विकासन्युज

ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङ्गको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ्ग टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । नवीनतम ग्राहक केन्द्रित आविष्कारहरूको सर्जक बैंकहरुलाई प्राविधिक रूपान्तरण, यसको सही प्रयोग तथा टेक्नोलोजिमा सृजनशिलता जस्ता बुँदाहरुलाई आधार मानेर यो अवार्ड प्रदान गर्ने गरिएको छ । ग्लोबल आइएमई बैंक डिजिटल टान्सफरमेसन, टेक्नोलोजिमा नवीनता एवम् उत्कृष्टता र यसको सही सदुपयोग गर्दै उत्तरदायी तथा सुरक्षित बैंकिङ्ग मार्फत सेवा प्रवाह गर्ने उत्कृष्ट बैंक भएकाले यो अवार्ड प्रदान गरिएको हो । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

नुवाकोटमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले नुवाकोट जिल्लाको बेलकोट गढीमा एकदिने बृहत निःशुल्क स्वास्थ्य परिक्षण शिविर सफलताका साथ सम्पन्न गरेको छ । ॐ हस्पिटल, गरिमा बिकास बैंक र यशोदादेबी भगवान सिंह के.सी. मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा बेलकोट फाँटिपौवा स्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा संचालित शिविरमा बेलकोट गढी नगरपालिकाले समेत सहकार्य गरेको थियो । पूर्ब मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता अर्जुन नर्सिङ केसीले उद्घाटन गरेका शिविरमा स्वास्थ्य परिक्षण गर्न आउने सम्पूर्ण सेवाग्राहिहरु लाई निःशुल्क स्वास्थ्य परिक्षण, उपचार तथा निःशुल्क औषधी उपलब्ध गराइएको थियो । वेलकोटगढी वरपरका ग्रामिण समुदायका स्थानीयलाई विशेषज्ञ चिकित्सकहरुद्वारा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ॐ अस्पतालले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रशुतीरोग, छाति तथा स्वासप्रस्वास रोग, दन्तरोग, हाडजोर्नी, चर्म तथा यौनरोग, स्त्री क्यान्सर परिक्षण तथा फार्मेसी सेवा लगायतका विषयहरुमा २५ जना भन्दा बढी विशेषज्ञ चिकित्सक सहित शिविर सञ्चालन गरेको हो । ॐ हस्पिटल संचालक समितिका अध्यक्ष समेत रहेका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठको नेतृत्वमा भएको स्वास्थ्य परिक्षण शिविरमा वरिष्ठ चिकित्सकहरुद्वारा स्वास्थ्य परिक्षण गरिनुका साथै अन्य अत्यावश्यकीय परिक्षण र परामर्श गर्न सकिने ब्यवस्था मिलाइएको र थप उपचारका लागि काठमाडौं स्थित ॐ हस्पिटलमा विशेष छुट समेत प्रदान गरिने व्यवस्था गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका बरिष्ठ नेता अर्जुन नर्सिङ के.सी.ले नुवाकोटलाई प्रथमिमतामा राखेर विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालन गरेकोमा ॐ हस्पिटल परिवारलाई धन्यवाद ज्ञापन गरे । ॐ हस्पिटल संचालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले ॐ अस्पतालको स्थापनाकालदेखी नै आफुहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा यस किसिमका स्वास्थ्य शिविर संचालन गर्दै आएको र आगामी दिनहरुमा पनि स्वास्थ्य सेवामा सहज पहुँच नभएका समुदाय लक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै जाने प्रतिवद्धता ब्यक्त गरे । एकदिवशिय शिविरमा चर्म तथा यौन रोग, हाडजोर्नीमा, दन्त चिकित्सा सेवा, सामान्य चिकित्सा, छाती तथा फोक्सो, मुटुरोग, स्त्री तथा प्रसुती, महिला सम्बन्धि क्यान्सर परिक्षण लगायतका विधामा आठसय भन्दा बढी विरामीले विशेषज्ञहरु सँग परामर्श तथा उपचार सेवा प्राप्त गरेका थिए । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर दक्ष तथा अनुभवि चिकित्सक, स्तरिय नर्सिङ सेवा सहित ३८ भन्दा बढी विशेषज्ञता सेवाहरु सुलभ मूल्यमा विश्वस्तरिय उपचार सेवा एकै छानामुनी उपलब्ध रहेको नेपालको निजि क्षेत्रको अग्रणि अस्पताल हो । जसले तिन दशक अघिदेखी निरन्तर र अविच्छिन्न रुपमा ॐ अस्पतालले स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थमन्त्रीसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्षकाे भेटवार्ता

काठमाडों । अर्थमन्त्री डा प्रकाशशरण महतसँग विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री महतले वित्त व्यवस्थापनमा नेपालले भोग्नु परेका चुनौती, आगामी बजेटमा लिइएका रणनीति र स्रोत व्यवस्थापनका बारेमा छलफल भएको थियो । यस्तै, आयोजनालाई पुनःप्राथमिकीकरण गर्ने, सहयोगलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउने, राहत दरमा कर्जा प्रवाह गर्नुपर्ने विषयमा छलफल भएको अर्थमन्त्री डा महतको सचिवालयले जनाएको छ । विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिकाप्रति धन्यवाद दिँदै उनले मुख्यतः पूर्वाधार विकासमा जोड दिन आग्रह गरे । पूर्वाधार र सामाजिक विकासका सूचकबीच घनिष्ठ सम्बन्ध रहेको र पूर्वाधार विकासबाट गरिब तथा पिछडिएको वर्ग खासगरी ग्रामीण भेगमा बस्ने महिलाको जनजीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिने उनको भनाइ छ । गाउँबाट स–साना बजारमा उनीहरुको पहुँच विस्तार हुने र आफ्नो क्षमता विकास गरी अवसरमा पहुँच विस्तार हुँदै जाने उनको भनाइ छ । बसाइँसराइले अवसरसँगै साना सहरी पूर्वाधारमा चाप परेकाले पूर्वाधार विकासमा थप स्रोत आवश्यक रहेको उल्लेख गर्दै जलविद्युत्, सूचना प्रविधि, पर्यटन क्षेत्रको विकासमा सडक पूर्वाधार पूर्वसर्त रहेको बताए । कोभिड– १९ को कारण जनजीवनमा प्रतिकूल प्रभाव पारेको भए पनि सूचना प्रविधिको विकासमा नयाँ अवसर सिर्जना भएको तथा कोभिड पश्चात् पर्यटन क्षेत्रको पुनरुत्थान हुँदै गएको सा अवसरमा उनले बताए । सामाजिक सुरक्षा, राष्ट्रिय गौरवका आयोजना र चालु खर्च विनियोजन गरेपछि अन्य आयोजनाका लागि आवश्यक रकम न्यून रहनेतर्फ इङ्गित गर्दै अर्थमन्त्री डा महतले साँवा ब्याज भुक्तानीमा हुने खर्च बढ्दै जाँदा ऋणको दिगो व्यवस्थापनतर्फ पनि सचेत रहनुपर्नेमा जोड दिए । माथिल्लो अरुण जलविद्युत् आयोजनाका लागि विश्व बैंकले वित्तीय स्रोत जुटाउन बहन गरेको नेतृत्वदायी भूमिकाका लागि धन्यवाद दिँदै अर्थमन्त्री डा महतले उक्त आयोजना कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । त्यस्तै, यस्ता आयोजनाको लागि स्रोत जुटाउँदा अन्य आयोजनामा स्रोतको कमी हुन नदिने गरी व्यवस्थापन गर्न र नेपालमा क्रियाशील नरहेका नयाँ विकास साझेदारलाई आकर्षण गर्न उनले आग्रह गरे । हालै आगामी आर्थिक वर्षको बजेटमा पुँजीगत खर्च बढाउने प्रतिबद्धता गरेको विश्व बैंक प्रतिनिधिलाई अर्थमन्त्री डा महतले स्मरण गराउनुभएको छ । साथै उहाँले नेपालले पूर्वाधार क्षेत्रमा लगानी बढाउन चाहेको समेत जानकारी गराएका थिए । सो अवसरमा बैंकका उपाध्यक्ष मार्टिनले स्रोतको समुचित परिचालनमा समस्या रहेको र त्यसलाई सम्बोधन गर्न संयुक्तरुपमा काम गर्न आग्रह गरे । खरिद तथा ठेक्का व्यवस्थापन विद्युतीय माध्यमबाट गर्ने र समयमै आयोजना कार्यान्वयनमा अन्तरनिकाय समन्वयमा जोड दिए । सो अवसरमा विश्व बैंकका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष वांग्जी चेन, उपक्षेत्रीय निर्देशक फारिस हद्दाद जर्भाेसलगायत विश्व बैंक तथा अर्थ मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

नयाँ बसपार्कबाट सञ्चालन हुन थाले लामो तथा मध्यम दूरीका माइक्रोबस

काठमाडौं । काठमाडौंबाट देशका विभिन्न जिल्लामा चल्ने लामो तथा मध्यम दूरीका माईक्रोबस नयाँबसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । काठमाडौं महानगरपालिकाले यही जेठ १९ गते एक सूचना जारी गरी काठमाडौं उपत्यकाबाहिर चल्ने सम्पूर्ण सवारी साधनलाई गोँगबुस्थित नयाँ बसपार्कभित्रबाट मात्र सञ्चालन गर्ने निर्णय गरेसँगै केही माईक्रोबस भने नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् । यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । महानगरपालिकाले जारी गरेको सूचनामा जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गरिएको छ । काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउनसमेत आग्रह गरेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले माईक्रोबसका लागि लोत्से मल पछाडि छुट्टै टिकट काउण्टर निर्माण गरिदिएसँगै काठमाडौँबाट नारायणगढ, भैरहवा, सुनौली, लुम्बिनी, तौलिहवा, पोखरा, स्याङ्जा, वालिङ, गल्याङ, बाग्लुङ, बेनी, बुर्तिवाङ, कुश्मा, चापाकोटलगायत स्थानमा जाने माईक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेका हुन् । लोत्से बहुउदेश्यीय प्रालिका मानव संशोधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कभित्र सञ्चालन हुने माईक्रोबसका लागि छुट्टै टिकट काउन्टर निर्माण गरेको बताए । यसअघि काठमाडौँबाट चितवन, नवलपरासी, भैरहवा जाने माईक्रोबस कलङ्कीको मुख्य सडकबाट गुड्दै आएका थिए । यस्तै, पृथ्वी राजमार्गअन्तर्गत पोखरा, लमजुङ, बागलुङ, म्याग्दीलगायतका क्षेत्रमा चल्ने माईक्रोबस गोङ्गबुदेखि नयाँ बसपार्क बीचको मुख्य सडक छेउ, धादिङ, रसुवा नुवाकोट जाने सवारीसाधन माछापोखरी र गोरखा चल्ने माईक्रोबस बालाजु क्षेत्रबाट सञ्चालन हुँदै आएका थिए । काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँबसपार्क सञ्चालनमा ल्याए पनि कतिपय सार्वजनिक बस भने अहिलेपनि चक्रपथको मुख्य सडकलाई बसपार्क बनाएर सञ्चालन हुँदै आएका छन् । काठमाडौं महानगरपालिकाका यातायात विज्ञ जगतमान श्रेष्ठले चक्रपथ विस्तारको काम सुरु भएपछि सडकको वरिपरिबाट अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएका सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट सञ्चालन गर्नेगरी काठमाडौँ महानगरपालिकाले काम गरिरहेको बताए । ‘काठमाडौँ महानगरपालिकाले लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन पार्किङका लागि नयाँबसपार्कमा एक सय ६१ रोपनी जग्गा उपलब्ध गराएको छ, सबै सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन गर्नुपर्छ भनेर महानगरपालिकाले काम गरिरहेको छ’, उनले भने । गोँगबुस्थित नयाँ बसपार्कमा हाल ८०० सवारीसाधन अटाउने क्षमता रहेको छ । महानगरपालिकाका यातायात विज्ञ श्रेष्ठले नयाँ बसपार्कभित्र काठमाडौं भित्रिने सवारीसाधन नअटाए त्यसको विकल्प खोजिने बताए । काठमाडौंको चक्रपथ वरपर मुख्य सडकमा टिकट काउन्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लामो दूरीका सवारीसाधन चक्रपथको बाटो भएर ओहोरदोहोर गर्दा ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले लामो दूरीका सवारीसाधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको बताए । पछिल्लो समय मुलुकको सङ्घीय राजधानी काठमाडौंलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

हुम्लामा खाद्यान्न अभाव

सिमकोट । हिमाली जिल्ला हुम्लामा खाद्यान्नको अभाव देखिएको छ । जिल्ला खाद्य व्यवस्था समितिले दुुई पटक लिखित निर्णय गरेर थप कोटाको खाद्यान्न माग गर्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यन्न थप नगर्दा जिल्लामा खाद्यान्न समस्या देखिएको हो । जिल्लामा खाद्यान्न अभाव हुनुका साथै जिल्लाबाट माग भएको थप १५ हजार क्विन्टल खाद्यान्न कोटामाथि लिमिटेडले हालसम्म सुनुवाइ नगर्दा समस्या भएको हो । हाल शाखाको गोदाममा तीन सय क्विन्टल खाद्यान्न मात्र मौज्दात रहेको र यसले सर्वसाधारणलाई बिक्री वितरण गर्न नसकिने अवस्था रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिए । जिल्लाको माग सुनुवाइ नगर्नु नै समस्याको मुख्य कारण भएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए। थप कोटा खाद्यान्न मागका लागि खाद्य व्यवस्था समितिले २०७८ मङ्सिर १८ गते र फागुुन २६ गते निर्णय गरेर सो खाद्यान्न माग गरेको थियो । बुधबार बसेको समितिको बैठकले पुनः थप कोटाको खाद्यान्न माग गरेको छ । यो सहित जिल्लाबाट तेस्रो पटक थप खाद्यान्न माग गरिएको हो । बर्सेनि लिमिटेडबाट थप कोटा खाद्यान्न स्वीकृत हुँदै आउने गरेको थियो । नेपालगञ्जबाट ढुवानी जिम्मा पाएको तारा एयर र सुर्खेतबाट ढुवानीको जिम्मा पाएको समिट एयरले समयमै खाद्यान्न ढुवानी नगर्दा पनि जिल्लामा समस्या देखिएको लिमिटेड सिमकोट शाखाका प्रमुख अधिकारीले बताए। चालु वर्ष नेपालगञ्जबाट चार हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा तारा एयरले अहिलेसम्म तीन सय क्विन्टल र सुर्खेतबाट समिट एयरले ६ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्नेमा तीन सय क्विन्टल नगरेको कारण समस्या देखिएको हो । दुुवै एयरलाइन्सलाई आफ्नो ढुवानी गर्ने जिम्माको खाद्यान्न तत्काल ढुवानी गर्न ताकेता गर्दा पनि अटेरी गर्ने गरेकाले सिमकोटस्थित गोदाममा खाद्यान्न मौज्दात न्यून भएको जनाइएको छ । ती एयरलाइन्सले नेपालगञ्जबाट प्रतिकेजी रु एक सय ६० र सुर्खेतबाट प्रतिकेजी एक सय ५ मा ढुवानी गर्ने गरी लिमिटेडसँग सम्झौता गरेका थिए । गोदाममा खाद्यान्न तीन सय क्विन्टल मात्र मौज्दात छ । खाद्यान्न भइपरी आउने कार्यका लागि शाखाले बिक्री गर्दै आएको छ । खाद्यान्न मौज्दात नभएकै कारण एक महिनादेखि सर्वसाधारणका लागि खाद्यान्न बिक्री वितरणसमेत गरिएको छैन । एक पटक खाद्यान्न बिक्री गर्न तीन हजार क्विन्टल खाद्यान्न आवश्यक पर्ने जनाइएको छ । अब चालुु वर्षको खाद्यान्न ढुवानी भए पनि त्यसले बिक्री गर्न नसकिने अवस्था रहेकाले लिमिटेड केन्द्रले थप कोटा खाद्यान्न पठाउनैपर्ने बाध्यता देखिएको हो । रासस

एक करोडसम्मको घरबीमा वार्षिक ५०० रुपैयाँमा गर्न सकिने

काठमाडाैं । इसेवाले युएसएड, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बिमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ । यस योजना इसेवाको मोबाईल एपभित्र रहको इन्स्योरेन्स शिर्षकमा सूचीवद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ । बीमा नीति अनुसार एक करोडसम्मको बिमा हुने यस योजनामा वार्षिक ५०० देखि ४५ रूपैयाँसम्म भुक्तानी गर्नुपर्ने इसेवाले जनाएकाे छ । हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागु हुने इसेवाले जनाएकाे छ । इसेवाकाे अनुसार बीमा मुल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय हुनेछ र यस योजनामा सहभागि हुन घरधनीले घरको तस्बिर, अपेक्षित मूल्य र त्यसको सम्पती विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्नेछ । इसेवाले यस अघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाईमा लागु हुनेगरि इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ ।

हवाई टिकट बिक्रीमा भएको ह्याकर घटनामा साइबर ब्यूरोबाट अनुसन्धान सुरु

काठमाडौं । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरुले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान थालेको छ । उनीहरूले फिसिङको माध्यामबाट लगइन नेम र पासवर्डमा अनाधिकृत पहुँच पु¥याएर विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि साइबर ब्यूरोले अनुसन्धान थालेको हो । टिकेटिङ प्रणाली ह्याक गरी अनाधिकृत रुपमा टिकट काटिएका संस्थाबाट उजुरी परेकाले छानबिन थालिएको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले उक्त विषयमा सुक्ष्म अनुसन्धान भइरहेको छ । उपनिर्देशक रायले तीनवटा संस्थाले त्यसरी ब्यूरोमा उजुरी दिएको उल्लेख गर्दै ब्यूरोले त्यस्ता घटनामा सचेत हुन सेवाप्रदायक कम्पनी तथा आम नागरिकलाई पनि अनुरोध गरेको छ । कस्मो नेपाल ट्राभल्सलगायत तीन संस्थाका युजर नेमबाट लाखौँको टिकट काटिएको सार्वजनिक भएको थियो । रासस

आगामी चार दिनसम्म लूको सम्भावना, घरभित्रै बस्न आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ । देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा तापक्रम क्रमिकरूपमा बढ्ने देखिन्छ । काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामासमेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।  हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ । साथै पहाडी भूभागका उपत्यका तथा खोँचमासमेत तापक्रम क्रमिकरूपमा बढ्नसक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहनसमेत अनुरोध गरिएको छ । महाशाखाले तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउन सुझाव दिएको छ । साथै नियमित (पटकपटक)पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ ।  तातो हावा तथा लूबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएको छ ।