यस्तो आजको मौसम
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि समान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
आजदेखि सम्पदा बस सञ्चालनमा आउने
काठमाडौं । नेपाल पर्यटन बोर्डको अगुवाइमा आजदेखि ‘हफ अन हफ अफ बस’ सञ्चालनमा आउने भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मीले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा सम्पदा घुम्ती बस सेवाका रूपमा ‘हफ अन हफ अफ बस’ सञ्चालन हुन गइरहेको जानकारी दिए । पर्यटनमन्त्री सुदन किरातीको विशेष चासोमा समयमा सम्पदा बस सञ्चालनमा आउन लागेको उनले बताए । विश्वका प्रायःजसो पर्यटन क्षेत्रमा यस्तो बस सेवा सञ्चालनमा रहेको उनको भनाइ छ । नेपालमा लामो समयसम्म चर्चा चले पनि यस पटक बोर्डले घाटामै भए पनि सञ्चालन गर्न लागेको हो । बोर्डका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा दुईवटा इलेक्ट्रोनिक साझा बस सम्पदा बसका रूपमा सञ्चालन हुनेछन् । ललितपुर महानगरपालिकाबाट सुरु हुने ‘हफ अन हफ अफ बस’ सेवाले काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन हुनेछ । ‘२ वटा बस प्रत्येक ठाउँमा आधा घन्टादेखि ४५ मिनेटमा सञ्चालन हुनेछ, केही दिन निःशुल्क चलाएर त्यसपछि शुल्कको व्यवस्था गरिनेछ,’ उनले भने ।
गैरकानुनी ढङ्गबाट बढी मूल्य लिएपछि पेट्रोल पम्पलाई २ लाख जरिवाना
काठमाडौं । कृत्रिम अभाव सिर्जना गरेको र बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै रामेछापको मन्थलीस्थित लक्ष्मी आयल स्टोर्सलाई जिल्ला प्रशासन कार्यालय रामेछापले दुई लाख जरिवाना गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रजिअ अनोजकुमार घिमिरेको नेतृत्वमा पुगेको अनुमगन टोलीले जरिवाना गरेको हो । उक्त आयल स्टोर्सका सञ्चालकले कृत्रिम अभाव सृजना गर्ने र मनलाग्दी मूल्य लिएर गैरकारनुनी तरिकाले पेट्रोलियम पदार्थ बिक्री गरेको ठहर गर्दै कानुनअनुसार जरिवाना गरिएको सहायक प्रजिअ अनोज घिमिरेले बताए । गैरकानुनी ढङ्गबाट बढी मूल्य लिएर बिक्री गरेपछि आफूलाई स्थानीयले उजुरी गरेको उनले बताए । ‘उक्त आयल स्टोर्सका बारेमा सूक्ष्म रुपले अनुगमन गर्दा सञ्चालकले गलत नै गरेको पुष्टि भएपछि हामीले जरिवाना गरेका हौँ, यो न्यूनतम जरिवाना गरिएको हो,’ उनले भने । जिल्लामा सदरमुकाम मन्थलीमा रहेका तीनवटा पेट्रोल पम्पमा एक हप्तादेखि पेट्रोलियम पदार्थ नभएपछि सोमबार बिहानमात्र आएको सो पेट्रोल पम्पमा बढी मूल्य लिएर गैरकानुनी ढङ्गबाट बिक्री वितरण भएको पाइएको थियो । उता लक्ष्मी आयल स्टोर्सका प्रोप्राइटर केशव घिमिरेले आफूले मूल्यमा कुनै पनि तलमाथि नगरेको र सबैलाई आयल निगमले तोकेको एउटै मूल्यमा वितरण गर्ने गरेको दाबी गरेका छन् । २ वर्षअगाडि पनि यो आयल स्टोर्स पेट्रोलियम पदार्थमा मिसावट गरेको आरोपमा कारबाहीमा परेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले गर्याे राष्ट्रिय क्रिकेट टोलीलाई सम्मान
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्मानका साथै जनही १ लाख रुपैयाँद्वारा पुरस्कृत गरेको छ । बैंकले एक कार्यक्रममार्फत क्रिकेट खेलाडीसँगै प्रशिक्षकलाई सम्मान गरेको हो । त्यस्तै टिम अफिसियलहरूलाई जनही ५० हजार रुपैयाँले पुरस्कृत गरिएको छ । राष्ट्रिय वाणिज्य बैंका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाली क्रिकेट टोलीको प्रशंसा गर्दै आगामी दिनमा थप उचाइ प्राप्त गर्न शुभकामना दिए । ‘पछिल्लो समय नेपाली क्रिकेटले प्राप्त गरेको सफलता अभूतपूर्व छ, अबको यात्रा झन् कठिन र सङ्घर्षपूर्ण छ, त्यस यात्रामा यहाँहरूले हिजोको भन्दा बढी मेहनत र कठिन परिश्रम गरेर फेरि पनि राष्ट्रको नाम उच्च बनाउन यही कार्यक्रमबाट शुभकाना व्यक्त गर्छौं,’ उनले भने । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बैंकसँगको सहकार्य र खेलाडी सम्मानले हौसला प्राप्त गरेको बताए । उनले खेलाडीसँगै खेलाडी छनोटकर्ता र प्रशिक्षकप्रति पनि आभार प्रकट गरे । ‘राष्ट्रिय वाणिज्य बैंकले आफैँले सम्झेर खेलाडीहरूको हौसला बढाउने शुभकार्य थालनीका लागि सङ्घका तर्फबाट आभार प्रकट गर्छौं । यहाँहरूको साथले नेपालको क्रिकेटले थप उचाइ प्राप्त गर्नेछ,’ उनले भने । राष्ट्रिय वाणिज्य बैंकले गत बुधबार नै नेपाली राष्ट्रिय क्रिकेट टोलीका नेपाली टोलीलाई नगद राशिसहित सम्मान गर्ने घोषणा गरेको थियो ।
मिटरब्याजीको कारण दुःख पाएको भन्दै ९८४ वटा निवेदन दर्ता
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी ९८४ वटा निवेदन दर्ता भएको छ । मिटरब्याजीहरुको कारण दुःख पाएको भन्दै पीडितले हालसम्म ९८४ वटा निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय पर्साका मिटरब्याजी पीडित सहायता कक्षका प्रमुख गौरीशङ्कर साहले जानकारी दिए । सरकारले मिटरब्याजीविरुद्ध अध्यादेशमार्फत कानुन बनाइ ठगी गर्ने साहुहरूलाई कानुनी कारबाही गर्ने निर्णय बमोजिम पीडितहरूले न्यायका लागि निवेदन दिएको उनले बताए । जिल्ला प्रशासन कार्यालयले वैशाख १५ गते मिटरब्याजी पीडितहरूलाई निवेदन दिन सूचना निकालेपछि वैशाख १७ गतेदेखि निवेदन आउन सुरु भएको प्रमुख साहले बताए । अधिकांश पीडितहरूले स्वयं आफैँ निवेदन लिएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराउने उनको भनाइ छ । गरिबी र सोझोपनको फाइदा उठाउँदै साहुहरूले दिएको रकमको तिहाइ, चौथाइ कपाली कागज गराउनाका साथसाथै जग्गासमेत आफ्नो नाममा साहुहरूले दर्ता गराई अन्याय गरेको अधिकांश पीडितले उजुरीमा उल्लेख गरेका छन् । पीडितहरूको निवेदन दिने चाप बढेको हुनाले जेठ १४ गतेसम्म निवेदन लिने गरी समय बढाइएको उनले बताए । समय सीमा सकिसकेपछि निवेदनमाथि जाँच बुझ गरी आयोगको निर्देशनअनुसार आयोगलाई सिफारिस गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए ।
समीट लघुवित्तले लाभांश, मर्जर र एफपीओ प्रस्ताव पारित गर्न डाक्यो सभा
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले १४औं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले जेठ ३० गते अरनिको पार्टीप्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३.५६ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांश गरी कूल १४.२७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । संस्थापक र सर्वसाधारणको सेयर पूँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न राष्ट्र बैंकबाट निर्देशन आएको हुँदा आर्थिक वर्ष २०७८÷७९ को बोनस सेयर वितरण पश्चात् नपुग भएको सर्वसाधारण तर्फको ८ लख ५३ हजार ६६५ कित्ता साधारण सेयर प्रिमियममा सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (एफपीओ)को माध्यमबाट सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थाको अधिकृत पूँजी ७० करोड रुपैयाँ रहने गरी प्रवन्धपत्रमा शंसोधन गर्ने प्रस्ताव पारित गर्नेछ । समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्तबीचको मर्जर प्रक्रियालाई पुरा गर्न सञ्चालक समितिले संयुक्त मर्जर समितिलाई अख्तियारी प्रदान गर्नेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ १८ गतेदेखि जेठ ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
थ्रीस्टारको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाण्डौ । थ्रीस्टार हाइड्रोपारको आईपीओमा आयोजना प्रभावित स्थानिय वासिन्दाहरुले आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले वैशाख ११ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित स्थानियले आज जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले स्थानिय वासिन्दालाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका बासिन्दाले आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा स्थानीयले ४ लाख ९२ हजार ५ सय कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानीया लगानीकर्ताले सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र थ्रीस्टार हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कुथेली बुखरी स्मल हाइड्रोले जेठ १९ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १० प्रतिशत स्थानिय बासिन्दा र सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयर १० वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्ने भएको हो । कम्पनीले १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख २१ हजार ८६८ कित्ता सेयर दोलखाको कालिञ्चोक गाउँपालिका ९ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडा) र भिमेश्वर नगरपालिका १ का (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडा) स्थानिय बासिन्दालाई बिक्री गर्नेछ । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १२ लाख १८ हजार ६ सय रुपैयाँ प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ हजार १८६ कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छटोमा असार १ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि ढिलोमा असार १७ गतेसम्म समय दिइएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । स्थानिय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।