विकासन्युज

कोहलपुर बसपार्क साउनदेखि सञ्चालनमा आउने

जानकी । बाँकेको कोहलपुरमा नवनिर्मित अत्याधुनिक बसपार्क साउनको पहिलो हप्ताबाट सञ्चालनमा आउने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमबीच उद्घाटन गरेपछि लामो दूरीमा सञ्चालन हुने बस उक्त बसपार्कबाट सञ्चालनमा आउने भएका हुन् । ३० करोड ६२ लाख सात हजार सात सय एकको लागतमा निर्माण गरिएको उक्त नयाँ बसपार्क साउनको पहिलो सातादेखि सञ्चालनमा आउने कोहलपुर नगरपालिकाले जनाएको छ । नगरप्रमुख पूर्ण आर्चायका अनुसार बसपार्क निर्माणका लागि नगर विकास कोषले ६० प्रतिशत ऋण लगानी गरेको छ भने ४० प्रतिशत नगरपालिका आफैँले लगानी गरेको जनाकारी दिए । उनका अनुसार नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज तिर्नेगरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको छ । तीन वर्षसम्म बसपार्क व्यवस्थापन गर्न वार्षिक ७१ लाख ७७ हजार सात सय ७७ रुपैयाँ तिर्ने गरी ठेक्कामा दिइएको छ । उक्त नयाँ बसपार्कमा बस पार्किङ, टिकट काउन्टर, शपिङ कम्प्लेक्स लगायतका संरचना छन् । बसपार्कमा तीन प्लेटफर्म रहेको र बसपार्कभित्रै व्यावसायिक सटरसँगै, स्वास्थ्य चौकी, बैंक तथा सुरक्षा निकाय पनि रहने व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । बसपार्क उद्घाटन भए पनि बसपार्कको संरचनासँगै निर्माण गरिएको चारतले टर्मिनल भवनको भने ठेक्का लाग्न नसकेको प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । टर्मिनल भवन ठेक्काका लागि पाँचौँ पटक बोलपत्र आह्वान गरिएको र बोलपत्र आह्वान गर्ने समय अझै बाँकी रहेको उनले बताए । उक्त नयाँ बसपार्कमा २० लामो दूरीका बस, २२ मध्यम दूरीका सवारी साधन तथा गाडी र अटोसहित ७९ छोटो दूरीका सवारी साधन अट्ने क्षमता रहेको बसपार्कमा ५९ व्यावसायिक सटर, तीन ब्लकमा २७ शौचालय (तीन अपाङ्गमैत्री), २४ टिकट काउन्टर, ग्यारेजसहित दुई विद्युतिय चार्जिङ सेन्टर, प्रहरी सुरक्षा कक्ष, स्तनपान कक्ष र धुम्रपान कक्ष निर्माण गरिएको छ । पश्चिम नेपालकै सुविधा सम्पन्न सो बसपार्कको समग्र व्यवस्थापनको जिम्मा बागेश्वरी यातायात व्यवसायी प्रालि कोहलपुरले लिएको थियो । बागेश्वरी यातायात प्रालिले बसपार्क व्यवस्थापनसँगै प्रवेश, टिकट काउन्टर, शौचालय मर्मतसम्भार, ब्लक र पार्किङको व्यवस्थापनको जिम्मा लिएको छ । उक्त अत्याधुनिक नवनिर्मित बसपार्क शपिङ कम्प्लेक्ससहित निर्माण भएको छ । रासस

सानिमा बैंकद्वारा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला भुमिका आलेको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला क्षितिज आलेलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरिएको छ । सानिमा बैंकका कुमारीपाटी शाखाका शाखा प्रबन्धक श्रीमती रोमिला कोइरालाले बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरे । स्वर्गीय भुमिका आलेले सानिमा बैंकको कुमारीपाटी शाखामा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत तलब खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगहरुको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा, ५० हजार रुपैयाँको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

दिवङ्गत दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की नेतृ एवं केन्द्रीय सल्लाहकार स्वर्गीय दाहालको निधनप्रति शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो । साथै दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जारी गरेकी शोक वक्तव्यमा भनिएको छ, ‘संवत् २०२८ सालदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा आवद्ध रही समाज रुपान्तरणका लागि भएका सशस्त्र सङ्घर्षलगायतका आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी स्वर्गीय दाहालको निष्ठा, त्याग र सङ्घर्षमय जीवनका उदाहरणीय पक्षलाई सबैले आत्मसात गर्न सक्नु उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास नेपाल सरकारको छ ।’

२० हजार दुई सय हेक्टर जमिनमा पुग्यो सिक्टाको पानी

राँझा। राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँकेको २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार दुई सय गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विशाल यादवले जानकारी दिए । बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आर्थिक वर्ष २०६२/६३ देखि सिक्टा सिँचाइ आयोजना निर्माण थालिएको थियो । आयोजना सुरु भएको करिब दुई दशकमा लक्ष्यको ५० प्रतिशत क्षेत्रमा सिँचाइ पुग्न थालेको छ । आयोजनाका सूचना अधिकारी यादवका अनुसार ३९ किलोमिटर पूर्वी नहर र सोअन्तर्गतका छ शाखा नहरको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । अहिले पूर्वी नहरअन्तर्गत नरैनापुर गाउँपालिकाको क्षेत्रसम्म पानी पुगेको छ । राप्तीसोनारी गाउँपालिका–६ का वडा सदस्य नरबहादुर पुनले नहरमा नियमित पानी बगेपछि यस वर्ष बेलैमा धानको बीउ रोप्न पाएको बताए। फत्तेपुरमा सिक्टा सिँचाइको पानी बगेपछि आकाशे पानीको भरमा खेती गर्ने बाध्यता अब समाप्त भएको उनको भनाइ छ । राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारूले सिक्टा सिँचाइको पानी फत्तेपुर क्षेत्रका लागि बरदान भएको बताए। उनले गत वर्षदेखि नै सिक्टा सिँचाइको पानी उपयोग गरी किसानले बेलैमा धानको बीउ रोप्नाका साथै तरकारी खेतीसमेत गर्न सफल भएको बताए । राप्ती सोनारीको अगैयास्थित राप्ती नदीमा तीन सय १७ मिटर ब्यारेज निर्माण गरी बाँकेकोे ४२ हजार सात सय ६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्य लिई नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरबाट राप्ती नदी पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर जमिन र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ । पश्चिमी नहरको सिँचाइले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका किसानले समेत यस वर्ष समयमै धान रोपाइँ गर्न पाएको कोहलपुर–१५ का स्थानीय अगुवा सन्तराम थारूले बताए । उनले नहरमा नियमित पानी बगेपछि किसानले मोटरको प्रयोग गरी पानी तानेर पनि आफ्नो खेतबारी सिँचाइ गरेको जानकारी दिए। किसानलाई आवश्यकताअनुसार माग हुनासाथ नहरमा पानी छाडिदिने गरेको इन्जिनियर यादवको भनाइ छ । सिँचाइ सुविधा भएपछि किसानले तीन बाली लगाउन सक्ने भएका छन् । अहिले पश्चिमी मूल नहरअन्तर्गत शाखा नहर विस्तारको काम भइरहेको छ । पूर्वी नहरअन्तर्गत नरैनापुर क्षेत्रमा विस्तारका लागि आवश्यक तयारी गरिएको छ । बस्तीभन्दा बाहिर वन क्षेत्रबाट नहर लैजानुपर्ने स्थानीयको मागअनुसार आवश्यक अध्ययन भइरहेको इन्जिनियर यादवले बताए । आकाशे पानीको भरमा खेती गर्दै आएका नरैनापुरवासीले गत वर्ष बर्सात नभएका कारण धान रोप्न नपाएकाले पनि अहिले नहर निर्माणप्रति चासो र चिन्ता देखाएको स्थानीय अगुवा सोहनलाल यादवले बताए। बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गरी बाह्रैमास किसानलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यका साथ काम भइरहेको बताए । उनले नरैनापुर क्षेत्रमा नहर विस्तारका लागि सहमति जुटिसकेकाले सोही अनुरुप काम सुरु हुने विश्वास गर्दै आवश्यक समन्वयका लागि आफूले पहल गरिरहेको जानकारी दिए । सिक्टा सिँचाइ आयोजनाका लागि आगामी आव २०८०/८१ मा  ८० करोड रुपैयाँ विनियोजन भएको छ । आगामी आवमा यो बजेटबाट सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको नियमित मर्मत गरी सञ्चालनलाई निरन्तरता दिइनाका साथै पूर्वी मूल नहरतर्फको ३९ किलोमिटर नहर सञ्चालनमा ल्याई थप ५३ किलोमिटरसम्मको निर्माण कार्यको सुुरुआत गरिने आयोजनाले जनाएको छ ।रासस

भारतीय प्रधानमन्त्री मोदीले नेपालीमा ट्विट गर्दै सीता दाहाललाई दिए श्रद्धाञ्जली

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आज सामाजिक सञ्जाल ट्वीटरर्माफत सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । साथै उनले प्रधानमन्त्री दाहालप्रति समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिरशान्ति मिलोस् भनी प्राथना गरेका छन् । ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति,’ उनले लेखेका छन् । सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार समेत हुन् ।  

छात्रवृत्तिका लागि जापानद्वारा साढे ३८ करोड अनुदान

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापानी राजदूत किकुता युताकाले उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार सन् २०२३ र २०२४ मा निजामती कर्मचारीलाई छात्रवृत्ति उपलब्ध गराउन जापान सरकारले ३८ करोड ५० लाख (४२ करोड ४० लाख जापानी येन) अनुदान उपलब्ध गराउनेछ । यो अनुदान रकम निजामती कर्मचारीलाई दिइने स्नातकोत्तर र पिएचडी तहको छात्रवृत्ति कार्यक्रमका लागि खर्च गरिनेछ । जापान सरकारले नेपाललाई सन् २०१५ देखि यस्तो सहयोग उपलब्ध गराउँदै आएको छ । जेडिएस कार्यक्रमअन्तर्गत जापानले सन् २०१६ देखि २०२२ सम्म दुई चरणमा गरेर एक सय जना निजामती कर्मचारीलाई छात्रवृत्ति प्रदान गरिसकेको छ । तेस्रो चरणको यो छात्रवृत्ति कार्यक्रमबाट २० जनाले स्नातकोत्तर र दुई जनाले पिएचडी तह पढ्न पाउनेछन् । उक्त सम्झौता कार्यक्रममा अर्थमन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का वरिष्ठ प्रतिनिधि लिजुका केनिचिरो पनि सहभागी थिए।रासस

राष्ट्रिय आवास कम्पनीले सहरी विकास मन्त्रालयलाई दिएको स्कुटर हरायो

सांकेतिक तस्बिर काठमाडौं । राष्ट्रिय आवास कम्पनीले सहरी विकास मन्त्रालयलाई दिएको स्कुटर हराएको छ । कम्पनीले सहरी विकास मन्त्रालयलाई एकवर्ष अगाडि दिएको होन्डा डिओ स्कुटर हराएको हो । कम्पनीका महाप्रवन्धक नारायण बाँस्तोलाले मन्त्रालयलाई दिएको स्कुटर नभेटिएपछि ट्राफिक प्रहरीलाई उजुरी गरेका छन् । स्रोतका अनुसार भने मन्त्रालयले उक्त स्कुटर विभागमा करारमा कार्यरत मेगा शाह भन्ने कर्मचारीलाई दिएको थियो । शाहले उक्त स्कुटर राष्ट्रिय आवास कम्पनीकै अध्यक्ष सन्दीपकुमार मिश्रलाई सोझै दिएको बुझिन आएको मन्त्रालय स्रोतले बताएको छ । तर, स्कुटरको औपचारिक अवस्थाबारे लामो समदेखि जानकारी नभएकाले प्रहरीमा उजुरी गरेको महाप्रवन्धक बाँस्तोलाले बताए ।

हिमालयन लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो १ करोड रुपैयाँको मृत्यु दावी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क १ करोड रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मृतक बीमित देव बहादुर खत्रीको पत्नी यमुना चालिसेलाई सो मृत्यु दावी रकम भुक्तानी गरेको हो । साविक यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा तीन बर्ष अघि १ करोड रुपैयाँको जीबन बीमा गरेका देव बहादुर खत्रीको मृत्यु पश्चात सो दावी रकम प्रदान गरिएको हो । कम्पनीको नयाँ बानेश्वर शाखा प्रबन्धक बिमल पौडेलले मृतकको पत्नी यमुना चालिसेलाई चेक हस्तान्तरण गर्नु भएको हो । कम्पनीबाट प्रदान गरिएको चेक ग्रहण गर्दै बीमितको पत्नी यमुना चालिसेले समयमानै कम्पनीले दावी भुक्तानी गरेको उल्लेख गर्दै यस प्रकारको कार्यबाट बीमा कम्पनी प्रति आम मानिसको बिश्वास बढ्ने कार्य भएको बताए । कम्पनीले आवश्यक प्रक्रिया पुरा भई बीमितहरुबाट प्राप्त भएका मृत्यु दावीहरु छिटो छरितो रुपमा भुक्तानी गर्दै आएको जनाएको छ ।