दिपलको उड्ने ट्याक्सी नाडा अटो शोमा प्रधानमन्त्रीले सार्वजनिक गर्ने
काठमाडौं । मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मा दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङलाई नाडा अटो शोमा प्रदर्शनीमा राख्न लागेको हो । एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरु पनि प्रदर्शनीमा राख्नेछ जसले आगन्तुहरुसँग प्रत्यक्ष संवाद गर्दे मानिसहरुको जस्तो गतिविधि र संसार गर्नेछन् । यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउनेछ । कम्पनीका अनुसार नयाँ प्रविधिहरुसँगै नाडा अटो सोमा दिपल तथा अवतारका फ्युचरिस्टिक कारहरु दिपल एस०५, एस०७ आईसीए, ई०७ र अल्ट्राप्रिमियम अवतार ११ प्रदर्शनीमा राखिनेछन् । गत साता नेपालमा धमाकेदाररुपमा सार्वजनिक भएको दिपल एस०५ ले केही दिनमै अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । लक्जरी, स्टाइल र टेक्नोलोजीको विशिष्ट सम्मीश्रणकै कारण यो नयाँ एसयुभी लोकप्रिय बन्न पुगेको हो । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलका सबै इभीहरु नाडाको एवान र एटु स्टलमा प्रत्यक्ष रुपमा अनुभव गर्न सकिनेछ । नाडा अटो सो सधैं नयाँ प्रविधि प्रदर्शन गर्ने मञ्च रहँदै आएको छ । 'यस वर्ष प्रधानमन्त्रीज्यूबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु स्वंयमा एउटा ऐतिहासिक उपलब्ध हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका डिस्रप्टिक इभी लाइनअपलाई प्रदर्शनमा राखेर हामीले नेपालको मोबिलिटीको भविष्यलाई पुनपरिभाषित गर्दैछौं ।’
नारायणी डेभलपमेन्ट बैंकको सीईओमा पशुपति पौडेल नियुक्त
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पशुपति पौडेल नियुक्त भएका छन् । सञ्चालक समितिको आइतबार बसेको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । पौडेललाई आजैबाट लागू हुने गरी नियुक्त गरिएको हो । बैंक तथा वित्तीय क्षेत्रमा पौडेलको लामो अनुभव रहेको छ ।
ह्युन्डाई नेपालद्वारा ‘दशैं-तिहार, १० गुणा उपहार’ अफर, १० लाखसम्म जित्ने अवसर
काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आगामी दशैं–तिहारलाई लक्षित गर्दै 'दशैं-तिहार, १० गुणा उपहार' अफर घोषणा गरेको छ । यस अफर अन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म थप छुट जित्ने अवसर पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । ग्राहकहरूलाई थप प्रोत्साहन स्वरूप २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर समेत प्रदान गरिनेछ । यस्तै, हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुने जनाएको छ । कम्पनीका अनुसार यसले ह्युन्डाई ब्रान्डको गुणस्तर, भरपर्दोपन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ । भदौ २ गतेदेखि लागू हुने यो अफरमार्फत कम्पनीले सबै अटोप्रेमी र सम्भावित ग्राहकलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर विशेष अफरको लाभ लिन आमन्त्रण गरेको छ ।
जेलेन्स्कीले चाहेमा युद्ध अन्त्य गर्न सक्नुहुन्छ : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले चाहेमा युद्ध तुरुन्तै अन्त्य गर्नसक्ने वा लड्न जारी राख्नसक्ने बताएका छन् । आफ्ना युक्रेनी समकक्षी जेलेन्स्कीलाई भेट्नुअघि ट्रम्पले सो कुरा बताएका हुन् । ट्रम्पले सन् २०१४ मा ओबामा प्रशासनका समयमा भएको क्रिमियाको विलय सम्झाउँदै युक्रेनलाई नाटोमा प्रवेश नगर्ने विषयमा पुनः जोड दिए । उनले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, 'क्रिमिया फर्किने छैन, युक्रेन नाटोमा पनि प्रवेश गर्ने छैन, केही कुराहरू कहिल्यै परिवर्तन हुँदैनन् ।' 'शान्ति स्थायी हुनुपर्छ, अस्थायी सम्झौता होइन', जेलेन्स्कीले वासिङ्टन आइपुगेपछि क्रिमिया वा डोनबासजस्ता क्षेत्रहरू गुमाउन बाध्य पारिएको विगतलाई स्मरण गर्दै भने, 'अब हामी कुनै पनि भूमि त्याग्दैनौँ । युक्रेनीहरू आफ्नो स्वतन्त्रता र भूमिका लागि लडिरहेका छन् । हाम्रो सेना डोनेट्स्क र सुमीमा सफल भएको छ ।' उनले अमेरिकाप्रति र साझेदारहरूप्रति आभार व्यक्त गर्दै ‘युक्रेनको रक्षा प्रभावकारी रूपमा सुनिश्चित गर्ने’ विश्वास व्यक्त गरे । ट्रम्प–जेलेन्स्कीको भेट हालै अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको उच्चस्तरीय वार्तापछि हुँदैछ । तीन घण्टा लामो उक्त वार्तापछि ट्रम्पले ‘रुस–युक्रेन युद्ध अन्त्य गर्ने सबैभन्दा राम्रो बाटो सीधा शान्ति सम्झौता हो, केवल युद्धविराम होइन’ भनेका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, 'राष्ट्रपतिले अलास्काबाट फर्कने क्रममा मध्यरातमा नै जेलेन्स्की र युरोपेली नेताहरूसँग फोनमा लामो छलफल गर्नुभयो । दुवै पक्ष सहमत हुने उपाय खोज्न कठिन भइरहेको छ, तर हामी निरन्तर संलग्न छौँ ।' रुबियोले रुसका मागहरू स्वीकार्य नभएको स्पष्ट गर्दै भने, 'हामी युक्रेनलाई दबाब दिँदैनौँ । रुसले अस्वीकार्य माग गरिरहेको छ र युक्रेनीहरूले छोड्न नसक्ने कुराहरूमा अडान लिएका छन् । फ्रान्स, जर्मनी, बेलायत, इटाली र फिनल्यान्डका नेताहरू पनि वासिङ्टन बैठकमा सहभागी हुनेछन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र नाटो महासचिव मार्क रुट पनि उपस्थित हुनेछन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ‘युक्रेनको चासो र युरोपको सुरक्षालाई संरक्षण गर्ने स्थायी शान्ति’ को आवश्यकता औँल्याए । जर्मन चान्सलर फ्रेडरिक मेर्जले पनि छिटो शान्ति सम्झौतामा चासो व्यक्त गरेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले जेलेन्स्कीको ‘न्यायपूर्ण र स्थायी शान्तिको चाहना’ को प्रशंसा गर्दै बैठकमा सहभागी हुने बताए । यसअघि, ट्रम्पका दूत स्टिभ विटकफले पुटिनले अमेरिकी सुरक्षा ग्यारेन्टी दिन सहमति जनाएको र सम्भावित शान्ति सम्झौतामा ‘भूमि विनिमय’ मा छुट दिएको सङ्केत गरेको बताएका थिए । तर मस्कोले यसबारे कुनै औपचारिक घोषणा गरेको छैन । रासस
उपकार लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यस सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ । सम्झौताअनुसार अबदेखि नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमार्फत उपकार लघुवित्तका सेयरधनीहरूले गर्ने सम्पूर्ण सेयर सम्बन्धी प्रक्रिया एनआईसी एशिया क्यापिटलमार्फत हुनेछन् । सेयर रजिष्ट्रार सेवाअन्तर्गत सेयर अभिलेख राख्ने, दाखिला–खारेज गर्ने, सेयरधनी लगत अद्यावधिक गर्ने लगायतका सम्पूर्ण कार्यहरू आगामी भदौ १२ गतेदेखि एनआईसी एशिया क्यापिटल, ट्रेड टावर नेपाल, थापाथली–११, काठमाडौंमार्फत सञ्चालन हुने उपकार लघुवित्तले जनाएको छ । यस निर्णयले उपकार लघुवित्तका सेयरधनीहरूलाई अझ सहज, व्यवस्थित र पारदर्शी सेवा उपलब्ध हुने विश्वास लिइएको छ ।
एमाले महासचिवको क्षेत्रमा मेयर र वडाध्यक्षबीच विवाद : राजीनामा बुझाएको दुई वर्षपछि स्वीकृत
काठमाडौं । नेकपा एमालेबाट निर्वाचित मेयर र उपमेयर विवाद अन्ततः वडाध्यक्षको राजीनामासम्म पुगेको छ । दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी र वडा- ८ का वडाध्यक्ष जितेन्द्रबहादुर शाहबीच दुई वर्षदेखि चलेको विवाद शाहको राजीनामासँगै टुंगिएको हो । आफ्नो वडालाई बजेट विनियोजनमा पक्षपात गरेको भन्दै २०८० असार १२ गते शाहले राजीनामा दिएका थिए । तर मेयर चौधरीले दुई वर्षपछि आज सोमबार बिहान मात्रै शाहको राजीनामा स्वीकार गरेको उपमहानगर स्रोतले बताएको छ । मेयर चौधरी पनि अध्यक्ष शाहको राजीनामा स्वीकृत गरेर काठामाडौंतर्फ लागेका छन् । काठमाडौं उड्न नेपालगञ्ज विमानस्थलमा रहेका मेयर चौधरीले अध्यक्ष शाहको राजीनामा स्वीकृत भएको जानकारी दिए । राजीनामा दिएका अध्यक्ष शाहले यसबारेमा बोल्न चाहेनन् । राजीनामा लामो समय कोटको खल्तीमा राखेर सम्झाउँदा पनि उनको आनीबानीमा कुनै सुधार नदेखेपछि आफूले राजीनामा स्वीकृत गरेको मेयर चौधरीले जानकारी दिए । नेकपा एमालेका महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्रसमेत रहेको घोराही उपमहानगरमा एमालेबाटै निर्वाचित पदाधिकारीहरूबीच विवाद रहँदै आएको एक वडाध्यक्षले जानकारी दिए । वडाध्यक्ष शाहले नेपाली कांग्रेसका उमेदवारलाई पराजित गरेका थिए । शाहको राजीनामा स्वीकृत भएसँगै जेष्ठ वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक वडाध्यक्ष तोकिएको उपमहानगरका प्रवक्ता राममणि पाण्डेले जानकारी दिए ।
खतिवडा सेवा समाज र ग्रीनसिटी अस्पतालबीच स्वास्थ्य उपचारमा सहुलियत दिन समझदारी
काठमाडौं । खतिवडा सेवा समाज नुवाकोट र ग्रीनसिटी अस्पताल, काठमाडौंबीच स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार समाजका सदस्य र उनका परिवारका सदस्यहरूले ग्रीनसिटी अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन् । यसले सदस्यहरूलाई गुणस्तरीय उपचार सहज र किफायती दरमा उपलब्ध हुने अपेक्षा गरिएको छ । समझदारी अनुसार खतिवडा सेवा समाजले आफ्ना सदस्यहरूलाई सदस्यता कार्ड उपलब्ध गराउनेछ र सोही कार्डका आधारमा अस्पतालका सेवामा विशेष सुविधा प्राप्त गर्न सकिनेछ । साथै, समाजले अस्पताललाई आफ्नो स्वास्थ्य साझेदार भनेर घोषणा गर्दै अस्पतालका कार्यक्रमहरूको प्रवर्द्धन गर्ने जिम्मेवारी लिनेछ । स्वास्थ्य शिविर सञ्चालनमा अस्पतालले प्राविधिक व्यवस्थापन गर्ने भने समाजले समग्र व्यवस्थापन गर्नेछ । यो सम्झौता भदौ १ गतेदेखि लागू भई दुई वर्षसम्म रहने व्यवस्था गरिएको छ । आवश्यक परेमा दुवै पक्षको सहमतिमा यसलाई थप अवधि बढाउन वा संशोधन गर्न सकिनेछ । समझदारीपत्रमा हस्ताक्षर गर्दै खतिवडा सेवा समाज नुवाकोटका अध्यक्ष विकास खत्रिवडाले आफ्ना सदस्यहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको यो कदमले सदस्यहरूलाई ठूलो लाभ पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, ग्रीनसिटी अस्पताल प्रालिका अध्यक्ष लोक बहादुर टण्डनले आपसी सहकार्यले समाजका सदस्यलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज बनाउने बताए । समाज र अस्पताल दुवैले यस सम्झौतालाई सदस्यहरूको स्वास्थ्य र कल्याणका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।
अलैँचीको भाउ सात वर्ष यताकै उच्च, प्रतिमन ९४ हजार पुग्यो
झापा । ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुआती ‘सिजन’मा नै उच्च भाउ पाएको छ । अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा सोमबार प्रतिमन (४० केजी) ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी निर्देशक अनिल ढुङ्गानाले बताए । 'यो निकै राम्रो भाउ हो,' उनले भने, 'गत वर्ष अहिलेकै सिजनमा अलैँचीको कारोबार प्रतिमन ४० हजार रुपैयाँसम्ममा भएको थियो ।' अलैँचीको यो भाउ विगत सात वर्षकै उच्च मानिएको छ । विसं २०७५ को अहिलेको सिजनमा अलैँचीको प्रतिमन मूल्य एक लाख पाँच हजार रुपैयाँसम्म पुगेको थियो । सोही सालको मङ्सिरमा मूल्य अझ बढेर प्रतिमन एक लाख सात हजार रुपैयाँ पुगेको थियो । २०६७ सालमा प्रतिमन अलैँची एक लाख २० हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । त्यसभन्दा बढी मूल्यका अलैँचीको कारोबार कहिल्यै भएको छैन । भदौ–असोजतिर भाउ धेरै हुनु भनेको मङ्सिर–पुसतिर अझै बढ्न सक्ने सङ्केत भएको उनको भनाइ छ । अहिले बढेको भाउले अलैँची उत्पादन गर्दै आएका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । किसानले बेच्ने बेलामा अलैँचीको भाउ उच्च हुँदा किसान उत्साही भएका हुन् । किसानबाट यतिबेला किनेको अलैँची भण्डारण गरेर व्यापारीहरूले मङ्सिर–पुसतिर भाउ आकासिएपछि बेचेर धेरै मुनाफा कमाउने गरेका छन् । 'एक मन अलैँची उत्पादन गर्न किसानले अधिकतम २० हजार रुपैयाँसम्म लगानी गरेका हुन्छन्,' महासङ्घका कार्यकारी निर्देशक ढुङ्गाना भन्छन्, 'आफूले बेच्ने बेलामा भाउ धेरै पाएर किसान धेरै खुसी भएका छन् । यसपालि अलैँचीको भाउ अझै धेरै बढेर जाने सम्भावना देखिन्छ ।' नेपालका ४२ जिल्लामा अलैँचीखेती हुने गरे पनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ । कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा काँकडभिट्टा नाका भएर सात अर्ब ६७ करोड रुपैयाँको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशत निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ । विश्व बजारमा नेपाली अलैँचीले सोझो पहुँच पुर्याउन सकिरहेको छैन । रासस