विकासन्युज

सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, १ कित्ता हुनेले ०.८० कित्ता पाउने

काठमाडौं । सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ ०.८० कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

संघीय सरकारलाई सबैभन्दा बढी राजस्व मधेसबाट जान्छ, आवश्यक बजेट दिँदैन : मुख्यमन्त्री सिंह

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी रहेको बताएका छन् । नेपाल इँटा उद्योग महासङ्घ, मधेस प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको बुधबार जनकपुर धाममा उद्घाटन गर्दै उहाँ उखु, आँप, माछा, धान लगायतको उत्पादनमा जस्तै इँटा उत्पादनमा पनि मधेस प्रदेशको योगदान महत्त्वपूर्ण रहेको बताए ।  मुलुक भर रहेका करिब १ हजार ३ सय इँटा उद्योगमध्ये ७ सय मधेस प्रदेशमा रहेको र तीमध्ये हाल ३२० भन्दा बढी उद्योग सञ्चालनमा रहेको मुख्यमन्त्री सिंहले उल्लेख गरे । इँटा उद्योगहरूलाई प्रदेश सरकारले तोकेको न्यूनतम् मापदण्ड पूरा गर्न उनले आग्रह गरे । मुख्यमन्त्री सिंहले मधेस प्रदेशबाट संघीय सरकारलाई सबैभन्दा बढी राजस्व जाने गरेको भए पनि सोअनुसार बजेट प्राप्त नभएको भन्दै गुनासो गरे । उनले स्थानीय तहबाट पनि प्रदेश सरकारको भागको कर नपाएको भन्दै कर बुझाउन आग्रह गरे । ‘निकासी पैठारी, खोला र मनोरञ्जनलगायतका कर उठाउने पालिकाले त्यसको ४० प्रतिशत प्रदेश सरकारमा पठाउनुपर्नेमा हालसम्म प्राप्त हुने गरेको छैन । केन्द्र सरकारले पनि आवश्यक बजेट दिने गरेको छैन, अनि कसरी प्रदेश सरकारले काम गर्ने ?,’ मुख्यमन्त्री सिंहले प्रश्न गरे । 

एउटै खोलामा ६ वटा जलविद्युत् आयोजना, स्थानीयको करोडौँ लगानी

काठमाडौं । बागलुङको तारा खोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको तारा खोलामा हाल दुई जलविद्युत आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणाधीन र दुई प्रक्रियामा छन् । सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका-२ र ३ मा पर्ने दरम खोलामा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन समेत गरिसकेको छ । यो निजी कम्पनीले बनाएको पहिलो आयोजना हो । यसअघि समुदायको प्रयासमा स-साना लघु जलविद्युत् सञ्चालनमा थिए ।  सयपत्री जलविद्युत् निर्माण पश्चात् तारा खोलामा ५ वटा जलविद्युत् आयोजना थपिने क्रममा रहेका छन् ।  जसमध्ये तारा खोला जलविद्युत् आयोजना सम्पन्न भइसकेको छ भने अन्य ४ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन् ।  पाँच वर्षअघि ३८० किलोवाटको तारा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  हाल यहाँ मध्य तारा खोला, मध्य दरम ‘ए’ जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेको छ । यस आयोजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । यस्तै दरम ‘ए’ जलविद्युत् आयोजनाको चार मेगावट क्षमताको पूर्वाधार निर्माणले गति लिएको छ । यहाँ ४० प्रतिशत पूर्वाधारको काम सम्पन्न भइसकेको आयोजना सञ्चालक मिलन खतिवडाले जानकारी दिए । यहाँ ३.५ मेगावाट तल्लो तारा खोला जलविद्युत् आयोजना र ४.५ मेगावाट मध्य दरम ‘बी’ आयोजना निर्माणको प्रक्रियामा रहेको छ ।  तारा खोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले तारा खोलामा जलविद्युत् आयोजनामा स्थानीयको समेत लगानी भएकाले यसको निर्माणले आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए ।  ‘मध्ये तारा खोला र मध्यदरम ‘ए’ जलविद्युत् आयोजनाले गति लिएको छ भने तारा खोला हुँदै गलकोटसम्म अन्य तीन आयोजनाको कामसमेत अगाडि बढेको छ,’ उनले भने, ‘स्थानीयको समेत करोडौँ लगानी रहेका जलविद्युत् आयोजना सम्पन्न भएमा  तारा खोलाको आर्थिक विकासमा टेवा पुग्ने छ ।’ गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले आयोजना निर्माणले गति लिएपछि स्थानीयस्तरमै उत्साह बढेको बताउँछन् । ‘हाम्रो गाउँपालिकामा विद्युत् उत्पादनका लागि धेरै आयोजना बन्नु गर्वको विषय हो । यसले पक्कै पनि गाउँपालिका आर्थिक उन्नयन र नागरिकको जीवनमा सकारात्मक प्रभाव पर्नेछ । यसकारण सबै उत्साहित छौँ,’ उनले भने । 

आज कोशी, वाग्मती र गण्डकीमा भारी वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

‘उड्ने कार’ मा चढे प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ को अवलोकन गर्दै नेपालको अटो क्षेत्रको नवीन यात्रालाई समर्थन जनाएका छन् । देशकै सबैभन्दा ठूलो मानिएको यो अटोमोबाइल प्रदर्शनीमा अध्यक्ष प्रचण्डले विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘उड्ने कार’ को प्रत्यक्ष अनुभव लिएका छन् । एमएडब्लुका प्रबन्ध निर्देशक बिष्णु अग्रवालको साथमा दुई सिटे उड्ने कारमा चढेर प्रदर्शनी हेरेका प्रचण्डलाई उपस्थित दर्शकले उत्साहपूर्वक स्वागत गरेका थिए । ​​​​​​​ नाडाका अध्यक्ष करण चौधरीले प्रचण्डलाई प्रदर्शनीको बारेमा विस्तृत जानकारी गराएका थिए। प्रविधिमा विशेष जोड दिइएको सो प्रदर्शनीमा एक रोबोटले प्रचण्डलाई स्वागत गर्दा कार्यक्रममा प्रविधिक नवीनता झल्किएको देखिन्थ्यो । यसपटकको नाडा अटो शोमा २ करोड २० लाख रुपैयाँसम्मका लक्जरी गाडीहरू, आधुनिक इलेक्ट्रिक सवारी, र उड्ने कारजस्ता भविष्यमुखी प्रविधिहरू प्रदर्शनमा राखिएको छ । प्रदर्शनीमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डका सवारी साधन र पार्टपुर्जाहरू समावेश गरिएका छन् । राष्ट्रिय सभाका अध्यक्षको पनि उपस्थिति प्रदर्शनीको अवलोकनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको पनि उपस्थिति रह्यो । उनीहरूका साथमा उद्योगी, व्यवसायी, र प्रविधिमा रुचि राख्ने हजारौं दर्शकहरूको घुइँचो लागेको देखिन्थ्यो । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको यो शोले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालको अटोमोबाइल क्षेत्रको विकास, लगानी, तथा प्रविधि हस्तान्तरणमा सशक्त सन्देश दिएको छ । उड्ने कारको उपस्थितिले विशेष आकर्षण पैदा गर्दा, उद्योग क्षेत्रको सम्भावना र नयाँ सोचप्रतिको जनचासो थपिएको छ ।

सिप्रदी ट्रेडिङले नाडा अटो शोमा गर्याे एक्प्रेस-टी ईभी फ्लिट पार्टनरलाई सम्मान

काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन प्रयोगलाई नयाँ उचाइमा पु¥याउँदै आएको सिप्रदी ट्रेडिङ प्रालिले एक्प्रेस-टी ईभीका प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान प्रदान गरेको छ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदीले यस वर्षको नाडा अटो शो २०२५ मा लोकप्रिय विद्युतीय ट्याक्सी मोडल एक्प्रेस–टी ईभीका प्रमुख फ्लिट पार्टनरलाई विशेष सम्मान प्रदान गरेको हो । कार्यक्रममा तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरनलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । उनीहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि सम्मान गरिएको जनाएको छ । एक्प्रेस–टी ईभी विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो । स्वरोजगारी प्रवद्र्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ । नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । टाटा मोटर्सका नयाँ मोडलहरू अवलोकन गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन कम्पनीले आग्रह गरेको छ । 

‘पूर्ण छात्रवृत्ति’ लगायतका प्रावधान हटाउन माग गर्दै निजी स्कुलका सञ्चालक सडकमा आउने

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले बिहीबारदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् । निजि विद्यालयका सञ्चालकको संस्था प्याब्सन, ऐन प्याब्सन, हिसान र अपेनले बुधबार कार्यक्रम गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।  विद्यालय शिक्षा विधेयकमा उल्लेख गरिएका केही बुँदाप्रति आपत्ति जनाउँदै आन्दोलन गर्दै आइरहेका शिक्षकहरूले भोलिदेखि सडक आन्दोलन गर्ने घोषणा गरेका हुन् ।  शान्तिपूर्ण आन्दोलन गर्दा माग सम्बोधन नभएको भन्दै सञ्चालकहरू भाद्र पाँच गते बिहान ११ बजे देखि १ बजेसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताएको छ । घोषणा कार्यक्रममा निजी स्कुलका प्रधानाध्यापकहरू ब्यानरसहित नयाँ बानेश्वर चोकसम्म र्‍याली निकाली फेरि माइतीघर मण्डलामा पुगी कोणसभा गर्ने बताइएको छ ।  यस्तै, भाद्र ६ गते बिहान ११ बजे देशैभरिका स्कुल बसहरू विद्यालयको नजिक पर्ने चोकमा उतारी नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ ।  काठमाडौं उपत्यकामा २७ किमी चक्रपथ वरिपरि कालो झण्डारब्यानरसहित स्कुलबसको र्‍याली निकालिने छ भने दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ गर्ने जनाएका छन् ।  यति गर्दा पनि माग पुरा नभए ८ गते निर्णायक आन्दोलन गर्ने शिक्षकहरूले बताएका छन् ।  केके छन् माग ? ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने । विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने । कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई “गैर नाफामूलक बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने । छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने । छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५ प्रतिशत आरक्षण छात्रवृत्ति सम्बन्धी व्यवस्था तथा केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७७ ले ११ वटा विश्वविद्यालयमा कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षा तथा सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्था भएको विभेदकारी उल्लेखित ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने ।

‍एसबिआई बैंकका डेबिट कार्ड प्रयोगकर्ताका लागि भोजन, आवास र दन्त उपचारमा छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र रामदा एनकोर काठमाडौंबीच बैंकका सम्पूर्ण डेबिट कार्ड प्रयोगकर्ताहरूलाई लक्षित गरी खाना, पेय पदार्थ तथा आवास सुविधाहरूमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ । यसैगरी, बैंक र होलिडे इन रिसोर्ट काठमाडौंबीच पनि बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ  । साथै बैंकले हिमाल डेन्टल हस्पिटल र इन्स्टिच्युट अफ डेन्टल साइन्ससँग समेत दन्त उपचार सेवामा बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूला​​​​​​​ई २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ । नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।