गृहसचिवको देशभरका सीडीओलाई कडा निर्देशन, ११ शीर्षकमा ७ पृष्ठ लामो परिपत्र जारी
काठमाडौं । गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई कडा निर्देशन जारी गरेको छ । गृहसचिव रामेश्वर दंगालले आइतबार सचिवस्तरीय निर्णय गर्दै शान्तिसुरक्षा, अपराध नियन्त्रण, सुशासन, नियमन र समन्वयलगायतका ११ शीर्षकमा सात पृष्ठ लामो निर्देशन सीडीओहरूलाई पठाएका हुन् । स्थानीय प्रशासनलाई थप जिम्मेवार, उत्तरदायी र जनमुखी बनाउँदै जनतामा राज्यप्रति भरोसा बढाउने खालको सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको हो । सचिव दंगालले शान्ति सुरक्षासम्बन्धी निर्देशनमा ९ वटा बुँदा समेटेका छन् । उनले अपराध नियन्त्रणका लागि ३ बुँदा र आसन्न निर्वाचन तयारीका सन्दर्भमा ५ बुँदामा स्पष्ट निर्देशन दिएका छन् । निर्देशनमा सार्वजनिक सेवा प्रवाहमा सहजता र प्रभावकारिता ल्याउनुपर्ने भनिएको छ । सीडिओहरूलाई स्थानीय निकाय, सुरक्षा निकाय र संघीय निकायहरूसँग समन्वय सुदृढ गर्नु र व्यक्तिगत आचरणको मर्यादा कायम राख्न समेत निर्देशन दिइएको छ । निर्देशनमा भनिएको छ, ‘सेवा लिने नागरिकसँगको व्यवहारमा संवेदनशील हुनुपर्ने र सरकारको कामप्रति जनताको विश्वास अभिवृद्धि गर्नुपर्ने छ ।’
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उच्च प्रविधिको मस्तिष्कघात केन्द्र स्थापना
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’ उच्च प्रविधिको मस्तिष्कघात केन्द्र स्थापना गरेको छ । विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट मान्यता प्राप्त गर्दै अस्पतालले उच्च प्रविधिको मस्तिष्कघात सम्बन्धी उपचार केन्द्र स्थापना गरेको बताएको छ । अस्पतालको गुणस्तरीय सेवा मूल्याङ्कनका आधारमा ग्रान्डीले एडभान्स्ड स्ट्रोक सेन्टर सञ्चालन गर्ने अवसर पाएको हो । केन्द्र स्थापनापछि मस्तिष्कघातको उपचारमा सहज हुने जनाइएको छ । अस्पतालका न्युरोलोजिस्ट तथा मस्तिष्कघात उपचार सम्बन्धी कार्यक्रमका निर्देशक डा. राजु पौडेलले बिरामीको उपचारमा टेवा पुग्ने बताए । ‘यो मान्यताले नेपाली जनतालाई विश्वस्तरीय मस्तिष्कघात उपचार प्रदान गर्ने हाम्रो अटुट प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ,’ उनले भने । मस्तिष्कघात विश्वव्यापी रूपमा मृत्यु र शारीरिक रुपमा अशक्तताको प्रमुख कारण हो । नेपालमा प्रत्येक १० मिनेटमा एक जना व्यक्ति मस्तिष्कघातबाट पीडित हुन्छन् । यो मान्यताले जीवन बचाउन र बिरामीको अवस्थाको सुधार ल्याउन द्रुत उपचार प्रणालीमा सहयोग गर्दछ । अस्पतालका न्यूरोइन्टरभेन्सन रेडियोलोजिस्ट डा. सुवास फुयाल मस्तिष्कघात बिरामीको उपचार गर्दा प्रत्येक क्षण महत्वपूर्ण हुने बताउँछन् । उनी भन्छन्, 'यो केन्द्रले नेपालभरका बिरामीलाई स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको मस्तिष्कघात उपचारमा सहयोग पुर्याउन मद्दत गर्दछ । विशेष गरी ठूला रक्तनली अवरोधमा थ्रोम्बेक्टोमी जस्ता उपचारात्मक विधिले समयमै उपचार सुनिश्चित गर्दछ । जसले विरामको अवस्थाको जटिलतालाई न्यूनीकरण गर्छ ।’ अस्पतालले मस्तिष्कघात उपचारका लागि न्युरोइमेजिङको माध्यामले कोइलिङ, स्याक्युलर डाइभर्सन, डिभाइसहरू, आर्टेरियो भेनस–मालफर्मेशनको उपचार, क्यारोटिड स्टेन्टिङ, र जटिल एन्युरिज्ममा फ्लो डाइभर्टर जस्ता उपचारात्मक विधि प्रयोग गर्दै आएको छ । जुन चिकित्सकीय रुपमा जटिल कार्य हो । अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल नेपालमा न्युरोलोजिकल उपचार विकास गर्न र मस्तिष्कघात उपचार र बिरामी हेरचाहको लागि उच्चतम् अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न निरन्तर प्रतिबद्ध रहेको बताए । उनले विश्वस्तरीय मस्तिष्कघात उपचारको लागि अस्पतालले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।
जेष्ठ नागरिकलाई हवाई भाडामा ८० प्रतिशत छुट
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) र वायु सेवा सञ्चालकहरुबीच हवाइ भाडामा सहमति भएको छ । कात्तिक २ गते नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरूबीच सम्पन्न बैठकमा भाडामा नयाँ सहमति भएको हो । बैठकले ७० वर्ष भन्दामाथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई हवाई टिकटमा नेपाल सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरूमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । यस्तै, ७५ वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई बुँदा १ बमोजिमको व्यहोरामा ७० प्रतिशत छुट साथै ८० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकहरूलाई ८० प्रतिशत छुट व्यवस्था गर्ने निर्णय गरेको छ । जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरूको सन्दर्भमा समेत उपरोक्त अनुसारकै न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुनेगरी व्यवस्था गर्ने निर्णय भएको क्यानले जानकारी दिएको छ । बैठकका निर्णय आजैदेखि लागू हुने बताइएको छ ।
ओली भन्छन् : म फेरि प्रधानमन्त्री बन्न सक्छु, मेरो माग बढ्न सक्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू पुनः प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको बताएका छन् आइतबार सम्पादकहरूसँगको छलफलका क्रममा उनले उनले आफू प्रधानमन्त्रीमा फर्कन सक्ने सम्भावना रहेको बताएका हुन् । उनले पछिल्लो समय अराजकता बढ्दै गएको बताउँदै यस्तै हुँदै गयो आफू प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको दाबी गरे । उनले अरुबाट नहुने रहेछ भनेर केपी ओलीको माग हुन सक्ने धारणा राखे ।
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
काठमाडौं । कैलालीस्थित टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका उच्चस्तरीय आयोग गठनको माग गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त र रजिस्ट्रार प्राडा विनोद लेखकलगायतको टोलीले आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई भेटेर क्याम्पसको अतिक्रमित ३०० बिघा जग्गा संरक्षणका लागि माग गरेका हुन् । उपकुलपति प्राडा पन्तले अतिक्रमित जग्गाको समस्या समाधानका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरी तत्काल पहल गर्न लिखित रूपमा अनुरोध गरिएको बताए । त्यस अवसरमा मन्त्री पुनले विश्वविद्यालयका प्रतिनिधिको मागप्रति सकारात्मक रहेको र उक्त विषयमा तत्काल आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको रजिस्ट्रार प्राडा लेखकले जानकारी दिए ।
ग्लोबल आइएमईद्वारा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम र विद्यालयलाई डिजिटल बोर्ड प्रदान
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बागलुङ जिल्लाको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयमा असोज ३१ गते धितोपत्र बजार, पूँजी बजार तथा लगानी सम्बन्धी विषयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ग्लोबल आइएमई क्यापिटलका कम्पनी सचिव छविलाल शर्मा पौडेलले पूँजी बजारका विभिन्न पक्षहरूबारे जानकारीमूलक प्रस्तुति दिए । सोही अवसरमा क्यापिटलले आफ्ना संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको शिक्षण–सिकाइ प्रक्रियालाई प्रविधिमैत्री बनाउन सहयोगस्वरूप डिजिटल बोर्ड हस्तान्तरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा ग्लोबल आइएमई क्यापिटलका सञ्चालक एवं नेपाल सरकारका पूर्व सहसचिव शालिग्राम शर्मा पौडेलले यस्तो साक्षरता कार्यक्रमले विद्यार्थी र स्थानीय बासिन्दामा पूँजी बजारप्रति आधारभूत ज्ञान र लगानी चेतना बढाउने विश्वास व्यक्त गरे । उनले विद्यालयमा प्रदान गरिएको डिजिटल बोर्डले कक्षाकोठा शिक्षणलाई आधुनिक र आकर्षक बनाउने उल्लेख गरे । बागलुङ नगरपालिका–१३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई सेयर बजारबारे प्रारम्भिक ज्ञान दिनुको साथै प्राथमिक बजारमा लगानी गर्न उत्प्रेरित गर्ने बताए । उनले विद्यालयमा प्रविधिमैत्री शिक्षण सामाग्री उपलब्ध गराएकोमा ग्लोबल आइएमई क्यापिटलप्रति आभार व्यक्त गरे । कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामबहादुर केसीले विद्यालय, शिक्षक, विद्यार्थी र समुदायबीचको सहकार्यमा क्यापिटलले गरेको सहयोगलाई सराहना गर्दै धन्यवाद ज्ञापन गरे । विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले क्यापिटलको यो योगदानले शिक्षण–सिकाइलाई आधुनिक र गुणस्तरीय बनाउन टेवा पुर्याउने बताए । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, स्थानीय प्रतिनिधि, व्यवसायी तथा ग्लोबल आइएमई बैंक लिमिटेडका कर्मचारीहरूको उल्लेखनीय सहभागिता थियो । ग्लोबल आइएमई क्यापिटलले यस्ता वित्तीय साक्षरता कार्यक्रमहरू ग्रामीण क्षेत्रमा समेत विस्तार गर्दै पूँजी बजारप्रतिको पहुँच र लगानी चेतना अभिवृद्धि गर्न निरन्तर प्रयासरत रहेको जनाएको छ ।
सैन्य सुरक्षामा रहँदा मेरो फोन खोसियो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले जेनजी प्रदर्शन पछि सैनिक सुरक्षामा रहँदा केही दिन आफ्नो मोबाइल सुरक्षाकर्मीले खोसेको खुलासा गरेका छन् । प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पहिलोपटक सम्पादकहरूसँग संवाद गर्दै उनले यस्तो खुलासा गरेका हुन् । भदौ २४ गते प्रदर्शन चर्किएपछि ओली सैनिक सुरक्षामा एक साता बसेका थिए । असोज २ गते शिवपुरी ब्यारेकबाट फर्किएका पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन् ।
आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट, १६३ कम्पनीको मूल्य बढ्यो
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले बढेर २५०३ बिन्दुमा पुगेको छ । आज १६३ कम्पनीको मूल्य बढ्दा ७८ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२३ कम्पनीको ६१ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रियन्स्योरेन्सको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टीलरीको २५ करोड, युनियन हाइड्रोपावरको १६ करोड र सीइडीबी होल्डीङसको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आइतबार विकास बैंक समूह ०.२१, म्युचुअल फण्ड ०.१३ र निर्जीवन बिमा समूह ०.३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । बैंकिङ ०.८७, वित्त ०.५१, होटल तथा पर्यटन ०.७२, जलविद्युत् ०.७०, लगानी ०.७५, जीवन बिमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त ०.४७, व्यापार ०.९० र अन्य समूह १.१६ प्रतिशतले बढेको छ ।