहिले कुश्मा बजारबाट दैनिक यान्त्रिक पुल तरेर यस विद्यालयमा पढ्न् आउनुहुन्छ, भर्ना हुन प्रवेश परिक्षा अनिवार्य गरिएको छ, विद्यालय सुधारका लागि स्थानीयकोसमेत योगदान छ ।’ विद्यालय गण्डकी प्रदेशमै अब्बल भएको विद्यालयको दाबी छ । गणेश माध्यमिक विद्यालय आर्थिक वर्ष २०७६/७७ मा सरकारको नमुना विद्यालयका रुपमा छनोट भएको थियो । विद्यालयमा आव २०७८/७९ देखि पाँच वर्षसम्म रु सात करोड ५० लाख बजेट कार्यान्वयनको चरणमा रहेको प्रअ रिजाल बताउँछन् । अभिभावकको अग्रसरताले नै विद्यालयको शैक्षिक तथा भौतिक अवस्थामा उल्लेख्य सुधार भएको उहाँको भनाइ छ । झण्डै १५ वर्षदेखि अङ्ग्रेजी माध्यममा अध्यापन थालेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको हो । ‘पढाइको माध्यम अङ्ग्रेजी भएकाले निजीका विद्यार्थी आकर्षित भएका हुन्’, प्रअ रिजालले भने । भौतिक पूर्वाधारका साथै दरबन्दी अभाव भएको उहाँको भनाइ छ । चालु आवमा विद्यालयले ३० कोठे नयाँ भवन निर्माण थालेको छ । विसं २०३७ मा स्थापना भएको विद्यालयमा हाल सात सय ६५ विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीलाई आवासको समेत व्यवस्था गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द शर्माले जानकारी दिए । विद्यालयले धनधान्याञ्चल महायज्ञ सञ्चालन गरी दुई करोड सङ्कलन गरेको रकमको ब्याजबाट शिक्षिक राखेको छ । विद्यालयमा बागलुङका साथै पर्वत, म्याग्दी, कास्की, चितवन बुटवलसँगै सुदूरपश्चिमको अछामसम्मका विद्यार्थी अध्ययनरत छन् । अठार दरबन्दीकासहित विद्यालयमा ५० जना कार्यरत रहेका छन् । ‘शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका छोराछोरी यसै विद्यालयमा पढ्छन्’, शर्माले भने । विद्यालयमा २०६५ सालदेखि अङ्ग्रेजी माध्यम तथा कक्षा ४ देखि १० सम्म कम्प्युटर विषयको पठनपाठन गरिँदै आएको छ । गणेश माविले हरेक वर्ष शतप्रतिशत नतिजा हासिल गर्दै आएको छ । रासस
फागुनदेखि तलब पाएनन् सिंहदरबार वैद्यखानाका कर्मचारीले
काठमाडौं । आयुर्वेदिक औषधि उत्पादन गरी बिक्री वितरण गर्ने तीन सय वर्ष लामो इतिहास भएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन् । आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्थामा उत्पादन नै नहुने भएपछि कर्मचारीले तीन महिनादेखि तलब नपाएका हुन् । तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुकाको जोहो गर्न र बालबालिकाको विद्यालय भर्ना एवं मासिक शुल्क तिर्नसमेत समस्या भएको अधिकांश कर्मचारीको गुनासो छ । समितिका कर्मचारी तीन महिनादेखि तलब नपाएपछि दिनभर कार्यालय आउँछन् र बेलुकी निराश भएर घर फर्कने गरेका छन् । वैद्यखानाका कर्मचारीले फागुनदेखि नै तलब पाएका छैनन् । निमित्त कार्यकारी निर्देशक रामदेव यादव एक महिनादेखि कार्यकक्षमा नबस्दा कार्यालयमा अन्य समस्या पनि आएको कर्मचारी बताउँछन् । कार्यकारी निर्देशक यादव यही वैशाख ३ गतेदेखि नै बिहान एकपटक विद्युतीय हाजिर गरेर हिँड्ने गरेको गुनासो अधिकांश कर्मचारीको छ । समितिका प्रशासन शाखा प्रमुख रुन्धाता कोइराला विद्युतीय हाजिर ‘फेस रिडर’ को लिङ्कसमेत निमित्त कार्यकारी निर्देशक यादवले आफ्नै कार्यकक्षमा थुनेर हिँडेको बताउँछन् । ‘कर्मचारीको बिदालगायत अभिलेख पनि निमित्त कार्यकारी निर्देशककै कार्यकक्षमा छ, शनिबारदेखि कार्यालयमा कार्यरत माली सानीमाया लामाको अनिवार्य अवकाश भयो, टिप्पणी तयार छ, निमित्त कार्यकारी निर्देशक हाजिरमा अनुहार देखाएर हिँड्ने गरेकाले कसैलाई स्वीकृत गराउन पाएको छैन, यस्ता नियमित काम र समस्या कार्यालयमा धेरै छन्, समस्या समाधानतिर निमित्त कार्यकारी निर्देशकको ध्यान गएको छैन’, उनले भने । तीन महिनादेखि तलब नपाउँदा समितिका कविराज वैद्यका रुपमा कार्यरत आदित्य ठाकुरलाई घरखर्च चलाउन मुस्किल भएको छ । समितिले क्षमताअनुसार औषधि उत्पादन गर्न नसक्दा समस्या हुन थालेको हो । समितिमा लामो समयदेखि कार्यालय प्रमुखको विवाद हुँदै आएको छ । सर्वोच्च अदालतले वैशाख ३ गते समितिका वरिष्ठ कर्मचारी ऋषिराज रेग्मीले दायर गर्नुभएको मुद्दामा निमित्त दिने भए कार्यालयकै वरिष्ठलाई दिनुपर्छ भनी फैसला गरेको थियो । फैसलाको पूर्णपाठ भने आएको छैन । यही फैसलापछि निमित्त कार्यकारी निर्देशक यादव बिहान हाजिर गरेर हिँड्न थालेका हुन् । सर्वोच्चले फैसला गरेपछि रेग्मीले निवेदन लेखी त्यसको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पनि गराएका छन् । मन्त्रालयका सचिवद्वय डा रोशन पोखरेल र देवकुमारी गुरागाइँले वैद्यखानाका विषयमा बेवास्ता गर्दा संस्थामा धेरै समस्या आउन थालेको बताइएको छ । लामो समयदेखि समितिका कर्मचारीले पनि गठन आदेश बमोजिम ११औँ तहको कार्यकारी निर्देशक नियुक्ति गर्न माग गर्दै आएका छन् । निमित्त दिनेभए समितिकै वरिष्ठ कर्मचारीलाई दिनुपर्ने अधिकांश कर्मचारीको माग छ । समिति गठन आदेशमा आयुर्वेद समूहको ११औँ तहका कर्मचारीलाई कार्यकारी निर्देशक बनाउने व्यवस्था भए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १०औँ तहका कर्मचारीलाई निमित्त बनाएर पठाउन थालेपछि लामो समयदेखि वैद्यखानामा विवाद हुँदै आएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा यादव कारखानामा कर्मचारीले काम नगरेका कारण पैसा नभएर कर्मचारीलाई तलब खुवाउन नसकेको बताउँछन् । फागुनदेखि कर्मचारीलाई तलब खुवाउन नसकेको भने उनले स्वीकार गरे । ‘शिलाजीत र च्यवनप्राश बनाएर १० लाख रुपैयाँ पैसा जम्मा भएकाले केही दिनमा तलब खुवाउने तयारीमा छ, मन्त्रालयले पनि कारखानाले आफैँ कमाएर खानुपर्छ भनेको छ, समितिका कर्मचारीले भने काम गर्न मन नै लगाएका छैनन्’, निमित्त कार्यकारी निर्देशक यादवले भने । विसं २०७९ असोज १४ गते निमित्त कार्यालय प्रमुख भएर आएदेखि नै उनी विवादमा छन् । असोजअघि पनि समितिका कर्मचारीले तीन महिनाको तलब एकैपटक पाएका थिए । त्यसबेला डा श्यामबाबु यादव निमित्त कार्यालय प्रमुख भएर आएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा कर्मचारीले त्यसबेला तलब पाएका थिए । श्यामबाबुपछि मन्त्रालयले आयुर्वेद विभागका महानिर्देशकलाई नै समितिका कार्यकारी निर्देशकको जिम्मेवारीसमेत दिएको थियो । दुई हप्तामै मन्त्रालयले फेरि डा रामबाबुलाई नियुक्त गरेको हो । निर्वाचन आचार संहिता लागिरहेका बेला नियुक्त भई निमित्त कार्यालय प्रमुख भएर आएको भन्दै समितिका अधिकांश कर्मचारीले उनलाई स्वीकारेका छैनन् । निर्वाचन आयोगले मन्त्रालयलाई आचारसंहिता जारी भएका बेला भएको नियुक्ति खारेज गर्न आदेश दिए पनि कार्यान्वयन भएको छैन । निर्वाचन आचारसंहिता विपरीत यादवलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै निर्वाचन आयोगले तत्कालीन मन्त्री भवानीप्रसाद खापुङलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको थियो । रासस
बीमा सम्बन्धी जनचेनता अभिवृद्धिले फड्को मारेको छ : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरण र बीमा कम्पनीहरूको एउटै उद्देश्य भनेको आम जनतालाई बीमाको महत्वका बारेमा जानकारी गराई बीमा सेवा पुर्याउनु रहेको बताएका छन् । प्राधिकरणको ५५औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले सबैले हातेमालो गरेर अघि बढ्नु पर्ने बताए । ‘पछिल्ला दुई वर्षमा बीमा सम्बन्धी जनचेनता अभिवृद्धिले फड्को मारेको छ, जुनरूपमा बीमा सचेतनाले व्यापकता पाएको छ, त्यहीरूपमा बीमा कम्पनीहरू आम जनतासम्म पुग्नुपर्यो, बीमा सेवा उपलब्ध गराउनुपर्यो र सेवा दीगो हुनुपर्यो, कम्पनीहरूले बीमालेखलाई समयानुकूल परिमार्जन गर्नुर्यो, बीमितलाई थप सुविधाको व्यवस्था गर्नुपर्यो,’ उनले भने । आम नागरिकलाई बीमाको दायरामा ल्याउनका लागि बीमा कम्पनीहरू लगायत सम्बद्ध सबैबाट साथ सहयोग निरन्तर हुनु पर्ने उनको भनाए छ । काठमाडौंको भद्रकालीबाट शुरू भएको प्रभातफेरी र्याली सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । प्रभावतफेरी कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी), निर्देशक दिनेश कुमार लाल र कर्मचारीहरू, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, जीवन बीमक सङ्घ, नेपाल बीमक सङ्घ, बीमा सर्भेयर सङ्घ र पेशागत बीमा अभिकर्ता सङ्घका पदाधिकारीहरू तथा संचारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।