‘नाडा अटो शो’ मा स्काइवेल गाडी बुकिङ गर्दा सपरिवार युरोप जान पाइने
काठमाडौं । मंगलबारदेखि सुरु हुने ‘नाडा अटो शो २०२५’ मा स्काइवेलका गाडी बुकिङ गर्ने ग्राहकले सपरिवार युरोप भ्रमणको अवसर पाउने भएका छन् । स्काइवेलका लागि नेपालमा आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘युरोप टुर फर फ्यामिली’ नामक अफर ल्याएको हो । कम्पनीका अनुसार अटो शो अवधिमा बुकिङ गर्ने ग्राहकले युरोप भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुका साथै युरोपमै स्काइवेल गाडीको टेस्ट ड्राइभ गर्ने अवसर पनि पाउनेछन् । स्काइवेलको स्टल ‘एच १२’ मा गई गाडी बुकिङ गर्दा यो अफर उपलब्ध हुनेछ । यसबाहेक प्रत्येक गाडी बुकिङमा ग्राहकलाई आकर्षक ‘डायमण्ड नेकलेस’ उपहार दिइनेछ भने एकजना भाग्यशाली विजेताले रोलेक्स घडी जित्ने अवसर पनि पाउनेछन् । कम्पनीले अन्य विभिन्न बोनस अफरहरू समेत उपलब्ध गराउने जनाएको छ । यस्तै ग्राहकलाई ८० प्रतिशतसम्मको फाइनान्स सुविधा उपलब्ध गराइएको कम्पनीको भनाइ छ । साथै, पहिलो वर्षको सवारी कर कम्पनीले नै तिर्ने व्यवस्था गरिएको छ ।
वैकल्पिक विकास वित्त विधेयक : लगानी सर्त उल्लंघन गरे रकम रोक्का हुने
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि विधेयकमा दफावार छलफल गर्दै लगानी रकम रोक्कासम्बन्धी व्यवस्थालाई पास गरेको छ । आयोजनाले लगानीको सर्त पालना नगरेमा, लगानी रकम आयोजनामा उपयोग नगरी अन्यत्र प्रयोग गरेमा वा दिशान्तर गरेमा, झुटा विवरण वा तथ्य दिई लगानी प्राप्त गरेको प्रमाणित भएमा कोषले कुनै सङ्गठित संस्था वा आयोजनालाई प्रवाह गरेको लगानी रकम फिर्ता माग गर्न वा भुक्तानी गर्नुपर्ने लगानी रकम रोक्का गर्नसक्ने गरी दफाबार छलफलबाट व्यवस्था गरेको छ । यस्तै, मनासिव कारण बिना लगानी रकमको अनुपात वा आयोजना कार्यान्वयन तालिका बमोजिम आयोजना कार्यान्वयन नगरेमा, अर्को कुनै आयोजनामा कोषको ऋण लगानी भई कार्यान्वयन भइसकेकोमा त्यस्तो आयोजनाको भुक्तानीयोग्य ऋणको किस्ता रकम बमोजिम फिर्ता नगरेमा, कोषले ऋण लगानीको रकम फिर्ता माग गरेमा त्यसरी माग गरेको समयसम्म कोषले आयोजनालाई प्रदान गरेको ऋणको सावाँ, ब्याज र सेवा शुल्क बाँकी भए त्यस्तो रकम समेत सम्बन्धित सङ्गठित संस्था वा आयोजनाले कोषलाई अविलम्ब फिर्ता गर्नुपर्ने व्यवस्था समेत समितिले पास गरेको छ । त्यस्तै, नियमअनुसार रकम फिर्ता नगरेमा वैकल्पिक वित्त कोषले तोकिए बमोजिमको कार्यविधि पूरा गरी सम्बन्धित आयोजना आफ्नो नियन्त्रणमा लिने र आफ्नो बाँकी रकम असुल गरी तोकिए बमोजिम अर्को कुनै सङ्गठित संस्थालाई त्यस्तो आयोजना कार्यान्वयन गर्न हस्तान्तरण गर्नसक्ने समेत व्यवस्था गरिएको छ । समितिले दफा २७ मा रहेको धितो र त्यसको परिणाम सम्बन्धि व्यवस्थालाई समेत पास गरेको छ । अर्थसमितिले पास गरेको व्यवस्थाअनुसार कोषले कुनै आयोजनामा ऋण लगानी गर्दा वा जमानत दिँदा ऋण वा जमानत दिएको रकम असुल हुनसक्ने कुनै चल वा अचल सम्पत्ति वा कार्यान्वयन गर्न प्रस्तावित आयोजना धितोमा लिनु पर्नेछ । प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएपनि कानून बमोजिम कुनै आयोजनाले धितो दिई कोषबाट ऋण लिए पश्चात आयोजना वा आयोजनाको सम्पत्तिले खामेसम्म सोही सम्पती धितो दिई अर्को कुनै व्यक्तिबाट ऋण लिएमा त्यस्तो धितोमा दाबी गर्ने कोषको पहिलो अधिकार हुने व्यवस्था गरिएको छ । कोषको ऋण वा जमानतको रकम असुल नभएसम्म अर्को व्यक्तिले त्यस्तो धितोमा दाबी गर्न सक्नेछैन । यस्तै, दफा २८ लाई समेत पास गरेको छ । सो दफामा सरकारी ऋणपत्र सरह व्यवहार गरिने उल्लेख छ । दफा २८ मा भनिएको छ, ‘यस ऐन बमोजिम नेपाल सरकारको जमानत प्राप्त गरी कोषले जारी गरेको ऋणपत्रलाई नेपाल सरकारले जारी गरेको विकास ऋणपत्र वा नागरिक बचतपत्र वा नेपाल राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र सरह व्यवहार गरिनेछ । त्यस्तो ऋणपत्र धितोपत्र बजारमा सूचीकृत हुन वा दोस्रो बजारमा खरिद विक्री हुन सक्नेछ । कोषले जारी गरेको अन्य वित्तीय उपकरण समेत धितोपत्र बजारमा सूचीकृत हुन र दोस्रो बजारमा खरिद विक्री गर्ने प्रयोजनको लागि नेपाल सरकारले जारी गरेको ऋणपत्र सरह व्यवहार र शुल्क लाग्नेछ । कुनै बैङ्क वा वित्तीय संस्थाले कोषले जारी गरेको कुनै क्षेत्रगत वित्तीय उपकरणमा लगानी गरेमा त्यस्तो बैङ्क वा वित्तीय संस्थाले बैङ्क वा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून बमोजिम निर्दिष्ट क्षेत्रगत कर्जामा लगानी गरेको मानिनेछ । कोषले जारी गर्ने ऋणपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।’ यस्तै, दफा २९ मा रहेको लगानीकर्तालाई छुट, सुविधा वा सहुलियत दिन सकिने व्यवस्था समेत समितिबाट पास भएको छ । सो दफामा नेपाल सरकारले कोषले जारी गरेका विभिन्न वित्तीय उपकरणमा लगानी गर्ने व्यक्तिगत तथा संस्थागत लगानीकर्ता वा सङ्गठित संस्थालाई प्रचलित कानुन बमोजिम कर छुट तथा अन्य सहुलियत प्रदान गर्न सक्ने उल्लेख छ । वैकल्पिक विकास वित्त सङ्कलन गर्न विदेशी पुँजी बजारमा जारी गर्ने वित्तीय उपकरण वा हरित क्षेत्रको आयोजनाको लागि कोषले जारी गर्ने वित्तीय उपकरणमा नेपाल सरकारले विशेष छुट र सुविधा दिनसक्ने समेत व्यवस्था गरिएको छ । प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि ऐन बमोजिम कोषले कुनै आयोजनामा लगानी गर्दा लगानी सुरक्षण बापत लिएको धितोको रजिष्ट्रेशन पारित गर्नुपर्ने सम्झौता, करार वा धितोपत्रबापत लाग्ने दस्तुरमा छुट दिन सकिने व्यवस्था सो दफामा गरिएको छ । समितिको दफाबार छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै राजश्व सचिव दिनेश घिमिरेले सेयर होल्डर भनेकै सञ्चालक हुन् भन्ने हिसाबले वैकल्पिक वित्त कोष बनेको बताए । उनका अनुसार कोषमा नेपाल सरकारको प्रतिनिधित्व अधिकतम् छ । त्यो मानशिकताबाट कोषको कानुनहरू बनाइएका हुन् । सचिव घिमिरेले भने, ‘वैकल्पिक वित्त कोष सेयर होल्डर नै सर्बपरी हो । शेयर होल्डर नै भनेकै सञ्चालक हुन् भन्ने हिसावले बनेको छ । कोषमा नेपाल सरकारको प्रतिनिधित्व अधिकतम छ । त्यो मानसिकताबाट कोषको कानून र कोष शुरुदेखि डिजाइन भएको छ । यसमा अन्तर्राष्ट्रिय अभ्यासहरु यो कम्पनी मोडलमै सञ्चालित छ । भारतमा यस्तो कोष कम्पनी मोडलमै छ ।’ अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक वित्त कोषलाई नीतिगत मार्गदर्शन, सहजीकरण गर्न अर्थमन्त्रीको नेतृत्वमा ५ सदस्यीय समितिको परिकल्पना गरिएको बताए । उनका अनुसार यसले नीतिगत मार्गदशर्नका साथै सहजीकरण गर्नेछ । मन्त्री पौडेलले भने, ‘वैकल्पिक वित्त कोषलाई नीतिगत मार्गदर्शन, सहजीकरण र निर्देशन दिन सक्ने गरी अर्थमन्त्रीको नेतृत्वमा ५ सदस्यीय मेकानिजमको व्यवस्था गरेका छौं । नीतिगत मार्गदर्शन, सहजीकरण र निर्देशन पनि दिनेछ ।’ दफाबार छलफलका पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कम्पनी मोडलमा सरकारले हस्तक्षेप गर्न नखोजेको भएपनि सचिव नै निर्देशक समितिमा रहँदा सरकारको हस्तक्षेप हुनसक्ने बताए । यद्यपि लगानीकर्तालाई सरकारले ग्यारेन्टी दिनुपर्ने भएकाले सरकारको रोल महत्वपूर्ण हुने उनको भनाइ छ । दफाबार छलफलमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो वैकल्पिक वित्त कोषलाई कार्यान्वयन योग्न बनाउन जरुरी रहेको बताए । उनका अनुसार अन्य कोषहरु अहिले रकम जम्मा गरेर बसिरहेका छन् । अब बन्ने कोषहरु त्यस्तो हुनु हुँदैन । समितिको बैठकले वैकल्पिक वित्त सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकेको छ । समिति सभापति सन्तोष चालिसेले आगामी बैठकमा संशोधित विधेयकको मस्यौदा पेश गर्न समिति सचिवलाई निर्देशन दिए । मस्यौदामाथि छलफल गर्न आगामी अर्थ समिति बैठक अब ४ गते बुधवार बस्नेछ ।
सिटिजन्स क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा
काठमाडौं । सिटिजन्स क्यापिटलका २ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । सिटिजन्स क्यापिटलले दुई म्युचुअल फण्डहरु म्युचुअल फण्ड २ र सुपर ३० म्युचुअल फण्डबाट ईकाइधनि ८.२५ प्रतिशत र १२.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत संचालित योजनाहरुको कोष व्यवस्थापक सिटिजन्स क्यापिटलको आइतबार बसेको सञ्चालक समितिको बैठकले दुई म्युचुअल फण्डबाट ईकाइधनिहरुलाई लाभांश दिने निर्णय गरेको हो । बैंठकले सिटिजन्स म्युचुअल फण्ड २ बाट कर सहित ८.२५ प्रतिशत नगद लाभांश र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट कर सहित नै १२.७५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । त्यसैगरी, लाभांश वितरण प्रयोजनका लागि २ वटै फण्डले भदौ १३ गते बुक क्लोज गर्ने भएका छन् । जस अनुसार भदौ १२ गतेसम्म कायम इकाइधनीहरुले यी फण्डहरुले वितरण गर्ने नगद लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
नाडा अटो शोको तयारी अन्तिम चरणमा (फोटो–फिचर)
काठमाडौं । मंगलबारदेखि भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शो- २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । अहिले भृकुटीमण्डपमा स्टल बनाउने काम धमाधम भइरहेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले जनाएको छ । नाडाका अनुसार अटो शोलाई भव्य, व्यवस्थित र उत्कृष्ट बनाउनका लागि सजावटका कामहरु भइरहेका छन् । यसपटकको नाडा अटो शोमा मुख्य आकर्षकका रूपमा उड्ने कारदेखि रोबोटसम्म देख्न सकिनेछ । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले सक्रियता बढायो
काठमाडौं । फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले सक्रियता बढाउँदै लगेको छ । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा हालसम्मकै बढी फरार अभियुक्त पक्राउ परेका छन् । गत आवमा गृह प्रशासनको सक्रियताका कारण २४ हजार ३८२ फरार अभियुक्त पक्राउ पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा देशभरबाट कुल १४ हजार ७६४ फरार अभियुक्त प्रहरीले पक्राउ गरेको थियो । आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा फरार अभियुक्त पक्राउ परेको ६५.०८ प्रतिशतले बढी हो । त्यसैगरी, प्रहरीले आर्थिक वर्ष २०७९/८० मा ११ हजार ९०२ फरार अभियुक्त पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । गत आर्थिक वर्षमा अपराध अनुसन्धान र फैसला कार्यान्वयनमा गृहमन्त्रालय तथा मातहतका निकाय सक्रिय रहँदा परिणाम राम्रो आएको उनले बताए । गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्ष (गत आर्थिक वर्ष २०८१/८२) मा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सबैभन्दा बढी ६ हजार ३७५ फरार अभियुक्त पक्राउ गरेको तथ्याङ्क छ । त्यसैगरी, कोशी प्रदेश प्रहरीले तीन हजार ४८९, मधेस प्रदेश प्रहरीले पाँच हजार ७१२, बाग्मती प्रदेश प्रहरीले एक हजार ७०३, गण्डकी प्रदेश प्रहरीले एक हजार ४९१, लुम्बिनी प्रदेश प्रहरीले तीन हजार ९९६, कर्णाली प्रदेश प्रहरीले ५५६, सुदूरपश्चिम प्रदेश प्रहरीले ९२८ र केन्द्रीय अनुसन्धान ब्यूरोले १३२ फरार अभियुक्त पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक घिमिरेले जानकारी दिए । गत आर्थिक वर्षमा एक अर्ब, ५० करोडभन्दा बढी जरिवाना रकम समेत असुल उपर गरिएको छ । त्यसैगरी, जिल्लास्तरको फैसला कार्यान्वयनको विवरण अनुसार काठमाडौँ प्रहरी परिसर अग्रस्थानमा छ । जनघनत्व बढी भएको राजधानी काठमाडौँमा हरेक दिनजसो ठूला र साना ‘अप्रेसन’ जारी रहेको काठमाडौँ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । काठमाडौँबाट मात्रै पाँच हजार ५८५ फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको उनले बताए । जनशक्ति अभाव र सीमित स्रोतसाधनको अधिकतम प्रयोग गरी प्रहरीले फैसला कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । काठमाडौँ प्रहरी परिसरले गत आर्थिक वर्षमा देशभरमै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ गर्न सफल भएको छ । एक वर्षको अवधिमा परिसरले काठमाडौँबाट पाँच हजार ५८५ फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए । काठमाडौँ परिसरले आर्थिक वर्ष २०८०/८१ मा एक हजार ६७ फरार अभियुक्त पक्राउ गरेको थियो । गत आवमा उक्त सङ्ख्या पाँच हजार ५८५ पुगेको छ । फैसला कार्यान्वयनलाई परिसरले विशेष रणनीति बनाएर लागू गरिरहेको उनले जानकारी दिए । नेपाल प्रहरी सङ्गठनको वार्षिक कार्य सम्पादन सम्झौताअनुसार दण्डहीनताको अन्त्यका लागि फैसला कार्यन्वयनलाई उच्च प्राथमिकतामा राखिएको छ । त्यस्तै, गृहमन्त्री लेखकको कार्यकालको पहिलो वर्ष सहकारीसम्बन्धी ८२ मुद्दा दर्ता भएका छन् । मुलुकभरबाट सहकारी मुद्दाका पुरुष र महिला गरी ४५ अभियुक्त पक्राउ परेको प्रहरीको तथ्याङ्क छ ।
२७७० बिन्दुमा नेप्से, ६ अर्बको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २७७० बिन्दुमा पुगेको छ । आज १७५ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३२० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको २० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १८ करोड र कालिका पावरको १८ करोड र हिमालयन डिस्टीलरीको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारका समूहगत परिसूचकमध्ये बैंकिङ २.५३, विकास बैंक १८.३३, फाइनान्स २.२९, होटल र पर्यटन १७.१९, जलविद्युत ३४.७७, लगानी ०.४८, जीवन बीमा ४२.६६, उत्पादनमूलक ३७.७५, लघुवित्त ५.२०, निर्जीवन बीमा ४७.४५ र व्यापार समूह ५३.३८ प्रतिशतले बढेका छन् । तर, सोमबार सामूहिक लगानी कोष ०.१० र अन्य समूहगत सूचक १५.४३ प्रतिशतले घटेका छन् ।
मधेसी नेताको दोहोरो चरित्रले मधेश आन्दोलन ओइलाएको अनिल झाको दाबी
काठमाडौं । नवगठित नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसकेन्द्रित दलका नेताको दोहोरो चरित्रले मधेस आन्दोलन ओरालो लागेको बताएका छन् । सोही आन्दोलनलाई प्रभावकारी बनाउन आफूले सद्भावना पार्टी पुनर्गठन गरेको दावी झाको छ । आफू र आफ्नो दल पटक–पटक जनताबाट टेष्टेड हुन चाहेको झाले बताए । उनले पाँच–पाँच वर्षमा जनताको परीक्षामा परीक्षीत हुनु नै लोकतन्त्रको असली सुन्दरता रहेको बताए । अन्य मधेशी नेतालेजस्तो काठमाडौंमा आएर पहाडिया नेतासँग घाँटी जोड्ने अनि मधेश झरेपछि तिनको खैरो खन्ने दोहोरो चरित्र आफूले प्रदर्शन नगर्ने पनि झाले बताए ।
२५ अर्बको कारोबारमा सिमेन्ट उद्योगको नाफा १.१४ अर्ब रुपैयाँ मात्रै
काठमाडौं । पुँजी बजारमा सूचीकृत ४ वटा सिमेन्ट उद्योगले १ अर्ब भन्दा बढी नाफा गरेका छन् । शिवम् सिमेन्ट, घोराही सिमेन्ट इण्डष्ट्रिज, सोनापुर मिनिरल्स एण्ड आयल र सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब १४ करोड ४४ लाख ७२ हजार रुपैयाँ नाफा गरेका हुन् । समीक्षा अवधिमा घोराही सिमेन्टबाहेक अन्य तीन वटा सिमेन्ट उद्योगको नाफा बढेको हो । गत वर्ष चारवटै सिमेन्ट उद्योगले २५ अर्ब रुपैयाँ बराबरको गरेका छन् । गत असारसम्ममा चार वटा उद्योगको सञ्चालन आम्दानी २३.७० प्रतिशत अर्थात् ४ अर्ब ७८ करोड ६४ लाख १८ हजार रुपैयाँ बढेर २४ अर्ब ९८ करोड ६ लाख ९६ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । अघिल्लो वर्ष २० अर्ब १९ करोड ४२ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार गरेका थिए । गत वर्ष सबैभन्दा धेरै कारोबार सर्वाेत्तम सिमेन्टले गरेको छ । यस कम्पनीले ९ अर्ब ५५ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको जनाएको छ । यस्तै, शिवम् सिमेन्टले ७ अर्ब ७६ करोड रुपैयाँ, घोराही सिमेन्टले ५ अर्ब ५ करोड रुपैयाँ र सोनापुरले २ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार गरेका हुन् । घोराही सिमेन्ट गत वर्ष ६६ करोड ३ लाख ७९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष नोक्सानी घटाएको हो । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४४ करोड ७० लाख ८० हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ५ अर्ब ५ करोड ८ लाख ४३ हजार रुपैयाँ छ । अघिल्लो वर्ष ४ अर्ब ४७ करोड ७९ लाख ७० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कुल नाफा १ अर्ब २ करोड ५९ लाख ८० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३० करोड ८५ लाख हजार रुपैयाँ कुल नाफा थियो । गत वर्ष कम्पनीको बिक्री लागत ४ अर्ब २ करोड ४८ लाख ६२ हजार रुपैयाँ, प्रशासनिक तथा वितरण खर्च २८ करोड ९० लाख २९ हजार रुपैयाँ, वित्तीय लागत ८९ करोड २० लाख ६९ हजार रुपैयाँ रहेको छ । अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित नाफा अर्ब ३८ करोड २७ लाख ६६ हजार रुपैयाँ र सेयर प्रिमियम २ अर्ब ६५ करोड ८४ लाख ६८ हजार रुपैयाँ रहेको छ । सर्वोत्तम सिमेन्टको गत वर्ष खुद नाफा ५७२.५१ प्रतिशत १ अर्ब ४५ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १४ करोड ९३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा वर्षमा कम्पनीको सञ्चालन आम्दानी ४९.८७ प्रतिशत बढेर ९ अर्ब ५५ करोड ३ लाख ४८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ३७ करोड २३ लाख ३९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको कुल नाफा १७३.०१ प्रतिशत बढेर २ अर्ब ६ करोड २३ लाख ८३ हजार रुपैयाँ र अन्य आम्दानी २१८.०२ प्रतिशत बढेर २१८.०२ प्रतिशत बढेर १६ करोड १९ लाख ६९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रशासन खर्च ५६.१८ प्रतिशत बढेर १६ करोड ३५ लाख ६३ हजार रुपैयाँ, वितरण खर्च १७५.३७ प्रतिशत बढेर ४८ करोड ८५ लाख ८९ हजार रुपैयाँ र कुल खर्च ५४.३८ प्रतिशत बढेर ९४ करोड ८१ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीको चुक्ता पुँजी ७ प्रतिशत बढेर ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ र अन्य इक्विटी १२.८५ प्रतिशत बढेर ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी १६.९ड रुपैयाँ बढेर २०.१९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ । सोनापुर मिनरल्स एण्ड आयलको गत वर्ष खुद नाफा ६१ लाख ५० हजार रुपैयाँ धनात्मक छ । अघिल्लो वर्ष कम्पनीले ४७ करोड १० लाख ८ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ५९.४७ प्रतिशत बढेर २ अर्ब ६१ करोड ५२ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ६३ करोड ९९ लाख ९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १ हजार ८५६.७० प्रतिशत बढेर १ करोड २२ लाख ४९ हजार रुपैयाँ र कुल नाफा ७१२.५० प्रतिशत बढेर ७० करोड ६ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १३ करोड ६४ लाख ४१ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीको सञ्चालन नाफा गत वर्ष ४३ करोड ७० लाख ४५ हजार रुपैयाँ धनात्मक भएको छ । ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष २८८.८६ प्रतिशत बढेर १ अर्ब १२ करोड ९२ लाख ९५ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २० पैसा धनात्मक भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १५.३२ रुपैयाँ ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १९०.४९ रुपैयाँ रहेको छ । शिवम् सिमेन्टको गत खुद नाफा २०५.८५ प्रतिशत बढेर ७९ करोड ४१ लाख ८ हजार रुपैयाँ रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्ष २५ करोड ९६ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ०.७८ प्रतिशत बढेर ७ अर्ब ७६ करोड ४२ लाख ९६ हजार रुपैयाँ, अन्य आम्दानी ३०.७८ प्रतिशत घटेर १३ करोड ९४ लाख रुपैयाँ र कुल नाफा ६६.२९ प्रतिशत बढेर १ अर्ब ७२ करोड ९३ लाख ७८ हजार रुपैयाँ गरेको छ । समीक्षा वर्षमा कम्पनीको बिक्री लागत ९.४४ प्रतिशत घटेर ६ अर्ब ३ करोड ४९ लाख १७ हजार रुपैयाँ गरेको छ । कम्पनीको प्रशासनिक खर्च २१.४६ प्रतिशत बढेर २७ करोड ५१ लाख ३६ हजार रुपैयाँ, वितरण खर्च ३.६७ प्रतिशत घटेर ६५ करोड ५३ लाख ४६ हजार रुपैयाँ, वित्त लागत ७९.५० प्रतिशत घटेर १ करोड १ लाख ८६ हजार रुपैयाँ र कुल खर्च १.६६ प्रतिशत घटेर ९४ करोड ६ लाख ६९ हजार रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीको चुक्ता पुँजी ८.५४ प्रतिशत बढेर ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार रुपैयाँ, सेयर प्रिमियम रिजर्भ ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र अन्य जगेडा कोष १०.४६ प्रतिशत बढेर ३ अर्ब ८७ करोड ६७ लाख ५६ हजार रुपैयाँ रहेको छ । गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४.५५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.५७ रुपैयाँ रहेको छ ।