विकासन्युज

स्वास्थ्य र बीमा दुवै बुझेको मान्छे पाउन सकेको छैन : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताएका छन् । आईतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘स्वास्थ्य बीमा प्रभावकारी बन्न सकेको छैन, यो बीमा सञ्चालन गर्ने ठाउँमा महत्वपूर्ण व्यक्तिहरु मैले स्वास्थ्य र बीमा दुवै बुझेको मानिस खोजिरहेको छु, त्यो पाइरहेको छैन, कि स्वास्थ्य बुझेको पाइन्छ की बीमा, दुवै बुझेको मान्छे पाउन सकेको छैन,’ उनले भने । यस्तै, उनले स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने की निजीले पनि पाउने भन्ने लडाईं चलिरहेको बताए । ‘निजी मेडिकल कलेजका प्रतिनिधिले हामीले नपाउने भए अस्पताल बन्द गर्छौं भन्नुभयो, मैले मापदण्ड पुगेको छैन, त्यसका टेकेर हान्नुपर्दा सधैँका लागि बन्द हुन्छ भने,’ उनले भने । मन्त्री बस्नेतले स्वास्थ्य बीमाका लागि कार्ययोजना बनाइ अघि बढीरहेको पनि जानकारी दिए ।

विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित काठमाडौं विश्वविद्यालयको २८औँ दीक्षान्त (दोस्रो चरण) समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने तथा स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताए । उनले भने, ‘हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाले पठनपाठन तथा अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ । खासगरी विश्वविद्यालयमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ । स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्छ ।’ प्रधानमन्त्री दाहालले अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधन स्रोतको सही सदुपयोग नहुने स्पष्ट पारे । विश्वविद्यालय तहको अध्ययन र अनुसन्धानलाई सवल बनाउन सरकारका अनुसन्धानसम्बन्धी कार्य विश्वविद्यालयबाट गराउने निर्णय गरिसकेको हुनाले प्राध्यापकमा राज्यका लागि योगदान गर्ने प्रत्यक्ष अवसर मिल्ने उनको भनाइ थियो । काठमाडौं विश्वविद्यालयले आफ्नो स्थापनाको ३२ वर्षमा विभिन्न सङ्कायमा ४१ हजारभन्दा बढी उच्च सीप, दक्षता र मानवीय गुणसम्पन्न जनशक्ति उत्पादन गरी मुलुकको विकासमा योगदान दिएको प्रधानमन्त्री दाहालले उल्लेख गरे । काठमाडौँ विश्वविद्यालयले गुणस्तरीय शिक्षाका लागि मुलुकको अग्रणी र दक्षिण एसियाकै एक प्रतिष्ठित विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गरेको उल्लेख गर्दै उनले गुणस्तरीय, प्राविधिक र अत्याधुनिक उच्चशिक्षा युगको विश्वव्यापी आवश्यकता भएको बताए । बर्सेनि हजारौँ विद्यार्थी नेपालबाट विदेशिनुको कारण सिर्जनशील मस्तिष्क, युवा ऊर्जा र अर्बौँ रुपैयाँ मुलुकबाट बाहिरिइरहेको सन्दर्भमा मुलुकभित्रै उच्चशिक्षाको गुणस्तर एवम शिक्षापछिको सम्मानयुक्त जीवनयापन गर्न सम्भव रोजगारी सिर्जना सबैका लागि टड्कारो आवश्यकता र चुनौती भएको प्रधानमन्त्री दाहालले जिकिर गरे । काठमाडौं विश्वविद्यालयले अन्तर्राष्ट्रिय गुणस्तरकै शिक्षा प्रदान गरी विदेश पलायन हुने युवा र विदेशी मुद्रालाई केही हदसम्म भए पनि रोक्न प्रशंसनीय योगदान गरेको उनले स्पष्ट पारे । “यस विश्वविद्यालयले आफ्ना क्षमतावान अब्बल स्नातक तह उत्तिर्णलाई प्रारम्भिक रोजगारीसमेत दिने जुन प्रस्तावना गरेको छ यसलाई नेपाल सरकारले अत्यन्त सकारात्मक कदमका रूपमा लिएको छ । यसको विस्तार र दीगोपनका लागि यथासम्भव सघाउने छ”, प्रधानमन्त्री दाहालले भने । विगतदेखि नै वस्तु व्यापार घाटामा भएको तीव्र वृद्धिले मुलुकलाई आक्रान्त बनाएको उल्लेख गर्दै उनले पछिल्लो समय सेवा व्यापारघाटा पनि उत्तिकै गतिमा बढ्दै जानु थप चिन्ताको विषय भएको बताए । नेपाललाई इञ्जीनीयरिङ, चिकित्साशास्त्र, सूचना एवम् डिजिटल प्रविधि, वातावरण विज्ञान आदि विषयमा उच्च शिक्षाको ‘हब” बनाउने सम्भावनातर्फ सरकारको विशेष ध्यान गएको प्रधानमन्त्री दाहालले बताए । हाल मस्यौदा भइरहेको सरकारको वाणिज्य नीतिले पनि शिक्षा सेवालाई निर्यातयोग्य सम्भावनाको क्षेत्रका रूपमा पहिचान गरेको उनले जानकारी दिए । सम्भावनालाई वास्तविकतामा बदल्नका लागि सरकार आवश्यक कानुनी, प्रक्रियागत र संरचनागत व्यवस्था गर्न तत्पर रहेको तथा त्यसमा विज्ञको सुझाव महत्वपूर्ण हुने प्रधानमन्त्री दाहालको कथन छ । काठमाडौं विश्वविद्यालयबाट उत्पादित शैक्षिक जनशक्तिमध्ये १३ प्रतिशतभन्दा बढी दीक्षित ५५ भन्दा बढी मुलुकका विदेशी नागरिक भएको जानकारी पाउँदा नेपाललाई दक्षिण एसिया क्षेत्रकै आकर्षक शैक्षिक ‘हब’ बनाउने सम्भावना केवल कल्पना मात्र नभएर वास्तविकतामा रूपान्तरण गर्न सकिने वस्तुगत यथार्थ भएको उनले बताए । सो विश्वविद्यालयले अनुसन्धान गरिरहेको भविष्यको इन्धनका रूपमा पहिचान गरिएको ग्रीन हाइड्रोजनको उत्पादन, आर्टिफिसिअल इन्टेलिजेन्स, आधुनिक प्रविधिमा आधारित कृषि विज्ञान, हिमालय क्षेत्रको पर्यावरणको अध्ययनमा समर्पित ग्लेसियोलोजी, चिकित्सा र प्रविधिलाई समायोजन गर्ने हेल्थ–इन्फम्र्याटिक्सलगायत विषयको अध्ययन–अध्यापन, खोज–अनुसन्धान एवम् प्रकाशन–प्रचारले मुलुकको आर्थिक विकास र सामाजिक पुँजी निर्माणमा जोड दिने प्रधानमन्त्री दाहालको भनाइ छ ।

सनराइज बैंकले गर्यो निःशुल्क आँखा शिविर

काठमाडौं । सनराइज बैंकले चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेका छ । निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुर ०९ मा सञ्चालन गरिएको थियो । संचालन भएको सो शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाचँ सेवाहरु लिएका थिए । शल्यक्रिया र औषधिको लागि डाक्टरको सल्लाह लिएका मानिसहरू खुसी हुँदै बैंकले सो शिविर आयोजना गरेकोमा धन्यबाद ज्ञापन गरेका थिए । शुक्रबार उक्त कार्यक्रमको उद्घाटन बैंकको मधेस प्रदेश प्रमुख दीपक पण्डित, जीवन विज्ञान केन्द्र मधेश प्रदेश प्रमुख शैलेश पौडेल, श्रीमावि डुमरिया चन्द्रपुरकामुख्य शिक्षक राजेशकुमार चौधरी, नयाँ नेपाल सेवा केन्द्रका स्वयंसेवक निर्मला चौधरी र बैंकका चन्द्रनिगाहपुर शाखा टोली सदस्यहरूको उपस्थितीमा भएको थियो । दृष्टि आँखा अस्पताल, वीरगन्ज र जीवन विज्ञान तथा नयाँ नेपाल सेवा केन्द्र, चन्द्रपुर रौतहट जस्ता सामाजिक संस्थाको प्राविधिक सहयोगमा विभिन्न सूचनामूलक र प्रवद्र्धनात्मक उपकरणको प्रयोग गरी निःशुल्क आँखा शिविर सफल बनाउन सहयोग पुगेको बैंकले जनाएको छ ।

बेनी–गलेश्वर सडक स्तरोन्नतिको काम तीव्रगतिमा

गलेश्वर । कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत बेनी– गलेश्वर सडक स्तरोन्नतिको कामले तीव्रता पाएको छ । गत माघदेखि निर्माण सुरुभएको उक्त योजनाको पाँच महिनाको अवधिमा ८० प्रतिशत स्तरोन्नतिको काम पूरा भएको कालीगण्डकी कोरिडोरका बेनी–जोमसोम कोरला सडक योजना प्रमुख जगत प्रजापतिले बताए। मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिका सञ्चालक एवम् निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले ठेक्का सम्झौतालगत्तै योजनास्थलमा उपकरण र मजदूर परिचालन गरी काम सुरु गरिएको बताए। उनले साँघुरो सडकलाई आठ मिटरको फराकिलो बनाउने, सडक तलमाथि पर्खाल, चारवटा कल्भट, दुईसय मिटर आरसिसी ढलानको काम सकिएको जानकारी दिए । निर्माण व्यवसायी कार्कीले सम्झौता मितिको एकवर्ष अघिनै काम सक्ने प्रतिबद्धता अनुरुप काम अगाडि बढाइएको बताए । राष्ट्रिय गौरबको आयोजना मानिएको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत बेनी–गलेश्वर खण्डमा निर्माण कम्पनीले पाँच महिनामा ८० प्रतिशत काम सकेपछि जिल्लामा सञ्चालित अन्य योजनका निर्माण व्यवसायीलाई समेत दबाब उत्पन्न भएको छ । योजना प्रमुख प्रजापतिले कोरिडोरअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबैभन्दा छिटो र धेरै काम गरेको खण्ड बेनी–गलेश्वर रहेको बताए । उनले निर्माण कम्पनीले गत माघ ६ गतेबाट सुरु गरेको योजनाको काम हालसम्म सडक तलमाथिको पर्खाल, नाली, चारवटा कल्भट, सडक पराकिलो बनाउने काम, सबवेस र दुई सय मिटर आरसिसी ढलानलगायत काम सकिएको जानकारी दिए । उनका अनुसार यस सडकमा बेस र कालोपत्रे काम मात्र बाँकी छ । ‘यसलाई बर्खापछाडी सम्पन्न गर्ने लक्ष्यमा निर्माण कम्पनी रहेको छ’, उनले भने । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी आयोजना र निर्माण कम्पनीबीच १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त सडक स्तरोन्नति समयमै सम्पन्न भएमा बेनी नगरपालिकासहित रघुगङ्गा, अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवातजावातमा सहज हुने स्थाीयको भनाइ छ । रासस

बिमस्टेकको पाँचौँ सम्मेलनमा सहभागी हुन उद्योगमन्त्री रिजाल भारत प्रस्थान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भारत प्रस्थान गरेका छन् ।बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास ९बिमस्टेक० को छैठौं शिखर सम्मेलनमा सहभागी हुन मन्त्री रिजाल भारत प्रस्थान गरेका हुन् । सम्मेलन भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते आयोजना हुँदै छ । नेपालमा लगानी भित्र्याउने तथा व्यापार प्रवर्दन लगायतका विषयमा मन्त्री रिजालले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ । बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र भुटान छन् । बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा भएको थियो भने पाँचौँ सम्मेलन श्रीलंकामा भएको थियो । तेस्रो शिखर सम्मेलन म्यानमारमा, दोस्रो दिल्लीमा र पहिलो थाइल्यान्डमा भएको थियो । तिन दिने शिखर सम्मेलन सकेर मन्त्री रिजाल स्वदेश फर्कने छन् ।

बजाजको मोटरसाइकल शुन्य प्रतिशत ब्याजमा किन्न सकिने

काठमाडौं । बजाज मोटरसाइकलले फाइनान्स जात्राको सुरुवात गरेको छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले काठमाडौं उपत्यकाका ग्राहकहरुको लागि फाइनान्स सेवाको सुरुवात गरेको हो । शुन्य प्रतिशतमा बजाजसँग यात्रा ट्यागलाइन राखिएको यस फाइनान्स जात्रा अन्तर्गत उपभोक्ताले कुनै पनि बजाज मोटरसाइकल १८ महिनासम्मको किस्तामा शून्य प्रतिशत ब्याजमा खरिद गर्न सक्नेछन् । जसले गर्दा बजाजका मोटरसाइकलहरु खरिद गर्न चाहने उपभोक्तालाइ अझै सजिलो भएको छ । उपत्यकामा जात्रालाई जसरी विशेष महत्व दिएर मनाइने गरिन्छ त्यसरी नै बजाजले पनि आफ्नो फाइनान्स जात्रालाई एक उत्सवका रुपमा मनाएर ग्राहक वर्गहरु माझ अझै सहज र उत्साहपूर्ण अफर प्रदान गर्ने प्रयत्न गरेको छ । यस फाइनान्स जात्रा अन्तर्गत उपत्यकाभित्र बजाज मोटसाइकल खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा १८ महिनासम्मको किस्तामा ० प्रतिशत ब्याजदरको फाइदा लिन सक्नेछन् । यो जात्रा काठमाडौं उपत्यकाभरिका १८ बजाज शोरूमहरुमा जेठ २८ देखि ३२ गतेसम्म ५ दिनको लागि लागुहुनेछ ।

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभा बैठकमा आइतबार शाहीले प्रधानमन्त्री प्रचण्डविरूद्ध युद्ध अपराधमा मुद्दा दर्ता भएको भन्दै पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् । प्रधानमन्त्रीका हिसाबले अदालतमा उपस्थित हुन नमिल्ने तर्क गर्दै राजीनामा दिनुपर्ने उनको भनाइ छ । ‘नैतिकताको आधारमा पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, अदालतलाई काममा असर नगर्नेगरी मार्ग प्रशस्त गर्नुपर्छ,’ उनले भने।

सिटिजन्स बैंकले दियो रंगेली अस्पताललाई पोस्ट अपरेशन मनिट

काठमाडौं । सिटिजन्स बैंकले कोशी प्रदेश स्थित रंगेली अस्पताल लाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेज को लागि फ्रिज प्रदान गरेको छ । आइतबार एक कार्यक्रममा बैंकले प्रदेश कार्यालय विराटनगर मार्फत शाखा कार्यालय रंगेलीद्वारा रंगेली अस्पातलाई ती सामान प्रदान गरेको हो । उक्त कार्यक्रममा रंगेली नगरपालिका का नगर प्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समितिका अध्यक्ष साथै अन्य अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । यसको साथै बैंकले डिल्लीबजार स्थित डिल्लीबजार कन्या क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्र्थीलाई पठानपाठनमा सजिलो होस भन्ने मनासयले प्रोजेक्टर प्रदान गरको हो । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरु मार्फत संचालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरु अगाडि बढाउने योजना रहेको जनाएको छ । बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्गईकाईहरु बाट करिव १५ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।