विकासन्युज

सरकारको कर्जा र ब्याज नतिर्ने ७० सहकारीलाई चेतावनी, कुन-कुन हुन् ?

काठमाडौं । कर्जा र ब्याज नतिर्ने ७० सहकारी संस्थालाई तीनपुस्ता सहति कालोसूचीमा राख्ने चेतवानी दिएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले साँवा व्याज र हर्जाना रकम ३५ दिन भित्र नतिर्ने ७० संस्थाका सञ्चालकको तीन पुस्तालाई कालोसूचीमा राख्ने बताएको हो । युवा तथा साना व्यवसायी स्वरोजगार कोष युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको छ । बुधबार ३५ दिने सूचना जारी गर्दै युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा सम्झौता गरी लिएको ऋण तत्काल चुक्ता गर्ने निर्देशन दिएको हो । कोषले देशभरिका विभिन्न ७० सहकारी संस्थाको नाम सार्वजनिक गर्दै साँवा व्याज र हर्जाना सहितको सम्पूर्ण रकम बुझाउन भनेको हो । यदि तोकिएको समयमा रकम नबुझाएमा संस्थाका संचालक समिति, लेखा समिति एवं कर्जा उप-समिति (सम्झौता गर्दाको बखतको समितिदेखि हालसम्मका) को तीनपुस्ते विवरण सहित रकम असुलीको लागि कालोसूचीमा राख्ने चेतावनी दिएको हो ।

एउटै जिल्लाबाट साढे ६ हजार विदेश पलायन

(फोटो सामाजिक सञ्जालबाट साभार) काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा रामेछाप जिल्लाबाट ६ हजार ३४९ युवा जनशक्ति बाहिरिएका छन् । नेपालमा रोजगारीका अवसर नभएपछि उनीहरू रोजगारीका लागि विदेश पलायन भएका हुन् । मन्थली नगरपालिकालगायत विभिन्न गाउँपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका अनुसार चालू आव २०७९÷८० को साउनदेखि वैशाखसम्म रामेछापबाट ६ हजार ३४९ जना रोजगारीका लागि विदेश गएका हुन् । १० महिनाको तथ्याङ्कलाई हेर्दा रोजगारी गर्न रामेछापबाट झन्डै साढे ६ हजार मानिस विदेश गएको देखिन्छ । रोजगारीका लागि मलेसिया, युएई, कतार, बहराइन, कुवेत, साउदी अरब र ओमानलगायत देशमा गएको तथ्याङ्कमा उल्लेख छ । सामी कार्यक्रम अधिकृत दीपक केसीका अनुसार चालु आव २०७९÷८० को साउनदेखि वैशाखसम्म जिल्ला प्रशासन कार्यालय रामेछापबाट ८ हजार ८५९ जनाले राहदानी लिएका छन् । यो अवधिमा रामेछापका २ नगरपालिका र ६ गाउँपालिकाबाट १ हजार २५० महिला र ५ हजार ९९ पुरुष वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन कार्यक्रम रामेछापका अधिकृत दीपक केसीले बताए । मन्थली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा सो कुराको सर्वाजनिक गरिएको थियो । मन्थली नगरपालिकाले वैदेशिक रोजगारीमा जाने आफ्ना नागरिकको वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको छ । मन्थली नगरप्रमुख लव श्रेष्ठले यो कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जाने नागरिकलाई आवश्यक सीप प्रदान गर्ने, विदेश गएकाको परिवारलाई पठाएको पैसालाई उत्पादनको क्षेत्रमा परिचालन गर्न प्रेरित गर्ने, विदेश गएपछि विभिन्न समस्यामा परेका र उनका परिवारलाई आवश्यक परामर्श तथा सहयोग जस्ता कार्यक्रम सञ्चालन भइरहेको बताए । रामेछापको मन्थली नगरपालिका, सुनापति गाउँपालिका, उमाकुण्ड गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकामा अहिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालनमा ल्याएका छन् ।

लक्ष्मीसँग मर्जरमा जान अन्तिम रुप दिन सनराइज बैंकले डाक्यो साधारण सभा

काठमाडौं । सनराइज बैंकले आगामी असार ३ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लाग आफ्नो १५ औं वार्षिक साधारण सभा डाकेको हो । बैंकको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले असार ३ गते काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । सनराइज बैंक र लक्ष्मी बैंक एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ । मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात र अन्तिम सम्झौता पत्र पारित गर्नेछ । यस्तै, बैंकको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असरा मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । बैंकले साधारणसभा प्रयोजनार्थ जेठ २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

दाबी भुक्तानी नलिए हिमालयन एभरेष्ट इन्स्योरेन्सले फाइल बन्द गर्ने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानीका लागि निवेदन दिएर लामो समयदेखि भुक्तानी लिन बाँकी रहेका बीमितहरुले २१ दिनभित्र लिन आग्रह गरेको हो । विभिन्न समयमा परेको सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, विविध बीमा, बाली तथा पशुपन्छी बीमा तथा लघु बीमाका दाबीहरुको दाबी भुक्तनी रकम लैजान कम्पनीले भनेको हो । भुक्तानीका लागि निवेदन दिएपश्चात् सम्पर्कमा नआएका बीमितहरुको लामो समयदेखि दाबी भूक्तानी हुन बाँकी रहेको कम्पनीले जनाएको छ । २०८० वैशाख मसान्तसम्म दाबी परेका ग्राहकले दाबी फछ्यौटका लागि आवश्यक कागजात सहित शाखा तथा उपशाखा कार्यालय वा कम्पनीको दाबी विभाग केन्द्रीय कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको हो । आफ्नो फछ्यौट हुन बाँकी बीमा बापत परेको दाबीको भुक्तानी लिनु पर्नेछ । यदि २१ दिनभित्रमा पनि दावी फछ्यौटको लागि आवश्यक कागजातहरु प्राप्त नभएमा उक्त दावी फाइलहरु बन्द गरिने कम्पनीले बताएको छ ।

ओलीका प्रमुख स्वकीय सचिवलाई बालुवाटारमै १ करोड दिएँ : केशव दुलाल

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएर ठगी गरेको प्रकरणमा पक्राउ परेका दुलालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीसँगको बयानमा बज्राचार्यलाई बालुवाटारमै गई १ करोड रुपैयाँ बुझाएको बयान दिएका हुन् । दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलकाे मन्त्री क्वाटर पुल्चोकमै पुगेर ३ करोड रुपैयाँ दिएको, बादलका छोरालाई २०७६ मा १ करोड रुपैयाँ दिएको, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा २०७६ असारमा ३ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।

ताप्लेजुङ-दार्चुला बाइक टूर गर्दै १० युवा पत्रकार र कलाकार

काठमाडौं । एनटीपी मल्टीमिडिया ग्रुपले १५ दिन ताप्लेजुङ-दार्चुला बाइक टूर गर्ने भएको छ ।नेपालको पर्यटन प्रवद्र्धनका लागि युवा पत्रकार तथा कलाकारको टोली जेठ १० गतेदेखि २५ गतेसम्म बाइक टूर गर्ने भएको हुन् । नेपाल टूरिजम प्रोमोसन टूर (ताप्लेजुङ–दार्चुला)का संयोजक विष्णु विवेकले एनटीपी मल्टीमिडिया ग्रुपको संयोजनमा पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरुको थप प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि सामूहिक प्रयासस्वरुप ताप्लेजुङ–दार्चुला बाइक टूर गर्न लागेको बताए । ‘पाँच वटा बाइकमा १० जनाको टिमले गर्ने टूरको लागि नेपाल पर्यटन बोर्ड, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एशोसिएसन अफ नेपाल (हान) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग सहकार्य गरिएको छ,’ उनले भने । जेठ १० गतेदेखि सुरु हुने टूर अन्तर्गत काठमाडौंदेखि मध्यपहाडी लोकमार्ग भएर सिन्धुली, खोटाङ, भोजपुर हुँदै ताप्लेजुङ पुग्ने र ताप्लेजुङदेखि मेची राजमार्ग हुँदै झापा पुग्ने योजना रहेको उनले बताए । झापादेखि महेन्द्र राजमार्ग हुँदै कञ्चनपुर र कञ्चनपुरदेखि अत्तरिया हुँदै डडेल्धुरा भएर दार्चुला पुग्ने योजना ग्रुपको रहेको छ । यस्तै, दार्चुलाबाट मध्यपहाडी लोकमार्ग भएर डोटी, अछाम, कालीकोट, दैलेख भएर सुर्खेत सदरमुकाम बीरेन्द्रनगर झर्ने योजना ग्रुपको रहेको छ । टूरले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा दिनुका साथै सातै प्रदेशको पर्यटन प्रवद्र्धनमा सरोकारवालाहरुको भूमिकालाई थप सशक्त बनाउने ग्रुपले विश्वास लिएको जनाएको छ  ।

सिटिजन्स बैंकका ग्राहकलाई रन्जना सिनेप्लेक्समा टिकट किन्दा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र न्युरोडस्थित रन्जना सिनेप्लेक्सबीच सम्झौता भएको छ । बैंक र सिनेप्लेक्सबीच बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएका हो । उक्त सम्झौतापश्चात बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले रन्जना सिनेप्लेक्समा टिकट खरिदमा ५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए।टि।एम।, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्राहकको मोबाइलबाट नै पैसा चोरिएको हो, हाम्रो सिस्टममा खराबी छैन : माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्रे बैंकले आइतबार रौतहटस्थित चन्द्रपुर शाखाको ग्राहकको पैसा उनकै मोबाइलबाटै हराएको बताएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै बैंकले यस्तो बताएको हो । ग्राहकको ९ लाख रुपैयाँ स्वयंम उनकै मोबाइल बैंकिङ एपमार्फत विभिन्न बैंकहरु र खल्ती एपमा ट्रान्सफर गरिएको देखिएको बैंकले जनाएको छ । ‘बैंकको सिस्टममा केही समस्या नदेखिएको र बैंकबाट पठाइएको सम्पुर्ण एसएसमएस एक्टिभेसन कोड  तथा ओटिपी ग्राहककै मोबाइलमा गएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा अनाधिकृत व्यक्तिको पहुँचमा नपुगी उक्त कारोबार नहुने देखिन्छ,’  बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बैंकले यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न प्रहरीमा अनुरोध पनि गरिसकेको जनाएको छ । बैंकले ग्राहकहरुको खातामा रहेको पैसा सुरक्षित रहेको बताउँदै डिजिटल बैंकिङ कारोबार गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।