भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ६ करोड १० लाख संकलन
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा हालसम्म ६ करोड १० लाख रुपैयाँ संंकलन भएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आइतबार बिहानसम्म कोषमा ६ करोड १० लाख संकलन भएको हो । जेनजी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले उक्त कोष स्थापना गरेको थियो । कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न सङ्घसंस्थालगायत दातृ निकायलाई आग्रह गरेको थियो । पुनर्निर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ । पुनर्निर्माणका कोषका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खाता खोलिएको छ । योगदानकर्ताले कोषको खाता नम्बर १९६०१००१०२०७०००४ मा सहायता रकम जम्मा गर्न सक्नेछन् । कोषका योगदानकर्ताको विवरण शीघ्र सार्वजनिक गर्ने तयारी रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्स नवौँ वर्षमा प्रवेश, ५० भन्दा बढी सामाजिक गतिविधि सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्ष पुरा भएर नवौँ वर्षमा प्रवेश गरेको छ । जीवन बीमा सेवालाई हरेक नेपालीको पहुँचमा पुर्याउने उद्देश्यले स्थापना भएको सिटिजन लाइफ नवौँ वर्षमा प्रवेश गरेको हो । इन्स्योरेन्सले वार्षिकोत्सव देशभरका शाखा कार्यालयहरूमा विभिन्न सामाजिक उत्तरदायित्व गतिविधिहरूका साथ मनाउँदैछ छ । सिटिजन लाइफले यस वर्ष पनि वार्षिकोत्सवको अवसरमा स्थानीय समुदायसँग नजिकिएर सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गरेको छ । वार्षिकोत्सवको मुख्य विषयवस्तुका रूपमा कम्पनीले यस वर्ष 'विविधता र समावेशीकरण दिवस' मनाएको छ । यसअन्तर्गत सबै शाखा कार्यालयका कर्मचारीहरूले आफ्ना सांस्कृतिक पहिचान झल्काउने भेषभूषा र परम्परालाई प्रस्तुत गर्दै कार्यस्थलमा एकता, सद्भाव र परस्पर सम्मानको सन्देश प्रवाह गरेका छन् । यसले सिटिजन परिवारभित्रको सांस्कृतिक समृद्धि र सहअस्तित्वलाई अझ सुदृढ बनाएको कम्पनीले जनाएको छ । समाजप्रतिको उत्तरदायित्वलाई व्यवहारमा उतार्दै कम्पनीले यस वर्ष देशभर १६ स्थानमा रक्तदान कार्यक्रम, ६ स्थानमा बीमा सचेतना र्याली र घर–घरमा बीमा जानकारी अभियान, ३ स्थानमा सरसफाइ तथा डस्टबिन हस्तान्तरण कार्यक्रम, ११ स्थानमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण, १ स्थानमा निःशुल्क स्वास्थ्य शिविर, १० स्थानमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण, र ७ स्थानमा ३५० बिरुवा रोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, 'हाम्रो आठौं वार्षिकोत्सव केवल उत्सव होइन, समाजसँगको सम्बन्ध पुनः पुष्टि गर्ने अवसर हो । हामी विश्वास, विविधता र सामाजिक उत्तरदायित्वका माध्यमबाट बीमा सेवा विस्तार गर्दै सुरक्षित जीवन र समृद्ध भविष्यको लक्ष्यतर्फ दृढतापूर्वक अघि बढिरहेका छौँ ।' विगत आठ वर्षको यात्रामा सिटिजन लाइफले ग्राहकको विश्वास, साझेदारहरूको साथ र कर्मचारीहरूको समर्पणलाई आफ्नो सबलता मानेर बीमा सेवाको पहुँच विस्तार, डिजिटल सुधार र सामाजिक दायित्वका कार्यक्रमहरूलाई निरन्तर अघि बढाउँदै आएको छ। कम्पनीले आगामी दिनहरूमा पनि बीमा सचेतना, स्वास्थ्य, शिक्षा, वातावरण र समावेशी विकासका क्षेत्रमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सिटिजन लाइफले ग्राहक, व्यवसायिक साझेदार, सञ्चारकर्मी, सेयरधनी, सञ्चालक समिति, सद्भावना दूत, नियमनकारी निकाय र कर्मचारीहरू प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ । कम्पनीले आगामी दिनहरूमा सेवालाई समयानुकूल परिमार्जन गर्दै थप उत्कृष्ट बनाउन, प्रचलित कानुन तथा नियमनको पालना गर्दै संस्थागत सुशासनका साथ व्यवसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जनाएको छ । यस अवसरमा कम्पनीले दिपावली, नेपाल संवत् र छठ पर्वको पावन अवसरमा सम्पूर्ण नेपालीहरूका सुस्वास्थ्य, दीर्घायु र समृद्ध जीवनको शुभकामना पनि व्यक्त गरेको छ ।
अमेरिका–चीनबीचको आर्थिक द्वन्द्वले विश्व बजार अस्थिर बनाउने संकेत
काठमाडौं । अमेरिका र चीनबीचको व्यापार युद्ध तीव्र बनेको छ । यदि यो युद्ध रोकिएन भने यसले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसबाट ठूलो क्षति हुने आशंका छ । यही तनावका कारण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) समेत चिन्तित बनेको छ । आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिभाले यो तनाव तुरुन्त घटाउन आग्रह गरेकी छन् । उनले आशा व्यक्त गरेकी छन् कि अमेरिका र चीनबीचको व्यापार तनाव कम हुनेछ र दुर्लभ पृथ्वी तत्व (रेयर अर्थ) को विश्वव्यापी प्रवाहमा अवरोध आउनबाट जोगिनेछन् । जर्जिभाका अनुसार यस्तो अवरोधले विश्व विकासमा ‘गम्भीर असर’ पार्नेछ । जर्जिभाले आईएमएफको सञ्चालन समिति (स्टेरिङ कमिटी) को बैठकपछि यो टिप्पणी गरेकी हुन् । उनले भनिन्, ‘यस्तो अवस्था जारी रहेमा अनिश्चितता बढ्नेछ र पहिले नै कमजोर रहेको विश्व अर्थतन्त्रलाई अझै क्षति पुर्याउनेछ ।’ यस वर्ष आईएमएफ र विश्व बैंकको वार्षिक बैठक त्यतिबेला सम्पन्न भयो जब विश्वका दुई ठूला अर्थतन्त्र—अमेरिका र चीन—बीचको व्यापार युद्धले नयाँ मोड लिएको छ । यसले विश्वभरका हजारौं वित्त अधिकारी र केन्द्रीय बैंकका गभर्नरबीचको छलफलमा प्रभुत्व जमाएको छ । आईएमएफले मंगलबार २०२५ का लागि विश्व जीडीपी वृद्धिदर ३.२ प्रतिशत रहने अनुमान गरेको थियो, जुन जुलाईमा गरिएको ३.० प्रतिशत र अप्रिलको २.८ प्रतिशतको अनुमानभन्दा बढी हो । आईएमएफका अनुसार भन्सार शुल्क (ट्यारिफ) का असर र वित्तीय परिस्थितिहरू अपेक्षाभन्दा बढी अनुकूल देखिएका छन् । तर यो अनुमानमा अमेरिका र चीनले हालै उठाएका नयाँ जोखिमहरू समेटिएका छैनन् । जर्जिभाले आईएमएफले यी घटनाक्रमहरूलाई नजिकबाट अनुगमन गरेको जानकारी दिइन् । सदस्य राष्ट्रहरूले हाल विश्व अर्थतन्त्र छ महिनाअघि अनुमान गरिएको भन्दा बढी लचिलो देखिएकामा केही राहत महसुस गरेका छन् । उनका अनुसार देशहरू पूर्वाधार सुदृढ पार्न, नियामक सुधार गर्न र विश्व असन्तुलन घटाउन तयार देखिएका छन् । तथापि उनीहरूले अझै गहिरो चिन्ता व्यक्त गरिरहेका छन् । यता विशेषज्ञहरू यदि अमेरिका र चीनबीचको व्यापार तनाव दीर्घकालीन रूप लिन्छ भने यसले विश्वव्यापी आपूर्ति शृंखला (सप्लाई चेन) र लगानी प्रवाहमा ठूलो अवरोध सिर्जना गर्ने चेतावनी दिन्छन् । विश्वका प्रमुख उद्योगहरू— जस्तै प्रविधि, अर्धचालक, ऊर्जा र कृषिमा यसको प्रत्यक्ष असर पर्नेछ । यसले न केवल वस्तुहरूको मूल्यवृद्धि गर्नेछ, तर उपभोग, रोजगारी र उत्पादन क्षमतालाई पनि दीर्घकालीन रूपमा कमजोर पार्ने खतरा रहेको विश्लेषकहरूले बताउँछन् । अर्थशास्त्रीहरूका अनुसार वर्तमान विश्व अर्थतन्त्र अझै कोभिड–१९ र युक्रेन युद्धका असरबाट पूर्ण रूपमा उकासिन सकेको छैन । त्यसमाथि अमेरिका–चीन व्यापार युद्धले थप अनिश्चितता थप्ने हो भने विश्व बजार पुनः अस्थिर बन्नेछ । त्यसैले दुवै मुलुकले वार्ता र सहकार्यको बाटो रोज्नु नै विश्व अर्थतन्त्रलाई दीर्घकालीन स्थायित्वतर्फ डोर्ने एक मात्र उपाय भएको उनीहरूको धारणा छ । अमेरिका–चीन व्यापार युद्ध तीव्र हुँदै जानुको पछाडि राजनीतिक, आर्थिक र प्राविधिक धेरै कारणहरू छन् । अमेरिका लामो समयदेखि चीनसँग ठूलो व्यापार घाटा बेहोर्दै आएको छ । अमेरिकी दृष्टिमा चीनले अमेरिकी बजारमा अत्यधिक वस्तु निर्यात गर्छ तर अमेरिकी वस्तुहरूलाई चीनले सीमित रूपमा मात्र आयात गर्छ । यस असन्तुलन घटाउन अमेरिका भन्सार शुल्क (ट्यारिफ) लगाउँदै आएको छ, जसले तनाव बढाएको हो । त्यसैगरी, अमेरिका र चीन दुबै उच्च प्रविधि (जस्तै कृत्रिम बौद्धिकता (एआई), अर्धचालक, र दूरसञ्चार) क्षेत्रमा विश्व नेतृत्वका लागि प्रतिस्पर्धामा छन् । अमेरिकाले चीनका प्रविधि कम्पनीहरू विशेष गरी हुवाई र टीकटकजस्ता कम्पनीहरूमा प्रतिबन्ध लगाएको छ, जसले गर्दा चीन अमेरिकाप्रति असन्तुष्ट छ । त्यस्तै, दुवै देश विश्व नेतृत्वका लागि प्रतिस्पर्धा गरिरहेका छन् । अमेरिका आफ्नो प्रभुत्व कायम राख्न चाहन्छ भने चीन विश्व अर्थतन्त्र र राजनीतिमा आफ्ना प्रभाव विस्तार गर्न खोज्दैछ । यो शक्ति संघर्षले व्यापार युद्धलाई अझ राजनीतिक रंग दिएको छ । अमेरिकाले चीनमा अत्यधिक निर्भरता खतरनाक ठानेको छ, विशेष गरी अर्धचालक, ऊर्जा र खनिजमा । त्यसैले अमेरिका उत्पादनलाई आफ्नै देश वा मित्र राष्ट्रहरूमा सार्न खोज्दैछ । चीनले यसलाई आफ्नो आर्थिक नियन्त्रणमा आक्रमणको रूपमा लिएको छ । हालै दुबै देशले एकअर्काको सामानमा नयाँ भन्सार शुल्क लगाएका छन् । अमेरिकाले चिनियाँ इलेक्ट्रिक सवारी, ब्याट्री र स्टिलमा उच्च ट्यारिफ तोकेको छ भने चीनले अमेरिकी कृषिजन्य र लगानी सम्बन्धी वस्तुमा कर बढाएको छ । अत्यधिक हाइपले एआई बजार अस्थिर बन्दै ट्रम्पको बयानले ऊर्जा बजारमा हलचल, भारतले अब रूसको तेल नकिन्ने ! ट्रम्पको बयानपछि अमेरिकी लगानीकर्ताले ७ मिनेटमै गुमाए ४५० अर्ब डलर
सुनको मूल्य तोलामा ४ हजार ८ सय घट्यो
काठमाडौं । सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँ मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला रू तीन हजार २७५ मा खरिदबिक्री हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको 'बेष्ट बैंक अवार्ड' बाट सम्मानित
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तारण गरेका हुन् । यो अवार्डसगैं ग्लोबल आइएमई बैंक लगातार २ वर्ष ग्लोबल फाइनान्स म्यागाजिनका बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो। ग्लोबल फाइनान्सले ग्लोबल आइएमई बैंकलाई २०२४ मा पनि सम्मानित गरेको थियो। बैंकका अक्ष्यक्ष ढकालले यस सम्मानले ग्लोबल आइएमई बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताए। उनले यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकायहरु, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गमा आभार व्यक्त गरेको बैंकले जनाएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरुलाई सम्मान गरेको हो । ‘ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरुलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ’, बैंकले भनेको छ, ‘ग्लोबल फाइनान्सले २०२५ को लागि हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेशियाको यूओबी मलेसिया, बङलादेशको सिटी बैंक, जापानको एसएमबीसीलगायतका विश्वभरका विभिन्न बैंकहरुलाई विभिन्न विधामा सम्मानित गरेको हो ।’ बैंकलाई ग्लोबल फाइनान्सबाट ‘नेपालको उत्कृष्ट बैंक’को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरु प्रदान गर्न प्रोत्साहित गर्नेछ । यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोश्रो पटक बेष्ट बैंक अवार्डबाट सम्मानीत भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४को अवार्ड प्राप्त गरेको थियो । यसअघि पनि ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले अहिलेसम्म यस अवार्डसहित बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
नेपाल रि का सञ्चालकद्धय दाहाल प्रधान र को राजिनामा स्वीकृत
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का सञ्चालकद्वय बालकृष्ण दाहाल र एमिल प्रधानको राजीनामा स्वीकृत भएको छ । कम्पनीको नियमावलीको नियम २७(ख) को व्यवस्था बमोजिम समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गरिरहेका दाहाल र प्रधानले असोज २ गते छुट्टा छुट्टै पत्र मार्फत राजीनामा बुझाएका थिए । दाहाल र प्रधानले पेश गरेको राजीनामा कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्यालयले उद्योगीको पत्र लिन गर्यो अस्वीकार
काठमाडौं । देशका ठूला उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनमार्फत प्रयोग गरिएको बिजुलीसम्बन्धी बक्यौता विवादमा स्पष्ट धारणा दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने प्रयास असफल भएको छ । शुक्रबार २६ वटा प्रमुख उद्योगका प्रतिनिधिहरूले संयुक्त हस्ताक्षरसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउन लागेको पत्र कार्यालयले दर्ता नै नगरी अस्वीकार गरिदिएको हो । त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिकसहितका उद्योगहरूले समेटिएको उक्त पत्रमा महशुल विवादको यथार्थतालाई बुझ्न प्रधानमन्त्रीलाई आग्रह गरिएको थियो । तर, कार्यालयले पत्र नबुझी ऊर्जा मन्त्रालयमा ‘फर्वार्ड’ गरेर पन्छिएको छ । ‘हामी हरेक महिना करोडौं रुपैयाँ बराबरको शुल्क बुझाउँदै आएका छौं । समयमा तिरेको महसुललाई बक्यौता भन्नु अन्याय हो,' उद्योगीहरूले भने । उद्योगीहरूको दाबी अनुसार, उनीहरूले कुनै पनि किसिमको बक्यौता नरहेको भन्दै प्रस्टिकरण दिँदै आएका छन् । तर, नेपाल विद्युत प्राधिकरण भने ती उद्योगहरूलाई बक्यौता छ भन्दै किस्ताबन्दीमा रकम असुल्न थालेको छ । हालसम्म आधा दर्जनभन्दा बढी उद्योगहरूले किस्ताबन्दीमा तिर्न थालेका छन् । उद्योगीहरूको भनाइमा, मुलुकको आर्थिक विकास, रोजगारी र राजस्वमा महत्वपूर्ण योगदान दिइरहेका उद्योगहरूलाई दोषी करार गर्दै अनावश्यक दवाव सिर्जना गरिँदैछ । सरकारको यस्तो व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनीहरूले भनेका छन्,‘सरकारले व्यवसायीको आवाज सुन्ने नखोज्नु गम्भीर प्रश्नको विषय हो । हामी कानुनी र तथ्यमा आधारित न्यायको अपेक्षा गरेका हौं ।’
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका-९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले राससलाई जानकारी दिए । गत आइतबार राति घरमा तामाङको आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताए । सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो । 'पाण्डे सम्पर्कबिहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गरेका थियौँ, त्यहाँबाट पाण्डेले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा हुन्न भनेको खबर प्राप्त भयो, अहिले उहाँको कसैसँग पनि सम्पर्क छैन', तामाङले भने । पाण्डेको खोजीका लागि रोजगारदातामार्फत मङ्गलबार नै स्थानीय प्रहरीलाई खबर गरिएको उनले बताए । बेपत्ता भएका पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड र राहदानीका साथै सबै सामान उनी बस्ने कोठामै भेटिएको छ । पाण्डेको नेपालमा वृद्ध बुबाआमा र दिदीबहिनी छन् । पाण्डे बेपत्ता भएको खबर दूतावासलाई प्राप्त हुनासाथ तत्काल खोजबिनका लागि स्थानीय प्रहरी प्रशासनलाई खबर गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले राससलाई जानकारी दिए । उनको खोजीका लागि दूतावालले सक्दो पहल गरिरहेको राजदूत पौडेलले बताए । क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल आएका पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए । रासस