विकासन्युज

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सेफ्स बर्गरमा १० प्रतिशत छुट

काठमाडाैं । मुक्तिनाथ विकास बैंक र सेफ्स बर्गरबीच व्यवसायीक सम्झाैता भएकाे छ । सेफ्स बर्गरसँग बैंकले बैंकका भिसा डेबिट कार्ड प्रयाेगकर्तालाई छुट दिन समझाैता गरेकाे हाे । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सेफ्स बर्गरका विभिन्न शाखाहरुमा फुड एण्ड बेभरेज सेवामा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्क मा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

अवैधरूपमा घरमा राखिएको हुचिल बासस्थानमै छोडियो

गोरखा । डिभिजन वन कार्यालय गोरखाले अवैधरूपमा घरमा राखिएको अवस्थामा भेटिएका दुई हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडेको छ । यही जेठ १८ गते सहिदलखन गाउँपालिका–६ घर भएका २७ वर्षका मोहनसिं थापा र २० वर्षका विकास थापाको घरमा अवैधरूपमा राखिएको हुचिललाई १२ दिनपछि सोमबार साँझको समयमा प्राकृतिक बासस्थानमा पुर्याएर छाडिएको डिभिजन वन कार्यालय गोरखाका वनअधिकृत विनोद गायकले जानकारी दिए । हुचिल रातका समयमा स्वतन्त्ररूपमा सक्रिय हुने प्रजातिको पक्षी भएकाले कृत्रिम बासस्थान र आहाराबाट लामो समयसम्म बचाउन कठिन हुने जनाउँदै प्राकृतिक बासस्थानमै सुरक्षित छाड्न जिल्ला अदालत गोरखाले निर्देशन दिएपछि कार्यालयले सहिदलखन गाउँपालिकाको तामली भिरमा लगेर हुचिललाई उसकै बासस्थानमा छाडिएको उनले बताए । ‘हुचिललाई उसको साविकको बासस्थानबाहेक अन्य ठाँउमा छाड्दा आहाराको खोजीमा समय लाग्ने पनि हुन्छ’, वनअधिकृत गायकले भने, ‘यसलाई सजिलै प्राकृतिक बासस्थानमा घुलमिल हुन सजिलो होस् भनेर पनि प्राकृतिक बासस्थानमा छाडिएको हो ।’ बरामद पक्षीको जीवनरक्षाका लागि प्राकृतिक स्थानमै लगेर छाड्नका लागि अदालतले अनुमति दिएपछि डिभिजन वन कार्यालय गोरखाका अनुसन्धान अधिकृत गायक नेतृत्वको टोलीले बरामद भएको हुचिललाई प्राकृतिक बासस्थानमा छाडेको हो । वडाध्यक्ष दिलीपनारायण थापा, स्थानीयवासी, प्रहरी र पत्रकारको रहोवरमा हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडिएको वनअधिकृत गायकले जानकारीले दिए । ‘हुचिलको मुख्य आहारा खरायो, न्याउरी मुसा, मुसालगायत हो’, उनले भने, ‘दिनभरि आराम गर्ने र रातको समयमा आहाराको खोजीमा निस्कने र आहारा गर्ने गर्दछ ।’ नेपालको पहाडी भेगमा पाइने प्रजातिको हुचिल तराई भेगमा पाइने हुचिलभन्दा ठूलो हुने वनअधिकृत गायकको भनाइ छ । नेपालमा पाइने २३ प्रजाति हुचिलमध्ये नौ प्रजातिको हुचिल भने लोपोन्मुख अवस्थामा रहेको उनले जानकारी दिए। नेपालमा हुचिललाई किसानको साथी पनि भन्ने गरिन्छ । हुचिलसहित पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत गोरखामा अवैध वन्यजन्तुको आखेटोपसार ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको वनअधिकृत गायकले जानकारी दिए । रासस

त्रिविले भन्यो : समायोजन हुन इच्छुक क्यापसले निवेदन पेस गर्नु

काठमाडौं ।  त्रिभुवन विश्वविधालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस  गर्न आग्रह गरेको छ । सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो । त्रिविले आज सूचना जारी गर्दै सम्बन्धित इच्छुक क्याम्पसलाई सामायोजन हुन चाहने क्यापसले आफ्नो क्यापससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेश गर्न सूचना जारी गरेको हो । निवेदन गर्दा दुवै क्याम्पसको बेग्लाबेग्लै निवदेन  दिने, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिदको प्रतिलिपि पेस गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ सयले बढेको हो । सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

ईसेवा मनि ट्रान्सफरबाट पठाएको रेमिट्यान्स अब सिधै नबिल बैंकमा

काठमाडौं । ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबिच रेमिट्यान्स भुक्तानी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ। साथै अब विदेशमा रहेका नेपालीहरुले सिधै नबिल बैंकको खातामा पैसा पठाई नगद भुक्तानी गर्न सक्नेछन् ।

मलेशियाबाट आएको नेपाल एयरलाइन्सको जहाज पहिलो पटक भैरहवामा अवतरण

काठमाडौं । मलेशियाबाट आएको नेपाल वायुसेवा निगमको जहाज भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । २०७९ को वैशाख १५ गते औपचारिक रुपमा उद्घाटन गरिएको सो विमानस्थलमा निगमले पहिलो पटक उडान गरेको हो । १५८ सिट क्षमताको जहाजले मंगलबार ९० जना यात्रु लिएर भैरहवा आएको थियो । १ सय ५८ सिट क्षमताको निगमको नाइन एन एकेएक्स कल साइन भएको न्यारोबडी जहाज मंगलबार बिहान पौने ९ बजे भैरहवा अवतरण गरेको हो । मलेसियाबाट आएका ३० जना यात्रुहरूलाई भैरहवा अवतरण गराएर ६० जना यात्रु लिएर निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ । निगमले जेठ पहिलो साता मलेशिया–भैरहवा उडानको घोषणा गर्दै सुरूमा प्रवद्र्धनात्मक हवाई भाडा ११ हजार रूपैयाँ घोषणा गरेको थियो । तर हाल मलेसिया–भैरहवा ३१ हजार र मलेशिया काठमाडौं ५६ हजार रूपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको निगमले जनाएको छ । निगमले पहिलोपटक मलेशिया–भैरहवा उडान सुरू गरेपछि पर्यटनमन्त्री सुदन किराती आफैँ यात्रुहरूको स्वागतका लागी भैरहवा पुगेका  थिए । सातामा एउटा उडान निगमले सुरुवाती चरणमा मलेसिया भैरहवा उडान सातामा एक वटा गर्ने तयारी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलले सुरुवाती चरणमा एउटा उडान गर्नेभन्दै आवश्यकता अनुसार उडान थप गरिने बताए । उनका अनुसार मलेसियाबाट भैरहवाको उडान समय ४ घण्टा ४५ मिनेट हाराहारी रहनेछ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ ।

सेती नदीको वैज्ञानिक सिमाङ्कन गर्न माग

कास्की । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखबाट उत्पत्ति भएर पोखराको मध्यभाग भएर बग्ने सेती नदीको वैज्ञानिक सिमाङ्कनको माग गरिएको छ । नदीको सिमाङ्कन नहुँदा नदी दोहन बढेको भन्दै सेती नदी संरक्षण अभियानले स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो । सेती नदीको संरक्षणको काम गर्ने उद्देश्यसहित हालै जिल्ला प्रशासन कार्यालय कास्कीमा सेती नदी संरक्षण अभियान नामको सामाजिक संस्था दर्ता गरिएको छ । सेतीमा वर्षौँदेखि हुँदै आएको ढुङ्गा, बालुवा, गिट्टीको दोहन र नदी किनारामा बढ्दै गइरहेको मानव बस्तीका कारण नदीको प्राकृतिक बहावमा परिवर्तन हुँदा ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । कति क्षेत्रभित्र उत्खनन गर्ने भन्ने निश्चित नभएकाले जथाभावी र मनपरी तरिकाले दोहन बढेपछि नदीको सिमाङ्कन माग गरिएको होे । नदी गहिरिँदै गएको र नदीको बहावको तीव्रता बढेका कारण वर्षात्मा आसपासका निजी र सार्वजनिक जमिनको क्षयीकरण हुँदा करोडौँको लागतमा बनेका पुल, अन्तिम संस्कार गरिने घाटसमेत क्षतिग्रस्त भएको सेती नदी संरक्षण अभियानका अध्यक्ष हेमराज पौडेलले बताए । उनले भने , ‘धार्मिक आस्थाका स्थानसमेत जोखिममा रहेको र बढ्दो मानव क्रियायाकलापका कारण नदीको जल ढलमा परिणत भइरहेको छ । यस्तो दुर्दशा न्यूनीकरणको उद्देश्यले सेती आसपासमा बसोबास गर्ने जनसमुदायको अगुवाइमा सेती नदी संरक्षण अभियान सामाजिक संस्था दर्ता गरेका छौँ ।’ संस्थाले मुलतः सेती नदीको वैज्ञानिक सिमाङ्कन, नदीलाई प्राकृतिक अवस्थामा बग्न दिई थप क्षति हुन नदिन संरक्षणमुखी ठोस कार्य गर्न ल्याउन तीनै तहका सरकारसँग मागसमेत गरेको छ । नदीमा भइरहेको फोहरको व्यवस्थापन गर्न जनचेतना लगायतका समुदायस्तरबाट सरसफाइ कार्यको संयोजन, सांस्कृतिक, धार्मिक आस्थाका स्थलको संरक्षण तथा नदीलाई सौन्दर्यकरण गर्न सरोकारवालालाई उत्प्रेरित गर्ने खालका कार्यक्रम सञ्चालन गरिने अभियानले जनाएको छ । सेती नदी संरक्षण अभियानका पदाधिकारीले नदी संरक्षणका कार्यक्रम ल्याउन सोमबार पोखरा महानगर प्रमुख धनराज आचार्यसमक्ष माग गरेका छन् । प्रमुख आचार्यलाई महानगरमा भेट गरी उनीहरूले संरक्षणका लागि आग्रह गरेका हुन् । महानगरको आगामी वर्षको बजेट तथा कार्यक्रममा सेती सिमाङ्कन सेती नदीको प्राकृतिक बहावलाई कायम गर्न बिनाविलम्ब चाल्नुपर्ने कदम, नदी सरसफाइ र स्वच्छता कायम गर्ने गरी कार्यक्रम सञ्चालन गर्न माग गरेका हुन् । महानगरले नदीको सौन्दर्यकरण र पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिइएको छ । ‘संरक्षणका ठोस काम नगरी भविष्यमा कुनै पनि हालतमा दोहनरुपी उत्खनन गर्ने काम दोहोरिने छैन भन्ने अपेक्षा महानगरसँग गरेका छौँ’, अध्यक्ष पौडेलले भने, ‘महानगरले चाल्ने संरक्षणका ठोस तथा सकारात्मक क्रियाकलापमा अभियानको साथ र सहयोग रहने प्रतिबद्धता महानगरसमक्ष गरेका छौँ ।’

धनकुटामा रोजगार मेला हुँदै

धनकुटा । धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन सहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो । नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर अगामी असार २ गते नरपालिकाको प्राङ्गणमा मेलाको आयोजना गर्ने जानकारी दिएको छ । मेलामा नगर क्षेत्रमा रहेका उद्योग/व्यवसाय, बैंक तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसायलगायत १५ प्रदर्शनी कक्ष रहनेछन् । मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिए। कार्यक्रम नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता ‘सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत हुन लागेको हो ।