औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु : औषधि विभाग
काठमाडौं । औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शङ्का लागेमा परीक्षण गरेर मात्र बिक्री वितरण गर्न अनुरोध गरेको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरियताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर एकीन गरेपछि मात्रै मात्र बिक्री वितरण गर्न अनुरोध गरेका हुन् । ’विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री वितरण हुने औषधिको गुणस्तरियताको सम्बन्धमा यस विभागमा जनगुनासो प्राप्त भएका छन्,’ उनले भने, ’औषधि ऐन, २०५३ को दफा १२ अनुरुप औषधि सुरक्षित, असरमुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेकाले सबै अस्पतालमा सञ्चालित फार्मेसीले औषधिको खरिद तथा बिक्री वितरण गर्दा परीक्षण गराउनु पर्नेछ ।’ महानिर्देशक दकालले औषधिको गुणस्तर एकीन गरेर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने बताए । औषधि वितरक तथा औषधि पसल सञ्चालक नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्दै गुणस्तरीय औषधि सेवन गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।
चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीमा रोक
चितवन । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी) मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको हो । यससँगै डुङ्गा सञ्चालनजस्ता पर्यटकीय गतिविधिमा समेत रोक लगाइएको निकुञ्ज प्रशासनले जारी गरेको सूचनमा उल्लेख छ । अर्को सूचना जारी नहुँदासम्मका लागि सफारीमा रोक लगाइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सफारीका लागि ६५ जिपले अनुमति लिएका छन् । सौराहाबाट ३२, कसराबाट १६ र मेघौलीबाट नौ जिपले अनुमति लिएको उनले जानकारी दिए। यस्तै उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा जिपले निकुञ्जभित्र सफारीका लागि अनुमति लिएका छन् । डुङ्गा सञ्चालनका लागि तीन घाटमा ठेक्का लागेको उनले बताए । राप्ती नदीमा रहेका छ घाटमध्ये तीन घाटबाट मात्र डुङ्गा सफारी हुँदै आएको थियो । वर्षात् सुरु भएसँगै निकुञ्ज र नदीमा हुने पर्यटकीय गतिविधिमा रोक लगाइएको हो । मध्यवर्ती सामुदायिक वनतर्फ हुने गतिविधिमा भने मध्यवर्ती व्यवस्थापन समितिले निर्णय गर्ने उनले जानकारी दिए । यस क्षेत्रका सामुदायिक वनमा हात्ती सफारी र डुङ्गा सफारी हुँदै आएको छ । निकुञ्जमा हालसम्मकै बढी पर्यटक यस वर्ष छिरेका थिए । रासस
रेनु दाहालले सुरु गरिन् केरुङ्गा खोलाको सीमाङ्कनको काम
भरतपुर । भरतपुरको केरुङ्गा खोलाको सीमाङ्कनको काम सुरु भएको छ । आज महानगरपालिकाको वडा नं ५ र ६ को सिमानाबाट सीमाङ्कनको काम सुरु गरिएको हो । खोला सीमाङ्कनको काम सुभारम्भ गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाले सार्वजनिक जमिन संरक्षणको कामलाई निरन्तर अघि बढाएको बताइन् । उनले महानगरमा अतिक्रमित जमिनको संरक्षण गरिने भन्दै सबैको साथ र सहयोगको आवश्यकता रहेको बताइन् । ’सार्वजनिक जग्गामा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई महानगरपालिकाले प्राथामिकता राखेको छ’, महानगरप्रमुख दाहालले भनिन्, ’व्यक्ति विषेश वा संस्थाले ओगटेको सार्वजनिक सम्पत्तिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको छ ।’ केरुङ्गा खोला संरक्षण समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीले वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुग्ने खोला ३० किलोमिटर लामो रहेको बताए । उनका अनुसार उक्त खोला वडा नं १२, ९, ८, ७, ६, ५, १४, २२ र २३ नं हुँदै बगेको छ । संयोजक अधिकारीले प्रक्रिया पूरा गरेर सार्वजनिक जमिनलाई संरक्षण गरिने बताए । हिउँदमा नारायणी लिफ्टको पानी नहरमा हालेर केरुङ्गामा डुङ्गा चलाउने योजना बनाइएको उपप्रमुख अधिकारीले बताए । खोलाको संरक्षण पश्चात यसको सौन्दर्यकरण गर्ने काममा लाग्ने उनको भनाइ छ । केरुङ्गा खोलाको सीमाङ्कनको कार्य निरन्तर अघि बढ्ने महानगरपालिकाका इन्जिनियर शिवहरि अधिकारीले बताए । ’केरुङ्गा खोलाको सौन्दर्यकरण तथा पूर्वाधार निर्माणका लागि १४ करोड रुपैयाँ विनियोजन भएको छ’, उनले भने, ’केरुङ्गा खोलाको गुरुयोजनाअनुसार यसको सौन्दर्यकरण गर्न तीन अर्ब रुपैयाँ बढी लाग्ने अनुमान गरिएको छ ।’ खोलामा डुङ्गा चलाउन मिल्ने गरी दाँयाबायाँ साइकल ट्र्याक र ठाउँ ठाउँमा पार्कसमेत निर्माण गरिने उनले जानकारी दिए । रासस
नेपालमा तीन दिन बसेर ज्याक मा पाकिस्तानतर्फ प्रस्थान
काठमाडौं । चिनियाँ खर्बपति ज्याक मा पाकिस्तान तर्फ प्रस्थान भएका छन् । उनी नेपालमा तीन दिन बसेर आज बिहान ११ बजेको जहाजमा पाकिस्तानतर्फ प्रस्थान भएका हुन् । उनी मंगलबार विशेष विमानमार्फत् नेपाल आएका थिए । विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत् मंगलबार काठमाडौं आएका थिए । उनी नेपाल आउनु कारण भने खुलेको छेन ।
वैदेशिक रोजगारी छाडेर पशुपालन गरेका कृषक उत्कृष्ट
बेनी । बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुङ्गाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृषि पुरस्कारका लागि छनोट भएका छन् । म्याग्दी जिल्लाकै अगुवा कृषकका रूपमा परिचित ढुङ्गानाले सञ्चालन गरेको ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृषि सम्मानको सूचीमा समावेश भएको हो । वैदेशिक रोजगारीका लागि एक दशक खाडी मुलुकका विभिन्न देशमा बिताएर स्वदेश फर्किएपछि विसं २०७० देखि निरन्तर पशुपालनमा सक्रिय ढुङ्गानालाई उत्कृष्ट कृषि पुरस्कारबाट शुक्रबार एक कार्यक्रमकाबीच सम्मान गरिने प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । कतार, यूएई, बहराइन र साउदी अरबमा गरी दश वर्षपछि स्वदेश फर्केर पाँच लाख रुपैयाँको लगानीमा एउटा भैँसी र गाईबाट पशुपालन सुरु गरेका ढुङ्गानाले अहिले मनग्ये आम्दानी गर्दै आएका छन् । वैदेशिक रोजगारीलाई बिट मारेर पशुपालन व्यवसायमा लागेका ढुङ्गाना यही साता बेनी नगरपालिका वडा नं ७ बाट पनि उत्कृष्ट कृषकका रुपमा सम्मानित भएका थिए । फार्ममा अहिले स्थानीय र मुर्रा जातका दुहुना भैँसी, जर्सी गाई, बाच्छाबाच्छी गरी ३५ वटा पशु रहेका ढुङ्गानाले जानकारी दिए । उनका अनुसार फार्ममा रहेका ३० दुहुना गाई भैँसीबाट दैनिक दुई सय लिटरसम्म दूध उत्पादन गरी बिक्री हुने गरेको छ । फार्म निर्माण, गाई भैँसी खरिदलगायत कामका लागि हालसम्म एक करोड रुपैयाँ लगानी गरिसकेको ढुङ्गानाको भनाइ थियो । फर्ममा तीन जनाले रोजगारीसमेत पाएको उनले बताए । गण्डकी प्रदेशबाट उत्कृष्ट कृषकका रूपमा पुरस्कृत हुने खबरले पशुपालनलाई थप व्यवस्थितरूपमा अगाडि लैजाने ऊर्जा मिलेको ढुङ्गानाले बताए । गण्डकी प्रदेशले शुक्रबार विभिन्न विधाका पाँच जनालाई पुरस्कृत गर्दैछ । रासस
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए । बेथिति, भ्रष्टाचार, विकास योजनाजस्ता समस्या भएमा सांसदलाई सम्पर्क गर्न सकिने र त्यसका लागि अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देश ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ । रास्वपाले विज्ञप्ति जारी गरी सांसद डोलप्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर र कैलाली, विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा, सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख र बाजुरा, निशा डाँगीलाई झापा, मोरङ, इलाम र सल्यान, मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङ, गणेश पराजुलीलाई ओखलढुङ्गा, खोटाङ, सिराहा र डडेलधुरा, सोविता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट, सुमना श्रेष्ठलाई रसुवा, काठमाडौँ, रुकुमपूर्व र रुकुमपश्चिम, डा तोसिमा कार्कीलाई ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुरको जिम्मेवारी तोकिएको जनाएको छ । यसैगरी शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही र सप्तरी, हरि ढकाललाई सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुर, डा स्वर्णिम वाग्लेलाई गोरखा, पर्सा, बैतडी र तनहुँ, डा चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी, असिम साहलाई काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तु, लक्ष्मी तिवारीलाई प्युठान, परासी, बर्दिया र बाँके, अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, सङ्खुवासभा र सुनसरी, शिव नेपालीलाई लमजुङ, म्याग्दी, पर्वत र कास्की, बिनिता कठायतलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत र डोल्पा तथा विन्दबासिनी काङसकारलाई स्याङ्जा, बाग्लुङ र मकवानपुरको जिम्मेवारी तोकिएको छ । ‘नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरूसंँग देशभरका सचेत नागरिकले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न, आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसको कार्यान्वयनमार्फत मुलुकको अवस्था बदल्नका लागि सांसदहरूलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको ब्यहोरा सबैलाई विनम्र सूचित गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । रासस
घरको मठमा कीटाणुनाशक तुलसी रोपियो
काठमाडौं । बहुगुणले युक्त वनस्पति तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । आषाढ शुक्ल एकादशीका दिन दलबाट घरको तुलसीको मठमा बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको हो । आयुर्वेद क्षेत्रमा लामो समय काम गर्दै आएका प्रा. डा. चन्द्रराज सापकोटाले वैज्ञानिक र औषधीय गुणले युक्त भएकाले पुर्खाले घर–घरमा यसको मठ बनाएर पूजा आराधनाको रीत बसालेको बताए। आफू सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक भएका बेला विसं २०५५ मा औषधीय गुणले युक्त तुलसीबाट चिया समेत उत्पादन गरेको उनको भनाइ छ । ‘तुलसीको चियाले मानव शरीरका कीटाणु नाश गरी स्वस्थ बनाउने भएकाले दैनिक सेवन गर्नु फलदायी हुन्छ, कोरोना महामारीको सङ्क्रमणदर तीव्र भएका बेला तुलसी, सुठो, पिप्ला, मरिच, त्रिकटुलाई काँडा पानी बनाएर पिउनेहरु बढेका थिए । कीटनाशक भएकाले पनि वैदिककालदेखि तुलसीको महत्व बढेको हो’, प्रा. डा. सापकोटाले भने । हामीकहाँ उपलब्ध वनस्पति र खाद्यान्न स्वास्थ्यसँग सम्बन्धित भएको भन्दै अमृता समेत भनिने गुर्जो धेरै रोगका लागि लाभदायक रहेको उनको भनाइ छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई भगवान विष्णुको प्रतीकका रुपमा पनि लिइन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईको भनाइ छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण चान्द्रमास अनुसार पाँच महिना हुने भएको छ । एक वर्षमा २४ एकादशी पर्छन् भने अधिकमास परेको वर्ष भने २६ वटा एकादशी पर्छन् । सबै एकादशीका दिन सक्नेले फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्ने चलन छ । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । यी दुवै एकादशीलाई ठूलो एकादशी भन्ने प्रचलन छ । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ । चतुर्मासाभर देशभरका नारायण मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने भएको तुलसी विभिन्न रोगका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले वास्तु दोष निवारण भई सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट पूजा आराधनासहित चतुर्मासा व्रतको उद्यापन गरिन्छ । उद्यापनका लागि मार्गशीर्ष कृष्ण पञ्चमीका दिनसम्म जुराउनु नपर्ने र त्यसपछि भने अग्निस्थापना जुरेका दिन हवन गरी तुलसीको व्रत समापन गरिन्छ । रासस
बङ्गुरपालनमा रमाउँदै वडाध्यक्ष सिंजाली, वार्षिक १४ लाख आम्दानी
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ । सिंजाली बिहानै बङ्गुरका लागि कुँडो पकाउँछन् । कुँडो पाक्दै गर्दा उनी बङ्गुरको गोबर सफा गर्न थाल्छन् । अनी पालैपालो बङ्गुरका माउ र बच्चालाई पाकेको कुँडो खुवाउँछन् । सिंजालीले बङ्गुरको स्यहारसुसार गरेर सात आठ बजेभित्र नै सकाउँछन् । वडा कार्यालय जानुपर्ने भएकाले यो समयमा बङ्गुरको स्यहार गरेर सक्काउनु उनको बाध्यता हो । समय भएपछि सारा बङ्गुर स्याहार्ने जिम्मा श्रीमती गङ्गारानालाई दिएर उनी कार्यालयतिर हानिन्छन् । कार्यालयबाट साँझ अबेर फर्के पनि खोरमा रहेका बङ्गुर र पाठापाठीको अवस्था हरेर मात्र दलबहादुर अन्य काममा लाग्छन् । सिंजालीले तीन वर्षदेखि आफ्नै गाउँ बज्रेमा रजनी कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिकरुपमा बङ्गुरपालन गर्दै आएका छन् । वार्षिक १४ लाख ४० हजार रुपैयाँ बराबरको मासु र बङ्गुरका पाठापाठी बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘एक महिनामा १८ देखि २० बङ्गुरका पाठापाठी जन्मिन्छन्’, सिंजालीले भने, ‘बङ्गुरको पाठापाठी छ हजार रुपैयाँमा र वयस्क तथा उत्पादन दिन छोडेका बङ्गुर तौल हेरेर बिक्री गर्ने गरेको छु ।’ उत्पादित मासु गल्याङ नगरपालिकाभित्र नै खपत हुने गरेको उनले बताए । ‘व्यावसाय गरेर आर्थिकरुपमा आत्मनिर्भर बनाउन यो काम गरेको हुँ’, सिंजालीले भने, ‘यो व्यवसायले परिवारलाई आवश्यक खर्च धानिएको छ, फालिएका अन्नपातको समेत सदुपयोग भएको छ ।’ गल्याङको हावापानी बङ्गुरपालनका लागि उपयुक्त भएको उनको भनाइ छ । सिंजालीकी जीवनसङ्गिनी गङ्गारानाले श्रीमान्को जाँगर र पौरख देखेर आफूलाई गौरव महसुस हुने गरेको बताइन् । ‘उहाँ आइपरेका सबै काम झर्को नमानी गर्नुहुन्छ’, उनले भनिन् । गल्याङ नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले गल्याङमा बङ्गुरको मासु अत्यधिक खपत हुने गरेकाले बजारीकरणको समस्या नभएको बताइन् । नगरपालिकाले कृषकलाई समयमा निःशुल्क प्राविधिक सेवा, उपचार, बीउबिजन, निःशुल्क पशु बीमा, फार्म सुधार कार्यक्रमअन्तर्गत अनुदान उपलब्ध गराएका कारण कृषक पशुपालनतर्फ आकर्षित हुँदै गएका उनको भनाइ छ । रासस