विकासन्युज

नेपाल चेम्बर एक्स्पो जेठ ४ देखि सुरु हुँदै

काठमाडौं । ‘नेपाल चेम्बर एक्स्पो २०२३’ बिहिबारबाट शुरु हुने भएको छ । नेपाल चेम्बर अफ कमर्सले आयोजना गर्ने भएको सो एक्स्पो भृकुटीमण्डपमा हुने भएको हो । चेम्बरका अनुसार सो एक्स्पो भृकुटीमण्डपमा जेठ ४ गतेदेखि ८ गतेसम्म हुने छ । छैटौं चेम्बर एक्स्पोमा स्वदेशी उत्पादनसंगै विभिन्न अन्तराष्ट्रिय बस्तुहरुको प्रर्दशनी गरिने बताइएको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले छैटौं संस्करणमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदान प्रदान एवं नेपाली वस्तुहरुको बजारीकरणमा जोड दिईने बताएका छन् । ‘मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीहरुले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधीहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने छ, एक्स्पोले वाह्य व्यापारिक समुदायसंग सहकार्य भई स्वदेशी उद्यमी व्यवसायीहरुमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न समेत मदत पुर्याउने छ,’ उनले भने । चेम्बर एक्स्पोमा नेपाली हस्तकलाका उत्पादनहरु, घरेलु तथा खाद्यन्हका सामाग्रीहरु, जटिवुटी जन्य बस्तुहरु प्रर्दशनी गरिने चेम्बरले जनाएको छ । यस्तै, अटोमोबाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरु समेत प्रर्दशनीमा राखिने छ । मेलाको करिव डेढ लाख जनाले अवलोकन गर्ने व्यापार मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले बताए । मेलामा नेपाल लगायत भारत, पाकिस्तान, बंगलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामाग्रीहरुको स्टल रहनेछ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय बस्तु प्रयोग गर्नका लागि उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।

अयोग्य लडाकुलाई २ लाख दिने कार्यविधि कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडाैं । सर्वोच्च अदालतले अयोग्य लडाकुलाई दुई/दुई लाख दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश कुमार रेग्मीको एक इजलासले आज उक्त विषयमा सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । अधिवक्ता ज्ञानेन्द्र आरणसहितले अयोग्य लडाकुलाई जनही दुई लाख दिने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदाललते रकम दिने निर्णय कार्यान्वयन नगर्न आदेश गरेको हो । अदालतले लिखित जवाफ माग गर्दै दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ । सरकारले तत्कालीन नेकपा (माओवादी) का लडाकूलाई जनही २ लाख रुपैयाँ दिने कार्यविधि तयार पारेको थियो । कार्यविधिमा उनीहरूले पाउने दुई लाख रुपैयाँ बैंक खातामा हालिदिने व्यवस्था थियो । अयोग्य लडाकू ४८ सय जना छन् ।  

कक्षा १२ को परीक्षामा चिट चोराउने तीन कलेजलाई कारवाही

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा मर्यादाविपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ । उक्त बोर्डले एक सूचना जारी गरी गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा मर्यादाविपरीत कार्य गरिएकाले एक जनालाई बर्खास्त गरिएकोे र अन्य दुई जनालाई सचेत गराएर छाडिएको जनाएको छ । काठमाडौंको मित्रपार्कस्थित टेक्सास इमावि परीक्षा केन्द्रमा मर्यादाविपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई बर्खास्त गरिएको र मित्रपार्ककै कैलाशकुट बहुमुखी क्याम्पस तथा बौद्धस्थित कुमारी आवासीय माविका केन्द्राध्यक्षलाई परीक्षाको उचित वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको जनाइएको छ । कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २६ गतेदेखि सञ्चालन भइरहेको छ । मोबाइलमार्फत प्रश्नपत्र खिचेर बाहिर पठाउने र त्यहीँबाट उत्तर लेखेर पठाउने गरिएको भन्दै विभिन्न ठाउँबाट सूचना सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जालमा अनधिकृत आइडी तथा पेज सिर्जना गरी गलत तथा भ्रमपूर्ण सूचनासमेत प्रवाह भइरहेको बोर्डले जनाएको छ । यस्तो भ्रम फैलाउने कार्य नगर्नसमेत सबैलाई बोर्डले उक्त सूचनामार्फत सचेत गराएको छ ।

जनअपेक्षा पूरा गर्ने विषयलाई प्राथमिकता दिन सरकारलाई १० दलको सुझाव

काठमाडौं ।  सरकारलाई समर्थन गर्ने दलहरुको बैठक सम्पन्न भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । ‘आजको छलफलको विषयवस्तु नीति तथा कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने हो । नीति तथा कार्यक्रमका कुन विषयलाई प्राथमिकता दिने भन्ने बारेमा दलहरुका बीचमा छलफल भयो’, उनले भने । बैठकमा शीर्ष नेताहरुले जनअपेक्षा पूरा गर्ने विषयलाई प्राथमिकता दिन सुझाव दिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा पेस गर्न लागेको नीति कार्यक्रममाथि सुझाव लिन सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बोलाएका हुन् । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत उपस्थित थिए ।

बीमा कम्पनीमा धमाधम नयाँ पद खडा

काठमाडौं । बैंक तथा वित्त कम्पनीसँगै बीमा कम्पनीहरु पनि धमाधम मर्जरमा गएका छन् । कम्पनीहरु मर्जरमा गएसँगै कम्पनीमा कार्यरत कर्मचारी समायोजनको विषय पनि टाउको दुखाइको विषय बनेको छ । अधिकांश कम्पनीहरुको मर्जरको समस्याको विषय नै कर्मचारी समायोजन हो । बीमा कम्पनीहरुले कर्मचारी समायोजनकै लागि भएपनि अहिले नयाँ अभ्यास थालेका छन् । मर्जरअघि बीमा कम्पनीहरुमा डीसीईओ थिएनन् । सो समयमा सीईओ, सहायक महाप्रबन्धक, उपमहाप्रबन्धक लगायतको व्यवस्थापन टीम थियो । तर, अहिले मर्जरपछि भने कर्मचारी समायोजनकै लागि भएपनि अधिकांश कम्पनीमा वरिष्ठ डीसीईओ र डीसीईओ पद थपिएका छन् । नेपालको बीमा क्षेत्रमै पहिलो पटक मर्ज भएर इतिहास रचेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा साविकको हिमालयन जनरल इन्स्योरेन्सका विजय बहादुर शाह रहेका छन् । त्यस्तै, वरिष्ठ डीसीईओमा कमल गौतम रहेका छन् । उनी साविकको एभरेष्ट इन्स्योरेन्सका सीईओ हुन् । तत्कालीन हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्समा डीसीईओ थिएनन् । त्यस्तै, तत्कालीन सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई बनेका सानिमा जीआईसीको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न उपाध्याय छन् । उनी तत्कालीन सानिमा जनरल इन्स्योरेन्सका सीईओ हुन् । त्यस्तै, तत्कालीन जनरल इन्स्योरेन्सका सीईओ रामचन्द्र श्रेष्ठ भने हालको सानिमा जीआईसीको वरिष्ठ डीसीईओका रुपमा कार्यरत छन् । निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा मर्ज भएका छन् । दुई कम्पनी मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भइसकेको छ । जसको सीईओ बीरेन्द्र बैदवार क्षेत्री बनेका छन् । उनी तत्कालीन सिद्धार्थ इन्स्योरेन्सका सीईओ हुन् । त्यस्तै, मर्जपछि बनेको सिद्धार्थ प्रिमियमरको डेपुटी सीईओका रुपमा योगेश कृष्ण श्रेष्ठ कार्यरत छन् । यसअघि उनी तत्कालीन सिद्धार्थ इन्स्योरेन्सका डेपुटी सीईओ थिए । यता तत्कालीन प्रिमियर इन्स्योरेन्सको कामु सीईओ कविता जोशी सिद्धार्थ प्रिमियरको सहायक महाप्रबन्धक हुन् । प्रिमियरका डेपुटी सीईओ सहदेव तिवारीले भने कार्यकाल सकिएसँगै अवकास पाएका छन् । हालै दुई कम्पनी मर्ज भइ बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री बनेका छन् । जो तत्कालीन सगरमाथा इन्स्योरेन्सका सीईओ हुन् । त्यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा तत्कालीन लुम्बिनी जनरल इन्स्योरेन्सका डीसीईओ बरिष्मा साउद आचार्य नै छिन् । सगरमाथा र लुम्बिनी जनरल एक आपसमा गाभिएपछि बनेको सलिकोमा लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत एनपी प्रधान बाहिरिएका छन् । यसअघि साविकको सगरमाथा इन्स्योरेन्समा भने डीसीईओ थिएनन् । आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स बनेका छन् । जसको सीईओमा आईएमई जनरलकै सीईओ युगेश भक्त बादे रहेका छन् । त्यस्तै, डीसीईओमा तत्कालीन प्रुडेन्सियलका सीईओ बनेका श्रवण रावल रहेका छन् । जीवन बीमातर्फ सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भएर इतिहास रचे । जुन जीवन बीमा क्षेत्रकै पहिलो मर्जर थियो । दुई कम्पनी एक आपसमा मर्ज भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको सीईओमा प्रकाश बिक्रम खत्री नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले तत्कालीन ज्योति लाइफ इन्स्योरेन्सका सीईओ खत्रीलाई मर्जपछि बनेको नयाँ कम्पनीको सीईओ बन्नको लागि स्वीकृति दिएको हो । नयाँ कम्पनीको वरिष्ठ डीसीईओमा पवन कुमार खड्का छन् । उनी तत्कालीन सूर्या ज्योति लाइफको सीईओ थिए । गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स बनेको छ । हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्णले निरन्तरता पाएका छन् । उनी यूनियनमा प्रमुख कार्यकारी अधिकृत थिए । नायव प्रमुख कार्यकारी अधिकृतमा भने दुई जना रहने भएका छन् । गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल कर्ण र युनियन लाइफका कपिल कुमार दाहालले हिमालयन लाइफमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार दाहालले भने राजीनामा दिएको स्रोतको दाबी छ । जीवन बीमा व्यवसाय गर्दै आएका तत्कालीन सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स मर्ज भई सानिमा रिलायन्सको नामबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् । जसको सीईओमा शिवनाथ पाण्डे नियुक्त भएका छन् । त्यस्तै, वरिष्ठ डीसीईओमा राकेश पोखरेल छन् भने डीसीईओमा निराजन कँडेल छन् । पोखरेल तत्कालीन रिलायन्स लाइफको सीईओ हुन् भने कँडेल डीसीईओ नै थिए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले अहिले भएको व्यवस्था अनुरुप नै वरिष्ठ डीसीईओ र डीसीईओ पद राखेको बताए । उनका अनुसार अहिले कर्मचारी समायोजनका लागि भएर अहिले यो पद राख्नु पर्ने बाध्यता आएको भएपनि दीर्घकालिन हुने सम्भावना भने न्यून रहेको उनको भनाइ छ ।

रुपन्देहीको दिवा खाजाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कक्षा ६ सम्मका विद्यार्थीलाई नियमित दिवा खाजाको व्यवस्था गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सङ्घीय सरकारले तोकेको रकममा थप बजेट व्यवस्थापन गरेर नियमित दिवा खाजाको व्यवस्था गरिँदै आएको छ । तिलोत्तमा नगरपालिकाले २०७४ साउनदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्दै आएको छ । दैनिक खाजा उपलब्ध गराएका कारण नियमित अध्ययनबाट वञ्चित बालबालिका विद्यालयसँग जोडिन पुगेका छन् । अभिभावकसमेत आफ्ना बालबालिकाले दिवा खाजा पाउने भएकाले र अध्ययन पनि गर्न पाउँदा खुसी भएका छन् । यसले सामुदायिक विद्यालयमा विद्यार्थीको भर्नामा उल्लेख्य वृद्धि भएको छ । विगतमा विद्यार्थी भर्नाका लागि गाउँघर घुम्नुपर्ने अवस्थाको अन्त्य भएको नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले बताए । ‘सामुदायिक विद्यालयका कतिपय विद्यार्थी खाजा लिएर विद्यालय आउने त होइन, घरमा समेत खाजा नखाई आउनुपर्ने बाध्यताका छन्’, उनले भने, ‘तिनलाई लक्षित गरी दिवा खाजा कार्यक्रम ल्याएको हो ।’ नगरपालिकाले २०७७ सम्ममा आठ सय विद्यार्थीलाई दैनिक १५ रुपैयाँ बराबरको खाजा खुवाउँदै आएको थियो । त्यसपछि कक्षा १ देखि कक्षा ५ सम्मका पूर्वप्राथामिक तहका विद्याथीलाई उपलव्ध गराउँदै आएको थियो । नगरपालिकाले गत वैशाखदेखि दिवा खाजामा १० थप गरी २५ रुपैयाँ बराबरको खाजा रकम कक्षा १ देखि कक्षा ६ सम्मका ४२ सामुदायिक विद्यालयका १० हजार विद्याथीरुलाई उपलब्ध गराउँदै आएको छ । यसरी मुलुकमा पहिलो पटक दिवा खाजाका रुपमा २५ रुपैयाँ उपलब्ध गराएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव गङ्गाराम आचार्यले जानकारी दिए । नगरपालिका–२ स्थित शङ्करनगर दुर्गादत्त माविको कक्षा ६ मा अध्ययन गर्ने इश्मारिका पन्थले विद्यालयमा अध्ययन गर्दा र खाजा खान पाउँदा सबै साथी एकापसमा मिलीजुली एउटै खाजा खानु ज्यादै रमाइलो लाग्ने गरेको बताउँछन् । विद्यालयका प्रधानाध्यापक चण्डीप्रसाद पाण्डेले खाजाको व्यवस्थाको कारण विद्यार्थीमा उत्साह थपिएको बताए । यसले भर्नामा वृद्धि हुनाका साथै विद्यार्थी खुसीका साथ नियमित विद्यालय आउने गरेको उनले बताए । दैनिक रुपमा विद्यालयमा कक्षा १ देखि ६ सम्मका चार सय विद्यार्थीले खाजा खाने गरेका र खाजा हरेक दिन फरक फरक हुने गरेको प्रअ पाण्डेको भनाइ छ । विद्यार्थीलाई विद्यालयमा स्वस्थ्यकर खाजा तयार गर्नाका साथै  फरक फरक दिनमा फरक फरक खाजा दिने गरिएको छ । उनले भने, ‘कहिले खीर, मटर, भुजा, फलफूल, अण्डा, चना, पाउरोटी, पुलाउलगायत वितरण गर्ने व्यवस्था गरेका छौँ ।’ गरिब तथा पछाडि परेका समुदायका बालबालिका दैनिक मीठो खाजा खान पाइने भएकाले विद्यालय आउन खुसी हुने गरेको शिक्षकहरुको भनाइ छ । खाजाको व्यवस्थाका कारण विद्यालयमा विद्यार्थी भर्नाको चाप वृद्धि भएर थाम्न नसक्ने अवस्थामा पुगेको विद्यालयले जनाएको छ । तिलोत्तमा नगरपालिका–४ डिङ्गनगरमा रहेको जनज्योति माविका प्राध्यापक बाबुराम आचार्यले दिवा खाजाको व्यवस्थाका कारण विद्यार्थी विद्यालयमा बढेको र खाजा मीठो खाना पाइन्छ भनेर पनि विद्यार्थी सधैँ नियमित उपस्थिति हुने गरेको बताउँछन् । विद्यालयमा कक्षा १ देखि ६ सम्म तीन सय ९० विद्यार्थीले खाजा खाने गरेका छन् भने खाजा हरेक दिन फरक फरक रहेको उनले बताए । खाजा बनाउने खुवाउने समिति अलग्गै बनाएको र विद्यालयमा विद्यार्थीलाई स्वस्थकर खाजा तयारी गरी खुवाउने गरेको उनले बताए । हप्तामा दुई दिन अण्डा, चना, एक दिन साना बच्चालाई जाउलो र ठूलालाई चुकाउनी र चिउरा, एक दिन खीर र अर्को दिन चाउमिन खुवाउने गरेको बताए । तिलोत्तमा–४ डिङ्गनगरस्थित जनज्योति माविका शिक्षिका रोहिता राना विद्यालयमा खाजा फेरि फेरि खाना पाउँदा विद्यार्थी साह्रै खुसी हुने गरेका बताउँछन् ।  उनले विद्यालयले हरेक दिन फरक फरक परिकारका खाजा दिँदा आफ्ना बालबालिका खुसी साथ विद्यालय जाने गरेको अभिभावकले सुनाउने गरेको बताए । उक्त विद्यालयमा कक्षा ५ मा अध्ययनरत प्रशान्त पन्थी, रेशमराज चौधरी, रबिन भण्डारी र कक्षा ६ मा अध्ययन गर्ने अञ्जली थापाले सबै साथीसँगै बसेर खाजा खान पाएको बताए । रासस

नेप्सेमा झिनो अंकको सुधार, एनआइसी एशियाको कारोबार उच्च

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब २९ अङ्कले उकालो लागेर एक हजार आठ सय २१ दशमलब ६० मा पुगेको हो । यस्तै ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब शून्य एक प्रतिशतले ओरालो लागेर तीन सय ४९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको सेयर मूल्य उकालो लाग्दा दुई उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ । कूल २० लाख ६३ हजार सात सय ३७ कित्ता सेयर ६४ करोड एक लाख १७ हजार दुई सय ६० मा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । उक्त बैंकको पाँच करोड एक लाख ४६ हजार तीन सय ६१ बराबरको सेयर कारोबार भयो । शिवम् सिमेन्टको दुई करोड ८८ लाख ९२ हजार सात सय ९०, नबिल बैंकको दुई करोड १६ लाख ८५ हजार दुई सय ७७, नेपाल इन्स्याेरेन्स कम्पनीको एक करोड ६७ लाख एक हजार दुई सय ९६ र हिमालयन बैंकको एक करोड ६४ लाख ३४ हजार तीन सय ४८ बराबरको सेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा नौ दशमलब ९९ प्रतिशतले बृद्धि भएको छ । यस्तै माया खोला हाइड्रोपावर पाँच दशमलब ७०, हिमालयन ऊर्जा विकास कम्पनी पाँच दशमलब ३५, सनराइज फोकस इक्विटी फण्ड चार दशमलब ५८ र राप्ती हाइड्रोका लगानीकर्ताले चार दशमलब ५३ प्रतिशतले कमाएका छन् । यस्तै माया खोला हाइड्रोपावर १०, एनआइबिएल ग्रोथ फण्ड पाँच दशमलब ६४, इस्टर्न हाइड्रोपावर चार दशमलब ५९, मानुषी लघुवित्त चार दशमलब ३३ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले तीन दशमलब शून्य आठ प्रतिशतले गुमाएका छन् ।

लेखा समितिले गर्ने हरेक काम सार्वजनिक गर्न निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समिति सभापति (ज्येष्ठ सदस्य) अर्जुनरसिंह केसीले समितिले गर्ने हरेक काम सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन दिएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको पहिलो बैठकमा बोल्दै सभापति केसीले देशको अर्थतन्त्रमा देखिएका अनियमिता र भ्रष्टाचारलाई निमुर्ल गर्न कसिएर बसेको समितिले गरेका काम आम जनताले थाहा पाउन आवश्यक रहेको भन्दै अब समितिले गर्ने हरेक काम सार्वजनिक गर्न निर्देशन दिएका हो । उनले सार्वजनिक लेखा समितिले गर्ने हरेक कार्यहरु सार्वजनिक गर्न आवश्यक रहेको बताए । उनले, सार्वजनिक लेखा समितिका सभापति वा सदस्यहरु पार्टी भन्दामाथि उठेर काम गर्नुपर्ने छ । निष्पक्ष, यथार्थ र भ्रष्टाचार विरुद्धको अभियन्ताको रुपमा लेखा समितिलाई स्थापित गर्नु अहिलेको आवश्यकता छ । उनले पछिल्लो समय नीतिगत निर्णयको नाममा सबै राजनीतिक दलहरुबीच आम सहमति गर्ने अवस्था देखिएको भन्दै अब त्यस्तो भए स्वीकार गर्न हुदैन । भ्रष्टाचारका सम्बन्धमा संसदीय समिति र सदनमा कुरा उठाउन पर्छ । सभापति केसीले बैठकमा बोल्दै अहिले एकपछि अर्को गर्दै भ्रष्टाचारका काण्डहरु बाहिर आएको भन्दै सरकारले निष्पक्ष छानबिन गर्न सक्नुपर्ने बताए । उनले सरकारको बेरुजुको ७५ प्रतिशत भ्रष्टाचार भएको बताए । उनले अहिले १ खर्ब १५ अर्ब ५ करोड बेरुजु रहेको भन्दै मुलुकको अर्थतन्त्र कहाली लाग्दो अवस्थामा रहेकोमा जोड दिए । उनले सार्वजनिक लेखा समितिले सार्वजनिक नीतिगत निर्णयको परिभाषा दिन आवश्यक रहेको बताए । उनले पार्टीका प्रमुख नेताहरु मिलेपछि जुनसुकै पनि नीतिगत निर्णय हुने अवस्थाको अन्त्य गर्न आवश्यक रहेको छ । उनले नीतिगत निर्णयको आडमा नै भ्रष्टाचारका धेरै काण्डहरु लुकेर बसेको बताए । उनले नीतिगत निर्णयका विषयमा सार्वजनिक लेखा समिति खरो रुपमा उत्रनुपर्नेमा जोड दिए ।