एसइई नतिजा : माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो । अघिल्ला वर्षमा कोभिड– १९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा हाल नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार जिपिए शून्य दशमलव ८० देखि १ दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन् । संवत् २०७८ को परीक्षाको परीक्षाफलमा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए । जिपिए एक दशमलव २० देखि एक दशमलव ६० सम्ममा यसवर्ष ३८ हजार सात सय ७७ अर्थात् सात दशमलव ९९ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष नौ प्रतिशत थिए । जिपिए एक दशमलव ६० देखि दुईसम्म प्राप्त गर्ने यसवर्ष ८८ हजार चार सय ४७ अर्थात् १८ दशमलव २४ विद्यार्थी छन् भने गतवर्ष २० दशमलव ३० प्रतिशत थिए । जिपिए दुईदेखि दुई दशमलव ४० सम्म यसवर्ष एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१ दशमलव ०९ विद्यार्थी छन् भने गत वर्ष २३ प्रतिशत थिए । जिपिए दुई दशमलव ४० देखि दुई दशमलव ८० सम्म ल्याउनेमा यसपटक ८९ हजार तीन सय ३१ अर्थात् १८ दशमलव ४२ छन् भने गतवर्ष १८ दशमलव ३१ प्रतिशत थिए । जिपिए दुई दशमलव ८० देखि ३ दशमलव २० सम्ममा ७२ हजार तीन सय ६२ अर्थात् १४ दशमलव ९२ प्रतिशत विद्यार्थी छन् भने गत वर्ष १४ दशमलव १९ प्रतिशत थिए । जिपिए तीन दशमलव २० देखि तीन दशमलव ६० ग्रेड ल्याउने ५५ हजार ६९ अर्थात् ११ दशमलव ३६ प्रतिशत छन् भने गत वर्ष ८ दशमलव ४० प्रतिशत थिए । जिपिए ३ दशमलव ६० देखि चार प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यसवर्ष २२ हजार चार सय ७५ अर्थात् चार दशमलव ६३ प्रतिशत छ भने गतवर्ष एक दशमलव ९४ प्रतिशत विद्यार्थी थिए । यसवर्ष ननग्रेडेड हुनेमा १३ हजार नौ सय ९२ अर्थात् दुई दशमलव ८९ प्रतिशत विद्यार्थी छन् । परीक्षामा चार लाख ८४ हजार नौ सय ३९ नौ विद्यार्थी रहेकामा चार सय ३१ विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने दुई सय ९० विद्यार्थीको परीक्षाफल स्थगन गरिएको बोर्डले जनाएको छ । अक्षराङ्कन पद्धतिबमोजिम ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम अङ्क प्राप्त गर्नेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताकङ् हुनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम प्राप्ताकङ् हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताकङ् हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताकङ् हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताकङ् हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताकङ् हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताकङ् हुनेलाई ई ग्रेड प्रदान गरिन्छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले परीक्षा प्रणालीको सुधार र कक्षाकोठाको वातावरणमा सुधार आएमा नतिजामा सुधार आउने भन्दै समग्र नतिजाको मूल्याकङ्कनबारे विस्तृत अध्ययनपछि के आधारमा सुधार आयो भन्न सकिने बताए । उनले सामुदायिक र संस्थागत विद्यालयका आधारमा नतिजालाई तुलना गरेर विद्यार्थीबीच विभेद सिर्जना नगरिने स्पष्ट पारिन् । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले समग्रमा गत वर्षभन्दा यसवर्षको नतिजा सकारात्मक रहेको बताएका हुन् । अक्षराकङ्न पद्धतिमा नतिजा प्रकाशन गर्दै आएको बोर्डले विषयगत र प्रदेशगत परीक्षाफलको नतिजा पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बोर्डले मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गर्नेछ । रासस
सहकारी संस्थालाई विभागको पाँच बुँदे निर्देशन, ब्याज तिर्न साउन १५ सम्मको समय
काठमाडौं । सहकारी विभागले सहकारी संघ संस्थाको लागि पाँच बुँदे निर्देशन जारी गरेर सहकारीका ऋणीहरुलाई ब्याज तिर्ने समयमा सहुलियत दिएको छ । विभागले बिहीबार जारी गरेको निर्देशनअनुसार, असार मसान्तसम्ममा तिर्नुपर्ने साउन १५ सम्म बुझाए पनि यही आर्थिक वर्षमा गणना हुने गरी छुट दिन सहकारी संस्थालाई निर्देशन दिएको छ । सहकारीका सदस्यहरुको वित्तीय कारोबारलाई सहज बनाई सहकारी क्षेत्रको पुनरूत्थानको लागि निर्देशन जारी गरिएको विभागले बताएको छ । सदस्यहरुसँग नियमति समन्वय कायम गरेर सदस्य केन्द्रित सेवा प्रवाह गरेर विश्वास आर्जनमा सहकारी संस्था केन्द्रित हुुनुपर्ने, भाखा नाघेका ऋण असुलीलाई प्रभावकारी बनाउनुपर्ने निर्देशन विभागले दिएको छ । त्यसैगरी, गत आर्थिक वर्षमा खराब ऋणीको सूचीमा नपरेका कर्जा पुर्नतालिकीकरणको सुविधा नलिएका र कर्जाको पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गरेमा साँवालाई ३ महिनाको अवधिको लागि मात्रै पुर्नतालिकीकरणको व्यवस्था गर्न विभागले निर्देशन दिएको छ । त्यस्तै, कृषि उत्पादन तथा सेवासँग जोडिएका सहकारी संघ/संस्थाले कृषि उत्पादन वृद्धि, सामुहिक खेती प्रवद्र्धन, उत्पादनको बजारीकरण गरी कृषिको व्यवसायीकरणमा प्रेरित गर्नुपर्ने विभागले भनेको छ । आर्थिक वर्ष ०७९/८० को ब्याज आगामी साउन १५ भित्रमा भुक्तानी प्राप्त भएका त्यसलाई यसै आर्थिक वर्षको आयकोरुपमा गणना गर्नुपर्ने विभागले बताएको छ ।
३ सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले एमसीए नेपालले निर्माण गर्ने विद्युत प्रशारण लाइन तथा सवस्टेशनका लागि सिन्धुपाल्चोक, पाल्पा तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ । असार १९ गते बसेको मन्त्रिपरिषद्को निणर्य सार्वजनिक गर्दै बिहीवार सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले सरकारले भन्सार तथा लजिस्ट्रि सुधार कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने ५० मिलियन अमेरिकी डलर बराबरको सहुलयितपूणर् ऋण स्वीकार गर्ने निणर्य गरेको बताइन् । उनले शासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एशियाली विकास बैंकबाट परियोजना सहायताको रुपमा ३ सय मिलियन अमेरिकी डलर सहुलियतपूणर् ऋण सहायता स्वीकार गर्ने निर्णय भएको पनि बताइन् । सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ७ जना अधिकृतहरुको सरुवा गर्ने निणर्य गरेको छ । त्यस्तै सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने, पुष्पलाल मध्य पहाडी राजमार्ग आयोजना अन्तर्गत सडक सीमाभित्र पर्ने कास्की जिल्लाको रुडीखोला भैंसे सडकखण्डका घर टहरा हटाउन स्वीकृत दिने, थाइल्याण्डको बैंककमा हुने फोर्थ हाइलेभल पोलिसी फोरम मल्टीनिगल एजुशकेशन कार्यक्रम र सेभेन्थ इन्टरनेशनल कन्फ्रेन्स अन ल्याङ्ग्वेज एण्ड एजुकेशन विषयक कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीलाई सहभागी हुन स्वीकृति दिने र निजामति सेवाको राजपत्राङ्कित विशष्टि श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निणर्य गरेको छ ।
नेपाल बैंकर्स र जीवन बीमक संघबीच सम्झौता, नीतिगत तहका विषयमा अध्ययन अनुसन्धान गर्ने
काठमाडौं । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के. सी. तथा जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेलले हस्ताक्षर गरेका छन् । यस सम्झौताले बैंक तथा बीमा क्षेत्रबीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्याङ्कहरु, सूचना तथा जानकारीहरु आदान प्रदान गर्ने, नीतिगत तहका विषयहरुमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्पारिक लाभका विषयहरुको पहिचान गरी अघि बढ्ने लक्ष लिएको छ ।
ग्लोबल आइएमईले ल्यायो वैदेशिक रोजगार कर्जा, बिना धितो १ लाख ५० हजारसम्मको कर्जा दिने
काठमाडौं । ग्लोबल आइएमई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिना धितो प्रदान गर्नेछ । यो कर्जा १२.८० प्रतिशतको स्थिर व्याजदरमा पाइनेछ । २१ वर्ष वा सोभन्दा बढी उमेरका नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा जान लागेका तथा ग्लोबल आइएमई बैंकमा कुनै पनि प्रकारको बचत खाता भएका नेपाली नागरिकहरुले यस योजनाअन्तर्गत आइएमईपे वालेटबाट आवेदन दिई कर्जा प्राप्त गर्न सक्नेछन् । बैंकले नेपाल, भारत र भुटान बाहेक मलेशिया, साउदीअरब, कतार, ओमान, युएई, जापान, दक्षिण कोरिया र अन्य प्रचलित गन्तब्यहरुमा वैदेशिक रोजगारीका लागि जानेहरुलाई प्राथमिकताका आधारमा कर्जा उपलब्ध गराउनेछ । उक्त कर्जाको अवधि १८ महिनाको रहेकोछ । बैंकले युके एड, सीप दक्षता कार्यक्रम, आइएमईपे र आध्यान्त फण्ड म्यानेजमेन्टसँगको सहकार्यमा उक्त कर्जा कार्यक्रम ल्याएको हो । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५७ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
घुस लिएको अभियोगमा टेकुका मेडिकल ल्याब टेक्नोलोजिस्ट विरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोग लागेका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत ‘मेडिकल ल्याब टेक्नोलोजिस्ट’ लेखनाथ भट्टराई विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्रयोगशालामा दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही दिन अघि पक्राउ गरेको थियो । आरोपी भट्टराईलाई बिगो बमोजिम कारबाहीको माग गर्दै आज मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । त्यस्तै आयोगले आजै सप्तरी जिल्लाको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का वडाध्यक्ष सबदुल मियाँविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । भवन निर्माण सम्पन्न भएको सिफारिश गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा इटहरीबाट गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आरोपी वडाध्यक्ष विरुद्ध बिगो बमोजिमको कारबाही हुनुपर्ने माग गरिएको आयोगले जनाएको छ । रासस
मध्य भोटेकोसी जलविद्युत कम्पनीकाे दुई साधारणसभा एकै दिन, चार सञ्चालक निर्वाचित
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड कम्पनीले २ वटा साधारण सभा एकै पटक सम्पन्न गरेको छ । कम्पनीको दशौ र एघारौ साधारण सभा एकै दिन बुधबार काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको छ । साधारण सभाबाट सर्वसाधारण समूहको शेयरवालाहरुकोतर्फबाट ४ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको सञ्चालकमा रामकुमार थेबे (ताप्लेजुङ), रमा खड्का (काठमाडौ), भूमिनन्द अर्याल (नुवाकोट) र गोविन्दप्रसाद पराजुली (सिन्धुपाल्चोक) निर्वाचित भएका छन् ।
‘आयात गरिएको खाद्यान्नले बालबालिकामा मनोवैज्ञानिक समस्या बढ्यो’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रासयनिक मलका कारण प्रकृतिमा असर परिरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रासयनिक मलले गर्दा जल, जमीन र वायुलाई संक्रमण गरिरहेकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा सरकारले सोच्न आवश्यक रहेको बताए । उनले रासयनिक मलको प्रयोगका कारण जनस्वास्थ्यमा परेको असर, जनस्वास्थ्यको संवेदनशीलतामा ध्यान दिनुपर्ने बताए । उनले दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरुले गर्दा बालबालिकाहरुमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको अध्ययनले देखाएको पनि बताए । ‘कृषकले मल नपाइरहेको कारण एउटा विचौलिया र अर्को वितरण प्रणाली नभएको हो । त्यसमा काम गर्नुपर्छ । रासयनिक मलले गर्दा जल, जमीन र वायुलाई संक्रमण गर्नेकुरालाई कसरी न्युनिकरण गर्ने भन्नेकुराहरु केही पनि छैन । अर्थ समिति दिगो विकास लक्ष्यको दस्तखत गरेको हो । दिगो विकास लक्ष्यको मापनहरु प्यारामिटरअनुसार भएको छ की छैन ? भनेर हेर्ने पनि निकाय हो । जनस्वास्थ्यको संवेदनशीलता पनि हेर्नुपर्छ । दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरुले गर्दा बच्चाहरुमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको भन्ने देखाइरहेको छ, यसको लागि के छ ? माटोको गुणस्तर खस्किँदै गएको छ, अनिकाल बढ्दैछ’, उनले भने । सांसद श्रेष्ठले माटोको गुणस्तर खस्किँदै गएकाले नेपालमा खाद्यान्न संकट निम्तिरहेको बताए ।