काठमाडौं । प्रतिनिधिसभाको अर्थसमितिले किसानलाई वितरण गर्ने रासायनिक मल आपूर्तिको अवस्थाको बारेमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग जानकारी माग्ने भएको छ ।
आगामी बैठकमा प्रधानमन्त्री र अर्थमन्त्रीबाट रासायनिक मल आपूर्तिमा भएको प्रगतिको बारेमा जानकारी लिने निर्णय भएको समितिका जेष्ठ सदस्य एवं सभापति विनोद चौधरीले बताए ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुसाललाई बोलाएर रासायनिक मल आपूर्तिको अवस्थाको बारेमा जानकारी लिएको थियो ।
किसानलाई वितरण गर्ने रासायनिक मलबारे ठोस कार्ययोजना बनाई लागू गर्ने विषयमा भएको समस्याका बारे बैठकले मन्त्री भुसालसँग जानकारी मागेको थियो ।
बैठकका सभापति चौधरीले नेपाल सरकारले पेट्रोल, डिजेलमा जस्तो सरकार–सरकारबीच सम्झौता गरेर आपूर्ति गर्ने, नेपालमा नै रासायनिक मल उत्पादन गर्ने, उद्योग स्थापना गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने बताए ।
सरकारले मात्र आपूर्ति गरिरहेको अवस्थामा निजी क्षेत्रलाई किन खुला गर्न नसकिने जस्ता विषयमा सरकार स्पष्ट हुनुपर्ने उनले बताए ।
किसानको विषय र नेपालको अर्थतन्त्रलाई असर गर्ने विषयमा प्रधानमन्त्रीसहित मातहतका निकाय कार्ययोजनासहित स्पष्ट हुनुपर्ने चौधरीको भनाई छ ।