सरकार र राष्ट्र बैंकले एक अर्कालाई दोष लगाउन अन्त्य गरौं
काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठले सरकार र राष्ट्र बैंकबीचको दोषरोपण अन्त्य हुन आवश्यक रहेको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले सरकार र राष्ट्र बैंकको उद्देश्य फरक हुने भएकाले नीतिगत प्राथमिकता फरक हुने बताए । ‘सरकारले बढी खर्च गर्न खोजेर मूल्य वृद्धि बढाउने तर राष्ट्र बैंकले त्यसलाई नियन्त्रण गर्नको लागि नीतिगत औजारहरु प्रयोग गरी चेक एण्ड ब्यालेन्स मिलाउने काम हुन्छ,’ उनले भने । यस्तै, उनले कोभिड–१९ को समयमा वित्त नीतिले गर्न नसक्ने काम मौद्रिक नीतिमार्फत भएको बताए । उनले राष्ट्रिय योजना आयोगले बनाउने योजनालाई बढी भन्दा बढी यथार्थपरक बनाउने र तोकिएका लक्ष्य पूरा गर्ने गरी काम गरिरहेको जानकारी दिए ।
टोपबहादुर र नारायण पौडेलको व्यवसायिक कनेक्सन, कोरोनाकालमा बनाएका थिए महाबिर प्यालेस
काठमाडौं । पछिल्लो समय सञ्चार माध्यम र सामाजिक सञ्जाल नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको विषय चर्चामा छ । अनुसन्धानको क्रममा ‘हाइ प्रोफाइल’का व्यक्ति पनि अनुसन्धानमा तानिएका छन् । यही विषयकाे अनुसन्धानको दायरामा नेकपा एमालेका सचिव तथा सांसद टाेपबहादुर रायमाझी पनि पक्राउ परेका छन् । रायमाझी आइतबार राति सवा ८ बजेतिर काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परे । प्रहरीको फरार सूचीमा रहेका उनी आइतबार बुढानीलकण्ठको उनको साथीको घरबाट पक्राउ परे । पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझी नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनलाई आइतबार राति बूढानीलकण्ठको पासिकोटस्थित साथीको घरमा भेटाएको थियो । पुरानो चिनजान भएका अर्घाखाँचीकै गाउँले नारायण पौडेलको घरमा उनी फेला परेका थिए । उनी लुकेको घर अर्थात् उनलाई लुकाउने नारायण पौडेलको पनि अहिले व्यापाक चर्चा भइरहेको छ । पौडेल को कुन् भन्ने विषयमा पनि धेरैको चासो छ । रायमाझी र पौडेल लामो समयदेखिको साथी रहेको बुझिएको छ । पौडेल टोपबहादुरसँग घनिष्ट छन् । सुरुवातदेखि नै टोपबहादुरसँगको व्यवसायीक सहकार्य पनि रहेको स्रोतको भनाइ छ । पौडेललाई रायमाझीले विभिन्न राजनीतिक नियुक्ति पनि दिलाएका थिए । पौडेल राष्ट्रिय खेलकुद परिषद्को सदस्य र ग्रामीण खानेपानी फण्ड बोर्डको समेत सदस्य उनै रायमाझीकै पहुँचमा नियुक्त भएको स्रोतको दाबी छ । रायमाझीकै पहलमा पौडेल नगर विकास परिषद्मा पनि नियुक्ति भएको बताइन्छ । कैलाशकुट बहुमुखी क्याम्पसको प्रमुखसमेत रहेका पौडेलले २०६४ देखि सोही क्याम्पसमा अध्यापन गर्दै आएका छन् । त्यस बाहेक उनी पर्यटन व्यवसायीका रुपमा पनि परिचित छन् । उनको विभिन्न होटलहरुमा लगानी छ । पौडेल होटल तिब्बत होलिडे इन ठमेलका लगानीकर्ता हुन् । सो होटलमा धनबहादुर श्रेष्ठसँग उनले सहकार्य गरेका छन् । सोही होटलमा २०६३ मा पुष्प कमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईलाई सार्वजनिक गरिएको थियो । पौडेलको गौशालामा रहेको होटेल रामेश्वरममा पनि लगानी रहेको बुझिएको छ । यस्तै, उनले कोरोनाको समयमा सोल्टीमोडमा रहेको महाबिर प्यालेस पनि निर्माण गरेका थिए । भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोप लगाएका रायमाझीले पौडेलाई सोही समयमा सोही होटलमा लगानी गरेको हुन सक्ने अनुमान धेरैको छ ।
नेपाल टेलिकममा अब नमस्ते पे क्युआरबाटै बील भुक्तानी गर्न सकिने
काठमाडौं । नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ । कम्पनीले नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआर मार्फत भुक्तानीको सुविधा संचालनमा ल्याएको छ । नेपाल टेलिकमले एक कार्यक्रमकाबीच आज सो सेवाको शुभारम्भ गरेको हो । नेपाल टेलिकमकी निर्देशक सबिना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरे । सो अबसरमा निर्देशक प्रधानले क्युआर कोडमार्फत बिल भुक्तानी गरी सेवाको शुभारम्भ गरे । उनले भने, ‘नेपाल टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाइ प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ । अब प्रयोगकर्ताहरूले नगद झिक्न बैंकमा जानु पर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ ।’ नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले भने, ‘डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाएकोमा हामी खुसी भएका छौ र आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित भएका छौँ । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पे को क्युआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिने छ । कम्पनीका नयाँ र विद्यमान दुवै प्रयोगकर्ताले क्युआर मार्फत भुक्तानी गरे बापत आफ्नो वालेटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ । नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ सञ्चालन गरिरहेको छ ।
मौद्रिक नीतिका सीमाहरु छन्, बढी नै अपेक्षा गरियो : गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार र बजारले वित्त नीतिभन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरिएको बताएका छन् । सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौति तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उनले मौद्रिक नीतिबाट सरकारले धेरै अपेक्षा गरेपनि मौद्रिक नीतिमा सिमितता रहेकाले सबै अपेक्षा समेट्न नसक्ने बताए । ‘सरकार र समाजबाट मौद्रिक नीति माथि बढी अपेक्षा गरेको देख्छौं, मौद्रिक नीतिका सीमाहरु छन्, राष्ट्र बैंकको उद्देश्य र मौद्रिक नीतिका उदेश्यभन्दा बाहिर गएर थप काम गर्न खोज्दा उद्देश्य भन्दा बाहिर हुन्छ,’ उनले भने । उनले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताउँदै भने,’राजनीतिक व्यवस्थामा चेक एण्ड ब्यालेन्स भए जस्तै मौद्रिक र वित्त नीतिमा पनि आवश्यक छ ।’ यस्तै, उनले बैंक तथा वित्तीय क्षेत्रमा नीति र नियमनका कारण यो वर्ष वाह्य क्षेत्रमा सहज रहेपनि आगामी दिनमा चुनौतिपूर्ण रहेको बताएका छन् । उनले चुनौतिहरुको सामना गर्नको लागि राष्ट्र बैंक सजक किसिमले लागेको बताए । उनले सरकारलाई अर्थतन्त्रलाई लयमा ल्याउनको लागि ठूलो चुनौति वित्त नीतिमा देखिएको बताउँदै भने,’सरकारले राजश्व संकलन वृद्धि, करको दायरा बढाउने र भन्सारमा पनि सुधार गर्नुपर्ने आवश्यक छ ।’
तरकारी खेतीबाटै करोडौँको मालिक बने पुष्कर बञ्जाडे
अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८०० बोट लगाएका छन् । लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट सात लाख रुपैयाँ बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिएका छन् । एकै बोटमा झण्डै १५ केजी टमाटर फल्ने बञ्जाडेको भनाइ छ । दैनिक तीन/चार क्विन्टल टमाटर बेचिरहेका उनको टमाटरले बजार पनि राम्रो पाएको छ । प्रतिकेजी ४० देखि ५० रुपैयाँसम्म थोक मूल्यमा टमाटरका साथै तरकारी पनि दैनिक १० हजार रुपैयाँको तरकारी सन्धिखर्क बजारमा बिक्री गरिरहेका छन् । बञ्जाडेले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन् । अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा १५/१६ लाख रुपैयाँ आम्दानी हुँदै आएको छ । उनले गरेको देखासिकीबाट सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ । बञ्जाडेले भने, ‘अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेको मान्छे भनेर इष्या गर्थे तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन् ।’ पचास वर्षीय किमडाँडाका बञ्जाडे जिल्लाकै नमुना कृषक हुन् । सामान्य परिवारका जन्मीएका उनलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन । महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो । जागिरभन्दा उत्पादनमुलक अर्को पेसामा लाग्ने सोच बनाएका बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौँ रुपैयाँ कमाएका हुन् । उनले भने, ‘गरेपछि जे काममा पनि सफलता मिल्छ निरन्तर काम गरिरहनुपर्छ अहिले बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन् । सुरुमा सानो लगानीबाट तरकारी खेतीको सुरुआत गरेका उनलाई पाँच करोड रुपैयाँभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ । किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ ।’ तरकारीबाट वर्षमा १० लाख रुपैयाँ सजिलै कमाएपछि सन्धिखर्कमा तीनतले घर बनाएका बञ्जाडेले तीन करोड रुपैयाँभन्दा बढीको घर र घडेरी जोडिसकेका छन् । यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उनले बताए । पाखो बारीमा तरकारीका लागि सिँचाइको पनि साहै समस्या छ । बारीमा आकाशे पनि सङ्कलन गर्न ५० हजार लिटरको आकाशे पानी सङ्कलन गर्ने पोखरी ४० हजार लिटरको ट्याङ्की बञ्जाडेले बनाएका छन् । त्यहीँबाट सिँचाइ हुन्छ । गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिएर धेरै यतातिर तानिएका छन् । वर्षात्को समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो । ‘अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा गर्व भयो,’ पुष्करनाथले भने, ‘पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमानाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्ली पुर्याए ।’ रासस
सांसद टोपबहादुर रायमाझी पक्राउ बारे संसदमा जानकारी
काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेकाे बारे संसदमा जानकारी गराइएकाे छ । सभामुख देवराज घिमिरेले रायमाझी पक्राउ परेको जानकारी पत्र प्रहरीबाट प्राप्त भएसँगै संसदलाई उक्त विषयमा जानकारी गराएका हुन् । ‘गजेन्द्र बुढाथोकीको समेत जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी केशवप्रसाद दुलालसमेत भएको ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा माननीय टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते राती ८ः२५ बजेको समयमा जिल्ला काठमाडौं बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको व्यहोरा नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम जिल्ला प्रहरी परिसर टेकुको चलानी नम्बर १२२७३ मिति २०७८ जेठ १ गतेको पत्रबाट सूचना प्राप्त भएको हुँदा प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को उपनियम १ बमोजिम यो सदनलाई जानकारी गराउँछु,’ उनले भने । रायमाझी आइतबार साँझ पक्राउ परेका थिए । रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पक्राउ गरेको हो । नोट : यसअघिको समाचार गलत भएको कारण सच्याइको छ ।
सिमित व्यक्तिले बैंकिङ क्षेत्रको स्रोत प्रयोग गर्दा अर्थतन्त्रमा समस्या देखियो
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठुलो स्रोत, साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले उपलब्ध स्रोत, साधनहरु अनुत्पादक र कम उत्पादक क्षेत्रहरुमा केन्द्रीत हुँदापनि अर्थतन्त्रमा समस्या देखिएको बताएका हुन् । उनले बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिएको भन्दै यसतर्फ समयमै उचित कदम चाल्न ध्यानाकर्षण गराए । ‘उत्पादन र रोजगारी वृद्धितर्फ देशले प्रगति हासिल गर्न सकेन, दैनिक उपभोग्य वस्तुहरुको ठुलो मात्रामा आयात गर्नुपरेकाले व्यापार घाटा चुलिदै गएको छ, सरकारको नीति, योजना र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्तो भएको हाे,’ उनले भने । उनले किसानहरुले बेलैमा मल पाउनेगरी मलको आपूर्ति सुनिश्चित भएको बताए । त्यस्तै भ्रष्टाचारविरुद्ध सरकार गम्भिर रुपले लागेको उनको भनाई छ ।
एक हजार ८१८ विन्दुमा नेपाल स्टक एक्सचेन्ज
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय १८ दशमलव ३१ अङ्कमा कायम भएको हो । सोमबार दुई सय ६६ वटा कम्पनीको २३ लाख ४१ हजार दुई सय ४० कित्ता सेयर २० हजार एक सय ५८ पटक खरिद बिक्री हुँदा ७२ करोड ४९ लाख ६९ हजार नौ सय ८० बराबरको कारोबार भएको छ । आज विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक समूह १० दशमलव ५५, वित्त समूह एक दशमलव ११, उत्पादन तथा प्रशोधन समूह २२ दशमलव ७० र लघुवित्त समूह १० दशमलव ८० अङ्कले बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ५१ दशमलव ७७ र होटल तथा पर्यटन समूहको उपसूचक १६ दशमलव ६४ अङ्कले घटेको छ । बैंकिङ समूह तीन दशमलव ७०, जलविद्युत् समूह पाँच दशमलव ३४, लगानी समूह शून्य दशमलव ०६, जीवन बीमा समूह आठ दशमलव ४७, म्युचुअल फन्ड शून्य दशमलव ०५, व्यापार समूह छ दशमलव ९४ र अन्य समूह सात दशमलव ४५ अङ्कले घटेको छ । नेपाल इन्भेस्टमेन्ट बैंक ग्रोथ फन्डको सेयर मूल्यमा आज सबैभन्दा धेरै नौ दशमलव ८८ प्रतिशतको वृद्धि देखिएको छ भने सबैभन्दा धेरै घट्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा छ दशमलव ४५ प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंकको तीन करोड चार लाख ६७ हजार बराबरको सेयर खरिदबिक्री भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंकको एक लाख ३९ हजार छ सय ३० कित्ता सेयर किनबेच भएको छ ।