विकासन्युज

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य संस्था, होटल तथा रेष्टुरेन्टका साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी ग्राहकलाई छुट योजना ल्याएको छ । सम्झौतापछि बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले विशालनगरस्थित आरोगिन हेल्थ केयरका विभिन्न सेवाहरुमा ५ प्रतिशतदेखि अधिकतम ४५ प्रतिशत (कपाल रोप्ने र कपाल झर्ने रोगको उपचार) छुट उपलब्ध हुने छ । यसबाहेक इटहरीको होटल पाथिभरा इन्टरनेशनलका सेवाहरुमा १० प्रतिशत, मैतिदेवीको बुँइगल लाउन्ज एण्ड बारका सेवाहरुमा १५ प्रतिशत, लाजिम्पाटको एल्लो हात्तिका सेवाहरुमा अधिकतम १० प्रतिशत, इटहरी र मैतिदेवीको बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सेवाहरुमा १० प्रतिशत छुट हुने छ। यस्ता सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले जनाएको छ।

बाढीपहिरो प्रभावित क्षेत्रको जानकारी लिन प्रधानमन्त्री तुम्लिङ्टारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरो प्रभावित क्षेत्रको जानकारी लिन सङ्खुवासभाको तुम्लिङ्टार पुगेका छन्। अविरल वर्षाका कारण आएको बाढीपहिरामा परी सङ्खुवासभामा एक जनाको मृत्यु तथा १८ जना बेपत्ता भएका छन् । प्रधानामन्त्री दाहालले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जानकारी लिएका थिए । प्रधानमन्त्री दाहालले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना, सहानुभूतिका साथै उद्धार र राहत तथा बेपत्ताको खोजीकार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिँदै स्वयंसेवी सङ्घसंस्थालाई अपिल गरे । उनले तत्काल सडक सञ्जाल जोड्न बेलिब्रीज, घरबारविहीनलाई तत्काल स्थानान्तरण र भोलिका लागि आवासको व्यवस्था मिलाउन आवश्यकताअनुसार सरकारले तदारुकताका साथ काम गर्ने बताए । प्रधानमन्त्री दाहालको साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सहरी विकासमन्त्री सीता गुरुङ, सांसद योगेश भट्टराई, वसन्त नेम्वाङ, दिपक खड्का र कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की छन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, गृह मन्त्रालयका विपत् हेर्ने प्राविधिक इञ्जिनियर र प्रधानमन्त्री कार्यालयका विपत् हेर्ने अधिकृत पनि उनका साथमा छन् । प्रधानमन्त्री दाहालले आजै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवस्थाबारे जानकारी लिनेछन् ।

हुन्डाईका विद्युतीय गाडी किन्न अब ९.९९ प्रतिशत ब्याजदर, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना र आईओएनआईक्यू ५ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ । दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंक सँग साझेदारी गरि यस्तो योजना ल्याएको जनाएको छ । यस योजना अन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९.९९ प्रतिशत ब्याजदरमा (पहिलो बर्ष को लागि) हुन्डाइ कोना र आईओएनआईक्यू ५ खरिद गर्न सक्ने हुन्डाइले जनाएको छ । बैंकको ३०१ वटै शाखाबाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुने जनाइएको छ । हुन्डाइ कोना र आईओएनआईक्यू ५ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुबै ईभीले ग्राहकको मन जित्न सफल भएका छन् । आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंस र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । कोना ३ वटा भेरियन्टमा उपलप्ध छ । कोना एनएसको मूल्य ६० लाख ९६ हजार, जीएल ६१ लाख ९६,००० र जीएलएस भेरियन्टको ६४ लाख ९६ हजार रहेको कम्पनीले जनाएको छ । साथै,आईओएनआईक्यू ५ जीएलएस भिजन रुफ भेरियन्टको मूल्य १ करोड २ लाख ९६ हजारको मूल्यमा उपलब्ध छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४० भन्दा बदी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिदै आएको छ ।

विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने  तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताए । वित्तीय तथा विद्युतीय साक्षरताबारे माछापुछ्रे बैंक र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन), नेपालबीचको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा कार्यकारी निर्देशक पौडेलले विद्युतीय साक्षरताबारे पुराना पाठ्यक्रम पढाएर भन्दा पनि आधुनिकताको विकाससँगै हरेक दिनका नवीन आयामलाई शिक्षक र विद्यार्थीले आत्मसात् गर्नु पाउनुपर्नेमा जोड दिए । उनका अनुसार हाल प्रतिमहिना औसतमा रु ४० अर्बको विद्युतीय कारोबार हुने गरेको छ । गत वैशाखमा क्युआर कोडमार्फत ८६ लाख व्यक्तिले रु २६ अर्बभन्दा बढीको कारोबार गरेको भन्दै नेपालमा विद्युतीय कारोबारको प्रयोग बढ्दो रहेको बताए । राष्ट्र बैंकले चालु आर्थिक वर्षलाई विद्युतीय भुक्तानी प्रवद्र्धन वर्षका रुपमा सञ्चालन गरिरहेको छ । माछापुछ्रे बैंकका अध्यक्ष डा उपेन्द्र महतोले वित्तीय र विद्युतीय कारोबारलाई बढाएर समृद्ध मुलुक निर्माणमा योगदान दिन सकिने बताए । प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले आर्थिक  कारोबार र विद्युतीय मुद्दामा तल्लो तहसम्म सचेतना प्रवाह नभएसम्म मुलुक समृद्ध हुन नसक्ने बताए । सो अवसरमा प्याब्सन अध्यक्ष ढुङ्गाना र बैंकका प्रमुख कार्यकारी निर्देशक सन्तोष कोइरालाबीच वित्तीय तथा विद्युतीय साक्षरता अभियानसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । रासस

घोराही सिमेन्टको आईपीओमा बदमासी, पैसा नभएको खाताबाट लाखौंको आवेदन

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओमा ठूलो बदमासी गरेको आशंका गरिएको छ । कम्पनीको आईपीओ खरिद गरेर पनि ठूलो मात्रामा अस्वीकृत (अनभेरिफाइड) भएपछि मिलेमतोमा बदमासी गरेको आशंका गरिएको हो । कम्पनीको आईपीओमा माग गरिएको भन्दा बढी आवेदन परेको भएपनि समय थप गर्दा शंकाको घेरामा राखिएको छ । कम्पनीको आईपीओमा ठूलो संख्यामा आवेदन अनभेरिफाइड हुँदा शंकाको घेरामा राखिएको सिडिएस एण्ड क्लियरिङ्ग स्रोतले विकासन्युजलाई जानकारी दिएको छ । स्रोतका अनुसार झण्डै ८०/८१ लाख कित्ता सेयर खरिद गरेर पनि अनभेरिफाइड भएको छ । अन्य कम्पनीको आईपीओमा २०/२५ हजार कित्तासम्म अनभेरिफाइड हुने गरेको भएपनि घोराही सिमेन्टको आईपीओमा भने ठूलो सख्यामा हुनु शंका उत्पन्न भएको उनको भनाइ छ । ‘अन्य कम्पनीमा १२/१५ लाखले आवेदन दिँदा २०/२५ हजार कित्ता मात्रै अनभेरिफाइड हुन्थ्यो तर, यस कम्पनीको आईपीओमा रकम नभएको खाताबाट पनि आवेदन दिएको देखिन्छ, किन रकम नभएको मान्छेहरुले आवेदन दिए भनेर प्रश्न गर्ने ठाउँ छ,’ सिडिएस स्रोतले भन्यो । कम्पनीकै मान्छेले ठूलो रकम आवेदन दिन लगाएर सर्वसाधारणलाई आकर्षित गर्न खोजेको हुन सक्ने आशंका सिडिएस स्रोतले गरेको छ । कम्पनीको मान्छेले मिलेमतो गरेर रकम नभएको डिम्याट खाताबाट सेयर खरिद गरी सर्वसाधारणलाई आर्षित गर्न खोजेको जस्तो देखिएको छ । ‘ब्यालेन्स नभएको डिम्याट खाताबाट सब्सक्राइब देखाउनका लागि आवेदन दिएको पनि हुन सक्छ, यसरी ओभर सब्सक्राइब गरेको देखेपछि सर्वसाधारणले पनि राम्रो कम्पनी रहेछ, खरिद गर्नु पर्याे भनेर आवेदन दिन सक्छन्,’ उनले भने, ‘८०/८१ लाख कित्ता अनभेरिफाइड हुनु भनेको आश्चर्य नै हो, अनभेरिफाइड धेरै आउनुको कारण के हो ? यसमा केही बदमासी भएको छ की भनेर अनुसन्धानका लागि धितोपत्र बोर्डमा पनि जानकारी गराइसकेका छौं ।’ बिना रकमको चेक काट्यो भने चेक बाउन्सको कारवाही हुन्छ । यसमा पनि अनुसन्धान गरेर कारवाहीको दायरामा ल्याउन सिडिएसले माग गरेको छ । स्रोतका अनुसार धितोपत्रबार्डलाई यस विषयमा जानकारी पनि गराइसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित क्षेत्रका स्थानीयले कम्पनीको सेयरमा पूर्ण आवेदन दिएका थिएनन् । बाँकी रहेको सेयरसहित कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गर्दा बिक्री नहुने डरले ब्यालेन्स नभएको एकाउन्टबाट आवेदन दिन लगाएको हुन सक्ने सिडिएस स्रोतको दाबी छ । साथै, अझै १० कित्ता आवेदन भर्नेको भेरिफाइड गर्न बाँकी छ । अहिले लाखौं आवेदन दिनेको मात्रै भेरिफाइड गर्दा यो समस्या आएको हो । यसअघि आईपीओ जारी गरेका कम्पनीको सेयरमा कम्तिमा पनि १२ लाख जनाले आवेदन दिएका छन् । तर, घोराहीको आईपीओमा ५ लाखले आवेदन दिँदैमा ओभर सब्सक्राइब हुँदा पनि शंका गर्ने ठाउँ रहेको स्रोतको भनाइ छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग प्रमुख कार्यकारी अधिकृत (सीईओ) यथोचित संख्यामा आवेदन प्राप्त भएता पनि आवेदनहरु प्रमाणित हुने प्रक्रियामा रहेकोले समयावधि थप गरिएको बताउँछन् । यदि सोमबार नै रितपूर्वक प्रमाणित भए भोलि नै आवेदन बन्द गर्ने उनको भनाइ छ । उनका अनुसार अनभेरिफाइड आवेदनको चाम रहेको छ । ‘सिआश्वा सदस्य बैंकहरुबाट सबै आवेदन भेरिफाइड भएर आएको थिएन, अनभेरीफाइडमा ठूलो चाम देखिन्छ, जसले गर्दा हामीले समय थप गर्नु परेको हो, आजको तथ्याङ्क आउँछ, माग अनुसार भेरिफाइड भयो भने भोलि नै बन्द गर्छाैं,’ उनले भने ।

भारतमा अत्यधिक गर्मीका कारण करिब १०० जनाको मृत्यु

भारत । भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका रहेका बताइएको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्याङ्कअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो । यो सामान्यभन्दा ४.७ डिग्री सेल्सियस बढी हो । उत्तर प्रदेशको सबैभन्दा बढी प्रभावित जिल्ला बलिया हो । बलियाका प्रमुख स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, ‘सबै व्यक्ति केही न केही रोगबाट पीडित थिए र अत्यधिक गर्मीका कारण उनीहरुको अवस्था बिग्रिएको थियो । बिहीबार २३, शुक्रबार २० र शनिबार ११ जनाको मृत्यु भएको थियो ।’ यसबाहेक बलियाको एक जिल्ला अस्पतालमा पछिल्लो तीन दिनमा कम्तीमा ४०० जनालाई भर्ना गरिएको उनले बताउनुभयो । गर्मीका कारण ज्वरो आउने, सास फेर्न गाह्रो हुने र अन्य स्वास्थ्य समस्या देखिएको बिरामीले गुनासो गरेका थिए । जिल्ला प्रशासनका अनुसार बिरामी र कर्मचारीलाई गर्मीको जोखिम हुन नदिन सरकारी अस्पतालमा पङ्खा, एयरकुलर र एयर कन्डिसनरको व्यवस्था गरिएको छ । बिरामीको चापका कारण अस्पतालमा चिकित्सक र प्यारामेडिकल स्टाफको सङ्ख्या बढी रहेको छ । रासस

एभरेष्ट बैंकको १२६ औं शाखा नवलपरासीको दलदलेमा

काठमाडौं । एभरेष्ट बैंकले नवलपरासीको दलदलेमा आफ्नो १२६ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवचुली नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष एक देव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा उद्योग वाणिज्य संघ देवचुली नगरपालिकाका बरिस्ठ उपाध्यक्ष तेज प्रसाद न्यौपाने, शसस्त्र प्रहरी बलका निरिक्षक विनोद पौडेल, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधिर गौतम साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । सो उद्घाटन समारोहमा देवचुली नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष एक देव पौडेलले दलदलेमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ्गले बर्दघाट र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गर्नुका साथै पंजाब नेशनल बैंक भारतसंगको साझेदारीले गर्दा स्थानिय बासिन्दा र पूर्व भारतिय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे । यससंगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १३ पुगको छ ।  

पाँचथर पहिरो : १२ जनाको हेलिकोप्टरबाट उद्धार

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ । प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार १२ जना  शनिबार रातिदेखि पहिरोमा फसेका थिए । घर रहेको स्थानको चारैतर्फ पहिरो आए पछि उनीहरु सुरक्षित स्थानमा जान सकेका थिएनन् । पीडित रातिदेखि नै उद्धारको पर्खाइमा थिए । हेलिकोप्टरमा उद्धार गरिएकाहरुमा ६० वर्षीया नरमाया गुरूङ, १६ वर्षीय सन्दीप गुरूङ, नौ वर्षीया हिमा गुरूङ, ८० वर्षीय कृष्णबहादुर गुरूङ, ६० वर्षीया डिकमाया गुरूङ, ३५ वर्षीय काजुहाङ गुरूङ, ३० वर्षीया सुनिता गुरूङ, ४३ वर्षीय मनबहादुर गुरूङ, ४४ वर्षीया मनकुमारी गुरूङ, १६ वर्षीया सुष्मा गुरूङ, ७० वर्षीय पदमबहादुर खालिङ र ६८ वर्षीया मनमाया खालिङ छन् । उनीहरुलाई विद्यालयमा अस्थायी आश्रयस्थल बनाएर राखिएको डिएसपी खतिवडाले जानकारी दिए । रासस