बाह्रै महिना सिँचाइको व्यवस्था गर्छौं : रेनु दाहाल
रत्ननगर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कृषकलाई बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने गरी काम भइरहेको बताएकी छिन् । बीसौँ राष्ट्रिय धान दिवसको अवसरमा चितवनको भरतपुरमा आज आयोजना गरिएको रोपाइँ महोत्सवमा उनले आकाशको पानी कुरेर कृषकले धान रोप्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएकी हुन् । ‘भरतपुर महानगरपालिकामा सबै खालका खेतीको सम्भावना छ’, उनले भने, ‘धान, गहुँ, तोरी, तरकारी खेतीसहित सबै अन्नबालीको राम्रो उत्पादन भइरहेको छ, त्यसैले अब यहाँका किसानलाई बाह्रै महिना पानीको सुविधा पुर्याउन हामीले काम गरिरहेका छौँ ।’ अहिले महानगरमा सिँचाइको पर्याप्त व्यवस्था गर्न नसक्दा किसान दुःखी भएका उल्लेख गर्दै उनले वैकल्पिक व्यवस्था गरेर भए पनि महानगरपालिकाले भूमिगत सिँचाइका साधन बोरिङ, स्यालो ट्युबबेल, ट्युबबेलका माध्यमबाट पानीको सुविधा पुर्याइरहेको बताइन् । ‘अहिले नारायणी लिफ्ट सिँचाइमा काम भइरहेको छ, त्यहाँ अत्याधुनिक उपकरण जडान भइरहेको छ’, उनले भने, ‘निकट भविष्यमा हामीले त्यसलाई सञ्चालनमा ल्याउनेछौँ, किसानले आकाशको पानी कुरेर बस्नुपर्दैन ।’ आज राष्ट्रिय धान दिवसको अवसर पारेर भरतपुरमा पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री आउनुले पनि यहाँको कृषि क्षेत्रले सबैको ध्यान खिचेको दाहालले बताइन् । भरतपुर भ्रमण वर्षको पूर्वसन्ध्यामा यसरी देशका शीर्ष नेता यहाँ आउनुले भरतपुरको प्रचारप्रसारमा थप टेवा पुगेको उनको भनाइ छ । पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु पनि धान दिवस मनाउन चितवन पुग्नुभएको छ । महानगरपालिकाले किसानलाई अनुदानमा बीउबिजन उपलब्ध गराउँदै कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याएको उनले बताइन्। पछिल्लो पाँच वर्षमा महानगरपालिकाले सात हजार बिघा क्षेत्रफलमा वैकल्पिक व्यवस्था गरेर सिँचाइ पुर्याएको भन्दै उनले सिँचाइका लागि मात्रै चार अर्ब बढीको आयोजना सञ्चालनमा रहेका बताइन् । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुर महानगरपालिले त्रिपुरेश्वर कृषि सहकारीसँगैको सहकार्यमा आज राष्ट्रिय धान दिवसको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले कृषिको विकास गर्न निरन्तर काम गर्दै आइरहेको बताइन्। ‘भरतपुर कृषिको आकर्षणको केन्द्र बन्दै गइरहेको छ’, उनले भने, ‘यहाँको कृषि र पशु विकासको काम देखेर अहिले केन्द्रीय नेताको समेत आकर्षण भएको छ ।’ महानगरपालिकाले आन्तरिक बजेटबाट १५ करोड कृषि र पशुपन्छीका लागि विनियोजन गरेको अधिकारीले बताइन् ।
‘ट्रायल’ पास हुने १० प्रतिशतले बढे
काठमाडौं । चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै दुई पाङ्ग्रे सवारीसाधनको ट्रायल परीक्षा पास हुने १० प्रतिशतले बढे्का छन् । बागमती प्रदेश सरकारले गरेको निर्णय अनुसार काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले गत फागुनदेखि ट्रायल दिँदा ७० प्रतिशत आए पास हुने नियम लागू गरेका थिए । पहिले दुई पाङ्ग्रे सवारीसाधनमा स–साना गल्तीका कारण फेलको सङ्ख्या बढी भएकाले अहिले प्रयोगात्मक परीक्षामा ७० प्रतिशत हुँदा पास हुने व्यवस्था लागू गरेपछि पास हुनेको सङ्ख्या बढेको यातायात व्यवस्था कार्यालय (चालक अनुमतिपत्र) एकान्तकुनाका प्रमुख राजकुमार कपालीले बताउनुभयो । दुई पाङ्ग्रे सवारीसाधनमा पास हुनेको सङ्ख्या १० प्रतिशत बढे पनि चार पाङ्ग्रे सवारीसाधनको परीक्षामा भने पहिलेभन्दा उल्लेखनीय रुपमा बढ्न नसकेको उनले बताए। गाडीमा धेरैजसो उकालो र हिल ब्रेकमा फेल हुने प्रमुख कपालीले बताए। चार पाङ्ग्रे तथा ठूला गाडीमा ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागू भए पनि गाडीको ट्रायलमा मौका नहुने भएकाले फरक नपरेको उनले बताए। अनुमतिपत्रको परीक्षामा पहिले गाडीमा भन्दा मोटरसाइकल र स्कुटरमा बढी फेल हुने गरेको यातायात कार्यालयले जनाएको छ । पुरानो कार्यविधिअनुसार परीक्षा दिँदा सेवाग्राहीले मोटरसाइकल चलाउँदा एउटा खुट्टा टेकेर फेल हुने गरेका थिए । धेरै सेवाग्राही ट्राफिक बत्तीमा झुक्किएर पनि फेल हुने गरेको प्रमुख कपालीले बताए। उनले भने, ‘अहिले आठमा खुट्टा टेक्दा एक पटक मौका पाउने र बत्तीमा पनि मौका पाउने गरेका छन् ।’ यातायात व्यवस्था कार्यालयमा पहिले सेवाग्राहीको भीड व्यवस्थापनको समस्या रहेकामा अहिले उक्त समस्या समाधान भइरहेको उनले बताए। ‘नयाँ दर्ता तथा लिखित परीक्षामा समस्या थियो । अहिले समाधान भइरहेको छ’, प्रमुख कपालीले भने, ‘लिखित परीक्षा बिहान ७ बजे सुरु गरेर १० बजेसम्म सकाउने गरेपछि कर्मचारी र सेवाग्राही दुवैलाई सजिलो भएको छ ।’ प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा पास हुने नियम अरू प्रदेशले यसअघि नै कार्यान्वयन गरे पनि बागमती प्रदेशले भने ढिला सुरु गरेको थियो । विगतमा शत प्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागू हुँदा दुई पाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत सेवाग्राही पास हुने गरेका यातायात व्यवस्था विभागले जनाएको छ । लिखित परीक्षा पास भएका सेवाग्राहीले प्रयोगात्मक परीक्षा एक पटक फेल भए पनि तीन पटकसम्म दिन पाउने व्यवस्था छ ।
किसानले बैंकमा गएर कर्जा लिने दिनको अन्त्य भयो : कार्यकारी निर्देशक पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले अब किसानले बैंकमा गएर कर्जा लिने दिनको अन्त्य भएको बताएका छन् । एनएमबि बैंक र खेती डिजिटल प्ल्याटफर्मबीचको ‘एनएमबि खेती कर्जा’ सम्झौता कार्यक्रममा बोल्दै पौडेलले किसानहरुले अब मोबाइल एप प्रयोग गरी कृषि कर्जा पाउने भएकाले बैंकको शाखा कार्यालयमा धाउनु नपर्ने बताएका हुन् । ‘किसानहरुले पछिल्लो समय सहज रुपमा कर्जा पाउने व्यवस्था बनिसकेको छ, एनएमबि खेती प्ल्याटफर्म मार्फत् कर्जा उपलब्ध हुने भएपछि किसानले बैंकमा उपस्थित भएर कर्जा लिने दिनको अन्त्य भएको छ,’ उनले भने, ‘वि.सं. २०७८ माघ २८ गते डिजिटल लेण्डिङ्ग गाइडलाइन जारी गर्दा बैंक तथा वित्तीय संस्थाहरुले बिना धितो उपस्थित नभएर २ लाखदेखि ५ लाखसम्म कर्जा उपलब्ध गर्न सकिने भनेर उल्लेख छ, बैंकहरुले यसलाई कसरी कार्यान्वयन गर्नु हुन्छ भन्ने चासोको रुपमा राष्ट्र बैंकले हेरिरहेको थियो, एक÷दई अर्ब रुपैयाँ बराबरको कर्जा डिजिटल माध्यमबाट प्रवाह भएको उनले बताए । तर, समूहगत रुपमा एउटै प्ल्याटफर्मबाट धैरै जनालाई कर्जा उपलब्ध हुने उनले अपेक्षा गरे । एनएमबि बैंकले आधार दरमा ०.५ प्रतिशत प्रिमियम जोड्दा किसानहरु लाभान्वित हुने उनको भनाइ छ । ‘राष्ट्र बैंकले साना किसानहरुका लागि आधार दरमा २ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिन निर्देशन दिएको छ तर, एनएमबि बैंकले तीन महिनाको लागि आधार दरमा ०.५ प्रतिशत मात्रै प्रिमियम लिने भएको छ, यसले प्रशासनिक खर्च पनि उठ्दैन, निक्षेप संकलन गर्दा तिर्नु पर्ने ब्याज सरह नै बैंकले कर्जा दिने भएको छ, यो पनि चासोको विषय रहेको छ,’ उनले भने । बैंकहरुले कृषि क्षेत्रमा कूल कर्जाको १५ प्रतिशत कर्जा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्था राष्ट्र बैंकले बनाएको उनको भनाइ छ । तर, कृषि कर्जा लिने ग्राहकहरुको संख्या कम र क्षमतावान लगानीकर्ता नभएको उनले बताए । ‘४८ खर्ब कूल कर्जा प्रवाह गर्दा ६ खर्ब रुपैयाँ बराबर कृषि क्षेत्रमा लगानी भएको छ, बैंकहरु कृषि क्षेत्रमा लगानी गर्न तयार छन्, कृषिको लागि बजार पनि उपलब्ध छ, तर कर्जा लिने किसानहरुको क्षमता कम छ,’ उनले भने । किसानले सडकमा टमाटर फालेपनि काठमाडौंमा २५ रुपैयाँभन्दा कम मूल्यमा खरिद गर्न नपाइएको बताउँदै यसमा राज्यले ध्यान दिनुपर्ने उनको भनाई छ । साथै, उनले किसानले कर्जासँगै कृषि बीमा समेत गर्नुपर्ने बताएका छन् । ‘यदि किसानले कर्जा लिँदा बीमा गर्यो भने कुनै पनि रोग वा असिना पानीले क्षति गरेपनि बीमाले बेहोर्छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।
एउटै गाउँमा ५ करोडको लिची उत्पादन
गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका-३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन् । यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ । यहाँका कृषकले हिजोआज परम्परागत रुपमा गर्दै आएको मकै खेतीलाई छोडेर मकै लगाउने बारीमा लिचीका बोट लगाउँदै आएका छन् । बारीका डिल र छेउछाउका बगैँचामा बोटैभरि राताराता दाना लिची लटरम्म फलेका देखिन्छन् । बोटमा पाकेका राता दानाले सिङ्गो गाउँ नै यतिबेला राताम्य देखिएको छ । कृषकलाई बोटमा भर्याङ ठड्याएर पाकेका लिचीका दाना टिप्न भ्याइनभ्याइ छ । हिजोआज थोर्गा गाउँमा पुग्ने व्यक्ति बगैँचा वरिपरि घुम्ने, तस्बिर खिच्ने र टिकटक बनाउनमा व्यस्त देखिन्छन् । लिची खेती गर्न थालेपछि आम्दानी मनग्य हुन थालेको र जीविकोपार्जनमा सहज भएको यहाँका किसान बताउँछन् । गाउँमा एक घरमा न्यूनतम दशदेखि एक सयसम्म लिचीका बोट रहेको स्थानीय सामाजिक अगुवा घनश्याम ज्ञवालीले बताए । उनका अनुसार यहाँका कृषकलाई जीविकोपार्जनका लागि लिची मुख्य आम्दानीको स्रोत बनेको छ । ‘व्यापारी लिची लिन कृषकको बारीमै पुग्छन् । यहाँको लिची गुलियो र स्वादिलो भएका कारण बजारमा थोर्गा र च्युरेकको लिची भनेपछि उपभोक्ताले पनि खोजी खोजी किन्ने गरेका छन्,’ उनले भने । ज्ञवालीका अनुसार यहाँ उत्पादन गरिएका लिची गुल्मीको सदरमुकाम तम्घासदेखि रिडी, पाल्पा र बुटवलको बजारसम्म पुग्ने गर्छ । यस क्षेत्रका एक सयभन्दा बढी कृषक व्यावसायिक लिची उत्पादनमा लागेका उनले जानकारी दिए । स्थानीय कमल ज्ञवाली, ओम ज्ञवाली, मोतीराज ज्ञवाली, परमानन्द ज्ञवाली, कृष्ण विक, युवराज ज्ञवाली लिचीका व्यावसायिक कृषक हुन् । कृषक कृष्ण विकले लिचीबाट सबैभन्दा बढी आम्दानी गरिरहेका छन् । उनले वार्षिक दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । चार वर्षको तुलनामा यसपटक धेरै लिची फलेको परमानन्द ज्ञवालीले बताए । ‘अहिले भने लिचीमा समस्या देखिएको छ । बोटमा पात डल्लो पर्ने, दानाको भेट्नामा किरा लाग्ने, पाक्ने बेला दाना फुट्नेजस्ता समस्या देखिएको छ,’ उनले भने । बाँदर र अरिङ्गालबाट लिची जोगाउन पनि उस्तै समस्या भइरहेको राधिका ज्ञवालीले बताइन् । लिची बेचेर किसानले लाखौं रुपैयाँ आम्दानि गरिरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । व्यावसायिक रुपमा लिची उत्पादनलाई थप व्यवस्थित र आकर्षित गराउन केन्द्रले बगैंचाको व्यवस्थापनमा जोड दिएको उनले बताए । आगामी वर्षदेखि ज्ञान केन्द्रले अभियानको रुपमा बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गर्ने भण्डारीले बताए । सन् १९९१ मा समाजसेवी स्व पण्डित डिल्लीराम ज्ञवालीले भारतको कलकत्ताबाट बोकेर ल्याएको लिचीको बोट लगाएर च्युरेकमा उनले लिची खेतीको सुरुवात गरेका थिए । उनकै प्रेरणाले सुरुमा खानका लागि बोट रोप्दै जाने क्रममा अहिले च्युरेक क्षेत्र सिङ्गो लिची गाउँमा परिणत भएको छ । बगैँचाबाट प्रतिकिलो ७० रुपैयाँमा लिची बिक्री हुँदै आएको छ । बोटमा लिची हरिया छँदै व्यापारी घरघरमा पुगेर थोक मूल्यमा किनेर राख्ने गरेका किसान बताउँछन् । तत्कालीन अवस्थामा जिल्ला कृषि विकास कार्यालय गुल्मीले थोर्गाको च्युरेकमा लिची गाउँ घोषणा गरी लिची महोत्सवसमेत गरेको थियो । कार्यालयका तत्कालीन वरिष्ठ कृषि विकास अधिकृत नरहरि शर्मा घिमिरेले पहिलोपटक गाउँमा लटरम्म फलेका लिचीका राता बोट देखेपछि उक्त गाउँलाई लिची गाउँ घोषणा गरेका थिए । कार्यालयले लिची गाउँ घोषणा गरेर व्यावसायिक लिची खेती गर्न सहयोग गरेपछि यहाँका कृषक लिची उत्पादनतर्फ थप आकर्षित बनेका हुन् । हाल जिल्लामा १७० हेक्टर क्षेत्रफलमा लिची उत्पादन गरिँदै आएकोमा यो वर्ष ७२० मेट्रिक टन लिची उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । प्रतिकिलो ७० रुपैयाँका दरले पनि ७२० मेट्रिक टन लिचीलाई ५ करोड ४ लाख रुपैयाँ पर्छ । रासस
प्रिमियममा आईपीओ जारी गर्न रिलायबल लाईफले पायो अनुमति, प्रतिकित्ता कति ?
काठमाडौं । रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति पाएको छ । लामो समयदेखि आईपीओ जारी गर्ने प्रकृयामा रहेको इन्स्योरेन्सले असार १५ गते मात्रै नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई कूल २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुने कूल चार करोड कित्ता सेयर प्रतिकित्ता २५७ रुपैयाँमा जारी गर्न लागेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा थप १५७ रुपैयाँ प्रिमियम मूल्यसहित प्रतिकित्ता २५७ रुपैयाँमा सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । नेपालको बीमा क्षेत्रमा प्रिमियममा आइपीओ निष्कासन गर्ने कम्पनीमा रिलायबल नेपाल लाईफ दोश्रो भएको छ । जीवन बीमा व्यवसाय गर्दै आएको इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ ।
थप पहिरो नखसे नारायणगढ–मुग्लिन सडक साँझसम्म सञ्चालनमा आउने
नारायणगढ । बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ । सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उनको भनाइ छ । दुईवटा एक्साभेटर र दुईवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन् । पौडेलका अनुसार थप पहिरो नखसेमा साँझ ५ बजेसम्ममा सडक सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ । सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन । ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानबाट पहिरो पन्छाउन थालिएको हो । सडक सञ्चालनमा आए पनि सवारी साधनको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । चौबीस घण्टाभन्दा बढी समयदेखि सडक अवरुद्ध हुँदा सो सडक हुँदै यात्रा गर्ने धेरै यात्रुहरु विचल्लीमा परेका छन् । उक्त सडक हुँदै दैनिक औसतमा १० हजार सवारी आवतजावत गर्ने गर्दछन् ।
‘आइएमई पे’ मा पानी र बिजुलीमा क्यासब्याकको वर्षा
काठमाडौं । ‘आइएमई पे’ ले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार १७ देखि असार २३ सम्म एक हप्ताका लागि चल्ने कम्पनीले जनाएको छ । यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा १०० रुपैयाँसम्म १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक-पटक प्रयोग गर्न पाउनेछन् । साथै ग्राहकवर्गले बिजुलीको बिल आइएमई पे मार्फत भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट दिने भएको छ । सो क्यासब्याक एवम् छुट ग्राहकवर्गलाई आफ्नो घरायसी बिलहरु विधुत्तिय मध्यम मार्फत तिर्न प्रोत्साहन गर्ने उदेश्यका साथ प्रदान गरिएको हो। ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।
एनएमबि बैंकले ०.५ प्रतिशत प्रिमियममा कृषि कर्जा दिन्छ : सीईओ केसी
काठमाडौं । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बैंकले किसानलाई सस्तोमा खेती कर्जा दिने बताएका छन् । शुक्रबार एनएमबि खेती कर्जा योजना सार्वजनिक गर्ने क्रममा बोल्दै सीईओ केसीले कृषि कर्जाको आधार दरमा थप ०.५ प्रतिशत मात्रै प्रिमियम लिएर खेती कर्जा दिने बताएका हुन् । ‘यो प्रडक्टमा आधार दरमा ०.५ प्रतिशतमा कर्जा उपलब्ध गराउँछौं, अन्य कृषि कर्जामा आधार दरमा २ प्रतिशत मात्रै प्रिमियम लिने व्यवस्था हुनुपर्छ,’ उनले भने । नेपालमा कृषि सम्बन्धि कर्जामा बैंकले माइल स्टोनको रुपमा काम गर्ने बताउँदै सीईओ केसीले नेपालको बैकिङ इतिहासमा ‘एनएमबि खेती कर्जा’ फरक किसिमको प्रडक्ट रहेको बताए । उनले कृषि, उर्जा र साना उद्यमलाई बैंकले पहिलो प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । ‘बैंकले ६ सय अर्ब लगानी कृषिमा गरेका छन्, बैंकले कृषिमा लगानी गर्न खोज्दा प्रोजेक्ट पाउन सकेका छैनन्, कृषि कर्जा लिन सक्ने ग्राहकको खोजीमा बैंकरहरु रहेका छन्,’ उनले भने । सीईओ केसीका अनुसार पछिल्लो समय बजारमा तरलता सहज भएको छ ।