विकासन्युज

बीमाका ब्राण्ड, सफलताका पर्याय

काठमाडौं । सफलता ठूलो सपना देखेर मात्र प्राप्त हुँदैन । त्यसका लागि मिहिनेत, अनुशासन र धैर्यता अनिवार्य हुन्छ । यदि दुर्गाप्रसाद पाण्डेले आफ्नो छोरालाई अनुशासनसहित स्वतन्त्रता दिएर हुर्काएका थिएनन् भने सायद दीपप्रकाश पाण्डे आजको दिनमा बीमा क्षेत्रमा यसरी चम्किन पाउँदैनथे । दरबार र सिंहदरबारसँग निकट सम्बन्ध भएको परिवारमा जन्मिए पनि उनले सरकारी जागिर वा राजनीतिज्ञ बन्ने बाटो रोजेनन् । उनले सधैं आफ्नै क्षमतामा विश्वास गरे ।  बुवाबाट प्राप्त स्वतन्त्रता, आमाबाट सिकेको अनुशासन र दाईबाट पाइरहेको प्रेरणाले उनलाई बीमा क्षेत्रको उचाइमा पुर्यायो । अँध्यारोमा दीपले जस्तै प्रकाश दिने नाम बने- दीपप्रकाश पाण्डे । आज उनी नेपालको बीमा क्षेत्रका पर्याय बनेका छन् भन्दा फरक नपर्ला ।  काठमाडौंमै जन्मिएका दीपप्रकाश राजधानीकै सुविधासम्पन्न परिवेशमा हुर्किए । उनका बुवा दुर्गाप्रसाद उच्च प्रशासनिक तहका जागिरे थिए । बुवाको पदका कारण सरकारी निवास, गाडी, सुरक्षाकर्मी जस्ता सुविधा परिवारले पायो । तर दुर्गाप्रसादले कहिल्यै सत्ताको दुरुपयोग गरेनन् । ‘बुवाले सरकारी गाडी कार्यालय समय बाहेक कहिल्यै प्रयोग गर्नुभएन,’ दीप सम्झन्छन्, ‘जति कडा उहाँ हुनुहुन्थ्यो, उतिकै मायालु पनि हुनुहुन्थ्यो ।’ बुबाको सरुवाकै कारण उनले बाल्यकालमै भारतको कोलकत्ता, नेपालकै विराटनगर र विरगञ्जमा बस्ने अवसर पाए । विभिन्न संस्कार र वातावरणमा हुर्कँदै उनले नयाँ जीवनशैली अनुभव गरे । एकातिर सरकारी निवास र सुरक्षा गार्डसहितको विलासी वातावरण, अर्कातिर घरभित्रको पुरानो पिर्कामा बसेर खाने संस्कार ।  दीपप्रकाशलाई पिर्कामा बसेर खाएको अहिले पनि खुबै याद आउँछ । यी सबै अनुभवहरूले उनको जीवनदृष्टि फराकिलो बनायो ।  साथीजस्ता बुवा, कोलकत्तामा पढाइ  दीपप्रकाशका लागि बाल्यकाल सधैं रमाइलो थियो । विशेषगरी बुवासँग बिताएका क्षण अझै उनको मानसपटलमा ताजै छन् ।  ‘बुवाले प्रायः कपालमा फुलेको सेतो रौँ टिप्न लगाउनुहुन्थ्यो,’ उनी स्मरण गर्छन्, ‘सुरुमा एक पैसा दिनुहुन्थ्यो, मैले पनि बार्गेनिङ गर्दै एक रुपैयाँसम्म पुर्याउँथे ।’ यस्ता साना रमाइला सम्झनाले उनलाई पैसाको मूल्य बुझ्न र मिहिनेतको महत्व थाहा पाउन सिकायो । बुवाले अनुशासनमा राखे पनि कहिल्यै जबर्जस्ती गरेनन् । ‘यही काम अनिवार्य गर्नुपर्छ भनेर दबाब कहिल्यै दिनुभएन,’ दीपप्रकाश भन्छन्, ‘त्यसैले आज म जहाँ छु, त्यो मेरा आमाबुवाको योगदानले छु ।’ उनले कोलकत्ताको सेन्ट जेवियर्स कलेजबाट व्यवस्थापनमा स्नातक गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर पूरा गरे । पढाइपछि केही समय ए लेभल र ओ लेभलका विद्यार्थीलाई पढाउँदै मासिक १२ हजारसम्म कमाइ गरे ।  दीपप्रकाशको यस्तो मोड तब आयो जब प्रेमलाई विवाहमा परिणत गर्न जागिर आवश्यक भयो । उनका ससुराुबवा नैनबहादुर स्वार (तत्कालीन गृहमन्त्री)ले ‘जागिर नभएको केटासँग छोरी नदिने’ अडान राखेपछि उनी जागिर खानुपर्ने बाध्यतामा परे ।  म एउटा जागिरेको छोरा । तर आज ६५० जनालाई रोजगारी दिने स्तरमा पुगेको छु, उनी गर्वका साथ भन्छन्, ‘यदि नेपालमा म जस्ता २ हजार मान्छे भए, देश अर्कै स्तरमा पुग्छ । त्यसपछि दीपप्रकाशले स्थायी जागिर खोज्न थाले । दाई बैंकर थिए । बैंकमा सजिलै प्रवेश गर्ने अवसर हुँदा पनि उनले आफ्नै प्रयासमा आवेदन दिए । अन्ततः उनले सन् १९९० को दशकमा एभरेष्ट इन्स्योरेन्समा फाइनान्स एडमिनिस्ट्रेसन म्यानेजरको रुपमा करिअर सुरु गरे । त्यही जागिरले उनले मन पराएको केटीसँग विवाहको ढोका खोलिदिएको मात्रै थिएन, जीवनको नयाँ दिशामै मोडिदियो । अहिले उनको दुइटा छोराछोरी छन् ।  छोरी यतिखेर बेलायतमा चिकित्साशास्त्रमा स्नातकोत्तर गर्दैछिन् । छोरा नेपालमै आलु चिप्स उद्योग सञ्चालन गर्दै व्यवसायमा लागेका छन् । ‘मैले व्यवसाय गर्ने सपना पुरा गर्न सकिनँ । तर, अब छोराले त्यो सपना पूरा गर्छ भन्ने विश्वास छ,’ उनी गर्वका साथ भन्छन् ।  ३२ वर्षको उमेरमै सीईओ एभरेष्ट इन्स्योरेन्समा दीपप्रकाशले मिहिनेत गर्दै गए । एभरेष्ट इन्स्योरेन्समा उनले १० वर्ष बिताए । त्यतिबेला नेपालमा बीमा क्षेत्र अझै बाल्यावस्थामै थियो । निजी क्षेत्रका जम्मा चार कम्पनी मात्रै थिए । बीमामा दक्ष जनशक्ति अभाव थियो ।  उनको मिहिनेत देखेर कम्पनीले उनलाई ३२ वर्षको उमेरमै एक्टिङ सीईओ बनायो । ‘यदि त्यतिबेला असफल भएको भए, म सायद आज यहाँ हुने थिइनँ,’ उनी भन्छन् ।’ १० वर्षमै कम्पनीलाई अग्रणी अवस्थामा पुर्याएपछि उनले नयाँ चुनौतीको खोजी गरे । एभरेष्टपछि उनको यात्रा शिखर इन्स्योरेन्ससँग जोडियो । सुरुमा जम्मा ५/६ शाखा भएको कम्पनीलाई उनले आज १२० भन्दा बढी शाखासहित देशकै अग्रणी कम्पनी बनाएका छन् । त्यसको प्रिमियम संकलन २० वर्षमा ७०/७२ करोडबाट बढाएर ६ अर्ब पुर्याएका छन् । शिखरले लगानीकर्तालाई राम्रो प्रतिफल दिइरहेको छ ।  उनलाई लामो समय सीईओमा निरन्तरता दिएको भन्दै आलोचना पनि भयो । त्यसको जवाफ दिँदै उनी भन्छन्, ‘संस्थालाई अझै मेरो आवश्यकता छ भने नेतृत्व गर्न म तयार हुन्छु ।’ बीमामा योगदान  दीपप्रकाशले बीमामा विभिन्न प्रडक्टहरूको परीक्षण गरे । कतिपय सफल भएनन् । कतिपय प्रडक्टले उनलाई बीमा क्षेत्रमा चिनयो, उनी बीमामा एक ब्राण्ड हुन् भन्ने बलियो आधारस्तम्भ तयार गर्यो । दीपप्रकाश भन्छन्, ‘हामीले गल्तीबाट पाठ सिक्दै अगाडि बढ्नुपर्छ ।’ उनको बुझाइमा संस्थाको सफलता एउटै व्यक्तिको नभई समूहको हुन्छ । त्यसैले उनी टिम वर्कमा जोड दिन्छन् । ‘मैले मेरो टिमलाई विश्वास गरेर एउटा सपना देखाउँछु,’ उनी भन्छन्, ‘म चाहिँ भाग्यमानी रहेछु, एउटा बलियो टिम मसँग छ ।’ आगामी तीन वर्षसम्ममा एक हजार करोड प्रिमियम पुर्‍याऔं भन्ने एउटा आँट, अठोट र साहस लिएर काम भइरहेको उनको भनाइ छ ।  ‘पहिले ६ सय करोड पनि पुग्छ कि पुग्दैन भन्ने सपना थियो त्यो अहिले पुरा भएको छ, अब हामी एक हजार करोडको प्रिमियम पुर्याउने योजनामा छौं,’ उनले भने ।  ६० वर्ष नजिकिँदै गर्दा पनि उनी सक्रिय छन् । सकारात्मक सोच, शान्ति र साधारण जीवनशैलीमा उनी विश्वास गर्छन् ।  ‘नेगेटिभ भाइब्समा अल्झिनु भन्दा पोजिटिभ भाइब्ससँग अघि बढ्नुपर्छ,’ उनी भन्छन् ।  पछिल्ला दिनमा दीपप्रकाशलाई घरमा परिवारसँग समय बिताउनु नै ठूलो खुसी लाग्छ । ‘परिवारसँग सँगै खान बस्न पाउँदा नै जीवनको सबैभन्दा ठूलो आनन्द मिल्छ,’ उनी भन्छन् ।  ‘म एउटा जागिरेको छोरा । तर आज ६५० जनालाई रोजगारी दिने स्तरमा पुगेको छु, उनी गर्वका साथ भन्छन्, ‘यदि नेपालमा मजस्ता २ हजार मान्छे भए, देश अर्कै स्तरमा पुग्छ ।’ 

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन

काठमाडौं । डेल्टा अटोकर्पले पिपलबोट, बौद्धमा भदौ ३ गते भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन गरेको छ । कम्पनीले ग्राहकहरुलाई बिक्री पछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएको छ । डेल्टा अटोकर्प, भेष्पा अप्रिलियाको नेपालका लागि आधिकारिक बिक्रेता, नयाँ सेन्टरमार्फत स्कुटरको मर्मत, स्पेयर पार्ट्स र सेवा सुविधा एउटै छानामुनि उपलब्ध गराउने लक्ष्य राखेको छ । कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले नयाँ सर्भिस सेन्टरले ग्राहकहरुलाई बिक्री पछिको सेवाको दायरा फराकिलो बनाउने बताए । 'हामी हाम्रा ग्राहकहरुलाई सहज, भरपर्दो र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं । यो नयाँ सर्भिस सेन्टरले यस प्रतिवद्धतालाई अझ प्रभावकारी बनाउनेछ, ' कम्पनीको विज्ञप्तिमा उल्लेख छ । नयाँ सेन्टरमा अत्याधुनिक उपकरण र अनुभवी प्राविधिकहरु उपलब्ध छन्, जसले ग्राहकहरुको स्कुटरको मर्मत र सेवालाई प्रभावकारी बनाउनेछ । यसले ग्राहकहरुलाई समय बचत र सुविधा दुवै प्रदान गर्ने कम्पनीको विश्वास छ ।

विकास हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट, ५९ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले घटेर २७७७ बिन्दुमा झरेको छ । आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छ । बुधबार ३२३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २१ करोड, चन्द्रागिरी हिल्सको १९ करोड, युनाइटेड मोदीको १२ करोड ५५ लाख र राधी विद्युतको १२ करोड र २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज विकास हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  बुधबार होटल तथा पर्यटन समूह सबैभन्दा २.०३ प्रतिशत बढेको छ भने व्यापार सबैभन्दा धेरै १.०६ प्रतिशतले घटेको छ । बाँकी सबै समूहको गिरावट दर १ प्रतिशत मुनि रहेको छ । बैंकिङ ०.१९, विकास बैंक ०.७६, फाइनान्स ०.५३, हाइड्रोपावर ०.५८, लगानी ०.३९, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.५८ र अन्य ०.१० प्रतिशतले घटेका छन् ।  

काठमाडौंमा बसभित्रै महिलाको सिक्री लुटपाट

काठमाडौं । चक्रपथमा चल्ने महानगर यातायातको बसभित्रै एक महिलाको सिक्री लुटपाट भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार चाबहिलस्थित ओम अस्पताल अगाडिबाट बस चढेकी एक महिलाको सिक्री माछापोखरी पुग्दा लुटिएको हो । करीब २० वर्षकी ती महिला र उनका बाबुसँगै बस चढेका ४–५ जनाको समूहले आधा तोलाको सिक्री लुटपाट गरेको प्रहरीले जनाएको छ । लुटपाटमा संलग्न व्यक्तिहरूको हुलिया पहिचान भइसकेको भए पनि अहिलेसम्म पक्राउ परेका छैनन् । घटनापछि प्रहरीले बालाजु वृत्तबाट १० जना प्रहरी तथा सादा पोशाकमा खटिने सेफ्टी पिन टोली घटनास्थलमा परिचालन गरेको जनाएको छ ।

विद्या भण्डारीको सम्पर्क कार्यालयको उद्घाटन भोलि हुने

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राजधानीको थापागाउँ, नयाँ बानेश्वरस्थित चारतले घरमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्ने भएकी छन् ।  उक्त कार्यालय मदन भण्डारी फाउन्डेसनको नाममा सञ्चालन हुने बताइएको छ । फाउन्डेसनले भाडामा लिएको सो भवन ऐतिहासिक रूपमा पनि विशेष मानिन्छ ।  यही घरबाट २०४८ सालको आम निर्वाचनमा जननेता मदन भण्डारीले चुनावी अभियान सञ्चालन गरेका थिए ।  उक्त भवनबाट चलाइएको निर्वाचन अभियानले मदनलाई ऐतिहासिक जित दिलाएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएर मदनले संसदमा पहिलो पाइला टेकेका थिए । यही कारणले सो भवनलाई फाउन्डेसनले सम्पर्क कार्यालयका लागि रोजेको हो । उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिए पनि ओली बिरामी परेका कारण आउन नसक्ने जानकारी गराएको बुझिएको छ ।  फाउन्डेसनका पदाधिकारीहरूका अनुसार सम्पर्क कार्यालयमार्फत भण्डारी परिवार र संस्थाले विभिन्न सामाजिक तथा राजनीतिक गतिविधि सञ्चालन गर्नेछन् । यसअघि साउन २२ गते नै सो कार्यालयको तयारीबारे समाचार सार्वजनिक भएको थियो ।   

इलाममा पुवा खोलाको बेलीब्रिज सञ्चालनमा

काठमाडौं । इलाम नगरपालिका ९ र ११ जोड्ने पुवा खोलामा निर्माण भएको बेलीब्रिज बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले संयुक्त रूपमा पुलको उद्घाटन गरेका हुन् । भारतीय सरकारको सहयोगमा निर्माण भएको उक्त पुल सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दाको झापा आवतजावत सहज हुने भएको छ । सडक डिभिजन कार्यालय ईलामका प्रमुख पवन भट्टराईका अनुसार ४८.८ मिटर लम्बाइको यो पुल १ करोड ४८ लाख रुपैयाँको लागतमा सागर शुभारम्भ एरिसा जेभीले निर्माण गरेको हो । पुल सञ्चालनमा आएपछि पहाड र तराईबीचको दूरी छोटिने, यातायात आवागमन सहज हुने तथा स्थानीय कृषि उपजको बजार विस्तार भई स्थानीयको आर्थिक स्तर उकासिने विश्वास गरिएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । उद्घाटन कार्यक्रममा संघीय सांसद महेश बस्नेत, सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसी, पुल महाशाखाका प्रमुख ललिजन खनाल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख बिनोदकुमार मौवार, इलाम नगर प्रमुख केदार थापा, अन्य जनप्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो । यसैक्रममा मन्त्री दाहाल र राजदूत श्रीवास्तवले आजै पाँचथरको हेँवा खोलामा जडान गरिएको मोडुलर ब्रीजको समेत उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौंमा एग्रो डेभलपमेन्ट फण्ड स्थापना, कृषिमा आधारित उद्योग विस्तारमा सहयोग गर्ने

काठमाडौं । कृषिमा आधारित उद्योग व्यवसायको विकास र विस्तारमा सहयोग गर्ने उद्देश्यले काठमाडौंमा एग्रो डेभलपमेन्ट फण्ड स्थापना गरिएको छ । कृषि क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना, आयात प्रतिस्थापन र नेपालीको जीवनस्तर सुधार गर्न फण्ड स्थापनाको प्रक्रिया अघि बढाइएको हो । राज्यले कृषिलाई प्राथमिकतामा राखे पनि उद्यमीहरूलाई आवश्यक सहयोग प्राप्त गर्न कठिनाइ हुँदै आएको छ । बैंकको सावाँ, किस्ता र उच्च ब्याजदरको बोझ तथा प्राविधिक–विशेषज्ञ सेवा नपाउँदा धेरै उद्योग व्यवसाय समस्या भोगिरहेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज र काठमाडौंका उद्यमी, व्यवसायी तथा बैंक र बीमा क्षेत्रका व्यक्तिहरूले 'एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड' स्थापना गरेका हुन् । कम्पनीको मुख्य प्रवर्द्धकमा नेक्सजेन म्यानेजमेन्ट समूह, क्वेष्ट फर्मास्युटिकल्स समूह र कृषि उद्यमी शिवजी कलवार समूहसहित बैंक तथा बीमा विज्ञहरू रहेका छन् । लगानी संरचनामा नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको सबैभन्दा बढी २३.३३ प्रतिशत सेयर रहेको छ । पचास करोड अधिकृत पूँजी र तत्काल चुक्ता पूँजी दश करोडसहितको यो कम्पनी २०८२ साल आषाढमै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइसकेको हो । प्राइभेट इक्विटी कारोबार गर्नका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेको र साउन दोस्रो सातामा नेपाल धितोपत्र बोर्डमा समेत निवेदन पेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीको पाँच सदस्यीय सञ्चालक समितिको अध्यक्षमा रमेशकुमार भट्टराई चयन भएका छन् । समितिमा विजय बहादुर शाह, उमेशलाल श्रेष्ठ, श्रीचन्द्र भट्ट र प्रमोद कुमार साह सञ्चालक सदस्यका रूपमा रहेका छन् । नेपालमा विगतमा कृषि र अन्य उद्योग व्यवसायमा आवश्यक पूँजी जुटाउन प्रायः स्वपूँजी ९इक्विटी० वा बैंक कर्जामार्फत मात्र सम्भव हुन्थ्यो । तर, इक्विटीभन्दा बैंक कर्जामा बढी भर परिएकाले अत्यधिक ब्याज र किस्ता तिर्न नसक्दा धेरै उद्योग व्यवसाय रुग्ण वा बन्द हुन पुगेका थिए । यस्तो अवस्थालाई सम्बोधन गर्दै एग्रो डेभलपमेन्ट फण्ड लिमिटेडले समस्यामा परेका कृषि उद्यमीलाई सहयोग गर्ने गरी सञ्चालनमा आउने तयारी गरेको हो । यसका लागि राज्य सरकार, संघीय सरकार र अन्तर्राष्ट्रिय निकायहरूसँग प्रारम्भिक सम्पर्क समेत सुरु गरिसकेको कम्पनीले जनाएको छ । फण्डको मुख्य लक्ष्य कृषिमा सहयोग गर्न इच्छुक संघ–संस्था र नेपालीहरूसँग रहेको अनुत्पादक पूँजी संकलन गरी कृषिमा आधारित उद्योग व्यवसायमा इक्विटी सेयरमार्फत लगानी गर्नु र उद्यमीहरूलाई विशेषज्ञ सेवा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

मनमैजुबाट १० लाख बराबरका गरगहना चोरी

काठमाडौं । तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित एक घरबाट करिब १० लाख रुपैयाँ बराबरका गरगहना चोरी भएको छ । नर्थपोल स्कुल नजिकै रहेको तीनतले पक्की घरको पहिलो तलामा डेरा गरी बस्ने ६० वर्षीय एक पुरुषको कोठामा मंगलबार दिउँसो चोरी भएको हो । प्रहरीका अनुसार बिहान करिब ११ बजेतिर ढोकाको ताला फोडेर चोरी गरिएको थियो । चोरी भएको सामानमध्ये सुनको सिक्री, औंठी, बाला, मंगलसूत्र र नगद २ लाख ३० हजार रुपैयाँसहित जम्मा करिब १० लाख बराबरको सम्पत्ति रहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।