लक्ष्मी सनराइजले दुई दिन भित्रै अन्तिम स्वीकृति पाउने, राष्ट्र बैंक भन्छ : सञ्चालकमाथि सोधखोज गर्दैछौं
काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई चाँडै अन्तिम स्वीकृति दिने बताएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले असार मसान्तभित्रै एकीकृत कारोबार सम्पन्न गर्ने गरी दुवै बैंकलाई अन्तिम स्वीकृति दिने तयारी भइरहेको बताए । उनका अनुसार लक्ष्मी सनराइज बैंकलाई एक/दुई दिन भित्र अन्तिम स्वीकृति दिने तयारी भइरहेको छ । उनले अन्तिम स्वीकृति रोक्नुको कुनै कारण नभएको समेत बताए । दुवै बैंकको असार मसान्तभित्र एकीकृत कारोबार गर्ने योजना सफल हुने उनकाे भनाइ छ । ‘हालसम्म लक्ष्मी र सनराइज बैंकलाई मर्जरमा जान अन्तिम स्वीकृति दिइएको छैन, त्यो प्रक्रियामा छ, अन्तिम स्वीकृति रोक्नुको कुनै कारण छैन, उहाँहरुका डकुमेन्ट आएका छन्, हामीहरुले अध्ययन गर्दैछाैं,’ उनले भने, ‘उनीहरुको असार मसान्तभित्र एकीकृत कारोबार गर्ने योजना हो, त्योभित्र सायद भ्याउँछन् होला, उनीहरुले आफ्नो योजना बनाइरहेका छन्, चाँडै स्वीकृति पाउँछन, अबको एक/दुई दिनभित्र अन्तिम स्वीकृति पाउँछन् ।’ असार २४ गतेभित्र एकीकृत कारोबार गर्नका लागि भने तयारी नपुगेको उनको भनाइ छ । अन्तिम स्वीकृति दिँदा सञ्चालकमाथि सोधखोज हुनु सामान्य विषय रहेको उनले बताए । ‘उनीहरुले अस्ति मात्रै कागजात पेश गरेका हुन्, सञ्चालकमाथि सोधखोज हुनु त सामान्य विषय हो, अन्तिम स्वीकृति दिन सम्भवतः ढिला हुँदैन,’ उनले भने । दुवै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले असार २४ गते एकीकृत कारोबार गर्ने गरी मिति तय गरेका थिए । तर, राष्ट्र बैंकले अन्तिम स्वीकृति दिन ढिला गरेपछि एकीकृत कारोबार मिति सर्ने हाेकि भन्ने शंसय पैदा भएकाे छ । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिको टुंगो लागिसकेको छ । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । मर्जपश्चात् सञ्चालक समितिको पहिलो बैठकले बैंकको अध्यक्ष नियुक्त गर्नेछ । पहिलो साधारण सभा सम्पन्नपछि बन्ने सञ्चालक समिति ५ सदस्यीय हुने बैंकले जनाएको छ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने लक्ष्मी बैंकले बताएको छ । साथै, लक्ष्मी बैंकका सीईओ अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुनेछन् । दुवै बैंक समान हैसियतमा मर्जरमा जान लागेका हुन् । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । मर्जर प्रक्रियामा झण्डै २ करोड रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८१ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५० अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २७२ वटा पुग्ने छन् भने कर्मचारी संख्या ३ हजार १७० जना पुग्नेछन् ।
एसईईमा २२ हजार चारसय ७५ जना विद्यार्थीले ल्याए ए प्लस, कति विद्यार्थीको जिपिए कति ?
काठमाडौं । एसईईको नतिजामा २२ हजार चार सय ७५ जना विद्यार्थीले ए प्ल ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज एसईई परीक्षाको नतिजा सार्वजनिक गर्दै परीक्षामा सहभागी भएका चार लाख ८४ हजार नौ सय ३९ विद्यार्थी मध्ये जम्मा २२ हजार चार सय ७५ जनाले मात्रै ए प्लस ल्याएको जनाएको छ । बोर्डका अनुसार जिपिएको आधारमा २२ सय जना विद्यार्थीले ०.८० देखि १.२० जिपिए, ३८ हजार ७७० जनाले १.२० देखि १.६० र ८८ हजार चारसय ४७ जना विद्यार्थीले १.६० देखि २.०० जिपिए अंक ल्याएका छन् । त्यस्तै, एक लाख दुई हजार दुईसय ९३ जना विद्यार्थीले २.०० देखि २.४०, ८९ हजार तीनसय ३१ जना विद्यार्थीले २.४० देखि २.८०, ७२ हजार तीनसय ६२ जना विद्यार्थीले २.८० देखि ३.२० र ५५ हजार ६९ जना विद्यार्थीले ३.२० देखि ३.६० जिपिए अंक ल्याएको बोर्डले जानकारी दिएको छ ।
रासायनिक मल आपूर्तिबारे अर्थसमितिले प्रधानमन्त्री र अर्थमन्त्रीसँग जानकारी माग्ने
काठमाडौं । प्रतिनिधिसभाको अर्थसमितिले किसानलाई वितरण गर्ने रासायनिक मल आपूर्तिको अवस्थाको बारेमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग जानकारी माग्ने भएको छ । आगामी बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीबाट रासायनिक मल आपूर्तिमा भएको प्रगतिको बारेमा जानकारी लिने निर्णय भएको समितिका जेष्ठ सदस्य एवं सभापति विनोद चौधरीले बताए । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसाललाई बोलाएर रासायनिक मल आपूर्तिको अवस्थाको बारेमा जानकारी लिएको थियो । किसानलाई वितरण गर्ने रासायनिक मलबारे ठोस कार्ययोजना बनाई लागू गर्ने विषयमा भएको समस्याका बारे बैठकले मन्त्री भुसालसँग जानकारी मागेको थियो । बैठकका सभापति चौधरीले नेपाल सरकारले पेट्रोल, डिजेलमा जस्तो सरकार–सरकारबीच सम्झौता गरेर आपूर्ति गर्ने, नेपालमा नै रासायनिक मल उत्पादन गर्ने, उद्योग स्थापना गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने बताए । सरकारले मात्र आपूर्ति गरिरहेको अवस्थामा निजी क्षेत्रलाई किन खुला गर्न नसकिने जस्ता विषयमा सरकार स्पष्ट हुनुपर्ने उनले बताए । किसानको विषय र नेपालको अर्थतन्त्रलाई असर गर्ने विषयमा प्रधानमन्त्रीसहित मातहतका निकाय कार्ययोजनासहित स्पष्ट हुनुपर्ने चौधरीको भनाई छ ।
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव शून्य छ अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव ३८ मा सीमित भएको छ । ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूच्क शून्य दशमलव ५८ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव १६ सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको सेयर मूल्य उकालो लाग्दा सात उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ । कूल ९७ लाख ५१ हजार नौ सय ८५ कित्ता सेयर तीन अर्ब सात करोड ७४ लाख ९८ हजार तीन सय १५ रुपैयाँ मूल्यमा खरिदबिक्री भएका छन् । नेप्सेका अनुसार, कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १८ करोड ५६ लाख ४२ हजार एक सय २१ रुपैयाँ बराबरको कारोबार भएको छ । प्रभु बैंकको संस्थापक सेयर १६ करोड ९७ लाख ५२ हजार छ सय रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्स १५ करोड ३६ लाख ८३ हजार चार सय २८ रुपैयाँ, सिटी होटल १४ करोड ७३ लाख ६१ हजार नौ सय ४५ रुपैयाँ, सोल्टी होटल १० करोड ६९ लाख नौ सय ७९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार, सिटी होटल र रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । माथिल्लो तामाकोशी नौ दशमलव ८५, जोशी हाइड्रोपावर नौ दशमलव ३३, पिपल्स पावरका लगानकर्ताले सात दशमलव ६३ प्रतिशतले कमाएका छन् । यस्तै, मोदी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ । अरुण भ्याली हाइड्रोपावर पाँच दशमलव ६७, सिनर्जी पावर चार दशमलव ६२, बिपीडब्ल्यू लघुवित्त चार दशमलव ४० र कालिका पावर कम्पनीका लगानीकर्ताले तीन दशमलव ९२ प्रतिशतले गुमाएका छन् ।
सरकारका वेवसाइट नै सुरक्षित छैन : सभामुख पाठक
काठमाडौं । बागमती प्रदेशका सभामुख भूवन कुमार पाठकले सरकारका वेवसाइट तथा डाटा सेन्टर सुरक्षित हुन नकसकेको बताएका छन् । बिहीबार हेटौंडामा नेपाल दुरसंचार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेशन प्रालिको समन्वयमा भएको प्रदेशसभा सदस्यहरुका लागि इन्टरनेट र सामाजिक संजालको सुरक्षित प्रयोग विषयक तालिम कार्यक्रममा बोल्दै सभामुख पाठकले कुनैपनि समयमा ह्याकरले सरकारका वेवसाइट र डाटा सेन्टरहरु ह्याक गर्न सक्ने बताए । सरकारका कामहरु पेपर लेस सिस्टम कार्यान्वयनमा अघि बढ्दै गर्दै गरेको अवस्थामा इन्टरनेटबाट हुने गरेका कामकाजहरुलाई सुरक्षित गर्नु जरुरी रहेको उनले बताए । सरकारले साइबर सुरक्षा सम्बन्धी नीति तजर्समा गरी कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाई छ । ‘हामी पेपर लेस गभर्नेन्स तर्फ अघि बढी रहेका छौं । तर, हाम्रो सरकारको वेवसाइट र डाटा सेन्टरहरु सुरक्षित छैनन् । कनै पनि समय हाम्रा वेवसाइटहरु ह्याकरले ह्याक गर्न सक्छन् ।’ उनले भने, ‘सरकारले आफ्नो सिस्टम विकास गरेर वेवसाइट र डाटा सेन्टरहरुलाई सुरक्षित गर्नुपर्छ । त्यसका लागि उचित नीति बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ । सरकारले साइबार सुरक्षा न्यूनिकरणमा जोड दिनुपर्छ ।’ पछिल्लो समयमा साइबर अपराधका घटनाहरुमा निरन्तर रुपमा वृद्धि हुने क्रम जारी रहेको उनले बताए । सरकारले साइबार अपराध न्यूनिकरण तर्फ आवश्यक तयारी गर्न जरुरी रहेको उनको भनाई छ । कार्यक्रममा क्यान महासंघ नेपालका महासचिव इवम् साइबर सुरक्षा विज्ञ चिरञ्जिवी अधिकारीले तालिमको सहजिकरण गरेका थिए । बागमती प्रदेशका ८० जना सांसदहरुको उपस्थिती रहेको उक्त तालिममा साइबार सुरक्षामा तीनै तहका सरकारले इथिकल ह्याकरलाई क्यापिटलाज गर्नुपर्ने बताए । नेपाल बन्छ जब नेमालमा नै बनाइन्छ, सफ्टवेयरबाट समृद्धि भन्ने नारालाई आत्मसाथ गर्दै नेपाललाई समृद्धिको बाटोमा अघि बढाउनु पर्ने उनले बताए । प्रविधिको बढ्दो प्रयोगसंगै साइबार सुरक्षाको विषयलाई विद्यालय स्तरबाटै अनिवार्य शिक्षाको रुपमा पाठ्यक्रममा नै समावेश गर्नुपर्नेमा उनले जोड दिए । साइबर सुरक्षाको चुनौतिहरुलाई न्यूनिकरणका लागि हरेक स्थानीय हतमा अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्नुपर्ने उनको भनाई छ । नेपाल दुरसंचार प्राधिकरणका निर्देशन विजय कुमार रायको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा दुरसंचार सेवाको पहुँच ७७ वटै जिल्लाका स्थानीय तहमा फोर जि र ब्रोडव्याड इन्टरनेट सेवाको विस्तार भएको बताए । सेवाको विस्तार सहित चुनौतिको पनि सोही अनुसार बढ्दो क्रममा रहेको उनको भनाई छ । ‘विगत २५ वर्षदेखि नेपाल दुरसंचार प्राधिकरणले दुरसंचार क्षेत्रको नियामक निकायको रुपमा काम गर्दै आएको छ । दुरसंचार सेवाको विकास तथा विस्तारको लागि नीति निर्माण गर्ने कार्यमा सरकारको सल्लाहकारको रुपमा काम गरिरहेको छ । गुणस्तरीय तथा उचित मुल्यमा दुरसंचार सेवा उपलब्ध गराउन र सेवा प्रदायकहरु बिच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने काम गरिरहेको छ ।’ उनले भने । हाल करिव ९५ प्रतिशत जनसंख्यामा मेबाईल ब्रोड व्याण्ड सेवा र करिव १२५ प्रतिशत जनसंख्यामा मोबाइल टेलिफोन सेवाको पहुँच पुगिसकेको उनले बताए । ब्रोड व्याण्ड इन्टरनेट सेवाको विस्तारसंगै अनलाईन सेवाहरुको उपलब्धता र प्रयोगमा पनि वृद्धि हुँदा जोखिम पनि सोही अनुपादमा बढ्दो क्रममा रहेको उनको भनाई छ । ‘बालबालिका देखि नीति निर्माणकर्ता समेत अनलाईन जोखिममा पर्ने गरेको र साइबर आक्रमणको सिकार बनेका छन् । डिजिटल भुक्तानि प्रविधिमा बढ्दो आकर्षणले थप सुरक्षा चुनौति थपिएको छ । यसको न्यूनिकरण जरुरी रहेको र आम नागरिकदेखि नीति निर्माणकर्ताहरु सो जोखिमको नियन्त्रणमा जागरुक हुनु आवश्यक रहेको छ ।’ उनले भने । साइबार सुरक्षाका विषयमा नीति निर्माणसंगै चुनौति न्यूनिकरणका लागि आम नागरिकहरुलाई अभिमुखिकरण गर्दै अघि बढ्नुपर्ने उनको भनाई छ । मल्टि फ्याक्टर अथेन्टिकेशन र आफ्नै नामको सिमकार्ड प्रयोग गर्दा साइबर सुरक्षा जोखिम कम हुने उनले बताए ।
४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध
काठमाडौं । सरकारले ४० माईक्रोन भन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले विज्ञप्ति जारी गर्दै ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध लगाएको जानकारी दिए । उनले प्लास्टिक झोला तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्दै नगर्ने गर्नुपर्ने भएमा ४० माइक्रोनभन्दा बढीका प्लास्टिक झोला तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्न आग्रह गरे । उनले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले पनि ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध गर्ने सरकारको अभियानमा सहयोग गर्न आग्रह गरे । फोहरमैला व्यवस्थापनसम्बन्धी आधाररेखा सर्वेक्षण २०२२ अनुसार घरपरिवार निस्कने फोहरमैलामध्ये प्लास्टिकजन्य फोहरको अंश १२ प्रतिशत, संस्थागत क्षेत्रको फोहरमध्ये प्लास्टिकजन्य फोहरको अनुपात २१ प्रतिशत र व्यापारिक क्षेत्रको फोहोरमध्ये प्लास्टिकजन्य फोहोरको अंश २२ प्रतिशत रहेको उल्लेख गरिएको छ । सचिव डा पुष्करले प्लास्टिकजन्य फोहरका कारण हतितगृह ग्यास उत्सर्जन हुने, जलचर जीवजन्तुको मृत्युको कारक बन्ने, प्लास्टिक बाल्दा वायुमण्डल डाइअक्सिन, प्यूरान जस्ता विषालु ग्यास उत्सर्जित हुने, प्लास्टिकजन्य फोहर नकुहिने हुँदा पानीका मुहान सुक्ने, जताततै फोहर देखिने लगायतका समस्याले वातावरणीय स्वास्थ्य र मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस
साझा यातायात ललितपुरको लेलेसम्म जाने
काठमाडौं । साझा यातायातले बिहीबारदेखि ललितपुरको लेलेदेखि रत्नपार्कसम्मको नयाँ रूटमा सेवा दिने भएको छ । साझाले ललितपुरको लेले–टीकाभैरव–चापागाउँ–थेचो–सुनाकोठी–लगनखेल–जवालाखेल–कुपन्डोल–त्रिपुरेश्वर– सुन्धारा–जमल–पुरानो बसपार्क (रत्नपार्क)रुटमा सेवा थाल्न लागेको बताएको छ । साझा यातायातले ४० वटा नयाँ बिजुली बस किनेपछि नयाँ रूटहरुमा सेवा विस्तार गरिरहेको छ ।
मल खरिदको टेण्डर अवधि १५ दिन बनाउनुपर्छ : मन्त्री भुसाल
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मल खरिद ऐन र खरिद नियमावली संशोधन गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको अर्थ समितिको बैठकमा उनले नियमावली संशोधनको आवश्यकता रहेको बताएका हुन् । रासायनिक मल खरिद प्रक्रियाको टेण्डर ४५ दिन रहेकोमा अब १५ दिन राख्नेगरी मन्त्रालयले प्रस्ताव अघि बढाएको उनले बताए । जिटुजी प्रक्रियाबाट नै मल खरिद गर्नुपर्ने र जिटुजीका लागि बजेटको अग्रिम सुनिश्चिततालाई जोड दिन आवश्यक रहेको बताए । छोटो समयमा नै मल खरिद गरी समयमा नै किसानलाई आपूर्ति गर्ने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताए । मन्त्री भुसालले रासायनिक मलमा मात्रै निर्भर नभइ प्राङ्गारिक र जैविक मलमा निर्भर हुने कुरामा जोड दिन आवश्यक रहेको बताएका छन् ।