काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार र बजारले वित्त नीतिभन्दा पनि मौद्रिक नीतिमा बढी अपेक्षा गरिएको बताएका छन् ।
सोमबार नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्रिय कर्मचारी संगठनद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौति तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले मौद्रिक नीतिबाट सरकारले धेरै अपेक्षा गरेपनि मौद्रिक नीतिमा सिमितता रहेकाले सबै अपेक्षा समेट्न नसक्ने बताए ।
‘सरकार र समाजबाट मौद्रिक नीति माथि बढी अपेक्षा गरेको देख्छौं, मौद्रिक नीतिका सीमाहरु छन्, राष्ट्र बैंकको उद्देश्य र मौद्रिक नीतिका उदेश्यभन्दा बाहिर गएर थप काम गर्न खोज्दा उद्देश्य भन्दा बाहिर हुन्छ,’ उनले भने ।
उनले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय आवश्यक रहेको बताउँदै भने,’राजनीतिक व्यवस्थामा चेक एण्ड ब्यालेन्स भए जस्तै मौद्रिक र वित्त नीतिमा पनि आवश्यक छ ।’
यस्तै, उनले बैंक तथा वित्तीय क्षेत्रमा नीति र नियमनका कारण यो वर्ष वाह्य क्षेत्रमा सहज रहेपनि आगामी दिनमा चुनौतिपूर्ण रहेको बताएका छन् । उनले चुनौतिहरुको सामना गर्नको लागि राष्ट्र बैंक सजक किसिमले लागेको बताए ।
उनले सरकारलाई अर्थतन्त्रलाई लयमा ल्याउनको लागि ठूलो चुनौति वित्त नीतिमा देखिएको बताउँदै भने,’सरकारले राजश्व संकलन वृद्धि, करको दायरा बढाउने र भन्सारमा पनि सुधार गर्नुपर्ने आवश्यक छ ।’