विगतभन्दा राम्रो नीति तथा कार्यक्रम आएको छ : सांसद शर्मा
काठमाडौं । राष्ट्रियसभाका सांसद जगप्रसाद शर्माले सरकारले आगामी आर्थिक वर्षका लागि विगतको भन्दा राम्रो नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद शर्माले देश र जनताका समस्या सम्बोधन गर्ने प्रयास नीति तथा कार्यक्रममा समेटिएको बताए । ‘नीति कार्यक्रममा कमजोरी छैनन् म भन्दिन, तर विगत छ वर्षयताको सबैभन्दा उत्कृष्ट छ’, उनले भने, ‘सबैको भविष्य यसको कार्यान्वयनसँग जोडिएको छ, नीति तथा कार्यक्रम राम्रै आउने तर कार्यान्वयन नहुने हाम्रो नियती रहेको छ, तर यसपटक कार्यान्वयन हुने ढङ्गबाट नीति तथा कार्यक्रम आएको छ ।’ नीति तथा कार्यक्रमले मुख्यतः मुलुकका तीन वटा क्षेत्रमा देखिएको समस्या समाधानको प्रयत्न गरेको सांसद शर्माको भनाइ छ । ‘नीति तथा कार्यक्रमले अहिलेको राजनीतिक, आर्थिक तथा सांस्कृतिक अराजकताको समस्या समाधान गर्ने र राष्ट्रलाई नयाँ ढङ्गले अगाडि बढाउने सङ्कल्पका साथ आएको छ’, उनले भने ।
मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो । मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन ।
बाढीपीडितले पाएनन् घर बनाउन राहत रकम
गलकोट । बाढीपहिरोले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले नेपाल सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् । विसं २०७७ भदौ १७ गते भूजीखोलामा आएको बाढीपहिरोले क्षति पुर्याएको घर बनाउनका लागि प्राप्त हुने राहत रकम घर बनाइसक्दासमेत पाउन नसकेका हुन् । घर निर्माण पश्चात् ८२ बाढीपीडितले रु। चार लाखका दरले पाउनुपर्ने रकममध्ये जम्मा ५० हजारका दरले मात्रै पाएकामा दोस्रो किस्ता रकम सात महिनादेखि पाउन नसकेका हुन् । नगरपालिकाबाट दोस्रो किस्ताका लागि आवश्यक मागदाबी नआएका कारण पीडितलाई राहत दिन नसकिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए । ‘ढोरपाटनमा बाढी जाँदा ठूलो जनधनको क्षति भएको रहेछ ३७ जनाले ज्यान गमाएका र १५ जना बेपत्ता भएका रहेछन्, घर बनाउनका लागि प्रक्रिया पुगेका ८२ पीडित परिवारले जिल्ला प्रशासन कार्यालयबाट सात महिनाअघि मात्रै पहिलो किस्ताबापत रु ५० हजारका दरले लिएका रहेछन्’ उनले भने ‘दोस्रो किस्ताका लागि नगरपालिकाले माग गरेको छैन, यसका लागि मापदण्डअनुसारको घर निर्माण भएको प्रमाणसँगै नगरपालिकाको सिफारिस आवश्यक छ, उक्त नगरपालिकाले दोस्रो किस्ताका लागि पीडितहरुको प्रक्रिया नपु¥याउँदा सात महिनादेखि दोस्रो किस्ताको रकम अड्किएको छ ।’ नगरपालिकाले छिटो कानुनी प्रक्रिया पूरा गरेमा पीडितलाई रकम भुक्तानी गर्न समस्या नरहेको प्रजिअ श्रेष्ठको भनाइ थियो । विसं २०७७ मा बागलुङ जिल्लालाई मनसुनजन्य विपद् प्रभावित जिल्लाको रुपमा सूचीकृत गरिएकाले ढोरपाटनसहित जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकासहित छ पालिकाका बाढी तथा पहिरोपीडितले घर बनाउन नेपाल सरकारले दिनुपर्ने राहत रकम अझै पूर्णरुपमा पाउन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालयले विपद्का बेला कर्मचारी नै खटाएर राहतका लागि सबै पालिकालाई आह्वान गरेपनि सबैभन्दा बढी पीडित रहेको ढोरपाटन नगरपालिकाले दोस्रो किस्ताको रकम सात महिना बित्दासमेत दाबी गर्न नसकेको जिल्ला प्रशासन कार्यालयका विपद् संयोजक तेजराज गौतमले बताए । दोस्रो किस्ताका लागि जैमिनी नगरपालिका र निसीखोलाबाट मात्रै माग दाबी आएको उनको भनाइ थियो। ‘सबैभन्दा समस्याग्रस्त क्षेत्र ढोरपाटन हो, बाढीपीडतले तीन वर्षपछि घर बनाए तर राहतका लागि दोस्रो किस्ता बापतको दुई लाख रुपैयाँ दिन सकिएको छैन, नेपाल सरकारले प्रमाणका आधारमा मात्रै भुक्तानी दिने हो पालिकाबाट घर बनेको प्रमाणसहित माग आउन प¥यो, हामीले निरन्तर पालिकालाई ताकेता गरिरहेका छौंँ’–संयोजक गौतमले भने । ढोरपाटनका बाढीपीडितले दोस्रो किस्ताबापत पाउनुपर्ने दुई लाख रुपैयाँका दरले एक करोड ६४ लाख रुपैयाँ रकम भुक्तानी गर्न नसकिएको भन्दै जिल्ला प्रशासन कार्यालयले २०७९ चैत २२ गते नगरपालिकामा पत्र पठाइसकेको थियो । बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्याङ्कनका लागि प्राविधकि खटाउने तयारी गरिएको छ तर मुल्याङ्कन फाराम नपाउँदा विवरण सङ्कलनमा ढिलाइ भएको उक्त नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले बाढीपीडितले निर्माण गरेको घरको प्राविधिक मूल्याङ्कनका लागि तत्कालै बाढीग्रस्त क्षेत्रमा पाठाइने र मूल्याङ्कन पश्चात जेठ महिनाभित्रै दोस्रो किस्ताको रकम मागका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने तयारी रहेको बताए । बाढीपीडितहरुले सरकारले दिने अनुदानको आशले ऋण खोजेरै भएपनि घर निर्माण गरेका थिए। दोस्रो किस्ता वापत दुईलाख रुपैयाँ भुक्तानी गरेपछि पुनः घर सम्पन्नताको सिफारिसपछि तेस्रो किस्ता बापतको एक लाख ५० हजार रुपैयाँ भुक्तानी गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीका कारण ढोरपाटनमा घरसँगै विद्यालय, सडक, खानेपानी, पुल तथा जलविद्युत् आयोजनामा क्षति पु¥याएको थियो । उक्त नगरपालिकाका ८२ बाढीपीडितसहित बागलुङ नगरपालिकामा २९ परिवार, बडिगाड गाउँपालिकामा २२, ताराखोला गाउँपालिकामा नौ, जैमिनी नगरपालिकमा ३५ र निसीखोला गाउँपाकिलामा ३६ गरी २१३ बाढीपीडितले घर निर्माणका लागि रु चार लाख पाउने जिल्ला प्रशासनको तथ्याङ्कमा उल्लेख छ । पालिकाले बाढीपीडितको घर बनाउन प्राविधिक सहयोग, जग्गा व्यवस्थापन र आवश्यक कानुनी प्रक्रिया पूरा नगराउदा हालसम्म दुई सय १३ बाढीपीडितले दोस्रो किस्ता प्राप्त गर्न सकेका छैनन् । रासस
नीति तथा कार्यक्रम र बजेटलाई एउटै दस्तावेज बनाउन सांसद वाग्लेको सुझाव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम र बजेटलाई एकै दस्तावेजमा आधारित हुने गरी प्रस्तुत गर्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ कोे नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद डा वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भए पनि यसमा भएका राम्रा पक्षलाई कार्यान्वयनमा लान आवश्यक रहेको बताए । उनले नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउन आग्रह गरे । बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा धवलशमशेर जबराले सुकुम्बासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्र्ने र किसानलाई समयमा मलखाद उपलब्ध गराउने विषयलाई ध्यान दिन आग्रह गरे । जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले नीति तथा कार्यक्रममा कुनै विषयलाई प्राथमिकता नदिइएको बरु कार्यक्रम छरिएर आएको टिप्पणी गरे ।
राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत्
सुर्खेत । त्रिपन्न किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ । विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय लाइनमा समावेश गर्ने भएको हो । बाबियाचौरमा विद्युत्को राष्ट्रिय प्रशारण लाइन पुगेसँगै उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक प्रक्रिया थालिएको आयोजनाका व्यवस्थापक पदमबहादुर बुढाले जानकारी दिए । यहाँका अन्य स्थानीय जलविद्युत् आयोजना भने बन्द भएका छन् । तीन स्थानबाट विद्युत् उत्पादन गरेर बाबियाचौर र आसपासका क्षेत्रमा विद्युत् सेवा दिइरहेका साना जलविद्युत् बन्द गरिएको उनले बताए । बीस किलोवाट माथिका आयोजना राष्ट्रिय प्रशारणमा जोड्न सकिने सङ्केत विद्युत् प्राधिकरणले दिएपछि आवश्यक संरचना थप्ने गरी त्रिपक्षीय सम्झौता गरिएको छ । विसं २०६५ मा बाबियाचौर लघुजलविद्युत सहकारीमार्फत खमारी खोला जलविद्युत् आयोजनाले विद्युत् उत्पादनको काम थालेको थियो । सोही खोलाबाट थप दुई वटा आयोजना पनि निर्माण गरिएकामा विद्युत् उत्पादन कम भएपछि बन्द गर्ने तयारी गरिएको ती आयोजनाले जनाएका छन् । ‘तत्काल विद्युत्को राष्ट्रिय लाइन बाबियाचौर बजारको उत्तर र पूर्वतर्फका गाउँमा विस्तार नहुँदा केही समयसम्म सञ्चालन रहन्छन्,’ व्यवस्थापक बुढाले भने, ‘५३ किलोवाटको आयोजनालाई नेट मिटरिङमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोड्न आवश्यक पूर्वाधार निर्माणका लागि सम्झौता गरेर बोलपत्र गरिसकेका छौँ ।’ राष्ट्रिय लाइनमा जोड्न नेपाल विद्युत् प्राधिकरणका कर्णाली प्रदेश प्रमुख शम्भु कुसियत यादव, उक्त आयोजनाका अध्यक्ष सुरेन्द्रबहादुर शाही र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता भएकोे छ । यसका लागि आवश्यक सबै पूर्वाधार निर्माणको खर्च भने आयोजना र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले व्यहार्ने उल्लेख छ । लागत खर्चमा आयोजनाको २२दशमलव ३५ प्रतिशत र केन्द्रको ७७दशमलव ६५ प्रतिशत ९ आयोजनाले रु १४ लाख र केन्द्रले ४८ लाख ६२ हजार ९३१० व्यहोर्ने आयोजनाका व्यवस्थापक बुढाले बताए । राष्ट्रिय लाइनमा स्थानीयस्तरमा उत्पादित विद्युत् जडान गर्न २० किलोवाटभन्दा माथि उत्पादन क्षमता हुनुपर्ने भएकामा उक्त आयोजनाको पूर्णकालीन क्षमता ५३ किलोवाट भए पनि सुख्खा मौसममा ३५ देखि ४० र वर्षायाममा ५० किलोवाट विद्युत् उत्पादन भइरहेको छ । ‘राष्ट्रिय प्रशारण लाइनका लागि हाम्रो क्षमता पुगेको छ । तर केही संरचना थप्नुपर्ने देखिएको छ,’ आयोजनाका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले भने । उनका अनुसार केही महिनामा नेट मिटरिङ सिस्टमका लागि आवश्यक पूर्वाधार निर्माण गरेर प्राधिकरणलाई विद्युत् बिक्री गर्ने गरी काम थालिने छ । आयोजनाले विद्युत् बिक्री गरेपछि खपतका आधारमा प्राधिकरणले शुल्क दिनेछ । करिब चार सय घरधुरीमा करिब ११ वर्षसम्म बाबियाचौर क्षेत्रका उज्यालो दिएको चौर खोला लघु जलविद्युत् आयोजना बन्द गरिएको छ । चौबिस किलोवाट क्षमताको उक्त जलविद्युतपछि बाबियौचारमा थप तीन वटा जलविद्युत् सञ्चालनमा ल्याइएका थिए । खमारी खोला लघुजलविद्युत क बाट ५३ किलोवाट, खबाट १५ किलोवाट र ग बाट १० किलोवाट विद्युत् उत्पादन गरिँदै आएको हो । तीन वटै आयोजनाबाट हाल करिब एक हजार तीन सय ८२ घरधुरी लाभान्वित छन् । यी आयोजनाबाट पञ्चपुरी नगरपालिकाको चनाली, भावर, बरैचे, डाव, सिद्धपुर, चत्तुरे, चनाली, लाटीकाँडा, सालकोटलगायतमा विद्युत उपलब्ध गराइएको छ । ‘वषौँंसम्म पश्चिमका नागरिक विद्युत्को राष्ट्रिय पहुँच बाहिर थिए । ‘स्थानीय स्रोत साधनको उपयोगबाट जनतालाई सेवा गर्ने मौका पायौंँ,’ उक्त आयोजनाका अध्यक्ष शाहीले भने । ‘स्थानीय उत्पादनले ठूलो कलकरखाना प्रर्याप्त चलाउन सकस थियो । टुकीको सहारामा दैनिक गुजार्न बाध्य यहाँका बासिन्दालाई सकेसम्म उज्यालो बनाउने कोसिस गरेका थियौंँ । ढिलै भए पनि राष्ट्रिय प्रशारण लाइन जोडिएको छ, यसले केही थप आशा र उत्साह थपिदिएको छ,’ उनले जोड दिए । हाल प्राधिकरणले खमारी खोला र चौर खोला आयोजनाबाट विद्युत् प्रवाह भइरहेका पोल र तारबाट बाबियाचौर आसपासमा विद्युत् लाइन सञ्चालन गरेको छ । सुर्खेत पश्चिमकै विद्यापुर र लगाममा साना लघुजलविद्युत् र गुटुमा सोलार प्यानलबाट विद्युत्को पहुँच पुर्याइएको छ । लगामको तालागाउँमा २२ किलोवाट विद्युत् उत्पादनका लागि सर्भेक्षण भइरहेको छ । रासस
दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई विमानस्थलमा पर्यटन मन्त्रीले गरे स्वागत
काठमाडौं । घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समूदायले झाँकीसहित स्वागत गरेका हुन् । भूतपूर्व गोर्खा सैनिक समेत रहेका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । योसँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन् । उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन् । स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाएको भन्दै हार्दिक बधाइ दिए । ‘हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएकोछ’, मन्त्री किरातीले भने, ‘उहाँले विश्व समूदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ ।’ सो अवसरमा आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टीमलाई विशेष धन्यवाद दिए । ‘आफ्नो व्यस्त समयका बाबजुत पनि तपाईंहरु मलाई स्वागत गर्न आउनुभएको छ । यसका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पु¥याउने टीम बिना मेरो प्रयास सफल हुने थिएन ।’ उनले सो अवसरमा नेपाल सरकार र संसारका विभिन्न कुनाबाट आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए । रासस
नेपालीहरुले बैंकमा राखेको पैसा कति सुरक्षित ?
आफुले जीवनभर दुःख गरेर कमाएको वा घरजग्गा, गाडी, सेयरलगायत चल अचल सम्पति बेचेर आएको रकम सर्वसाधारण जनताले बैंक तथा वित्तिय संस्थामा सुरक्षित हुने आशका साथ जम्मा गरे । तर, बचतकर्ताले सहकारीमा राखेको रकम सहकारी डुबेर भनेर भाग्ने त बैंकमा राखेको रकम बैंककै कर्मचारी खाताबाट चोर्ने । अहिले एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकका कर्मचारीले बचतकर्ताको रकम चोरेको कुरा प्रमाणित भएपछि अन्य बैंकमा पनि बचतकर्ताको रकम चोरी गर्ने गरेको सर्वसाधारणमा आंशका उत्पन्न भएको छ । हुन त बचतकर्ताहरु पहिला पनि बैंकबाट आफ्नो रकम हराएको भन्थे । तर, यसतर्फ कसैको पनि ध्यान गएको थिएन । अहिले एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकबाट बचतकर्ताको रकम हराएको वा चोरी भएको प्रमाणित भएपछि बचतकर्ताहरुले झन् बैंकप्रति विश्वास गर्न छोडेका छन् । साथै, बैंकको यस्तो ठगीधन्दा पनि पर्दाफास भएको छ । अब सरकारी नै होस् या प्राइभेट बैंक । सर्वसाधारण आफुसँग भएको रकम जम्मा गर्दैनन् । त्यसैले, अहिले बैंक तथा वित्तिय संस्थामा पैसा निकाल्नेको भिड छ, तर राख्ने कोही छैन । यता बैंकहरुको यस्तो ठगीधन्दाको पर्दाफास भएपछि बैंकबाट आफ्नो रकम नपाएका बचतकर्तालाई रातमा निन्द्रा कि दिनमा भोक भएको छ । अहिले बचतकर्ताहरु आफ्नो रकम निकाल्नका लागि बैंकमा लाख रुपैयाँको चेक लिएर गएमा बैंक दश हजार फिर्ता गर्न सक्दैँन । उता सहकारीमा झनै २० हजारको चेक लिएर गएरमा सय रुपैयाँ फिर्ता दिइदैँन । सर्वसाधारण जनताको मनमा अहिले बैंक तथा वित्तिय संस्था ठग, चोर र दलाली हुन् भनेर परिसकेको छ । त्यसैले, उनीहरुले बैंक तथा वित्तिय संस्थामाथि विश्वास गर्न छोडिसकेका छन् । यसरी बैंक तथा वित्तिय संस्थाका घुसिया अध्यक्ष, सञ्चालक र कर्मचारीका कारण आज जनताको पैसा त डुब्यो नै बैंक तथा वित्तिय संस्थाको बदनाम समेत भयो । पछिल्लो समय सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारी बचतकर्ताले कुटपिट गर्ने डरले लुकीलुकी हिडिँरहेका छन् । ३५ हजार बढी सहकारीमा ९८ लाख जनताको २० खर्ब रकम डुब्यो । अब बैंकमा झन् करोडौं जनताले बचत गरेको खर्बौ रकम डुब्नेछ । अधिंकाश सहकारी पछिल्लो समय भागिसकेका छन् वा डुबिसकेका छन् । तर, अब पालो बैंकको हो । बजारमा अहिले सुनिन्छ कि नाम चलेका दश ओटा बैंक समस्यामा रहेको छन् । यसरी अब नेपालका पनि बैंकहरुमा पनि समस्या आइसकेको छ । यता बैंक तथा वित्तिय संस्था एकाएक भाग्दा वा समस्यामा आउँदा पनि सरकार एउटा कमिटी गठन गरी यिनीहरु टाट समस्यामा पर्नुको कारण खोजिदैन । अहिले बजारमा सर्वसाधारण जनताको कुराकानी सुन्दा बैंक तथा वित्तिय संस्था समस्यामा पर्नुको कारण घरजग्गा, गाडी र सेयर हो । जग्गा दलालीहरुले खेतीयोग्य जमिन खण्डीकरण गरेर आनाको ५ हजारमा बिक्री नहुने जग्गा आनाकै ८० लाखमा बेचे । उता भारतमा एक लाखमा पाइने सवारीसाधन गाडी बेच्ने कम्पनीले नेपालमा ४० लाखसम्ममा बेचे त बैंकले सय रुपैयाँ कित्तामा निष्कासन गरेको सेयर दलालीहरुले ३२ सय सम्ममा बेचे । सर्वसाधारण जनतालाई दलालीहरुले यसरी फसाए कि त्यसको कुनै सिमै रहेन । पछिल्लो समय घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी आएको छ । त्यसैले, यी क्षेत्रमा लगानी गर्ने बैंक तथा वित्तिय संस्था समस्यामा पुगेका हुन् । अहिले बैंक तथा वित्तिय संस्थामा घरजग्गा, गाडी र सेयर धितो राखेर ऋण लिएकालाई कित्ता तिरौँ त पैसा छैन, धितो बेचौं त बिक्री हुन्न । हिजो बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले एक कित्ता सेयरको ३२ सय रुपैयाँ पुगेको बेलामा त्यही सेयर धितो राखेर २७ सय कर्जा प्रवाह गरे । तर, २७ सयको साँबाब्याज नतिर्दा आज ऋण भने ३५ सय पुग्यो तर सेयरको मूल्य सय रुपैयाँमा झप्यो । त्यस्तै, ८० लाख आनाको जग्गा किन्दा त्यही जग्गा धितो राखेर बैंक तथा वित्तिय संस्थाले ६० लाख कर्जा प्रवाह गरे । ६० लाखको साँवाब्याज आज ९० लाख पुगेको छ तर जग्गा बेच्दा त्यसको आधा मूल्य नआउने भएको छ । उता ४० लाखको गाडी धितो राखेर बैंकले ३० लाख ऋण दियो । तर, ३० लाखको ऋण बढेर ४० लाख पुग्यो तर ४० लाखको गाडी ३ लाखमा बिक्री नहुने अवस्था आयो । अहिले बजारमा जताततै सुनिन्छ कि तीन वर्ष अघि तीन करोडमा किनेको घडेरी अहिले लाखमा बिक्री हुँदैन । यसबाटै प्रष्ट हुन्छ कि बजारमा मन्दी कति आएको छ भनेर । अधिंकाश मानिसको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाको नाममा छ । साथै, बैंक र सहकारीको पनि ९८ प्रतिशत कर्जा लगानी यही क्षेत्रमा रहेको छ । त्यसैले, अहिले मुलुकको अर्थतन्त्र डामाडुल भइसकेको छ । बजारमा पाइलैपिच्छे घरजग्गा, गाडी र सेयर बेच्नेहरु भेटिन्छन्, तर किन्ने कोही छैन । सरकार अहिले पनि बचतकर्तालाई आफ्नो रकम बैंकमा सुरक्षित छ कि छैन रु भनेर सचेत गराउँदैन । पछिल्लो समय कतिपय बैंकले खर्च धान्न नसकेर आफ्नो शाखा बन्द गरेको, कर्मचारी कटौती गर्नुका साथै सेयर होल्डरलाई पनि नाफा दिन नसकेको सुनिन्छ । सहकारीमा एउटै बचतकर्ताको २० हजारदेखि १० करोडसम्म रकम डुब्यो । जसले गर्दा कुनै बचतकर्ता झुण्डिएर मर्न बाध्य भए त कुनैले मानसिक सन्तुलन गुमाए । अहिले बाँठाटाठाले बैंकबाट आफ्नो रकम निकालेर घरघरमा लुकाइसकेका छन् । बुढोपाकाले भन्थे, ‘आफ्नो हातबाट पैसा गएपछि त्यो पैसा फिर्ता पाउन गाह्रो छ ।’ उनीहरु हातले पैसा दिँदा खुट्टालाई दुःख भन्थे । अहिले त्यस्तै भएको छ । सहकारीले घरघरमै बजार प्रतिनिधि पठाएर बचतकर्ताबाट पैसा उठाए । तर, पैसा फिर्ता दिने बेलामा बचतकर्ताहरु सय पटक कार्यालय धाउँदा पनि फिर्ता गरेनन् । बुढोपाकाहरु खुबै भन्थे, ‘चुक्ता खान खाएकी बुढी झोलमै डुबेर मरी ।’ मानिसहरुको ब्याजको लोभमा धमाधम नसोचिकन बैंक तथा वित्तिय संस्थामा रकम जम्मा गरे । तर, अहिले ब्याजको त कुरै छोडौँ, साँवा समेत फिर्ता पाएनन् । बैंक तथा वित्तिय संस्थाको कर्जा प्रवाह अहिले ठप्प छ । जसले गर्दा घरजग्गा, गाडी र सेयरको कारोबारमा पनि शुन्य आएको हो । बजारमा पाँच सय र हजारको नोट हाहाकार छ । उता मुलुकभर ५० प्रतिशतभन्दा बढी कोठा, फल्याट र सटर खाली भएका छन् । एक वर्षअघि दिनमा ५ लाखको व्यापार हुने ठाउँमा अहिले हजारको रुपैयाँको पनि व्यापार हुन हम्मेहम्मे पर्छ । त्यस्तै, बेरोजगारीका कारण मानिसहरुले पाँच हजारदेखि १५ हजार पारिश्रमिकको सर्तमा काम त गरे । तर, त्यही तलब पनि उनीहरुले दुई वर्षदेखि पाएका छैनन् । महंगी हप्तैपिच्छे बढेको छ भने बेरोजगारी व्यापक छ । उता राज्यको ढुकुटीमा राजस्व पनि ठप्पझैं भइसकेको छ । जसले गर्दा सरकारले सरकारी कर्मचारीलाई तलबभत्ता र पेन्सन दिन सकिरहेको छैन । नेपाल सरकारले विदेशीसँग लिएको ऋण पनि बढेको बढ्यै छ । तर, यो ऋणको साँवाब्याज सरकारले तिर्न नसक्ने बित्तिकै मुलुकमा विदेशीको हस्तक्षेप रहन्छ । सरकार जनप्रतिनिधि ९वडाध्यक्ष, मेयर, सांसद, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख० को तलबभत्ता तथा सेवासुविधा कटौती गर्ने भनेर निर्णय गर्दैन भने नेपाललाई विदेशीले अनुदान र ऋण प्रवाह गर्न छोडिसकेको छ । अहिले नेपाल ऋणग्रस्त भएको कुरा विश्वले थाहा पाएको छ । त्यसैले अब सरकारले सरकारी खर्च कसरी धान्छ र विदेशी ऋण कसरी तिर्छ रु कि त अब विदेशी ऋण मिनाहा गर्नुपर्यो होइन भने सबैभन्दा बढी ऋण लिएको देशलाई नेपालका राजनीतिक दलका नेताहरुले मुलुक जिम्मा लगाउनुपर्यो अब मुलुकमा राजस्व उठ्न दुई मात्र उपयुक्त उपाय छ । अहिले मुलुकभर भाडा र निजी प्लेटको सवारी साधन गरी ४५ लाख बढी छन् । त्यसैले, यी गाडीलाई घरेलु तथा कम्पनीमा दर्ता गर्न लगाई अनिवार्य रुपमा पञ्जीकरण गर्न लगाउनुपर्छ । साथै, पञ्जीकरण नगरेका सवारीसाधनको नामसारी रोक्नुपर्छ । एउटा गाडीमा ५ लाखदेखि २५ करोडसम्म लगानी छ । त्यस्तै, एउटै गाडीले महिनामा १० लाखदेखि २५ लाखसम्म कमाउँछ । तर, त्यसको पनि सुको कर सरकारले पाउँदैनन् । त्यस्तै, पाँच लाखभन्दा बढी लगानी गरेर घर बनाउनेहरुलाई पनि घरेलु तथा कम्पनीमा दर्ता गराई अनिवार्य रुपमा पञ्जीकरण गर्न लगाउनुपर्छ । साथै, घरेलु तथा कम्पनीमा नगएका घरहरुलाई घर सम्पन्नताको प्रमाण नदिनुका साथै नामसारी पनि रोक्नुपर्छ । योसँगै घरको ६÷६ महिनामा जाँचपास गर्ने व्यवस्था मिलाउनुपर्छ । एउटा घरमा एक घरधनीको एक करोडदेखि अर्बसम्म लगानी छ त घर भाडामा लगाएर महिनाकै लाख रुपैयाँदेखि ५ करोडसम्म उठाउँछन् । तर, लगानी र आम्दानीको राजस्व सरकारलाई तिर्दैनन् । त्यसैले, अब सरकारले आगामी बजेट भाषणमा यो नीतिलाई पनि समावेश गर्नुपर्छ । किन कि अधिंकाशको लगानी यही क्षेत्रमा रहेको छ ।
एक सातामै दुईपटक सगरमाथा चुचुरोमा पुगे कामीरिता शेर्पा
काठमाडौं । पर्वतारोही कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका छन् । आज विहान ९ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उनले २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका हुन् । योसँगै उनले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोडेका छन् । यो वर्षको वसन्त ऋतुमा उनको यो दोस्रो पटकको आरोहण हो । यसअघि जारी सिजनमा यही मे १७ मा उनले २७औँ पटक सगरमाथा आरोहण गरेका थिए । कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए । खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । यही याममा पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले पाएको थियो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७०वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । रासस