विकासन्युज

व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीको व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वसँग आज भएको भेटमा प्रधानमन्त्री दाहालले निर्वाधरुपमा पेसा व्यवसाय गर्न आग्रह गर्दै व्यवसाय सञ्चालनका क्रममा कुनै समस्या उत्पन्न भएमा त्यसलाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले व्यवसायीको हितका लागि सरकारले सबै प्रकारका सहयोग गर्ने र सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र गरिरहेको बताए । भेटका क्रममा महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले मागअनुसार कच्चा सुनको आपूर्ति नहुँदा व्यवसाय सञ्चालनमा कठीनाइ भएको बताए । उनले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीति नियम निर्माण गरी बजारको माग अनुसार सुनको आपूर्तिको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । त्यसक्रममा महासङ्घको तर्फबाट निवर्तमान अध्यक्ष मोहनकुमार सुनार, विशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्षहरु मोहनकाजी शाक्य, विपीन रामुदामु र महेन्द्र शाक्यको उपस्थिति थियो । महासङ्घलाई यसअघि नै सरकारले उद्योग वाणिज्य प्रवद्र्धन संवाद समितिको सदस्यको रूपमा समावेश गरको छ । रासस

नेपाली बैंकको पुँजी र जगेडा कोष बलियो छ, बढेको खराब कर्जाले फरक पार्दैन : सीईओ राणा

काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बैंकको खराब कर्जा बढ्दा खासै ठूलो असर नपर्ने बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको अनुपातको विषयमा चौतर्फी चिन्ता व्यक्त भएपनि यसले खासै ठूलो असर नपर्ने बताएका हुन् । उनका अनुसार नेपाली बैंकहरुको पुँजी र जगेडा कोष बलियो भएकोले पनि बढेको खराब कर्जाले खासै असर गर्दैन । उनले ब्याजदर घट्दै गएकाले बजार चलायमान हुने विश्वास व्यक्त गरे । खराब कर्जा बढे पनि नेपालका बैंकहरू बलियो अवस्थामा छन्, हाम्रो पुँजी र जगेडा कोष बलियो छ, बढेको खराब कर्जाले ठूलो समस्या सिर्जना गर्छ भन्ने छैन,’ उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ जाहेरी दर्ता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका जाहेरीमा २७ करोडभन्दा बढी ठगी भएको उल्लेख छ । उक्त प्रकरणमा सुरुआतमा ८१ जनाको १३ करोड ठगी भएको भन्दै काठमाडौं उपत्यका अपराध अनुन्धान कार्यालयलमा उजुरी परेको थियो । कार्यालयले थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ परेका व्यक्तिसहित फाइल जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ । त्यसपछि थप व्यक्तिले जाहेरी दिएका रिजालले बताए । उक्त मुद्दामा आजसम्म प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । केही व्यक्ति फरार छन् । केही व्यक्ति अनुसन्धानको घेरामा रहेकाले दरिलो प्रमाण जुटाउने प्रयास भइरहेको उहाँको भनाइ छ । गत वर्ष चैत १२ गतेदेखि प्रहरीले आरोपीतलाई पक्राउ गर्न थालेको हो ।

धनकुटामा ३ सडक आयोजनाको काम तीव्र

धनकुटा । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत धनकुटामा सञ्चालन भइरहेका तीन वटा सडक आयोजनाको कामले गति लिएको छ । यहाँ निर्माण भइरहेको बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुमअन्तर्गत २३ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । ५६ करोड ५२ लाख रुपैयाँ सम्झौता लागतमा उक्त सडक कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । कालोपत्रको काम यही असारभित्र सक्ने लक्ष्य राखिएको छ । कार्यालयका अनुसार कालोपत्र गर्ने लक्ष्यका साथ निर्माण भइरहेको हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेणी १० किलोमिटर सडकको ७० प्रतिशत काम सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको २९ करोड ७२ लाख रुपैयाँ लागतमा यो सडक निर्माण थालिएको हो । त्यस्तै, यही सडक खण्डअन्तर्गत निर्माण भइरहेको गुठीटार–बाघखोर–छिदी सडकको काम पनि तीव्र गतिमा भइरहेको छ । प्रदेश सरकारको २२ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको गुठीटार–बाघखोर–छिदी सडकको हालसम्म ७० प्रतिशत भौतिक प्रगति रहेको कार्यालयले जनाएको छ । यसलाई पनि यही वर्षभित्र कालोपत्र गर्ने गरी काम भइरहेको कार्यालयका प्रमुख राजेश्वर महतोले जानकारी दिए । निर्माण भइरहेका यहाँका सडकको पूर्वाधार विकास कार्यालयले स्थलगत अनुगमन गरेर निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशनसमेत दिएको छ । ‘योजना सञ्चालनका क्रममा देखिएका समस्या समाधानका विषयमा निर्माण कम्पनी तथा स्थानीय सरोकारवाला पक्षसँग आवश्यक छलफलसमेत गरेका छौँ’, उनले भने । ‘हामीले सञ्चालन गरेका योजनालाई तोकिएको मापदण्डअनुसार समयमा सम्पन्न गराउन भूमिका खेलिरहेका छौँ’, महतोले भने, ‘यहाँ सञ्चालन भइरहेका योजनाको काम तीव्रगतिमा अघि बढेको छ । एउटा सडकको कालोपत्र सुरु गरेका छौँ । अन्य दुई सडक निर्माण पश्चात् केही समयमा कालोपत्र सुरु गर्ने लक्ष्य छ ।’ बिहीबारे हटिया–कर्मीटार–बञ्चरे–तेलिया–परेवादिन–शुक्रबारे–तेह्रथुम सडकअन्तर्गत आयोजनाको काम निर्माण कम्पनीले तीव्रगतिमा अघि बढाए पनि बजेट अभावका कारण सम्झौता रकम भुक्तानी दिन समस्या रहेको प्रमुख महतोले बताए । प्रदेश सरकारबाट आवश्यक पर्ने बजेट समयमा नआउँदा भुक्तानी दिन नसकिएको उनको भनाइ छ । ‘यो सडक निर्माणको काम तीव्रगतिमा भइरहेको छ’, उनले भने, ‘निर्माण कम्पनीले गरेको कामको समयमा भुक्तानी दिन सकिरहेका छैनौँ । प्रदेश सरकारबाट आवश्यक बजेट आएको खण्डमा यो काम समयमा सम्पन्न हुनेछ ।’ कालोपत्र भइरहेको उक्त सडकको नियमित अनुगमन तथा कोर कटर मेसिनका माध्यमबाट ल्याब परीक्षण गर्ने काम भइरहेको कार्यालयका ल्याब टेक्निसियन रिपु पण्डितले जानकारी दिए । स्थानीय तथा विषेशज्ञको उपस्थितिमा प्वाल पारेर सडकको गुणस्तर परीक्षण गरिरहेको उनले बताए । सडक ‘आस्फाल्ड’ प्रविधिमा चार सेन्टिमिटर मोटाइमा कालेपत्र भइरहेको पण्डितको भनाइ थियो । ‘हामीले यसको गुणस्तरमा विषेश ध्यान दिएका छौँ’, उनले भने, ‘कालोपत्र भएको चार ठाउँमा परीक्षण गर्दा आवश्यक मापदन्डअनुसार नै निर्माण भएको छ । कतिपय ठाउँमा चारको ठाउँमा सात सेन्टिमिटरसम्म मोटाइ छ । निर्माण कम्पनीले हाम्रो प्रत्यक्ष निग्रानीमा कालोपत्र गरिरहेको छ ।’ मापदण्डअनुसार समयमा सम्पन्न गर्ने लक्ष्यले काम गरिरहेको निर्माण कम्पनी शर्मा, भिमेश्वर भेजीले जनाएको छ । विसं २०७७ देखि निर्माण सुरु भएको सडक यही असारभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । हाल निर्माण भइरहेको २३ किलोमिटर सडकको अन्तिम बिन्दु तेलियादेखि–ओख्रे–ताम्लिङ सडकखण्डको कालोपत्र भइरहेको कम्पनीका प्रतिनिधि अर्पेन्द्रकुमार अधिकारीले जानकारी दिए । सडकको  स्टरचर, सवबेस पूर्णरुपमा र १० किमी सडकको बेसको काम सकिएको उनको भनाइ छ । वर्षात्ले समस्या हुने भएकाले पहिलो चरणमा यो खण्डको काम सकेर अर्को चरणमा  कालोपत्र सुरु गर्ने लक्ष्य रहेको उनले बताए । ‘सडक निर्माण निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिहेका छौँ’, अधिकारीले भने, ‘निर्माणका क्रममा आकस्मिक समस्या आएन र कार्यालयले समयमा भुक्तानी दियो भने असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । यदि वर्षात्ले असर पुर्यायो भने असोज महिनाभित्र जसरी पनि सम्पन्न गर्छौं ।’ यो सडकखण्डको दैनिक सात सयदेखि नौ सय मिटरसम्म एकतर्फी कालोपत्र भइरहेको उनले जानकारी दिए । हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेनी १० किलोमिटरमध्ये यस आर्थिक वर्षमा पाँच किलोमिटर सडक कालोपत्र हुने कार्यालयले जनाएको छ । उक्त सडकखण्डको आवश्यक स्टक्चरको काम सम्पन्न गरेर कालोपत्रको काम चरणमा रहेको निर्माण कम्पनी रायामाझी, आजात जेभीका प्रमुख प्रेमकुमार मल्लले जानकारी दिए । ‘यो सडकको आवश्यक स्टक्टरको काम सकिएको छ’, उनले भने, ‘अबको एक हप्तापछि कालोपत्र सुरु भई नौ महिनाभित्र पूर्णरुपमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।’ हिले–उत्तरपानी–छिन्ताङ–त्रिवेनी सडक विसं २०७८ असोजदेखि निर्माण थालिएको निर्माण कम्पनीले जनाएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत निर्माण भइरहेको गुठीटार–बाघखोर–छिदी सडक पनि यही वर्ष कालोपत्र सुरु हुने जनाइएको छ । कालोपत्रको काम असारसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनी रमन दिव्यज्योति रोजन जेभीले जनाएको छ । हालसम्म ७० प्रतिशत भौतिक प्रगति रहेको निर्माण कम्पनीका इञ्चार्ज अरुणप्रसाद थपलियाले जानकारी दिए । ‘यो सडक निर्माणको काम तीव्र गतिमा अघि बढाएका छौँ’, उनले भने, ‘वर्षात्का कारण केही समस्या भइरहेको छ । मौसमले साथ दियो भने असारसम्म कालोपत्रको काम सक्छौँ ।’ यो सडक पनि ‘आस्फाल्ड’ प्रविधिबाट साढे पाँच मिटर चौडाइ र चार सेन्टिमिटर बाक्लो कालोपत्र हुने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । रासस

नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ ।

सामान्य अंकले नेप्से बढ्यो, बैंकिङ र व्यापार समूहको उपसूचक घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ अङ्क कायम भएको छ । आज दुई सय ७२ वटा कम्पनीको ३४ लाख ९५ हजार सात सय ५२ कित्ता सेयर २५ हजार सात सय ४६ पटक खरिदबिक्री हुँदा कारोबार रकम एक अर्ब २७ करोड ८७ लाख चार हजार सात सय २६ पुगेको छ । नेप्से इन्डेक्ससँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि हरियो देखिएको छ । बैंकिङ र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह शून्य दशमलव २९ र व्यापार समूह २० दशमलव २९ अङ्कले घटेको छ । आज सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक एक सय सात दशमलव ५७ र जीवन बीमा समूहको उपसूचक ८८ दशमलव ३२ अङ्कले बढेको छ । विकास बैंक समूह १० दशमलव ६६, वित्त समूह १३ दशमलव १५, होटल तथा पर्यटन समूह ५५ दशमलव ५३, जलविद्युत् समूह १४ दशमलव २२ र लगानी समूह शून्य दशमलव १७ अङ्कले बढेको छ । त्यसैगरी, लघुवित्त समूह १७ दशमलव ७५, म्युचुअल फन्ड शून्य दशमलव ०८, निर्जीवन बीमा समूह ७४ दशमलव ०८ र अन्य समूह शून्य दशमलव ५८ अङ्कले बढेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रीनलाईफ हाइड्रो लिमिटेडको सेयर मूल्य सात दशमलव ३७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्टकाे सात करोड ३४ लाख ९८ हजार पाँच सय बराबरको एक लाख ७७ हजार पाँच सय ७९ कित्ता सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सोल्टी होटल लिमिटेडको दुई लाख १६ हजार २२ कित्ता सेयर किनबेच भएको छ । रासस

आधा दर्जन बैंक क्यापिटल एडुकेसीको चापमा परे : अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आधा दर्जन बैंक क्यापिटल एडुकेसीको चापमा परेको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले गरेको पत्रकार सम्मेलनमा उनले अहिले करिब आधा दर्जन बैंक क्यापिटल एडुकेसीको चापमा परेको बताएका हुन् । उनका अनुसार चार वटा बैंक भने क्यापिटल एडुकेसीको ठूलो मारमा छन् । उनले अहिले औसतमा बेसरेट १०.२७ प्रतिशत रहेको र ब्याजदर अझै घट्ने क्रममा रहेको बताए । असारको अन्तमा ४ प्रतिशत स्प्रेडदर कायम गर्दा कर्जाको ब्याजर पनि घट्ने उनी बताउँछन् । ‘यो वर्ष ३ खर्ब निक्षेप बढेको छ, कर्जाको तुलनामा निक्षेप बढेको छ, तरलता पनि सहज हुँदै गइरहेको छ, अझैं  २ सय अर्ब बढ्न सक्छ, कर्जा पनि बढ्ने अनुमान छ,’ उनले भने । सरकारको खर्च बढ्न सके बैंकिङ उद्योग सहज हुने अध्यक्ष केसी बताउँछन् । यस वर्ष आर्थिक गतिविधि कम भएको कारण केही असर पर्न सक्ने उनको भनाइ छ ।

एक करोड रुपैयाँभन्दा बढीमा ठेक्का लाग्यो बागवानीको आँप

सर्लाही । सर्लाही लालबन्दी नगरपालिका–१ स्थित नवलपुरको उष्ण प्रदेशीय बागवानी केन्द्रले यसवर्ष एक करोड ११ लाख ६० हजार रुपैयाँमा आँप ठेक्का लगाएको छ । केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले यसवर्ष विगतको तुलनामा धेरै आँप फलेकाले सबैभन्दा बढी रकममा आँप ठेक्का लागेको बताए । करिब तीन सय बिघा क्षेत्रफलमा फैलिएको बागवानी केन्द्रमा छ हजार आँप र छ सय २१ लिचीका बोट छन् । यहाँ ३५ जातका आँप र आठ जातका लिचीका बोट छन् । बगैँचामा भारतमा पाइने बम्बई, मालदह, दसहरी, अम्रपालि, कलकतिया, निलम, मलिका, सुकतारा, सिपिया, कृष्णभोग र जर्दा जातका आँप छन् भने पाकिस्तानमा पाइने अमनदसहरी, फजिली, अनबरतौल, नुरजाहा र अबेहयात जातका आँपका बोट छन् । साथै थाइल्याण्डमा पाइने डकमाइ र अमेरिकामा पाइने हेडेन तथा केन्ट जातका आँप पनि छन् भने अर्लीलार्ज रेड, शाही, मुज्फरपुर, सिडलेस, मैक्लिन, बम्बई, कलकतिया र चाइन गरी आठ प्रजातिका लिचीका बोट छन् । यस वर्षका लागि लिची १२ लाख १८ हजार रुपैयाँमा ठेक्का लगाइसकेको केन्द्रका निमित्त प्रमुख यादवले बताए । ‘केन्द्रमा यसवर्ष विगतका तुलनामा आँप धेरै फले पनि लिची भने कम फलेको तर लिचीमा पनि विगतको तुलनामा बढी रकममा ठेक्का लागेको छ’, उनले भने । यसवर्ष आँपमा औषधि तथा विषादी छर्कनका लागि करिब २४ लाख रुपैयाँ खर्च गरी आधुनिक मेसिनसमेत खरिद गरेर ल्याइएको केन्द्रले जनाएको छ । जमिनबाट ६० फिट उचाइसम्म सजिलै विषादी छर्न सकिने यो मेसिन नेपालमै पहिलो पटक प्रयोग भइरहेको केन्द्र प्रमुख यादवले बताए । रासस